सडक नाटक : मेरो टोपी

~नारायण योगी~

(मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्)

प्र.व्यक्तिः
१ –टोपी हाम्रो गौरव हो।

२– हाम्रो पहिचान हो।

३– हाम्रो देशको सान हो।

४– टोपीद्वारा मातृभूमिको सन्देश छरिरहेका छौं।

५– सगरमाथा सरी अग्लो टोपीको महिमा अपरम्पार छ।

६– टोपी छ र त हामी छौं।

७ – हो। टोपी छ र हाम्रो देश नेपाल छ।

१ – यो टोपीको रक्षाको लागि ढाल बनेर पहाडले छेक्नुपर्दछ।

२– यो टोपीको पहिचान गुम्न नदिन मधेश, तराईले पर्खाल बनेर उभिनु पर्दछ।

३– यो टोपीको महत्व फैलाउँदै हिमालले खोला, छहरा, पहरा, नदी हुँदै सागरसम्म अविरल बगिरहनुपर्दछ।

(एकछिन सबै टक्क अडिन्छन्)

प्र.क. १ – कसै कसैले यो टोपीको असाध्य इर्ष्या गर्दछन्।

२–भित्रभित्रै डाहले तड्पिई रहन्छन्।

३– टोपीको अस्तित्व समाप्त पार्न नयाँ–नयाँ जाल बुनिरहन्छन्।

४– सकुनीले पाशा चाले झैं नयाँ–नयाँ चाल चलिरहन्छन्।

५– त्यसैले टोपीका पहरेदारहरू अब झनै चनाखो बन्नुपरेको छ।

(गोलाकारमा उभिएर हातमाथि माथि उज्याएर सबैले एक स्वरमा भन्दछन् )

सबै– हो ! हो !! हामी सबैले यो टोपीलाई प्राणभन्दा पनि प्यारो ठान्नु पर्दछ। शीरको सम्मान, हृदयको टुक्रालाई सधैसधै कोखिलामा साँचेर राख्नुपर्दछ। खाँचो परे प्राणको पनि उत्सर्ग गर्नुपर्दछ।

१ – आजैदेखि टोपीको मायालाई प्रगाढा बनाऔं।

२– होइन ! होइन ! –अहिल्यै देखि टोपीको महिमा गाऊ।

(पार्श्वमा गीत बज्दछ ….मेरो टोपी हो ….मेरो टोपी मैलो ….)

(मंचको एउटा कुनाबाट शुत्रधारको प्रवेश )

शुत्रधार–संसारको अग्लो शिखरका वासिन्दाका लागि सबैभन्दा प्यारो छ यो टोपी। जाडोमा जाडो छल्छ यो टोपीले। घाममा घाम छल्छ यो टोपी। पौरखगरेर निस्केको पसिना सोस्छ यो टोपी। यो टोपीको महिमा अपरम्पार छ। यो टोपीमा नालापानीको वीरताको लडाई कुंदिएको छ। यसभित्र, ३ करोड नेपालीको मायाँ साँचिएको छ। नेपाली नेपालीबीचको एकताको बलियो डोरीको एकताको भावना गाँसिएको छ। त्यसैले यो टोपीको महिमालाई कसैले कमजोर बनाउन खोजे हामी सबै जाग्नु पर्दछ।

(मंचको एउटा कुनाबाट १ जना विदेशी पाहुनाको प्रवेश हुन्छ (पाहुनालाई आर.एन.सि.पी.को पात्रले (एन.डि.आई. का पाहुनलाई स्वागतमा शीर निहुर्‍याएर नमस्ते गर्दछ) आर.एन.सि.पी.–

(रेभ्यूलस्नरी. नेकपा) –
नमस्कार, नमस्कार– हम आपका तहेंदिलसे स्वागत करतेहैँ आपका स्वागत कारनेकाजो सौभाग्य हमे मीला है। हम बहुत प्रशन्न है।

एन.डि.आई.– धन्यवाद ! धन्यवाद !! तथास्तुः आपकी मनोकांक्षा पूर्ण हो। अच्छा भाईसाब ये कुछ लोग, टोपी, टोपी क्या बोल रहे है? मै कुछ समझा नहीं।

आर.एन.सि.पी.– यो लोग नेपाली टोपीका बात कररहेहैं।

एन.डि.आई.– (मन्टो हल्लाउँदै) अच्छा, अच्छा, वो जो राजा लोग पहने रहते थे वही ना?

आर.एन.सि.पी.– हाँ.. हाँ …..। वही टोपी जैसा।

एन.डि.आई.– यी सवकी क्या जरूरत है। जब राजशाही खतम टोपीका महब्रमी खत्म। अब दे टोपी तो जनताका बहुत बडा दुश्मन है। राजशाही ने टोपीका कवाज बनाकर जनताका अधिकार छिनकर जनताको दास बनाया और, बढी टोपीसे ये लोगको इतना प्यार क्यों है? ये सबको जरा नेपालीमे सम्झाओ।

आर.एन.सि.पी.– अच्छाजी आपको जो आज्ञा। (टोपीको गीतमा नाँच्ने गाउनेहरूतिर फर्किएर, उनीहरूलाई सम्झाउँदै)

आर.एन.सि.पी.–हेर्नुहोस् ! साथीहरू, म एउटा क्रान्तिकारी, क्रान्ति मेरो उद्देश्य ! क्रान्तिको नशा मेरो शिराशिरामा बगिरहन्छ। त्यसैले अब हामीले फेरि अर्को नयाँ क्रान्ति गर्नुछ। वहाँलाई तपाईले चिन्नुभो। …?

(सबै नकारात्मक जवाफमा मन्टो हल्लाउँछन् ) त्यसो भए मैले चिनाउँछु–वहाँ हाम्रो असल छिमेकी… सदैव हाम्रो भलो चाहने !… वहाँको सहयोग बिना हामी एकदल पनि जिवित रहन सक्दैनौं। त्यो नेता देखि जनतासम्म बरावर। वहाँहरूको सहयोग बिना हामी साँझबिहान छाक पनि टार्न सक्दैनौं।

आर.एन.सि.पी.– नुन पनि उतैबाट,…

सबैले–एकैस्वरमा – उतै …बाट….

आर.एन.सि.पी.–चिनी पनि उतैबाट…

सबैले– एकैस्वरमा … उतैबाट…

आर.एन.सि.पी.–बाल्ने तेल, खाने तेल, घस्ने तेल, वास्ना आउने अत्तर, स्याम्पु, लुगाफाटो उतैबाट !

सबैले– … हो उतै बाट…

आर.एन.सि.पी.– जनतालाई ठीक पार्न, आफ्नो दुनो सोझो पार्न गोलाबारूद पनि उतैबाट…। वहाँहरूसँगको हाम्रो सम्बन्ध रोटी–बेटीको जस्तै छ।

सबैले –साँच्चिकै त हो क्यारे !…हामीले त भुसुक्कै बिर्सेका (सबै मुखामुख गरेर संवाद गर्दछन)

आर.एन.सि.पी.– वहाँले हामीलाई सदैव उत्तम सुझाव दिने गर्नु हुन्छ। त्यसलाई अन्यथा नलिऔं। हो कहिले काहीं सीमामा खचपच हुन्छ, २–४ हेक्टर जमिन यताउता हुन्छ ! यस्तो कहाँ हुन्न र? वहाँहरूको दिल ठूलो भएर नत्र हामी त उहिल्यै…।

सबैले– अँ हो त क्यारे !…

प्र.व्यक्ति १– यो टोपीले हामीलाई वर्षौंसम्म शोषणमा पार्‍यो।

२– यो टोपी पहिरिएर हामीले के पायौं?

३– भोक, रोग, शोक, अनि गरिबी।

४– यो टोपीले हामीलाई सदैव दास बनाएर राख्यो।

५– अब कतिसम्म हामीले यो टोपीको माया गर्ने?

६– अब हामीले केही न केही सोच्नै पर्दछ।

सबैले– (एक स्वरमा)– हो ! हो !! हामीले केही सोच्नैपर्दछ।

(मंचमा एकजना विदेशी लाग्ने, व्यक्तिको प्रवेश) उनलाई आर.एन.सि.पी. पात्रलेे स्वागत गर्दछ।)

आरएनसिपी.–वेलकम, वेलकम, नमस्ते, नमस्ते…

विदेशी (क्यू.एनएन)– थ्यांक्यू, थ्यांक्यु नमस्ते ! नमस्ते ! (उनको छातीमा ठूलो साइनबोर्ड आकारको प्लेकार्ड टाँसिएको छ। जसमा आईएलओ–१६९ का केही धाराहरू लेखिएको छ )

क्यूएनएन– तपाईहरूलाई कस्तो छ?

आर.एन.सि.पी.– राम्रो छ, राम्रो छ। बहुत अच्छा, बहुत अच्छा ….।

क्यूएनएन – गुड, गुड– भेरी गुड ! ह्वाट ह्यापन। टोपिज, टोपीज

आर.एन.सि.पी.– नेपाली टोपीको कुरा भैरहेको छ।

क्यूएनन– टोपी (आफ्नो टोपी छाम्दै) ओ ! आई डोन्ट लाइक टोपी, ओ ! नो ! आई एम फाइन, आई लाइक आईएलओ–१६९– दिश इज आवर एन्ड योर गाइज लिंक ओके, ओके, थ्यांक्यू दिस इज अ टोपी मोनार्सी टोपी (सबैले पालेपालो आइएलओ –१६९ का धाराहरू पढ्छन् र रमाउँदै, खुशी हुँदै उफ्रन्छन्।

आर.एन.सि.पी.– हेर्नुस् साथीहरू हो हामीले २००७ सालदेखि अहिलेसम्म निकै ठूला–ठूला लडाईहरू लड्यौं। अहिले गणतन्त्र स्थापना गरेर नयाँ नेपाल बनाउनु छ। तर त्यो गर्न नयाँ सोचका साथ नयाँ विचारका साथ अगाडि बढ्नुछ। अब आफ्नो लागि केही गर्नुछ। अर्थात् वर्षौंबाट दविएका, पछाडि पारिएका जातजातिाहरूलेा आफ्नो हक लिएर छाड्नुछ। जातीय राज्य बनाउनुछ। राष्ट्रिय एकता कायम गर्नुपर्दछ।

सबैलेः हो हो हामी सबैले आ– आफ्नो अधिकार लिनै पर्दछ। संघीय राज्य जिन्दबाद !

क्यूएनएन– हो ठीक कुरा पहिले तपाई लिम्बु त्यसपछि नेपाली, पहिले तपाई थारू, त्यसपछि नेपाली, पहिले तपाई मगर, त्यसपछि नेपाली (एवं रितले सबैलाई आ–आफ्नो जातीय राज्य निर्माणको लागि उत्साहित गर्दछन्।)

(सबै पात्रहरूले आ–आफ्नो टोपी पालैपालो आगोमा पोल्दछन्। आगो झन्पछि झन् दन्किरहन्छ। उनीहरू केहीबेर आगोको वरिपरी घुम्छन्।)

शुत्रधारको प्रवेश– (बलिरहेको आगोको छेउबाट टोपीको एउटा टुक्रा थुतेर बलिरहेको टोपी सबैलाई देखाउँदै) – हेर्नुस् साथीहरू, हाम्रो राष्ट्रिय स्वाभीमान कसरी जलिरहेको छ ! हेर्नुस ! हेनुस !! (दुःखीत मुद्रामा) वर्षौंबाट नेपालीबीच रहेको एकताको डोरीलाई कसरी कमजोर पार्न खोजिएको छ। श्रीपेच र टोपीलाई एउटै ठानिएको छ। इतिहासको कति धेरै मजाक। उफ ! शाहवंशीय राजाहरू नेपाल नआउँदै यहाँका स्थानीयवासीले भादगाउँले टोपी लगाउँथे। त्यसकारण श्रीपेचसँग टोपीको कुनै साइनो छैन।

आज कसैको इशारामा, अधिकारको नाममा जातीय राज्या बनाएर द्वन्द्व बढाउने र आफ्नो दुनो सोझ्याउन केही मान्छेहरू लागिरहेछन्। जसको हामी सबैले कडा प्रतिवाद गरौं। नेपाली नेपालीबीचको एकतालाई कायम राखौं। (संघीय राज्यको निर्माण सम्भव, नभएको बारेमा शुत्रधारले थप व्याख्या गर्दछ।)

(विधवाको परिवारलाई देखेर भाव विह्वल भएर ) दिदी ! दिदी !! यो के भयो के भयो तपाईलाई ! कसले गरायो यो सबा ! भन्नुहोस् दिदी !..

विधवा–(आँशु झार्दै) हामी बसेको ठाउँ त हाम्रो जातिको राज्य परेन रे ! हाम्रो त्यहाँ केही पनि हक नलाग्ने रे ! भनेर लखेट्न थाले। तिम्रो भिनाजुले नमान्दा ठहरै पारे ! (उ झक्कानो छोडेर रूंदै) हुँ… हुँ , तिम्रो राज्य त तिमी जन्मेको जहाँ माइत छ त्यही हो भने। वहाँलाई पनि त्यस्तै गरेर सास्ती दिएरै मारे ! (फेरि रून्छिन्।)

पात्र ३– यो के भयो मामा? माइजु खै !… (सानो बच्चालाई सोध्दै) मम्मी खै बाबु? ! मम्मी खै? किन, किन बोल्दैनौं, तिमी किन बोल्दैनौं। (बाबु छोरा भक्कानो छाडेर रून्छन्)

पात्र ४– तिमीहरू यो राज्यका मानिस होइनौं भनेर हामीलाई रातारात लखेटे त्यही बेला यसको आमा कहाँ हराई थाह छैन। जीउँदै छ कि छैने, थाह छैन। (रूदै) हामी त बर्बाद भयौं भाञ्जा सर्वस्व भयो अब हामी कहाँ जाने, कसरी जीवन धान्ने, के यस्तो रोग लाग्यो, यो देशमा? किन यस्तो हुँदैछ….।

पात्र–३–नरूनुहोस? मामा धैर्य गर्नुहोस् यो सबै संघीयताको विष हो, त्यसैले यस्तो गरायो। सबै ठीक हुन्छ (सबैलाई ढाडस दिन्छ)

(एउटा परिवार झटी झाम्टो बोकेर भाग्दै गरेको अर्कोले लखेट्दै गरेको दृश्य)–सीमा विवादको दृश्य)

(संघीयताका पक्षपातीहरू सबै एक ठाउँ भेला हुन्छन् र वार्तालाप गर्दछन्।)

१– मेरो त भिनाजुलाई ठहरै पारेछन्। ऊ दिदीको यस्तो हालत छ।

२–मेरो माइजु लापत्ता हुनुहुन्छ। मामा बच्चाहरू लिएर आउनुभएको।

३–मेरो दाई भाउजुहरू हराउनु भएको एक साता भयो। केही अत्तोपत्तो छैन।

४– यो सबै संघीयताको दोष हो। (सबैले एक स्वरमा ) हो ! हो ! त्यसैको दोष हो।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १६ – २०६६ फागुन १९ गते बुधबार)

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *