व्यङ्ग्य निबन्ध : ‘र’को कुण्डली

~मनोज गजुरेल~Manoj Gajurel

सबैलाई थाहा छ- कुरो जतिसुकै ठूलो गरेपनि ‘तर’ले काटेपछि सत्यासनास। त्यही ‘तर’ले कसैका सपना उध्रिएकाछन् भने कसैका सपना सुध्रिएका पनि छन्। संसारमा शान्ती अवस्यम्भावी छ, तर…… समुन्नत नयां नेपाल अवस्य बन्छ,….तर π संसारमा तरबारभन्दा ‘तर’ बलियो ठानिन्छ, नेपालमा भने ‘तर’भन्दा पनि ‘र’ बलियो मानिन्छ।

तरवारले मान्छे सिध्याउंछ, ‘तर’ले कुरा सिध्याउंछ, ‘र’ले समाज देश र समाज नै सिध्याउंदो रहेछ। जनताबीच फुट ल्याउन पनि ‘र’कै हात देखिन्छ, पार्टीहरुभित्र गुट खडा गर्ने पनि ‘र’कै चलखेल बुझिन्छ। आउनोस्, शब्दकोशभित्र रहेको त्यही शक्तिशाली अक्षर ‘र’को छोटो अपरेसन गरौं।

हजुर, भाषाबिद् खप्परध्वजको तर्क छ-नेपाली नेपालीबीच एकता हुन नदिने भनेको त्यही एउटा अक्षर ‘र’ नै हो। जहिल्यै राजा र राणा भनियो, राजा र प्रजा बनियो। ‘नागरिक’ कोही भएन, हरेकको बीचमा ‘र’ आयो। नेपाली नेपाली बीचमा कहिल्यै एकता हुन सकेन।

माओवादी जंगल पस्यो, ‘र’ कै कारण- सत्ता र विपक्ष हुनपुग्यो। युद्धबीचमै माओवादी आफैंपनि झण्डै फुट्यो-’र’ कै कारणले। ‘नेतद्वय’का बीचमा ‘प्रचण्ड र बाबुराम’ पस्यो। दिल्लीको बाह्रबुंदे सहमती ‘नेपाली’बीच नभएर ‘सात पार्टी र माओवादी’बीच हुन पुग्यो। अहिले त्यही बाह्रबुंदे सहमतिको निधारमा टेकेर भारत खेलिरहेको आरोप लागेको छ-माओवादी र गैर माओवादी मोर्चाको नाममा।

यो ‘र’ भन्ने अक्षर दक्षिण एसियामा मात्र यस्तो खतरनाक हो कि अरुतिर पनि छ, खोजको बिषय भएको छ। जहां जहां ‘र’ जोडिएको छ, त्यहां त्यहां अशान्ति नै अशान्ति छ। नपत्याए तपाईं कास्मीर , मुसर्रफ, राजापाक्षे आदीलाई लिन सक्नुहुन्छ।

धेरै टाढा र पुरानो कुरोमा नजाऔं-हाम्रै देशमा अहिले ‘र’ मिश्रित नामहरु निर्विवाद छैनन्। ‘राजा’, ‘रामवरण’, ‘रुक्माङ्गद’, ‘रामबहादुर’, गच्छदारजस्ता शब्दहरु यसका उदाहरणहरु हुन्। यसैले पनि स्पष्ट हुन्छ-नेपालको अहिलेको मुख्य समस्या त्यही एउटा अक्षर ‘र’ नै हो।

हरेक पार्टीमा कलह छ, बिवाद छ, ब्रि्रह छ, कुनै सैद्धान्तिक हैन-मात्र एउटा ‘र’ले नकाम गरिहेको देखिन्छ। एमालेमा ‘ओली -झलनाथ’बीचमा कुनै मार्क्सबादी बिबाद देखिदैन।कारण के हो भने बीचमा ‘र’ पस्यो-’ओली र झलनाथ’।

कांग्रेसमा सुजातादिदी र गिरिजबाबुको मेल होस् वा देउवा र रामचन्द्रबीचको अनमेल-दुबैको कारक तत्व हो बीचमा आएको अक्षर-’र’।

उपरोक्त नामहरुको बीचको संयोजक अक्षर ‘र’ हटाएर ‘पार्टी नेतृत्व’ भन्न थाल्ने हो भने यो बिवाद सेकेन्डपनि बांकी रहंदैन।

फोरमपनि ‘र’कै कारण झण्डै झण्डै फुटिसकेको थियो। कारण उहि थियो, गच्छेदार-उपेन्द्रबीचमा ‘र’ पस्यो अनि ‘उपेन्द्र र गच्छेदार’ गुटमा बिभाजित हुन पुग्यो। धन्न, कताबाट फेबिकोल आयो र क्षणिक भएपनि जोडिएको छ।

‘जनतामा’मा ‘र’ पस्यो ‘मधेशी र पहाडी’ हुन पुग्यो। ‘हाम्रो’मा ‘र’ घुस्योे ‘मेरो र तेरो’ बन्यो। जनताको सपना मात्र ‘नयां नेपाल’ थियो, तर ‘र’ पसेर ‘लोकतान्त्रिक र जनवादी’मा अल्भिmयो। अहिले हेर्नोस, सबै ‘हामी नेपाली’ एक बन्नुपर्ने बेलामा हामीमा ‘र’ पस्यो-’ माओवादी र गैह्र माओवादी’मा छताछुल्ल हुन पुग्यो।

जब ‘तर’जस्तै ‘र’ले सबैकुरा बिगारिरहेको छ भने, ‘र’लाई थान्कामा राख्नु पर्दैन – सब्ौलाई थाहा छ ‘र’ या त नेपाली शब्दकोशमा छ, या त हिन्दी शब्दकोशमा। हिन्दीकोशको ‘र’ हाम्रो अधिकार क्षेत्रभित्रको कुरो भएन। तर, ‘नेपालीकोश’ भित्र रहेको ‘र’लाई पनि ब्यवस्थापन गर्ने दायीत्व राजनीतिज्ञहरुको हैन – हो भने गर्नुपर्यो, हैन भने ‘राजनीति’मा पनि ‘र’ घुसाउनोस् अनि ‘राज’मात्रै गर्नुस्, ‘नीति’ मित्रराष्ट्र्हरुले बनाइदिन्छन्। कुरो कसो ?

May 24th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.