अनूदित कथा : पपेट

~अज्ञात~
अनु : सञ्जु बजगाईंSanju Bajgain

मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए।

“मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्।

साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका युवा भने मिस्टर टि.आर.को वेबसाइट फ्लावर एण्ड फ्रुट डट कमको फोटो ग्यालेरीमा हेर्न पाइनेमा विश्वस्त थिए।

मिस्टर टि.आर., नामको प्रयोग गर्ने शैलीमै फरक छन् उनी। पश्चिमा प्रभाव भन्न मिल्छ। जस्तो मिस्टर म्याकवेल, मिस्टर मोरिस, मिस्टर जोस आदि। हाइटले पनि मिस्टर म्याकवेलहरूलाई भन्दा कम साथ दिएको छैन। छ फिट माथिका छन्। जान्नेहरू भन्छन्– उनले आफूलाई पश्चिमाहरूसँग पनि उत्तिकै अप टु डेट राख्छन् रे। प्रमाणतः मान्न सकिन्छ उनको पछिल्लो फ्रान्स भ्रमण। त्यो पनि पेरिसको लुभ्र सङ्ग्रहालयमा केन्द्रित।

मिस्टर टि.आर.ले पपेट भित्र्याउनु एउटा संयोग थियो या उनी पपेट साँच्चै मन पराउँथे त्यो रहस्यकै विषय थियो। टाढैबाट चन्द्रमाको आख्यान गर्ने क्षमता भएका व्यक्तिले जाबो पपेटमा समय किन खर्चिन्थे? हुनसक्छ पपेटको माध्यम बनाएर सामाजिक स्तरमा आफ्नो पहुँच बढाउन खोज्दैछन् उनी। या त अफिसको आन्तरिक भ्रमणमा निस्किएका बेला सहकर्मीहरूको लहैलहैमा आफू पनि लागेका हुन्। यी सबै अन्दाजका विषय भए। जे जसो भए पनि मिस्टर टि.आर.ले घरमा पपेट भित्र्याए।

“बधाई छ टि.आर.जी पपेट ल्याउनु भएकोमा।” तीन दिनपछि बधाई दिन आइपुगेका मिस्टर वैद्यले हात तेर्स्याउँदै भने।

टि.आर. अलमल्लमा परे। पपेटको चर्चा यसरी चुलिएला भन्ने उनलाई लागेकै थिएन। तर मिस्टर वैद्य समेतले बधाई दिनुले उनलाई अचम्भित नै तुल्यायो। टि.आर.को पपेटलाई थम अप गरेर निस्किए मिस्टर वैद्य।

टि.आर.को दैनिकीमा पपेट थपियो। उनी हरेक दिन अफिस निस्कनुअघि पपेटलाई चार्जमा छोडेर जान्थे अनि आफू फर्किएपछि चार्जबाट झिक्थे। फुलचार्ज भएको पपेट उनले अर्‍हाएका सबै क्रियाकलापहरू गरिदिन्थ्यो। खाना पकाउनेदेखि उनका कपडा धुने, स्त्री लगाउने, घरको सरसफाई आदि इत्यादि। साँच्चै भन्दा पपेटले उनको घरमा चमक थपिदिएको थियो। उनको दैनिकीलाई साह्रै सजिलो पारिदिएको थियो।

एकदिन अचानक पपेट बोल्यो।

त्यसले भन्यो– “मलाई यो सानो कोठामा पूरा दिन अँध्यारोमा बिताउन मुस्किल हुनथाल्यो।”

टि.आर. झस्किए। आजसम्म नबोलेको पपेट कसरी बोल्यो? पपेटको फङ्सन देखाउँदा पपेटवालाले पपेट यसरी बोल्छ भन्ने कुरै गरेको थिएन। त्यसमा पनि पहिलो बोली असन्तुष्टीको!

अर्को दिन फेरि पपेट बोल्यो।

उसले भन्यो– “धेरै समयदेखि म एउटै स्थानमा छु। मेरो पोजिसन चेन्ज गरिदिनु पर्‍यो।” यसपटक पनि असन्तुष्टिकै भाषा बोल्यो।

क्रमशः पपेटको बोल्ने क्रम बढ्दै जान थाल्यो।

अर्को दिन पुनः पपेट बोल्यो।

र भन्यो– “मलाई सोसियल कन्ट्याक्ट चाहियो।”

पपेटले अँध्यारो–उज्यालोको कुरा गर्नु, पोजिसनको कुरा गर्नु, सोसियल कन्ट्याक्टको कुरा गर्नु… यी सबै टि.आर.को निम्ति घोर आश्चर्यको विषय भयो। उनी पपेटको छेउमै गएर नियाल्न थाले। ओल्टाई–पल्टाई गरे। पपेटको आन्तरिक बनौटमा खराबी छ कि भनेर चेक गरे। सबै ठिकै पाए। मात्र पपेटका कपडाहरू अलि मैला देखिए। अनि उनले ल्याउँदाको भन्दा अलिकति पुराना भएजस्तो पाए। उनी जस्तो व्यस्त मान्छेसँग पपेटको स–साना कुराको ख्याल गर्ने फुर्सद कहाँ हुनु? टि.आर.को सिद्धान्तअनुसार प्रयोग गरेपछि पुरानो हुने, मैलो देखिने कुरा सामान्य हुन्। आफूसँग जे छ त्यसैमा खुशी हुनुपर्छ भन्ने उनको मान्यतालाई जाबो पपेटले च्यालेन्ज गर्नु उनको अपमान जत्तिकै हुनथाल्यो। उनले भोलिपल्ट आफूसँगै पपेट ल्याउने सहकर्मीलाई यसबारेमा बताउने निधो गरे।

“तपाईंहरूको पपेटको हालखबर के छ त?” ब्रेक टाइमको कफीको घुड्कोसँगै कुरो सुरु गरे।

“एकदम फस्टक्लास!” एकले जवाफ दियो।

“मैले पपेटका लागि नयाँ स्टाइलका कपडा अर्डर दिएको छु। सधैं एउटै मोडेलका कपडाले नयाँ लुक दिन्न क्या!” दोस्रोले सुनायो।

“पपेटको कुरा टि.आर.जीले किन उप्काउनु भा’हो? सेन्स अफ रोमान्स बढे जस्तो छ नि!” हरेक बिषयलाई रोमान्ससँग जोडेर बोल्नेले भन्यो।

“तपाईंको पपेटको के छ नि खबर?” अर्काले सोध्यो।

सबैजनाको कुरो सुनेपछि आफ्नो स्थिति बताउन हिच्किचाए मिष्टर टि. आर.।

“राम्रो छ। म रमाएको छु।” टि.आर.ले ढाँटे।

खलबलिएको टि.आर.को मष्तिस्क शान्त हुन सकेन। साँझ घर फर्किए। पपेटले मुस्कुराएर स्वागत गरेन। घरको आन्तरिक माहौल सुरुका दिनमा झैँ रहेन। बिर्चादा उनलाई आफ्नो घर अरूकोभन्दा असामान्य लाग्दैन। घरको वातावरण, बरबगैँचा, कोठामा हावा प्रवाह गर्ने झ्यालहरू, कोठामा राखिएका फर्निचर सबै अरूका भन्दा असामान्य छँदै छैनन्। पपेटलाई आदेश दिने वा प्रयोग गर्ने व्यक्ति पनि उनी मात्र हुन्। यस्तो सानो परिवारमा रहन पाउँदा पनि पपेट किन असन्तुष्ट? उनलाई पपेट भित्र्याएर अनावश्यक झण्झट थोपरेको अनुभूति हुनथाल्यो।

धेरै दिनदेखि खलबलिएको मनस्थितिमै एकदिन बिहानै उनी मिस्टर वैद्यकहाँ हान्निए। पन्ध्र वर्षभन्दा बढी देश बाहिर जागिरे जीवन बिताएका मिस्टर वैद्य फराकिलो विचारका भएकाले पनि टि.आर.ले आफ्नो समस्या उनैलाई राख्ने निधो गरे।

“टि.आर.जी के छ पपेटको खबर?” ढोका खोल्नासाथ प्रश्न तेर्स्याए वैद्यले।

“आश्चर्यमय छ।” टि.आर. बोले।

“पपेटलाई गहिरोसँग बुझ्न नसक्दा आश्चर्यमय नै हुन्छ।” वैद्यले भने।

“पपेटले एकपछि अर्को गर्दै उसका असन्तुष्टि देखाउन थाल्यो।” तनावमा रहेका टि.आर.ले कुरो खोले।

“तपार्इंको पपेट आधुनिक ब्राण्डको हुनुपर्छ।” वैद्यले आँखीभौँ खुम्च्याउँदै अन्दाज गरे।

“बिल्कुल आधुनिक हो। अहिलेको जमानाको।” टि.आर.ले भने।

“ए..ए.. त्यसको मतलब स्मार्ट र हाई क्वालिटीको छ पपेट।” वैद्यले चासो बढाए।

“पपेट त पपेट नै हो नि! स्मार्ट, क्वालिटीको खासै के कुरा होला र?” टि.आर.ले भने।

“हेर्नुस् टि.आर.बाबु! पपेटभित्र धेरै कुरा पर्छन्। त्यसैले पपेट ल्याउनु एउटा कुरा हो तर पपेटलाई बुझेर जीवन्त राख्नसक्नु अर्को कुरा हो।” वैद्यले आफ्ना पपेटहरूलाई औँल्याउँदै व्याख्या गर्न थाले।

यत्तिकैमा एउटा सा–सानो कदको पपेट चिया टक्र्याउन आइपुग्यो। त्यो पपेट देख्दा टि.आर. छक्क परे। लचकदार चाल, ठूला–ठूला काला आँखाहरू, हँसिलो परेको बनौट! कसरी सम्भव भयो यी वृद्धका घरमा? टि.आर.को मनमा प्रश्न जन्मियो।

“तपाईंको पपेट यति जीवन्त कसरी?” उनले प्रश्न फ्याँके।

“मेरो क्षमता मान्नुस् यसलाई।” वैद्यले व्यङ्ग्यात्मक हाँसो छोड्दै भने– “भावनाको कुरा हो। तपाईं युवा! पानी ओरालो बग्छ भन्ने जान्नुहुन्छ तर पानी उकालो चढेको मान्नुहुन्न। पानी ओरालो बग्नु सर्वमान्य सिद्धान्त हो भने पानी उकालो चढ्नु व्यक्तिमा निहीत भावनामा भर पर्दछ। ठान्नुस् त्यो भावना ममा पर्याप्त छ।”

वैद्यको फिलोसोफिकल व्याख्या टि.आर.ले सुनिरहे।

उनलाई फिलोसोफीमा भने कुनै चाख छैन। तसर्थ वैद्यको कुरो थोरै मात्र बुझे र भने– “केही दिनका लागि पपेट हाउसमा लगेर मर्मतका लागि छोडिदिने बिचारमा छु।” टि.आर.ले योजना सुनाए।

“त्यो दीर्घकालीन समाधान होइन।” वैद्यले असहमति जनाए।

वैद्यलाई टि.आर.को पपेटको ब्राण्डबारे राम्रो जानकारी छ। त्यहाँका पपेटले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो वर्चस्व राखिसकेका छन्। वास्तबमै त्यो पपेट हाउसका हरेक पपेटहरू लोभलाग्दा र आ–आफ्नै विशेषताले युक्त छन्। हरेक सिजन, हरेक पर्वपिच्छे पपेटका पहिरनहरू अहिलेको बाहिरी फेसन अनुकुल फेरिन्छन्। त्यो पपेट हाउसलाई ऐतिहासिक माने पनि हुन्छ। पुस्तौँदेखि नाम चलिआएको। त्यसैले पपेट हाउसमै फिर्ता पुर्‍याइहाल्नुभन्दा पपेटका लागि अलिकति समय छुट्याउनु भन्नेमा पुगे मिस्टर वैद्य।

“तपाईं केही दिन पपेटका कुराहरू सुन्नमा बिताउनुहोस्।” वैद्यले सुझाव दिए।

“यो सम्भव छैन।” टि.आर.ले कुरो टुङ्ग्याए।

“मनको कुरा हो टि.आर.बाबु!” वैद्यले जोड दिए।

“मन भन्दैमा सबै संभव हुनसक्दैन नि!” टि.आर.बोले।

“टि.आर.बाबु, तपाईंमा ईगोको मात्रा बढेको छ।” वैद्यले भने।

केहीबेर दुईबीच मुखौरी नै चल्यो। टि.आर.को आफूले गरेको ठीक, आफू हरकुरामा ठीक भन्ने बानी पुरानो हो जसलाई उनी सजिलै सुधार्ने पक्षमा छैनन्। अब जाबो पपेटको असन्तुष्टि सुल्झाउन महत्वपूर्ण दैनिकीलाई कसरी मोड्न सक्छन् उनी?

“बिहानको मर्निङ्ग वाक, दिउँसोको अफिस, साँझ साथीभाइसँगको गफसफ, खानापछिको समयमा वेबसाईटको व्यस्तता। मसँग समय कहाँ छ र?” टि.आर.आफ्नो व्यस्तता सुनाउँछन्।

“राईट! विक–एण्डको टाइम छुट्याउनुहोस्।” वैद्यले उपाय बताए।

“नो…नो…नो… वेलफेयर सेन्टरका लागि समय दिनुपर्छ।” त्यो पनि टि.आर.बाट सम्भव नहुने भो।

“तपाईं आफूलाई कत्तिको सोसियल मान्नुहुन्छ?” वैद्यले प्रश्न गरे।

“पूर्णतः।” टि.आर.को जवाफ।

“टोटल्ली अनसोसियल हुनुहुन्छ तपाईं।” वैद्यले सिधै भनिदिए। सोसलाइजेसनको कुरा कहाँबाट सुरु भएर कहाँ गएर पूर्णता प्राप्त गर्छ, त्यसको मापदण्ड तोकिएको छैन। तर मिस्टर वैद्यलाई सोसाइटी एउटा व्यक्तिको निजी घरबाट सुरु हुन्छ भन्ने राम्रो थाहा छ।

“एक हप्ता छुट्टी मनाउन पपेटलाई सँगै लिएर कतै जाने कोशिस अवश्य गर्नुहोस्। शायद केही फरक पाउनुहोला कि?” अन्तिम सल्लाहको वाक्यांश बोले।

आफ्नै कुरामा ढिठ भएर लागेको मान्छेसँग कसैको केही लाग्दैन। पपेटले असन्तुष्टि देखायो भने उसको असन्तुष्टि के हो? त्यसको लागि के गर्न सकिन्छ? जस्ता सामान्य कुरामा विचार गर्न अवश्य सकिन्छ। मिस्टर वैद्यलाई टि.आर.को सोंच फराकिलो लागेन। तैपनि उनले जति बोले सामान्यतः एक बौद्धिक व्यक्तिले प्रष्टसँग बुझने गरी बोले।

कोठामा टिर्रर… .टिर्रर…. अलार्म बज्यो। पपेटले डक्टरसँग वैद्यको एपोइन्टमेन्ट सम्झाउन सेट गरेको अलार्म आवाज थियो त्यो। पपेट र वैद्यबीचको घनिष्टता टि.आर.ले राम्ररी देखे। वैद्य डाक्टरकहाँ जाने समय भयो भनेर निस्कन लागे।

वैद्यका सल्लाहका बाबजुद पनि मिस्टर टि.आर.ले अबको योजना के भन्नेबारे नबोली घर फर्किए। घरको मेनगेटसम्म पुगेका मात्र के थिए उनकै काँधमा ठोक्किदै ठम्ठम् हिँड्दै पपेट बाहिरियो। “कत्रो दुःख गरेर खोजी ल्याएको पाँचौँ पपेट पनि आखिर साक्षात आइमाई नै रहिछे।” मिष्टर टि. आर. बर्बाराउँदै भित्र छिरे।

-सञ्जु बजगाईं/ब्रसेल्स, बेल्जियम

[FOR ORIGINAL STORY : Apple App  store मा जानुस अनि search मा type गरेर “Real Maid” type गर्नुस त्यहाँ paying र free खालका धेरै comics हरु देखिन्छ । तपाईं download गर्न सक्नुहुन्छ अनि ति सबै कथाहरु doll/puppet/dummy संग  related  छन् जुन चित्रामक छन् । यो कथा पनि ति मध्ये कुनै औटा कथा बाट characters हरुको नाम मात्र change गरेर translation गर्नुभएको छ सञ्जु बजगाईं जीले  – sarozz]

(स्रोत : Mysansar.com)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *