नियात्रा : हारवर्ड, हटडग र एक्लो नेपाली

~बिपुल सिजापति~Bipul Sijapati

म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा खास मीठास छ, खास आकर्षण छ, खास मोहनी छ, विशेष शक्ति छ । मीठो यो हावाले घर सम्झाउँछ, आकर्षक यो हावाले आत्मियजन सम्झाउँछ, मोहिनी यो हावाले दसैँ सम्झाउँछ, शक्तिशाली यो हावाले देश सम्झाउँछ । यो हावा विश्वको जुनकुनै कुनामा चल्दा जहिले पनि नेपालीका मनमा मधुमास लेराउँछ ।

आजको मेरो उदेश्य साँझको हावा खाँदै एक्लै बरालिएर हारवर्ड घुम्नु हो, ताना शर्माको बेलायत तिर बरालिँदाको छोटो अनुभूति गर्ने रहर सहित । मेरी छोरी बसपास दिँदै भन्छे, “८९ नम्बरको बस चढनु र चढ्ने बित्तिकै नबिर्सिकन टिकट मसिनमा यो छिराउनु । केही भयो भने मलाई फोन गर्नु ।” उनी सवैकुरा एकै सासमा भन्छिन् । मानौँ म अनुभवहिन अल्लारे केटा हुँ । उनी सानै छँदा मैले यी कुराहरूको प्रशस्त अनुभव योरोपमै गरिसकेको तथ्यलाई उनी नजरअन्दाज गर्छिन् । म यहाँ नौलो छु, उनी यहाँ निक्कै वर्ष देखि बस्दै आएकिछिन् । मेरो सुरक्षाको लागि उनको मनमा चिन्ता छ, उनको मनमा डर छ र उनको मनमा लुकेको वात्सल्य पनि छ । म सोच्दछु, “प्रतेक युवतीझैँ उनी पनि कुनै दिन कसैको पत्नी बन्नेछिन्, कुनै परिवारको बुहारी बन्नेछिन् अनि आमा बनेर गृहस्थी सम्भाल्नेछिन्, एउटा परिवार सम्भाल्नेछिन् । गृहस्थीमा घरकी मूली भएपछि त्यसबखत आफ्ना सन्तती र आफ्ना परिवारजनका लागि चाहिने अति आवश्यक तत्वको रूपमा अविवाहित युवतीको मनमा हिउँ भएर जमेको मातृत्व र वात्सल्यका धुँवा हुन् यी ।“ अपार्टमेन्टबाट निस्कनु अगाडी मेरो हातमा केही डलर थमाउँदा मातृत्वको सल्लाह मेरो कानमा ठोकिन्छ, “आफ्नो ख्याल राख्नु, अँ साँच्ची, हारवर्ड स्टेसनमा स्टारबकको कफि असाध्यै मीठो हुन्छ, जाडो लागे पिउनु ।“

म बस बिसौनी तर्फ हिँडदै छु । शरदको हावा चलि रहेको छ, मन दुखाई रहेको छ, आफन्तका सम्झना लेराई रहेको छ, देश सम्झाई रहेको छ । म सडकका दायाँबायाँका प्रतेक चिजबस्तु र प्रतेक सुविधालाई आफ्ना देशका चिजबस्तु र सुविधासँग तुलना गर्छु, कमिकमजोरी, गर्न सकिने र हुनुपर्ने कुराहरूको सूचि मनमा बनाउँछु र ढिलोचाँडो अवश्य हुन्छ भनेर आफैलाई सान्तवना दिन्छु । बस बिसौनीमा आफैमा व्यस्त विभिन्न जातिका अनुहार छन् । उनीहरूको लागि म नौलो र अपरिचित (stranger) मेरो लागि उनीहरू नैलो र अपरिचित । उनीहरू मलाई त्यति ध्यान दिँदैनन् तर म त्यहाँ उभिएका प्रतेक अनुहारलाई ध्यान दिन्छु । सायद म ती अनुहारमा परिचय खोज्दैछु, नेपाली छाप खोज्दैछु, नेपाली आत्मियता खोज्दैछु र नचिने पनि फिस्स हाँसेर स्वागत गर्ने नेपाली बानी खोज्दैछु । अहँ, कुनै अनुहारमा त्यो बिसुद्ध नेपाली तत्व छैन । फेरी देशको यादले भित्र कतै पोल्छ । म परदेशमा उनीहरू बिच नै छु, एक्लो नेपाली, बस चढ्दा पनि, हारवर्डमा ओर्लदा पनि ।

हारवर्ड शिक्षाको लागि प्रख्यात छ । अमेरिकामा जोन हारवर्डलाई शिक्षाका पिता मानिन्छ । उनैले अमेरिकामा शिक्षाको ज्योति फैलाएका हुनाले उनको नाममा हारवर्ड विश्वविद्यालय स्थापना गरिएको छ । अरू त अरू अमेरिकी पनि यस विश्वविद्यालयबाट स्नातक, स्नाकोत्तर या बिद्यावारीधि गरे पश्चात् गौरवान्वित महसुस गर्दछन्, विश्वभरमा सम्मानित हुन्छन् । फेसबुकको सुरुवात यहीका विद्यार्थीहरूको तिक्ष्ण मगजको उपज हो, बाराक ओबामाले दिने प्रभावशाली बक्तव्यमा यसै विश्वविद्यालयको शिक्षा छ । हारवर्ड विश्वविद्यालय परिसरको बिचमा जोन हारवर्डको पूर्णकदको प्रतिमा छ । “राजनो देशे पुज्यते, बिध्वान पुज्यते सर्वत्र् ।” म बिध्द्वत जोन हारवर्डको विशाल प्रतिमा अगाडि उभिन्छु र बिध्वतालाई प्रणाम गर्दछु ।

“ईश्वर तिमी जस्तै दयालु छ, केही खुद्रा पैसा भए पाउ नँ,” फोहोरी देखिने एक याचक हारवर्ड स्क्वायरमा मेरो सामुन्ने देखा पर्छ । उसलाई देखेर म देवकोटाको माग्ने कविता सम्झन्छु तर उसको लागि तिछरो “माग्ने” शब्द प्रयोग गर्न मेरो विवेकले दिएन । हरेक दिन म प्रतक्ष्य हाडमासुको आत्मा सहितका मुर्तिसँग केही न केही मागिरहेको हुन्छु, नभए कल्पित ईश्वरसँग त मागेकै हुन्छु भने म त्यस याचक भन्दा कुनै पनि दृष्टिकोणमा भिन्न छैन । तर उसले याचनाको लागि प्रयोग गरेको वाक्यले मलाई सोच्न बाध्य बनायो, “ईश्वर म जस्तै दयालु छ कि म ईश्वर जस्तै दयालु छु ?” नजिकै चर्च मुनिको चिहानमा लस्करै चिसा ढुङ्गाहरू छन्, चिहानका मृतआत्मा र मेरो बिच त्यो याचक छ । उसले मलाई ईश्वरझैँ दयालु देखेको छ, उसलाई म ईश्वरझैँ दयालु लागेको छ । ऊ, म र ईश्वर ! हामी तीनै बिच कतै केही समानता छैन र उसको भनाई अनुसार ईश्वर दयालु भएको भए हामीमा समानता हुने थियो, सबैमा समानता हुने थियो । म काठमाण्डौं सम्झन्छु, बाटोमा बसेर याचना गरिरहेका याचक सम्झन्छु । उदेक त के लाग्छ भने काठमाण्डौंमा लगभग सबै याचक नेपाली मूलका भने हुँदैनन् र नेपाली पनि बोल्दैनन् । यहाँ पनि नेपाली कोमल भावनाको कमजोरीलाई आधार बनाइ नेपालीलाई ठगिएको छ, सोझोपनको शोषण गरिएको छ । तर यहाँ भने गोरा र काला जाति बाहेक अरू जातकाहरु याचना गरेर बसिरहेका छैनन्, केही न केही काम अवश्य गरिरहेका छन् । यिनीहरू हातखुट्टा र शरीर सद्दे भएका स्थापित अमेरिकी याचकहरु हुन् र उसले मलाई ईश्वरको दयालुपनसँग दाँज्दै भनेको वाक्य केही पैसाको लागि गरिएको चाप्लुसी भएको ठहरमा पुग्छु, । म खल्तीबाट हात निकाल्दिन, सोझै अगाडी बढछु ।

बस अड्डाको दायाँतर्फ स्टारबकको कफिसप छ । म भित्र जान्छु । भित्र मानिसहरूको राम्रै चहलपहल छ । काफिसपको माथिल्लो भित्ताभरि विभिन्न कफिका प्रकारका सूचि टासिएको छ । एउटै कफिको यति धेरै प्रकार १ म अनौठो मान्दछु १ अमेरिकामा रेड इन्डियन बाहेक अन्य जातिहरु विश्वका विभिन्न देशहरुबाट बसाइ सरेर आएका हुन् । सबैका आ–आफ्नै चाहना छ, छनौट छ, रुचि छ, स्वाद छ । त्यसैले कफि मख्खनबरफ, चुरोट, चिया जस्ता दैनिक उपभोग्य वस्तुहरू सबैको छनौट र रोजाइलाई चित्त बुझाउन विभिन्न स्वादका हुन्छन् । नेपालमा पनि कफि उत्पादन हुन्छ तर मैले यहाँ नेपाली कफिको कुनै उत्पादन देखिन, देखएको भए निश्चय नै मेरो छनौटमा नेपाली कफि रोज्दथेँ, नेपाली माटो र नेपाली श्रमलाई आदर गर्न । कफिको बारेमा अनभिज्ञ र अनभ्यस्त म छोरीको सल्लाह मूल्याङ्कन गर्न रेगुलर कफिको लागि अनुरोध गर्दछु । एउटी आकर्षक केटी २५० मि.लि. कफि ढक्कन सहितको आकर्षक बाक्लो कागजको गिलासमा मेरो लागि प्रस्तुत गर्दै पाँच डलर माग्दछे । पाँच डलर सहित उनलाई धन्यवाद टक्र्याउँदै म कफि लिएर बाहिर निस्कन्छु । बाहिर निक्कै चहलपहल छ । हारवर्ड स्क्वायरको होचो पर्खालको डिलमा केही मानिसहरू बसिरहेका छन् । म पनि उनिहरुझैँ पर्खालको डिलमा बस्छु र कफि पिउन थाल्दछु । छोरीले भनेझैँ कफिमा कुनै अतिरिक्त स्वाद पाउँदिन । कफिको लागि तिरेको पैसाको उत्पादकत्व खोज्दछु, शून्य हात लाग्दछ । यसको बदलामा नेपाली कफि पिउँदो हुँ त सायद नेपाली उत्पादन पिएको आधारमा केही आत्म सन्तुष्टि मिल्थ्यो कि ! यो बेस्वादको कफिसँग म वीर अस्पताल छेउमा पाइने चिया दाँज्छु, सतप्रतिशत त्यही मीठो ! म निक्र्यौल निकाल्छु ।

म बसेको स्थान अगाडी चौडा डबली छ र यसको मुनि बस र विद्युतीय सानो रेलको (Metro) भूमिगत बिसौनी छ । विद्युतीय रेल यो शहरभरि जमिन मुनिमुनि नै चल्छ र बस कताबाट भित्र छिर्दछ र कताबाट निस्कन्छ, यस ठाउँबाट देखिँदैन । एकै पटक भूमिगत अड्डाको माथिल्लो मुखबाट ह्वारह्वार्ति मान्छेहरू निस्कदा मुनि बस या विद्युतीय रेल आएको अनुमान लगाउन सकिन्छ । म आउने जाने प्रतेक व्यक्तिलाई तेर्सो आँखा लगाएर नियाल्छु (ठाडो ट्वाल्ट्वाल्ती हेर्नु असभ्यता ठानिन्छ), उनीहरूको भेष भुसा हेर्छु, उनीहरूका हाउभाउ जाँच्दछु तर कोही कसैसँग मिल्दैनन् । लाग्छ, पृथ्वीमा पाइने समस्त जातका, समस्त वर्णका, समस्त सभ्यता र संस्कृतिका मानिसहरूको नमुना जम्मा पारिएको यो परिक्षणशाला हो । कुनै दिन प्रलय भएर अमेरिका बाहेक सबै स्थान ध्वस्त भएमा पनि यहीँ बाट पुनः सबै जातका मानिस उत्पादन गर्न सकिन्छ ।

घाम डुब्न लागेको छ । निलो आकाशमा बादलको एक टुक्रा पनि छैन । अगाडी डबलीमा केही चहलपहल सुरुभएको छ । स्प्यानिस र काला जातिका केही युवाहरू ठूल्ठूला स्पिकर भएको म्युजिक सिस्टम जोडजाड गर्दैछन्, । वरिपरिका मान्छेहरू डबलि वरिपरिको पर्खालमा आफ्नो स्थान सुरक्षित गरिहेछन् । कोही म जस्तै एक्ला छन् भने कोही जोडीमा छन् र प्राय युवा जमात नै छन् । सम्भ्रान्त देखिने (टाईसुट या कमिज पाइँट लगाएकाहरु) भिडबाट अलि पर नै बसेर एक–अर्कासँग कुरा गरिरहेछन् तर पनि उनीहरूको आँखा भने डबलि तिरै तेर्सिएको छ । दर्शकहरुको भेषभुषा र लवाइ अत्यन्त्यै फरक छ । लुगा देखि लिएर शरीरका अङ्ग समेत फेसनयुक्त छन् । अङ्गहरु छेडेर विभिन्न अदभुत आभुषण लगाएका, रंगिचंगि कपाल बनाएका, कपाललाई अनौठो तरिकाले काटेर आकार दिएका र अनौठो बस्त्र लगाएका युवायुवतीहरु प्रशस्त छन् । हरेक कुरामा आफूलाई अरू भन्दा भिन्न देखाउन र चर्चित बन्न रुचाउने यी जमातका प्रतेक व्यक्तिको सोचाईले गर्दा यिनीहरू अनौठो देखिएका छन्, साँच्चिकै अरू भन्दा भिन्न छन् तर कसैको आँखामा यिनीहरू प्रति घृणाको भाव छैन, दूराशय छैन । उत्सुकहरु उत्साहले सोध्छन् र यिनीहरू गर्वका साथ आफ्नो स्वरूपको बारेमा वर्णन गर्छन् । सबैले अरूलाई बाधा नपर्ने गरेर आफ्नो स्वतन्त्रताको उपभोग गरेका छन्, इच्छ्याईएका कुरा लगाएका छन् । यो नै प्रजातन्त्र हो, यो नै विकास हो । तर एउटा निश्चित उचाइमा पुगे पछि जता झरे पनि झर्नु नै हो । कतै स्वतन्त्रता र विकासको पराकाष्टाबाट यिनीहरू झर्दै त छैनन् ?

एउटा गोरो वर्णको केटा स्प्रिङ जडिएको धातुको छडि लिएर आयो । त्यो छडिमा माथि अङ्ग्रेजी टि आकारको समात्ने ठाउँ थियो भने बिचमा दुवै तर्फ पाउदान थियो । उसले त्यस स्प्रिङवाला छडिमा उभिएर त्यसको मद्दतबाट हावामा आफूलाई उछाल्दै अनेक करतववाजी देखाउन थाल्यो । डबली वरिपरि मानिसहरू झुम्मिन थालेका छन् । उसको आश्चर्यजनक करतबमा सबैले ताली बजाएर हौसला प्रदान गर्दैछन् । ऊ बेलाबेलामा करतबमा गरेको सानो त्रुटीमा पनि माफी माग्दै त्यसलाई दोहराएर देखाउँदैछ । आफ्नो कला प्रस्तुत गरेर उसले अगाडीका दर्शकहरु सामु झेकेर अभिवादन गर्‍यो । हेर्दाहेर्दै डबलिमा एक स्प्यानिस केटाले बाक्लो कागजको बक्सालाई समतल पारेर बिछ्यायो । अब त्यहाँ दुई आमुन्ने सामुन्ने समूह देखा परे । ती समूहमा केटीहरूको सहभागिता पनि छ । अघि जडान गरिएको म्युजिक सिस्टम बज्न थाल्यो । मेरो दायाँ तर्फको समूहको एउटा केटा आएर अफ्रिकन हिपअप नाच देखाउन सुरु गर्‍यो । उसले आफ्नो शरीरलाई हेर्दै अप्ठ्यारा लाग्ने तरिकाले मोडने, हावामा करतवबाजी खाने, टाउकाले टेकेर घुम्ने र शरीरका विभिन्न अङ्गमा विभिन्न तरिकाका झटकाहरू पारेर देखायो र अन्तमा मेरो बायाँ तर्फको समूहलाई विशेष सङ्केत गरेर चुनौती दियो । बायाँ तर्फबाट एउटा कालो केटा हावामा तीन चार फन्को पुल्टुङबाजी खाँदै डबलीमा आयो र अघिको केटाले भन्दा अझ अनौठा करतब देखाउन थाल्यो । एकै छिनमा उसलाई एउटी युवतीले साथ दिइन् । दुवै तर्फबाट चुनौती दिने र करतबयुक्त नाच देखाउने यो क्रम निकै बेर चल्यो । अफ्रिकाबाट भित्रिएको यो नाचमा यी केटाकेटीहरु पोख्त छन् । ब्रेक डान्स, हिपअप डान्स, मुन वाक आदि अफ्रिकि देशबाट यहाँ भित्रिए र यहाँबाट विश्व प्रसिद्ध भए । नाच सकिए पश्चात् एक युवक उत्तानो टोपी लिएर सबैका सामु घुम्छ । सबैले आफ्नो इच्छा अनुसार मनोरञ्जन बापत सहयोग गर्छन् । म घर फर्किनको लागि उठ्छु । एक छेउमा एकजना इटालियन मूलका व्यक्ति स्प्रे रंगहरु र हातको सहायताले अति चाँडो प्राकृतिक दृश्यका चित्रहर बनाइरहेको छ । उसले आफ्नो पछाडि आफूले बनाएका केही चित्रहरु राखेको छ । उत्सुकहरु उसले बनाएका चित्रहर ध्यान दिएर हेर्दैछन् र कोही किन्दै पनि छन् । २० डलर मूल्यको त्यो चित्र मेरो लागि महंगा हुन् ।

बसको समय अझै बाँकी भएकोले म हारर्वड बस अड्डाको माथिल्लो तलामा गएर उभिन्छु । मेरो छेउमा फास्टफूडको ठेला लिएर बसेकी मंगोलियन अनुहारकी युवती छे । मंगोलियन अनुहारकी ती युवती मलाई देखेर हाँस्छे, प्रतिउत्तरमा म पनि हाँस्छु । “यदि म गलत छैन भने तिमी पक्कै पनि शहर घुमेर थाकेका छौ र भोकाएका पनि छौ । के म गलत छु ?” उसले मेरो अनुहारमा नजर गढाएर सोधिन् । मैले कुनै उत्तर दिइन, हामी दुवैको एक छिनको मौनता पछि उनी भन्छिन्, “तिम्रो भोक र थकान मेरो हटडगले मेटिदिने छ, यसमा म मैलै घरैमा बनाएको अति मीठो अचार राखिदिनेछु जसले तिम्रो अनुहारमा प्रसन्नता पनि लेराउनेछ,” उनी अति नै शालिन तवरले हटडग किन्नको लागि अनुरोध गर्दैर्छिन् । म कुनै प्रतिक्रिया देखाउन्न । ऊ व्यापारमा पोख्त छे, उनका वरिपरि देखिने नयाँ अनुहारका भाव छाम्न सक्षम छे । मेरो शून्य प्रतिक्रियाको सपाट अनुहारका बावजुद पनि ऊ हटडग बेच्न तल्लिन छे, व्यापारको लागि भन्छे, “यस शहरमा हटडग त हरेकले बेच्दछन् तर जुन आत्मियता र प्रेमका साथ म आफ्ना ग्राहकहरुलाई हटडग बेच्दछु त्यसमा मलाई गर्व महसुस हुन्छ । मैले बेचेका हटडग एक पटक खाएर जाने हरेक यात्रुले यहाँ मलाई भेट्दा कृतज्ञताका एक मुस्कान अवश्य छाडेर जान्छन्, मानौँ उनीहरूले मेरो हटडग उधारोमा खाएर गएका हुन् । अर्को पटक तिमीललाई यहाँ भेटदा म त्यस्तै कृतज्ञताका मुस्कान चाहन्छु ।”
“अति नै मीठो कुरा गर्दिरहेछौ,” म भन्दछु ।
“त्यसो भए मैले तिम्रो लागि हटडग तयार गर्नु नै पर्ने भयो,” उनी मेरो उत्तरको प्रतीक्षा बिना हटडग बनाउन तल्लिन हुन्छिन् । “तिमी सायद बिफ (गोरुको मासु) खाँदैनौ होला किन भने तिमी भारतीय मूलका देखिन्छौ,” उनी मेरो कदकाठी र अनुहारको बनोटको आधारमा अन्दाज लगाउँछिन् । “यो पेसामा मैले ग्राहकको रुचि र स्वादको जानकारी राख्नै पर्छ ।” म उनको कुरा गर्ने शैली, उनको व्यवसाय प्रतिको प्रतिबद्धता र ग्राहकलाई एकै छिनमा आफ्ना मीठा कुरामा मुग्ध पारेर हटडग बिक्री गर्न सक्ने क्षमतामा प्रभावित हुन्छु । रबरका पञ्जा लगाएका हात हटडग बनाउन व्यस्त छ, उनले भने अनुसार हटडग बनाउँदा उनका हाबाट प्रेम पोखिएझै लाग्छ, अनुहारबाट आत्मियता छल्किएझैँ लाग्छ । बडो आकर्षक ढङ्गले लोभ लाग्दो हटडग कागजको रुमालमा बेह्रेर मलाई पेस गर्छिन र भन्छिन्, “मात्र पाँच डलर ।” म वालेटबाट दश डलर निकाल्छु र उनी तर्फ बढाउँदै हटडग समात्छु । उनको शीप र आत्मीयताकाको सन्मान गर्दै भन्न मनलाग्छ, “किप द चेन्ज,” तर सक्दिन, पाच डलर सेवाशुल्क दिनु मेरो हैसियत भन्दा बाहिरको कुरा हो, सम्झन्छु, एक डलर बराबर अठ्सट्ठि रुपैयाँ । मेरो मनको कुरा ओठसम्म आएर फेरी मनमै फर्किन्छ, बाँकी पैसा फर्किएझैँ ।

तल बस बिसौनीमा म फर्कने बस आएको सङ्केत देखियो । म बस चढने स्थानमा जान्छु । बस चढ्न तयार सबै लामबद्ध छन् । ८९ नम्बरको बस आएर रोकिन्छ । अगाडी पछाडि दुवै तर्फको ढोका खुल्छ । पछाडिको ढोकाबाट यात्रुहरु निस्कन्छन् । अगाडी ढोकाको पाउदानबाट धातुको पटरि बाहिर निस्कन्छ । बस चालक बस भित्रकी असक्त महिलालाई उनी बसेकी पाङ्ग्रेकुर्सि सहित सुरक्षित तरिकाले गुडाएर अर्को बस रोकिने स्थानमा लग्छ र त्यस असक्त महिलालाई केही कुरा सम्झाउँछ । बस चालक आएर आफ्नो चालक कुर्सीमा बस्छ र कुनै बटन थिचेर अघिको पटरी भित्र तर्फ तान्छ । बल्ल म जस्तै प्रतिक्षित यात्रुहरु अघिल्लो ढोकाबाट बसमा चढछन्, बसपास भएकाले टिकट मसिनमा छिराउँदैछन्, विद्युतीय पास भएकाले ट्याप गर्दैर्छन् । पास नभएकाहरु टिकट मसिनमा पैसा छिराउँछन् र आफ्नो पासलाई रिचार्ज गराउँछन् । बस चालक बेलाबेलामा यस काममा निर्देशन दिँदै सघाईरहेको पनि छ ।

बस फेरी समरभिल तर्फ गुडेको छ । मेरो हातमा अघिको हटडग छ । मलाई वास्तवमा भोक लागेको छ । म हटडग खान्छु । म जान्दिन हटडग मंगोलियन अनुहार भएकी बिक्रेता युवतीले भनेझैँ स्वादिलो हो कि मेरो भोक मीठो तर म रुचाएर हारवर्डको सडकमा गुडिरहेको बसमा बसेर खाँदैछु र आफैलाई हेर्दैछु, नौलो र अपरिचितहरु बिच हारवर्डमा हटडग खाँदै गरेको एक्लो नेपाली ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.