कविता : हिलोको फुल

~बिटु केसी बराल~Bitu KC Baral

अकबरी सुनलाई कस्सी लाउनु पर्दैन
त्यस्तै सुन बन्नु
धेरै पढ्नु नानी
हजुरआमा भन्नुहुन्थ्यो
न पढाइमा अब्बल भएँ
न गतिलो
कुनै कामै गरे ।
थाहा छैन के भएँ ,
जे भएँ
सुनले
नलोभ्याउने भएँ ।

एक सामान्य बचपन त्यो
हुने बिरुवाको चिल्लो पातको
परिभाषाले नछोएको
कतै
नसमेटेको
आफ्नै धुनमा
आफ्नै गुनमा
निरन्तर
हिडेर
यहाँसम्म आईपुगेको मान्छे म ।

उडी छुनु चन्द्र एक
भन्छन्
हो त्यो चन्द्र
यदि
पौरख हो भने
कामलाई भगवान मान्छु
मेहेनतलाई विश्वास गर्छु ।

हुन त
जिन्दगीमा
हारहरुसंग मितेरी लाउनुपर्छ
जित्ने
दाऊ पेच नजान्दा
लरखराएर लड्नुपर्छ ।

नाँच्न नजान्ने आँगन टेढ़ो
भन्दै गरून
भन्नेहरु
नसुन्दिए भै’गयो ।

त्यसो त
नजाने गाउँको बाटो नसोध्नु नै निको लाग्छ
तर,
प्रिय लाग्छ मलाई
मेरो जिन्दगीको गोरेटो
भलै
टेढ़ोमेढ़ों
साँघुरो नै किन नहोस् ।

कहाँ गई टुंगिन्छ
जिन्दगीको यात्रा
के थाहा ?

हिलो मै फुल्छ कमल
सबैको मन लोभ्याउदै
शान्तिको गित गुनगुनाउदै
सुख दुख बुझाउदै ।

हो,
त्यसैले
जीवन जगत देखाउदै
निश्चिन्त भै फक्रेको
त्यहि फुल
मलाई मनपर्छ ।

-ह्युस्टन , टेक्सास

(स्रोत : Himalayamail.com/ )

 

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.