स्रष्टा परिचय : उकाली ओरालीहरूमा तारादेवी

~टीका भण्डारी~Tika Bhandari

उकाली ओरालीहरूमा भन्ज्याङ् अनि चौतारीहरूमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला गनी पछ्याइरहन्छु

गायिका तारादेवीको सर्वाधिक लोकप्रिय गीत हो, यो । यस्ता सयौं गीत गाएकी छन् तारादेवीले, रेडियो नेपालमा । उनले गाएका बहुचर्चित गीतहरू नारायणगोपालसँग युगल ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, उकाली ओरालीहरूमा, निर्दोष मेरो पछेउरीमा, शुभकामना भरि, आऊ नआऊ तिम्रो खुसी, तिम्रा पाउहरूमा सधैं, आँसु र सुस्केरा, तिमीलाई हाँसेर बिदा मात्र, एक्लो जीवनमा, मनको निश्चलता, यति ठुलो संसारमा, तिमीले दिएका, सोचेजस्तो हुन्न जीवन, फूलको थुंगा, मलाई हाँसीदेऊ नभन, धेरैले लेखे, नौ गेडीको मेरो माला, यो नेपाली शिर उचाली (स्वदेश गान समूह गायन), आमा भएर बोकी हेर सन्तानका पिरहरू आदि गीत तारादेवीले गाएकी छन् जुन गीतहरू तारादेवीको सांगीतिक जीवनका बहुमूल्य गीत नै हुन् र श्रोताका लागि त झन् अमूल्य नै मानिन्छन् । नातिकाजीको संगीतमा सबैभन्दा धेरै गीत गाउने गायिका तारादेवी नै हुन् । उनले ३ सय ६४ भन्दा बढी आधुनिक, १ सयजति भजन, चार दर्जनजति लोकगीत र स्वदेश गान, बालगीत, चलचित्र आदि गरी ८० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड गरेकी छन । यसरी नै दर्जनौं गीतकार– संगीतकारका चर्चित गीत गाइन्, यिनले जीवनमा । उनै गायिकाको जीवनकथा आजको प्रस्तुतिमा–

परिवार

उनको जन्म १५ जनवरी १९४५ मा (विसं १९९८ माघ २ गते) काठमाडौंको इन्द्रचोकमा पिता कृष्णबहादुर र माता राधादेवीको सुपुत्रीका रूपमा जन्म भएको हो । उनले सन् १९६६ मा २१ वर्षको उमेरमा एयर पाइलट शिवबहादुर बस्नेतसँग विवाह गरिन् । उनका दुई सन्तानमध्ये छोरी चारु मात्रै छिन्, अहिले । ताराले सात वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी हुन् । सानैमा शास्त्रीय बोलहरू, अलंकार र थाटहरू गाउन थालिन् । संगीतमै स्नातकसम्मको अध्ययन पूरा गरिन् । संगीतको अध्ययनले उनको गायकी अझ परिष्कृत हुँदै गयो । यसपछि त रेडियो नेपालमै प्रतिष्ठित श्रेणीकी गायिकाको रूपमा रहिन् । रेडियो नेपालमा २०१५ सालमा उनले जागिर पाइन्, खरिदार तहको । त्यसबेला खरिदारको जागिरलाई पनि निकै महŒवपूर्ण नै मानिन्थ्यो । खरदार साहेब भनिन्थ्यो । छोरीले रेडियो नेपालमा खरिदारको जागिर पाएपछि त पिता कृष्णबहादुर र माता राधादेवी निकै खुसी भए । गीत गाएर पनि जागिर पाइन्छ भन्ने उनीहरूले कल्पनासमेत गरेका थिएनन् । त्यसबेला उनी मासिक १ सय रुपैयाँ तलब पाउँथिन् । एउटा गीत गाएको ५ रुपैयाँ पाउँथिन् । उनले जीवनमा पहिलो पटक रेडियो नेपालमा विसं २०१२ सालमा औपचारिक रूपमा गाएको गीत ‘अब हजुर नजानूस लाहुर, नेपालैमा पाइन्छ जागिर’ बोलको थियो । यसबेला उनी १४ वर्षकी मात्र थिइन् ।

बाल्यकाल

गायिका तारादेवी भन्ने गर्थिन्, ‘मलाई नै थाहा छैन, मैले कहिलेदेखि गीत गाएँ तर मलाई राम्रै सम्झना छ, पाँच वर्षको उमेरमा म पहिलो पटक रेडियो नेपाल आएको थिएँ । त्यो उमेरमै उनले रेडियो नेपालमा लाइभ प्रसारणमा गीत गाउने अवसर पाइन् । उनको आवाज सुनेका जोकोही पनि प्रभावित बने । दिल खोलेर उनको प्रशंसा गरे । रेडियो नेपालमा उनलाई अँगालोमा हालेर बोक्नेहरूको एक किसिमले तानातान नै भयो । पाँच वर्षकी बच्चीले गीत गाएको कुराले सबैतिर चर्चा पायो । त्यसबेला रेडियो नेपालका हरेक गतिविधि गोरखापत्रमासमेत प्रकाशन हुने गथ्र्यो । पाँच वर्षीय गायिकाले गीत गाइन् भन्दै उनको बारेमा समाचार छापियो । उनले रेडियो नेपालको बालकार्यक्रममा गीत गाएकी थिइन् । रेडियो नेपालसँगको एक भेटमै छोरीको गायन कलाको चर्चा सुनेपछि उनका मातापिता कृष्ण र राधाले पनि छोरीलाई संगीत नै पढाउने निधो गरे । ताराले पनि भविष्यमा के बन्छौ भनेर सोध्दा गायिका बन्छु, भनिन् । सात वर्षको उमेरदेखि नै उनी संगीत सिक्न थालिन् । उस्ताद भैरवबहादुर थापाले पनि उनलाई संगीत सिकाए । रेडियो नेपालले पनि उनलाई महिनामा एउटा गीत गाएबापत पाँच रुपैयाँ प्रदान गर्न थाल्यो । यो विसं २००७ सालतिरकै कुरा हो, जुन बेला भर्खर मात्रै रेडियो नेपालको स्थापना भएको थियो । उनको मूल कार्य भनेकै रेडियो नेपालमा राम्रा–राम्रा गीत गाउनु, रेकर्ड गर्नु र अरू गायक–गयिकाका गीतसमेत रेकर्ड गराउनु थियो । उनले लगातार ३० वर्ष रेडियो नेपालको सेवा गरिन् । रेडियो नेपालबाट दीर्घ सेवापदकसमेत प्राप्त गरिन् । रेडियो नेपालमा बालगीतदेखि गायन यात्रा सुरु गरेकी तारादेवीले पछि–पछि त आधुनिक गीत, राष्ट्रिय गीत, प्रार्थना गीत, भक्ति संगीत, लोक गीत, चलचित्रको पाश्र्व गीत, नाटक, ब्याले, अपेरालगायत अनेकन संगीत विधाका गीत गाइन् । गायन विधाका अनेकन् उपविधामा उनी निकै नै जमेकी गायिकाको रूपमा परिचय र पहिचान बनाउँदै लगिन् । उनको गायकीमा जुन पावरफुल रेन्ज थियो त्यही अनुपातमा संगीतका विविध उपविधामा गायन क्षमता उत्तिकै र उस्तै रूपमा प्रस्तुत गर्न सक्ने खुबी पनि थियो । उनले गाएका गीत एकपछि अर्को लोकप्रिय बन्दै गए, श्रोतामाझ उनी एक अब्बल गायिका, उदाहरणीय गायिका, कोकिल्कण्ठी गायिका, स्वरसम्राज्ञी, हिमालयकी छोरी, आवाजकी किन्नरी आदि विविध उपनामले यिनी श्रोताको हृदयमा बस्दै गइन् । हरेक नवोदित गयिकाहरूकी त उनी मानक नै बन्दै गइन् । तारादेवीजस्तो गायिका बन्छु भन्ने धेरैलाई लाग्थ्यो र अझै पनि उनको पदचिह्न पछ्याउने महिला गायिका धेरै छन्, नेपाली संगीतमा ।

करिअर

जसले हृदयले गाउँछ, मानिसले पनि हृदयले सुन्छन् भन्ने दर्शन थियो, त्यसबेला संगीतमा । उनी पनि यस्तै हृदयले गाउने गायिकाको रूपमा देखा परिन् । उनी हृदयले गाउँथिन्, खुलेर आवाज निकाल्थिन्, सबैलाई मन्त्रमुग्ध बनाउँथिन् । रेडियो नेपालको बाल कार्यक्रममा नियमित रूपमा भाग लिन थालिन् । उनको सांगीतिक जीवन करिअर पनि यहींबाट सुरु भयो । नियमित रूपमा ताराका आधुनिक गीत रेकर्ड हुन थाले । ‘साँगुरी वारि नि हौ त्यो धारा पानी’ बोलको गीतले सुरुमा चर्चित बनिन् । यस्तै ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा’ अर्को चर्चित गीत बन्यो, चलचित्र मनको बाँधमा ।

‘कालीपारि दाइ कति राम्रो, ढाका टोपी काँधैमा गलबन्दी’ बोलको गीतबाट यिनी श्रोतामाझ गहिरिएर पुगिन् । यिनको आवाजसँग जो कोही परिचित हुन थाले । ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, नारायणगोपालसँग युगल रूपमा गाएको गीतले यिनलाई प्रवासमा समेत चर्चित बनायो । देश–विदेशमा यिनको चौतर्फी चर्चा हुन थाल्यो । निर्दोष मेरो पछेउरीमा बोलको गीतले अर्को छलाङ मारिन् । उनका गीतहरू एकपछि अर्को हिट हुँदै जान थाले । ताराको सांगीतिक उचाइ निरन्तर चुलिँदै गयो । सर्वत्र प्रशंसै प्रशंसा पाइन् । यहाँसम्म कि यस्तो आवाजमा गाउने गायिका विश्वमै नभएकोसमेत भनियो । लता मंगेस्करको भन्दा मिठो आवाज पनि भने कति श्रोताले त । उनको गायकीमा राम्रो रेन्ज थियो, सुर, ताल, लय, मिठासमा परिपक्व थिइन् । पावरफुल सिंगिङ थियो उनको ।

