अनूदित कथा : मेरी आमाले काम गर्नुभएन

~डोन्ना स्मिथ याकेल~
अनु : महेश पौड्याल

“हजुर, यो कहाँ पर्यो होला?”

“समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर ।

“मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको …. त्यो खै के भन्छ….त्यो के पो… रकमको चेक पाउन सकिन्छ कि भनेर बुझ्न भनिएको छ ।”

“हजुर, मैले बुझें । तपाईकी आमाको नाम सामाजिक सुरक्षा कार्यालयमा दर्ता थियो? कति थियो उहाँको उमेर?”

“हजुर….थियो । उहाँ अठहत्तर हुनुहुन्थ्यो ।”

“उहाँको दर्ता नम्बर थाहा छ?”

“हजुर, थाहा भएन । त्यो अफिसको रिकोर्डमा होला ।”

“छ, यहाँ त अवश्यै हुन्छ । म हेरिहाल्छु । उहाँको नाम?”

“स्मिथ । मार्था स्मिथ । मार्था रुथ स्मिथ पो लेख्नुहुन्थ्यो कि क्या हो! कहिलेकाहीँ त विवाहपूर्वको नाम…मार्था जेराबेक स्मिथ पनि लेख्नुहुन्थो ।”

“एकछिन होल्डमै बस्नुस् है । म हेर्दिन्छु रिकोर्डमा । एकदुई मिनेटमै भैहाल्छ ।”

“हुन्छ…”

उहाँले बुवालाई र बुवाले उहाँलाई लेखेका प्रेमपत्रहरू एउटा पुरानो बाक्सामा छन्, रिबोनले या सुकेर अरहरो बनेको छालाको लोतीले बाँधेर राखेका । ती पत्रहरू १९१८ देखि १९२० सम्म लेखिएका हुन् । आमाका पत्रहरू त्यसै पलसलका कागजहरूमा लेखिएका छन् जसलाई उहाँले पूर्णकालिन खटेर एकलरुपमै सञ्चालन गर्नुभएको थियो, १९७३ मा स्कुलको पढाइ सकेर । बुवाका पत्रभने प्रथम विश्वयुद्धताका सैनिक र नाविक क्लबमा रहेर लडने लडाकुहरूलाई पत्र लेख्न दिइने कागजमा लेखिएका छन् । बुवाले आमालाई पत्रमार्फतै भावुक प्रस्तावहरू राखेर फकाउनुभयो । आमाले उहाँका सबै भावनाहरूको कदरपूर्ण उत्तर दिनुभाएको भए पनि उहाँ विवाहबाट सारै नै डराउनुहुन्थ्यो…

“म बिहेको मिति तय गर्नुपर्ने भनेपछि मरिहाल्छु – कुरो त्यतिमात्रै हो । म विगतका दुई वर्षदेखि यही कुरा सोचिरहेकी छु । मैले तपाईलाई कइयौंपल्ट भनिसकें, म वैवाहिक जीवनबाट डराउँदिन । तर बिहेको मिति तय गर्ने कुरो, र म विहाहित महिला हुने र आधा दर्जन या त्योभन्दा पनि बढी केटाकेहीको रेखदेख गर्नुपर्ने कुरा सोच्दा त….बिरामी नै हुन्छु । यतिखेर मेरा आँखा रसाएका छन । तर आशा गर्छु, कुनै दिन म आफ्नै अतीतलाई सम्झेर भन्न पाउने छु, ‘धत्तेरी! बिहेबाट पनि डराउने, म कति लाटी ।’ ”
उहाँहरूले फेब्रुअरी, १९२१ मा बिहे गुर्नभयो, र खेतीपातीतिर लाग्नुभयो । उहाँहरूको पहिलो सन्तान — छोरी — जनवरी १९२२ मा जिन्मयो, जुनबेला मेरी आमाको उमेर २६ थियो । दोस्रो बाच्चा, छोरो, मार्च १९२३ मा जन्मियो ।

उहाँहरू अरु नै कसैको खेत कुतमा गर्नुहुन्थ्यो । आफ्नो काम सकेर बुवा अन्य दुई खेतमा पनि भारोपर्म गर्न जानुहुन्थ्यो । सुरुमा उहाँहरूसँग पुञ्जी थिएन, र बिहानदेखि मध्यरातसम्म हाँजिरा गरेर कमाउनुपर्थ्यो । सहरमा हुर्किएकी मेरी आमाले हाँसकुखुरा पाल्न, चल्ला हुर्काउन, सुँगुरलाई दानापनी खुवाउन, दूध दुहुन, करेसाबारी गोडमेल गर्न, फलफूलको अचार हाल्न, र मागेर ल्याएको तरकारी केलाउन सिक्नुभयो । लगभग चारसय मिटरजति पर रहेको कुवाबाट पानी बोक्नुभयो, ती ठूल्ठूला खडकुँला भरेर लुगा धुन । अन्न निफन्न सिक्नुभयो, धान झार्ने मसिनमा बीटा हाल्न सिक्नुभयो, अन्नको कुन्यू लाउन र बत्ताउन सिक्नुभयो र खेतालालाई खाजा खुवाउनुभयो । सेप्टेम्बर १९२५ मा उहाँहरूको तेस्रो सन्तान जन्मियो, र जुन १९२७ मा चौथो । यी दुबै छोरी थिए । १९३० सम्ममा आफ्नै जग्गा किन्न पुग्ने पुञ्जी जम्मा भयो र मेरा बुबाआमाले खेत किन्नुभयो । फलस्वरुप, त्यसैसाल मार्चमा उहाँहरू आफ्ना गाइबस्तु र मालसमान लिएर, धुलौटो बाटो, ५५ माइल टाढा रहेको गाउँमा बसाइँ सर्नुभयो ।

१९३० को बर्खामा मेरी आमा र उहाँका दुई जेठा सन्तानहरूले काँडाघारीको झोडा कुटेले खनेरै क्यानेडियाली जङ्गलमा चालीस एकड जमिन आफ्नो बनाउनुभयो । अन्य खेतहरूमा जौ र आलस फुल्नथालेपछि, तोरीजस्तो पहेंलो फुल्ने जङ्गली झारले बारी नै छोप्थ्यो । आमा त्यस झारका प्रत्येक बोटलाई दिनभरि निमेक लगाएर उखेल्नुहुन्थ्यो । खुकुराका पाँच सय चल्लाको बथान पाल्न थाल्नुभयो । बारी खन्नुभयो, अन्नबाली लाउनुभयो, जोत्नुभयो र आधा एकडभन्दा ठूलो बारीको बाली एक्लै थन्क्याउनुभयो ।

त्यसै साल बसन्तमा सबै बँदेल हैजाले मरे । त्यो साल त्यति रकम जम्मा भएन ।

अर्को साल सुक्खाको मार । बुवा कुआबाट कुखुराको खोर, कुआबाट गौचरन, कुआबाट गोठ, कुआबाट बगैंचा, दौडादौड गरिरहनुहुन्थ्यो । घाम, दिन–प्रतिदिन चर्कौ हुँदै गइरहेको थियो । अन्नबाली सुकेर ध्वस्त भइरहेका थिए । किसानहरूले आधा बाली भित्र्याए, आधा जमिनले भित्र्यायो । पराल र कुसौरो गाईबस्तुलाई । फलेको अन्न पनि नाममात्रको; बजारमा कौडीको मोल पनि अनाउने । उनीहरू सित्तैंमा बजारमा फ्याँक्न सक्तैनथे पसिनाको कमाइ, त्यसैले घरै राखे, जाडोका दिनहरूमा अँगेनोमा बालेर तापे ।

१९४३ को फेब्रुअरीमा, जुनबेला मिनोसोटामा धुलो अझै बाक्लै थियो र घरबाट खेत देखिँदैथे, उहाँहरूको पाचौं सन्तान – चौथो छोरी — को जन्म भयो । बुवा खरायोको शिकार गरेर घर ल्यायनुहुन्थ्यो र आमा सुकाउनुहुन्थ्यो, सिसीमा बन्द गर्नुहुन्थ्यो, पकुवा लाउनुहुन्थ्यो, सेकुवा बनाउनुहुन्थयो, र एकपल्ट फेरि हेमबर्गर कहिले चाख्न पाइएला भनेर कल्पना गर्नुहुन्थ्यो । हेमन्तमा त्यताका खर्कहरूमा च्याखुरा, हाँस, र कालिज मारिन्थे । आमा सबै चराहरूलाई भुत्ल्यउनुहुन्थ्यो, र तिनीहरूका छातीका नरम भुत्लालाई जतनसँग सिरानी बनाउन राख्नुहुन्थ्यो ।

हिउँदमा उहाँ रातभरि सिलाइ–बुनाइ गर्नुहुन्थ्यो, अविश्राम — छरछिमेकबाट पुराना लुगा मागेर । पुराना कोट, लुगाफाटा, चोली र सुरवालहरू काट्कुट पारेर आफ्ना चार सन्तानहरूलाई ठिक्क हुनेगरि सिउनुहुन्थ्यो । हरेक बिहान र साँझ गाई दुहुनुहुन्थ्यो, सुँगुर र बाछाबाछीलाई दानापानी खुवाउनुहुन्थ्यो, खुकुरालाई चारोपानी खुवाउनुहुन्थ्यो, अण्डा टिपेर सञ्चित गर्नुहुन्थ्यो, खाना पकाउनुहुन्थ्यो, भाँडाकुँडा माँझ्नुहुन्थ्यो, भैं पुछ्नुहुन्थ्यो, र छोराछोरीको स्याहार–सुसार गुर्नुहुन्थ्यो । वसन्तमा फेरि कसेरोबारीमा तरकारी लगाउनुहुन्थ्यो, जसका लागि र परिवारका लागि टाढाबाट पानी ओसार्नुहुन्थ्यो । १९३६ मा उहाँको छ महिनाको गर्भ पतन भयो ।

१९३७ मा उहाँकी पाचौं छोरी जन्मिइन् । त्यसबेला आमा ४२ वर्षकी हुनुहुन्थ्यो । १९३९ मा दोस्रो छोरो, र १९४१ मा आठौं सन्तानका रुपमा तेश्रो छोरो जन्मियो ।

तर, त्यसबेला दोस्रो विश्वयुद्ध शुरु भइसकेको थियो । त्यसै बेला गाउँमा केही विकास पनि भित्रियो। उनीहरूका गोठमा बस्तु ३० पुगेका थिए । उहाँ अझै पनि साँझ बिहान दूध दुहुनुहुन्थ्यो । बगान आधा एकडभन्दा बढी भइसकेको थियो । खडेरी सकिएको थियो; वर्षायाम सुरु भइसकेको थियो । साथै, ग्रामीण विद्युत प्रशासन र घरभित्रै धारा र ढल जडान गर्ने व्यवस्था आइसकेको थियो । तर उहाँ अझै पनि सिउनुहुन्थ्यो – आफ्ना छोराछोरीका लागि लुगाफाटा र ज्याकेटहरू, आफ्नैलागि घरबस्दा लाउने भोटा र अप्रोनहरू, र हप्तैपिच्छे टाल्नुहुन्थ्यो छाराका जिन्स, डाँग्री र डेनिमका कमिजहरू । अझै पनि उहाँ चराका भुत्लाकै सिरानी बनाउनुहुन्थ्यो, र हरेक वर्ष नयाँ सिरक पनि । निकै कलात्मक बान्कीका साथसाथै टाल्टुले काम पनि गर्नुहुन्थ्यो उहाँ ; सिलाउनु पनि हुन्थ्यो, बाँध्नु पनि । परिवारको ओछ्यानमा चाहिने सबै चीज आफैंले तयार पार्नुहुन्थ्यो । सिरकमा प्रयाग गर्न अति नै साना भएका लुगाका टुक्राटाक्री जतनसँग राख्नुहुन्थ्यो र पछि बडो मिहिनेतले जोडेर लुगा बनाउहुनुन्थ्यो । पानी पर्लाजस्तो भएको बेला अझै पनि आफैं खेततिर दौडनुहुन्थ्यो र कलिला बिरुवालाई परालले छोप्नुहुन्थ्यो ।

१९५९ मा आमाको अन्तिम सन्तानले माध्यमिक शिक्षा सक्यो । एक वर्षपछि गाईबाछा बेचिए । हाँसकुखुरा पाल्ने काम भने आमाले जारि नै राख्नुभयो । अझै पनि भुत्ला उखेल्ने, सिरानी बनाउने, आफ्नो रोटी आफैंले पकाउने, र हरेक वर्ष विवाहित सन्तानका लागि या नातिनातिनाका लागि सिरक बनाउने क्रम टुटेन । अनि उहाँको करेसाबारी – जीविकाको त्यो विशाल, कालजयी प्रतिक – विगतका वर्षको जस्तै ठूलो, र स्याहारिएको थियो । अचार हाल्ने, र बिजुली भित्रिएपछि सुरु भएको फलफूल र तरकारी फ्रीजमा राखेर जतन गर्ने क्रम पनि निर्वाद चलि नै रह्यो।

१९६९ मा आमाबुवा सहर जानुभयो, चिनी किन्न । त्यसबाट टेक्ससमा बस्ने छोरीकालागि दूधमानेको जाम बनाउनु थियो । त्यसै यात्राका क्रममा उहाँहरूको कार एउटा खाल्डोमा खसेछ । आमा कमरमुनिको पक्षघातको सिकार हुनुभयो ।

१९७० मा उहाँका श्रीमान – मेरा बुवा – को मृत्यु भयो । आमाले जीवमा थप सवलता, मर्यादा र व्यवस्थाकालागि कठोर परिश्रम गर्नुपर्यो । शारिरीक पुनरोत्थानकेन्द्रमा उहाँलाई व्यायाम गराउने र ह्विलचेयरमा आरामदायी तरिकाले बस्न सिकाउने एकजना चिकित्सकले मलाई भनिन्, “आज उहाँले पन्द्र पटक पुस–अप गुर्नभयो, पन्द्र पटक । उहाँ पचत्तर वर्षको हाराहारीकी हुनुहुन्छ । यतिको उमेरमा यति तागतिलो महिला मैले कहिल्यै कतै देखेकी थिइनँ ।”

ह्विलचेयरमै बसेर उहाँले अचार हाल्नुभयो, रोटी सेक्नुभयो, लुगामा स्त्री लाउनुभयो, साथीहरूलाई र “आधा दर्जन या त्योभन्दा बढी” साखासन्तानलाई सातामा दर्जनौ चिठीपत्र लेख्नुभयो । तीनवटा जति टाल्टुले कोट र एउटा सिरक पनि बनाउभयो । गलैंचा बनाउनका लागि पोकाका–पोका लुगाफाटा भेलापार्नुभयो, पाँचवटा गलैंचा सजिलौ हुनेगरि । र आफ्ना सबै प्रेमपत्रहरू सुरक्षित राख्नुभो ।

“मैले तपाईकी आमाको नाउँ फेलापारें जस्तो छ । मार्था रुथ स्मिथ; बेन एफ. स्मिथकी धर्मपत्नी ।”

“हो, ठ्याक्कै ।”

“उहाँले विधवा भत्ता पाइरहेको देखिन्छ रिकोर्डमा ।”

“ठीक हो ।”

“तर हामीले दिने गरेको २२५ डलरको मृत्यु विमाको अधिकारी तपाईकी आमा हुनुहुन्न ।”

“हुुनुहुन्न? किन र?”

“हेर्नुस्, कुरो प्रष्ट छ । उहाँले कहिल्यै, कतै काम गर्नु भएन नि । ”

(प्रस्तुत कथा “विमेन, ए जर्नल अफ लिबरेशन” नामक नारीप्रधान पत्रिकामा सन १९७५ मा प्रकाशित भएको थियो । निजात्मक अनुभवमा आधारित यो कथा नारीहरूको कामका बोरेमा समाजले राख्ने अवधारणाहरूप्रति व्यङ्ग्य हो । क्यानाडाको संघीय कानूनका अनुसार गृहिणीहरू कि जागिरे भएका कारण, की जागिरे श्रीमानका पत्नी भएका कारण सामाजिक सुरक्षा वापतको रकमका भागिदार हुन्छन् । त्यसैले विसुद्ध गृहिणीहरू यो सेवाबाट वञ्चित हुने गर्दछन् । प्रस्तुत कथाले यस्ता अन्यायपूर्ण कानूनको भत्र्सना गरेको छ ।)

(स्रोत : Nepalikalasahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *