अनूदित कथा : भेनिसको व्यापारी

~विलियम शेक्स्पेयर~William shakespeare

शाइलक, जो एउटा यहुदी थियो, भेनिस शहरमा बसोबास गर्दथ्यो। ऊ एउटा निकै चर्को व्याजदरमा पैसा लगाउने व्यापारी थियो। चर्को व्याजदरमा भेनिसका क्रिश्चियन व्यापारीहरूलाई ऋण दिएर संकलन गरेको पैसाले ऊ विशाल रूपमा आफ्नो भाग्य निर्माण गर्न पुगेको थियो। शाइलक एउटा कठोर हृदय भएको मान्छे भएकोले आफूले सापटी दिएको पैसा यति कठोर र दबाबका साथ माग गर्दथ्यो कि उसलाई सहरका राम्रा मान्छेहरू प्रायः कसैले पनि मन पराउँदैनथे। विशेष गरेर एन्टोनियो, जो स्वयं भेनिसको एउटा युवा व्यापारी थियो, ले त पटक्कै मन पराउँदैनथ्यो। र शाइलकले पनि एन्टोनियोलाई पटक्कै मन पराउँदैनथ्यो किनभने उसले दुःख र अप्ठ्यारो परेका मान्छेहरुलाई विना व्याज नै ऋण दिने गर्दथ्यो। त्यसैले उक्त द्रव्य पिपासु यहुदी र उदार व्यापारी एन्टोनियोबीच ठूलो शत्रुता थियो। जब एन्टोनियोले शाइलकलाई भेट्थ्यो तब उसलाई सुदखोर र कठोर कारोबारी भनेर आलोचना गर्दथ्यो जुन कुरालाई शाइलकले कुनै वास्ता नगरेझैं एकदम धैर्य बनी सहिरहेको देखिन्थ्यो तर भित्री मनमा उसले कुनै दिन बदला लिने कुरा सोचिरहेको हुन्थ्यो।

एन्टोनियो एउटा निकै दयावान, उच्च चरित्र भएको र अरूलाई सहयोग गरेर कहिल्यै दिक्क नहुने मान्छे थियो। वास्तवमा उ नै यस्तो व्यक्ति थियो जसलाई प्रँचीन रोमनहरूले इटलीमा जन्मेको कुनै पनि व्यक्तिलाई भन्दा बढी सम्मानले हेर्थे ऊ आफ्ना साथीहरूका बीचमा निकै मन पराइन्थ्यो। तर उसको हृदयमा सबभन्दा राम्रँे स्थान ओगट्न सफल भएको उसको सबभन्दा नजिकको र प्यारो साथी भने वाशानियो थियो। उ एउटा भद्र व्यक्ति थियोे जसको पूर्खाबाट प्राप्त गरेको थोरै सम्पत्ति थियो तर ऊ महंगो खालको जीवन बाँच्ने र सामाजिक रूपमा ठूलो प्रतिष्ठा भएको हुनाले उसको सम्पत्ति दु्रतरूपमा सकिंदै गयो। प्रायः यस्तो परिवेशका मान्छेको यस्तै हुने गर्दछ। पछि गएर जतिजति बेला वाशानियोलाई पैसाको आवश्यकता पर्दथ्यो त्यतिबेला एन्टोनियोले सहयोग गर्दथ्यो र यस्तो देखिन्थ्यो मानौं उनीहरू एउटै मुटु र एउटै स्पर्स भएका दुईवटा मान्छे हुन्।

