कविता : फेरीएको शब्दको परिभाषा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

फेरीएको शब्दको परिभाषा ,
सहिष्णुता रुपान्तरण भै रहेछ असहिष्णुतामा
मानवमा मानवता स्खलन हुँदा
अराजकताले प्रश्रय पाईरहेछ
सुशासनको सुगा रटाईमा
सेवा प्रदायको नशा नशामा
कुशासनले आवास बनाई सकेछ
शब्दजालमा रमाउने प्रहरले
आफ्नो जवानी छताछुल्ल पार्दै
शब्द शब्दले शब्दलाई नै गिज्याई रहेछ ।

भो नकोट्याऊ अतितका घाउहरु
राजनीतिको चार अक्षर भित्र
संपूर्णताको चाहना गर्नेहरु
अखण्डित मानसिकताका धरोहर भत्काउँदै
आफुले आफैलाई करौंतिले रेट्दै
सिर्जनारुपि शब्दलाई विसर्जनमा रुपान्तरण गर्दैछन्
अस्तित्वको खोजीमा हिडेकाछौं भन्नेहरु
विसर्जनवादलाई अंकमाल गर्दै
राजनीतिरुपि सौन्दर्यको शब्दमा
समाजवादको लेप लगाएर
अस्तित्वविहिन गोरेटो पछ्याई रहेछन्
नाँगो आङ भोको पेट र
क्षीतीजको छानोमा बस्न वाध्यतालाई उपयोग गर्दै
अग्रमनको राजनीति पुराण सुनाउँँदै
वचनको सहरामा गुजारा चलाऊँन
दिईने उपदेशले आजित हुँदै
मृत्यवरण गर्न वाध्य पारिएका छन्
र घटदै छन् तिम्रा गलामा माला पहिराईदिने हातहरु
तिम्रा चाहनाअनुरुपको ट्रेडमार्कमा
स्वस्तिक छाप हानीदिने जमातहरु
उदारीकरणको लेप लगाएर
बेरोजगार उत्पादन गर्ने कारखाना
खोल्न उद्यत जमातको बिगबिगिले
बेरोजगारी कारखानाका कच्चा पदार्थरुपी मानवहरु
दैनिक गुजाराकालागि विदेशिन वाध्य छन्
विप्रेषणको थाँक्रोले थामेको अर्थतन्त्र भित्र
खोजिएका स्वाभिमानरुपि हरफहरुले
छिमेकीको निरन्तर विषमीश्रीत चुम्वनमा
राष्ट्रवाद मौलाएको दिवास्वप्न देख्नेहरु
ब्यबहारत शब्दको परिभाषा फेरिएको
थाहा नभएको स्वाङ गर्दै
ठड्याईरहेकाछन् आलिशान बंगलाहरु
चार अक्षरका नायकहरु
विराजमान छन् मानवरुपि पिरामिडमा
कठै शुभ्र शान्त स्निग्धका धरोहरहरुले
तिनको प्राणपखेरु रक्षार्थ बुझाऊँदेछन् ठेकीहरु
किनकि यहाँ शब्दका अर्थ संगै
फेरीदैं छन् सबैका स्वरुपहरु
र म म भएर बाँच्न सक्ने शब्द पनि
द्रुततर रुपमा फेरिने हतारमा छ
अझै पनि आहुति खोज्नेहरु
तिमीलाई थाहा छैन बिस्तारित शब्द
संकुचनमा परिणत भएको
किला काँगडाविहिन, संकुचित म
म म बाट पनि संकुचित पारिदैछु
अस्तित्वकालागि लडेकाछौं भन्ने शब्दबाट
म अस्तित्वविहिन वन्दैछु
पराश्रितताले दैलो उघारीसके छ
स्वाधिनता पराधिनतामा रुपान्तरण हुँदै
पराश्रितता को आतिथ्य ग्रहणको लागि
लामो लर्काे लागेको छ
शब्दको अर्थ फेरिएको छ
राष्ट्रवादको शब्दमा अराष्ट्रवादरुपि
ऐजरुले धपक्कै गाँजे छ
ऐजरुबाट बेह्रीएको राष्ट्रवाद
अस्तित्वको खोजिमा छट्पटाई रहेछ छट्पटाई रहेछ
फेरिएको शब्दको परिभाषाबाट
शब्द मुक्त हुन खोजिरहेछ मुक्त हुन खोजिरहेछ…..?????

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.