कविता : चिसो वर्तमान

~आजाद अजनवी~Aajad Ajnabi

फेसबुक
एक डबका जाँड
र लोडसेडिङ
उस्तै नै छन् दिनहरू
छैन केही फरक
उस्तै नै छ बाटो
नेताहरूको भाषण
महँगी
र र्सर्टिफिकेटको फोटोकपी पछाडि
सक्कलबमोजिम नक्कल ठीक छ
सबै ठीकै देखिरहेछु
ममाथिको सिङ्गै आकाश
उडिरहेका चराहरू
अनि पल्लो घरकी तरुनी
हरेक दिन
उस्तै समाचार छापिएका अखबारहरू
रेडियो
तरकारी र सामानको भाउ
सडकका भित्ता-भित्ताहरूमा पोतिएका
राता-राता नाराहरू
तिनै नारामुनि बोरा ओढेर
सुतिरहेका कलिला बच्चाहरू
उस्तै-उस्तै नै छ
आन्दोलन र जुलुस
चुरोटको ठुटो बटुलिरहेको बहुला
सुनिरहेछु उस्तै-उस्तै आवाजहरू
क्रान्ति, अशान्ति, विद्रोह
लुटपाट, हत्या, अपहरण
भो नसुनाऊ यार
अमरसिंहले नालापानी लडेको कथा
वाइयात !!!
के मलाई मेरो देशको माया छैन –
प्रत्येक साँझ
मैन बत्तीको अन्त्यसँगै
सिरानीमुनि राखेर नागरिकताको प्रमाणपत्र
म मेरा चिसा यी निद्राहरूमा
देखिरहेछु ताता-न्याना सपनाहरू
फेसबुक, एक डबका जाँड र लोडसेडिङ ।
छायाजस्तै बिलाउँदै-बिलाउँदै गइरहेका
असङ्ख्य युवाहरूका आकृतिहरू
अनि यो देशको नक्सा ।

कुपन्डोल, ललितपुर

(स्रोत : Ghatanarabichar)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.