अनूदित निबन्ध : क्रान्ति–बेलाको साहित्य

~लु सुन~Lu Xun

मेरो आजको विषय “क्रान्ति–बेलाको साहित्य” हो। यस महाविद्यालयले मलाई बोल्न भनी धेरैपल्ट निम्त्याएको थियो र मैले भने पन्छाउँदै गरेको थिएँ, मलाई के लाग्छ भने तपाईहरूले म एउटा लेखक भएको र मैले केही कथाहरू लेखेको नाताले साहित्य विषयमा केही कुरा सुन्न गर्नुभएको होला साँच्ची भनूँ भने म लेखक होइन, मसँग त्यस्तो कुनै विशेष ज्ञान पनि छैन। मैले गहिरिएर अध्ययन गरेको पैल्हो विषय खानीको विषय हो र सम्भवतः साहित्यको विषयमा भन्दा कोइला–खानीको सम्बन्धमा म राम्ररी बोल्न सक्छु हुँला। वास्तवमा साहित्यप्रतिको मेरो रूचिले मलाई खुव पढ्न लगाउँथ्यो तर मेरो अध्ययनबाट तपाईहरूलाई फाइा हुने कुनै कुरो मैले सिकेको छैन। बितेका केही वर्षहरूमा पेकिङमा मैले भोगेर आर्जन गरेको अनुभवले म हुर्केको पुराना साहित्यिक सिद्धान्तहरूमाथिको मेरो विश्वासलाई हल्लाउन थालेको छ। यो चाहिं विद्यार्थीहरूलाई गोली ठोकी मार्दा र कडा खोजी नीति गरिंदा भएथ्यो र त्यसबेला मलाई के लाग्यो भने सबभन्दा निर्धा र बेकम्मा मानिसहरू मात्र साहित्य विषयमा कुरा गरिरहन्छन्। बलिया मानिसहरू कुरा गरिरहँदैनन्, तिनीहरूले त मार्छन्। थिचोमिछोमा पर्नेहरू आफू मारिनाका लागि केही भन्छन् र लेख्छन्, अथवा, उम्किन पाउने भाग्य भएको भए उनीहरूले गर्न सक्ने सबै कुरो चिच्याउनु, उजुर गर्नु वा विरोध गर्नु मात्र हो, उता बलियाहरू भने थिच्दै नराम्ररी व्यवहार गर्दै र मार्दै हिंड्छन् र उनीहरू त्यसको प्रतिरोध गर्न शक्तिहीन हुन्छन्। अनि यस्तो स्थितिमा जनतालाई साहित्यको के प्रयोजन रहन्छ र?

पशु जगतमा पनि ठीक यस्तै हुन्छ। बाजले भंगेरालाई समात्दा बाजचाहिं चुप रहन्छ र कराउने चाहिं भंगेरा नै हुन्छ। बिरालोले मुसा समात्दा पनि बिरालोचाहिं चुप रहन्छ र कराउनेचाहिं मूसा नै हुन्छ। कराउन मात्र सक्ने चाहिं चुप लाग्नेले खाएपछि सकिन्छ। एक जना भाग्यमानी लेखकले आफू नमरेसम्म नाउँ कमाउने वा केही वर्षसम्म कीर्ति फैलाउने खालका कुराहरू लेख्नसक्छ–कुनै शहीदको सम्झनामा मनाइने काजक्रियापछि मानिसहरू शहीदलाई बिर्सेर शहीदको मृत्युमा लेखिएका दुई पंक्तिको कविताबारे छलफल चलाउने जस्तै यसो गर्नु ज्यादै निर्भिक काम हो।

जे भए पनि क्रान्तिको केन्द्रथलोमा रहेका लेखकहरू साहित्यले क्रान्तिमा ठूलो भूमिका खेल्छ भनी दाबी गर्न खोज्छन् भन्ने मलाई लाग्छ। दृष्टान्तका लागि क्रान्तिलाई उत्साहित गर्न, गतिशील बनाउन र पूरा गरि छाड्न साहित्यलाई प्रचारको रूपमा प्रयोग गर्न सकिन्छ। तर मेरो विचारमा त्यस्ता लेखहरूमा शक्ति हुँदैन, किनभने एक दुई राम्रा साहित्यिक कृतिहरू विशेष निर्देशानुसार लेखिएका छन्, तर ती पाठकको हृदयबाट कुनै सम्भावित प्रभाव विना नै बिलाउँछन्। कुनै निर्धारित विषयमा लेख्नु पाठकको हृदयलाइ छुन नसक्ने बेकम्मा साहित्य “पाकु” निबन्ध लेख्नुसरह नै हो।

क्रान्तिको निम्ति हामीहरूलाई क्रान्तिकारीहरू चाहिएको छ तर क्रान्तिकारी साहित्य पर्खिन सक्छ किनभने क्रान्तिकारीहरूले लेख्न शुरू गरेपछि मात्र साँच्चैको क्रान्तिकारी साहित्य शुरू हुन्छ। यसकारण, मलाई के लाग्छ भने साहित्यमाथि क्रान्तिको ठूलो भूमिका रहन्छ। क्रान्तिको बेलाको साहित्य अरू बेलाभन्दा बेग्लै हुन्छ किनभने क्रान्तिको बेला साहित्य पनि फेरिन्छ। तर साहित्यलाई सानासाना क्रान्तिहरूले हैन, ठूलठूला क्रान्तिले मात्र फेर्न सक्छ किनभने सानासाना क्रान्तिहरूलाई क्रान्ति भनेर गिन्ती गर्न नै मिल्दैन।
यहाँ हरेक व्यक्ति “क्रान्ति” शब्दसित परिचित छ तर चियाङसु अथवा चेच्याङमा यस शब्दको प्रयोग गर्नु भयो भने तपाईले त्यहाँकाजनतालाई तर्साउनुभएको हुनेछ र त्यसले तपाईको आफ्नै सुरक्षा पनि खतरामा पार्नेछ। वास्तवमा क्रान्ति कुनै अनौठो कुरो होइन र हाम्रा सबै सामाजिक सुधारहरू यसैका फल हुन्। अनवरत क्रान्तिहरूकै कारणले मानव जातिले प्रगति गर्न सकेको, प्रोटोजाबाट मान्छेमा फेरिन सकेको, असभ्यता (जंगली) स्थितिबाट सभ्यतातर्फ लाग्न सकेको हो। जीवशास्त्रीविद्हरू भन्छन्–“मानिसहरू बाँदाहरूभन्दा त्यति बेग्लै छैनन्। बाँदरहरू र मानिसहरू दाजुभाईहरू हुन्।” अनि उता बाँदरहरू बाँदरहरूकै स्थितिमा रहिरहँदा यता मान्छेहरू भने कसरी मान्छे हुन सकेका नि? किनभने बाँदरहरू आफ्ना बानीबेहोर फेर्न चाहँदैनन्– तिनीहरू चार खुट्टाले नै टेकेर हिंड्न चाहन्छन्। एकपल्ट केही बाँदरहरू दुई खुट्टाले टेकेर हिंड्न खोजे तर अरू बाँदरहरूले भने–“हाम्रा बाजेबराजु उहिलेदेखि चारै खुट्टाले टेकेर मात्र हिंडे, त्यसैले तैंले उभिन हुन्न !” त्यसपछि तिनीहरूले उसलाई टोकेर मारे। तिनीहरू रूढीवादी भएर उभिन मात्र होइन कुरा गर्न पनि चाहेनन्। मान्छेहरू भने बेग्लै भए। उनीहरू उभिए, कुराकानी गरे र यसरी उनीहरूले अरूहरूलाई उछिने। तर विकासको प्रक्रिया अझ चल्दैछ। यसकारण क्रान्ति कुनै अनौठो कुरो होइन, र मरणासन्न स्थितिमा रहेका सबै जातिहरूले समेत सानै भए पनि प्रत्येक दिन क्रान्ति गर्न खोजिरहेछन्।

ठूलठूला क्रान्तिहरूको साहित्यमा के प्रभाव पर्छ त? हामी यसलाई विभिन्न तीन अवधिमा बाँड्न सक्छौंः–

१) ठूलो क्रान्ति हुनुभन्दा अघि प्रायः सबै साहित्यले सामाजिक अवस्थाहरूप्रति दुःख र घृणाका शब्दमा असन्तुष्टि र पीडा व्यक्त गर्छन्। संसारमा यस किसिमका थुप्रै कृतिहरू छन्। तर दुःख र घृणाका यस्ता लेखहरूको क्रान्तिमाथि कुनै प्रभाव पार्दैन किनभने खाली उजुरचाहिं शक्तिहीन हुन्छन्। तपाईलाई थिचोमिचो गर्नेले तपाईका उजुरहरूको कुनै पर्वाह राख्दैन। मूसोले च्वीं च्वी कराएर राम्रो साहित्य प्रकाशमा ल्याउन सक्ला रे तर विरालोले भने त्यसप्रति कुनै सम्मान नराखिकन निलिहाल्नेछ। त्यसकारण खाली उजुरको साहित्य भएको राष्ट्र गए गुज्रेको हुन्छ किनभने त्यत्तिकैमा त्यो सिद्धिन्छ। अदालतमा मुद्दा चलिरहेको बेलामा जसरी पराजित पक्षले आफ्नो पीरमर्काको बयान वितरण गर्दा उसको विपक्षीले मुद्दा अब लम्बिन सक्दैन र चाँडै छिनिनेछ भन्ने बुझ्छ त्यसरी नै उजुरको साहित्यले थिचोमिचो गर्नेलाई एक किसिमको सुरक्षित स्थितिको आभास दिन्छ। केही राष्ट्रहरूले यसो गर्नु निरर्थक छ भन्ने बुझेपछि उजुर गर्न छाड्छन् र झन् झन् ओल्हँदै मौन राष्ट्रहरूमा फेरिन्छन्। मिश्र, अरब फारस र भारतको कुनै आवाज नसुनिएको कारण यही नै हो। तर विद्रोह गर्न आँट गर्ने राष्ट्रहरू उजुर गर्नु निरर्थक छ भन्ने बुझेपछि भित्री शक्तिसहित तथ्य कुरातिर लाग्छन् र उनीहरूको रूवाई रीसपूर्ण गर्जनमा फेरिन्छ। यस्तो साहित्य देखा पर्दा, यसले क्रान्तिको विगुल फुक्छ र जनता रीसले चुर भएको हुँदा क्रान्तिको ज्वाला दन्किनुभन्दा अघि लेखिएका रचनाहरूले अक्सर गरी जनताको आगो प्रतिरोध गर्ने र बदला लिने संकल्प व्यक्त गर्छन्। यस्तो खाले साहित्यले अक्टुबर क्रान्तिको विगुल फुक्यो। तर अपवादहरू पनि नभएका होइनन्, जस्तै पोल्यान्डको कुरा लिनुस्, त्यहाँ बदला लिन खोज्ने रोषपूर्ण साहित्य भएको थियो तापनि त्यो मुलुक यूरोपमा भएको पहिलो महायुद्ध (विश्वयुद्ध)प्रति आफ्नो पुनर्प्राप्तिका लाग अनुग्रहित हुनुपर्‍यो।

(२) क्रान्ति भइरहँदा साहित्य लोप हुन्छ र त्यहाँ एक किसिमको सुनसान हुन्छ किनभने सबै मानिसहरू क्रान्तिको भेलसित बग्दै, चिच्याउन छाडी काममा लागेका हुन्छन् र उनीहरू क्रान्तिकारी कार्यमा कतिविध्न व्यस्त हुन्छन् भने त्यसबेला साहित्य विषयमा बात मार्ने फुर्सत नै हुँदैन। फेरि त्यसबेला गरि व्याँइको अवधि हुने भएको हुँदा जुन बेला मानिसहरूलाई खाना जोर्नसम्म पनि मुश्किल पर्छ, उनीहरूको साहित्यबारे कुराकानी गर्ने मानसिक स्थिति नै हुँदैन। क्रान्तिको ठूला भेलले विचलित भएका रूढीवादीहरू पनि उनीहरूको आफ्नो साहित्य” पढ्न रिसाएका हुन्छन् केही मानिसहरू साहित्य दुःख र दरिद्रताको उपज हो भनी भन्छन् तर यो कुरो झुटो हो। गरिब मानिसहरू लेख्दैनन्। पेकिङमा आफूसँग पैसो नभएपछि म पैसा सापट माग्न यताउति चाहार्थे र एक अक्षरसम्म पनि लेख्दिनथे। हामीहरूको तलब हातपरेपछि बल्लम लेख्न बस्थें। काममा लाग्नु परेको बेलामा पनि साहित्य लेखिन्न। भारी बोक्नेले लेख्नुभन्दा पहिले आफ्नो भारी नै बिसाउनुपर्छ। रिक्सावालाले पनि लेख्नुभन्दा पहिले आफ्नो रिक्सा थन्क्याउनु पर्छ। महान् क्रान्तिका अवधिहरू निक्कै व्यस्त र कठिन समयहरू हुन्, एकदल अर्को दलसित संघर्ष गरिरहेको बेलामा गर्नुपर्ने पैल्हो कुरो तत्कालिन सामाजिक व्यवस्थालाई फेर्नु हो। कसैको पनि लेख्ने समय र झुकाव हुँदैन। त्यसकारण क्रान्तिको बेला साहित्यजगत् अस्थायी मौनतामा विलिन भइरहन बाध्य हुन्छ।

(३) क्रान्तिले विजय पाएपछि, सामाजिक तनाउ अलि कम हुन्छ र मानिसहरूको स्थितिमा केही हेरफेर भउको हून्छ अनि फेरि साहित्य लेखिन्छ। यस अवधिमा दुई किसिमका साहित्य देखा पर्छन्। एक थरीले क्रान्तिको तारिफ गरेर यसको गुणगान गर्छ किनभने प्रगतिशील लेखकहरू समाजमा देखा परेका परिवर्तनहरू र नयाँ निर्माणबाट प्रभावित भएका हुन्छन्। पुराना संस्थाहरूको पतनमा खुशी भएर उनीहरू नयाँ निर्माणको प्रशंसा गर्दछन्। क्रान्तिपछि देखा पर्ने दोस्रो खालको साहित्य–शोक गीत–पुरानो कुरोको क्षयप्रतिको रूवाई हो। कोही कोही यसलाई “प्रतिक्रान्तिकारी साहित्य” भनी भन्छन् तर म भने यसलाई त्यति गहिरिएर विचार गर्नुपर्छ भन्ने ठान्दिन। तिनीहरूका वरिपरिको वातावरण विस्तारै फेरिंदै जाँदा र तिनले तिनीहरूको जीवनपद्धतिमै असर पारेपछि तिनीहरूको दिमाग पूराना विचारहरूले भरिएको हुँदा तिनीहरू विगतका आफ्ना सुखपूर्ण दिनहरू सम्झन्छन् र पुरानै समाजको पछि लाग्छन्। यसरी पुराना कुराहरू सम्भि्करहने भएकाले तिनीहरू अत्यन्त पुराना, सडेगलेका विचारहरू व्यक्त गरिहिंड्छन् र यस्ता साहित्य सिर्जन्छन्। यस काँटका सबै साहित्य रोदन हुन् जसले लेखकको व्याकूलता मात्र व्यक्त गर्छ। नयाँ निर्माणको चहकिला सफलताहरू र पूराना व्यष्वस्थाहरूको पतनले तिनीहरूलाई शोकगीतहरू गाउन लाउँछन्। यसरी विगतको कामना गरिरहनु र शोकगीतहरू गाइरहनुको अर्थ क्रान्तिभएको छ भन्ने हो। क्रान्ति नभइदिएको भए पुराना शक्तिहरू सत्तामै रहिरहनेछन् र शोक गीतहरूको उच्चारण नै हुने थिएन।

आज चीनमा यी दुईमध्ये कुनै पनि साहित्य छैन नविगतका लागिको शोक गीत न त नयाँको निम्ति गुणगान, किनभने क्रान्ति अझै पूरा भइसकेको छैन।यो त अझै संक्रमणको क्रान्तिकारीहरूका लागि व्यस्त रहनुपर्ने अवधि हो। अझै यहाँ पुरानो साहित्यको थुप्रो छ र प्रत्येक कुरो पुरानै शैलीमा रहेको छ।यो भएको चाहिं क्रान्तिले समाजका रूढीवादीहरूर्ला कति पनि असर नगरेर धेरै थोरै हेरफेर मात्र ल्याएको छ भन्ने मलाई लाग्छ र त्यसो भएर नै पुरानो विचार समूह जस्तातस्तै रहिरहन सक्यो। क्वाङचौ(शहर)का पत्रपत्रिकाहरूको लेखनी झन्डै सबैजसो पुरानै छन् भन्ने तथ्यले के कुरा प्रमाणित गर्दछ भने क्रान्तिले यहाँको समाजलाई पनि छोएको छैन, त्यसो हुँदा यहाँ नयाँहरूको निम्ति विजयगीत छैन र पुरानाहरूको निम्ति शोकगीतहरू पनि छैनन् र क्वाङतुङ(प्रान्त) दशवर्ष अघि जस्तो थियो उस्तै रहेको छ। त्यति मात्र कहाँ हो र यहाँ त उजुर र विरोध कुनै पनि छैन। हामीहरू मजदुर संगठनले सरकारी अनुमति लिएर जुलुसमा भाग लिइरहेको देख्छौं यसरी उनीहरूले थिचोमिचोको विरूद्ध क्रान्ति गरिरहेका छैनन्। यो त सरकारी आदेशबाट भएको क्रान्ति पो भयो। चीन नफेरिएकोले हामीहरूको यहाँ विगतका सम्झनामा लेखिएका रोदनपूर्ण गीतहरू र नयाँ अघि लम्काइएका गीतहरू दुईटै छैनन्। सोभियत रूसमा भने उनीहरूको दुवै खाले गीतहरू छन्। देशबाहिर भागी हिंडेका पुराना लेखकहरू मुख्यतः बितिसकेकाहरूको निम्ति शोक गीतहरू लेख्छन् र अर्कोतिर उनीहरूको नयाँ साहित्य अघि लम्कन पाइला चाल्दैछ। अहिले नै महान् कृतिहरू देखा नपरिसकेका भए पनि नयाँ लेखनीहरू मनग्गे भइसकेका छन् र उनीहरू रिस पोख्ने अवधिलाई नाघेर विजयका गीतहरू घन्काउने अवमिा पुगिसकेका छन्। क्रान्ति पूरा भएपछि लगत्तै निर्माणको गुणगान शुरू हुन्छ तर अहिले नै पछि के हुने होला भन्ने कुरा त भनिहाल्न सक्दैनौं। मलाई लाग्छ, क्रान्तिद्वारा विश्व नै जनताको हुने हुनाले जनसाहित्य नै हुन्छ होला।

वास्तवमा, चीनमा हाम्रो जनसाहित्य छैन, न संसारको कुनै ठाउँमै छ। झन्डै सबैजसो साहित्य, गीतहरू र कविताहरू पेटभरी खाएर कवजमा लेटर पढ्ने उपल्लो वर्गका निम्ति छन्। एक जन प्रतिभाशाली विद्वान्ले घर छाड्छ, राम्री तरूणीसित भेट्छ र दुवै प्रेममा फस्छन्, त्यसपछि एक जना मूर्ख मान्छेले तिनीहरूलाई बाधा पुर्‍याउँछ, तिनीहरू विभिन्न दुःखहरू झेल्छन् तर अन्तमा सब कुरो राम्ररी टुगिन्छ। यस्ता कुराहरू पढ्नु ज्यादै मज्जालाग्दो हुन्छ। अथवा यस्ता किताबहरूमा सुखी उच्च वर्गका मानिसहरू वा हाँसोउठ्दो तल्लो वर्गका मानिसहरूका विषयमा लेखिएका हुन्छन्। केही वर्षअघि नयाँ युवक (पत्रिका)ले निक्कै जाडो ठाउँमा राखिएका कैदीहरूका केही कथाहरू प्रकाशित गरेथे र प्राध्यापकहरूले तिनर्ला मन पराएनन्। उनीहरू यस्ता तल्लो खालका पात्रहरूलाई रूचाउँदैनन्। रिक्सावाला केटाहरूका विषयमा लेखिएको नाटक पनि निम्न तहकै नाटक हो। उनीहरूको ओपेराहरू (नाटकहरू) मा तपाईले खाली प्रतिभाशाली विद्वान् र राम्री तरूनीजस्ता पात्रहरू मात्र भेट्टाउन सक्नुहुन्छ। प्रतिभाशाली विद्वा अदालती जाँचमा पास हुन्छ र सुन्दरी सुखी हुन्छन्, यसलाई पढने प्राध्यापकहरू पनि सुखी हुन्छन् र तल्ला वर्गका मानिसहरू पनि उनीहरू सँगसँगै सुखी हुनुपर्छ भन्ने मलाई लाग्छ।

अचेल केही लेखकहरू ज्यामीहरू र किसानहरूजस्ता सर्वसाधारण मानिसहरूलाई आफ्ना उपन्यासहरू र कविताहरूमा सामग्रीका रूपमा जुटाउने गर्छन् र यसलाई उनीहरू जनसाहित्य भन्ने गर्छन्, तर साँच्ची भन्ने हो भने त्यो जनसाहित्य भने होइन, किनभने जनताले आफ्नो मुख अझसम्म खोलेका नै छैनन्। यी कृतिहरूले त जनताका मुखमा शब्दहरू थुपारेर दर्शकहरूको भावनालाई मात्र अघि सारेका छन्। हालका हाम्रा केही लेखकहरू गरिब नै भए तापनि उनीहरू किसानहरू र ज्यामीहरूभन्दा राम्रै छन् नत्र अध्ययन गर्न उनीहरूको पैसा कहाँबाट आउँथ्यो र अनि लेख्न पनि समर्थ हुँदैनथे। उनीहरूका रचनाहरू जनताका ओठबाट चुहिएकाजस्ता देखिन्छन् तर वास्तवमा त्यसो होइन ती जनताका वास्तविक कथाहरू होइनन्। अहिले केही लेखकहरू लोक गीतहरू सर्वसाधारण जनताले गाउने हुनाले त्यसमा जनताको अधिकारिक आवाज हुन्छ भन्ने विश्वास लिएर लोक गीतहरू संकलन गर्नतिर लागेका छन्। तर पुराना किताबहरूले हाम्रा सर्वसाधारण जनतामाथि ज्यादै ठूलो परोक्ष प्रभाव पारेका हुन्छन् किनभने उनीहरू ३००० गु जमिन भएका गाउँका भलाद्मीहरूलाई असंख्य मान राख्छन् र ती नै भलाद्मीहरूका विचारहरूर्ला आफ्नै जस्तो ठानी अपनाउँछन् र ती भलाद्मीहरू विशेषगरी ५ वा ७ अक्षरे पंक्तिका कविताहरू पाठ गर्छन् र लोकगीतमा पनि उही छन्द चल्यो।यो त शैलीसम्बन्धी कुरा मात्र हो र उनीहरूको विषयवस्तु पनि थोत्रो र पतनोन्मुख हुने भएकोले तिनर्ला सच्चा जनसाहित्य भन्न सकिन्न। अचेलका चिनियाँ पद्य र उपन्यासहरू अरू देशहरूकोस्तरमा पुग्न सकेका छैनन्। हामीहरूले तिनलाई साहित्य मात्र भन्नुपर्छ भन्ने मलाई लाग्छ तर हामीलाई क्रान्ति बेलाको साहित्यबारे कुरा गर्न सक्दैनौं र जनसाहित्यको त अझ टाढाको कुरा भयो। आजका हाम्रा सबै लेखकहरू विद्वानहरू हुन् र हाम्रा ज्यामीहरू र किसानहरूले आफू मुक्त नभएसम्म तिनै विद्वानहरूले विचार गर्नेसरी विचार गर्दै जानेछन्। उनीहरूले वास्तविक मुक्तिपाएपछि मात्र वास्तविक जनसाहित्य शुरू हुन्छ। हामीहरूको “उहिलेदेखि नै जनसाहित्य” भन्नु गलत हुन्छ भनेको कारण यही नै हो।

तपाईहरू सच्चा जोधाहाहरू हुनुुहुन्छ, क्रान्तिका लागि समर्पित जोधाहाहरू हुनुहुन्छ र मेरो विचारमा तपाईहरूले अहिले साहित्यको गुणगान नगर्नु नै जाति हुनेछ। साहित्यको अध्ययनले युद्धमा सघाउनेछैन, लडिसक्नुभएपछि आराम लिइरहनुभएको बेला, पढ्दा मज्जा आउने, त्यो पनि राम्ररी लेखिन सके भने मात्र तपाईहरूले समरसम्बन्धी गीतहरू लेख्न सक्नुहुन्छ। अझ कवित्वमय तरिकाबाट भन्ने हो भने यो कुरा बोट लाउनेजस्तै हो–बोट बढेर छायाँ दिन थालेपछि किसानहरू दिउँसो काम गर्दागर्दै सुसाउन यसमुनि आएर बस्न र खाजा खान सक्छन्। चीनको वर्तमान स्थितिमा, खाँचो क्रान्तिकारी युद्धको छ। सुन च्वान फाङलाई कविताले तर्साउन सक्दैन तर गोला वर्षाले भने उसलाई भगाउन सकिन्छ। केही मानिसहरू साहित्यले क्रान्तिमाथि ठूलो प्रभाव पार्छ भनी विचार गर्छन् भन्ने मैले सुनेको छु तर व्यक्तिगत रूपमा म भने यसमा शंका गर्दछु। वास्तवमा साहित्य फुर्सदको उपज हो। हो, यसले राष्ट्रको संस्कृतिलाई प्रतिविम्बित गर्दछ।

मानिसहरू आफ्नो पेशाबाट कहिल्यै सन्तुष्ट हुँदैनन्। मैले केही निबन्धहरू लेख्न छाडी अर्को केही गर्न सकिन र मलाई लेखि हिंड्नु झर्को लागेको छ तर तपाईहरू भने राइफल बोकी हिंडिरहनुभउकाहरू साहित्य विषयमा सुन्न चाहनुहुन्छ। मलाई बन्दुक पड्केको सुन्न इच्छा छ किनभने मलाई त साहित्यभन्दा बन्दुकको आवाज नै बर्ता मिठो जस्तो लाग्छ। मैले भन्ने कुरो यति नै हो। मेरो कुरा सुनिदिनु भउकोमा यहाँहरूलाई धन्यवाद।

(स्रोत : “ह्वामफु जड्डी एकेडेमीमा १९२७ अप्रिल ८ तारिखका दिन लुसुनले दिनुभएको प्रवचन” –लुसुनका निबन्धहरूबाट )

This entry was posted in अनूदित निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *