संस्मरण : गुलजार, माइकलेन्जलो ७ स्लिम युवती

~कुमार नगरकोटी~Kumar Nagarkoti

गुलजार

केही सेल्फिस मानुष एन्ड मानुषी सेल्फी खिचिरहेका थिए । मलाई कतै पुग्नु थियो सायद । तर कहाँ ? निश्चित खबर थिएन । धेरै दिनपछि म त्यो दिन आफ्नो गुफाबाट बारिएको थिएँ । लगभग एक महिना बाह्यजगत्सित निरपेक्ष रही केवल गुफामा बसी लेखपढ गर्दै आफ्नो आयुसित म दिल्लगी गर्दै ओम स्वाहा:, ओम स्वाहा: हुँदै थिएँ ।

नित्य बिहान ४:३० मा उठ्थें । घरबाट सुटुक्क निस्कन्थें ।

ब्रह्ममुहूर्तमा समेत नउठ्ने पाटनलाई व्यर्थमा स्वप्नबाट किन जगाउने र विपनाबाट किन जोगाउने भन्दै म चुपचाप अँधेरा गल्लीहरूभित्र मनमौजी तालमा गुमसुम डुली हिँड्थें । ब्रह्ममुहूर्तको छिपछिपे अन्धकार मलाई मन पर्छ । तपाईं गुपचुप मौन हिँड्दा या आफैंसित एकालाप/आत्मालाप गर्दै गल्लीबाट गुज्रँदा काइदाको कुरा के भइजान्छ भने तपाईं बाहेक तपाईंसित अरू केही हुँदैन । तपाईंको छायासमेतले तपाईंलाई पछ्याउँदैन ।

छायाले मनुष्यलाई उमेरभरि पछ्याउँछ । या मनुष्य छायालाई उमेरभरि पछ्याइरहन्छ । छायाको कलुषित मायाजालमा मनुष्य यत्रतत्र सर्वत्र भौंतारिरहन्छ ।

भट्किरहन्छ । छायाको रूपविन्यास मुहुनीमय हुन्छ । कहिले प्रेयसी बनी, कहिले प्रतिष्ठा बनी, कहिले विचार–वाद–आदर्श बनी, कहिले देवता–दानव बनी, कहिले अहङ्कार–मोह–मायाको छलकपटपूर्ण छाया बनी तपाईंको कथालाई निरन्तर पछ्याइरहन्छ ।

मसित पनि मलाई पछ्याउने एक टुक्रा छाया छ भनी हामी आ–आफ्नो जगेडा अस्तित्वभरि आफ्नै हँसीमजाक गर्दै कालान्तरमा एक दिन कथाच्युत हुन अभिशप्त छौं । छायाच्यूत हुन श्रापित छौं ।
तर कहिलेकाहीं आफ्नो मोर्टल कायाको छाया खोज्दै सहर चहारी हिँड्नुमा पनि एक किसिमको इमोर्टल मजा/आनन्द आउँदो हो । त्यो दिन आफ्नो छाया खोज्न म गुफाबाट निस्केको थिएँ ।
गृहत्याग गर्नुअघि सावित्रीले सोधी, ‘गुफा बस्दा दिक्क लाग्या जस्तो छ । कता ? घाटतिर ?’ मैले भनें, ‘यसो छाया खोज्न सहर पस्नुपर्‍यो ।’

‘लौ  ! मेरो लोग्ने पथभ्रष्ट हुने भयो  !’ सावित्रीले भनेकी थिई । लोग्ने शब्द मलाई बडो बिरानो टाइपको लाग्छ । कसैको लोग्ने भएपछि उसको ‘मान्छे’ क्रमश: हराउन थाल्छ । विवाहपश्चात् लोग्नेमान्छे फगत एक प्राइभेट लोग्नेमा मात्र सीमित हुन्छ । बिचरो मान्छेचाहिँ बिरानो हुँदै जान्छ । त्यसो त खसम पनि कहाँको गतिलो शब्द हुनु नि  ! ? खसम शब्द खास्साको हुँदाहुँदै पनि कता गई भड्खालोमा ‘खसम् खसम्’ जस्तो लाग्ने  ! अंग्रेजी हसब्यान्डको ब्यान्डबाजा बजेको सामान्य भइहाल्यो । श्रीमान्चाहिँ ज्यादै पितृसत्तात्मक एवम् कूटनीतिक लाग्छ । पतिको के कुरा गर्नु ? पति त पतित न जो ठहरियो  !

खैर, पतिहरूको पतित या पति गन्थन गर्नु मानसिक स्वास्थ्यको लागि अवश्य पनि ठीक होइन । यति नै । काफी । पर्याप्त । छ ।

कृष्णमन्दिरमा हठात् देखा परें । संग्रहालयअघि– जस्तो कि ओपनिङ लाइनमा भनियो– केही सेल्फी मानुष एन्ड मानुषी सेल्फी खिचिरहेका थिए । ती सबैको हातमा एकेकवटा ‘मिस्टका’ थियो ।
अपान वायु छाड्दै छेवैबाट बतासको झोंका जसरी गुज्रँदै गएको मलाई देखेरै हुनुपर्छ, एउटी मानुषीले मानुषको कानमा हावा भरी । मानुष मेरो अगाडि मेरो बाटो छेक्दै खडा भयो ।

‘तपाईं कुमार नगरकोटी होइन ?’ निजले सोध्यो । मुन्टो हल्लाउँदै मैले ‘हुँ क्यारे’ भनें । बाटोबाटो/गल्ली/फुटपाथहरूमा धेरै अपरिचितहरूले मलाई प्रश्निल भाकामा तपाईं कथित् नगरकोटी होइन भनी सोध्दा म प्राय: ‘हुँ क्यारे’ भन्ने गर्छु । ‘हु केयर्स’ भनिहाल्नु अशिष्ट जस्तो लागेर ‘हुँ क्यारे’ भन्दो हुँ ।

त्यसपछि निजहरूको घेराउमा परें । तीन मानुष, दुई मानुषी । सेल्फी खिचौं न भन्दै मलाई कर्‍यापकर्‍याप पार्दै करामत देखाउन थाले । सेल्फीवालाहरूले मलाई पनि अन्तत: सेल्फिस बनाइछाडे । कुरो बुझ्दै गर्दा चुरो फेला पर्‍यो । ती युवा मनुवाहरू ‘मिस्टिका’ मा वर्णन गरिएको सेटिङ खोज्न फोनमा सरसल्लाह गरी पाटन संग्रहालयमा भेला भएका रै’छन् । ‘बातोंबातोंमे’ आफैंले बोकेको स्मार्टफोनजस्तो लाग्ने स्लिम युवतीले भनी, ‘संग्रहालय आसपास मिस्टिका बोकी फोटो खिचाउने सल्लाह भयो । ग्रुप फोटो खिच्ने र पाटनका तान्त्रिक गल्लीमा उपन्यासमा सो–कल्ड नगरकोटी बरालिएजस्तो गरी बरालिने । मजासित भड्किने  !’

युवाहरूको यस्तो खालको भड्काउवादी सोच गजबको लाग्यो । तपाईंसित बसी ब्ल्याक कफी पिउन पाइन्छ कि भनी स्लिम युवतीले सोध्दा– यस, अफकोर्स जरुर पाइन्छ भनें । निजहरूलाई नजिकैको क्याफेमा लिएर गएँ । लगभग डेढ घन्टा उनीहरूले मसित कविता, खगोलशस्त्र, मिस्टिसिज्म, प्रगतिशील साहित्य, अध्यात्मवादलगायत समलैंगिकता एवम् यौनका वात्सायन आसनबारे निर्धक्क बात मारे । उनीहरूको जानकारी/ज्ञानको विपुलता, व्यापकता र वैभव देखेर, सुनेर म ‘चकित–ओ–चकित’ परें ।

‘अघि कता जाँदै हुनुहुन्थ्यो ?’ मनुवाले सोध्यो ।

‘गुलजारलाई खोज्न घरबाट हिँडेको थिएँ ।’ मैले भनें । र, मैले किन त्यसो भनें ? फ्याट्ट कुनै सोचविचारको आधारशीला नै तयार नपारी बिनाप्रसंग किन मैले गुलजारको नाम लिएँ ? त्यस बेला मात्र नभई अहिले गुफामा बसी यो लेखिरहँदा पनि म ‘चकित उफ चकित’ छु ।

‘गुलजार  !’ स्लिम युवतीले अनुहार उज्यालो पार्दै भनी, ‘वी लभ गुलजार ।’

त्यसपछि गुलजारको गफगाफ दफा/उपदफाअन्तर्गत चल्न थाल्यो । गुलजारका कविता, गीत, गजल अनि फिल्मबारे मनप्रिय चर्चा चल्यो । क्याफे गुलजारमय भयो । घाँटीको रुद्रघण्टी या किलकिलेमा कुन्नि कुन फुर्सदका छिनहरूदेखि अड्केर बसेको लयलाई तानतुन पार्दै मैले गुनगुनाएँ :

‘दिल ढूँडता है फिर वही फुर्सतके रात दिन
बैठे रहे तसब्वुरे–जानाँ किए हुए’

मानुष एन्ड मानुषीहरू खुसी भए । स्लिम युवतीले भनी, ‘गुलजारले कथा पनि लेख्या छन् ?’ मैले छन् भनें ।

‘पढ्न पाए हुन्थ्यो  !’

‘गुलजार पाइएला बजारमा’ भनें, ‘हिन्दी, उर्दू कथाहरूको सँगालो पढ्दा हुन्छ ।’

स्लिम युवती निमेषभर अन्यमनस्क भावदशामा टोलाई । फेरि लगत्तै भनी, ‘नाइँ, इन्डियन ल्याङ्वेजमा त मरिगए नपढ्ने  ! नेपालमा नाकाबन्दी लगाउनेको भाषामा किन पढ्ने ? पढे तपाईंको भाषामा पढ्ने, नत्र नपढ्ने । गुलजारको एउटा सुन्दर कथा ट्रान्सलेट गर्नुस् न  ! प्लिज मेरो लागि मात्र भए पनि  !’

‘ग्याङ अफ फाइभ’ को बगालले स्लिम युवतीको बोलीमा लोली मिलाए । स्लिम युवतीले त अझै तीन/चार/पाँच कुन्नि कति बित्ता अघि सर्दै यसो पो भनी : ‘फ्यानको खातिर जाबो यति पनि खातिरदारी गर्न नसक्ने केको लेखक  !’

एक मनले सोचें पनि : आफ्नै कथा, उपन्यास, क्याजुअल लेख लेख्दा लेख्दा म खल्लास भइसकेको छु । यसो हावापानी फेर्न ठीकै पो हुने हो कि  ! तीन वर्षअघि अनुवाद गरेको हारुकी मुराकामीको कथा ‘अप्रिला’ पश्चात् अनुवाद–अवतार/कर्मबाट मैले अघोषित संन्यास या निर्वासन पो लिएको हुँ कि त  ! स्लिम युवतीले भनेको, मरिहत्ते गरेको गुलजारको एउटा राम्रो कथा खोज्नुपर्ने भयो ।
उठ्दै मैले भनेको थिएँ : ‘ओके देन् । यही क्याफेमा हामी क्रिसमस साँझ भेटौं । इज इट अलराइट गायज् ?’

अहिलेको कोरसमा ‘अलराइट सर’ भने । त्यसपछि उनीहरूलाई क्याफेमै छाडी म आफ्नो बाटो लागें । तर लमकलमक के लम्कँदै थिएँ संग्रहालयको दख्खिनतर्फ सुसंस्कृतविद् एवं पाटनका जीवित सम्पदा श्री सत्यमोहन जोशीको घर छिर्ने बखुम्बहालको गल्लीमा/चोकमा उही स्लिम युवती हस्याङफस्याङ गर्दै मलाई भेट्टाउन आइपुगी । लाम्चो लाम्चो श्वास छाड्दै, आफ्नै बोयफ्रेन्डलाई धम्क्याएझैं गरी घुर्की लगाउँदै भन्न पो थाली :

‘अरे यार तपाईं त कस्तो ठिस लेखक  ! हामीहरूको मिस्टिकामा साइन गर्नु पर्दैन ?’

उसको अराजक सामीप्यताको आत्मविश्वासपूर्ण स्नेहा–वाणीले मलाई स्तब्ध पार्‍यो । निजलाई भन्नुपर्‍यो, ‘पछि गरुँला । आ–आफ्नो मिस्टिका क्याफेमा छाडिदिनू । म फुर्सदमा आएर साइन गरुँला । हुन्न ?’

निजले ढाई अक्षरे ‘हुन्छ’ भनी र गई ।

घरबाट छाया खोज्न सहर पसेको म घरको गुफामै थान्को लाग्ने हेतु घरै फर्कें । गुलजारका किताबहरू धुइँपत्ताल खोज्न थालें । सावित्रीले सोधी, ‘यसरी के खोज्दै हुनुहुन्छ ?’

‘मेरो जार खोज्दैछु ।’ मैले भनें । सावित्रीलाई गुलजारको नशा मैले नै लगाएको हुँ । कालान्तरमा मेरा किताबहरू पढ्न छाडी उसले गुलजारलाई च्याप्न थाली । गुलजारलाई मैले घरभित्र हुलेको नभई अपितु आफ्नै जारलाई भित्र्याएको हुँ भन्ने आत्मबोध हुन मलाई लामो काल पर्खनु परेन ।

सावित्रीले एक चाङ गुलजार ल्याई मलाई दिई । अरू सबै किताबलाई पाखा लगाउँदै रूपा पब्लिकेसनले प्रकाशित गरेको ‘रावीपार एन्ड अदर स्टोरिज’ लाई टेबलमा राखें । किताब गुलजारले आफ्नी (अ)भूतपूर्व अभिनेत्री पत्नी राखीलाई समर्पित गरेका छन् यसरी :

‘फर राखी, द लङगेस्ट सर्ट स्टोरी अफ माई लाइफ’

कविको यस्तो खालको काव्यिक समर्पण भाव देखी ‘चकित ओ चकित’ पर्दै, त्यही अपरान्ह मैले कथा सँगालोको एउटा राम्रो कथा ‘माइकलेन्जो’लाई आफ्नै भाषामा अनुवाद गर्न थालें ।
आलोक भल्लाले हिन्दीबाट अंग्रेजीमा अनुवाद गरेको मेरो प्रिय इटालियन पेन्टर ‘माइकलेन्जलो’ को गुल्जारियन कथालाई अब नेपालीमा पढियोस्  ! आमिन  !

माइकलेन्जलो

माइकलेन्जलो फ्लोरेन्स नगरबाट पुन: एकपटक नगरकोटीयन अन्दाजका साथ गायब भएको थियो ।

यसपटकको उसको आत्म–गमन लामै अवधिसम्म रह्यो । पूरै पाँच वर्ष । वास्तवमा ऊ रोमदेखि दिक्क भइसकेको थियो । आफ्नो पेन्टिङमा उतार्नका निम्ति छाँटको उपयुक्त मुहार कसैगरी पनि उसले रोममा फेला पार्न सकिरहेको थिएन । जति पनि अनुहार ऊ देख्थ्यो ती सबैमा पेन्टिङको निम्ति आवश्यक कुनै पनि चारित्रिक पात्रता ऊ किञ्चित पाउँदैन थियो । ती सम्पूर्ण अनुहार अरुचिपूर्ण किसिमले एकनासका, नीरस हुने गर्थे । यही कुरा उसले पोप जुनियस द्वितीयलाई बतायो ।

‘मेरो मुहारमा चाहिँ तिमी के देख्छौ नि  !’ जुलियसले  सोध्यो । ‘एउटा जलिरहेको मैनबत्ती ।’ क्षणभरको मौनतापश्चात् जुलियस मुस्कुरायो । माइकलका व्यंग्यात्मक टिका–टिप्पणीहरूसित जुलियस एक हदले अभ्यस्त भइसकेको थियो । निजले भन्यो : ‘तिमीले ठीकै भन्यौ । तिम्रो कुरा म ठम्याउन सक्छु । म ती हजारौं मैनबत्तीहरूमध्येको एक मैनबत्ती हुँ जसलाई विपद्का बेला नगरबासीहरू गिर्जाघरको यज्ञवेदीमा जलाउँछन् ।’

माइकल मौन बस्यो । जुलियसले भन्यो, ‘मलाई बडो अचम्म लाग्या छ । ईश्वरको यस्तो विशाल सृष्टिमा जहाँ एउटा मानिसको अनुहार अरू कसैसित मेल खाँदैन– तिमी भन्दै छौ कि आफ्नो पेन्टिङको निम्ति तिमीले कुनै एउटा अनुहार भेट्न/देख्न सकेनौ । जाबो एउटा मोडल खोज्न यस्तो धौ धौ  ! पछिल्ला चार वर्षमा जुदासको अनुहार…’

जुलियसले आफ्नो वाक्य पूरा गर्नुअघि नै माइकल सेन्ट पिटर्स गिर्जाघरबाट हिँडिसकेको थियो । माइकलको अप्रत्यासित व्यवहार एवं सन्कीपना पोप जुलियसलाई स्वाभाविक नै लाग्थ्यो । पेन्टरको मौसमी–मुडदेखि ऊ पूर्ण परिचित थियो ।

रोममा डेरा जमाउन थालेको माइकलको यो पञ्चम् वर्ष थियो । पाँच वर्षसम्म लगातार उसले सिस्टिन गिर्जाघरको गुम्बज् एवं भित्ताहरूमा ओल्ड र न्यू टेस्टामेन्टका दैवीय चित्रांशहरूलाई कुँदेको थियो । काम अन्त्योन्मुख हुँदै गइरहेकाले पनि जुलियस माइकलसितको आफ्नो आंशिक–सुमधुर सम्बन्धमा कुनै गडबडी नहोस् भन्नेमा सचेत थियो । केही समय अघिको कुरा जुलियसलाई हठात् याद आयो । गिर्जाघरको निम्ति माइकलेन्जलोले बडो मिहीनताका साथ कौशलपूर्वक जिजसको प्रतिमूर्तिलाई काठमा कुँदेको थियो । उक्त प्रतिमूर्तिको निम्ति एक युवकलाई उसले मोडल बनाएको थियो जसको बीचैमा अकस्मात मृत्यु भएको थियो । मोडलको बसेरा विहारमै थियो र निजको शव राखिएको कफिन–बाकसलाई चिहान पुर्‍याउन माइकलको कारण बाह्र घन्टा ढिलो भएको थियो ।

माइकलेन्जलो अवश्य पनि ब्रम्हान्तें जस्तो अनुशासित चित्रकार थिएन जो चित्रकृतिहरू कलाका विधान, मापदण्ड या आचारसंहिता अनुरूप बनाउने गथ्र्यो । सेन्ट पिटर्स गिर्जाघरमा पोप जुलियस द्वितीयद्वारा नियुक्त ब्रम्हान्तेंको कलाकृतिमा एकनासको रूपाकार, स्वरूप झल्कने गथ्र्यो । ती सम्पूर्ण आकृति उदेकलाग्दो किसिमले सगोत्रीय लाग्थे । एकै परिवारका झैं । तसर्थ जुलियसले ब्रम्हान्तेंलाई अवकाश दिएको थियो र निजको सट्टा माइकलसित मित्रताको हात बढाएको थियो ।

पाँच वर्षअघि माइकलेन्जलो प्राय: सेन्ट पिटर्स गिर्जाघरको गुम्बजमुनि आफैंसितको एकालापमा आत्मलीन हुँदै घन्टौं बस्ने गथ्र्यो । उसको तत्कालीन मानसिक स्थिरताप्रति जुलियस, द पोप केही आशङ्कित पनि भएको थियो । एकपटक, जब जुलियस चुपचाप ऊसामु पुगेको थियो तब माइकललाई बाइबलबाट केही ऋचा, श्लोक गुनगुनाउँदै गरेको उसले सुन्यो । सोध्यो :

–‘के गर्दैछौ ?’

–‘ए साँच्चि  !’ पोपलाई चकित परी हेर्दै भनेको थियो, ‘म बाइबलका श्लोकहरूको मुहारबाट घुम्टो उघार्दैछु ।’

माइकल जो थियो, सो थियो । पोपले निजलाई कमसेकम बुझ्थ्यो या निजको सनकपूर्ण स्वभाव, व्यवहारलाई सहन्थ्यो भनूँ क्यारे  ! माइकलेन्जलो गिर्जाघरको श्वैत–भित्तामा कुन्नि के के अनुहारहरू खोजी बस्थ्यो  ! जिजसको अनुहार, मेरीको अनुहार र सम्भवत: जुदासको अनुहार । तत् तत् निजहरूको निजी देहहरू त देखिन्थ्यो सायद तर तत्तत् निजहरूको निजत्व झल्काउने अनुहारचाहिँ बाइबलका श्लोक, ऋचाहरूभित्र कतै विलुप्त भएका हुँदा हुन् ।

माइकलेन्जलोले ग्याब्रियलको अनुहारका प्रशस्त रेखाचित्रहरू कागजमा कोरेको थियो । ती मुहारचित्र जीवन्त मात्र नभई जैविक लाग्थे । जुलियसले सोध्याथ्यो : ‘ग्याब्रियलको मुहारलाई तिमीले कागजमा कसरी चित्रण गर्न सक्यौ ? ऊ त यो संसारको निवासी होइन ।’

–‘मैले उसको आवाजलाई सुनें । ओल्ड टेस्टामेन्टमा ।’

–‘त्यसो भए त तिमीले ईश्वरको आवाजलाई पनि सुनेको हुनुपर्छ ?’

–‘मैले ईश्वरको मौनतालाई सुनेको छु ।’ माइकलले भन्या थ्यो । माइकलको यस्तो खालको गहन जवाफले आफूले उपयुक्त कलाकार छनोट गरेकोमा जुलियस ढुक्क मात्र नभई गदगद नै भएको हुनुपर्छ । ‘ऊ केही सनकी अवश्य हो,’ जुलियसले भ्याटिकन समितिसामु भनेको थियो, ‘तर ऊ मात्र एक त्यस्तो कलाकार हो जसले सिस्टिन गिर्जाघरमा चित्र कोर्न सक्छ ।’

माइकलले मेरीको चित्रमा आत्मा भर्नका निम्ति भने आफ्नी आमालाई मोडलको रूपमा प्रयोग गरेको थियो । आफ्नी आमालाई उसले एक दिन पानी ओसारेको देखेको थियो । बाँसको खर्पनमा कुनै गाग्री पानी बोकी हिँडेकी आमालाई देखेपछि उसलाई पवित्र मेरीको प्रतिमूर्ति आमामा सादृश्य भएको गुप्त आभास भयो । दुई घैलामा ऐला नभई जल बोकेकी आफ्नी जननीलाई देख्दा उसलाई लाग्यो यस्तै नारीले मात्र ईश्वरको पुत्रको भार आफ्नो कोखमा बिसाउन सक्छे ।

आमाले अँगेनामा दाउरा बालेकी थिइन् । पिताको स्नानको लागि राखिएको ताउलोको पानी उत्ताउलो गरी उम्लँदै थियो । माइकल अग्निको मद्धिम रापमा चम्किरहेको आमाको आगयुक्त, सुनौलो र झलझलाकार मुहार हेर्दै कागजमा त्यही मुलायम रेखाचित्र चुपचाप, धमाधम कोर्दै थियो ।

त्यो रात, अँगेनाछेउ उसले आमालाई सोध्यो : ‘तपाईंले जिजसलाई किन नजन्माएको ?’

आमाले भनिन् : ‘किनभने मैले तिम्रो बालाई भेटें नि त  ! हेर त त्याँ मदिराको मातमा तिम्रा बा कसरी मस्त निदाइरा’छन्  ! बिचरा  ! तिम्ले बाको स्याहार गर्नुपर्छ ।’

माइकलेन्जलोले त्यस लगत्तै मदिरा–स्वप्नमा समाधि लिई लवलीनमय भएका बाको मुहारचित्र कार्डबोर्डमा कोरेको थियो । सिद्धिएपछि चित्रलाई निजकै खाटसामु झुन्ड्याइदिएको थियो, ता कि बाले ब्युँझँदा देखून् :
दारुमा झ्वाम भएको बखत स्खलित मुहार कस्तो देखिन्छ  ! कार्डबोर्डको पींधमा माइकलले यस्तो लेखेको थियो : ‘पिताजी  ! यदि तपाईं यस्तो नहुँदो हो त, आमा अवश्य पनि पवित्र मेरी हुँदी हुन्  !’

माइकलकी माताश्रीलाई उक्त चित्र ज्यादै मन पर्‍यो । त्यसलाई उनी सधैं आफूसितै राख्ने गर्थिन् । छोरासित भन्थिन् पनि, ‘बाको मुहारलाई यसैगरी कुनै मूर्तिमा तिमीले किन नकुँदेको  ! हेर त  ! बा कति निर्दोष देखिनुहुन्छ  !’ माइकल यसो भन्दै आमाको जिज्ञासालाई शान्त पाथ्र्यो, ‘मैले कहीं पनि त्यस्तो संगमरमर फेला पार्नै सकिनँ जहाँ म बाको मुहारलाई कुँद्न सकूँ  !’

यी सम्पूर्ण तपसिलका कुरा त धेरै अघिका हुन्  ! उनीहरूको बसोबास त्यस बखत बोलोग्नामा थियो । गल्लीको अन्तिम कुनामा अवस्थित दारुमहल माइकलको मनप्रिय अड्डा थियो । त्यहाँ नियमित जसो दिल्लगी गर्न जानेमा माइकलका बा पनि थिए । उनी दारुमहलको गुप्ती कक्षमा अड्डा जमाइवरी दारुपान गर्थे । हाम्रो माइकल चैं बाहिरै बसी मदिरा–बोत्तलको बिर्को उघार्ने गथ्र्यो । ऊ प्राय: केही पर ठेलामा सितन बेच्ने ठेलावालसित बदाम किन्ने गथ्र्यो । ठेलावालाले बदाम जोख्ने बेला सधैंजसो केही बदाम उसको हातबाट झर्दै मुन्तिर भुइँमा खस्थे । त्यस्तो बखत ठेलासितै छेप्किएको एउटा नग्न बच्चो भुइँ खसेका बदाम टिप्थ्यो, एउटा मुखमा हाल्थ्यो र बाँकी चाहिँ ठेलामै बदामको डालोमा राखिदिन्थ्यो । त्यसपछि बच्चो अर्कै नवग्राहकको प्रतीक्षा गर्न थाल्थ्यो । माइकल उक्त नग्न बच्चोको निर्दोष क्रियाकलाप हेर्नैका निम्ति मात्र भए पनि ठेलावालासित बदाम किन्ने गथ्र्यो ।

कालान्तरमा एन्जलोले ब्रुजिसको म्याडोनाको मूर्ति बनायो । मूर्तिमा कुँद्नका लागि उसले त्यही नग्न बच्चोलाई शिशु जिजसको मोडलको रूपमा प्रयोग गर्‍यो ।

त्यसपछि नै त हो नि पोपले माइकलेन्जलोलाई सिस्टिन गिर्जाघरको जिम्मा लगाएको  ! गिर्जाघरको गजुरको भित्री छानोमा ओल्ड र न्यू टेस्टामेन्ट अनुरूपमा चित्रलहरी शृंखला कुँद्न नियुक्त गरियो । माइकलेन्जलो पोपलाई भेट्न रोम जाँदाताकाको कुरा हो यो । त्यस्तो खालको विशिष्ट नियुक्ति प्राप्तिका लागि त्यसबेलाका प्रत्येक चित्रकार एवं मूर्तिकार लालायित मात्र हुँदैन थिए अपितु आफ्नो देह र आत्माको बलिदान दिनसमेत तयार रहन्थे । नियुक्ति पाउनु अमरतामाथि विजयप्राप्त गर्नु ठानिन्थ्यो । संगमरमर किन्नका लागि माइकलेन्जलोलाई प्रशस्त धनको आवश्यकता थियो । पोपले उसलाई धन उपलब्ध गराइदिने वाचा अवश्य गरेको थियो तर पछि आफ्नै कथाबाट ऊ विमुखान्मुख भइदियो । –‘तिमी ढुंगालाई किन यति बिघ्न माया गर्छौ ?’ पोपको प्रस्तावित प्रश्न थियो, ‘ढुंगाको सट्टा रङहरूलाई तिमी किन प्रेम गर्दैनौ ?’

‘किनभने रङहरूले अरू रङसित सहवास गर्दा तिनले आफ्नो निख्खर गाढापनको कौमार्य नष्ट गर्छन्,’ एन्जलोले भनेको थियो, ‘तिनीहरू परिवर्तित हुन्छन् । ढुंगा या संगमरमर मर्दैनन् । तिनीहरू परिवर्तन हुँदैनन् । तिनीहरूको निख्खरता नष्ट हुँदैन ।’ तर अब त रङहरूसित पनि ऊ त्यत्तिकै दिक्क मान्न थालेको थियो जत्तिको दिक्दारी उसलाई रोमबाट लागेको थियो ।

गिर्जाघरको एक भागमा मात्र चित्र बनाउन बाँकी थियो ‘द लास्ट सपर’ को । तर जब–जब कसैको मुहारको कल्पना गर्न थाल्थ्यो एन्जलोको दिमाग तब तब शून्यताले भरिन्थ्यो । ऊ एउटा मुहारको खोजीमा थियो– जुदासको ।

जुदास : जिजसको तेह्रौं चेला जसले तीस टुक्रा चाँदीको निम्ति आफ्नो मुक्तिदातासित विश्वासघात गरेको थियो । जिजसलाई सुलीमा झुन्ड्याउन जसले रोमनहरूसित गुप्त, खुफिया साँठगाँठ गरेको थियो ।
जुदासको मुहार खोज्न या निजको मुहारिक–कल्पना मात्र गर्न पनि माइकलेन्जलोलाई बडो सकस भइरहेको थियो । त्यो कष्ट ज्यादै स्पष्ट थियो । ऊ दिनप्रतिदिन शनै:शनै: विचलित एवं अधैर्य हुँदै गयो । जुदासबिना उसले कोर्दै गरेको ‘द लास्ट सपर’ को सम्भावित कालजयी चित्र अधुरो/अपूरो थियो ।
जुदासको काल्पनिक मुहारचित्र कोर्दै, काट्दै, फ्याँक्दै र पुन: कोर्दै, काट्दै, फ्याँक्दै गर्दैमा एन्जलोका कैयन् तोर्पे दिनहरू सहिद भइगए । तर अहँ, सन्तोषको रेखा–चित्र तयार हुने कुनै गतिलो छाँट देखा परेन । सन्दुकमा थन्काइएका आफ्ना पुराना चित्रहरूमाथि पनि उसले विचार गर्‍यो तर तीमध्येमा कुनै पनि मुहार–चित्रले ऊ सन्तुष्ट हुनै सकेन ।

अनि एक दिन, अकस्मात माइकलेन्जलोले जुदासलाई रोमको एउटा साँघुरो, फोहोर एवं घीनलाग्दो दारुगृहमा फेला पार्‍यो । उसको अधैर्य मन बल्ल तैबिसेक शान्त भयो ।

दारुगृहमा एकाएक व्युत्पत्ति भएको जुदासका आँखा अस्वाभाविक रूपले चम्किला थिए । उमेरले उसको कायालाई बोरामा पोको पारिदिएको पो हो कि जस्तो गरी ऊ के कारणले हो कुन्नि भित्रैदेखि छटपटाइरहेको प्रतीत हुन्थ्यो । बेलाकुबेला मुखबाट प्याच्च प्याच्च थुक्थ्यो । ऊ यति आवेगपूर्ण गतिमा बोल्थ्यो कि लाग्थ्यो शब्दहरू उसको थुतुनोबाट फ्यात्त फ्यात्त झर्दै टेबलमा खस्थे जसरी फाटेको खल्तीबाट सिक्काहरू खस्ने गर्छन् ।

सुरुमा त माइकलेन्जलोको सामु एक दिनारको भीख/भिसा माग्ने हेतु प्रकट भएको थियो, शरणागत हुन आएको थियो तर दैवसंजोगले भइदियो के भने दुवै मिली टेबलमा ठडिएको बोत्तलबाट पालैपालो सोमरस घुट्याउन थाले । दारगृहबाट बाहिरिँदै गर्दा माइकलेन्जलोले निज पियक्कडलाई अर्को दारुबाजसित दुई दिनारको निम्ति करणामयी याचना गरेको देख्यो ।

माइकलेन्जलोले ऊसित कुरा गर्‍यो र आफूसितै गिर्जाघर लिएर आयो । उसले निजबाट चाहेको गाँठी कुरा के हो, सो बारे बतायो । माइकल चाहन्थ्यो ऊ कसैगरी या जसरी भए पनि जुदासको मोडल बन्न तयार होओस् ।

निजसमक्ष के पनि जाहेर गरियो कि उसले मोडल बन्ने स्वीकृति दिएको खण्डमा ऊ अजर अमर हुनेछ । निजलाई आश्वस्त पार्न माइकलेन्जलोले भित्ता र छतलाई छोपेको ढाकलो आवरणलाई मिल्काइदियो । आफ्नो आँखासामु प्रदर्शित भएको वैभवशाली एवं चमत्कारपूर्ण कलाकृति देखी ऊ आश्चर्यचकित भयो । उसका आँखा तिरिमिरिझ्याइँ भए । ऊ जुदासको मोडल बन्न तयार त भयो तर त्यसको निम्ति उसले माइकलेन्जलोसित ठूलो रकमको मोलमोलाई गर्‍यो ।

एन्जलो निजले भनेकै रकम तिर्न राजी भयो ।

निजले ऊसित पेस्कीस्वरूप केही पैसा माग्यो जसलाई एन्जलोले तत्काल उसैको हातमा थमाइदियो । त्यसपछि सुरु भयो ‘द लास्ट सपर’ को अन्तिम काम ।

त्यो मानिस केही दिनसम्म नियमित आउन थाल्यो । गिर्जाघर धाउन थाल्यो । निजलाई हेर्दै एन्जलोले ‘द लास्ट सपर’ मा चित्राङ्कित जिजसको तेह्रौं चेला जुदासको आकृतिमा आत्मा भर्न थाल्यो ।
एक दिन त्यो मानिस एन्जलोको संग्रहबाट पुराना रेखाचित्रहरू हेरिरहेको थियो । एउटा चित्रमा उसको नजर एकतमासले अडियो । उसले एन्जलोसित एउटा बच्चोको चित्रबारे सोधपुछ गर्‍यो उसलाई माइकलले उहिल्यै, कहिले हो कुन्नि, बोलोग्नामा बनाएको थियो ।

एन्जलोले बच्चोको चित्र उसको हातबाट लिंदै सुदूरवर्ती स्मृतिको याद गरेझैं गरी भन्यो : ‘धेरै वर्षअघि म बोलोग्नामा बस्ने गर्थें । यो मुहार मैले शिशु जिजसको चित्र कोर्नको निम्ति प्रयोग गरेको थिएँ ।’
‘के तपाईं त्यो बच्चोको नाम सम्झन सक्नुहुन्छ ?’

‘सक्छु । उसको नाम थियो… अँ साँच्ची… उसको नाम थियो मारसोलेनी ।’

त्यो मानिस फिस्स गरी मुस्कुरायो । त्यसपछि निजले आफ्नो बाहुला माथि सार्‍यो र एन्जलोलाई आफ्नो पाखुरामा कुँदिएको नाम देखायो : मारसोलेनी ।

निजले भन्यो : ‘म त्यही जिजस हुँ, जसलाई तपाईं अहिले जुदासको रूपमा चित्रित गर्दै चित्र कोर्दै हुनुहुन्छ ।’

स्लिम युवती

एकताका म पनि आफ्नो बाल्यकालमा तपाईंझैं निर्दोष, निश्छल एवं अकलुषित मारसोलेनी, द जिजस हुँदो हुँ । दुनियाको छायाजालीय, मायाजालीय अनि कायाजालीय अहङ्कार, मोह अनि कैफियत प्रतिष्ठा इत्यादिका कारण अहङ्कारी र मोहाग्रही मारसोलेनी, द जुदास पो भएँ कि  !

जसरी कुनै देशको प्रधानमन्त्री खडग ‘प्रसाद’बाट खडग ‘प्रहार’ बन्छ । ‘जे’ फर जिजस हुन्छ । ‘जे’ फर जुदास पनि त हुन्छ नि  ! ‘पी’ फर प्रसाद हुन्छ । ‘पी’ फर प्रहार पनि त हुन्छ नि  !

खैर  ! त्यो दिन अर्थात् डिसेम्बर चौबीसमा गुलजारियन ‘माइकलेन्जलो’ लाई आफ्नो आमाको आत्मीय भाषामा अनुवाद गरिसिध्याएपछि मैले केही प्रसाद जम्मा गरें । ती प्रसाद गुलजारका फिल्महरू थिए । आफ्नो डिभिडी संग्रहबाट गुलजारका चारवटा फिल्महरू निकाले : आँधी, मौसम, अंगुर र लिबास ।

भोलि क्रिसमसको साँझ ती सेल्फिस युवायुवतीहरूसित भेट्ने वाचा गरेको थिएँ । तर वाचा निभाउने वाचाल, मनुवा म सधैंं कसरी भइरहन सकुँला  !  ! मरो तात्कालीक मौसमी–मुडले कथालाई ज्यादै हल्का रूपमा लिंदै मुल्तबीमा राखिदियो ।

सांसारिक चाडपर्वहरूप्रति मेरो उदासीनताले यदाकदा मलाई नै अप्ठ्यारोमा पारिदिने गर्छ । समग्र अस्तित्वलाई नै चाडपर्व ठान्ने म कहिलेकाहीं बिनसित्ती दसैं, होली, छठ, ल्होसार, क्रिसमस, रमजानहरूमा फसिरहन्छु ।

तसर्थ, क्रिसमसमा युवायुवतीहरूसित फस्ने स्थूल वाचालाई तपसिलमा राख्दै म त्यसको अघिल्लो दिन नै क्याफे गएँ प्रसाद बोकी । म्यानेजर मित्र सानुकाजी देसारसित सेल्फीवाला मानुष एन्ड मानुषीहरूले छाडी गएका ‘मिस्टिका’ मागें ।

पाँचैवटा ब्ल्याक बुकमा ‘विथ लभ एन्ड रिगाडर््स’ लेख्दै पाँच दनक हस्ताक्षर ठोकें । त्यसपछि चारवटा ‘मिस्टिका–द ब्ल्याक बुक’ भित्र एकएक गरी गुलजारका ‘प्रसाद’ हरू स्याप्प घुसारिदिएँ ।

स्लिम युवतीको ब्ल्याक बुकमा राख्नका निम्ति चाहिँ मसित प्रसाद थिएन । तसर्थ राखिनँ । उसको निम्ति जानीबुझी नै मैले प्रसाद बोकेको थिइनँ । मनमा एउटा लहड चल्याथ्यो : अरू सबै साथीहरूको किताबभित्र लेखकको हस्ताक्षरसहित क्रिसमस–प्रसाद पाइए पश्चात् स्लिम युवती खिन्न होओस् । केही दु:खी/उदास होओस् । साथीसंगीहरूप्रति हल्का ईष्र्या पनि जागोस् । मसित केही गुनासो होओस् ।

बुझ्नुभयो, होइन त ?

यो ज्यादै योजनाबद्ध ढंगले रचिएको एक तामसिक एन्ड कोल्ड–ब्लडेड–षडयन्त्र थियो ।

आफ्नै पाठिकाप्रति यस्तो खालको मनगढन्त, कपोलकल्पित एन्ड कलुषित सोच या विचार त कुनै नर्कको अधर्मी लेखकले मात्र गर्न सक्छ भन्ने तपाईंको मत सत्रै आना (सोह्र हो क्यारे) सही हो । घरमा माया गर्ने घरेलु प्रयसी हुँदाहुँदै कुनै गैर खालको स्लिम युवतीप्रति त्यस्तो नीच, स्याडिस्टिक विचार राख्ने सो–कल्ड कुमार नगरकोटीको कलुषित आत्माभित्र जुदासले वास गरेको थिएन भनी कसले भन्न सक्छ ?

जिजस निदाएको बेला तपाईंको आत्माभित्र जुदास जाग्दैन भनी कसले भन्न सक्छ ? क्रिसमसले मेरो गुफाको द्वार ढकढक्याउँदै क्रिसमस–क्यारोल त होइन अपितु गन्स एन्ड रोजेज्को ‘नक नक नक नकिङ अन् हेभन्स डोर’ गुनगुनायो र गइगयो । सेल्फी खिच्ने ती सेल्फिस मानुष एन्ड मानुषी मिस्टर देसारको क्याफेमा गए हुनन् । आ–आफ्नो प्रसाद ग्रहण गरे हुनन् । क्रिसमस–गिफ्ट पाई ती मखलेल भए हुनन् ।
अनि स्लिम युवती नि  !

आफ्नो उपहार नपाउँदा ऊ खिन्न भइहोली ? दु:खी/उदास भइहोली ? सो–कल्ड नगरकोटीले ऊसित छल गरेकोमा ‘चकित ओ चकित’ परी होली  !

मलाई थाहा छैन । तपाईं झैं म पनि केवल कल्पना मात्र गर्न सक्छु । त्यसपछि म क्याफेमा गएको पनि छैन । आज त जनवरी १, दुई हजार १५, क्षमा पाऊँ, १६ । नूतन वर्षको यो अपरान्ह, गुफामा बसी गुलजारियन माइकलेन्जलो, जिजस, जुदास एवं स्लिम युवतीबारे सोचमग्न छु । नयाँ सालमा शोकमग्न हुनुभन्दा सोचमग्न हुनु सुखद हुँदो हो  !

प्रिय स्लिम युवती  !

तिमीसित मलाई केही भन्नु छ । तिमीले केही सुन्नु छ । यो क्याजुअल लेख कहींकतै तिमी यस बेला पढिरहेकी छ्यौ भने अवश्य पनि बुझ्नेछ्यौ कि गुलजारको एउटा राम्रो कथा –माइकलेन्जलो–लाई मारसोलेनी, द जुदासले तिम्रै लागि त अनुवाद गरेको थियो ।

समय नै आजकल –हेर न, के गर्ने– यस्तै छ । देशमा, सहरबजारमा, गल्ली, उपगल्लीहरूमा जिजसको भन्दा बढी जुदासकै बिगबिगी छ । ब्ल्याक मार्केटमा जुदासहरू छ्याप्छ्याप्ती छन् । मधेसमा युगौंदेखि प्रताडित शीतलहरमा कठ्यांग्रिएका निमुखा जिजसहरूप्रति कठोर व्यंग्य गर्दै सो–कल्ड राष्ट्रवादको शास्त्रीय स्लोगन भट्याउँदै बदाम र सुन्तलाका बोक्रा छोडाउँदै काठमान्डुको पारिलो घाम तापिरहेकै छन् । लौ त भन्ने सरकारी जुदासहरू पेट्रोल, डिजेल, मट्टितेल तस्करहरूका गोडा धोइपखाली गरिरहेकै छन् ।
के गर्नु  ! जुदासहरूको जगजगी छ मैयाँ । जुदासहरू जागेको बेला छ ।

तिमीभित्र युगौंदेखि निदाएको जिजस अर्थात् करुणा, सद्भाव, ममता जागोस् । प्रिय स्लिम युवती, नयाँ वर्ष सन् ३ हजार, क्षमा गर, दुई हजार १६ को तिमीलाई मेरो स्लिम शुभ–कामना  ! आमिन । अलविदा ।

अस्तु  !

प्रकाशित: पुस २५, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.