पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

युनिका,

मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले तिमीलाई आरामी अवस्थामा भेट्नेछ। तिमी यतिबेला सुदूर गाउँमा आफ्नो जीवन पढिरहेकी हौली। त्यहाँ बिजुली छैन। कुपिको उज्यालोमा स्कुलका सर र मिसले दिनुभएको होमवर्क गरिरहेकी हौली। दिनभरीको थकाईले तिमीलाई निन्द्राले झमझम छोपिसक्दासमेत कहिलेकहिले त तिम्रो होमवर्क नसकिँदो हो। प्रश्नका उत्तरहरु रटान गरेर पढ्नुपर्ने शिक्षाले कहिले कहिले वाक्क लाग्दो हो। हामी सैद्दान्तिक शिक्षामा हुर्किन पर्नेहरुको बाटो त्यही हो। हामीलाई थाहा हुन्न हामी केका लागि पढिरहेका छौँ ? र पढेर भोलि के हुने हो ? त्यो पनि हामीलाई थाहा हुन्न। शायद यसकै भूमरीभित्र छौ तिमी अहिले।

मेरो अतितको एउटा याद तिमीलाई सुनाउछु -तिमी जस्तै हुँदाको। निन्द्राले आँखालाई पूरै छोपिसके पनि मेरो होमवर्क सकिएको थिएन। उसो भएर झुलिझुली म कलम र कपीसँग खेलिरहेको थिए। पत्तै नपाई कति बेला झ्याप्पै निदाएछु। त्यति त ठिकै थियो। केही बेरमा त म चलेछु। टाउको तातो भएको अनुभव गरेँ र झसँग ब्युँझिएँ। कुपिले केश डढाएछ। धन्न केही अनिष्ट हुन पाएन। आशा छ तिमीले त केश ड्ढाएकी छैनौ होला।

बिहान उठेपछि तिम्रो व्यस्तताको अर्को शृङ्खला सुरु हुँदो होला। घरको माली गाईलाई घाँस काट्न तिमी खेत र बारीका आठा र कान्ह्लाहरुमा बिहानीको घामसँगै पुग्दी हौली। रातभरीको चिसोसित तिम्रो कलिलो हातमा पर्दो हो। चिसोले कक्राउँदो हो हात। तिमीले घाँस काट्दा कति पटक त घाँस छोडेर हात नि काटेकी हौली। कचियाले काटेको चोट कस्तो नमिठो गरी दुख्छ नि। लामो समयसम्म निकै पोलिरहन्छ। बगेको रगत रोक्न बन्माराको पात निचोरेर हालेकी हौली। वा बालुवालाई खन्याएकी हौली। यो तिमी जस्तो गाउँले बाँच्नुको जिन्दगीको रङ हो। घाँस काटिसक्दा एक टागो घाम टाउकोमाथि आइसक्छ होला र तिमी हस्याङ्फस्याङ गर्दै स्कुल जान हतारिन्छौ होला। मान्छेको जुनी नमरेसम्म यतिकै हो। हतारोले कहिले छोड्ने होइन। जहाँ पनि जस्लाई पनि हतारो भई नै रहन्छ। झन स्कुल पुग्न काट्नु पर्ने त्यो लमतन्न बाटो – तिमी जस्तै म त्यो बाटोमा हिँड्दा सोच्ने गर्थे यो स्कुल घरको नजिक किन नबनाएको होला। तिमीले काट्छौ के त्यो बाटो एक घण्टामा ?

स्कुल पुगेपछि अर्को पाना सुरु हुन्छ। धेरै विषयका धेरै कुराहरु। तिमी जस्तो हुँदा म धेरै अल्मलिन्थे। एउटै कुरालाई दुई तरिकाले पढ्नु पर्थ्यो मेरो बेलामा। एउटा नैतिक शिक्षा भन्ने पुस्तकमा संसारको उत्पति मधु र कैटभ राक्षसको देवीले वध गरेपछि -तिनीहरुको मासुबाट दुनियाँभरको माटो बन्यो, हाडहरुबाट ढुङ्गा र पहाडहरु अनि रगतबाट पानी बन्यो भनेर हामीले पढ्नु पर्थ्यो | फेरि सामाजिक शिक्षा भन्ने किताबमा धर्तीको जन्म लाम्पुछ्रे तारा सूर्यमा ठक्कर खाँदा चोइटिएको टुक्रा सेलाएर बनेको हो भनी शिक्षकले सिकाउनु हुन्थ्यो। म अल्मलमा पर्थे खास कुरा के हो ? सत्य कुरा के हो ? मनमा लागेको त्यो कुरा मैले कहिले सोध्न सकिनँ किनभने मलाई सरसँग खुब डर लाग्थ्यो। मैले सम्झने गरेको एउटा शिक्षकको बानी देखेर म छक्क पर्थे। मुखमा गतिलो खैनी च्यापेर विद्यार्थीहरुलाई यो खाने होइन, खाएको देखेँ भने सजाय दिन्छु भन्नु हुन्थ्यो। आफू टिफिन भरी क्यारम्बोर्ड खेल्नु हुन्थ्यो तर विद्यार्थीले खेलेमा उपर्खुट्टी सजाय दिनुहुन्थ्यो। तेस्ता गुरुगुरुमाहरु आजकाल छन् के स्कुलमा ?

स्कुलबाट घर फर्कनुको उमंग भने बेग्लै हुन्थ्यो। भोकाएको मनले घरमा आमाले राखिदिनु हुने खाजाको मात्र धेरै याद हुन्थ्यो। वर्षको एक याम डाँडाको वर खुब पाक्थ्यो। हामी साथीहरु मिलेर खान्थ्यौँ। तर एकचोटी वर टिप्न रुख चढेको साथी नराम्रोसँग लड्यो र हामीले त्यो काम चटककै छोड्यौँ।

मैले पटक पटक भन्ने गरेको छु। दुनियाँमा समय जतिको बलबान कोही पनि छैन भनेर। हामी केबल निमित्त हौ, समयले नै हो हामीलाई कहाँ कहाँ पुराउने। समयले नै हो मान्छेलाई शक्तीशाली बनाउने र समयले नै हो कम्जोर बनाउने पनि। त्यसैले आजको हट्टाकट्टा मान्छे भोलि रोगी हुन्छ।

युनिका,
हो, त्यही समयले आज मलाई जिन्दगीको अर्को मोडमा उभ्याएको छ। हो म लडाईंको मैदानमा छु। तिमीले प्रश्न गरेकी थियौ रे ममीलाई – अंकल किन लडाईंमा जानु भएको भनेर। आफूलाई नढाँटी भन्ने हो भने मलाई नि यस्को सही जवाफ थाहा छैन कि किन म लडाईंमा छु। तिमी र तिमी जस्तै नानीहरुको सुन्दर भबिस्य र सुरक्षित जीवन निर्माणको लागि लडाईंमा छु भनेर मैले भनेँ भने त्यो केबल आदर्शवादी कुरा हुनेछ। किनभने मान्छेले आफ्नो भाग्य आफैले कोर्छ भन्ने सत्यसित तिमी परिचित छौ।

लडाईंको भयावहतालाई कोर्न म असमर्थ छु। किनभने म चाहन्छु- तिमी जस्तो बालिकाको कोमल मनलाई युद्धको निस्ठुरी हावाले नछुओस्। सोच्दै जाँदा – कहिलेकहिले म धेरै चिन्तित हुन्छु। लाग्छ हामी मान्छेले संसार कस्तो बनाइरहेछौ ? हामीले भोलि बाँच्ने जीवन कस्तो होला ? अझ तिमी र तिम्रो पुस्ता अनी तिमीपछि आउने अर्को नयाँ पुस्ताले कस्तो जीवन पाउलान् ? जताततै अशान्ति, कोलाहल, अभाव र दरिद्रता। आज संसारमा बढ्दै गइरहेको शक्ति र स्वार्थको होड्बाजीले कुनै पनि बेला यो सुन्दर संसार ध्वस्त हुन सक्ने खतरामा छ। तिमी र तिम्रो पुस्ताले अझै धेरै विकराल अवस्था भोग्नुपर्छ होला।

तिम्रो बाबाले पत्रमा लेख्नुभएको थियो तिम्रो प्रश्न – कि मलाई लडाईंमा डर लाग्छ कि लाग्दैन ? यस्को उतर नि यसै हो भन्दिनँ म। एउटा कुरा सुनेकी छैन हौली – भनाई के छ भने सिपाही कहिले मर्दै मर्दैन कि त सिपाहीको सिन्दुर पहिरिएकै दिन मरिसकेको हुन्छ। यसरी मान्छे डराउने भनेको मृत्‍युसित हो तर त्यो कस्को वशमा छ र ? जतिसुकै भागे पनि जतासुकै लुके पनि मृत्‍युले कसैलाई छोड्दैन। यो ध्रुव सत्यसित अनि किन डर मान्ने र ? तर तिम्रो जस्तो उमेरमा धेरै कुराको डर हुन्छ। खास गरी भूत र तर्साउनेको कुराले त बेस्सरी सताउँछ। तिमी जस्तो हुँदा भूतप्रेतको कहानी सुनेको रात म सुत्नै सक्दिनँ थिए। अनि स्कुल जाँदाआउँदा बाटोमा पर्ने जङ्गलले त्यही कुराको झझल्को गराउँथ्यो। म हतार-हतार डौडन्थे जङल नकाटुन्जेल। तिमीलाई यस्तो हुन्छ के ? तर मैले भूत कहिले भेटिनँ र आजसम्म भेटेको पनि छैन, उसो भएर तिमी यो मनगढन्ते कुरासित डर नमान्नू।

मेरी प्यारी बहिनी र तिम्रो फुपु श्रद्दालाई पहिले पहिले म खुब सम्झेर चिट्ठी कोर्थे। तर फुपु अब ठूली भइसकी। आफ्नो बाटो चिन्ने भइसकी। जीवनलाई बुझ्ने भइसकी। उसो भएर मलाई ढुक्क लाग्छ श्रद्दासँग। तिमी र तिम्रो पुस्ताले आफ्नो जीवनको बाटो थाहा नपाएसम्म हामी जस्तो अघिल्लो पुस्तालाई नियालेर हेर्नैपर्छ। जसरी म आफूभन्दा अगाडिको पुस्तालाई हेरेर जीवन पछ्याउने गरेको छु। तिमी त झनै ठूली छोरी भएर आयौ, तिमीलाई हेरेर भाइ र बहिनीले आफ्नो यात्राअघि सार्नेछन् उसो भएर तिम्रो जिम्मा अझ धेरै छ।

युनिका,
सुखको जन्म दु:खको हत्केलाबाट हुन्छ। तिमीले सुनेकी छौ नि है मेडम क्युरीको नाम। नोबेल पुरस्कार जित्ने पहिलो महिला। हो, तिमी जस्तो स्कुल पढ्दा उनीसँग बिजुली त परै जाओस कुपी बाल्नेसमेत हैसियत थिएन। यसैले राति जुनको प्रकाशमा तिनी पड्थिन रे। चन्द्रमाको रोशनीमा होम्वर्क गर्थिन रे। उनको त्यो जीवन कहानीबाट हामीले सिक्न पर्ने कुरा धेरै छ। मेरो यो चिट्ठीको आसय पनि केवल भावनाको कुरा मात्र गर्ने होइन। तिमी र तिमी जस्तो नानीहरुको पुस्तालाई केही प्रेरणा दिने पनि हो। म चाहन्छु तिम्रो बाबा र अंकलको पुस्ताले जुन दु:ख भोग्नु पर्‍यो त्यो तिम्रो पुस्तासम्म नपुगोस।

युनिका,
जति नै कुरा गरे पनि सबै सकिने कहिले हैन। यसो भएर म बिट्मार्नीतिर लाग्दैछु। तिम्रो अंकल युद्धमा छ भन्दैमा तिमीले सानो मन नगर्नू। किनभने जीवन आफैमा एउटा युद्ध हो। यो युद्धमा भाग्नेहरु जीवनदेखि विमुख हुन्छन्, डटेर संघर्ष गर्नेहरुले बल्ल साँचो जीवन भोग्छन्। कुरा के चाँही सत्य हो भने जीवन भोग्न रङमन्चमा पुग्नेहरु सबै सही र साँचो चाँही हुन्नन्। अनियमित जाल्झेल गरेर पनि मान्छेहरु जित्छन् युद्ध। तर म चाहन्छु र आशा गर्छु तिमीले नियमित जीवनको युद्ध जित्नेछौ।

अन्तमा, दिपावली घरको आँगनीमा आइपुगेको छ। सयपत्रीले मलाई सम्झिरहेको होला। तिम्री फुपुहरुले माइती राजा सम्झेर गाँसेको मेरो माला यसपाली नि चौतारीको वरपिपललाई हुनेछ। भाइटिकाको दिन चौतारीको मिठो सम्झनाको हावा यो लडाईंको मैदानमा आइपुग्नेछ। खैर,औँसीको कालो रातलाई तिहारमा जसरी प्रकाशले चिरिदिन्छ, तिमी र तिम्रो पुस्ताको जीवनको अध्यारो पानाहरुमा पनि उसै गरी उज्यालोले ढाकोस्, मेरो शुभकामना!

हरदम माया गर्ने,
तिम्रो अंकल

October 10th, 2009

(स्रोत : Mysansar.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *