संस्मरण : कोलाज : कटारी

~कृष्ण शाह यात्री~Krishna Shah Yatri

कुनै समय ‘सगरमाथाको द्वार’ भनेर चिनिन्थ्यो कटारी बजार । मैले बाल्यकालमा यही बाटो हुँदै गन्तव्य सगरमाथा बनाएका विदेशी पर्यटकको लस्कर अनेकौंपटक देखेको छु । तिनलाई सबैले ‘अम्रिकाने’ भन्थे । अम्रिकानेहरूको भाषा नबुझे पनि उनीहरूको बोली, लवाइखवाइ र केटाकेटीहरूलाई गर्ने माया र व्यवहार देखेर दङ्ग पथ्र्यौं । महाभारत र चुरेको बीचमाजङ्गल र खोलाको घेरिएको उदयपुरको सानो उपत्यकाझैं लाग्ने दुन क्षेत्र हो – कटारी ।

मेरा बा २०२१ सालमा नारायणी अञ्चलबाट बसाइसराइ गरी कटारी झर्नुभएको हो । नारायणी नदीले घरखेत डुबाएपछि व्यापारको सिलसिलामा कटारी आउनुभयो र यतै रम्नुभयो । हामी उहााका सबै सन्तान यतै जन्मियौं । अहिलेको कटारी बजार ऊ बेला दिउासै बाघ, भालु र हात्ती लाग्ने बाक्लो जंगल थियो । बाको मुखबाट सुनेको मैले ।

कटारीमा २०२४ सालमा ‘त्रिवेणी हाइस्कुल’ खुलेको हो । मेरो घरदेखि १० मिनेटको पैदल दूरीमा थियो यो स्कुल । त्यस भेगमा अरू स्कुल थिएन । त्यसैले डेढ घन्टाको बाटो हिंडेरै भोर्ले, मरुवा, सिसाघारीदेखि विद्यार्थीहरू पढ्न आउाथे । यसरी पढेका विद्यार्थी देशका बडेबडे डाक्टर, इन्जिनियर, लेखक, मन्त्री, वकिल, सचिव अनेक क्षेत्रमा स्थापित भएका छन् । भलै स्कुलको अवस्था जहींको तहीं छ ।

यसपालि मंसिरको पहिलो साता म पढेको त्रिवेणी हाइस्कुल पुगें । भूकम्पले जीर्ण भवन र उराठलाग्दो स्कुल देखेर मन भारी भयो । मलाई पढाउने सरहरूसाग भेट भयो । बालवर्गदेखि १० कक्षासम्म पढेको आफ्नो स्कुललाई नजिकबाट देखेर म नोस्टाल्जिक हुन पुगें ।२०३७ सालताकाको कुरा हो । दाइ–दिदीहरू स्कुल गएको देखेर मलाई पनि स्कुल जान मन लाग्थ्यो । पााच वर्ष नपुगी स्कुलले भर्ना लिंदैनथ्यो । मेरो दाइ रामचन्द्र तीन कक्षामा पढ्नुहुन्थ्यो । उहाँसँग फोटो र चित्रहरू भएको स्कुले किताबहरू थिए । म फोटो र चित्र भनेपछि हुरुक्कै हुन्थे । कतिपटक घर अगाडिको प्रकाश ठाकुरको सैलुनमा बा दाह्री काट्न जाादा सैलुनमा झुनडाइएको फिलिमको पोस्टर र चित्रहरू हत्ते हालेर घर ल्याइछाडेको सम्झना ताजै छ ।

दाइको किताबको चित्रहरू हेर्न खोज्थें । तर च्यातिदेला भनेर मैले छुनै पाउँदिनथें ।‘अहिले कृष्णको किताब हेर्ने बेला भएको छैन । स्कुल जान थालेपछि पाइन्छ,’ दाइले यसो भनेपछि म चुप लाग्थें । अनि त्यो रात किताब च्यापेर स्कुल गएको सपना देख्थें ।शत्रुधन, रामअवतार, राजु, कालेबाबुहरू मेरा टोले साथीहरू थिए । हामीहरू मोजाको भकुन्डो बनाएर बाटो र चउरमा खेल्थ्यौं । फलामको रिङलाई साइकल बनाएर पञ्चायतको ओरालोमा गुडाउँथ्यौं । चप्पल काटेर मोटरगाडी बनाउँथ्यौं । कहिलेकाहीं बयर टिप्न तावाखोलाको बगर पनि पुग्थ्यौं । खेल्ने र खानेबाहेक कामै थिएन हामी फुच्चाहरूको ।

एक दिन घरअगाडिको बाटोमा भकुन्डो खेलिरहेको थिएँ । बाले बोलाएर भन्नुभयो, ‘कृष्ण † अबदेखि यो खेलकुद बन्द । भोलिदेखि खुरुखरु दाइ–दिदीहरूसँग स्कुल जानुपर्छ ।’बा कडा मिजासको हुनुहुन्थ्यो । विशेषगरी पढाइको मामलामा । दायाँबायाँ गर्दा दाइ र मैले पनि धेरैपटक सजाय पाइसकेका थियौं । बाले स्कुल जाने कुरा गरेपछि म रनभुल्लमा परें । एकातिर अब दिनभरि खेल्न नपाइने भन्ने कुराले मन खल्लो भयो । अर्कोतिर स्कुलमा दाइ–दिदीहरूको जस्तै फोटो र चित्र भएको किताब पाइने भइयो भनेर खुसी पनि भएँ ।बेलुकी भात खाने बेलामा आमालाई सोधें, ‘के स्कुलमा किताब पनि पाइन्छ आमा ?’‘किताब पनि पाइन्छ । लेख्ने सिलोट पनि पाइन्छ । अब राम्ररी पढ्नुपर्छ है छोरा ।’मैले नबोली टाउको हल्लाएँ ।

भोलिपल्ट मसँगै दिदी ओमकुमारीलाई पनि बाआमाले स्कुल लानुभयो । मलाई ‘बाल वर्ग कक्षा’ (अहिलेको नर्सरी भनिने) मा भर्ना गरिदिनुभयो । दिदीलाई एक कक्षामा । शत्रुधन, मीनप्रसाद, राजु, रामअवतार, कालेबाबु मेरा टोले साथीहरू पनि आमाबासँग स्कुल भर्ना हुन आएका थिए । साथीहरू पनि स्कुलमा भर्ना भएपछि भेट हुने भयो भनी खुसी भएँ । यसरी हाम्रो हातमा एक–एकवटा किताब, कालो सिलोट र चकको डल्लो आइपुग्यो । घर पुगेर राति अबेरसम्म जानी नजानी सिलोटमा चकले चित्रहरू बनाएँ– रूख, चरा र बाको अनुहारको ।

अब मेरो दिनचर्या फेरिएको थियो । नौ बजे खाना खाइवरी दाइ–दिदीसँग स्कुल हिँडिसक्नुपथ्र्यो । ‘बाल वर्ग’ कक्षामा एकैजना माड्साबले मात्र पढाउनुहुन्थ्यो । उहाँलाई सबैले ‘गुरुजीसर’ भनेर बोलाउँथे । उहाँको खास नाम सत्यनारायणलाल कर्ण हो भन्ने कुरा त मैले पनि कलेज पढ्ने बेला मात्र थाहा पाएको हुा । होचो कदका गुरुजीसर खाना खाादा एक शब्द पनि बोल्नुहुन्नथ्यो । यो उहाँको पहिलेदेखिकै त्यो मौन व्रत हो भन्ने कुरा बाले भन्नुहुन्थ्यो । उहाँले बाको अनुरोधमा मेरी आमालाई पनि नाम लेख्न र अक्षर चिन्न सिकाउनुभयो । दाइ, दिदीपछि उहााले मलाई अक्षर चिन्न सिकाउनुभयो । स्कुलको कालो पाटीमा गुरुजीसरले कदेखि ज्ञसम्म लेख्नुहुन्थ्यो । हामी आ–आफ्नो कालो सिलेटमा चकले त्यस्तै लेख्ने सिको गथ्र्यौं । केही दिन त रमाइलैसँग बित्यो ।

हाम्रो बाल वर्गको कक्षामा डेक्स–बेन्ज थिएन । घरबाट विद्यार्थीले लगेका चकटी, बोरा र कक्षाभित्रकै इँटा ओछ्याएर बस्नुपथ्र्यो । दिनभरि फुक्का भएर खेलिहिँड्ने मलाई अलि दिनपछि स्कुलको कक्षा बडो उकुसमुकुस लाग्न थाल्यो । अक्षर चिनाउने ‘मनोहर पोथी’ नामको पुस्तक पनि मन पर्न छाड्यो । गुरुजीसरको सुगा रटाइ पनि मन पर्न छोड्यो । अनि स्कुलको पढाइभन्दा कक्षा कोठाबाट कसरी भाग्न सकिएला भनी उपाय सोच्नतिर पो लागें ।

म फुच्चेलाई उपाय फुरेन । सोच्दा सोच्दै अर्को वर्ष एक कक्षा चढी त हालियो । अब भने चार, पाँचवटा किताब पाएको थिएँ । लेख्ने कपी र पेन्सिल पनि । तर यो सबै पाउँदा पनि पढाइतिर भने पटक्कै मन गएन । हिसाब भनेपछि पिसाब आउँथ्यो । गृहकार्य देखेर ज्वरो फुट्थ्यो । ओहो † दाइ–दिदीहरू कसरी रमाइरमाइ स्कुल जान सकेका होलान् भनेर गम खान्थें ।

स्कुल नजिकै तावा र ककरु खोला थियो । यी खोलाको बगरमा मेरै उमेरका केही केटाहरू दिनभरि खेलेर बस्थे । एक दिन स्कुलको प्रार्थना सकेपछि भाग्ने विचार गरें । नभन्दै मेरै कक्षाका एक, दुई अरू साथीसहित भागियो । भागेर तीनै बगरे ठिटाहरूसँग मिसियौं । त्यो दिन खोलामा साथीहरूसँग मिलेर माछा मारियो । पोलेर खाइयो पनि । अर्को दिन उखुबारीमा उखु खान गइयो । काँचो सुठुनी खोस्रन बलौटे खेत पुगियो । तित्री र बयर टिप्न पनि गइयो । यसरी स्कुल हिँडेको म खोलाको बगर–बगरमा पो रमाउन थालें । यो कुरा मेरो घरमा कसैलाई थाहा थिएन । स्कुल छुट्टी हुने बेलामा लुसुक्क साथीहरूको समूहमा मिसिएर दाइ–दिदीहरूसागै घर फर्किन्थें । अनि कसरी थाहा होस् †

स्कुलबाट भागेर हामी कहिलेकाहीं बगरमा बालुवा खनेर ठूलो खाल्डो बनाउँथ्यौं । अनि त्यसलाई वनमाराको झार र त्यसमाथि बालुवाले छोपेर छाडिदिन्थ्यौं । चिसापानीबाट आउने ट्रक त्यही बगर हुँदै आउँथ्यो । हामीले खनेको खाल्डोमा ट्रक फस्थ्यो । हामी बेतोड भाग्थ्यौं । यो कुरा दाइ–दिदीले थाहा पाएपछि मलाई सम्झाउनुभयो । मैले बानी नसुधारेपछि घरमा पोल लगाइदिनुभयो । त्यसपछि स्कुलका सरहरूले पन मलाई अलि बढी नै कडीकडाउ गर्न थाल्नुभयो । फाट्टफुट्ट भाग्ने क्रम भने रोकिएन ।

एक वर्षपछि कटारीमा ‘सगरमाथा शिशु सदन बोर्डिङ स्कुल’ खुल्यो । एक विदेशीले खोलेका हुन् भन्ने सुनिन्थ्यो । बोर्डिङमा लुगा धोइदिन्छ, सफा खानेकुरा दिन्छ र पढाइ पनि राम्रो हुन्छ भनेको सुनेपछि बाआमाले मलाई बोर्डिङ स्कुल हाल्ने निधो गर्नुभयो । उहाँहरूले भोलिपल्टै मलाई बोर्डिङ स्कुल पुर्‍याउनुभयो । चारैतिर अग्लो पर्खाल लगाइएको डाँडामा रहेको त्यस बोर्डिङ स्कुलबाट भाग्ने ठाउँ पनि थिएन । अब मैले चाहेर पनि नचाहेर पनि त्यही ठाउामा पढ्नुपथ्र्यो । एक दुई दिन नरमाइलो लाग्यो । बिस्तारै नयाँ साथीहरू बने । सरमिसहरूले बुझाएर पढाउनुहुन्थ्यो । मिसहरूले निकै माया गर्नुहुन्थ्यो । बोर्डिङको ड्ेरस, टिफिन बक्स, अङ्ग्रेजीका रङ्गीन पुस्तकहरूसहित झोला भिरेर स्कुल जान पाउँदा मेरो मन अचम्मसाग फेरियो ।

बोर्डिङ पढ्न थालेपछि मेरो पढाइ राम्रो भएर आयो । सरकारी स्कुलमा चार कक्षादेखि अङ्ग्रेजी पढाइ हुन्थ्यो । मैले यहाँ एक कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पढ्न पाए । बोर्डिङमा तीन कक्षासम्म मात्र पढाइ हुन्थ्यो । म तीनै कक्षामा ‘फस्र्ट’ विद्यार्थी भएँ ।
चार कक्षादेखि पढ्न म फेरि त्रिवेणी हाइस्कुल भर्ना भएँ । यसपटक भने पढाइको चस्का लागेकाले भाग्ने सोच कहिल्यै पलाएन । हाइस्कुलका अरू कक्षाहरूमा म प्राय: पहिलो हुन थालें । पटक्कै पढ्न मन नगर्ने मजस्तो विद्यार्थी फेरिएर आएको देखेर हाइस्कुलका सरहरू पनि छक्क पर्नुभएको थियो । एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि भने म कलेज पढ्न काठमाडौं गएँ । यसपछि कर्मक्षेत्र काठमाडौं बन्यो ।

‘अब कहिले काठमाडौं फर्किने कृष्ण ?’ राजकुमार श्रेष्ठसरले सोध्नुभएपछि म वर्तमानमा ओर्लिएँ ।

‘आजै फर्कन्छु सर । भोलिदेखि तराईमा यातायात अझ कडीकडाउ हुादैछ रे । लामो बन्दमा परिएला भन्ने चिन्ताले सताइरहेको छ,’ मैले भनें ।बिदावारी भई फर्किने बेला मेरो प्यारो त्रिवेणी हाइस्कुलमा एकपटक फेर िफर्किएर हरें । मैले पढेका कक्षाकोठाहरूमा आकासे नीलो सर्ट, पाइन्ट र फ्रकमा विद्यार्थी भाइबहिनी रमाउँदै पढिरहेका थिए । भोलिको सुन्दर सपना उन्दै ।

प्रकाशित: पुस १८, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.