कविता : तिमी त मरिसकेछौ

~हिरामान बल तामाङ~Hiraman Bal

अझै पनि
याद आइरहेको छ
तेमालमा
डम्फूको तालसँगै
डोल्मोसित
नाच्दै रम्दै
गाएको ती दिनहरूको ।।

हो मलाई अझैसम्म
याद छ
आमाले पठाउनु भएको
मकै चपाउँदै
घट्टामा डोल्मोसँग
जिस्केको ।।

ल्होछारमा
डोल्मोको
छेवैमा बसेर
जिस्क्याउँदा
अस्याङले देख्नु भएको
अनि लजाएको
अझै याद छ ।।

अनि
तेमाल जात्रामा
डोल्मोसँगै तामाङ फापर गीत
गाउनु पर्छ भनेर
बसको छतमा चढेको दिन पनि
मलाई
अझै याद छ ।।

जब म
जागिर र पढाईको बहानामा
तेमाल गाउँ छोडेर
काठमाडौं आउने क्रममा थिएँ;
छेवैमा आएर
भारी मन बनाएर
डोल्मोले बोलेकी थिई,
‘च्याङ्बा छिट्टै फर्कि आऊ ल !’
हो, अझै पनि
याद त आइरहेकै छ ।।

अनगिन्ती सपनाहरू बुन्दै
गाडीमा चढेर
शहर आउँदै गर्दा
सपनै–सपनाको संसारभित्र
रुमलिँदै गर्दा
गाडीको स्टाफले,
‘च्याङ्बा दाइ ! लु बसपार्क आइपुग्यो;
ओर्लनु’ भन्दा पो झलाँस्स भएको थिएँ ।

शहरको गल्ली र चोकहरूमा भौतरिँदै
अनगिन्ती दुःखहरू झेल्दै
अगाडि बढी नै रहेँ
तापनि
जति सजिलोसँग सपनाहरू उनेको थिएँ
त्यस्तो सहज भएन
सपनाहरू पूरा गर्न
धेरै गह्रो भयो ।।

यो शहर भनेको त
सोझो मान्छे टिक्ने ठाउँ होइन रहेछ
भावना होइन
यहाँ त पैसा र पावर मात्र चल्दोरहेछ ।।

त्यसैले त
युवाहरू मलेशिया जाँदारहेछन्
ज्यान दाउमा थापेर
पसिना बगाएर पैसा कमाउँदारहेछन्
तर
सरकारकै कु–दृष्टि परेपछि कसको के लाग्नु
र त रिमिट्यान्स् तिरिरहँदारहेछन्
त्यहीँ रेमिट्यान्स तिर्दा–तिर्दै
साहूको ऋण तिर्न नसकेपछि
प्यारो तेमालहरूलाई
सम्झी–सम्झी मर्दारहेछन् ।

सङ्घर्षको नाममा
गाउँ उजाड पार्दासम्म त
बाँचेकालाई विदेश लखेट्दसम्म त
अनि रेमिट्यान्सको नाममा लुट्दासम्म त
सहेवैm थिएँ
फेरि पनि भ्रष्ट र डनका नाइकेहरूले
नेताको खोल ओडेर
अधिकारका निमित्त उठेका जनतालाई
न्यायको सट्टा गोली दिएको देखिरहेको छु
त्यसैले
यत्तिखेर सोधिरहेको छु–
के अधिकार माग्नु भनेको अपराध हो ???

यस्तै बेला
भारतले नाकाबन्दी गर्दा
कुटनीतिक पहल गर्न नसवmेपछि
पेट्रोल दिन नसकेपछि
ट्याक्सीको छतमा चढेर यात्रा गर्नु पर्दा
भन्न मन लागेको छ
सरकार तिमी त मरिसकेछौ !!

डोल्मो, मलाई याद आयो
तिमी र म
तेमाल जात्रा जाने क्रममा
बसभित्र खुट्टा टेक्ने ठाउँ नभएपछि
छतमा चढेर यात्रा गरेको त्यो दिन !

त्यसैले अस्याङको छोरी डोल्मो
अब हामी
आफ्नै गाउँँबाट समाज परिवर्तनको
सम्बाहक बनेर
जङ्गली सिंह बनेर गर्जिँदै
सिंहदरबार भित्रको
लठेप्रो सिंहहरूलाई लखेट्न
जाग्नुपर्छ / उठ्नुपर्छ
त्यसैले म आँदैछु
तिमीलाई लिन
हाम्रै प्यारो तेमालमा
साँचेर/सम्झेर
ती पुराना यादहरू !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.