एकदिन वाशानियो एन्टोनियो समक्ष आइपुग्यो र भन्यो कि उसले प्रेम गरेकी एउटी निकै धनी केटीलाई विवाह गरेर ऊ आफ्नो बिग्रेको भाग्यलाई सपार्न चाहन्छ। उसले प्रेम गरेकी केटीलाई उसको निकै दानी बाबुले आफ्नो विशाल सम्पत्ति छोडेर भर्खरै मरेको छ। ती केटीको बाबु जीवित छँदा ऊ उनको घरमा जाने गर्दथ्यो र त्यतिबेला उसलाई लाग्यो कि जति जति बेला उसले ती केटीलाई चोरीचोरी हेर्दथ्यो र उनीहरूका आँखा जुध्दथे त्यतिबेला उक्त केटी आफ्ना आँखाको माध्यमबाट एउटा मौन सन्देश फ्याँक्थिन्। सायद उनका आँखाको भाषाले यही भनेको थियो कि यदि उसले प्रेम प्रस्ताव राखेमा उनले त्यसलाई अस्वीकार गर्ने छैनन्। तर आफूसँग पैसा नभएकोले ऊ त्यति धेरै धनकी उत्तराधिकारीको प्रेमीको रूपमा आफूलाई प्रस्तुत गर्न सकेन। त्यसैले उसले आफ्नो साथी एन्टोनियोसँग आफूलाई तीन हजार डुकर दिएर सहयोग गर्न अनुरोध गर्‍यो। एन्टोनियोसँग त्यो समयमा बासानियोले मागेको पैसा आफूसँग थिएन त्यसैले मालसामान हालेर आफ्ना जहाज छिट्टै आइपुग्ने आसमा उसले भन्यो “ठूलो धनी ऋणदाता शाइलक कहाँ जानुपर्‍यो र जहाजबाट सामान आएर नबेचुन्जेलसम्मका लागि उक्त रकम उसँग सापटी लिनुपर्‍यो। शाइलक कहाँ पैसा माग्न जाने कुरा उसको उसको एकदमै कम रूचिको कुरा हो तर ऊ आफ्नो साथीहै लागि ठूलो भन्दा ठूलो बलिदान गर्न तयार हुन्थ्यो।

त्यसपछि एन्टोनियो र वाशानियो सँगसँगै शाइलक कहाँ गए। र मालसामान बोकेर समुद्रमा आउँदै गरेका जहाज आइपुगेपछि सामानहरू बेचेर तिर्ने गरी उसले लिने कुनै पनि ब्याजदरमा आफूलाई तीन हजार डुकर सापटी दिन एन्टोनियोले शाइलकलाई अनुरोध गरे। यस बारेमा शाइलकले मनमनै सोच्यो, “मैले यही अवसरलाई उसँग बदला लिने मोडमा बदल्नुपर्दछ, उसले मेरो यहुदी सम्प्रदाय र मेरो निकै खिल्ली उडाउने गर्दछ। यदि यसलाई मैले माफ गरें भने मलाई मेरा पुर्खाले श्राप दिनेछन्।” यसरी शाइलकले मनमनैमा कुरा खेलाइरहेको थियो तर पैसाका लागि उसको जवाफ सुन्न अधैर्य बनेको एन्टोनियो बोले, “शाइलक, तिमीले मेरो कुरा सुन्यौं?” यसपछि उक्त यहुदी शाइलक बोल्यो, “्एन्टोनियो, धेरै पटक र प्रायः जसो तिमीले मेरो पैसा र मेरो पैसा लगाउने कुराको निकै आलोचना गरेका छौं, तर मैले योसबै बेवास्ता गर्दै धैर्य धारण गर्दै आएको छु, किनभने सहनु हाम्रो जातिको एउटा धर्म पनि हो र तिमीले कैयौं पटक मलाई कुत्ता भनेका छौ, र मैले लगाएको यहुदी कपडामा थुकेका छौं, साथै तिमीले मलाई काम नलाग्ने छेरूवा मान्छे भनेर लात्तीले कुल्चेका पनि छौ।

अँ, अहिले लाग्छ तिमीलाई मेरो सहयोगको आवश्यकता छ र अचम्म, तिमी त्यसैका लागि म कहाँ आएका हौं। ए एन्टोनियो, एकपटक फेरि भन त , शाइलक मलाई पैसा देउ। कस्तो अचम्म एउटा कुकुरसँग पैसा हुन्छ? एउटा काम नलाग्ने मान्छेले तीन तीन हजार डुकर ऋण दिन सक्छ? के मैले अब टाउको झुकाएर भन्नुपर्ने भयो कि हे महासय तपाईले मलाई गएको बुधबार थुक्नुभयो, अर्को पटक कुकुर भन्नुभयो र यी सबै सहयोगका लागि मैले पैसा दिनुपर्ने भयो?” यसपछि एन्टोनियोले जवाफ दिए “अँ तिमीलाई अब पनि म त्यस्तै भन्दै रहन्छु तिमीलाई थुक्छु र घृणा गर्दैरहन्छु। यदि तिमीले अहिले मलाई ऋण दिइहाल्यो भने पनि म एउटा साथीलाई जस्तो गरेर नदिनु बरू शत्रुलाई दिए जस्तो गरी दिनु र भनेको बेलामा मैले पैसा फिर्ता गरिन भने मेरा लागि अन्य मान्छेका लागि भन्दा धेरै दन्डको शर्त राखेर दिनु।” त्यसपछि शाइलक बोल्यो, “किन, किन यति धेरै आवेशमा आएका, म तिम्रो साथी हुन चाहन्छु र तिम्रो माया प्राप्त गर्न चाहन्छु। मैले तिमीलाई तीन हजार डुकर सापटी दिनेछु र यो पैसामा कुनै व्याज अपेक्षा गर्ने छैन। केवल तिमी मसँग वकिल कहाँ जानुपर्दछ र एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्दछ जसमा उल्लेख गरिने छ कि यदि तिमीले तोकिएको मितिभित्र उक्त पैसा फिर्ता गर्न सकेनौं भने आफ्नो एक पौन्ड मासु गुमाउनुपर्नेछ जुन तिम्रो शरीरको कुनै पनि भागबाट निकाल्न सकिने छ। ”

“मञ्जुर”, एन्टोनियोले भने, “देउ म यो सम्झौता कागजमा हस्ताक्षर गर्दछु र मभन्दछु साँच्चै यहुदीहरूमा धेरै दया छ।” यसपछि बोसानियोले एन्टोनियोलाई आफ्ना खातिर यस्तो सम्झौता पत्रमा हस्ताक्षर नगर्न भन्यो तर एन्टोनियोले यो कुरालाई बेवास्ता गर्दै उक्त पत्रमा हस्ताक्षर गर्‍यो। किनभने भुक्तानीको समय आउने बेलासम्म उसकोजहाजमा लादिएर आउँदै गरेको समानले तिर्नुपर्ने रकमको धेरै गुणा नाफा दिइसक्ने अनुमान उसले गरेको थियो।

जेहोस्, आफ्नो साथी बोसानियोको सुझाव विपरीत, जो आफ्नो साथीले आफ्ना लागि एउटा यहुदीको त्यति धेरै ठूलो दन्ड पाओस् भन्ने चाहँदैनथे एन्टोनियोले सम्झौता पत्रमा हस्ताक्षर गरे। बोसानियोले विवाह गर्न चाहेकी कुमारी भेनिस नजिकै बस्थिन् जुन ठाउँ बेलमोन्ट भनेर चिनिन्थ्यो। बोसानियोले प्रेम गरेकी केटीको नाम पोर्टिया थियो। बोसानियोले आफ्नो जीवनमा आइलागेको गम्भीर आर्थिक संकटमा आफ्नो साथी एन्टोनियो उदार भएर सहयोग गरेपछि एउटा भद्र सहयोगी साथी ग्रारिआनोकोसँग बेलमोन्टतर्फ गयो।

बोशानियो आफ्नो प्रतिज्ञामा सफल सावित हुँदै पोर्शिया कहाँ पुग्यो विवाहको प्रस्ताव राख्यो जुन प्रस्तावलाई उनले सहजै स्वीकार गरिन्। त्यसपछि बोशानियोले पोर्शियालाई भने–“वास्तवमा उनी जीवनमा प्रशस्त धनको मालिक र भाग्यशाली बन्न सकेनन्। उनले गर्व गर्ने एउटा मात्रै कुरा घरानिया परिवारमा भएको जन्म रउनका पुर्खाहरू मात्रै रह्यो।” यसपछि पोर्शिया, जसले आफ्नो श्रीमानलाई वास्तवमा धनको लागि नभएर उसको मूल्यवान गुणहरूका लागि सम्मान गरेकी थिइन, ले एउटा सुन्दर शालिनतापूर्ण उत्तर दिइन कि उनले आफ्नो श्रीमानलाई पाउँदा हजारौं गुना धेरै सुखी र दश हजार गुणा धेरै धनी भएको महशुस गरिरहेकी छन्। त्यसपछि चतुर पोर्शियाले बोशानियोका अगाडि आफूलाई सानो बनाउँदै भनिन–“वास्तवमा उनी त्यति उमेर खाएकी केटी त होइनन् उनले धेरै पढेकी पनि छैनन्, धेरै जानेकी पनि छैनन् र धेरै व्यवहार पनि उनले थाहा छैन तर उनले सिकाएमा सिक्न भने सक्छिन्। त्यसैले उनको श्रीमानले दिएको निर्देशनहरू र भनेका कुराहरूबाट यी सबै आफ्ना व्यक्तिगत कमीहरू उनले पूरा गर्दै जानेछन्।” र उनले पुनः थपिन्, “म र मेरो जे छ त्यो सबै अब हजुरको भयो।

तर बोशानियो, हिजोका दिनमा म यो भव्य महलकी मालिक्नी थिएँ, यी सारा नोकरचाकरकी पनि मालिक्नी थिएँ र स्वयं एउटी रानी थिएँ र अहिले यो महल, यी नोकरचाकरहरू र म आफै तपाईका भयौं। र,यी सारा कुराहरूमाथिको अधिकार मैले तपाईलाई यो औंठीबाट हस्तान्तरण गर्दछु” भन्दै एउटा औंठी बोशानियोलाई प्रदान गरिन्। अनि वोशानियोले आफू निकै शक्तिशाली र धन्य भएको महशुस गरे र उनले आफ्नो आनन्द र प्यारी पत्नी पोर्शियाप्रतिको आदरभावलाई आफ्ना प्रेमपूर्ण मुस्कानले उच्चारण हुन सकेका शब्दहरूबाहेक अन्य कुराले व्यक्ति गर्न सकेनन्। त्यसपछि पोर्शियाले दिएको औंठी स्वीकार गर्दै उनले उनीसँग कहिल्यै नछुट्टिने कसम खाए।

यी प्रेमी प्रेमिकाको यस महान् सुखद अवसरलाई एउटा सन्देशवाहकको आकस्मिक प्रवेशले एक्कासी धुमिल पारिदियो। उक्त व्यक्तिले एन्टोनियोले पठाएको एउटा नमिठो समाचार उल्लेख गरेकी चिठी लिएर त्यहाँ आइपुगेको थियो। र जब बोशानियोले आफ्नो प्यारो साथी एन्टोनियोको चिठ्ठी पढे, उनको अनुहार त्रासले एक्ासी पहेंलो भयो। यो देखेर पोर्टीआले सायद वाशानियोको कुनै प्यारो साथीको मृत्युको खबर आएछ क्यारे भन्ने अनुमान गरिन्।

उनले त्यस्तो के खबर आयो, जसले उनी त्यति धेरै निराश देखिए भनेर सोधिन् र यसपछि उनले भने “प्यारी पोर्शिया मैले देखेका कुनै पनि कागजमा रंगिएका शब्दहरूमा सबभन्दा तीता र पीडादायक शब्दहरू उल्लेख छन् यो चिठीमा। मेरी प्यारी, जब मैले सबभन्दा पहिले मेरो प्रेम तिमीलाई अभिव्यक्त गरें त्यतिबेला मैले खुलारूपमा तिमीलाई भनेको थिएँ कि मैले मेरो सम्पत्ति बेकारमा उडाएँ तर मैले तिमीलाई त्यत्तिबेला यो पनि बताउनपर्थ्यो कि मेरो ऋण बाहेक केही पनि छैन।” त्यसपछि बोशानियोले उक्त चिठीको विषय, आफूले एन्टोनियोसँग ऋण लिएको, एन्टोनियोले उक्त रकम शाइलक नामको यहुदीसँग मागेको, ऋण समयमा तिर्न नसकेमा आफ्नो एक पौन्ड मासु शरीरको कुनै पनि भागबाट झक्न दिने शर्तमा एन्टोनियोले शाइलकसँ गरेको सम्झौता आदि सबै पोर्टीआलाई बतायो। र त्यसपछि उक्त चिठी बोशानियोले पढेर सुनायो जसमा लेखिएका शब्दहरू यस्ता थिए– “प्यारो वोशानियो, मेरो जहाजमा ल्याएका सामानहरू सबै नष्ट भए, जहाज आइपुगेन। मैले यहुदीसँग गरेको सम्झौताको म्याद सकियो। त्यसैले अब उक्त रकम तिर्न असम्भव भएकोले मैले तिमीलाई मेरो मृत्युको घडीमा एकपटक देख्न चाहन्छु र त्यतिबेलासम्म बाँच्न पाउँ भन्ने कामना पनि गर्दछु। यदि कुनै अप्ठ्यारो भए कत्ति पनि दुःख नमान र आफ्नो खुशी मनाउ।

यदि तिम्रो मप्रतिको मायाले तिमीलाई यहाँसम्म ल्याउन सकेन भने पनि मेरो चिठीलाई भने माया गरे।”

“हे मेरो प्रिय” पोर्शियाले भनिन्“तपाई सबै कुरा छोडेर तुरून्त गइहाल्नुस” मेरो प्यारो बोसानियाको गल्तीले उसलाई सहयोग पुर्‍याउने साथीको रौं पनि झर्न नपाउँदै तपाईसँग उक्त तिर्नुपर्ने पैसाको बीसौं गुणा सुन तपाईसँग हुनेछ। त्यसपछि पोर्टिआले पुनः भनिन बोशानियो भेनिसतर्फ लाग्नु अगाडि उनी उसँग विवाह गर्न चाहन्छिन् ताकि पोर्टिआको पैसामा उसकोपनि अधिकार होस् त्यसै अनुसार उनीहरू त्यही समय त्यही दिन विवाह बन्धनमा बाँधिए। त्यसपछि बोशानियो र उसको सहयोगी साथी ग्राटिआनो एन्टोनिओलाई भेटन् एकदमै हतारमा भेनिस गए जहाँ एन्टोनिओ बन्धक बनाइएको थियो।

रकम भुक्तानीको दिन गुजि्रसकेकोले कठोर यहुदीले बोशानिओले अब भुक्तान गर्ने पैसा स्वीकार गर्दैनथ्यो। त्यसैले उसल एन्टोनियोको एक पाउ मासुबाट नै आफ्नो भुक्तानी लिने कुरामा जोड दियो। यो मुद्दामा सम्बन्धित पक्षहरूको सुनुवाई गर्न र दोषीलाई कार्वाहीको घोषणा गर्नका लागि भेनिसका राजासमक्ष जाहेरी गरियो र सुनुवाईका लागि दिन पनि निश्चित भयो। बोशानिओले सुनवाईको दिनलाई त्रासदीपूर्ण आशंकाको माहोलमा पर्खियो।

उता जब पोर्टिआ आफ्नो श्रीमानसँग छुटिट्इन त्यति बेला उनले आफ्नो श्रीमानलाई सफलताको कामना सहित फर्किंदा आफ्नो प्यारो साथी एन्टोनियोलाई समेत ल्याउन प्रोत्साहित गर्दै विदा गरिन्। यद्यपि उनलाई स्पष्ट डर थियो कि एन्टोनियोको वर्तमान संकटबाट बचाउन निकै गाह्रो हुनेछ। त्यसपछि जब उनी एक्लै भइन् उनले निकै गम्भीर भएर चिन्तन गर्न शुरू गरिन्। उनले कुनै पनि उपायले आफ्नो श्रीमानको प्यारो साथीलाई मृत्युको संकटबाट बचाउन उनी सहयोगी हुन सक्छिन् कि भनेरे धेरै सोचिन, धेरै तर्कना राखिन्। उनले विवाह भन्दा अगाडि आफ्नो श्रीमानलाई भनेकी थिइन् कि उनी र उनको सारा सम्पत्ति अब उनले आफ्नो श्रीमानलाई दिइन तर त्यही मध्येकी उनी आज आफ्नो श्रीमानका दुःखमा काममा आउन सकिनन् अथवा आफ्नो श्रीमानको सबभन्दा प्यारो साथीको ज्यान संकटमा भएको बेला उनले केही गर्न नसक्ने भइन, जुन कुराले उनलाई आफ्नै शक्तिप्रति सशंकित तुल्याया र खिन्न पार्‍यो। जेहोस् अन्ततः उनी आफ्नो एक्लो विश्लेषण र निर्णयबाट आफ्नो तर्फबाट केही गर्न आफै भेनिस जाने र एन्टोनियोको प्रतिरक्षामा केही बोल्ने निर्णय गरिन्।

पोर्टिआको एउटा न्यायालयका काउन्सेलरसँग राम्रो सम्बन्ध थियो। जसको नाम बेलारियो थियो। उसलाई उनले सारा समस्याको बारेमा अवगत गराएर उचित सल्लाहका लागि अनुरोध गरिन् साथै उचित सल्लाहसहित न्याय काउन्सेलरले लगाउने पोशाक पनि पठाइदिन अनुरोध गर्दै पत्र पठाइन। जब चिठी लैजाने मान्छे फर्क्यो उसले बेलारियोले दिएका चिठीहरू कान्सेलरले लगाउने पोशाक तथा अन्य आवश्यक साधनहरू लिएर पोर्टिआ कहाँ फर्क्यो।

पोर्शियाले आफूलाई र आफ्नी सहयोगी नरिसालाई पुरूषको भेषमा बदलिन र उनले न्यायाधीशको परिधानमा सजिइन र नरिसालाई आफ्नो क्लर्क जस्तो बनाइन्। त्यसपछि उनीहरू दुई जना त्यहाँबाट तुरून्त प्रस्थान गरेर मुद्दाको सुनुवाइकै दिन भेनिस आइपुगे। त्यतिबेला न्यायालयमा राजा र विशिष्ट व्यक्ति तथा अन्यको उपस्थितिमा सुनुवाई शुरू हुनेवाला थियो। पोर्शिया त्यो न्यायलयमा प्रवेश गरिन् र न्यायाधीश बेलारियोले राजालाई पठाएको पत्र पेश गरिन्। जुन पत्रमा विद्वान न्यायधीसले राजालाई सम्बोधन गर्दै लेखेका थिए, “मलाई एकदम दुःख छ कि अस्वस्थताका कारण आज सुनवाई हुने मुद्दामा उपस्थित हुन सकिन। त्यसैले मेरो ठाउँमा एउटा होनहार विद्वान युवक पठाएको छु। उसको आयु कम भए पनि बुद्धि र निपूर्णतामा उ मभन्दा कुनै पनि प्रकारले कम छैन। मलाई विश्वास छ कि उसले शाइलक र एन्टोनियोको मुद्दालाई निकै निपूर्णतासँग समाधान गर्नेछ र मलाई यो पनि आशा छ कि उ मेरो स्थानमा स्वीकार हुनेछ।” उक्त अनुरोध पत्र पढेपछि राजाले यो अनुरोध अनुसार कार्य गर्न अनुमति प्रदान गरे। तर उक्त अपरिचित न्यायाधीशको निकै कलिलो अनुहार देखेर भने उनी चकित भए। र अहिले उक्त मुद्दाको निकै महत्वपूर्ण सुनुवाई शुरू भयो। पोर्शियाले आफ्नो वरिपरि नजर घुमाइन। उनले एकातर्फ निर्दयी कठोर शाइलकलाई देखिन् भने अर्को तर्फ आफ्नो प्यारो वाशानियो थियो जो एन्टोनिओको छेवैमा बसेर चिन्ताग्रस्त रनिरास मुहारमा देखिन्थ्यो। उक्त नवयुक जज.पोर्शिया) ले उक्त न्याय सभाका अगाडि उभिएर मुद्दाको विवरण सररर पढे र सके त्यसपछि शाइलकतर्फ हेर्दै भने, “शाइलक, मलाई थाहा भयो कि एन्टोनियोले तोकिएको समयभित्र सम्झौताअनुसार ऋणको रकम भुक्तान गर्न सकेन त्यसैले कानुन अनुसार सम्झौता पत्रमा लेखेको कुरा प्राप्त गर्ने पूरा अधिकार तिमीलाई प्राप्त हुन्छ।”

न्यायाधीसले आफ्नो हितबाट बोलेको सुनेपछि शाइलक हर्षविभोर भो र भन्यो “तपाई साँच्चै न्यायकर्ता हुनुहुन्छ। मलाई तपाईले गरेको हरेक निर्णय स्वीकार छ।”

त्यसपछि पोर्शियाले सबैले सुन्ने गरी भनिन्, “अब सबैलाई म जानकारी गराउन चाहन्छु कि एन्टोनियोले सर्तअनुसार रकम फिर्ता गर्न सकेनन् त्यसैले कानुनअनुसार म यो निर्णय घोषणा गर्दछु कि शाइलकले एन्टोनियोको शरीरको कुनै पनि भागबाट एक पाउन्ड मासु काट्न सक्छन्।”

यो घोषणाले पनि शाइलकको खुशीको सीमा रहेन। ऊ खुशीले यताउता गर्न लाग्यो, अनुहारमा विजयको चहक निकालेर सबैतिर हेर्न लाग्यो।

आफ्नो निर्णको घोषणापछि पोर्शियाले एउटा मर्मस्पर्शी कुरा राखिन र भनिन् “हेर शाइलक कानुनभन्दा महान् दया र प्रेम हुन्छ। त्यसैले दया नै धर्म हो भन्ने आधारमा आफूले दिएको ऋणको रकम अहिले फिर्ता लेउ र एउटा महान कार्य गर बरू चाहन्छौं भने तिमीले आफूले दिएको रकमको दुई गुणा, तीन गुणा, चौगुणा वा बढी पनि प्राप्त गर्न सक्दछौं।”

तर यो पछिल्लो कुरालाई बेचैनीसाथ सुनिरहेको शाइलकले तुरून्तै बोल्यो, “मलाई आफ्नो रकम फिर्ता चाहिंदैन, चाहिन्छ त केवल न्याय। म यो परिस्थितिमा एन्टोनियोले मप्रति गर्ने गरेको अपमानलाई नगदमा थपेर फिर्ता लिन चाहन्न बरू त्यसको बदला लिन चाहन्छु। त्यसपछि पोर्शिया–न्यायाधीस बोलिन, “त्यसो भए मेरो आदेशअनुसार तिमीले एन्टोनियोको शरीरको कुनै पनि भागबाट एक पाउन्ड मासु काट।”

यो निर्णय सुनेर त्यहाँ उपस्थित जनहरूले निकै ठूलो चोटको अनुभव गर्न पुगे। मानिसहरू अबको एन्टोनियोको सम्भावित घटनाबाट भयभित बने। बोशानियोको पश्चाताप, क्रोध र सहृदयी भित्रप्रतिको अगाध प्रेम यस पींडाको घडीमा आँसु बनेर आँखाबाट छचल्किन शुरू गर्‍यो।

अन्तिम समय आयो जीवनको, त्यसले एन्टोनियो प्यारो साथी बोशानियोतर्फ फर्केर बोल्यो “मलाई आज धेरै खुशी पनि छ किनभने मेरो जीवन आफ्नो प्यारो साथीको खातिर कुर्वान हुने भयो।”

यो भयानक दृश्यले बाँकी सबैलाई द्रविभूत बनायो, सबै भाग्यको क्रुर अवाञ्छित परिणती सम्झेर स्तब्ध भए तर शाइलक एउटा धारिलो चक्कु निकालेर अगाडि बढ्यो। तर यति नै बेला पोर्शिया बोलिन् “शाइलक घ् तर एउटा कुरा याद राख यदि एन्टोनियोको मासु काट्दा एउटा थोपा पनि रगत खस्यो भने तिमीलाई फाँसीको सजाय हुन सक्छ किनकि तिमीहरूबीच भएको सम्झौता पत्रमा केवल एक पाउन्ड मासु काट्ने कुरा उल्लेख छ तर त्यससँगसँगै रगत लिने वा खसाल्ने कुरा उल्लेख छैन।”

यो कुराले शाइलकको उन्मादीमा चट्याङ पर्‍यो। एकदमै अनपेक्षित दलिन अगाडि तेर्सिएपछि ऊ स्तब्ध बनेर न्यायाधीश वा पोर्शियालाई एकटकले हेरिरह्यो।

पोर्शियाले भनिन् “के हेरिरहेका छांै, फैसलाअनुसार मासु काट र काम सक।” तर ऊ एकटकले हेरिरह्यो एक्कासी हतासियो र यो अपर्झट देखापरेको नयाँ परिस्थितिबाट उम्कन बोल्यो–“अब मलाई मासु चाहिंदैन, मलाई केवल मेरो धन फर्काइदिनुहोस्।”

पोर्शिया बोलिन–“न्यायालयको निर्णय अन्यथा हुन सक्दैन। यदि तिमी कानुनी फैसलालाई मान्दैनौं भने न्यायालयको निर्णयको सम्मान नगरेको अपराधका कारण तथा एन्टोनियोको हत्याको प्रपञ्च गरेका कारण तिम्रो सारा सम्पत्ति जफत गरिनेछ। भेनिसको नियमानुसार तिम्रा सारा सम्पत्ति राज्यद्वारा जफत गरिनेछ किनभने तिमीले राज्यका नागरिकलाई षडयन्त्रमूलक ढंगले मार्ने प्रपञ्च रचेका छौं र तिम्रो जीवन रहने वा नरहने भन्ने कुरा राजाको इच्छामा छोडिन्छ। त्यसैले आफ्ना गोडा जोडेर निहुरी पर र राजासँग जीवनदानको भिक्षा माग।”

त्यसपछि राजा बोले “मैले तिमीले माग्नु अगाडि नै तिमीलाई जीवनदान दिन्छु। र तिम्रो सारा सम्पत्तिको आधा सम्पत्ति अब एन्टोनियोको हुनेछ र आधा राज्यको हुनेछ।”

त्यसपछि एन्टोनियोले शाइलकको सारा अपराध भुल्दै उसलाई क्षमा दिने मत व्यक्त गरे र भने “म मैले प्राप्त गर्ने सारा सम्पत्ति शाइलकलाई नै फिर्ता गर्न चाहन्छु तर शाइलकले उक्त सम्पत्ति आफ्नो मृत्युपछि आफ्नी छोरीलाई हस्तान्तरण गर्नुपर्नेछ र त्यसैका लागि एउटा इच्छापत्रमा हस्ताक्षर गर्नुपर्नेछ।”

शाइलककी एउटी छोरी उसको सहमतिविना एन्टोनियोको साथीसँग विवाह गरेकी थिइन् जसलाई शाइलकले आफ्नो घरबाट निकालेर निकै दुःख दिएको थियो।

शाइलकले यो कुरालाई सहर्ष स्वीकार गर्‍यो र ऊ न्यायाधीश तथा राजाको आज्ञाअनुसार न्यायसभाबाट घरतर्फ लाग्यो।

राजा उक्त चतुर युवा न्यायाधीसको कार्य सम्पादनबाट चकित भए, उनले ऊसँगै बसेर खाना खाने इच्छा व्यक्त गरे तरउक्त न्यायाधीशले आफू तुरून्त घरतर्फ लाग्नुपर्ने कुरा सुनाएपछि राजाले उसलाई सम्मान गर्दै त्यहाँबाट बिदा लिए।

अहिलेसम्म पनि बोशानियोले यो न्यायसभामा न्यायाधीस बनेर आउने उसैकी पत्नी पोर्शिआ हो भन्ने चिनेको थिएन। उसले पछि उक्त न्यायाधीशको न्यायक्षमताको मुक्त क48ठले प्रशंसा गर्‍यो र उसको विशिष्ट न्यायक्षमताका लागि तीन हजार डुकर पुरस्कार स्वीकार गरेनन् बरू बोसानियोले हातमा लगाएको औंठी लिन चाहे। बोशानियोले यो औंठीसँग कहिल्यै पनि नछुट्टिने कसम खाएको थियो। उसले अहिलेको स्थितिमा न्यायाधीसका लागि प्राणसम्म आहुती गर्न सक्दथ्यो तर औंठी आफ्नी पोर्शियाको चिनो भएकोले दिन सक्दैनथ्यो। उक्त न्यायाधीशले भने यही औंठी नै लिन चाह्यो। आखिर बोशानियोले आफ्नो हातको औंठी फुकालेर न्यायाधीसलाई दियो।

उक्त न्यायसभाबाट बिदा भएर त्यसपछि पोर्शिया आफ्नो क्लर्कका साथ छिटोछिटो घर पुगिन् र आफ्नो पुरूष भेष उतारेर आफ्नो बोशानियोको आगमनको प्रतिक्षा गरिन्। केही दिनमै बोशानियो र एन्टोनियो त्यहाँ आइपुगे। बोशानियोलाई देख्ने बित्तिकै पोर्शियाले आफूले दिएको निशानी औंठी खै भनेर प्रश्न गरिन्। यो प्रश्न सुनेर बोशानियाले टाउको निहुर्‍यायो र सबै कुरा बतायो। त्यसपछि पोर्शियाले औंठी निकालेर देखाउँदै बोशानियोलाई आश्चर्यमा पारिन् र उक्त औंठी पुनः बोशानियोलाई दिइन। त्यसपछि उनले बताइन् कि पुरूष भेष धारण गरेर न्यायसभामा न्यायाधीश बनेर जाने उनी स्वयं थिइन भने उनको क्लर्क उनकी नोकर्नी थिइन र उनीहरूले नै एन्टोनियाको मुद्दामा एन्टोनियोलाई जिताएका थिए।

यसैबेलामा एन्टोनियोको एउटा कर्मचारी दौडिंदै त्यहाँ आइपुग्यो र भन्यो “तपाईको हराएको जहाज भेटियो र सुरक्षित फर्केको छ।”

कथामा यसरी एउटा धनी व्यापारीको वियोगान्तक शुरूआतहरू राम्रा भाग्यहरूमा पुगेर सकिए।

(समाप्त)

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २ – २०६७ मंसिर ८ गते, बुधबार)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *