अनूदित कथा : रेखा

~शशीकला मानन्धर~Sashikala Manandhar
अनु : तुल्सीदास महर्जन

बास्केट बोकेकी रेखालाई देख्नासाथ रविन्द्र मुस्कुरायो । रेखाको कलेज पढ्दाको साथी । जवाफमा रेखा पनि मुस्कुराई । सधैंजसो सन्चो, विसन्चो अनि अरु साधारण कुराकानीपछि रेखा हिँड्न हतारिई ।

‘पख रेखा, आज एकदिन तिमी जान हतार नगर, तिमीसँग एउटा कुरा छ’, रविन्द्रले बाटो छेकेर भन्यो ।

‘जाऊँ, उ… त्यो रेस्टुरेन्टमा गएर चिया पिऊँ, कुरा गरौं’, रविन्द्रले आग्रह गर्यो ।

‘चिया खान नजाऊँ’, रेखाले अप्ठ्यारो मानी ।

‘एकैछिन त हो, खाऊँ न चिया । ल ल जाऊँ, जाऊँ’, रविन्द्रले कर गर्यो ।

‘घरमा धेरै काम छ । सासू बितेको डेढ महिना हुन लाग्यो । डेढमहिने काजक्रिया, संस्कार, भोज (लत्या) का लागि सामान किन्नलाई आएको’, सामानको सूची लेखेको कागज देखाउँदै रेखाले भनी ।

‘चिया खाँदै मेरो कुरा सुन अनि काममा जाऊ, हुन्न ?’ रविन्द्रले कर गरिरह्यो ।

रेखालाई झ्वास्स सम्झना भयो, आज आएर ससुराले हँसिलो मुहारमा ‘चिया ख्वाउन आउनुपर्दैन, पसल जाँदा माइतीमा पनि छिरेर आऊ’ भनेका कुरा । उसले घडी हेरी, दुई बज्न लागेछ । ‘ल एकछिन बसूँ न त’, रेखा तयार भई । उनीहरु सफा रेस्टुरेन्टमा गए ।

उनीहरु आमनेसामने मेचमा बसे । रविन्द्रले दुइटा स्पेसल चिया अर्डर गर्यो । उसले खानेकुरा पनि अर्डर गर्न लागेको थियो, रेखाले नखाने भनी । एक युवकले तुरुन्तै चिया ल्याइदियो । रविन्द्रले चियाको ग्लास रेखालाई दियो । ‘धन्यवाद’ भन्दै रेखाले चियाको ग्लास हातमा लिई ।

चिया खाँदै रविन्द्रले रेखालाई तलदेखि माथिसम्म हे¥यो । सेतो सुति फरिया लगाइराखेकी, सेतो ऊनकै सल ओढिराखेकी । खुट्टामा पनि सेतै चप्पल, सेतै मोजा । अनुहारमा कति पनि शृङ्गार छैन । कालो टल्केको कपाल कसेर बाटिएको छ । कलेज जाँदा हल्का शृङ्गार गर्ने, राम्राराम्रा लुगा लगाउने रेखा, आज बरखी लुगामा फिक्का कसोकसो देखिएकी छे । उसको रुप नै बदलिएको छ ।

रविन्द्रलाई बरखी लुगाबारे केही भन्न मन लागेन । उसले रेखासँग कलेजका साथीहरुबारे मात्र कुरा ग¥यो । रेखाले चिया पिउँदै चुपचाप सुनिरही ।
उनीहरुले चिया सिध्याए ।

‘रेखा, चिया खाइसकियो । मेरो एउटा कुरा छ, भनूँ कि नभनूँ ?’ रविन्द्रले गिलास एकापट्टि पन्छाएर भन्यो ।

‘हुन्छ भन न, के कुरा ?’ सल मिलाउँदै रेखाले सोधी ।

रविन्द्र एकछिन चुप लाग्यो । रेखाले सल मिलाउँदै रविन्द्रलाई पुलुक्क हेरी ।

‘तिमीले बिहे गर्नुअघि मैले पनि तिम्लाई माग्न पठाएको थिएँ, तिमीलाई थाहा होला’, रविन्द्रले कुरा सुरु गर्यो ।

रविन्द्रको कुरा सुनेर रेखा मुसुक्क हाँसी ।

‘मेरो बिहे छिनिएपछि न तिमीले मलाई माग्न पठायौ । यो कुरा तिमीलाई थाहा थिएन होला’, रेखाले यथार्थ बताई ।

रेखाको कुरा सुनेर रविन्द्र अक्क न बक्क भयो । ‘त्यसो भए म पछि परें । ल भैगो पुरानो कुरा । अब नयाँ कुरा गरुँ । अब फेरि तिमीलाई माग्न पठाऊँ ?’ मुस्कुराउँदै रविन्द्रले भन्यो ।

रविन्द्रको कुराले रेखा अकमकाई । के भनेको होला जसरी । उनको अनुहार एक्कासी गम्भीर भयो । केही बोल्न प्रयत्न गरी । ‘मनोज बितेको छ महिना मात्र भयो । मलाई माग्न नपठाऊ । बरखी लुगा लगाइरहेकी छु’, रेखाले लुगा हेर्दै भनी ।

‘के भयो त ? म तिमीलाई माग्न पठाउँछु’, रविन्द्रले रेखाको हात समाउँदै भन्यो ।

‘नचाहिने कुरा गर्छौ’, रेखाले हात झट्कारी ।

मानिसहरु गफ गर्नमा यति व्यस्त थिए कि कसैले पनि उनीहरुलाई वास्ता गरिरहेका थिएनन् ।

‘अब तिमीले बरखी लुगा लाउनुपर्दैन । हामी कलेजको मिल्ने साथी हौं । बिहे गरेर मिलेर बस्न सक्छौं भन्ने मैले भरोसा लिएको छु’, रविन्द्रले रेखाको हात फेरि समात्यो ।

‘म अब बिहे गर्दिनँ’, अघिजस्तै रेखाले हात झट्कारी ।

‘किन यस्तो भनेकी तिमीले ?

‘रविन्द्र, म लोग्ने गुमाएकी महिलासँग… बिधवासँग… तिमीले…’, रेखाको कुरा पूरा हुन सकेन ।

‘मलाई स्वीकार छ, मैले तिमीलाई अपनाइसकें । तिमीले पनि मलाई अपनाउँछ्यौ भने कसको के लाग्छ ? समाज, नातागोता आफन्तले कुरा काट्लान् भनेर चासो राख्ने समय होइन, जमाना धेरै बदलिइसकेको छ । आजभोलि लोग्ने बितेका महिलाहरुले सेतो बरखी लुगा नै लाउन छोडिसके । तर, तिमीले लगाएको देख्दा म त आजित भएको छु’, रविन्द्रले खुरुरुरु भन्यो ।

रेखा चुप लागी । फ्याट्ट जवाफ दिन सकिन उसले ।

‘तिम्रो परिवार साह्रै पुरानो विचारको हुनुपर्छ, होइन ?’ रविन्द्रले फेरि सोध्यो ।

‘हो, मेरी आमाले खैरो बुट्टा भएको फरिया राखी पठाउँछु भन्दा सासू र फुपूससुराहरु राजी भएनन् । सेतै लाउनुपर्छ रे वर्षभरि । यो सेतो बरखी लुगा बाध्य भई लाउनुपरेको छ’, रेखाले गम्भीर हुँदै भनी ।

रविन्द्र अक्क न बक्क भयो ।

‘लोग्ने बित्दा स्वास्नीले बरखी लुगा लगाउनुपर्ने, स्वास्नी मर्दा भने लोग्नेले बरखी लुगा लगाउनु नपर्ने । यो अनमेल चलन हटाउनुपर्छ भनेर मैले विरोध गर्न सकिनँ । सासू बिती । तर, ससुराले सेतो टोपी पनि लगाउन नमानेको देख्दा म आजित भएँ । सेतो टोपी भए पनि लगाउनुपर्छ भनेर फुपूससुराले पनि भन्न सकेन, दाजुभाइ खलकले पनि भन्न सकेन’, रेखाले मनमा उभारिएको कुरा सरररर बताई ।

रेखाको मनमा विद्रोहको भाव छ, तर विद्रोह गर्ने आँट मात्र नभएको रविन्द्रले बुझ्यो । तर, केही भनेन ।

‘एम.कम. पास हुनासाथ एउटा प्रोजेक्टमा जागीर खाएँ । जागीर खाएको बीस वर्षपछि मेरो बिहे भयो । बिहे गरेको… चार महिना हुँदा मोटरसाइकल दुर्घटनामा मनोज बित्यो । मैले केही गर्न सकिनँ, अस्पताल लाँदालाँदै ऊ बित्यो’, रेखा भावुक भई ।

‘मैले यो कुरा सुनें’, रविन्द्रले भन्यो ।

‘मनोज नहुँदादेखि सासू–ससुराले अलि फरक व्यवहार गर्न थाले । प्रोजेक्टको जागीर पनि सकियो । मैले फेरि अर्को ठाउँमा जागीर खाने इच्छा गरें । तर, सासू–ससुराले घरको काम गर्ने मान्छे हुँदैन, हाम्रो सेवा गर्ने कोही हुँदन भने । एम.कम. गरेकी बुहारीलाई जागीर खान नदिने सासू–ससुरा कति पुराना विचारका हुन्, तिमी आफैं विचार गर न । अनि सासू पनि बिती । ससुरा… ससुरा त सासूभन्दा चर्को, स्वभाव कडा । आपूmले भनेजस्तो भएन भने रिसाउने, गाली गर्छ । ससुरासँग मिल्न नसकेर बिहे गर्नासाथ जेठाजु नजिकै घरमा अलग बस्यो । ससुरासँग बसेकीले मैले नै सहनु परेको छ’, आँखाभरि आँसु पार्दै रेखाले घरको कुरा सुनाई ।

‘रेखा, तिमीले धेरै कुरा सहेर बसेकी छ्यौ । ल भैगो, अब मेरो कुरामा तिम्रो के विचार छ त ?’

‘म अब बिहे गर्दिनँ’, नजिकको टेबुलमा रहेका मानिसहरुलाई हेर्दै रेखाले भनी ।

‘यसो नभन रेखा । एकचोटि राम्ररी विचार गर अनि जवाफ देऊ ।’ रविन्द्रले नेपकिन एक टुक्रा लियो । त्यसमा आफ्नो मोबाइल नम्बर लेख्यो ।

‘ल मलाई फोन गर’, मोबाइल नम्बर लेखिएको नेपकिन दिँदै रविन्द्रले भन्यो ।

रेखाले नेपकिन पर्सभित्र राखी ।

‘अब म जान्छु’, रेखा मेचबाट उठी ।

‘अलि पख न ।’ तर, रविन्द्रले यसो भनेन । ऊ पनि मेचबाट उठ्यो । रेस्टुरेन्टको ढोकाबाहिरबाट रविन्द्रलाई पुलुक्क हेरी तर केही नभनी बाटो लागी ।

रविन्द्र अर्कोतिर लाग्यो ।

असनबजारतिर जाँदै गरेकी रेखालाई रविन्द्रको मात्र सम्झना आइरह्यो । उसले भनेको कुरा मात्र कानमा गुञ्जिरह्यो । रेखालाई सूची हेर्दै पसल चहार्न मन लागेन, माइती छिर्न पनि मन लागेन । उसले भोलि पसल आउने विचार गरी । रविन्द्रको कुरो सम्झँदै सरासर घरतिर लागी ।

रेखा घरमा पुगी । मूलढोकाको खापा एउटा खुल्ला थियो । बाहिरबाट कोही मानिस आयो होला नत्र चौवीसै घण्टा ढोका बन्द गरिएको हुन्थ्यो । घन्टी बजाएपछि मात्र ढोका खोल्ने चलन थियो ।
रेखा खुसुक्क ढोकाभित्र छिरी । भित्र लबीमा एकजोर आइमाईजुत्ता फुकालेर राखिएको छ । को आइमाई आएका होला ? भर्याङनजिकको बैठक कोठामा ससुरा एउटी महिलासँग कुरा गरिराखेको सुनिन्छ । आइमाईको स्वर नयाँ छ, चिनाजानीको होइन । बैठक कोठामा जाऊँ कि नजाऊँ गर्दै रेखा भ¥याङ चढी । र, यसो लुकी । कोटाभित्रबाट आइरहेको स्वरतिर चियो गरी ।

‘ममचा मिठो छ हगी ?’ ससुरा चाहिँले सोध्यो ।

‘अँ मिठो, फस्टक्लास छ’, आइमाई स्वर गुञ्जियो ।

मूलढोकाबाट कोही पसेजस्तो ठानेर रेखाले त्यतातिर हेरी । टोलको मःमः पसलमा काम गर्ने कान्छा रहेछ । कान्छा बैठक कोठाभित्र पस्यो । भित्रबाट ट्याङटिङ आवाज आयो । एकछिनपछि कान्छा जुठो प्लेट र कप लिएर बाहिरियो । ऊ मूल ढोकाबाट पनि बाहिरियो । तर, ढोका लगाएन ।

रेखाले मनमनै सोची, मःमः खाने प्रोग्राम भएकोले चिया ख्वाउन आउनु पर्दैन भनेको रहेछ । ससुराले पसल र माइतीमा पनि छिरेर आउनू भनेको तर आफू भने रविन्द्रसँग चिया खाएर चाँडै घर फर्केको कुरा पनि सम्झी । मनमा शंका उब्ज्यो । उनले कोठाभित्रको कुराकानी ध्यान दिएर सुनिन् ।

‘हेर्नुस् न, मलाई एक्लै धुम्धुम्ती बस्न धेरै गाह्रो भयो’, ससुरा चाहिँले दुःखी हुँदै भन्यो ।

‘अब गाह्रो हुन्न तपाईंको । म एउटा कुरा खुलस्त हुने गरी भन्छु तपाईंको । त्यो केटी घरायसी काममा भने अलि अल्छी छे तपाईंको । के गर्ने ?’ हररररर हाँस्दै आइमाईले भनी । रेखा झसङ्ग भई ।

‘भातसात त पकाउँछे नि ?’ ससुरा चाहिँले सोध्यो ।

‘होइन तपाईंको, त्यो केटी घरको काम गर्न अल्छी छे भनेको । घरायसी काम जाने नजानेको नै थाहा भएन मलाई । पहिले नै भनेन भन्ला भनेर भनिदिएको तपाईंको । त्यो केटी तपाईंसँग आउन त तयार भइसकी तपाईंको । के गरुँ त, भनिदिनुस् तपाईंको’, फेरि हररररर हाँस्दै भनी त्यो आइमाईले ।

सेतो टोपीसमेत लगाउन नमान्ने ससुराले स्वास्नी मरेको डेढ महिना नहुँदै बिहे गर्ने कुरा गरेको सुन्नासाथ रेखाको जीउमा कसैले तातो पानी खन्याएजस्तो भयो ।

‘घरायसी काम गर्न मन छैन भने भैगो, घरमा सबै काम गर्ने बुहारी छ भनिदिनुस् । बुहारी भएर ससुरा र कान्छी सासूको सेवा नगरी सुख ?’ ससुराले फुइँ लाउँदै भन्यो ।

‘त्यही त भन्न खोजेको तपाईंको, नो प्रोब्लम, होइन र तपाईंको । त्यसो भए कुरा पक्का भयो तपाईंको’, हरररर हाँस्दै त्यो आइमाईले भनी ।

कुरा गर्नासाथ हरररर हाँस्नुपर्ने त्यो आइमाईको स्वर पनि ठूलो छ । रेखाले सबै कुरा सुनी ।

‘पक्का भयो… हा…हा…हा…हा’, ससुरा पनि हररर हाँस्न थाल्यो ।

‘भर्याङमाथि बसेर कुरा सुनिराखेकी रेखालाई उकुसमुकुस भयो । जाडो याममा पनि उसको अनुहारमा तरतरी पसिना आयो । उसलाई अरु सुन्ने धैर्य नै भएन । ऊ निमेषमै माथि कोठामा गई । जुत्ता फुकाली । खाली बास्केट र पर्स टेबुलमा राखी । ढोकाको चुकुल लगाई । अनि खाटमा घोप्टो परी हिक्कहिक्क गरी ।

एकछिनपछि ।

आँखाबाट खसेको आँसु र नाकबाट आएको सिँगान पुछ्दै कोठानजिकको बाथरुममा पसी । मुख धोई, रुमालले बेस्सरी अनुहार पुछी अनि बाथरुमबाट बाहिर निस्की । कोठाभित्र यताउति हल्लिँदै सोची, ससुराले बिहे गर्न लागेको कुरा माइतीमा दौडेर गई आमालाई भनूँ कि, कोही साथीलाई भन्न जाऊँ कि । के गरुँ कसो गरुँ भयो उनलाई । फेरि खाटमा बसी ।

उसलाई सासू जिउँदो छँदाको कुरा सम्झना भयो । सासू–ससुरा दुवैले आफूलाई जागीर खान नपठाएको, लोग्ने बितेपछि आफूलाई हेला गरेको । यी सब सम्झीसम्झी रेखा रन्थनिई । फेरि खाटबाट जुरुक्क उठी ।
मैले पढेकी छु, जागीर खानुपर्छ अथवा अरु कुनै रोजगारी गर्नुपर्छ । मैले आफूलाई आर्थिक रुपमा बलियो बनाउनुपर्छ । रेखाले मनमा कुरा खेलाई ।

झ्वास्स रविन्द्रको सम्झना भयो । उसको कानमा रविन्द्रको कुरा गुञ्जियो । ऊ झ्यालतिर गई, एकफेर विचार गरीे । अनि टेबुलनजिक उभिई । उसको आँखाले रविन्द्र र जागीर एकसाथ उभिरहेको देख्यो ।

‘अब मैले सहेर यो घरमा बसिराख्नु भनेको नोकर्नी बन्नु हो । त्रिसठ्ठी वर्षको ससुराले सासू बितेको डेढ महिना नहुुँदै बिहे गर्दैछन् । म अठ्ठाइस वर्षकी युवती, लोग्ने बितेको छ महिना भयो । मैले फेरि बिहे गर्न किन नहुने ? बिहे गरुँ कि नगरुँ भनेर अब म आमालाई सोध्न जान्नँ, कोही साथीभाइसँग पनि सोध्न जान्नँ, समाजसँग पनि स्वीकृति लिन्नँ । मैले आफूलाई सोधिसकें, मेरो मनले हुन्छ भनिसक्यो, म मेरो मनको कुरा सुन्छु । अब मेरो पाइला मेरो मूल ढोका भेट्टाउन अगाडि बढ्छ’, मनमनै रेखाले विद्रोहको रेखा कोरी ।

टेबुलमा राखिएको पर्स खोली । पर्सबाट मोबाइल झिकी । नेपकिन कागज पनि झिकी । रविन्द्रको नम्बर हेर्दै मोबाइल डायल गरी ।

मोबाइलमा सम्पर्क भयो ।

‘हेलो’, उताबाट रविन्द्रको स्वर गुञ्जियो ।

केही भन्नुअगाडि रेखाले आफूले ओढिराखेको सेतो सल फुकाली ।

(शशीकला मानन्धर नेपाल भाषाकी पहिलो महिला उपन्यासकार हुन् । उनी नेपाली भाषामा पनि लेख्ने गर्छिन् । साइली, नामी जस्ता उनका उपन्यासहरु नेपाली साहित्यमा चर्चित छन् । उनले थुप्रै फुटकर कथाहरु पनि लेखेकी छिन् ।)

(स्रोत : Emulyankan)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *