कथा : भीरमौरी

~डा. सुष्मा आचार्य~

साँझ झमक्क पर्दा सुन्तलीका बाबुआमा घरमा आइपुगे । आज त साह्रै थाकियो, भोक पनि त्यस्तै लागेको छ, म त भात खाएर एकछिन पनि बस्न सक्दिन, सुतिहाल्छु भन्दै सुन्तलीको बाबु घरभित्र पसेर सुन्तलीलाई बोलाए । तर घरबाट कुनै आवाज आएन । ढोका ढप्केर कहाँ गइछ सुन्तली भन्दै वरिपरि छिमेकीकहाँ खोज्न थाले । तर सुन्तलीलाई छिमेकीकहाँ पनि भेटेनन् । गाउँभरि हल्लीखल्ली मच्चियो । एउटी वृद्धाले भनिन्– एक दुईपल्ट एउटा ठिटो उभिएको देखेकी थिएँ, न त्यहीसँग गइछ कि ? केही थाहा भएन । बाबुआमा रुँदै घरभित्र पसे । उनीहरुलाई सुन्तली हराएको पीर बेग्लै थियो भने अर्कातिर घरको बत्ती नै निभेको अनुभव गरे ।

वैशाखको महिना थियो । चारैतिर वसन्ती आगमनले प्रकृतिमा मादक छरिदिएझैं अनुभव हुन्थ्यो । यही मौकाछोपी एक हूल जापानी पर्यटकहरु पोखराको बाटो गरी अन्नपूर्ण वेस क्याम्पतिर ट्रेकिङ जाँदै थिए । उनीहरुको साथमा केही शेर्पा दाजुभाइ र गाइड अमर सम्मिलित थिए । प्राकृतिक सुन्दरताको निम्ति विश्वव्यापी रुपमा चर्चित नेपालको सौन्दर्यकी राजधानी पोखरा नै थिई । प्राकृतिक वैविध्यतामा नीलो आकाश सेतो हिमाल, गुराँसले ढपक्कै ढाकेर रातै देखिने पहाडहरु र हरिया फाँटहरु देख्दा जो कोहीको पनि मन नलोभिने कुरै थिएन ।

आफ्नो देशमा ठूलठूला पहाडहरु नभएकाले जापानीहरु सुन्दर देश नेपालमा आएर पहाड चढ्न अति नै रुचाउँथे । हिंड्दा हिंड्दै टोली नेता यामासिताले भने साँच्चै नेपालीहरु कति सुखी छन् । जहाँ प्राकृतिक सौन्दर्यको खानी छ, विश्वकै शीरताज सगरमाथा छ र बुद्धको जन्म पनि यहीं भएको छ ।

यसै बीचमा तानाकाले भने वास्तवमा नै नेपाल एउटा धनी देश हो । आर्थिक रुपले मात्र केही पछाडि परेपनि सांस्कृतिक, प्राकृतिक, शान्ति र मानवीयताको दृष्टिले नेपाल धेरै अगाडि लाग्छ । मलाई त सबैभन्दा मनपर्ने कुरा त के हो भने जतिसुकै दुःख भोग्नु परेपनि नेपालीहरुको मुहार हँसिलो हुन्छ र उनीहरु इमानदार हुन्छन् । त्यो कसरी होला मलाई त अचम्मै लाग्छ भन्दै यामासिता अगाडि बढ्दै थिए । एक्कासी उनीहरुको नजर झिंगा पनि चिप्लेलाझैं लाग्ने भीरको टुप्पामा पुगेर मानिसहरुले काम गरेको देख्दा त पर्यटक टोलीका पाइला टक्क अडिए । उनीहरुले देखे तल केही व्यक्तिहरुले आगो बालेर बसेका थिए र कोही डोरीको भरमा माथि चढ्दै थिए । नजिकै नीलो नदी बगिरहेको थियो । केही गरी माथिबाट खसेको खण्डमा लास पाउन पनि सम्भव थिएन । एकछिन त्यो दृश्यले उनीहरुलाई अचम्मित तुल्यायो र हेरेको हे¥यै भए । उनीहरुको मौनतालाई चिर्दै गाइड अमरले भने त्यहाँ भीर मौरीको मह निकाल्ने काम भइरहेको छ । ती हनी हन्टरहरु हुन् । तिनीहरु धेरै साहसी हुन्छन् । उनको कुरा सुनेपछि टोली नेता यामासिताले भने– उनी हन्टरको विषयमा सुनेका त थियौं तर यसरी प्रत्यक्ष देख्न पाएका थिएनौ । त्यस्तो अप्ठ्यारो ठाउँमा गएर काम गर्दा उनीहरुको ज्यान खतरामा पर्दैन र ? अमरले भने एकदमै खतरामा पर्छ ।

हरेक वर्ष यस पेशामा संलग्न व्यक्तिहरुमध्ये केही भीरबाट खसेर मरिरहेका हुन्छन् । यस किसिमको मह ज्यादै उपकारी र महँगो पनि हुन्छ । यो दुई हजार मिटर देखि पैंतीस सयको बीचमा मात्र पाइन्छ । नेपालको पनि सबै भागमा यो मह पाइँदैन खासगरी दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा र रसुवा गरी जम्मा छ जिल्लामा मात्र पाइन्छ ।

जापानी पर्यटकहरुले गाइडको कुरालाई ध्यान दिएर सुनिरहेका थिए । अमर भन्दै थिए– कम उचाइमा पाइने मह भन्दा यो मह धेरै महँगो र औषधिको रुपमा प्रयोग हुन्छ । विशेष गरेर यो महको माग कोरिया, जापान र हङकङमा छ । आफ्नो देशमा पनि जान्छ भनेको सुन्दा उनीहरुलाई खुशी त लाग्यो तर ज्यादै दुःख गरेको देख्दा कता कता चिसो भएको अनुभव पनि गरे ।

तानाकाले सोधे यिनीहरु कहाँ बस्छन् ? अमरले अ‍ैंलाले देखाउँदै पन्ध्र बीसओटा घर झुरुप्प भएको ठाउँ देखाए । ती हनी हन्टरहरु त्यही गाउँका स्थानीयबासी हुन् । जापानी पर्यटकहरुलाई त्यस गाउँमा गएर ती साहसी हनी हन्टरहरुलाई हेर्ने इच्छा भयो । टोली नेता यामासिताले भने सबैलाई हेर्ने इच्छा छ भने जाऔं गएर हेरौं । सबैले एकपटक त्यहाँ पुगेर हेर्ने इच्छा व्यक्त गरेकाले गाउँतिर लागे । हेर्दा नजिक देखिए पनि बाटो घुमाउरो भएकोले निकै समय लाग्यो । घर पुग्नै लाग्दा अघि देखिएका हनी हन्टरहरुलाई पनि घर फर्किने क्रममा बाटैमा भेट भयो । उनीहरुलाई देख्ने बित्तिकै अमरले भनी हाले– हाम्रा जापानी विदेशी पर्यटकहरु तपाईहरुको साहसिक कार्य देखेर एकपल्ट भेट्न जाने भनेर आउनु भएको छ । ती कुरा सुन्ने बित्तिकै सबैले हाँस्दै नमस्तेको अभिवादन साटासाट गरे ।

घर पुग्ने बित्तिकै गोरेले सुन्तलीलाई आँगनमा गुन्द्री ओछ्याउन लगायो र सबै पाहुनालाई बस्न आग्रह गर्दै गाउँमा शहरमा जस्तो सुविधा नहुने कुराको जानकारी गराउँदै माफी माग्यो । सामान्य नेपाली केही बुझ्ने भएकाले यामासिताले ठीक छ, राम्रो छ भन्दै धन्यवाद दिए । भारी जिउकी सुन्तलीले मोही ल्याएर सबैलाई आतीथ्य सत्कार गरी । घरमा भरखरै भुटिसकेको मकै ल्याएर मालतीले पाहुनाको अघिल्तिर राखिदिई । ती जापानी पर्यकहरुले खुशी हुँदै ओइसी (मीठो) भन्दै मोही र मकै खान थाले ।

तपाईहरुलाई त्यस्तै ठाउँबाट मह निकाल्न डर लाग्दैन भन्दै यामासिताले सोधे । गोरेले भन्यो– हाम्रो पेसा नै यही हो जीविकोपार्जनको निम्ति पनि बाध्य भएर गर्नुपर्छ । गाउँमा कुनै काम गरुँ भने केही छैन । हाम्रो पूर्खाले पनि यही गरे र हामी पनि परिवार पाल्नको निम्ति यही काम गर्दैछौं । वर्षमा दुईपल्ट मात्र मह निकालिन्छ अरुबेला गर्छु भनेर पनि पाइँदैन । त्यसैले यो बेलामा चुप लागेर बस्यो भने हात मुख जोड्नै गाह्रो हुन्छ ।

तानाकाले सोधे– अरु कुनै अलि सजिलो उपाय छैन जसले गर्दा ज्यान जोखिममा नपरोस् । खोइ हामीले पढेका छैनौ त्यसैले केही थाहा छैन । उनीहरुको संवादलाई बुझाउन अमरले दोभाषेको रुपमा काम गरेका थिए । हर्क, जिते, माने सबै गोरेका कुरामा सहमती जनाउँदै थिए । उनीहरुको कुरा सुनेर जापानीहरु निकै भावुक बनेको देखिन्थ्यो । बीचैमा अमरले अब जाउँ क्याम्पमा पुग्न ढीलो हुन्छ भन्दै जाने संकेत गरे । समयभाव भएपनि जापानीहरुलाई सुन्दर, शान्त गाउँ र निष्कलंक ति हँसिला मान्छे देखेर त्यहीं रहन चाहे जस्तो अनुभव हुन्थ्यो । भारी मन लिएर जापानीहरु आफ्नो बाटो लागे ।

जाने समयमा यामासिताले साथीहरुसँग सल्लाह गरी अर्काे वर्ष आउँदा यस विषयमा बुझेर सकिन्छ भने केही वैज्ञानिक प्रविधिको सहयोग गर्न वचन दिंदै हामी नेपालीका असल मित्र हौं भन्दै हात मिलाउँदै विदा भए ।

सहृदयी नेपालीहरुको आतिथ्य सत्कारले जापानी टोलीले विकासित मुलुकलाई चुनौती दिए झैं अनुभव गरे । बाटोमा उनीहरुले एक आपसमा हनी हन्टरको निम्ति केही सहयोग गर्न वचनवद्धता प्रकट गरे । जापानी पर्यटकहरु गएको केही क्षणपश्चात् नै भारी जिउकी सुन्तली प्रसव वेदनाले छटपटाउन थाली । गाउँका भएभरका महिलाहरु भेला भएर सहयोग गर्न तत्पर देखिए । यता गोरे मात्रै एउटा कुनामा कोहीसँग नबोली के सोचिरहेको थियो ।

दुई वर्ष पहिले सुन्तलीलाई भगाएर ल्याउँदाको दिनहरु सम्झिन पुग्यो । झण्डै मारेका थिए उसका बाबुले पानी नचल्ने जातकी छोरी ल्यायो भनेर । त्यसैले उसले घर छोडेर हिँड्नुप¥यो र यहाँ आएर बस्नु प¥यो । बाबु हनी हन्टर भएकाले सानैदेखि यो काम उसले सिक्ने मौका पाएकोले आज भोकै बस्नु परेको त छैन । गोरे आफूलाई भाग्यमानी नै सम्झन्छ । पानी नचल्ने जातकी भनेर समाजले भनेपनि सुन्तलीको जस्तो उदार मन उसले अरुको पाएन । रुप, शील, स्वभावकी धनी सुन्तलीको गाउँमा सबैले तारिफ गर्छन् । गोरे यसैमा गर्वले छाती फुलाउँथ्यो ।

आज सुन्तलीलाई केही नभई दुई ज्यान सजिलैसँग छुट्टिए हुन्थ्यो भन्ने मात्र उसको प्रार्थना छ । छोराछोरी जे पाए पनि मलाई कुनै फरक छैन भन्दै गम खाँदै थियो । एक्कासी मालतीले लौ छोराको बाबु यता आउनु प¥यो भन्दा पो झसंग भयो । उसको खुसीको सीमा रहेन । गाउँका सबै मिलेर उसलाई सहयोग गरे । गोरे पनि मिलनसार र हँसिलो थियो । कसैले केही भन्दा पनि अप्ठेरो नमानी सघाउन अघि सथ्र्यो ।

बिस्तारै दिन बित्दै गए । छोरो पनि एक वर्षको भयो । धमाधम फेरि मह काढ्ने समय आयो । कसैलाई फुर्सद थिएन । वैशाखको महिना भए पनि उल्कै गर्मी थियो । पानी पर्ने सङ्गेत कतै देखापरेको थिएन । यसै बीचमा एकपल्ट जापानी पर्यटकका गाइड बनेर आएका अमर आएर ती पोहोर आएका पर्यटकहरु फेरि आउँदैछन् । यी गाउँमा केही सुधारका काम गर्छाै भनेका थिए अब के के गर्न हुन् तपाईहरुको भाग्य खुल्छ भनेर सबैलाई आशाका किरण देखाएर गए । गाउँका सबै खुसी भए । अब आउँदा त हाम्रा पाहुनाहरुलाई राम्ररी स्वागत गर्नुपर्छ भनी सल्लाह गरे ।

एक सातापछि वैशाखको अन्त्य मे महिनाको दश तारिखमा जापानी पर्यटकको टोली काठमाडौं उत्रियो । त्यस दिनदेखि पानी पर्न थालेको झण्डै एक साता पानी परेको प¥र्यै भयो । कैयौं ठाउँमा पुल बगायो, बाढी आयो, पैह्रो गयो । साह्रै ठूलो नोक्सान राष्ट्रले बेहोर्न प¥यो । पानी रोकिएको केही दिनपछि जापानी टोलीको सर्वप्रथम हनी हन्टरको गाउँमा गएर सहयोग गर्ने कार्यक्रम रहेछ । गाउँमा एउटा विद्यालय र अस्पताल बनाइदिनुको साथै हनी हन्टरका निम्ति वैज्ञानिक उपाय बताइ सरसामान प्रदान गरी त्यस गाउँका व्यक्तिको जीवनस्तर उचाल्ने योजना रहेछ । त्यस गाउँमा जानका लागि पुरानै गाइड अमरलाई नै लाने इच्छा व्यक्त गरे । अमर गुरुङ भएकाले गुरुङ गाउँमा जान सजिलो हुने विश्वास गरे ।

व्यक्तिगत रुपबाट पनि उनीहरुले आफूखुसी उपहार ल्याएका रहेछन् । नेपाली भनेपछि हुरुक्कै हुने जापानी मित्रहरु नेपालको निम्ति सहयोग गर्न दिल खोलेर लागी पर्छन् । भोलिपल्ट पोखरासम्म हवाइजहाजमा गए अनि त्यहाँबाट पहिले गएकै बाटो हिंड्न थाले । लामो हिंडाइपछि बल्ल त्यो ठाउँ पुगे र गाउँतिर पाइलो बढाए । निकै अगाडि बढी सक्दा पनि गाउँ देखिएन । अमरलाई एक मन त लाग्यो कतै मैले बाटो पो भुलें कि ? तर होइन यही बाटो हो, उसलाई विश्वास थियो ।

एउटा मान्छे परबाट आउँदै गरेको देखियो सायद गोरे हो कि उनीहरुको अनुमान थियो । त्यो मान्छे नजिक आइपुगेर सोध्यो– तपाईहरु कहाँ जान लाग्नुभएको ? हामी त्यो भीर मौरी निकाल्ने मानिसहरुको बस्ती भएको गाउँमा जान लागेका हौं । पोहोर पनि उहाँहरु आउनुभएको थियो र अहिले पनि त्यहाँ जान चाहना राख्नु भएकोले आएका हौं । एकपल्ट त त्यो मान्छे छक्क प¥यो र केही बेरपछि सुस्त स्वरमा भन्यो– त्यो गाउँ त अस्तिको पानीले गर्दा आएको बाढीले पूरै बगायो । अहिले त त्यहाँ गाउँ थियो भन्दा पनि कसैले पत्याउला जस्तो लाग्दैन । कठै बरा ! कोही बचेनन् ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.