लघुकथा : विभेदना

~उषा शेरचन~Usha_Sherchan

उसले राष्ट्रिय रुपमैँ आफ्नो प्रतिष्ठा आर्जन गरेपछि एकदिन सञ्चार माध्यम मार्फत उसले सगर्व घोषणा गर्यो —‘बिवाह पूर्व नै कुमार चाहिँ थिइन है म । यो भरिसभामा उद्घोष गर्नकुनै संकोच छैन मलाई कि मेरो पहिलो शारिरिक सम्बन्ध कुनै एउटी सर्वाधिक सुन्दरी यौनकर्मीसँग भएको थियो भनेर । त्यसपछि जीवनमा कतिजनासँग यौन सम्पर्क गरियो गरियो !’

उसले यसरी सगर्व वयान गरिरहँदा —गललल्ल..गललल्ल हाँसोले हलै थर्कियोे । कोही रात्तोपीरो हुँदै नजर झुकाए । कोही जिब्रो काढेर बसे । कोही कोही आफू पनि उही ड्याङकै मुला न हो भन्दै मनमनै गर्व र ग्लानी एकैपटक अनुभूत गर्दै चुपचाप साधु विरालो भएर बसे । केही उत्तेजित हुँदै बलेको आगोमा घिउ थपे । कोही कोही अरुले थपेको घिउमा आफैँ घिउझैँ पग्लिरहे । मान्छे पिच्छेका रुप बेग्लाबेग्लै भएझैँ अनुभूति पनि बेग्लाबेग्लै गरे ।

कसैले भने— ‘वाह ! कति बोल्ड ? आफ्नो जीवनजस्तै खुला र उन्मुक्त विचार ।’

उसको कुरा भुइँमा झर्न नपाउँदै अर्कोले भन्यो—‘हो त नि हगि ‘कस्तोखुला किताबजस्तो मान्छे ?’

अर्काेले थप्यो— ‘ह.ह..ह .! यो हो नि त एक्काइसौँ अताब्दीको अत्याधुनिक मान्छेको विचार ।’ आजको मान्छेमा यत्तिको खुला त हुनैपर्छ । आदिआदि…..!!

भोलिपल्ट सबै पत्र पत्रिकाहरुमा भगेरोकोे टाउकोजस्तो अक्षरमा उसको खुला बिचारको तारिफका पुलबाँघेर लेखिएका पत्रिकाहरुमा उसको श्रीमतीको पनि नजर पर्यो । आफ्नो श्रीमानको खुलाबिचारका बारेमा खुलेर प्रसंसा गरेको पढेर श्रीमती रिसाइनन् । बरु उल्टै श्रीमानको तारिफमा उनले पनि धेरै शब्दहरु खर्च गरिन् ।

श्रीमती रिसाउनुको साटो उल्टै तारिफ गरेको सुनेर भित्रभित्रै मख्ख पर्दै भन्न थाल्यो— ‘आफू त खुला किताबजस्तो मान्छे । खुला भएरै बाँचियो, हाँसियो, नाचियो र मोजमज्जा गरियो हेर बुढी ! मरेर लानु केही छैन । दुईदिनको जीवन मस्तले बाँच्नजान्नु पर्छ । तिमीलाई बिहे गर्नु अघि नै कतिलाई भ्याइयो भ्याइयो ? केलाई ? र, कसलाई ढाँट्नु पर्यो र? यस्ताकुराहरु । यसै पनि नाम र दाम दुवै कमाएकै छु । समाजमा प्रतिष्ठा पनि जमाएकै छु । मलाई त संकुचित बिचारधाराका मान्छेहरु पटक्कै मन पर्दैन । उहाँभने एक्काइसौँ शताब्दीमा छौँ भनेर धाकधक्कु लाउँछन् मान्छेहरु । तर सोच र बिचारमा भने उन्नाइसौँ शताब्दीकाजस्ता । आफू त खुलेरै बोलिन्छ र बोलियो पनि । पत्रपत्रिकाहरुले पनि खुलेरै लेखेछन् ।’

डाइनिङ टेबलमा बे्रकफाष्टका लागि चिया र खानेकुरा राख्दै श्रीमती पनि टेबलको पल्लो कुर्सी तानेर बस्दै भन्न थालिन् —‘चिया चिसो भइसक्यो ? कति त्यही पत्रिका मात्रै मख्ख पर्दै पढि राख्नुभएको भन्या ?’

श्रीमतीको कुराको जवाफ दिनुको साटो आफैँ मख्ख पर्दै भनिरह्यो —‘मलाई त दोहोरो मानसिकता बोकेर हिँड्ने मान्छेहरु पटक्कै मन पर्दैन । आफू त एक्काइसौँ शताब्दीको आधुनिक मान्छे । बिचार पनि आधुनिकै छ हेर बुढी ! आफू त बाहिर जे भित्र पनि त्यही । केलाई लुकाउनु ब्यर्थैमा होइन त ? खुलेरै बकिदिएँ सबैसबै !’

उनको श्रीमानले त्यसो भनिरहँदा उसकी श्रीमती रिसाउनुको साटो झन् झन् खुसी देखिन्थी । आफ्नो श्रीमान् भन्दा पनि सायद धेरै खुसी । श्रीमती पनि उत्साहित हुँदै श्रीमानको अनुहार हेरेर भन्न थालि— तपाईसँग बिहे भए देखि नै मेरो मनभित्र एउटा पीडाको गरुङ्गो पोकोलाई गाँठो पारेर राखेकी थिएँ । कति पटक फुकाउने प्रयत्न गरेँ तर हिम्मतै गर्न सकिन । हुनत त्योे गाँठो खोल्नको निम्ति आजभन्दा उत्तम दिन अरु कुनै हुनै सक्दैनथ्यो होला !

निर्धक्क भएर फुकाउ श्रीमतीजी तिम्रो त्यो पीडाको गाँठोलाई । हर्षित मुद्रामा भन्यो श्रीमतीलाई श्रीमानले ।

‘म पनि त कुमारी कहाँ थिएँ र ? तपाईँसँग बिहेगर्दा !’

यत्तिकुरा सुन्न नपाउँदै अघि देखि झलमल्ल घामलागेको श्रीमानको अनुहारमा एकाएक कालो बादल मडारिएर आएझैँ देखियो र अँध्यारो हुँदै झस्केर कुरा नबुझेझैँ गरि फेरि सोध्यो— ‘के रे ? के रे?’

‘के नि अब? म पनि त कुमारी थिइन भनेको नि ? तर तपाई कुमार नहुनु र म कुमारी नहुनुका कारण भने ठिक उल्टो छ । तपाई आफ्नै स्वेच्छाले कुमार रहनु भएन । म भने तपाईजस्तै अर्काे लोग्ने मान्छेले जबर्जस्ती आफ्नो यौन तृष्णा मेट्नका लागि मेरो अस्मिता लुटिदिएको कारणले गर्दा कुमारी रहन पाइएन ।’

यत्ति सुन्नु के थियो ? अधि देखिको फूर्ति त कता हरायो हरायो !

श्रीमानको चुकघोप्टेजस्तो अँध्यारो अनुहार देखेपछि श्रीमतीले—‘किन के भयो र ? अधिदेखि झलमल्ल घाम लागेको अनुहार एकाएक किन अस्तायो? त्यो फूर्ति र गर्व कता हरायो ? एक्काइसौँ शताब्दीको दम्भ बोक्ने आधुनिक मान्छेको आधुनिक बिचार कता बिलायो ? लौ भन्नुहोस् त श्रीमानजी ! म बलात्कृत हुनुमा मेरो गल्ती कहाँनेर छ ? नगरेको गल्तीको पीडा बोकेर र आफ्नै मनको सजाय आफैँले भोगेर कतिञ्जेल बाँचु म ? तपाईले चाहिँ खुलेर त्यत्रो सञ्चार माध्यमबाट फुक्न हुने ? मैले चाहिँ तपाईलाई सुटुक्कै भन्न पनि नहुने ? तपाई र म मा फरक के छ ? ल तपाई आफै भन्नुहोस् त ?

उसको श्रीमान रिसले रातोपीरो हुँदै जुरुक्क उठेर भन्यो—‘पुरुष प्रधान समाजमा लोग्नेमान्छे र स्वास्नी मान्छेको कुरामा पनि कहिँ एउटै हुन्छ ? फरक के छ रे अझ हेर्न ? म भनेको लोग्नेमान्छे तँ भनेको स्वास्नीमान्छे फरक त्यही छ बुझिस् ।’

(स्रोत : Tarunkhabar.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *