कथा : अमेरिका

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए। बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले।

यस्तो बेला ऊ अझै राम्री लाग्थी। प्रेम उत्सवमय रहेका बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ। रुँदा उसको सौन्दर्य अझै खुलेझैँ लाग्थ्यो। ठ्याक्कै सल्मा हायकजस्ती। त्यस्ती फेसुनेबल त के हुन्थी, तर त्यतिकै उन्नत। सल्मा हायकको नाम यसले सुनेकी थिई थिइन, म भने तिनको सुन्दरता र अभिनय दुवैको प्रशंसक थिएँ।

उसका आँखामा आँसुका दागहरू देखिन थाले।

अन्तिम पटक, सान्त्वना दिने हिसाबले मैले उसको हात समाएँ। अन्तिम पटक नै ठानेर होला, ऊ पनि कुनै प्रतिरोध नगरी एकोहोरो आँसु बहाउन थाली। अरू बेला हुँदो हो त, केही नितान्त निजी उत्तेजना र भावुकताका क्षणबाहेक हातमात्र स्पर्श गर्दा पनि मृगजस्तै बुरुक्क उम्कन्थी। कुमारी रहुन्जेल मन(प्राणैले कुमारी रहन दत्तचित्त थिई सायद।

कविता लेख्ने एक जमाना थियो जब हाम्रो हिमचिम भयो। अरूणाकै प्रेरणामा मैले कति कविता लेखेको थिएँ! हाम्रो सम्बन्ध गाढा हुँदै गएको बेला अमेरिकाले तेस्रो विश्वमा भर्खरै डीभी छिराएको थियो। उसको प्रेम बिस्तारै डीभीसँग गाढा हुन थाल्यो। बिस्तारै ऊ अमेरिकालाई सुन्दर कविता मान्नथाली र डीभीको चक्करमा मसँग बिहेको महाकाव्य रच्न थाली।

उसका थुप्रै दौँतरी डीभीको काँध चढेर वा बिहे गरेर अमेरिका उडेका थिए। आफ्नो छिमलमा झण्डै अब ऊ एक्ली थिई। अतः उसमा पनि रहरका पखेटाहरू बेस्सरी फडफडाउन थालेका थिए। देशमा सबै चिज अर्थहीन देख्न थालेकी थिई। अरू द्वार खुला थिएनन्, र भाग्यले पनि साथ दिइरहेको थिएन।ŸŸŸŸ

डीभी यसलाई कहिल्यै परेन। नियमित भर्न थालेको केही वर्षमै, ब्रह्मचारीलाई उत्ताउली केटी आइलागेझैँ, मलाई परिदियो। खबर पाएर ऊ निकै उत्तेजित देखिई र एकसाथ बिहे र अमेरिकाको सपना देख्न थाली। उसका आँखामा हरियालीयुक्त चौँडा सडक, त्यसमाथि सवार कार, मोबाइल, क्रेडिट कार्ड र पचास ताराअंकित अमेरिकी झण्डा निर्निमेष फर्फराउन थालेका थिए।

प्रतिक्रियामा मलाई ऊ निस्पृह देख्न थाली। यसको अर्थ के हो? म एकाएक उसको नजरमा देशभक्त देखापर्न थालेँ। अमरसिंह थापा वा बलभद्र कुँवर ज्यूँदा हुँदा हुन् त उनीहरू पनि नतमस्तक हुन्थे होलान्। देशै डीभीको काँध चढेर अमेरिका जाने सपनाको बाइपंखी घोडा चढिरहेको बेला मजस्तो मानिस देशभक्त बनेको दृश्य कस्तो होला? अरूणा त्यसको व्यंग्यात्मक पोर्ट्रेट कति हो कति खिच्न थालिहाली।

यो त्यतिखेरको कुरा थियो जब अमेरिकाले एयर होस्टेसजस्तै मुस्कान छाडेर डीभीको ढोका खोलेको थियो। प्रतिक्रियामा तेस्रो विश्वका देशहरूको हरघडीको जपना अमेरिका भइरहेको थियो। कतिपय कवि, कथाकारले ‘आदर्शनारी’ हिलारी क्लिन्टनको विरुदावलि गाएर महान् अमेरिकाको आध्यात्मिक गुलामी गर्न भ्याएका थिए। त्यसकै परिणामस्वरूप, भनिन्छ, मानिसहरू खासगरी पत्नीसित एकान्त प्राप्त गर्दा अहिले पनि अमेरिकाको तपस्या गर्न छुटाउँदैनन्। आउँदो सन्तानले अमेरिकाकै भाग्य ल्यावस् भनेर हुँदो हो। यहाँको सोह्र वर्षे पठ्ठो त्यहाँकी सत्तरी वर्षे चाउरी बुढीको कमैया(लोग्ने बन्न तयार हुन्थ्यो। अठार वर्षे कोरली त्यहाँको एड्सपीडितकी स्वास्नी बन्न राजी हुन्थी। यहाँका कलाकार त्यहाँ कुक बन्न, डाक्टर पम्पर र पत्रकार स्वीपर बन्न अप्ठेरो मान्दैनथे। यदाकदा हुरीले ल्याउने समाचारको बाछिटामा भने ती गौरवशाली कलाकार, डाक्टर र पत्रकार बनेरै प्रकट हुन्थे। अमेरिका जाने मौका मिलेको छ भने बिहेबारी चल्न नसक्ने नातेदारबीच पनि अनेक व्याख्यासहित बिहे चलाइन्थ्यो। कुनै सहरिया मध्यमवर्गीय युवक छ र अमेरिका, बेलायत, क्यानाडा वा जापान, नभए अन्य कुनै पनि देश जान असफल छ भने उसलाई नातागोतामा ‘ठीस’ ठानिन्थ्यो। यस्तैमा मेरो प्रेम अक्करमा परेको थियो। अरूणा बारम्बार मलाई धिक्कारिरहेकी थिई। तर, मेरो भावुकता पनि कम थिएन। मैले उसलाई अमेरिकी महान् बिट कवि एलेन गिन्सवर्गको कविता ‘अमेरिका’को एक अंश सुनाइदिएँ जुन यस्तो थियो(

अमेरिका, मैले तिमीलाई सबै दिएँ र अब म केही रहिनँ

अमेरिका, दुई डलर सत्ताइस सेन्ट, जनवरी १७, १९५६

म आफ्नै हृदयलाई सहन सक्दिनँ

अमेरिका, हामी कहिले यो युद्ध अन्त्य गर्दैछौँ?

धत्, तिमी आफ्नै आणविक बमसँग सम्भोग गर

कविता स्वयं अमेरिकालाई चुनौती थियो। ऊ के गर्थी, सुनेर देशलाई जस्तै दिनको कैयन् पल्ट मलाई थुक्न थाली। अरूणा जिद्दीवाल केटी थिई। तर, प्रत्यक्षमा म हार्ने खालको थिइनँ। ऊ खोक्रो अनुभव गरिरहेकी थिई।

****************

डीभी पर्नु तर अमेरिका जान मन मर्नु, हामीजस्ता वीर नेपाली सन्तानका लागि संसारकै आठौँ आश्चर्य थियो। म त्यो आठौँ आश्चर्यको महानायक बन्न योग्य कसरी भएँ हुँला? जवाफका लागि तपसिल( (बोधार्थः स्वीटहार्टअरुणिमा एट द रेट जीमेल डट कम)।

(प्रेमको पूर्वाभ्यासमै अरूणाले धोका दिनसक्छे भनेर आफूलाई टेकोसेको लगाएर उभ्याउनु मेरा लागि एक्काइसौँ शताब्दीकै महत्वपूर्ण माग थियो। यसबाट स्पष्ट हुन्छ, वास्तविकता एकसय असी डिग्री नै भिन्न थियो। (थथार्थमा म आधुनिक शुनःशेफ बनिरहेको थिएँ!)

(घरमा त भन्नै परेन, नितान्त असहाय बनिएको थियो। बाआमा कर्त्तव्यबोधको पाठ पढाएर परमधामको गौरवमय बाटो हिँडिसक्नुभएको थियो। कर्मशील दाजु(भाउजू थिए, उनका सालासाली र थुप्रै आफन्त थिए, जसको नजरमा म नितान्त हुतिहारा थिएँ। (घरमा असहाय मान्छे संसारमै एक्लो हुन्छ।)

(एमए डिग्रीधारी युवक, त्यसको सात वर्षसम्म, जीवनको एकतीस हिउँद(बसन्तसम्म, मिलोराद पाभिचको नायकजस्तै बेकाम हुने सौभाग्य उपभोग गरिरहेको थिएँ। जाँच वा अन्तर्वाताको गणना छैन। बरु त्यसको विशेषज्ञ भइयो, जागिर त कुनै युवतीजस्तै मलाई हेरेर गाइरहेझैँ लाग्थ्यो( खोलापारि मै माया लाउँदिनँ।

(मैले एउटा सिनेमा हेरेको थिएँ( रिभर्सल अफ फेार्च्युन। शीर्षकले नै संकेत गर्छ। एउटा प्रसंग, मेरा तिनै सहपाठी अन्तर्वार्ता लिने र मलाई फेल बनाइदिने हैसितमा थिए जो कलेजकालमा पूरै असफल र लफंगा थिए। सब्जेक्ट टप गरेर मेडल पाउने भने म हुन्थेँ। यो के हो? भएन त रिभर्सल अफ फोर्च्युन?

(देश भन्ने जुन आदर्श भावना थियो, त्यसले गर्दा सदाका लागि देश छाड्ने कुरा सपनामा पनि चिताउन मलाई मुस्किल पर्थ्यो।

(पेसेवर गरिबी र मेरो जन्मजात अल्छीपनाले जहाज बनेर हामीलाई अमेरिका पुर्‍याउँदैनथे।

****************

सत्य त उद्घाटन भयो, अब हेर्नु छ, परिणाम कस्तो आउँछ। अरूणा उदास भई। निराश भएर गई।

धेरैपछि एक दिन रुन्चे अनुहारसहित, नाटकहरूमा निशा शर्माजस्तै, ऊ मेरो सामु प्रकट भई।

‘हाम्रो प्रेमलाई कसैले सहेन।’

‘तिमी के भन्छ्यौ त?’

‘म त्योसँग बिहे गर्दिन।’

‘त्यसो भए मसँगै प्रेम गरिरहन्छ्यौ, होइन त?!’

अरुणा साउने झरीजस्तै दर्कन थाली र दर्कँदा दर्कँदै गई।

अन्तिम भेटमा म उसको प्रेमपत्र खल्तीमा बोकेर हिँडेको थिएँ जुन उसले पिन लगाएर कुनै दिन मेरो मुटुमा सिउरिदिएकी थिई। ऊ निकै उदास थिई।

प्रेमको जमानामा प्रायः ऊ शरीरका त्यस्ता भाग झल्झलाकार हुने परिधानमा उपस्थित हुन्थी जसका कारण हरेक ‘पुरुष’लाई तत्काल बिहे गर्ने रहर जाग्थ्यो। त्यतिखेर उसलाई छुनै महाभारत पर्थ्यो। तर ट्रेजिक मोडमा विद्यमान शाकाहारी प्रेमलाई नरकट घारीजस्तै फाँडेर निकै अगाडि बढ्न पनि सकिन्थ्यो जुन अहिले धेरै हिसाबले उपयुक्त थियो। अन्तिम पटकका लागि, ऊ पनि त्यसका लागि तयार हुँदी हो। मैलै नै मन मारेँ।

अरूणा आँसु बहाउने नाटकको रिहर्सल सकेर मलाई बाई(बाई गर्ने तर्खर गर्नथाली। एउटा कुरा, उसले मलाई आँसु बहाएको कहिल्यै देखिन। यसको अर्थ हो, आँसु नै बहाउनचाहिँ म कदापि योग्य रहिनँ।

उदासी मेरा आँखामा अवश्य हुन्थ्यो, अनन्त उदासी नै हुन्थ्यो, जसलाई उसको सामु प्रकट हुन नदिनु मेरो नितान्त अन्तर्मुखी स्वभाव थियो। उदासीले प्रेमलाई नै असर पार्छ भन्ने प्रभाव पर्‍यो। फेरि पनि किन हा,े आँसु नै बहाउनचाहिँ अनिवार्यतामा पनि असमर्थ हुन्थेँ। जीवनमा त्यसका बेफाइदाहरू अनेक थिए। अरूणा, यसकै कारण, बेला(कुबेला मलाई, किलकिलेमै थिचेर, ढुंगाको मुटु वा यस्तै के(के भन्थी। आमा बितेको क्षण म, तीन वर्षे बालक, हाँसीहाँसी खेलिरहेको थिएँ रे। यसैलाई लिएर धेरैपछिसम्म छिमेकीहरू मलाई आमाटोकुवा भन्थे। धेरैपछि मात्र त्यसको अर्थ बुझ्न सफल भएको थिएँ। बाको निधनताक ‘कुहिनाले नै पहाड धकेल्ने’ भइसकेको थिएँ। त्यो बेला पनि रुन र आँसु बहाउन सफल भइएन जसका कारण, ठूलै राजनीतिक उथलपुथल भएजस्तो, पसल(पसलमा मानिसहरूले कति कुरा काटेका थिए! बासँग मेरो सम्बन्ध कतिसम्म भावनात्मक थियो भने उहाँको मृत्युले शरीरकै प्रमुख एक अंग चोइटिएझैँ भएको थियो। चोट त ताजै छ। तर, मानिसहरू के(के भन्छन्!

यसबाट हाम्रो समाजको सहानुभूतिशीलता प्रशस्तै बुझ्न सकिन्छ।

अब सकिन्न। समाजसँग त सकिएन सकिएन, प्रेमिकासँग पनि नसकिने भयो। मन त युद्धविरामअघिको रुकुम(रोल्पाजस्तै भएको थियो।

अब सदाका लागि छुट्टिनुको पीडा अगाडि छ। प्रतिद्वन्द्वीसामु कमजोर देखिनु भएन। होइन भने पाँच प्रतिशतमात्र ढल्न बाँकी रूखजस्तै ढल्ने समय घचेटेर उभिइराखेको थिएँ। मैलै एउटा अत्यन्तै चलनचल्तीको औपचारिकता निर्वाह गरेँ जुन हाम्रोजस्तो सभ्य समाजमा छुट्टिने बेला अनिवार्यजस्तै ठानिन्छ। प्रतिक्रियामा आँसुको दाग लागेको उसको अनुहारमा एक्कासि स्वीचअन गरेझैँ चमक देखियो। अब ऊ हाँस्न थाली, ऐश्वर्या रायजस्तै।

उसले त्यो मानिसलाई अस्विकारेकी थिई जससँग उसको बिहे हुने भएको थियो। ‘हामी अमेरिका जाँदैछौँ’, छिनमै सफा आकाशमा बिजुलीको प्रचण्ड झड्का दिँदै उसले भनी। अर्थात् मसँग प्रेम गर्दागर्दै अरूणा तेस्रो साहसी पुरुषसँग पत्नीको पूर्वाभ्यासमा सामेल थिई जसले डीभीको कन्फर्मेसन लेटर पाइसकेको छ।

****************

ऊ गई। उसका आँखाभरि आँसु थियो। त्यसमा अलिकति पश्चातापको रंग पोतिएको थियो।

अब म दुःखी थिइनँ। छुटिनुपर्ने पीडाको कल्पनाले म जति आँत्तिएको थिएँ, त्यसको कुनै रंग ममा बाँकी थिएन। जेठको आकाश एकै छिनमा बदली भयो र पानी छिट्याउन थाल्यो। हेर्दाहेर्द जोडले बर्षन थाल्यो। म रु‰दै हिँड्न थालेँ। उकुसमुकुस वातावरण शीतल भयो। अरुणा बिदा भएर गएको धुलाम्य बाटो पखालिएर सफा भइरहेको थियो।

****************

(अभय श्रेष्ठको कथा संग्रह ‘तेस्रो किनारा’ बाट साभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.