~विनिता कडेल~
गोपाल रिमालकी
कविताकी आमाले भनेअनुसार
ऊ कहाँ आयो र ?
त्यसको साटो हूलमूल र आतंक सिर्जंदै
हुर्दुंगे पो आयो
सत्यको हतियार टल्काएर
आउनुको साटो पुरुषार्थी
अरुले भिडाएको
हतियार धारण गरी आतंकले
उत्पात पो मच्चायो
ऊ कहाँ आयो र ?
सोझा सज्जनहरुको
हित नगरी
बनियाँहरुलाई आउनेले मत्यायो
हर कुरामा महँगी चर्कायो ।
लाज र शर्म पचाउन लगायो
नक्कल झक्कल मात्र बढायो
सर्वत्र अनास्था फैलायो
न्यायी विवेकी योद्धा
इसो विचार्दा केवल
सपना जपनाको भरमा
कल्याणकारी बेला
कहाँ आउँदो रहेछ र ?
आयो त केवल यान्त्रिकता आयो
छलछाम गर्न सिकायो
सहृदयतालाई हिस्यायो
आउँछ भनेको युग केवल
तर्सना मात्र ठहरिन आयो
ऊ कहाँ आयो र ?
त्रिशुल बोकी बस्छौं
दिने छैनौं यो देशलाई भताभुंग पार्न
नलाग है माफिया हो महाज्योति मार्न
करोड कोटी नेपालीको नेपाल फूलबारी
बाँच्ने छैनौं तस्कर हो मुटु टुक्रा पारी ।
चेतनाको अग्निज्वाला जागिसके सारा
मासिने छन् मातृभूमि डस्ने दानव दाह्रा
कालो धनमा भुल्नेहरु महिषसुरका खसी
रेटिनेछन् भेटेजति खमारीमा कसी
दिने छैनौं यो देशलाई…
हाम्रो रगत बुँदबुँदमा जीवन बग्छन् खोला
हामी हाम्रो धरातलका अरिंगालका गोला
चारैप्रहर चनाखो भई त्रिशूल बोकी बस्छौं
अन्यायीका पाँसुलामा गोर्खेलौरी कस्छौं
दिन छैनौ…
धूर्त छली कपटी हो कति पार्छौ पीर
वीरैवीर अग्लेका छन् हाम्रा हिमाल शीर
अदम्य छन् सत्यशक्ति छैन सीमा साँधी
तम्तयार छन् परमवीर मास्न दैत्य बाँधी
दिने छैनौं…
(स्रोत : श्री रुपरेखा)