संस्मरण : गजलको राजधानीमा एक मध्यरात

~डा. गोविन्दराज भट्टराई~Dr Govind Raj Bhattarai

पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू
एउटा छुरी जोडी मया आज कता हानू?

आज गजलको राजधानी ताकेर हिडयौँ। शुक्रवारको दिन, समय ढल्किसक्यो कतिबेला नर्फोक पुग्ने होला? शुरुमा ता रुक्मिणी र म मात्रै थियौँ। पिपल गाउँ पुग्दा जिल्ला गजल सङ्घका अध्यक्ष चढे, खोल्सेनी मोडमा राष्ट्रवादी गजल सेनाका कादर चढे, कालापानी पुल पारीपट्टि गाडी रोकेर गजलिका सिन्डिकेटका युवतीहरू चढे। बाटामा अरु पनि थपिए― आमा गजल मञ्जका साधकहरू, नवकिसान गजलखेतीका स्रष्टाहरू, छेत्र नं. २ गजल सोसाइटिका पदाधिकारीहरू। अव हाम्रो मिनिबसभित्र अटसमटेस भयो, कोही भित्र खाँदिए, अरू वाहिर झुन्डिए, नअटेका छतमा चढे। अव गाडी प्याकाम्प्याक भयो, तान्न नसकेर घ्यार्रघ्यार्र गर्न थाल्यो। कच्ची बाटो पाङ्ग्राहरू भासिएका छन्, धुलो उडेर कुइरीमण्डल छ तर यो अवसरमा कसलाई नचढ भन्नु? अव यस्तो राष्ट्रिय गजल सम्मेलन कहिले आउला र? धन्य नर्फोक, तिमी गजलको राजधानी।

त्यसो त यो देशमा गजलका राजधानी धेरै छन्। ती छेत्रीय हुन पनि मानिरहेका छैनन्। त्यसैले नर्फोक गजलको राजधानी कहलियो।

हामी नर्फोक पुग्दा झमक्क साँझ परिसकेको थियो। गाडीबाट ओर्लेर सिधै गजल मण्डपतिर लाग्यौं। बाटाबाटामा तुल फर्फराइरहेका थिए― नर्फोकमा तपाईंलाई स्वागत छ, राष्ट्रिय गजल नाइटमा तपाईंलाई स्वागत छ। सयौँ मानिस अट्ने सामियाना टाँगेर बनेको गजल मण्डप हेर्दैमा भव्य थियो। सामियानाले नपुगेको ठाउँमा हरिया सेउला गाडिएका थिए, प्रवेशद्वारमा दुइघरी केरा पसाइरहेका थिए। मलाई आश्चर्य लाग्यो, यति विशाल घरीहरू. अनि एकजना आयोजकलाई सोधेँ–  ‘यी बनकेराका बोट हुन् कि?’ उनी झन्डै रिसाए र बोले– ‘काँ बनेकरा हुनु? मेरा आँगनका केरा, अनेक जुक्तिले खनाएर वीसवीस जनाले नोल लगाएर बुङ्गा समेत नभाँची यहाँ ल्याएर गाड्यौं. पानी हालेर बँचाएको आज महिनादिन पुग्यो।’

मण्डपबाहिर प्रवेशद्वारमा आयोजना कमीटिका प्रधानसंयोजक अफगानी वस्त्रमा उभिएका थिए। एकजना पार्श्ववर्तीलाई खुसुक्क सोधे, प्रधानसंयोजकजीको शुभनाम के हो बैनी? उनले बताइन् एस टी डब्लु “खोर्सानी”। खित्खित् झन्डै मेरो हाँसो फुस्कियो। कसरी “खोर्सानी” उपनाम रह्यो होला? तर झट्ट सतर्क भएँ― प्रमुख अतिथिले हाँस्नु भनेको आयोजककै अपमान हो। हाँसो रोकेर सोधेँ “किन बैनी यो “खोर्सानी” उपनाम रहेछ?” उनले भनिन्― उहाँ आगो हुनुहुन्छ, कडा पोल्ने अर्थात् खोर्सानी जस्तै। कतिले त उहाँलाई ‘गजलको छापामार’ पनि भन्दछन्। म अझै सतर्क भएर उनीतिर हात बढाएँ, मिलाएँ। स्यौला र पात मिसिएका पुष्प गुग्छा मतिर तेर्स्याउँदै खोर्सानीजी गजलमै बोले―

पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू
एउटा छुरी जोडी मया आज कता हानू?

उनको आसुत्व देखेर म निकै प्रभावित भएँ। फेरि मलाई अलिकति डरडर पनि लाग्यो, एकपल्ट नजाँनिदो गरी निधार छामेँ तर स्वागतार्थीका अनुहारमा प्रशन्नता देखेपछि मेरो भय निवारण भयो। त्यसो भए ‘जोडी मयाँ’ को होला? पल्याकपुलुक गर्दै पछि फर्केर हेरेँ, रुक्मिणी त्यहीँ उभिएकी थिइन्। उनी गजल नाइट कार्यक्रमकी सहायक प्रमुख अतिथि रहिछन्। यो अप्ठ्यारो बुझेर मैले भनें― मलाई के पुष्पगुच्छा नभएनि हुन्छ, उहाँलाई दिनोस्। तर खोर्सानीजीले झर्‍याप्प पारे, गुच्छा च्यातेर दुई मुठा पारे अनि हाम्रा हातमा दुई अर्धगुच्छा राखिदिए।

स्वागतपछि हामीलाई पण्डालभित्र लगियो, माथि मञ्चमा बसालियो। मञ्चमा कुनै सोफा–कुर्सी थिएनन्, ड्याम्ड्याम्ती खाटमा खाट जोडेर राखिएका थिए. नाट्य घरको स्टेजजस्तै, अग्लो व्यासासन। प्रमुख र सहायक बाहेक अरु पनि अतिथि थिए― कोही विशेष अतिथि कोही कार्यकारी अतिथि, कोही निमित्त अतिथि, कोही भूतपूवर्, कोही तत्कालीन अथिति आदि। उद्घोषकले नामहरू बोलाउँदै गए― गजल प्रक्षेपण केन्द्रीय समितिका सभापति, नर्फोक काठमाडौँ गजल ट्रष्टका अध्यक्ष, गजल बचाउ अभियान जिल्ला समितिका सदस्य सचिव, अन्तर्राष्ट्रिय गजल फोरमका संस्थापक, प्रवासी गजल गुठीका सदस्य, गाउँगाउँ गजलमय बनाऊँ अभियानका संयोजक, बाल गजल स्रष्टा मञ्च,, बालिका गजल स्रष्टा मञ्च, युवक गजल परिवार, युवा गजल परिवार, वृद्धबृद्धा गजल–भजन मण्डली, साना किसान गजल ग्रुप, ठूला किसान गजल सोसाइटी गर्दागर्दै मञ्च ठ्याप्पै भरियो। गर्मी छ तर अतिथि सर्जक चढेका छन्, खाटमाथि पल्याँटी कस्तै बसेका छन्, म प्रमुख अतिथि भएपनि छेलिँदै गएँ, हरियो गुच्छा माथि उचालेर खाटमा घुँडा टेकेको छु, अघिल्लिर दुई हार पछिल्तिर तीन हार। अतिथिको सङ्ख्या पच्चीस पुग्यो होला। अझै थामिएन।

माथि पाइलो टेक्ने ठाउँ नरहेपछि खाट कर्‍याककुरुक गर्न थालेको थियो। खाटको भारक्षमताभन्दा अतिथि बढि होलान् जस्तो बुझेर उद्घोषकले भने― आसन ग्रहणको काम चलिरहनेछ, अब मूख्य कार्यक्रम नै सुरु गरौँ।

कार्यक्रम सुरु हुनुभन्दा पहिले गजल नाइट संयोजकले माइक पक्रेर स्वागत भाषण बोले― गजलप्रेमी सज्जनहरू, आज हामीलाई चारैतिरबाट आक्रमण छ. कविताको आक्रमण, कथाको आक्रमण छ, नाटक र निवन्धको आक्रमण। गजललाई एउटा स्वतन्त्र विधा बनाउन हामी लडिरहेको छौँ तर सामन्तहरूले अनेक जालझेल षडयन्त्र गरेर हाम्लाई स्वतन्त्रता दिन हिच्किचाइ छन्। सयौँ वर्षको दासताले हामीलाई थिचेको छ. अव हामी यो स्वतन्त्रता सङ्ग्राममा उत्रेका छौ, अव हामी प्रत्येकले प्राणको आहूती दिनु पर्छ र गजललाई मुक्ति दिलाउनु पर्छ। हामीले एक घर एक गजलकारको नारा लिएर गाउँ पस्नु परेको छ। आफ्ना दुश्मनहरूको पहिचान गरेर गजलवाहेक अरु थोक लेख्नेलाई बेलैमा वार्निङ दिनुपर्छ।

म भन्दै आएको नर्फोक मुक्त जिल्ला घोषित गरियोस्। तर आज म सुन्दैछु यहाँ कोही कवितालाई साहित्य भन्नेहरू पनि छन् अरे, कोही लुकेर कथा र उपन्यास पनि लेख्ने प्रयत्न गर्दै छन् अरे― ती कुरावाट मुक्ति नपाएसम्म कसरी गजल एक स्वतन्त्र विधा बन्न सक्छ? हामी टायर जलाउन तयार छौँ हामी खुकुरी चलाउन पनि तयार छौँ। तर गजललाई मुक्ति नदिलाई छोड्ने छैनौँ।

गजल भनेको साहित्यको जननी हो. माता हो। गजलभन्दा पहिले केही लेखिएको थिएन. अव यो संसारमा गजलभन्दा पछि कुनै साहित्य लेखिने छैन। गजल साहित्यको आदि र अन्त्य दुवै हो। यसो भित्तामा हेरें, एउटा व्यानर फिलफिल गर्दै थियो― “गजल साहित्यको आदि र अन्त्य दुवै हो।” यो स्वतन्त्रता सङ्ग्राम हो, मुक्ति सङ्घर्ष हो, छेडौँ अव यो स्वतन्त्रताको आन्दोलन छेडौँ।

स्वागत भाषणले स्रोतालाई जुरुकजुरुक उचाल्यो। मैले सम्झेँ― घर नपुगी गजल मुक्ति आन्दोलन छेडियो भने कति दिन नेपाल बन्द हुने हो, कति गाडी जल्ने हुन्, कति लाठीमुङ्ग्री चल्ने हुन्। यो जिन्दगी कत्रो अभर पर्छ होला नि. व्यर्थै प्रमुख अतिथि बनेर आएँ यो तीन दिनको बाटो।

त्यस्तो सोचिरहेकै बेला प्रमुख अतिथिको काम आइहाल्यो। उद्घोषकले भने― अव, प्रमुख अतिथिबाट एउटा गजलसङ्ग्रहको विमोचन हुँदैछ, सबैजना जर्‍याकजुरुक उठेर जोडले ताली पड्काउनु होला। म पनि उभिएँ। विमोच्य कृति हातमा लिएँ. त्यो थियो “छेडिएको मुटुमा बलेको आगो”, कस्तो शीर्षक! मलाई हाँस उठ्न खोज्यो तर सर्जक करुणाकेशरी “मिर्मिरे” नजिकमा आइपुगेकी थिइन्। सर्जकको अघिल्तिर हाँस्नु भनेको तिनीहरूको अपमान गर्नु हो। म च्याप्प ओठ बाँधेर बसेँ अनि “छेडिएको मुटुमा बलेको आगो” को विमोचन गरेँ। मनमा तै पनि एउटा कौतुहल जागिरअह्यो कसरी इनको मुटु छेडियो होला, कसरी त्यहाँ आगो बल्यो होला? विमोचन पछि मिर्मिरेले केही शेर सुनाइन्, मलाई लाग्यो उनको मुटु साँच्चै छेडिएको रहेछ र त्यो आगो यो शरीरमा दनदनाइरहेको थियो। मिर्मिरेको एक सेरले धेरैको मुटु छेडिदियो।

छेडिदियौ सानो मुटु तिखो झिरले
डढेको छ ह्दयमा तिम्रै पीरले

वीचवीचमा गजल बाचन हुन्थ्यो ताली पडकिन्थे, सुसेली सुनिन्थे, पण्डाल हल्लिन्थे। बतास चलेको बेला भित्ताका सुकेका सेउला पनि स्यार्रस्यार्र गर्थे। गजल नाइट चलेको चल्यै, एक पछि अर्को, गजलको बहारले स्रोताहरूको पनि मुटु छेडिएला जस्तै भएको थियो। हरेकपल्टको गजल गायन। वाचनपछि जोरदार तालि पड्किन्थे। सबैभन्दा ठूलो प्रशंसा खुश्री मलीना “विहानी” को गजलले प्राप्त गर्‍यो। उनको एउटा सुन्दर सेर यसप्रकार थियो―

नजर्ले उठायो अधर्ले खन्यायो
पर्‍यो रात भित्रै छिचोली लडायौ।

वाहा! वाह!! वाह!!! बाह्र मिनेट ताली रोकिएन र वान्स मोर आइरह्यो ।

एकतीसवटा गजल गायन र वाचन सकिएपछि प्रमुख अतिथिको अर्को कार्यक्रम आइलाग्यो त्यो थियो महान गजलविद् अमरेश्वर फणिक “धिपधिपे” लाई गजलसम्मान तथा उपाधि। त्यसबेला मोडर्न गजल फ्रन्टका इन्चार्ज जुरुक्क उठेर बोले― आज हामी “धिपधिपे” ज्यूलाई चाहिने “गजलसम्राट” को उपाधि दिन चाहन्छौँ। कसैलाई केही भन्नु छ? छ भने फ्रायाङ्क्लि अहिले भन्दिने भरे चाहिने व्याकबाइटिङ गर्न पाइने छैन। त्यो ह्ययाबिट मलाई मन पर्दैन।

एकैचोटी पण्डाल गुञ्जियो, थर्कियो र हल्लियो। हामी कसैलाई ‘सम्राट’ मान्ने छैनौँ, बरु ‘गजल राष्ट्रपति’ भन्नोस्, तर सम्राट हामीले भत्काइसकेको विचार हो। लोकतन्त्रमा सम्राट हुँदैन। त्यस्तो उग्र विरोध सुनेर इन्चार्ज अँघ्यारो मुख लगाउँदै थचक्क बसे। अनि अरु प्रस्ताव आउन थाले― बरु गजल शिरोमणी भनौं, अथवा गजल मुखिया, अथवा गजल पण्डित, अथवा गजल गार्ड अथवा गजल महर्षी अथवा गजल पुरुष।

यतिकैमा फ्रन्टलाइन गजल डट कमकी सचिव मेरिना ‘उत्पात’ बोलिन― त्यसरी पण्डित, मुखिया, महर्षी, जस्ता शव्दले पुरुषतन्त्रको एकाधिकार जनाउँछन बरु ‘गजल न्युक्लिअस’ भनौँ. यो विज्ञानबाट आएको र स्त्रिलिङ्गी पुलिङगी नछुट्टिने कन्सेप्ट हो, अथवा ‘गजल पेट्रोम्याक्स’ भनौं त्यसले लैङ्गिक विभेद पनि मेटाउँछ। यो पोष्टमोडर्न कन्सेप्ट हो।

सबैले ‘उत्पात’को प्रस्तावलाई स्वागत गरे त्यसै अनुसार अतिथि धिपधिपेलाई ‘गजल न्युक्लिअस’ सम्मान चढाइयो। तर केही सहभागीले विरोध प्रकट गरे― त्यसरी सम्मानपत्रले मात्र पुग्छ कि क्या हो। एउटा दोसल्ला ओढाउनु पर्दैन? अर्काले प्रस्ताव गर्‍यो― यो गर्मीमा दोसल्लाको के काम यार? बरु एउटा पङ्खा चढाइदिउँ न बूढालाई। अर्काले थप्यो― पाँचसयको दोसल्लाले हुनेमा पन्ध्रसयको फ्यान कल्ले खर्च विहोर्छ, तँ दिन्छस्?

छड्के परेर त्यो संवाद सुनिरहेका धिपधिपेज्यू बोले― हे आयोजक वृन्द, मलाई केही चहिएन बरू पैसै दिनुस्, म चाहिएको माल किन्छु। जैले पनि दोसल्ला देखेर मेरी श्रीमती हैरान भइसकिन्। एउटा मितिनीलाई दिइन्, एउटा जेठीसासूलाई एउटा सम्धीलाई, एउटा सालीको गडधुवा राख्यौँ, दुइटा बजारमा बेचिन् अझै बाकसमा हेर्दा सातवटा दोसल्ला पर्खिरहेका छन्। सम्मानित व्यक्तित्वको यस्तो वात सुनेर आयोजक अलिकति झस्किए। नभन्दै आयोजक प्रत्युत्पन्न मतिका थिए। उनी बोले― यो दोसल्ला फिर्ता गर्दा पसलेले ४० पर्सेन्ट कटाउँछ तपाईंलाई त्यो कुरा मञ्जुर भए हुन्छ तपाईंले नगदै पाउनु हुन्छ। धिपधिपेले ‘हुन्छ’ भने. तत्कालै क्यालकुलेटर झिकेर हिसाब गरियो। चालीस पर्सेन्ट कटाउँदा रु. २७१ बाँकी रह्यो, धिपधिपेले सो नदग पुरस्कार भित्री गोजीमा हाले।

त्यसपछि धिपधिपेको परिचय सुनाइयो― ‘गजल न्युक्लिअस धिपधिपेज्यूको पूरा नाम हो अमरेश्वर फणिक। उहाँ महानन्द सापकोटा जस्तै कसैलाई आफ्नो जन्ममिति बताउनु हुन्न। उहाँ नर्फोकका रत्न हुनुहुन्छ। नर्फोकका मात्र होइन, यो देशकै भनौं। उहाँले विजुलीबत्ती आइनुभन्दा पहिल्यैदेखि धिप्री मुनी बसेर रातभरि गजल सिर्जना गर्न थालेको र आजको बिजुली बत्ती समेत ‘धिपधिप’ गरिरहने हुनाले तत्कालीन सरकारलाई व्याङ्ग्य गर्न ‘धिपधिपे’ टाइटल राख्नु भयो। त्यो सुनेर तत्कालीन सरकार पनि निकै डराएको थियो। उहाँ यो देशको एक नम्बर गजल प्रशिक्षक हुनुहुन्छ। हालसम्ममा यो देशका ६३ वटा जिल्लामा गजल प्रशिक्षण शिविर चलाइसक्नुभएको छ। मर्नुभन्दा पहिले बाँकी जिल्लामा शिविर चलाएर गजल लेखन प्रशिक्षणको ज्ञान दिने वाहाँको अन्तिम इच्छा रहेको छ।

उहाँ गजलका जिउँदा सहिद हुनुहुन्छ। कति कविले खेदे, कति कथाकारले झम्टिए, कति उपन्यासकारले उहाँलाई दपेटे। एकपल्ट एउटा महाकाव्यकारले ता उहाँको नयाँ कमेजको कठालामा च्याप्प समातेर हातै हाले। पिटापिटै भयो― भनौं दोहोरो भिडन्त। धिपधिपे बलियो हुनाले ख्याउटे महाकाव्यकारलाई पछारेर उम्किनु भो। कसैलाई नटेरी, नसुनी, धम्कीले नडराई उहाँले गजलमै जीवन अर्पित गर्नु भो। खाँदा गजल, हिँडदा गजल, सुत्ता गजल, अहिले सम्ममा उहाँको चार दर्जन गजलसङ्ग्रह प्रकाशित छन्। पच्चीसथान गजलसङ्ग्रह प्रकाशकको खोजीमा छन्। कतिले बहर र काफिया मिलेन भनी उहाँको खेदो खने। तर यी जिउँदा सहिदै कहिल्यै टेरेनन, गलेनन्, हारेनन्। उनी चौबीसै घण्टा नविराई गजल भन्न सक्नुहुन्छ।

परिचायक बोल्दै थियो। धिपधिपे अचानक उत्तेजित भए, च्याप्प माइक पक्रे, बक्तालाई ठेलेर झन्डै लडाइदिए अनि बोल्न थाले―

गजल हुन् मेरी परान् उनीसँगै मर्छु
गजलका दुश्मनलाई आज सखाप गर्छु

धिपधिपे उत्तेजित भइसकेका थिए। हत्तपत्त आयोजकहरू उठेर उनलाई सम्हाल्न पुगे र भने― हे गजल न्युक्लिअस् तपाईंको पालो आएको छैन। अहिले बसौँ।

ब्लड प्रेसर थिएछ क्यारे, रातोपिरो हुँदै उनी थचक्क बसे। फेरि गजल बाचन सुरु भयो।

कार्यक्रम चल्दै थियो। गजल गायनले वातावरणमा अपूर्व रौनक थियो। यसरी नै यो नाइट विताउनु पर्ने थियो। स्रोतादीर्घा विस्तारै खालि हुँदै थियो। एकपल्ट कोल्टिएर घडी हेरें― बल्ल मिडनाइट बितेको थियो, गर्मी ओर्लेको थियो। तर विजुली मरिसकेकाले केही मइन्टोल बल्दै थिए, केही लाल्टिन, कुनाकुनामा मइनबत्ती र अतिथिको छेउमा एउटा कुप्पी बलिरहेको थियो। हावाले फुकेर कुप्पी र मइनबत्तीहरू निभाउने हो कि― चिन्ता बढिरहेको थियो।

बार बजे कटेपछि कोही पण्डालभित्र उँघ्न थालेका थिए, कतै गुनगुन बार्ता पनि थियो तर स्रोताको सङ्ख्या घटेर पन्ध्रबीसमा झरेको थियो। उता अतिथिहरू नचटपटाई उँघिरहेका थिए। तल भुइँमा कोही पल्टेका, कोही गुँडुल्किएर घुर्दै पनि थिए। स्वयमसेवकले पानी बाँडिरहेका थिए। बेलाबेला सेउला पर्तिर कसैले पिसाव फेर्दैछ कि जस्तो अवाज पनि आउँथ्यो। स्वयमसेवकले मात्र सबै नियन्त्रण गर्न कसरी सक्थे!

ठिक त्यसैबेला बीसतीसजनाको हुल पण्डालभित्र पस्यो। तिनीहरूका आँखा तेजिला थिए, शरीरमा स्फुर्ती थियो। ती मध्ये एकजना कडकिएर बोले― तपाईंहरू मात्रै गजलकार, हाम्ले कार्यक्रममा भाग लिन नपाउने? म गजल चोकको संयोजक, उहाँ गजल गुँडका संस्थापक, उहाँ गजल गोठको निर्माणमा लाग्नु भएको छ। यी बैनी गजल कटेजकी सम्पादिका। हामी स्थानीय शक्ति, हामी नर्फोकका मुटु। हामी गजलका युवा छापामार। भोली आन्दोलन गर्न हामी चाहिने, आज अतिथिमा हाम्रो नाम नआउने? यहाँ म कोही दलित देख्तिन्, समावेशी देख्तिन, महिला र जनजातिको प्रतिनिधित्व समानुपातिक देख्तिन। जनताको आवाज उठेन भन्दैमा यो मनपरी चल्छ?

वातावरण भयावह भयो। तिनीहरूले आफ्ना ढाडमा छोटा खाले लठ्ठि लुकाएका छन् कि जस्तो पनि लाग्यो। तिनीहरूमध्ये कतिको मुडकी उज्याइ र दारा किटाइ देख्ता आज यो अतिथि मञ्चमै एकदुईजनाको प्राण खुस्काउने हुन् कि जस्तो लाग्यो। मानिस डराए, स्तव्ध भए। कुनै अप्रिय घटना पो लेखिएको छ कि।

हाम्रो ईशारा बुझेर उद्घोषकले थपे― अतिथि महोदय, हामीले आसन ग्रहणको कार्यक्रम जारी रहने छ भनेका थियौँ। रातको दोस्रो प्रहरमा अन्य अतिथिको आसन ग्रहणको घोषणा गर्न चाहन्छु। शिरुबारी गजलघरका प्रतिनिधिज्यू, खोलाबगर गजल गृहकी संस्थापिका, मुटुमा झीर आँखामा नीर संयुक्त गजलसङ्ग्रहका रचयिता द्वय, साइबर गजल सेक्सनका संयोजक, अन्तर्राष्ट्रिय गजल एसोसिएसनका आयोजक  नाम भन्दै गए, अतिथिहरू माथि खाटमा चढ्दै गए, एकपछि अर्को, मध्यरातपछि, कोही निधाएका ठाउँमा, कोही झकाएका ठाउँमा, कोचिएर, चेपिएर, धारे परेर खाँदिएको खाँदियै। तल दर्शक दीर्घामा ठाउँ रिक्त थियो पन्ध्रबीसजना मात्र बाँकी थिए तर अतिथि दीर्घामा कसाकस, सास फेर्न मुस्किल पर्न थालेको थियो।

सबै खाँदिएर माथि चढिसकेपछि अव कार्यक्रम अघि वढाउने घोषणा मात्रै के भएको थियो, हामी बसेको खाट चटट…..गर्‍यो। ए ए ए! डोरी चुँडियो कि कसो भन्ने सोच आउन नपाइकन चड्याप्प गर्‍यो, झवाट् गर्‍यो, खित्रिक्क, डयाम्म भ्वाक्क गर्‍यो। ऐया, मरें आर्तनाद सुन्निन थाल्यो।

रङ्गमञ्चको भार क्षमता कमजोर भएर, अतिथिले थिचेर काठ चुँडिए, भाँचिए, बाँसले छोडे, खाटले छोडयो।

केकति चोटपटकमा परे, कसरी यो विघ्न आइलाग्यो सोच्न सकिएन। सेउला र फूलसँगै म पण्डाल वाहिर लडेको थिएँ। राम्ररी होसमा आउँदा पण्डाल खाली थियो। स्वयंसेवकहरू स्टे्रचर लिएर उभिएका थिए। यसबेला उज्यालो हुने बेलाको चिसो हावा आउन थालेको थियो।

यसरी वित्यो गजलको राजधानीमा एकरात। शनिवारको दिन आज नर्फोक सुनसान थियो।

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.