पत्र कथा : कल्पना – एक पत्र कथा

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

प्रिय कल्पना,
मिठो सम्झना,

आज फेरी अकस्मात किन हो अतीतका ब्यथाहरुले सताईरहेको छ| तसर्थ यो रित्तेका पिडाहरु यी पानाहरुमा पोखेर आफुलाई सान्त्वना दिने असफल प्रयास गरिरहेको छुं| कल्पना… मैले कस्तो प्रेम गरें, त्यो मलाई नै थाहा छैन| तिमी त्यो आजको आधुनिक युगमा आए पनि, म भने बिगतका त्यहि पुराना अमर प्रेमको कोरा कल्पना गर्न पुग्छु| मान्छेहरु भन्छन, आजकलको प्रेममा फूल र भमराको झै क्षणिक प्रेम गर्नु पर्छ रे, सुन्छु यहाँ धेरै यस्तै प्रेम गर्छन रे| तर किन हो किन मलाई यी आधुनिक प्रेमको परिभाषासंग सहमत हुन मन लाग्दैन| तर शायद यो सोचाई केवल मसंग मात्रै सिमित छ|

कल्पना… मलाई थाहा छ, तिमीले म प्रति गरेको बाचा, प्रेम, आस्था र बिश्वास सबै बिर्स्यौ भनेर| तर पनि किन हो, म भने तिमी प्रति गरेको बाचा, प्रेम, अनि हाम्रा आस्था र बिश्वासलाई बिर्सने सकने स्थितिमा छुइन| हो कल्पना, जुन दिन तिमीलाई भेट्दा तिमीबाट नकारात्मक ब्यबहार पाएको थिएं| अनि त्यो ब्यबहारले तिमीले देखाउन खोजेकै थियौ कि अब तिमीसंग मेरो कुनै सम्बन्ध छैन भनी| तर त्यो ब्यबहार तिमीले म प्रति जति सजिलै संग प्रकट गर्न सक्यौ मैले सयौं सयौं प्रयत्न गर्दा पनि सत्य होला भनी सोच्न सकिन| हुन त तिम्रो त्यो ब्यबहारले मेरो मुटुमा एउटा बम बिस्फोटन गरे झै लाग्यो, जसको चोटले म पलपल तड़पने र आँखाबात रक्तमिश्रित आँशु खसाल्नु सिवाय केही केही गर्न सकिन, केवल जली रहें, रोई रहें, अतीतको यादलाई बर्तमानको आस्था र क्षणहरु बनाएर|कल्पना….तिमीले मलाई जस्तो नै ब्यबहार गरे ता पनि मैले तिमीलाई केवल प्रेम गरी नै रहें. त्यो मेरो कमजोरी हो या मेरो पागलपन म आफै भन्न सक्दिन|

कल्पना……तिमीलाई याद छ, जब म पहिलो पल्ट तिमीलाई मेरो प्रेम अभिव्यक्त गर्न आएको थिएँ? शायद भुली पनि सक्यौ कि? तर म कसरि बिर्सन सक्छु त्यो क्षण| म उही तिम्रो घर नजिकको पुलको बीचमा तिमीलाई पर्खिबसेको थिएँ| म एक टक खोलामा बगी रहेको पानि नियाल्दै पानिमा पनि तिम्रै अनुहार देखि रहेको थिएँ| हुन त तिमी संग पहिले पनि कलेजमा नभेटेको होइन, तर त्यस बेला मलाई केहि त्यस्तो अनुभब हुँदैनथ्यो| तर त्यो दिन जब टाढाबाट आउंदै गरेको तिमीलाई देखें, म मा डरको अनुभूति हुन थाली सकेको थियो| किन हो किन, एक्कासी मुटुको धड्कन बढे झैँ लाग्यो. खुट्टाहरु पनि भासिएला जस्तो अनुभब हुन थाल्यो| ओठ मुख सुकेर निस्सासिएको अनुभब हुन थाल्यो| मानो त्यो मेरो जिन्दगिको अन्तिम क्षण नै थियो| शायद तिमीले रिसाएर मलाई तिरस्कार गरेर केहि भनि देला कि भन्ने डरले पो हो कि या तिम्रो दर्शन पाएको खुशियालीमा हो|

“कसलाई पर्खिनु भएको?” तिम्रो त्यो प्रश्नको जवाब थाहा छैन कहाँ बाट आयो कुन्नि, मैले छोटो जवाब उत्नि खेरै दिएथें “तिमीलाई नै”| शायद तिम्रो हँसिलो अनुहारको कारणले नै म मा जवाब दिन शक्ति आएको थियो| “किन नि?” तिम्रो यति छोटो प्रश्नको उत्तर मैले कति लामो दिनु परेको थियो| जब तिमीले लाज मान्दै मेरो प्रेम स्विकारी दियौ, मेरो मन कत्ति हलुङ्गो भयो, म ब्यक्त नै गर्न सक्दिन| मलाई लागेको थियो मानो स्वर्ग भनेको यहि हो| तिमी मुस्कुराएर फेरी भेट्ने बाचा सहित आफ्नो घर तिर लाग्यौ| तर मेरो अतृप्त आँखाहरु भने अझै तिमीलाई नै पछ्याउन तल्लिन थिए| म अझै पनि कति बेर सम्म तिमी गएको बाटो पछ्याएर हेरी रहे, शायद ति अतृप्त आँखाहरुलाई केहि तृप्ति दिन| फर्किंदा मलाई एक अनौठो मिश्रित भाबनाले छोपी राखेको थियो| मलाई लाग्छ, त्यो दिन म शायद म नै थिईन| एकातिर तिमीले मलाई स्विकारी दिएकोमा खुशीले मेरो मन आकाशमा उडीरहेको थियो त अर्को तिर तिमीसंग को अपर्याप्त बसाईले मनमा नियास्रो र उदास अनुभूति हुँदै थियो| अनि तागतहीन पाइलाहरु लिएर आफ्नो घर फर्केको थिएँ|

म अतितको संसारमा नभएर वर्तमान मै छुं| मिठो प्रेमले भरिपुर्ण ति आपसमा बिताएका क्षणहरु भर्खर जस्तो लागिरहेछ| मलाई अझै याद छ, कहिलेकाहीं जब मेरो अनुहारमा नियास्रोपन झल्किन्थ्यो, तिमी आँखाभरि मेरो नियास्रोपनलाई समेट्दै दुखी हुँदै भन्थ्यौ “तपाईंलाई के भयो आज, एकदम नियास्रो देखिनु हुन्छ नि, भन्नुस न” ! जब म केहि बताउन्नथें, तिमी रिसाएको अभिनय गर्दै बोल्थ्यौ, “जानुस, म तपाईंसंग बोल्दि बोल्दिन, म को हुँ र तपाईंको लागि”| तिमी रिसाई दिंदा किन हो मलाई रमाइलो लागेर आउंथ्यो| किन कि तिमी जत्ति रिसाउन्थ्यौ, उति नै तिम्रो अनुहारको सुन्दरता बढे झैँ लाग्थ्यो शायद त्यो प्रेमको रिसाई भएर होला| म अझै तिमीलाई जिस्क्याउन्दै भन्थे, “हो नि हगी, तिमी को पो हौ र मेरो?” अनि तिम्रो आँशुमिश्रित आँखाले मलाई एक टक लगाएर हेर्थ्यौ| शायद तिमी मेरो मुहारमा प्रेम र बिश्वाशको रेखाहरु खोज्थ्यौ| तिमी जब साँचै नै रोइ दिन्थ्यौ, म तिमीलाई फकाउने कोशिश गर्थें| जब मैले कत्ति प्रयाश गर्दा नि तिमीलाई फकाउन असमर्थ हुन्थें, अनि मलाई ब्यर्थमा जिस्क्याएको अनुभब हुन्थ्यो|

अनि म तिम्रो कपाल सुमसुम्याउन्दै भन्थें, “मलाई माफ गर कल्पना, मैले त जिस्किएको मात्र हो, म त तिमीलाई चोखो प्रेम गर्छु, म अब देखि सताउन्दिन”| अनि तिमी मेरो मायामा लोतपोत भएर भन्थ्यौ, “साँचै…? प्रमिस…?” अनि तिमी हेर्थ्यौ मेरो अनुहारमा, हँसिलो अनुहार लिएर| तिम्रो हँसिलो अनुहार हेर्दा लाग्थ्यो, भर्खर कालो बादल हटेर न्यानो घाम उदाएको होस| अनि म जब तिम्रो हँसिलो अनुहार हेरी रहन्थें, तब तिमी लजाएर आफ्नो मुख मेरो छातीमा लुकाऊंथ्यौ| तब मलाई लाग्थ्यो, संसार नै मेरो मुठ्ठीमा छ| हो कल्पना, मैले यी दृश्यहरु धेरै पल्ट वर्तमानमा ल्याएर हेरेको छु र हरेक पल्ट लागेको छ, तिमी अझै पनि मेरो अंगालोमा बाँधिएका छौ| तर जब म बास्तबिकतामा फर्कन्थें, तिम्रो अनुपस्थिति मेरो लागि बिष भन्दा महा बिष सरि हुन्थ्यो| मानो कसैले मेरो मुटुलाई निचोरेर राखी दिएको होस|

हो कल्पना, जब जब म बिगतका हाम्रा एक एक पल को गहिराई मा रुमल्लिन थाल्छु, तब तब मलाई महसुश हुन्छ, तिम्रो उपस्थितिले मलाई कहिल्यै छोड्ने छैन| तिमी त टाढा गएर पनि अझै म भित्र लुकेर म संगै बसेकी रहेछौ|

कल्पनाको गहिराईमा यसरि नै एक पछी अर्को याद रिकर्ड प्लेयर जस्तै मस्तिष्क र आँखाहरुमा घुम्दै गए| अनायास….अनायास फेरी म अर्को अतितको यादहरुमा अल्झिन्दै गएँ|

तिमीलाई पनि शायद सम्झना नै होला| हामी त्यति बेला नयाँ सडकमा घुम्न निस्केका थियौं| त्यहाँ फूटपाथमा बूट पलिश गरि रहेका अबोध केटाहरुलाई देखाउंदै भनेकी थियौ, “त्यो केटाहरुको परिवार छैन होला र, यसरि स्कूल जाने उमेरमा काम गरेर बस्नु परि रहेछ?”| त्यति बेला मैले थाहा पाएँ, तिम्रो मुटु कति कमलो र संबेदनशिल छ भनेर| तिमीमा एक्कासी आएको परिबर्तनमा म आफै चकित हुँदै उत्तर दिएथें, “हुन्छ नि किन नहुनु, तर उनीहरुको गरीबीले गर्दा उनीहरुले पाउनु पर्ने शिक्षा बाट बन्चित हुनु परेको छ| तर कोहि कोहि चाहिं घरबाट भागेर आएका पनि हुन्छन”| शायद मेरो उत्तरले तिम्रो प्रश्नको समाधान दिन सकेन र फेरी सोधेकी थियौ, “यत्तिका धनि मान्छेहरु भएको ठाउंमा ति गरिब केटाहरुको शिक्षाको लागि कसैले किन केहि नगरेको होला?” मैले थाहा नपाए जस्तो गरि जवाफ दिएथें, “शायद गरेको होला, तर सबै मा नपुगेको पनि हुन सक्छ नि”| मेरो जबाफ तिमीलाई चित्त नबुझेर हो वा तिम्रो कान मै नपसेको हो, मैले छुट्याउन सकिन| तिमी त कतै सुन्यतामा हराएर बसेकी रहेछौ| र एक लामो सुस्केराका साथ भनेकी थियौ, “आकाश, भबिष्यमा हामीले सकेजत्ति यी गरिब निमुखाहरुको लागि केहि गरूँ है?” तिम्रो त्यो अबोध अठोतपनमा चकित भएर मैले हाँ मा हाँ मिलाएको थिएँ| त्यो दिन मैले तिमीमा एक अर्कै कल्पनाको आभाष पाएको थिएँ|

कल्पना, त्यो दिन त तिमीलाई पक्कै याद हुनु पर्छ| त्यो दिन हामी गोदाबरीको बगैंचामा बसी रहेका थियौं| तिमि आफ्नो टाउकोलाई मेरो जिउ सिरान पारेर सफा आकाश तिर हेरेर भनेका थियौ, “आकाश, तिम्रो मन पनि त त्यो आकाश जस्तै बिशाल छ नि हगी?” मैले प्रत्युतरमा भनेथें, “कहाँ त्यो बिशाल आकाश, कहाँ म| त्यो आकाशमा त संसार नै अटाउँछ, तर मेरो मुटु त सानो छ र सिर्फ तिमि मात्र अताउन्छौ”| तिमीले फेरी सोधेका थियौ, “आकाश, यदि हाम्रो मिलन नभए तिमी के गर्छौ?” म कत्ति तर्सेको थिएँ, तिम्रो त्यो प्रश्न सुनेर| म त कल्पनामा पनि सोच्न चाहन्नथें तिमिसंग बिछोड हुने कुरा| मलाई थाहा थिएन मेरो हालत के हुने होला भने| शायद म बाँच्न पनि सक्छु कि सक्दिन| मैले तिम्रो ओंठमा आफ्नो हात राखेर तिमिलाई त्यो भन्दा बढी बोल्न दिईन| सांचै भन्ने हो भने मेरो मुटु नराम्रो संग झस्किएको अनुभब गरेथें मैले| तर पनि आफ्नो अनुहारमा मुस्कान छरेर तिमीलाई भनेथें, “कल्पना, हरेक कुराको सहन सीमा हुन्छ| यदि तिम्रो सिउँदोमा अरु कसैले सिन्दुरको हस्ताक्षर गर्न खोज्यो भने म हेरीरहन सक्छु र?” तिमी सिन्दुरको नाम सुन्ने बितिक्कै लजाएर सर्माउन्दै मुख अर्कै तिर मोडी दिएका थियौ|अनि….अनि मैले तिम्रो रित्तो सिउँदोमा सिन्दुर हालेको अभिनय गरेको थिएं| किन हो त्यति बेला तिमी मुढा झैँ अचेत भएर बसेकी थियौ| तिम्रा ओंठहरु फर्फराई रहेका थिए| तिम्रा बाटुला आँखाहरुले म संग स्पस्टिकरण मागी रहेको थियो| यस्तो प्रतित हुन्थ्यो, मानो तिम्रो भित्र कुनै भूइंचालो गएको थियो र तिमी कुनै अज्ञात कल्पनामा डुबुल्की मारी रहेकी थियौ| तर म भने सुन्दर भबिष्यको परिकल्पनामा हराई रहेको थिएं| मैले आफ्नो कल्पनामा देखि राखेको थिएं…..तिम्रो सिउँदोमा रातो सिन्दुर, तिम्रा बाटुला मृगनयनी आँखाहरुमा गाज़ल, हातमा रंगीचंगी चुराहरु, निधारमा रातो टिका, नाकमा फुली…..

यसरी नै अतीतहरु बर्तमानका क्षणहरु बनेर मेरो मष्तिष्क र आँखा भरी चलचित्र झै एक पछी अर्को थपिंदै गए|

कल्पना, म कसरि बिर्सन सक्छु त्यो मेरो जिन्दगिको सब भन्दा कालो र अभिशापले भरिपुर्ण दिन| जुन दिन तिमीले कति सजिलोसंग मसंग नाता तोडेका थियौ|मलाई अझ बिश्वास लागेको छैन, तिमीले मसंग यसरि नाता तोडलाऊ भनेर| मलाई त आज सम्म यो पनि थाहा छैन कि मैले के गल्ति गरें कि तिमी मबाट टाढा हुन चाह्यौ| गल्ति नै गरेको छु भने पनि एक अवसर त पाउनु पर्ने हो नि आफ्नो सफाई को लागि| जस्तो सुकै अपराधीलाई पनि सफाईको एक अवसर त दिईन्छ नि, होइन र? तर तिमीले त मलाई भन्न एक शब्द पनि दिएनौ| म त मानो एक सालिक थिएँ, जो सुन्न त सक्छ तर प्रत्युतरमा केहि भन्न सक्दैन| सिर्फ तिमिले बोलेका थियौ, “अब देखि म तिमीसंग केहि नाता राख्न चाहन्न| अहिले सम्म हाम्रो जुन सम्बन्ध हो, मेरो लागि रमाइलोको लागि खेलिने एक खेल मात्रै हो| तिम्रो र मेरो सोचाई नै अलग अलग छ| मलाई तिमी जस्तो व्यक्ति आफ्नो जिन्दगिको लागि चाहिएको छैन”| कति सजिलो संग भनेकी थियौ तिमीले| तर तिम्रो एक एक शब्दले मेरो मुटुमा बम बनी बिस्फोट भै रहे, जसको चोटले मैले आँशु खसाल्नु सिवाय केही केही गर्न सकिन, केवल जली रहें| मुटु माथि ढुंगा राखी सुनी रहें|कल्पना…. तिमीले मलाई जस्तो नै ब्यबहार गरेता पनि मैले तिमीलाई केवल प्रेम गरी नै रहें आज सम्म पनि|

कल्पना, हुन त त्यो दिन देखि मैले तिमीलाई कहिले भेट्ने वा देख्ने मौका पाँइन्| मलाई यो पनि थाहा छैन, कलेज पछी तिमी कता हरायौ| हो कल्पना, एक दिन तिमीलाई एक चोटी भए पनि देख्ने सपना बोकेर म तिम्रो घरतिर आएको थिएँ| केवल तिम्रो हँसिलो मुहारलाई एक पल्ट आँखा भरि समेट्न| तर तिमीले त मलाई मात्र छोडेका रहेनछौ, आफ्नो बसाईं पनि सारिसकेका रहेछौ| अनि आफ्नो नियास्रो, उदासिलो अनुहार लिएर, बिछौनाबाट भर्खरै उठेको तागतहीन रोगि झैँ शक्तिहीन पाइलाहरुलाई आफ्नो घर तिर चालेको थिएँ| तर केहि तल पुगे पछी तिम्रो रित्तो घरलाई भए पनि एक पल्ट फेरी हेर्न मन लाग्यो| तिर्खाएका आँखाहरुलाई तिम्रो रित्तो छतमा केन्द्रित गरें| अनि कल्पना गर्दा गर्दै म तिम्रो रित्तो छतमा तिम्रै सुनौलो आकृति सिर्जना गरें| मलाई लाग्यो, तिमी मलाई आँखा भरि समेटी हेरी रहेकी छ्यौ| तर यथार्थ स्थितिमा आए पछी तिमी त्यहाँ थिईनौ, केवल थियो रित्तो घर| त्यो त केवल मेरो कल्पनाको उपज मात्र रहेछ|

म यसरि नै तिम्रो कल्पनाको संसार मा हराउँदै कति बेला दरबार मार्ग पुगेछु पत्तो नै पाँइन, झन्डै मोटर साइकल ले हानेको| म झसंग भएँ….आफुलाई वर्तमानमा पाउँदा| मलाई गाली गर्दै त्यो मोटर साइकल अगाडी बढे| तर म भने कल्पना र यथार्थको बीचमा अझै रुमल्लिन्दै थिएँ| एक्कासी कसैले चुरोट खाएको गन्ध मेरो मष्तिस्कमा प्रवेश गरे| मलाई पनि चुरोटको तलतल लाग्न थाल्यो| चुरोटको तलतली न हो, आफुलाई रोक्न सकिन र किनेर सल्काई हालें| अनि गहिरो कस लिएर धुवाँलाई आकाश तिर उडाएँ, मानो आफ्नो चिताको धुवाँले मेरो मनमा शान्ति पुर्याई रहेको छ| हुन त मलाई याद छ, मैले चुरोट खाएको तिमीले कहिले पनि मन पराएनौ र भन्थ्यौ, “किन आफुलाई यसरि डढाइरहनु भएको?” अनि मैले लामो सुस्केराका साथ जवाफ दिएथें, “मैले चुरोट खाएर आफुलाई होइन, केवल मेरो चिन्ताहरूलाई डढाइरहेको छु”| मेरो कुरा शायद तिमीलाई मन परेन र भनेथ्यौ, “आइन्दा तपाईंले चुरोट खाएको म देख्न चाहन्न”| हो कल्पना, त्यस दिन देखि मैले चुरोट खान छोडेको| तर आज त तिमी म संग छैनौ| त्यसैले यहि चुरोट मेरो सहारा भइदिएको छ| लाग्छ, यसरि नै धेरै धेरै चुरोट खाएर तिम्रो त्यो तिरस्कृत प्रेमलाई भित्र भित्रै डढाएर खरानी पारि दिउं| अनि मुटु बिनाको यो जिउँदो लाशलाई बाँच्न एक सहारा दिउं| तर खोइ, जत्ति डढाउन्छु भन्छु, तिमीलाई भुलौं भन्छु, त्यति नै तिमी मेरो मन मष्तिस्कमा छाई दिन्छौ| यसरि नै म मेरो जिबनलाई गन्तब्यहीन यात्रातिर दोर्ह्याई रहेको छु|

कल्पना…. यस पत्रमा मेरा पिडा र जलनहरु पाउँदा शायद हुन सक्छ तिमीलाई केहि दु:ख लाग्ला केहि बितेका कुराहरु सम्झेर| तर के गरूँ कल्पना, मैले नचाहेर पनि मेरो जलनहरु पीप बनेर यी पन्नाहरुमा बग्दैछन्| मैले जिन्दगिको बाजीमा केवल हार पाएँ, केवल पिडा र जलन पाएँ| मलाई यो पनि थाहा छैन कि मेरो हारमा तिम्रो जीत भएको छ कि छैन भनेर? जसको हार जीत भए पनि म के नै गर्न सक्छु र यी पिडा र जलनहरु बिर्सनु सिवाय| तर के गरूँ जत्ति बिर्सन खोजे पनि ति अतितका पिडाहरुले मलाई कहिले छोड्ने हो| तर जे भए नी तिमी खुशी रहनु….. मेरो लागि आँशु नखसाल्नु….. भूल भए क्षमा गरि दिनु…..

उही अभागी

आकाश

******************

पुनश्च:

कल्पना, मैले हिजो बिपनालाई भेटें| तिम्रो सब भन्दा मिल्ने साथीको नाताले उनलाई तिम्रो बारे सबै कुरा थाहा रहेछ र मलाई बताए| मैले हिजो बल्ल थाहा पाएँ, तिमीले त चलचित्रको अभिनेत्री भन्दा जिबन्त अभिनय गर्दा रहेछौ| तिमीले मलाई गरेको छल जति त शायद मारीचले पनि जंगलमा श्रीराम लाई गर्न सकेको थिएन होला| कल्पना, तिमी त अन्तर्मुखी रहेछौ| तिमीले मलाई अलिकति पनि बुझ्ने कोशिस गरेनौ| तिमीले हरेक कुरालाई आफ्नो पक्षबाट मात्र हेर्न सफल भयौ|किन गरेको यस्तो, कल्पना? के तिमीलाई म मा बिश्वास थिएन? के मलाई तिमीले यति कमजोर थान्यौ? कमजोर त अब बनायौ तिमीले| तिमी धन्य छौ कल्पना, तिमी धन्य छौ| अब मैले बुझें मेरो गल्ति के हो भनेर| मलाई माफ गर कल्पना, तिमीलाई चिन्न नसकेको मा| तर गल्ति त तिम्रो पनि त्यतिक्कै छ, मलाई पराइ बनाई दिएको मा| के मैले तिमीलाई बुझ्न सक्दिनथें होला र? शायद मलाई पनि भनेको भए तिमीलाई अलि कति भए पनि बढी सान्त्वना प्राप्त हुन्थ्यो कि?

तिमीलाई थाहा छ, हिजो बिपना कत्ति रोएथे? भन्दै थियो, तिमीले अन्तिम अवस्था सम्म पनि मेरो फोटोलाई अंगालेर राखेकी थियौ रे| तिमीले म बाहेक जिन्दगिभर कसैको बारे सोचेकी पनि थिएनौ रे| अन्तिम क्षण सम्म पनि रामनामको सट्टा मेरै नाम लिएर बसेकी थियौ रे| अब मैले बल्ल बुझें, मैले तिम्रो सिउँदोमा सिन्दुर हाले जस्तो गर्दा तिमी कहाँ हराएकी थियौ भनेर| शायद तिमीलाई त्यति बेला नै थाहा थियो कि त्यो दिन कहिल्यै आउने छैन भनेर| गोदावरीको त्यो भेटघाट मै तिमीले मलाई सुइँको दिई सकेका रहेछौ| तर मैले तिम्रो सुइँकोलाई ग्रहण गर्न सकिन| हुन त एक छिन त्यो बेला पनि मलाई झस्काई नदिएको कहाँ हो र? तर बास्तबिक अर्थमा मैले तिम्रो कुरालाई बुझ्न सकिन| अब यो पनि बुझें, किन ति टुहुरा बालकहरुको लागि तिमीले केहि गर्न चाहेकी भनेर| शायद तिमी यस संसारबाट जानु भन्दा पहिले केहि राम्रो काम गर्न चाहन्थ्यौ| मैले चुरोट खाँदा तिमी किन रिसाउँथ्यौ, त्यो पनि बुझें आज|

मैले बुझें कल्पना, हो मैले बुझें… अब म मा सबै कुरा छर्लंग भइसकेको छ| मलाई माफ गर, तिमीलाई राम्ररी चिन्न नसकेको मा| कल्पना…. तिमीले त मेरो भित्र ज्वालामुखी दन्काइ दियौ| अब कहाँ गएर त्यो ज्वालामुखीलाई बुझाऊँ म| कल्पना, म कसरि सहुँ अब, म कहाँ गएर तिमीलाई पाउँ| मलाई त तिमीले अनाथ सरि पारेर छोडेर गयौ| बिपना भन्दै थियो, तिमी जब क्यान्सरको अन्तिम अवस्थामा पुग्यौ र तिमीलाई थाहा भयो कि अब तिम्रो धेरै दिन बाकी छैन भनेर| अनि मलाई गहिरो चोट नपुगोस भनेर मलाई सानो चोट मै छुट्याएको रे| तिमीलाई थाहा थियो रे मैले तिम्रो अन्तिम अवस्था हेर्न सक्ने छैन भनेर| म पागल सरि हुन्छु भनेर नि तिमीलाई थाहा थियो रे| म तिमीलाई कत्ति पागल सरि प्रेम गर्छु भन्ने पनि तिमीलाई थाहा थियो रे| कल्पना, तिमी कति जाति रहेछौ, शायद त्यसैले पनि भगवानले तिमीलाई चांडै बोलाएको हुनु पर्छ| भन्छन, राम्रो र असल मान्छेहरुको भगवानलाई पनि जरुरत पर्छ रे|

तर कल्पना, तिमीले म मा ठुलो अन्याय गर्यौ| म अन्तिम अवस्थामा तिम्रो साथ भइदिएको भए तिमीलाई पनि धेरै सान्त्वना हुन्थ्यो होला| हो, मलाई चोट त पक्कै पर्थ्यो, मुटुमा घाउ पनि निक्कै दुख्थ्यो होला, तर पनि तिम्रो अनुहारको अन्तिम दर्शन त गर्न पाउँथें| तिम्रो हात समातेर अन्तिम अवस्था सम्म साथ त दिन सक्थें| कल्पना…अब म के गरूँ….कहाँ गएर खोजुं अब….हे भगवान, कल्पनाको सट्टा मलाई नै किन उठाएनौ तिमीले| अब म उनको बिना कसरि बाँचु, भगवान…?

कल्पना, मर्नु र बाँच्नु को दोसाँधमा अब म के गरूँ? जिन्दगि भर त मैले तिम्रो लागि केहि गर्न सकिन, त अब के गर्न सक्छु र? तिमी परलोकमा पनि मलाई नै हेरेर बसेकी छौ होला| म कसरि तिमीलाई सुखी तुल्याऊँ? म केहि नगरी मरें भने तिमी पक्कै पनि सुखी हुने छैनौ| हो…मैले तिम्रो लागि केहि गर्ने पर्छ…..

शायद…. शायद अब तिम्रो लागि मैले गर्न सक्ने यौटै छ, तिम्रो इच्छालाई पुरा गर्ने| हो… तिमीले भनेकी थियौ, “आकाश, भबिष्यमा हामीले सके जत्ति यी गरिब निमुखाहरुको लागि केहि गरूँ है?” हो कल्पना हो…यहि थियो तिम्रो इच्छा| मलाई बिश्वास गर कल्पना, अब देखि मेरो जीबन तिनै असहाय टुहुरा बालकहरुको लागि अर्पण गर्छु| शायद यहि तिम्रो कामना थियो, शायद अब देखि यहि मेरो लक्ष्य पनि….

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *