एकाङ्की : याचना

~बिपुल सिजापति~Bipul Sijapati

पात्रहरु
युगा – धनी व्यापारीकी पत्नी
सुभद्रे – काम गर्ने आईमाई
राजासाब — युगाको व्यापारी पति (छायाँ चरित्र)
साईला — सुभद्रेको पति (छायाँ चरित्र)

(एउटा आलिसान साजोसामानले भरिएको कोठामा युगा सोफामा किंकर्तव्यबिमुढ बसेकी हुन्छे । मञ्चको छेउबाट मञ्चमा सुभद्रे भित्र पस्छे )

सुभद्रे — लौ हजुर त अझैसम्म केही पनि नगरी बसिबक्सेको रैछ । राजाको तीनपटक फोन आई सक्यो ।

युगा आवाज पट्टि फर्कन्छे र एकछिन् सुभद्रेलाई टोलाएर हेर्छे ।

सुभद्रे — हजुर के पहिरी बक्सने ? म दराजबाट झिकिदिन्छु । लौ न, मर्जिहोस् न !

युगा अझै पनि सुनेको नसुन्यै गरेर चुपचाप बस्दछे ।

सुभद्रे — आज फेरि हजुरले मलाई गाल पारिबक्सिन्छ ।

युगा — आज पनि पार्टी छ रे ? हुकुम आईसक्यो तयार भएर बस्ने ?

सुभद्रे — सवारी होस् न त, रमाइलै हुन्छ होला नि !

युगा — रमाइलो ! सुभद्रे तँ केलाई रमाइलो मान्छेस् हँ ?

सुभद्रे — खै ! म त साईलाले बेलुका आएर छिल्लिएर गरेको अनेक उटपट्याङ्ग कुरालाई नै रमाइलो मान्छु ।

युगा — तँ भाग्यमानी छेस् सुभद्रे, भाग्यमानी । तेरो साईँला दिनभरि भारी बोकेर थाकेर आए पनि तँमाथि नयाँ पराग लागेका फूलमा भँमरा भुन्भुनाएझैँ तेरो वरिपरि भुन्भुनाउँछ । तँ मख्ख परेर कुमुदनीलेझैँ आफ्ना पत्रहरु फैलाउँछेस् र रातभरि मायालु आलिंगनमा साईलालाई थुन्छेस् । बिहान फेरि आफ्ना पत्रहरु फैलाएर बिचरण गर्न छाडिदिन्छेस् । प्रेम त्यहाँ छ, अनुराग त्यहाँ छ सुभद्रे, रमाइलो त्यहाँ छ ।

सभद्रे — अनि हजुरलाई पार्टीमा जाँदा रमाइलो लाग्दैन ?

युगा — पार्टीमा के रमाइलो हुन्छ र सुभद्रे ! त्यहाँ चारैतिर साँप सल्वलाएका हुन्छ् चारैतिर गिद्ध भुन्भुनाएका हुन्छन् । यस्तो लाग्छ, मानौ सर्पहरुको मुस्लोमा मुसा पस्किदिए जस्तो, गिद्धहरुको बगालमा सिनो फालिदिए जस्तो । हरेक आँखाहरू खुँख्वार र निर्दयी हुन्छन्, ताकमा बसेका हुन्छन् डस्न । उफ्फ: सुभद्रे, तैँले त्यो नभोगेकै राम्रो ।

सुभद्रे (कुरा नबुझेर अचम्म पर्छे) — मैसाप, मान्छेले पनि डस्ने र लुछ्ने गर्छन् र भन्या ?

युगा — सुभद्रे तँलाई कुनै पर पुरुषले छोएको छ ? कुनै परपुरुषले गिजोलेको छ ? तैँले कुनै परपुरुषको डसाई सहेकी छेस् ? पुरुषका गिद्धे नजरले तेरो मासु लुछेको छ ?

सुभद्रे अवाक हुन्छे, मैसापको कुरा बुझ्दिन र मैसापको अनुहारमा एकोहोरो हेरिरहन्छे ।

युगा — तैँले ती डसाई भोगेकी छैनस् सुभद्रे, भोगेकी छैनस् । कति जलन हुन्छ तँलाई के थाहा ! ती खीलहरु शरीरभरि फिँजिएर आत्मैसम्म पुग्छ । भत्भती पोल्छ, औडाहा हुन्छ, गएर कुनै चिसो दहमा हाम्फालुँ जस्तो हुन्छ, आङका एकएक लुगा च्यातेर नाङ्गिउँ जस्तो लाग्छ । घटघटि बरफ हालेको पानी पिउँछु, तर डाह मत्थर भए पो ! यो डाह, यो जलन कुनै पानीले शान्त पार्न सक्दैन ।

(युगा सुभद्रेको अनुहारमा हेर्छे । सुभद्रे केही प्रतिक्रिया देखाउँदिन ।)

युगा — तँ किन केही बोल्दिनस् सुभद्रे ? तँलाई अलिकति पनि मेरो दुःख महसुस हुँदैनँ ? तँ पनि त आइमाइ होस्, तैँले त बुझ्नुपर्ने मेरो पिडा !

(सुभद्रे केही जवाफ नफर्काएर चुपचाप दराजतिर बढछे र औषधीको सिसि निकाल्दछे र पछ्यौरी भित्र लुकाउँछे । युगा उत्तेजित हुन्छे ।)

युगा — खबरदार सुभद्रे ! त्यो औषधी त्यहीँ राख । मेरो व्यथा त्यो औषधीले निको हुँदैन ।

सुभद्रे — हजुरलाई हरेक साँझ यस्तै हुन्छ । औषधी लिईबक्सियोस मैसाप, बिन्ती ।

युगा — म बहुलाएकी हैन सुभद्रे । तँ किन बुझ्दिनस् मेरो कुरा ! एक नजर यता हेर त ! भत्भती जलिरहेछ यो छाती, अलिकति स्नेहको मलम त लगाई दे । अलिकति घाउमा चिसो हावा त फुकि दे ।

सुभद्रे – आरामले राजहोस् मैसाप, म बुझ्छु हजुरको कुरा, राज होस् ।

(सुभद्रे अगाडी आउँछे र युगालाई सोफातिर डोर्याएर लग्छे र सोफामा बसाल्छे र सँगै भुईँमा बस्छे ।)

युगा – तेरो राजासाबले मलाई पाल्तु पशु बनाएर राखेका छन् यो घरमा । फरक यत्ति छ पशु सोच्न सक्दैनन्, बोल्न सक्दैनन्, म सोच्न र बोल्न सक्छु । जुन रूपमा गर्व गरेर मैले राम्रो घरानको व्यक्तिलाई पोई पाउनु आफ्नो सौभाग्य ठानेँ, आज मेरो यो रूप र लावण्य नै मेरोलागि अभिषाप भएको छ । तेरो राजासाबको व्यापारकोलागि हरेक साँझ मलाई सजाइन्छ । मानौँ म उसको परिणीता नभएर उसको भँडारमा भएको बेसकिमती जुवाहरात हुँ, जसलाई तासका जरिदार खोलमा सजाइन्छ र प्रदर्शनिका लागि पेस गरिन्छ । मादमा मदमत्त भएका डाँकुहरुका लालायित आँखाबाट सम्भोगका तीरहरु छुट्छन् र यहाँ सुभद्रे यहाँ, भित्र कलेजी सम्मै धस्छ । मेरो पतिब्रता धर्मका ढालले कतिसम्म मात्र ती प्रहारहरु छेकुन ! म हरेक रात वेश्या समान घर फर्कन बाध्य हुन्छु, सबैबाट प्रताडित सबैबाट शोषित ।

सुभद्रे — चिल्सा पर्न नसकेका आँखाहरू । यी लोग्नेमान्छेहरु पराई मादामा खै के देख्छन् कुन्नि !

युगा — हेर्ने होइन सुभद्रे, चिल्छन् चिल्छन्

(युगा उत्तेजित हुन्छे र सप्को हटाएर छाती देखाउँछे ।)

ई यहाँ हेर सुभद्रे मान्छेले चिलेको । यहाँ हजारौँ आँखाले चिलेका छन्, हरेक साँझ चिलेका छन्, हरेक पार्टीमा चिलेका छन् । रक्सीले मात्तिएका झिर जस्ता हरेक आँखाहरू यही मेरा स्तनमा पर्छन् र चिल्छन् सुभद्रे । म सप्कोले आफ्ना स्तन छोप्न सक्दिन, किनभने म पाखे ठहरिन्छु असभ्य ठहरिन्छु लुगा लगाउँन नजान्ने ठहरिन्छु । संभ्रान्त सोसायटिमा नमिल्ने ठहरिन्छु ।

(युगा उकासिएको सास लिन्छिन् र पानीको लागि यताउता हेर्छिन् तर पानी कतै देख्दिनन् ।)

युगा — तेरो राजासाबले कहिले बुझ्ने यी कुराहरू ! कति पटक भने म जान्न भनेर, माने पो !

सुभद्रे — राजासाबले किन यस्तो गरिबक्सेको हो कुन्नि ! हजुरलाई मन नपरे त नलगे भैगयो नि, हैन र ?

युगा — त्यही भनेको मैले पनि । यो कर्पोरेट बिजनेसमा त्यस्तो हुन्न रे ! पार्टीबाटै सबैलाई हातलिनु पर्छ रे ! तब मात्र व्यापार फस्टाउँछ रे !

सुभद्रे — अरूका पनि त श्रमिती आउँदा हुन् नि ? अनि अरू आईमाइ चाँहि के गर्छन् नि हजुर ?

युगा — केही नयाँ नौलो लागेर रमाउँछन्, धेरैलाई पचिसक्यो र मजस्ता भने पिल्सिएर बस्छन् नि ।

सुभद्रे — (फकाएर) यो ओखती एकमात्रा लिईबक्सियोस् । भरे फेरि सञ्चो हुँदैन । बिन्ती मैसाप, यो एक खुराक लिईबक्सियोस् त ।

(सुभद्रे युगालाई एक मात्रा ओखती पिलाउँछे )

युगा — मेरो मनको पिर कसलाई भनुँ सुभद्रे ! मलाई त्यो हुलमा जानै मन लाग्दैन । ती मानिससहरुको हुलमा पस्नेबित्तिकै खै ! कताबाट एउटा नकाब आएर मेरो अनुहारमा टाँसिन्छ । म बलपूर्वक त्यो टाँसिएको नकाव हटाउन चाहन्छु तर सक्दिनँ । अनि म दुई चिरामा बिभाजित हुन्छु । मेरो अनुहारमा टाँसिएको नकावको ओठमा हाँसो हुन्छ, मेरो मन रोएको हुन्छ, नकावले खुसी छल्काउँदा मेरो भित्री अनुहारभरि बिषादका लामालामा धर्काहरु पर्न थाल्दछन् । नकाबको मुखबाट खै ! कल्ले बोल्दछ कुन्नि, तर म भने नकाब भित्र दाँतले आफ्ना ओँठ टोकेर रगताम्ये बनाएर बसेकी हुन्छु ।

(युगा आँसु झार्न थाल्दछे)

युगा — मानिसका हुललाई छलेर म आफूलाई एक्लो पाउने बित्तिकै बाथरुममा गएर आफैभित्र आफैलाई छाम्छु र सँधै आफूलाई एक्लो पाउछु । अताल्लिएर म ऐनामा हेर्छु, त्यतिबेला ऐनामा विकृत अनुहार भएकी युगा मात्र देखिन्छे ।

सुभद्रे — अब धेरै रोएर आफैलाई बिसञ्चो नबनाइबक्सियोस् । एकछिन आराम गरिबक्सियोस् । ल यो सिरानीमाथि शिर राखेर आराम गरिबक्सियोस् त ।

(सुभद्रे लामो सोफाको छेउमा तकिया राखिदिन्छे र युगालाई बिस्तारै सुताइदिन्छे । युगा तकियामा शिर राखेर आँखा चिम्लन्छे ।)

सुभद्रे — घरमा के छैन सबथोक छ, धनसम्पत्ति छ, सुखसयल छ, नभएको भन्नुमा त्यै एउटा नानीमात्र त हो नि, त्यो भएपछि सबै ठीक हुन्छ मैसाप । यति सुन्दर जोडी छ हजुरहरुको, उमेर छँदै छ, राम्री हुँदै होइसिन्छ ।

युगा — राम्री रे ! के भनेकी सुभद्रे तैँले ? म त टाढाबाट सुन्दर देखिने क्याक्टस हुँ सुभद्रे जसका काँडाहरु भित्रतिर तिखारिएर उम्रिएका छन् । तैँले देखेको सुखले जतिजति मलाई बलियोसँग अंगाल्छन् उतिउति ती उम्रिएका काँडाहरु कलेजीभरि नमिठोसँग गाडिन्छन् । हो सुभद्रे म क्याक्टस हुँ, पोटिली भरिली भएर पनि ममा कुनै फूल फूल्दैन । मेरा डिम्बहरु भित्रभित्रै कुहिएर नास हुन्छन् । यी भित्र कहिल्यै पराग पुगेनन् र कहिल्यै सेचित हुन सकेनन् ।

सुभद्रे — दिन फर्कन बेर लाग्दैन मैसाप, भगवानको कृपाभए एकदिन हजुरको इच्छा अवश्य पुरा हुन्छ । राजासबले माया नै गरिबक्सन्छ क्यारे !

युगा — ऊ मलाई बाहिर मात्र हेर्छ, मेरो भित्र कहिल्यै चिहाउँदैन । चोट त भित्र लागेको छ, घाउँ त भित्र छ, ऊ महँगो ओखती ल्याएर बाहिर मात्र दल्छ । खै ! के माया गरेको भनुँ, मैले सुख मात्र पाएको छु तर तैँले भने अघाउँञ्जेल खुसी पाएकी छेस्, तँ भाग्यमानी छेस् सुभद्रे । तँलाई पो तेरो लोग्नेले माया गर्छ, मलाई त खै ! साँच्चै तेरो लोग्नेले तँलाई कसरी माया गर्छ हँ ?

सुभद्रे — छिः के मर्जि भएको होला, मलाई भन्न आउँदैन, लाज लाग्छ ।

(सुभद्रे लजाउँछे)

युगा — भन् न सुभद्रे, तेरो लोग्नेले तँलाई कसरी माया गर्छ ? तेरो सारा शरीर सुम्सुमाएर म्वाईँ खान्छ ? तँलाई उकुसमुकुस हुने गरेर तातो अंगालेमा बेर्छ ? तेरो ओठ निलाम्मे हुने गरेर चुम्छ ? तँलाई सम्पूर्ण तृप्ती दिन्छ ? भन् न सुभद्रे तँलाई साँईलाले कसरी माया गर्छ ?

(सुभद्रे लाजले रातोपिरो हुन्छे, बोल्न सक्दिन र भुँईतिर निहुरिएर बस्छे ।)

युगा — भन् न सुभद्रे मसँग पनि के को लाज ! साईँलाको त्यही तातोले गर्दा त आज तँ दोजिया भएकी छेस् । तर मलाई हेर त ! चिसिँदा चिसिँदा शरीरभरि काई उम्रिसके । मेरा शरीरभरि घीनलाग्दा काई छन् सुभद्रे म त छाँगोमुनि काई परेर बसेको ढुंगो हुँ । सँधै ओसिलो सँधै चिसो । मेरो शरीरमा कहिल्यै घाम लाग्दैन, कहिल्यै तातो पाउँदिन, कहिल्यै सुक्दिन । आइज आज मलाई एउटा दान दे सुभद्रे, एक दिनको लागि जीवन दे सुभद्रे । मैले तेरो आँखामा जहिले पनि मेरो सुखको लोभ देखेकी छु, तँ त्यो लि, तैँले देखेको जति सप्पै सुख लि । यसको बदलामा मलाई तेरो एक रातको खुसी दे, केवल एक रातको खुसी । बोल न सुभद्रे बोल, तँ मलाई एक रातको लागि तेरो ओछ्यान दान दिन्छेस् ?

पर्दा खस्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *