कविता : धमिलो कर्णाली

~आयाम फुयाल~Aayam Phuyal

नेपाल दुख्यो, भूमि काँप्यो
आर्तनाद पोखियो
खै, खै मेरो अस्तित्व??
खै मेरो सार्थकता??
खै मेरो स्वाधीनता??
अनि आँखाबाट कर्णाली बगायो, त्यो पनि धमिलो…

झसङ्ग भई सत्तेजुगका प्रल्हादले माटो नियाले
देख्छन्-
बन्दुकको नालले गरेको राजनीति
खसीको टाउको देखाई बेचिएका कुकुरका मासु
पानी नबगेको बागमती
स्वार्थी सोच र ध्रुत दिमागले रुमलिएको मुलुक
औँलोले डोराइएका तराईबासी
एकसरो भाङ्ग्रो नपाएर कठ्याङ्ग्रिएका शेर्पा दाजु
एक किलो गोलभेडा किन्न सुनारका धाउने तल्लारे काका
‘जीवनजल’ नपाएर मर्न बाध्ये जाजरकोटका बन्धु
राष्ट्रघातीलाई बिछ्याइएको रातो कार्पेट
कखरा मात्र जान्ने संविधानविद्
दाजु मार्ने हत्यारा कानुनविद्
आफ्नै छोरीको घाँघर च्यातिदिने साधुसन्त
बाउआमालाई पञ्चदेवल रोज्ने सुपुत्र
चार बीस नाघेकी आमैलाई मलमुत्र चटाउने धर्मरक्षक
अनाथलाई चिसो पेटीमा पल्टाउने समाजसेवी
झोलामा बोकिएका मर्स्याङ्दी र कुलेखानी
मुद्रामा गनिएका डाँफे मुनाल
मानव छाला ढाक्ने बाघ र चितुवा
वजन रहित हात्ति र गैँडा
र सभ्यता बिर्सेको मानव!

द्रविभूत भई प्रल्हादले त्रेताका रामलाई पुकारे
राम धनुष लिएर उदाए अनि,
नियाले उही बिसङ्गतीले जेलिएको नेपाल
देख्छन्-
जलले भरिएको देशमा छाएको लोडसेडिङ्
अपार्ट्मेन्ट भई ठडिएका हरिया वन-जङ्गल
दिनहुँ खाने पोषिलो सागपात फुट्पाथको धुलोमा
अनि खुट्टामा लाउने जुत्ता ए.सि. जडित कोठामा
ए.बी.सि. डी. मात्र रट्ने राजदूत
करोड खर्चेर नामका अघि लेखिएका डाक्टर
बाह्र पढाउने मात्र एघार पास
दराजमा चार् पुस्तक सजाई बनेको साहित्यकार
स्वैरकल्पना बनेको कपोलकल्पना
छन्द भाच्ने प्रखर छन्दकवि
‘पानीमाथिको ओभानो’ भई लेखिएका आत्मकथा
छायानुवादका नाममा सारिएका रचना
बुद्धभन्दा उपल्लोकोटिमा रहेक दुर्बुद्धहरु
सुकिलामुकिलाका सवारीमा लखेटिएका सडकबालक
बैठकका लागि चुनिएका पाँचतारे
साउदीमा मरूभूमि भिजाउने नेपाली जनता
सररर… नेता बुलेटप्रुफमा
स्वावलम्बिपनको खोल ओडी धाइएका मन्त्री क्वार्टर
पाँचहजारे पत्रकारको बढदो सङ्ख्या
गरीबी हटाउन मारिएका गरीब
र मूकदर्शक बनेको सरकार!

भावविह्वल भई रामले कृष्णलाई पुकारे
द्वापरका कृष्ण त्रसित नेपाल हेर्दा भए
देख्छन्-
सारेगमले चर्किएका कान
बाँसुरीले नजितेको मन
रोदी र दोहोरीले गएका इज्जत
देउडा र राष्ट्रिय गानले अघाएका कण्ठ
पैसाका नाममा लगाइएका सप्ताह र नवाह
मासुभातमा रुपान्तरित चन्दा
गुम्बाले नदेखेको मस्जिद
पशुपतिनाथले नदेखेको गिर्जाघर
धमिरो लागेर मक्किएका गुन्यूचोली
सन्दुसमा थन्किएका दौर-सुरुवाल
फोहोर उठाउने ट्रकमा कोचिएका हाकुपटासी
मलखाल्डोमा भेटिएका घलेक
वनमानुष भनि चिनाइएका राउटे
अमानव ठानिएका चेपाङ्ग
पीछडिन बाध्ये जनजाती
दलित भनि बाँधिएको कुवा पँधेरो
सर्वहाराको खेदो गर्ने मार्क्सवादी
क्रान्तिको नाममा मुसिएका अबोध लाश
विदेशीका लागि चम्काइएका नेपाली सडक
र सिद्धान्त बेचिएको राजनीति!

उठ् आयाम उठ् …
उठ्!
एकैस्वरमा कराए प्रल्हाद, राम अनि कृष्ण
आत्मसात् गर्…
बुद्धको शान्त आत्मा
क्राइस्टको महानता
मोहम्मदको निष्ठा
अनि विवश कर्णको दानवीरता ! ! !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.