पछिल्लो समयमा भ¥याङ चढ्नसमेत उनलाई गाह्रो पर्न थालिसकेको थियो । जसले उनको गायन करिअरलाई फुलस्टप लगाइदियो । रेडियो नेपालबाट अवकाश प्राप्त भएको दुई वर्षमै ६१ वर्षको उमेरमा उनको काठमाडौंमा निधन भयो ।

तारादेवी आफैंमा एउटा राम्रो संगीतकारसमेत हुन् । उनले दर्जनौं गीतमा संगीत गरेकी छन् । आफ्नो संगीतमा गाउँदा निकै आनन्द आउने बताउँथिन्, उनी । उनले संगीत गरेका केही गीत आफन्तहरूले कुल्चे, ऐनाभरि आँखाभरि, जब–जब निसास, चाहना मेरो, सर्माएर, पिर पर्दा, धेरैजसो, सिन्दूरले, एक्लै आएथें, जलाउने चिन्ता, हाँसेर, मन कोही आदि पनि चर्चित गीत हुन् ।

लाइफ ट्रेजेडी

सन् १९६६ मा एयर पाइलट शिवबहादुर श्रेष्ठसँग विवाह गर्दा उनी २१ वर्षकी थिइन् । शिवबहादुर केही समययतादेखि मात्र पाइलटिङ गर्दै थिए । उनी एक छोरा एक छोरीकी आमा बनिन् । सन्तान त्यसै प्यारो त हुन्छ नै, चारजनाको परिवार सुखद दाम्पत्य जीवनमा रूपान्तरित हुँदै गयो । जीवन खुसी पार्न देश–विदेश घुमे । शिवबहादुरले श्रीमती र छोराछोरीलाई हेलिकोप्टरमा राखेर मेचीदेखि महाकालीसम्मका सबै हिमाल आकाशबाटै देखाए । विवाहपछिको पारिवारिक प्रेम सबैका लागि उदाहरणीय बन्दै गयो । तारादेवीको हवाईजहाजका पाइलट शिवबहादुर श्रेष्ठसँग वैवाहिक जीवन जोडिएपछि उनको सांगीतिक करिअरमा नै सकारात्मक प्रभाव परेको थियो । उनको आवाजबाट मोहित शिवबहादुर ताराजस्ती महान् गायिकाको श्रीमान् हुन पाउँदा संसारकै भाग्यमानी ठान्दथे । ताराको गीत नसुनी निदाउँदैनथे । सम्भव भएसम्म उनलाई रेडियो नेपाल सँगै लिएर जान्थे, लिएर आउँथे । प्रायः सँगसँगै हिड्थे, यी दम्पती । ताराको सफलताको प्रत्येक पलमा उनी समीपमै हुन्थे । यसबाट ताराले ठुलो ऊर्जा प्राप्त गरेकी थिइन् । तर, जीवन सधैं एउटै रफ्तारमा अघि बढ्न सकेन । परिस्थितिले उनलाई जीवनमा कहिलै सपनामा पनि नदेखेको कुरा भोग्न विवश बनायो । दाम्पत्य जीवनको २६ वर्षको उत्तराद्र्धमै जीवनको सहारा बनेका २५ वर्षीय एक मात्र प्राणभन्दा प्यारो छोराको ब्लड क्यान्सरद्वारा निधन भयो । गायिका तारादेवी र पाइलट शिवबहादुरको जीवनमा निकै ठुलो बज्रपात प¥यो । तारा लामो समयसम्म बेहोस भइन् । होसमा आएपछि पनि उनले पहिलेजस्तो खुलेर हाँसेर कुरा गर्ने मुडमा कहिलै रहन सकिनन् । उनको सांगीतिक जीवनमा पनि गीति रचना र भाव हेरेर मात्र गाउन थालिन् । कुनै गीतले उनलाई अत्यन्तै धेरै छुन थाल्यो भने कुनै गीत सुन्ने मन नलाग्ने अवस्था सिर्जना हुन थाल्यो, उनको जीवनमा । दुःख–सुख जीवन चलाउँदै गए, उनीहरू । छोराको निधनपछि पनि जीवनलाई सुखद बनाउन धेरै कोसिस गरे । यही कोसिसबिच उनका पाइलट श्रीमान् शिवबहादुर बस्नेतको विमान दुर्घटनामा अकल्पनीय निधन भयो । परिवारले केही समय कुरा लुकाउन बाध्य भए पनि आमसञ्चारमाध्यमले कुरा लुकाउन सकेनन् । आफ्नै

श्रीमान्को निधन भएको समाचार रेडियोबाट सुन्दा उनी बेहोस भइन् । उनको छेउमा डाक्डरसमेत अदृश्य रूपमा राखेर सबै घटनाक्रम बताइयो । होसमा आउँदै बेहोस हुँदै गइन् । उनी पार्किन्सनको बिरामी पनि थिइन् । ट्रेजेडीमाथि ट्रेजेडी थपिँदै गयो, जीवनमा । धेरैले उनलाई यो दुःखबाट माथि उकास्न कोसिस गरे । पार्किन्सनको डाइग्नोसिसपछि उनले आफूलाई पनि सम्झाउन धेरै कोसिस गरिन् तर सम्झाउन सकिनन् । यता, रेडियो नेपालमा पनि उनको जागिरे जीवनको समयावधि समाप्त भयो ।

कलाकार रिटायर्ड हुँदैनन्, त्यो त प्रशासनिक कर्मचारीका लागि हो भन्ने गर्थिन् र त्यही गह्रौं विश्वास पालेकी थिइन्, उनले । अचानक उनको विश्वास टुट्यो जुनबेला उनले अवकाश पत्र प्राप्त गरिन् । त्यसबेला फेरि उनको जीवनमा अर्को धोका भएको महसुस गरिन् । नातिकाजी अवकाशपछि पनि सलाहकार भएर रेडियो नेपालमा केही वर्ष रहे तर उनी त्यो अवस्थामा पनि रहिनन् । उनी सबैतिरबाट हार खाँदै गइन् । गीत रेकर्ड हुन छाडे, उनका । गीत गाउन पनि मन लाग्न छोड्यो, उनलाई । हस्पिटल धाउँदै जीवन बित्न थाल्यो । अन्त्यमा २३ जनवरी २००६ मा ६१ वर्षको उमेरमा उनी यस संसारबाट सदाका लागि अस्ताइन् ।

तारादेवी रोएको त्यो क्षण

तारादेवीलाई रेडियो नेपालको जागिर अत्यन्तै प्यारो थियो । अचानक उनको हातमा अवकाशको पत्र प¥यो । त्यो उनले सोचेकीसमेत रहिनछिन् । प्रशासनले उनको टेबुलमा अवकाश पत्र लगेर राखिदिनेबित्तिकै यिनी डाको छोडेर रोइन् । ४० वर्ष विशिष्ट योगदान पु¥याएको संस्थाबाट सम्मान त कता हो कता हाजिर गर्ने ठाउँमै ब्लक गरेर प्रशासनले रातो चिह्न लगाएकोमा असन्तुष्टि व्यक्त गरिन् । हुन पनि सदाझैं हाजिरी गर्न जाँदा हाजिरसमेत गर्न पाइनन् । तारा दिदीलाई सहानुभूति दिन उनको मातहतमा रहेका कलाकारहरू उनको कोठामा पुगे । यो पंक्तिकार पनि उनकै मातहतमा संगीत शाखामा कार्यरत थियो । उनी पनि पुगे, त्यहाँ सान्त्वना दिन । अवकाशको अर्थ बुझाउने कोसिस गरियो । तारा दिदी एक घन्टाजति आफ्नो अघिल्तिरको टेबुलमा टाउको सुताएर आँसु खसाल्दै सुतिरहिन्, घुक्क घुक्क गर्दै । स्वाभाविक अवकाशलाई पनि उनले अपमान सम्झिइन्, कुनै सूचना जानकारीबेगर आफूलाई अचानक आवकाश दिएको अनुभूतिमा थिइन्, उनी । हुन पनि ४०औं वर्ष जीवनका स्वर्णिम दिन बिताएको संस्थाबाट उनले स्वाभाविक सम्मानसहितको बिदाइ सम्भवतः अपेक्षा राखेकी थिइन् होला । तारादेवीजत्तिको गौरवशाली व्यक्तित्वलाई एउटा सामान्य कर्मचारीको रूपमा मात्र बुझ्नु सम्भवतः रेडियो नेपालको केही कमजोरी पक्कै नै थियो होला, त्यो बेला । स्रष्टालाई अरू कर्मचारीलाई जस्तो अवकाश गरिनुहुन्न भन्ने सोचाइ थियो, उनको ।

नेपाली चलचित्रमा तारादेवी

नेपाली चलचित्रको पाश्र्व गायन यात्रामा पनि गायिका तारादेवीले उल्लेखनीय योदान पु¥याएकी छन् । श्यामश्वेत चलचित्र आमामा गीत गाउने गायिका हुन्, उनी । अर्थात्, नेपाली चलचित्रको ‘ब्ल्याक एन्ड ह्वाइट’ परिदृश्यदेखि रंगीन जमानाको २५ वसन्त, शान्तिदीप र मायासम्म यिनले पाश्र्व गायन प्रस्तुत गरेकी छिन् । चलचित्र मायामा उनको पाश्र्व गायन यात्राको अन्तिम गीत सुन्न सकिन्छ । ताराले नेपाली चलचित्र हिजो, आज, भोलि, परिवर्तन, मनको बाँध, सिन्दूर, जीवनरेखा, कुमारीलगायतका चलचित्रहरूमा समेत पाश्र्व गायन प्रस्तुत गरेकी छन् । अर्थात्, सो चलचित्रका हिट गीतमा तारादेवीकै सुमधुर आवाज गुन्जिएका छन् । यी गीतहरू देश–विदेशमा समेत श्रोता तथा दर्शकमाझ लोकप्रिय छन्, आज पनि । चलचित्र सिन्दूरमा उनले गाएको ‘आहा वनमा फुल्यो फुलै फूल बास्ना चल्यो मनैमा’ नातिकाजी र गोपाल योञ्जनको संगीतमा, अम्बर गुरुङको संगीतमा पलपल चुमेर जीवनरेखामा प्रेमध्वज प्रधानसँग किरण खरेलको रचनामा युगल गीत, मनको बाँधमा नातिकाजी शिवशंकरको संगीतमा ‘फुलको थुंगा बहेर गयो गंगाको पानीमा’, कुमारीमा आँखाहरूले रुन नखोजे शिवशंकर र चन्द्रराज शर्माको संगीतमा किरण खरेलको रचनामा, शान्तिदीपमा सुनगाभाजस्तो जीवन आदि उनले गाएकी छन् ।

संगीतकारका रूपमा तारादेवी र उनका गीतकार,संगीतकार

तारादेवी आफैंमा एउटा राम्रो संगीतकारसमेत हुन् । उनले दर्जनौं गीतमा संगीत गरेकी छन् । आफ्नो संगीतमा गाउँदा निकै आनन्द आउने बताउँथिन्, उनी । उनले संगीत गरेका केही गीत आफन्तहरूले कुल्चे, ऐनाभरि आँखाभरि, जब जब निसास, चाहना मेरो, सर्माएर, पिर पर्दा, धेरैजसो, सिन्दूरले, एक्लै आएथें, जलाउने चिन्ता, हाँसेर, मन कोही, निद नआए जस्तै, एक्लो चिनाजानी, धेरैजसो आदि छन् । सबैभन्दा धेरै संगीत त यिनले नातिकाजीकै गाएकी छन् । शुभकामना, अँध्यारोमा एउटा, सपनामा देखूँ, ओभानो सिन्दूर, एउटा डाँडा, जीवनको सहारा, इच्छा आकांक्षा, जुन निदाउन, तिमीले मलाई, तिम्रा पाउहरूमा, आँसु सुस्केरा, तिमीलाई हाँसेर, सम्झी रुन म, यति ठुलो संसारमा, चाहनाको सीमा, सुनसान प्रकृति, दाइलाई बोलाऊँ भने आदि दर्जनौं गीत छन् । ताराले विभिन्न गीतकारका गीत गाएकी छन् । गीतकार चाँदनी शाह, राममान तृषित, भैरवनाथ रिमाल कदम, मविवि शाह, निरविक्रम प्यासी, गौरी नेवा, किरण खरेल, रामविक्रम सिजापति, दीर्घसिंह बम, भोला रिजाल, राजेन्द्र रिजाल, रवीन्द्र शाह, माधव घिमिरे,

डा. कृष्णहरि बराल, दामोदर घिमिरे, लक्ष्मण लोहनी, पुरुषोत्तम सापकोटा, भूपी शेरचन, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, आदि उनका रोजाइमा परेका गीतकार हुन् । यस्तै, अन्य थुप्रै राम्रा–राम्रा गीतकारका गीत पनि गाएकी छन्, यिनले । यस्तै, उनका रोजाइका संगीतकारहरूमा नातिकाजी, शिवशंकर, शुभबहादुर, दीपक जंगम, गणेश परियार, अम्बर गुरुङ, मनबहादुर मुखिया, कृष्णमान, गोपाल योञ्जन, बासुदेव मुनाल, बुलु मुकारुङ आदि हुन् । यी संगीतकारका संगीतमा यिनले रेडियो नेपालमा गीत गाएकी छन् । अन्य राम्रा संगीतकारका संगीतमा पनि ताराले उत्कृष्ट गीत गाएकी छन् । यस्तै, गीतकारहरूमा चन्द्रकला शाह, एसके पहाडी, उत्तम श्रेष्ठ, दिनेश शाह, भैरवनाथ रिमाल कदम, नरेन्द्र हाडा, विजय कन्दङ्वा, नरेन्द्र प्यासी, गौरी नेवा, बालकृष्ण सजीव, उत्तम केसी, विश्ववल्लभ, श्रीविक्रम राणा, सुमन खरेल, गणेश ज्ञवाली, चेतन कार्की, राजेन्द्र थापा, माधव घिमिरे, दीर्घसिंह बम, खगेन्द्र नेपाली, पुरुषोत्तम सापकोटा, लक्ष्मण लोहनी, छिन्नलता, सुवासचन्द्र ढुंगेल, डा. कृष्णहरि बराल, मनबहादुर मुखिया, यादव खरेल, दिनेश अधिकारी, भूपी शेरचन, रामचन्द्र पुडासैनी, ईश्वरबल्लभ, निरविक्रम प्यासी, कृष्णजंग राणा, रवीन्द्र शाह, भैरवनाथ रिमाल छन् । तारादेवीले गीतकार मविवि शाहको रचना शिवशंकरको संगीतमा कति राम्रो, एसके पहाडीको शब्द नातिकाजीको संगीतमा कालेपारि दाइ कति राम्रो, किरण खरेलको रचना गायिका आफ्नै संगीतमा हाई–हाई बसन्तले, भावुकको रचना शिवशंकरको संगीतमा कति मधुरो साँझ, बिदा हुने भइगयो बेला, बीपी शाहको रचना पुष्प नेपालीको संगीत, किरण खरेलको रचना गायिका आफ्नै संगीतमा जुनेली रात, किरण खरेलको रचना शिवशंकरको संगीतमा लहर हो लोग्ने मान्छे, रानी चरी कहाँ गो, जेआर वाग्लेको रचना नातिकाजीको संगीत, म फूलसित भुलूँ (रवीन्द्र शाहको रचना नातिकाजीको संगीत) मैले बुझ्नै सकिनँ कृष्णप्रसाद पराजुलीको रचना नातिकाजीको संगीत, चिठी किन लेख्यौ (एसके पहाडीको रचना नातिकाजीको संगीत) तिम्रो सपना देखें (किरण खरेलको रचना नातिकाजीको संगीत) किरण खरेलकै रचना अम्बर गुरुङको संगीतमा सोधूँ सोधूँ लाग्छ, किरण खरेलको रचना शिवशंकरको संगीतमा हिमालको काखमा, किन लाग्यो आशा (भावुकको रचना शिवशंकरको संगीत, पुण्यप्रसादको रचना रुबी जोशीको संगीतमा घुमाइमा घुमाइ, मविवि शाहको रचना गोविन्दलालको संगीतमा बन्दीपुरे उकाली, टाढाबाट बोलाएको (श्यामप्रसादको रचना नातिकाजीको संगीतमा, यस्तै मविवि शाहकै रचना नातिकाजीको संगीतमा आकाशको तिर्मिरे तारा म गन्न सक्दिन, किरण खरेलको रचना नातिकाजीको संगीतमा फूल टिप्न, गोपाल योञ्जनको शब्द कर्म योञ्जनको संगीतमा रातमा निदाई मलाई, रत्नशमशेर थापाको शब्द प्रेमध्वज प्रधानको संगीतमा मायाको चिनो, रत्नशमशेरकै रचना नारायणगोपालको संगीतमा ए कान्छा ठट्टैमा यो, गायिकाको आफ्नै शब्द शिवशंकरको संगीतमा सबैले भन्थे मायालु फूल भई बोलका कर्णप्रिय गीतसमेत रेकर्ड भएका छन् । यिनै गीतले वास्तविक रूपमा तारादेवीलाई नेपाली संगीतको क्षेत्रमा स्थापित गराउन, श्रोताको मन मुटु र हृदयमा घर बसाउन सफल भएका छन् ।

तारादेवीले गाएका गीतहरूमा खासगरी नातिकाजीका संगीत बढी भेटिन्छन् । माथि उद्धृत भएका नातिकाजीद्वारा संगीतबद्ध कतिपय गीतबाहेक नातिकाजीको संगीत रवीन्द्र शाहको शब्दमा यस्तो बाजी, धर्मराज थापाको रचनामा कालेपारि, निर शाहको शब्दमा ए आमा म, जनार्दन शर्माको शब्दमा डोकोको नाम्लो, मविवि शाहको शब्दमा कुरें कुरें आएनौ, ईश्वरबल्लभको रचनामा फुलाई फूल, युधीर थापाको रचनामा ढल्के टोपी, किरण खरेलको रचनामा मलाई माया, रमेश धितालको रचनामा जीवनको सहारा, बानिरा गिरीको रचनामा बोली हजुर, कृष्णप्रसाद पराजुलीको शब्दमा मेरो हजुरलाई, किरण खरेलको रचनामा मलाई माया, रमेश धितालको रचनामा जीवनको सहारालगायत गीत रेडियो नेपालमा रेकर्ड भएका छन्, तारादेवीको स्वर तथा नातिकाजीको संगीतमा । यसैगरी, तारादेवीले शिवशंकरको संगीतमा उल्लिखित गीतबाहेक किरण खरेलद्वारा रचित तिम्रो माया कागजको, राममान तृषितद्वारा रचित एक फूल झरेर, लक्ष्मण लोहनीद्वारा रचित बाह्रै महिना, लक्ष्मणकै शब्दमा जन्मिएको आँगन, उनकै शब्दमा आऊ चेली, राममान तृषितको शब्दमा यो हँसिलो, लक्ष्मण लोहनीकै शब्दमा मेरो छोरी, उनकै शब्दमा मेरो हजुरलाई, किरण खरेलको रचनामा बरु पत्थरले, लक्ष्मण लोहनीको शब्दमा मेरी छोरीजस्ता कालजयी प्रकृतिका आधुनिक सुगम गीत शिवशंकरको संगीतमा तारादेवीले गाएकी छन ।

कसको कति गाइन् ?

तारादेवीले सबैभन्दा धेरै राममान तृषितको रचना गाएकी छन् । उनले राममानका ६२ ओटा गीति रचना गाएकी छन् । त्यसो त गीतकार किरण खरेलका पनि ४५ ओटा गीति रचना उनले गाएकी छन । रत्नशमशेर पनि के कम, उनका पनि २५ ओटा गीति रचना तारादेवीले गाएकी छन् । यसैगरी, दिनेश अधिकारीका चारओटा रचना, मविवि शाहका चारओटा रचना गाएकी छन । संगीततर्फ सबैभन्दा धेरै अर्थात् नातिकाजीको संगीतमा ८९ ओटा गीत गाएकी छन् भने शिवशंकरको संगीतमा ४२ ओटा गीत गाएकी छन् । उनले आफ्नै संगीतमा पनि ६५ ओटा गीत गाएकी छन् । राममान तृषितका उनले गाएका ६२ ओटा गीति रचनामध्ये २६ ओटा गीतमा भने राममानकै संगीत रहेको छ । चाँदनी शाहका २२ ओटा रचना तारादेवीले गाएकी छन्, अधिकांश लोकप्रिय पनि छन् । शुभबहादुर र तारादेवीको पनि निकै राम्रो ट्युनिङ थियो । यीनको संगीतमा पनि ताराले १५ ओटा आधुनिक गीत गाएकी छन् जसमा फुलै फूलको मौसम तिमीलाई र निर्दोष मेरो पछ्यौरीमा धेरै लोकप्रिय गीत हुन् । संगीतकार शम्भुजित बाँस्कोटाको संगीतमा ताराले गाएका मृग झैं चञ्चल (दिनेश शाह), यो सफा हृदय (राजेन्द्र रिजाल) लोकप्रिय छन्, उनका चारओटा संगीत गाएकी छन् । अम्बर गुरुङको संगीतमा यिनले चलचित्रमा समेत गरी झन्डै १० ओटा गीत गाएकी छन् जसमा चलचित्रका पाश्र्व गीतहरूमा हराएझैं कै लाग्छ, तिम्रो नाम, को हुँ म, पल पल चुमेर धेरै नि लोकप्रिय बनेका गीत हुन् । यस्तै, शिवशंकर (चन्द्रराजको संगीतमा आँखाहरूले नखोजे, मनमा माया (युगल माणिक रत्नसँग), नातिकाजी (गोपाल योञ्जनको युगल संगीतमा बनमा फुल्यो फूल, मलाई हाँसिदेऊ नभन धेरै दर्शक श्रोताको मन हरेका गीत हुन् । संगीतकार दीपक जंगमको संगीतमा पनि चारओटा गीत उनले गाएकी छन् । यी संगीतकारसँगै हृवीवल सारा, कर्म योञ्जन, नाति, शिव, चन्द्रराज शर्मा, जगतमर्दन थापा, प्रकाश गुरुङ, बुलु मुकारुङ, विजयसिंह मुनाल, सिके रसाइली, कृष्णमान, विक्रम कन्दङ्वा, सञ्जय शाह, अरबिन्द मालाकार, गणेश परियार, नरेन्द्र प्यासी, कमल परियार, सपना र मदन दिव्यमको संगीतमा तारादेवीले गाएकी छन् । यी संगीतकारहरूमा कसैको विभिन्न समयमा तिनओटासम्म गीत गाएकी छन् ।

कृति, सिर्जना र पुरस्कार

रेडियो नेपालमा संख्यात्मक रूपमा सबैभन्दा धेरै गीत गाउने गायिका हुन्, तारादेवी । त्यसो त गुणमा पनि उनले धेरै गहिरो र लामो सांगीतिक यात्रा छिचोलेकी हुन् । उनले संगीत गरेका कैयन् गीत नै उनको जीवनका बहुमूल्य कृति हुन् । उनका कालजयी र अमर गीत नै उनका सिर्जनात्मक उत्पादन हुन् । पुरस्कारका सम्बन्धमा तारादेवीले महेन्द्र रत्नभूषण, गोरखा दक्षिणबाहु चौथो, ईन्द्रराज्यलक्ष्मी पुरस्कार चौथो, (विसं २०३३) शुभराज्यभिषेक पदक (विसं २०३१), चलचित्र सिन्दूर चलचित्रतर्फको बेस्ट सिंङिङ अवार्ड (सन् १९९८), छिन्नलता गीत पुरस्कार, जगदम्बाश्री पुरस्कार (सन् १९९४) मैना पुरस्कार (सन् १९९९६) सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु (सन् १९९९), ईमेज च्यानल पुरस्कार, (सन् १९९९), टुबोर्ग सम्मान, नई सुर सम्मान, (विसं २०५६) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

मेरो सम्झनामा तारादेवी

विसं २०४४ सालतिर यो पंक्तिकार स्रष्टा रेडियो नेपाल प्रवेश गर्दै थियो, एउटा सपना लिएर । रेडियो नेपाल प्रवेशको ढोका खोल्ने जीवन सर्जकमध्ये तारादेवी पनि एक प्रमुख थिइन् । त्यो दिन पंक्तिकार रेडियो नेपालमा वाद्यवादनको अडिसन दिँदै थियो । त्रिचन्द्र कलेजमा स्नातक तह दोस्रो वर्ष पढ्दै गरेको एक बेरोजगार युवा । तर, रोजगारीको चिन्ताभन्दा पनि बढी उसलाई एउटा गायक संगीतकार बन्ने सपनाले बढी उद्वेलित तुल्याइरहेको थियो । अडिसनका लागि नातिकाजी बस्ने रेडियो नेपालको पुरानो बिल्डिङमा उसलाई लामो प्रतीक्षापछि बल्ल बोलाइयो । कोठाभित्र सांगीतिक अडिसन लिन नेपाली संगीतका तिनजना हस्ती नातिकाजी, शिवशंकर र उनै प्रिय गायिका तारादेवी बसेकी थिइन् । अडिसनका लागि पंक्तिकारले दुईओटा वाद्ययन्त्र भ्वाइलिन र मेन्डोलिन साथमा लिएर गएका थिए । तारादेवीले सबैभन्दा पहिला मेन्डोलिन बजाउन लगाएकी थिइन् । दुईओटा गीतको धुन प्रस्तुत गरिसकेपछि राम्रो फिंगरिङ त रहेछ तपाईंको भन्दै वाद्यकलाको खुलेर प्रशंसा गरेकी थिइन्, उनले ।

नातिकाजी, शिवशंकरले भ्वाइलिन बजाउन र एउटै गीतलाई स्केल परिवर्तन गरेर बजाउन लगाएका थिए । हुँदाहुँदै अडिसनबिच नै नातिकाजीले हार्मोनियम बजाएर तारादेवीले गीत गाउँदा पंक्तिकारले गीतारमा साथ दिएका थिए । तारादेवीले भोलिको मेरो रेकर्डमा भाइले पनि बजाउनुपर्छ, विजयसिंह मुनालको संगीतमा म यही गीत गाउँदै छु भन्दा खुसीले आँसु छचल्किएको थियो । नातिकाजी शिवशंकरले बजाएपछि त पारिश्रमिक पनि दिनुपर्छ, भोलिदेखि टेक बेसिसमा बस्नोस् भने । अझ छचल्किएको आँसु भुइँमै टप्किएको थियो । भोलिपल्टदेखि नै तारादेवीले गाएको ‘तिमी मेरी छोरी हौ’ बोलको गीतमा मेन्डोलिनको धुन बजाएर रेडियो नेपाल प्रवेश गरेको सम्झना मानसपटलमा ‘ब्ल्याक एन्ड ह्वाइट’ चलचित्रको धमिलो तस्बिर झैं आँखामा छ । त्यसपछिका उनका दर्जनौं गीतमा मेन्डोलिन र गितार बजाएको स्टुडियो रेकर्डिङको पलहरू बिर्सिनसक्नुका छन् । सायद, यी स्रष्टाहरूको मन जित्न नसकेको भए पछिल्ला १० वर्षपछिका दिनमा रेडियो नेपालका लागि लोकसेवा आयोगले लिएको आन्तरिक लिखित परीक्षामा चार÷चार पटक प्रथम हुन सकेको सफलताको श्रेय जीवनमा कहिल्यै प्राप्त हुन सक्ने थिएन पनि होला, यो गरिमामय संस्थामा ।

तारादेवी वास्तविक रूपकी स्वरकिन्नरी हुन्, एक अब्बल र युगकी प्रतिनिधि गायिका हुन् । तारा दिदी तिमी भौतिक रूपमा यस धर्तीमा छैनौ तर युग–युगसम्म तिमी संगीतप्रेमीमाझ गुन्जी नै रहने छौ । नेपाली संगीतमा तिम्रा कर्णप्रिय स्वरलहरीहरू जीवन्त बनेर गुन्जिरहने छन् ।

प्रकाशित मिति: २०१६-०१-२३ ०८:४८

(स्रोत : Rajdhani)

This entry was posted in स्रष्टा परिचय and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *