संस्मरण : सिन्जाको माटो शिरैमा !

~युवराज नयाँघरे~Yubaraj Nayaghare

जानैपर्छ र ?’ गोठिजिउला पुगेपछि साथीहरूले बोली फेरुँलाझैं गर्न थाले ।

एक रात, एक बिहानको बाटो लगाएर पुगेका थियौं गोठिजिउला । त्यहाँ पुगेपछि थाहा भयो– सुर्खेत जाने गाडी एउटा मात्र रहेछ । त्यै पनि अबको एक घन्टामा हुँइकिइहाल्ने रहेछ ।

यी सबै अल्झोबिल्झो थाहा पाएर सिन्जा नजाने कि भनेर साथीहरू खुट्टा कमाउन थाले ।

‘यो गाडी उम्के, बित्थामा एक रात यहीँ थन्किनुपर्ने हुन्छ !’ दीपकबहादुर बूढाले चिन्ता देखाए । तर मैले आफ्नो अड्डी छोडिनँ ।

‘तपाईंहरू नगए पनि म सिन्जा पुग्छु–पुग्छु । जसरी नि पुगिछाड्छु !’ मेरो रोड्याइँ सुनेर रोमनाथ ज्ञवाली मुस्काए । उनलाई पनि लागेको होला, ‘यो तिलचामले ठीकै बोल्दैछ !’

‘हेर्नुस्, यै ठाउँमा जानका लागि म त्यत्रो बाटो हिँडेर आएँ । नत्रभने यस्तो कष्टपूर्ण हिँडाइँ, लड्दैपड्दै रातबिरात गरी यो जुम्ला टेक्ने थिइनँ । म जहाजबाटै नेपालगन्ज उडिसक्ने थिएँ !’ मैले गनगन छोडिनँ ।
बूढा वरपर बुझ्न थाले । गाडीतिर नि थामथुम पार्न गए । सँगै आएका अरू केटासँग पनि कानेखुसी गर्न थाले । आखिरमा जितिछाडेँ मैले ।

दीपकले तीनवटा घोडाको जोहो गर्न लगाएछन् । अग्लो र सेतो अरबीमा म बसेँ । मेरा अगिल्तिर रमेश रोकाया थिए । धर्मराजले कालो टट्टु हाँके । ज्ञवालीलाई थमाए रातो घोडा ।

गोठिजिउला सानो बजार । झुरुप्प घरहरू । बजारको कल्याङमल्याङ र चहलपहल । हामीले पूर्वतिरको बाटो समातेर घोडा बड्कायौं । ढुङ्गेनी बाटो निकै उबडखाबड छ । फेरि घोडाको लम्काइ छ बिजुलीजस्तो ।

‘हामी एक घन्टामा आउँछौँ । हामी आउन्जेलमा गाडी जसरी नि रोक्नु !’ मैले दीपकलाई घोडाको काठीमा बस्दा भनेको थिएँ । उनले निकै गह्रुङ्गोसँग अनुहारमा उमारेका थिए, ‘हवस् !’

हामीले घोडाको लगाम खिच्यौँ । मेरो त चम्किहाल्थ्यो । ज्ञवाली र धर्मराजका भने परेछन् महा लोसे । तिनको पछाडि बस्दा नि नहुने, अगाडि जाँदा पनि नहुने । हैरानै भयौं रमेश र म ।

‘बड्डा, लडौला । मेरो कम्मरमा बेस्सरी समात्नु है !’

घोडालाई सिर्कनाले सोट्याउँदै रमेश बोलिरहेका थिए । घोडा कुद्दा मेरो भुँडी हल्लिएर लाम्टा दुख्न थालेका थिए । तर त्यसलाई मैले बिर्सनुपरेको थियो । खोलैखोला निकै लागेपछि बाटो उत्तरतिर मोडियो । बाटो छ एकदमै साँघुरो । भैंसी, गाई र केटाकेटीले भरिभराउ छ त्यत्तिकै ।

‘भाइ, घोडा रोक–रोक !’ मैले रोक्नै लगाएँ चम्किएको घोडा । चारैतिर हेरेपछि मनमा हजार सूर्य एकैपटक झल्ल बले ।

‘बाफरे, कति सुन्दर सिन्जा उपत्यका । ओहो, कति लोभलाग्दो धर्ती । अहो, कति मनोरम बस्ती !’

आँखामा ओर्लिए यी लहरहरू । चट्ट–चट्ट चक्ला पारी काटिएका गराहरू । वारिपारि ओर्लिएका, उक्लिएका पारिला गराहरू । गरा देखिन्छन् सिँढीजस्ता । हिमा नदी उत्तर–दक्षिण कलकल बगिरहेछ । पूर्वबाट पश्चिमतिर हाट सिन्जाको बस्ती बसेको छ चाङ–चाङ भएर ।

माटोले छोपिएका छन् सबै छानाहरू । हिउँदमा हिउँ सोहोरी फाल्न मिल्ने । बर्खाको पानी नजम्ने । तातो–चिसो दुवै हावापानी दिने घरहरू । खेतका गरैगरा आलीले चरचरी चिरेका फग्लेटा देख्ता अत्यन्तै रमाइलो लाग्यो ।

‘सबै कर्णाली पाल्ने खेत सिन्जाकै त हो नि !’ बाटोमा भेटिएका लक्ष्मीचन्द्र आचार्यले बताए । राम्रा, चिटिक्क, साना झ्याल भएका घरहरू आकर्षक थिए । हामी एकोहोरो उत्तर लम्केका छौं । ढुङ्गेनी बाटोमा घोडाको खुर ठोक्किएर बजेको खट्याक्खुटुक् आवाजले मन ब्युँझिन्छ घरी–घरी ।

बस्तीको माझमा पुगेर बाटो बिलायो । बाटो छेउको कुलोमा भाँडा माझिरहेकी एउटी बुलाकी मैयाँसँग मैले सोधेँ, ‘कताबाट जाने कनका सुन्दरी मन्दिर ?’

‘तिम्ले बाटो बिर्खेऊ । फेरि फर्क र जाऊ तल खोलातिर !’ जुम्ली सुन्दरीको भाषा मैले कमै बुझेँ । नभन्दै हामी खोलाछेउको बाटोतिर लाग्यौं । भर्खर धान काटेको हुनाले होला आँगनमा मानिसहरू दाइँ गरिरहेका थिए । खेतभरि पहेँला धानका ठुटे डोबले अरू रङ थपेका थिए ।

खोला छेउमा पहेँला पाते बोटहरू भरिला थिए । अरू त जतासुकै सुख्खा र जिङरिङ रूखहरू थिए । स्याउका बोट रित्ता देखिन्थे बाटा तलमाथि ।

हिमा नदीको तीरमा भैंसी, गाई र भेडा चरिरहेका देखिन्थे । घोडाका बथान नि मनग्गे थिए । परालका भारी र तीमाथि स–साना केटाकेटी बोकेर खोलाबाट उक्लिने आइमाईको लर्कोले बाटो छेक्थे घरी–घरी ।

‘यो बेसी भएकाले भैंसी भा’ होला !’ आफ्नै उत्तर आफैँसँग ।

हाट सिन्जा नाघिरहेको छु । अनौठा छन् घरका रूप र रङ । ठाडै एउटा मोटो रूखमा खोपेर घर अगिल्तिर तेर्साइएको छ । तल–माथि गर्ने त्यो हो भर्‍याङ । तर कति अप्ठ्यारो छ– देखेर मनै अत्तालिन्छ । उक्लँदा र झर्दा समात्ने पो केमा ! एकैपटक खुर्मुरिने डर छ । सबै घरका लिस्नो एकै पाराका, एकै आकारका ।

पुलछेउमा पुग्दा भेटिए नैनसिंह कडारा । ती कोहलपुर झर्न लागेका रहेछन् । उनीसँग कुराकानी भयो ।
‘तिमी आएका बाटोमा लड्कु, गढ, हाट सिन्जा पर्छ । अब साउवडा आउँछ ।’

हाम्रो घोडा बड्कियो । हिमा नदी तर्ने झोलुङ्गे पुलमा म त फटाफट तरिहालेँ घोडामै । रमेश ओर्लिए वारि नै । पारि पुगेर हेर्छु त, दुई घोडा मरिगए पुलतिर खुट्टै हाल्दैनन् । जुतिसुकै घिच्याइमुन्ट्याइ गरे पनि घोडा पुल तर्नै मान्दैनन् !

तल हेर्छु— हिमा नदी झन् गहिरिएर गएको छ । सङ्लो नदी अलिक तल पुगेर दुईतिर फाँटिएको छ । बीचमा बन्न पुगेछ टापु । त्यही टापुमा कालिका प्राथमिक विद्यालय, अस्पताल, गाउँ विकास समिति, कृषि भवनलगायतका सुकिला घरहरू थिए । चौरमा केटाकेटीको उफ्रीपाफ्रीले अरू उज्यालो थपिएको देखेँ मैले ।
हिमा नदी वरपर छरिएको हाट सिन्जा उपत्यका हेरिरहेको छु म । यो भूमि छुने मेरो धेरै अघिदेखिको रहर थियो, इच्छा थियो र उत्कट चाहना थियो । यो भूमिलाई स्पर्श गर्ने मेरो औधि मनसुवा थियो । सपनै थियो सिन्जा टेक्ने ।

‘सिन्जा नटेकी मेरो जीवन माटैमा मिल्ला त ?’ म आफैंले पनि यो प्रश्न गरेको थिएँ । आज सिन्जा टेक्न, छुन र हेर्न पाएर म अकासजत्तिकै उचालिएको छु । अकासमा थिग्रिरहेका बादलजस्तै पुलकित भएको छु । आज अकासमाथि बिलाएका ताराजस्तै माथि–माथि पुगेर आलोकित भएको छु ।

यो त्यही भूमि हो, जहाँबाट मैले बोल्ने भाषा जन्मियो । यो त्यही उपत्यका हो, जहाँबाट हाम्रा पुर्खाले नेपाली भाषा संसारभर छर्न सके । यो त्यही माटो हो, जहाँबाट मेरो अन्तस्करणमा समाहित बोली उद्भाषित हुन सक्यो ।

मैले कर्णाली टेकेदेखि नै अभाव, गरिबी र कुपोषणका तह–तह देखेको थिएँ । मैले कर्णाली छोएदेखि नै दु:ख, वियोग र बेहालको पत्र–पत्र देखेको थिएँ । मैले कर्णाली आएदेखि नै रोग, फोहोर र बेस्याहारको चाङ–चाङ देखेको थिएँ ।

तर किन–किन सिन्जामा उज्यालो, सम्पन्नता र ऐश्वर्यका केही झिल्काझिल्कीहरू देख्न पाएँ । अन्न उम्रेका गरा भएर हो कि– मैले सिन्जामा जीवनको उल्लास फक्रिएको पाएँ ।

‘याँ त बाहुन मात्रै छन् !’ रामसिंह कडाराले बताए ।

‘बाहुन त पढ्छन्, पढाउँछन् ।’ कडाराले अरू थपे ।

मेरा बुबाको कण्ठमा गएको भाषा जन्मिएको ठाउँ । मेरी आमाको किलकिलेमा सजिएको भाषा उम्रिएको ठाउँ । मेरो घाँटीमा लपक्कै बसेको भाषाको उत्पत्ति भएको ठाउँ । म सिन्जाको परिवेशमा अभिभूत भएँ । यो सिन्जाकै सभ्यताले आज संसारभर छरिएका नेपालीलाई एउटै लहरमा जोडेको छ । देश भएर रहेको छ– यही नेपाली भाषा । देशको नाम र पहिचानमा गाँसिएको छ– यही नेपाली भाषा ।

‘खस’ भनेर खसाल्न खोजे पनि नेपालीको सेतु भाषा । ‘खस’ भनेर खदार्न खोजे पनि नेपालीको सम्बन्ध भाषा । ‘खस’ भनेर खुइल्याउन खोजे पनि नेपालीको आत्मिक भाषा ।

यो सेतु, सम्बन्ध र आत्मिकताले म सिन्जामा पग्लिएको छु । मैले मनमनै सिन्जाको माझबाट बगिरहेको हिमा नदीलाई प्रणाम गरेँ । सिन्जाको भरिपूर्ण खेत र गरालाई सतत् नमस्कार गरेँ ।

साथीहरूले घोडा ल्याउन सकेनन् पुलबाट । लात्ती हाने पनि, सिर्कनाले सोट्याए पनि, भक्कुमार गोदे पनि घोडाहरू पुल तर्नै मानेनन् ।

अरू तीन–चार गाउँलेले पनि घोडालाई पुल माथिबाटै ल्याउन खुबै सघाए । तर घोडा मरिकाटे पनि पुल तर्न मानेनन् । हुँदा–हुँदा म चढेर वारि आइसकेको घोडा रमेशले त्यहीँ लगे । अनि पछ्याएर ल्याउन खोजे, तैपनि मरिकाटे ती आएनन् ।

एक छिनपछि खोलातिर खसालेर हिमा नदीमा चुर्लुम्म डुबाएर घोडा म भएपट्टि आएँ ।

बाटो तेर्छो र उकालो देखियो । हामी माथि कनका सुन्दरी मन्दिरसम्म पुग्ने रहरमा हेलिएका छौं ।
‘नेपालीमा लेखिएको शिलालेख हेर्ने रहर छ,’ मैले साथीहरूलाई भनेको थिएँ ।

फेरि पुरानै पारामा घोडा बड्किए । साथीहरू अघि दु:ख दिएकोमा घोडालाई सोट्याइरहेका थिए । अटेरी घोडाले सिर्कनाको स्वाद गज्जबले खाइरहेका थिए । फेरि उकालोको हैरानी छ झन्–झन् ।

म चढेको घोडा–हँकुवा छन् जोसिला रमेश । उनी सातो लिइरहेका छन् घोडालाई । सातो त मेरो गइरहेको छ बेस्सरी । निकै माथि पुगेपछि बाटो उकालियो । निकै सिँढी रहेछन् । ढुङ्गेनी सिँढीमा घोडा हुत्तिएर लड्लाजस्तो लाग्छ । मैले रोकायालाई अठ्याएको छु बेस्सरी ।

सिँढी राम्रै फड्केपछि पुगिएछ– कनका सुन्दरी मन्दिर । हामीले थाप्लामा बसेको मन्दिर घुमघाम गर्‍यौं ।
चौरमा छोड्न नपाउँदै घोडाहरू लडीबडी गर्न थाले । काठी बोकेको सेतो घोडा भने शान्त थियो, सौम्य थियो र मौन थियो । अरू दुई कालो र रातो घोडा चौरमा मडारिएको मडारिएकै थिए ।

मन्दिरको मुखैमा पाटी थियो । त्यहाँ लेखिएको थियो, ‘मन्दिरको ढोका खोल्नुपरेमा यो नम्बरमा फोन
गर्नुहोला !’ मैले नम्बर पढेर मनमनै हाँसेँ । अघि तल भेटिएका लक्ष्मीचन्द्रले भनेका थिए, ‘पुजारी भेटिए धेरै कुरा थाहा पाउँथ्यौं !’

भोटे ताल्चा लगाएको प्वालबाट मैले देवीको दर्शन गरेँ । मन्दिरको चारै सुरमा ठूला–ठूला पताका फर्फराइरहेका थिए । मन्दिर अगिल्तिर ठाडै सिँढी थियो । जुम्लाकै सुप्रसिद्ध शक्तिपीठ हो यो । सिन्जा माथिको यो ठाउँको नाम रहेछ गढीको पाखा । मन्दिरसँगै पाखामा राजदरबार पनि रहेछ । प्राचीनकालमा जुम्ला राज्यको एउटा महत्त्वपूर्ण गढी पनि यहीँ हुँदो हो ।

‘देवी र राजाबीच ठूलो लडाइँ भयो । देवी फन्किने मेरो शासन मान् । राजा च्याँठ्ठिने मेरो शासन स्वीकार । शक्तिका लागि लडाइँ थियो । आखिरमा देवीले दरबार भत्काइदिइन् । अनि सोमन राजाले यहाँबाट गद्दी गुमाउनुपर्‍यो !’ नैनसिंहले अघि भनेको कुरा मैले भत्केको दरबार हेर्दा सम्झिरहेँ ।

दरबार– किल्लाजस्तो, गढीजस्तो । केही ढुङ्गेनी गारामा सीमित थियो । जगका ढुङ्गेनी लहर दार्‍हा ङिच्याएर बलजफ्ती आफ्नो इतिहास कहन खोजेका लाग्थे । गढीबाट पूर्व देखिएको काठको मौलो कट्कटिएको थियो । छेउमा रगतका टाटाहरू आलै देखिन्थे– चेप्टा ढुङ्गामा ।

१३ मङ्सिर, २०७२ । सिन्जाको हावाले मलाई माया गरेको तिथिमिति ।

मैले हिमा नदीको पश्चिमी किनारमा चुपचाप बसेका हाट सिन्जाका घरहरू हेरेँ । बस्तीमा दगुरिरहेका जुम्लीहरू हेरेँ । फेरि एकपटक सिन्जा उपत्यकामा झल्मलाइरहेको घाम हेरेँ । पहाडमाथि हिउँ बर्साउन आतुर बादलका लहरहरू हेरेँ ।

अनि एक थोपो माटो निधारमा दलेँ । यो नेपाली भाषा जन्माउने माटो । यो नेपाल देश चपक्क बाँध्ने माटो । यो सारा नेपालीलाई पहिचान गराउने माटो ।

मलाई फेरि जन्माएर पठायो सिन्जाले !

प्रकाशित: माघ २, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.