पत्र साहित्य : निलो आकाशमा कालो बादल !

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

अनामिका,
अघिल्लो साताको सम्बोधनमा तिमी मार्फत लेख्नेहरुको मूल्य खोजी गरेथेँ । धेरै साथीहरुले समसामयिक विषयको सवाल उठान भनेर आफ्नो समेत सहमति रहेको जनाउनुभयो । खुसी लागेको छ । त्यो भन्दा पनि खुसी मैले जुन लेख लेखेको थिए त्यसलाई जस्ताको तस्तै छापिदिएर पत्रिकाका सम्पादकले प्रजातन्त्रमा आफ्नो विमति वा सहमतिलाई राख्ने अधिकारको सुरक्षित गरेका छन् । म तिम्रो पत्र पछि अलिबढि नै लेखौला यो विषयमा ।

मौसम चिसो छ । यही चिसो मौसममा विविध गतिविधिका कारण मान्छेहरु तात्ताछन् । आफू अनुकुलित व्याख्या र विश्लेषण गरेर सडक तताउने कामको श्रृंखला रोकिएको छैन । जनताको नाम भजाएर सत्ताको कुर्सिमा टाँसिरहने रोग गणतन्त्रको घोषणा पछि पनि यथावत छ । हामीले खोजेको मुक्ति, हामीले खोजेको स्वतन्त्रता र हामीले चाहेको राजनीतिक परिवर्तन निश्चय नै यस्तो थिएन । इतिहासको लामो कालखण्डमा हाम्रा पूर्खा र हामीले भोगेको तितो समयको घाउहरुमा मलम दल्न खोजिएको थियो । एक गाँस भात र एक आङ्ग लुगा खोजिएको थियो । जिन्दगीहरु बत्तिको पुतली सरह त्यसै होमिएका थिएनन् । एकपटक पाइने मान्छेको जीवन स – साना सपनाहरुका लागि अर्पण गरिएको थिएन् ।

दुःख लागेको छ । बुझ्नेहरुले गलत तरिकाबाट बुझे । व्याख्या विश्लेषण गर्नेहरुले आफू अनुकुलित व्याख्या गरे । व्यवहार एउटा र सिद्धान्तको खेस्रो अर्को बोकि । भन्नै पर्छ तिनीहरले धेरै मान्छहेरुलाई ढाँटे । शुभ चिन्तकहरुको आँखामा छारो हाले । युगिन देखि चलिरहेको परम्परालाई केही रंगहरुको केही ढंगहरुको, केही विचारहरुको र केही तरिकाहरुको उपयोग गरेर फेरि पनि आफू मालिक बनिरहने र जनतालाइृ दास बनाइरहने गरिरहे ।

फेर्न त फेरियो । व्यवस्था फेरियो । सरकार फेरियो । फेरिएरै बने कति मुक्तिदाताहरु नयाँ स्वरुपमा । वर्षहरु फेरिए । इच्छाहरु फेरिए । कति कार्यालय र मन्त्रालय, राष्ट्रिय गान, सरकारको नाम सबै सबै फेरिए । तर यी सबै फेर्न आँट गर्ने, फेरिदिनका लािग ज्यान बलिदान गर्ने अङ्ग भङ्ग हुने, आगो जस्तो बलेर सडक तताउँदै दुँनिया चकित पार्नेहरुको केही फेरिएन । जस जसले जेजे फेर्ने कुरा गरे तर उनीहरुनै आखिरमा फेरिएनन् । शिवशक्तिको स्वरुपजस्ता भए आखिरमा जुन बोली र व्यवहार अनुहार र शैलीमा देखिनुपर्ने हो दुरुस्तै देखिन सक्ने ।

अनामिका,
मैले यी सन्दर्भहरु त्यसै पत्रिकाको पाना कालो बनाउन वा अक्षरहरु सुताएर सन्तोषको सास लिन मात्रै उठाएको हैन । वर्तमान देशको अवस्था देखेर भित्रै देखि पिरोलिने, चिन्तीत हुनेको आवाजलाई समेत उठाएको छु । सर्व स्वीकार्य मान्यता होकी राजनेताहरुले देखेको उत्तम सपनामा देशको भविष्य कोरिन्छ । उनीहरुको दृष्टिकोणले देश सुन्दर हुन्छ । यदि विश्वासलाई घात नगर्ने हो भने मात्रै प्रगति उन्नति र श्रीवृद्धि सम्भव हुन्छ । तर त्यसो भएन र आजका मितिसम्म देखिएन पनि । सधै शंका र आरोपको बिचबाट गुज्रिदा एकदिन कसैले नपत्याउने दिन पनि आउँछ । समय एकप्रकारको बाढी नै हो त्यस वखत आउने बाढीले सबै सबै बगाएर लैजान्छ । पोखरीलाई लामो समय सम्म थुनेर पानी बारिरहने खेल नखेल्दा राम्रो हुन्थ्यो । जनता आगो र पोखरीका पानी दुवै हुन् । अति भएपछि जनतालाई खतिको वास्ता हुदैन् ।

नाम हाम्रै लिएर गरिएका आन्दोलनको प्रभावले हामीलाई नै दुःख भएको, सास्ती भोगेको यर्थातलाई दलहरुले बेलामै बुझुन् । सत्तासँग जनताको कुनै सपना छैन । कुर्सिसँग जनताको कुनै मोह छैन् । आफू अनुकूलित व्याख्यासँग जनताको कुनै लिनुदिनु छैन र त उनीहरु घिन लाग्दो खेल खेल्दैन दुँनिया झुक्काएर वकवास बोल्दैनन् । उनीहरुलाई शान्ति, सुरक्षा, गाँस, बाँस र कपासको महत्व र मतलव छ । यस वखत यति भन्नैपर्छ की उनीहरु फेरि पनि नेता, राजनेता, दल भन्नेहरु सँग मौन जाँच लिइरहेछन् । एक एक टिपोटका साथ एकएक रिर्पोटका साथ ।

जनता र देश सबैका साझा विषयहरु हुन । न देश पार्टी विशेषको हुन्छ न जनता । जनताकै नाम भजाएर, जनताकै बिच फाटो ल्याएर, जनताकै लागि भनेर केही समय सम्म त नौटंकी गर्न सकिएला तर सधै यस्तो खेल खेलिरहन सकिदैन । एकदिन प्रश्नको वाणमा छिया छिया भएर नाजवाफ बस्नु पर्दाको अवस्था कस्तो होला ?

अनामिका,
मनमा दुःख छ यो सबै देखेर देश हिडेको बाटो अत्यन्त अप्ठ्यारो छ । धेरै प्रश्नहरु, जिज्ञासाहरु उम्रिएका छन् । शंका उपशंकाहरु उम्रिएका छन् । संयमता पूर्वक विवकेले काम गर्न सकेनन् वा सकिएन भने भोलीको कल्पना नगर्दा हुन्छ । अहिलेको स्वादलाई जिब्रो निकालेर चाट्नु बाहेक केही बाँकी रहदैन । हाम्रो देश अरुको हैन हाम्रै हो । आजबाटै देशको विषयमा सबैले सोच्यौ । देश रहे त भोलि सबै गर्न सकिएला । संविधान बने त सुरक्षित बनौला । सपनाहरुलाई संस्थागत गरौला । तर पनि भन्नैपर्छ, कालो बादल मडारीरहेकै छ हाम्रो निलो आकाशमा ।

उही तिम्रो,
दोलखे

अस्तु ।

राम्पा, दोलखा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *