व्यङ्ग्य पत्र कथा : हजुरबाको लभलेटर

~सुरेश ‘समान’~

प्यारी जुनकिरी खड्का,

पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे चरन छ, त्यती पर सम्म तिमीलाई नै हेर्न धाँउछु, सत्ते । हिजो सन्सरबार पनि गजुरेकोमा गा’को थें। थुप्रै मान्छे जम्मा भा’थे रेडियो सुन्न। तिम्रा साथीहरु असर्फी, चमेली, मिठ्ठी, केसरी पनि आका’थे। यि आँखाले तिमीलाई चारैतिर खोजे, भेटेनन, दिनै खल्लो भयो। जोर हप्ता भयो दर्शन नपाको, गाह्रो सारो पर्‍यो कि? मन भारी भयो, अनी थाम्नै नसकी यो चिट्ठी बच्चु केसबलाई लेख्न लाएँ। उसैले पढेर सुनाउला तिमीलाई पनि। धन्दा नमान बच्चु मेरो मिल्ने साथी हो। तिम्रा घरमा पनि बिहे हुने गाँइगुइ सुन्दैछु। पल्लो घरकी चिनीचम्पाले उस्का साथीहरु सँग कुरा गरेको सुनेथेँ। यदी त्यसो हो भने, हामीले ढिला नगरौँ, भागौं।

असार लाग्यो, खहरे खोला उर्लिनु भन्दा पहिले नै हामी निस्कनु पर्छ। पोहोर साल कतीको घर खेत सखापै पार्यो, फेरी त्यही खोला नतरी डाँढा काटिदैन, बाटैमा पर्छ। तीन दिन, दुई रात हिंड्यो भने मधेस पुगिन्छ रे, गाइघाट । अब हामीले दिक्तेल छोड्नै पर्छ जुनकिरी । मैले सबै जोरजाम मिलाई सकेको छु, तिमीले धन्दा मान्नु पर्दैन। बनारसमा एउटा साथी छ, दया गर्तौला, जाने बेलामा ‘लु केही पर्‍यो भने म छु, मजाले आए हुन्छ’ भन्दै गाकोथ्यो। साह्रै राम्रो मान्छे छ, अप्सज लाउने ठाउँ छैन। भर्खरै मेट्रिक पास गरेर पुर्होत्याइ गरेर बस्छ रे। केही दिन उसैकामा बसौला, पढेको मान्छे केही बाटो उस्ले पनि बताउला, सके मधेसतिर रोजगार लगाइदेला ।

मधेस साह्रै फराकिलो छ रे, तेत्रा मान्छे अटाकाछन, हामी कसो नअट्लाउ त…फेरी मनग्गे, बार्है मास खेती हुन्छ रे। हलोकोदालो मैले जानेकै छ, बिउ चिनेकै छु, दाउरा काट्न, टाटी लाउन, परालको माच लाउन त म खप्पीसै छु। ज्याला मज्दुरी गरौँला, फेरी अधिँयामा पनि पाईन्छ रे जग्गा कमाउन। मेरो काकाको छोरो नि यस्तै काम गरेर ५ जनाको जहान छोराछोरी पालीरा’छ रे। बुहारीले नि काम गर्छिन रे एउटा खार्पाको पोख्रेलकाँ – त्यही लिप पोत, भात भान्सा, घाँस-दाउरा, उही आईमाईको काम। काम गरे बापत महिनाको ५ नगद पाउछिन रे अनी बेला मौकामा पोख्रेल्नीको साडी, लत्ता कपडा पनि। तिम्रो बारेमा पनि मैले यस्तै सोचेको छु । हामी दुईको ज्यान पालिन्छ तिमीले सुर्ता लिनु पर्दैन। त्यस्तै परे म नि बाहुनको छोरो हुँ, अली अली कार्जे गर्न जानेकै छु। मधेसमा पनि त श्राद्ध, पूजा, बिहे, ब्रतबन्ध, रुद्री, पास्नी, न्वारान हुँदो हो। बा सँग यि सबमा जाँदा जाँदा मैले पनि रिती पुर्याएर गर्न सिकी सकेको छु। मैले त अली पछी गाई पाल्ने पनि सोचीसकें। गाइको दुध बेचेर खर्च टार्न पनि हुने आफुलाई दही घिउ पनि हुने।

हामी चार भाई र दुइटी दिदी छौं । दिदीहरु बिहा गरेर गए पनि, दाई-भाउजु, र दुई भाई छदैछन घरमा आमा-बा, घर खेत हेर्न। हुन त कती नै पो छ र हेर्नलाई नि। तिम्रा पनि २ भाई र एक बहिनी छे। सबै हुर्केकै छन, जान्ने बुझ्ने उमेरका भइसकेका छन। घरको राम्रो ख्याल राख्लान। पछी हामीले पनि सक्दो गर्नु पर्छ, हाम्रो कर्तब्य पनि हो। हुन त मलाई यसरी भगाएर लान मन छैन तर अर्को बाटो पनि देख्दिन। झ्याँइ-झ्याँइ पञ्चे बाजा ठोकेर भित्राउने रहर अधुरै हुने भयो। बा आमालाई कती सम्झाउन कोशीस गरें तर आफु भन्दा तल्लो जात, छेत्रीकी छोरीसँग हुँदै हुँदैन भनेर अड्डी लेर बस्नु भा’छ। हुन त वहाँहरुलाई पनि यो समाज, छर छिमेकको डर छ नै। के गर्नु यस्तै छ चलन। आफुलाई जन्माउने हुर्काउने आमा बा सदा आदर्णीय हुन्छन। उहाँहरुले आफ्नो छोरा छोरी माथि हक जनाउनु भनेको, अधिकार पनि हो। सारा दुनियाँले धिकार्ला, छि: छि: धुर धुर गर्लान तर आफ्नो सन्तानको सधैं भलो चिताउने आमा नै हुन्छिन। संस्क्रितमा एउटा स्लोकनै छ नि- “मातृवत परदारेषु परद्रव्येषु लोष्टवत्। आत्मवत् सर्वभूतेषु यः पश्यति स पंडितः” तसर्थ हामीले एउटा राम्रो, सक्षम, सबल परिवारको स्रीजना गरेर वहाँहरुको मन पगाल्न सक्नु पर्छ र वहाँहरुको सेवा गर्न सक्नु पर्छ जुनकिरी । मलाई विश्वाश छ तिमीले साथ अवस्य दिने छौ।

हो जुनकिरी मैले धेरै सोचेरै यो कदम उठाउदै छु, यो अचानकको निर्णय होइन। आज ५ गते भो, असार पन्द्रको रात सबै थाकेर अबेर सम्म ओछ्यानमै हुन्छन, हामीले १६ को मिर्मिरेमै डाडा काट्नु पर्छ। गाइघाट पुगेर घरमा सबै खुलस्त पारेर चिट्ठी लेखुँला। मैले अली अली दुध बेचेको पैसा जम्मा पारेको छु, हामीलाई बनारससम्म जाने र केही दिन टुङगो नलागुन्जेल चलखेल गर्न पुग्छ। बरु तिमी पनि बिस्तार बिस्तार आफ्नो लाउने लत्ता कपडा पोको पार्न थाल। बाटोमा खानलाई २-३ माना चिउरा र गुन्द्रुक्को अचार पनि हाल्ने छु, अनी मिल्छ भने तिम्रो बारीको २-४ वटा काँक्रो हाल्नु, सार्है रसिला छन ति काक्रा । तिमीलाइ दिन भनेर गोजिमा काकाको छोरोले नेपाल खाल्टोबाट ल्याइदिएको पुस्टकारी गोजीको गोजिनै छ। त्यो पनि बाडेर खाँउला बाटोमा । म तिमीलाई त्यही चौतारीमा कुरेर बस्ने छु। भाले बास्नु भन्दा अगाडिनै निस्कनु तिमीले। केही पर सम्म बच्चु पनि आउछु भन्दैछ। पर्दैन भनेको अड्डी लेर बसेको छ। म तिम्रो प्रतिक्षामा हुनेछु।

तिमीलाई माया गर्ने,
प्रेमप्रसाद मिश्र

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
विधा : नेपाली कथा, पत्र साहित्य, हास्य - व्यङ्ग्य | , , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *