पुस्तक अंश : यसरी जन्मे राजकुमारहरु

~किशोर नेपाल~Kishore Nepal

राजाहरू थुप्रै स्वास्नीमानिसका मालिक हुन्थे। रानी र पटरानीका रूपमा विभाजित ती स्वास्नीमानिसका बीच राजाको प्रियपात्र बन्ने होड चल्थ्यो। अविरल महत्वाकांक्षा राख्ने स्वास्नीमानिसमा राजालाई रिझाउने होड चल्थ्यो। आफ्नो सौन्दर्य र रतिरागको प्रभावमा जसले राजालाई रत्याउन सक्थी उही बन्थी पटरानी। अरू रानीको तुलनामा पटरानी शक्तिशाली मानिन्थी। तर, उसको शक्ति राजाको अंगालोमा पुगेपछि आफैं संकुचित भएर पग्लिने गर्थ्यो। पटरानीले राजाको अंगालोमा तृप्ति पाउन सक्दैनथी, किनभने त्यति धेरै स्वास्नी राख्ने राजा न कसैलाई तृप्ति दिन सक्थे, न आफैं तृप्तिको स्वादमा डुब्न। धेरै राजा शारीरिक स्वभावले कामुक भएर पनि आफ्नो उत्तराधिकारीसम्म जन्माउन नसक्ने गरी नालायक हुन्थे। त्यतिबेलाका राजा अक्सर सिकारका लागि जंगलमा भौंतारिइरहेका हुन्थे। जतिबेला सिकार खेलिरहेका हुँदैनथे त्यतिबेला लडाइँ खेल्ने काममा व्यस्त हुन्थे। युद्धमा विराम लागेका बेला, सिकार बन्द भएका दिन राजाको मनोरन्जनका लागि एक हुल रानी पछिपछि लागेका हुन्थे दरबारका कोठाहरूमा। तर, त्यस्ता रानीलाई तृप्त गराउन अक्षम हुन्थे राजाहरू। रतिको चर्को मागलाई उनीहरूको पुरुषार्थले थेग्न सक्दैनथ्यो। त्यसैले राजाबाट अतृप्त रहेका कामोन्मादी रानी र महारानी तबेलामा गएर घोडाहरूसँग दृष्टि जुधाएर आल्हादित हुने गर्थे। यही आल्हाद र उन्मादका बेला घोडाका सइसहरूलाई आफ्नो शारीरिक सन्तुष्टि र यौनिक तृप्तिका लागि प्रयोग गर्थे। त्यस्तै संसर्गबाट जन्मिने गर्थे युवराज र राजकुमारहरू।

फैलिन नसक्ने काठमाडौं
अहिले सहरभित्रका मानिसले पाखे भनेर गिज्याउने सहरबाहिरका थुप्रै गाउँको स्वरूप र स्वभाव दुवै बदलिइसकेको छ। धेरै सहरिया चक्रपथबाहिर विस्तारित भइसकेका छन्। तैपनि सहर फैलिएको पत्याउन अझै तत्पर देखिँदैनन् सहरियाहरू। धेरै पुस्तासम्म तिब्बत र कलकत्तामा व्यापार गरेर फर्किएका तुलाधरहरू सहरको विस्तार भएको मान्न तयार नै देखिँदैनन्। यतिका वर्ष बितिसक्यो चक्रपथ बनेको। केही दिनअघि एउटा मिटिङमा सानुकाजी तुलाधर भन्दै थिए, “रोम फैलिन सक्दैन भने काठमाडौं कसरी फैलिन सक्छ? रोम पनि पुरानो सहर हो। हाम्रो काठमाडौं पनि कम पुरानो सहर हो र! मल्लकाल, लिच्छवीकाल सबै कालमा थियो यो सहर। रोम फैलिन सक्दैन भने काठमाडौंमात्र फैलिन सक्छ भन्नु त भएन नि! इतिहास हेरेर विश्लेषण गर्नुपर्‍यो।“

जुन कुरा फैलिन सक्दैन त्यो भासिन्छ भन्ने तथ्य सानुकाजीलाई थाह थिएन। फैलिन नसक्ने वस्तुसँगै त्यसको इतिहास पनि भासिन्छ। ठिक त्यतिखेर काठमाडौं सहरका केही भाग भासिँदै थिए। ह्युमत टोल भासिएको खबरले काठमाडौंमा हल्लीखल्ली मच्चिएको थियो। कसरी भासियो ह्युमत टोल, टोलका बासिन्दा चिन्तित थिए। भासिँदा–भासिँदै टोल कति गहिरो भासिने हो? भासिएर कतै पाताल नै त हुने होइन? मानिसको बासको ठेगान थिएन। टोलवासीलाई त्यहाँबाट हटाएर अन्तै बस्ती बसाउनु पनि सजिलो थिएन। टोलमा घरबार छाडेर खुला ठाउँमा बसाइ सर्न चाहनेभन्दा आफू बस्दैआएको घर कुनै अवस्थामा पनि छाड्न नचाहनेको संख्या बढी थियो। उनीहरूका लागि घर छाडेर अन्यत्र जानुभन्दा जन्मिएको घरमा धर्तीसँगै भासिएर मर्नु बढी महŒवपूर्ण थियो।

सानुकाजीले अचानक मसँग सोधेका थिए, “त्यौडमा पाइनेजस्तो मःम तपाईंको टोलमा पाइन्छ त? ल, ल, ल भन्नोस् त बहिनी, के रे, कस्तो अप्ठेरो नाम छ हगि, तपार्इंको!”

सानुकाजीलाई मेरो नाम उच्चारण गर्न नआउने त हुँदै होइन। उच्चारण गर्न अप्ठेरो लाग्ने पनि होइन। उनी मलाई सधैं यसरी नै जिस्क्याउने गर्थे। एउटा ‘ल’ले पुग्ने ठाउँमा तीनपटक ‘ल’ उच्चारण गर्थे। मेरो आँखासँग आफ्नो आँखा जुधाएर बोल्ने साहस कहिल्यै जुटाउन सकेनन् उनले। आँखाको कुनाबाट कर्के चियाएर उनी मप्रति उनमा रहेको आकर्षण व्यक्त गर्न खोज्थे। उनको यो अभिनय मन पर्थ्याे मलाई। खानदानी नेवारहरूको व्यवहार निकै परिष्कृत हुने गर्थ्यो। सानुकाजी भने अलि बढी नै नेवार थिए। उनी आफ्ना छरछिमेकका नेवारले नेवारी भाषा नबोलेकोमा कुपित हुन्थे। त्यतिखेर सरकारी जागिरमा लागेका खानदानी नेवार आफ्ना छोराछोरीलाई घरभित्र र बाहिर पनि नेपाली भाषामा बोलचाल गर्न प्रेरित गर्थे। सानुकाजीका यस्ता धेरै मित्र थिए जो नेवारी भाषाको भविष्यप्रति नै सशंकित थिए। उनीहरू केटाकेटीलाई भन्थे– नेवारी भाषामा माया गर्नुभन्दा बरु नेपाली भाषामा बाझेकै बेस। जुन भाषा सिक्ने हो सबभन्दा पहिले त्यो भाषाको गाली सिक्न सके भाषा छिटै जानिन्छ।

त्यौडको ममको चर्चा सुनेपनि मैले खाएको थिइनँ। यतिबेला सजिलो र सुरक्षित खाजाका रूपमा मःमको प्रतिष्ठा स्थापित भएपनि ऊजमानामा यसको प्रभाव सीमित थियो। सहरबाहिरका मानिस मःम पसल देखेपछि अलिकति छड्किएर हिँड्थे। सहरभित्र तयार पारिने मममा भैंसीको मासुमात्र प्रयोग हुने विश्वास मेटिएको थिएन। भैंसीको मासुले बनेको मःममा जति स्वाद हुन्छ, अरू मासुले बनेको मममा त्यस्तो तिख्खर स्वाद हुँदैन भन्थे ममका पारखी। पारखीमा पनि धेरै नयाँ पारखी मःमका लागि बनाइएको तिल र पिनाको अचारको स्वादमा अल्मलिएका भेटिन्थे। खाजाका रूपमा मात्र होइन, परेका बेला पुरै खानाको काम गर्ने भएकाले पनि मःमले आफूलाई कामको खोजीमा दिनहुँ सहर पस्ने मानिसहरूसंगै स्थापित गर्दै लगेको थियो।

काठमाडौमा मध्यमवर्गको विकास

बानेश्वर ब्यारेकको दक्षिणपट्टि चक्रपथ निर्माण सुरु भएका बेला काठमाडौं पूर्ण क्षमतासहित आन्दोलित थियो। त्यतिखेरको राजनीतिक व्यवस्थाले पढेलेखेका मानिसलाई आफ्नो प्रतिनिधि विधायिकामा पठाएर सहज ढंगले सरकार चलाउन भोट खसाल्ने अधिकार दिएको थियो। स्नातक तहको जाँचमा उत्तीर्ण भएका सीमित व्यक्तिबाट प्रत्यक्ष उम्मेदवार चुनेर विधायिकामा प्रतिनिधित्व गराउने त्यो चलन पढेलेखेकाहरूको विद्रोही स्वभावलाई निरस्त गर्न ल्याइएको थियो। स्नातक निर्वाचन भनिने यस्तो चुनावमा त्यो वर्ष एकजना विद्रोहीले पढेलेखेका मानिसको भोट पाएर चुनाव जितेपछि सरकारी मानिस उसका विरुद्ध खनिएका थिए। एकैजना मानिसले पुरै सहर तताइदिएको थियो त्यसबेला। सामान्य मानिस राजनीति शब्दसँग नै आतंकित हुने गर्थे। राज्यले राजनीतिलाई मानिसका भावनासँग जोडिन दिएको थिएन। मानिसहरू भावहीन थिएनन्। प्रत्यक्षतः काठमाडौंका मानिस आफ्ना भावनालाई दबाएर राख्न खप्पिस मानिन्थे। परोक्षमा, काठमाडौंका ऐतिहासिक गल्ली र लस्करै जोडिएर बनेका घर विरोधीहरूको अभेद्य किल्लाका रूपमा थिए। त्यतिबेलाका कतिपय राजनीतिक कार्यकर्ता वर्षौं काठमाडौंका गल्ली र चोकमा भूमिगत रहेर आफ्नो अस्तित्व रक्षा गर्थे।

मलाई त्यतिखेर लागेको थियो– हामीजस्तै लुकामारीको खेल खेल्दैछन् सरकार र विद्रोहीहरू। सरकार विद्रोहीलाई पक्रिन पनि सक्दैनथ्यो र विद्रोहीहरू सरकारबाट उम्किन सक्ने अवस्थामा पनि थिएनन्। त्यसैले पनि होला, आन्दोलन धेरै समय टिक्न सकेको थिएन। आन्दोलन सकिँदा नसकिँदै चक्रपथले सहर घेर्न थालिसकेको थियो। चक्रपथभित्र पर्न नपाएका बस्ती सहर सीमामा बस्न नपाएकोमा चुकचुकाइरहेका थिए भने सहरको सीमा फराकिलो पारिएकाले सहरियाहरू सरकारसँग असन्तुष्ट थिए। अभ्यन्तरमा सहर आफ्नैमात्र हो भन्ने भावनासँग बलपूर्वक गाँसिएका सहरियाहरू आफ्नो छेउछाउमा अरू पनि आएर बसुन् भन्ने चाहँदैनथे। उनीहरू अलि परै राख्न चाहन्थे बाहिरियाहरूलाई। चक्रपथले सहरलाई केही बाहिरसम्म फैलाएको थियो। धेरै गाउँ र बस्ती बहरसँग जोडिन सकेका थिएनन्। सहरको पुनर्संरचना मन फुकाएर गरिएको थिएन। तैपनि, चक्रपथको निर्माण काठमाडौं सहरको लाभ र उन्नतिका लागि चमत्कारजस्तै सावित भयोे।

लामो समय सुनसान रहे पनि चक्रपथको निर्माणपछि भर्खरै सहरमा रूपान्तरित भएका काँठकछाडका जमिनको मूल्य दिन दुगुना र रात चौगुनाको दरले बढ्न थाल्यो। सडक घेराले जमिन छुनेहरू रातारात करोडपति बन्न थालेका थिए भने सहरको घेरासम्म पहुँचमात्र हुनेहरूको पनि भाग्यको ढोका खुल्यो। भाग्योदय एकलाख रुपैयाँ पुरस्कार दिने एकमात्र चिट्ठा थियो त्यतिखेरको काठमाडौंमा। चक्रपथ बनेपछि त्यसभित्रका बासिन्दा सबैलाई भाग्योदय चिट्ठा पर्‍यो। सबै चिट्ठा नकिनीकनै लखपति बने। सहर अलिकति खुला र खुकुलो बन्यो। तर, निकै लामो समय फैलिन भने सकेन। फैलिन थालेपछि बेगुनबेलीको बिरुवा झाँगिएझैं झाँगिन थाले बस्तीहरू।

जनमत संग्रहको माहौल

छत्तीस सालभरि नै कलेजमा पढाइ भएन। त्यतिबेला सारा मुलुक जनमत संग्रहमा लागेको थियो। जनमत संग्रहको हावा हाम्रो घरमा पनि लागेको थियो।

मलाई निलो रंग मन पर्छ जीवनमा पनि र जगतमा पनि। त्यसबेला कलेजमा म पनि निलो रंगको पक्षमा लागेकी थिएँ। निलो झन्डा घुमाएर प्रजातन्त्रको पक्षमा भोट माग्दै हिँड्दा मेरो छाती गर्विलो हुन्थ्यो। तर, मनमा लागेको केही पनि गर्न नपाउने बाध्यतामा दबेकी थिएँ म। बुवा र दाजु दुवैले मलाई निलो रंगको अभियानमा नलाग्नु त भनेका थिएनन्, तैपनि घरको वातावरण बाहिरी वातावरणसँग अनुकूल थिएन। एक दिन डाइनिङ टेबुलमा बसेका बेला दाजुले भन्यो, ‘हामी व्यवसाय गर्नेहरूका लागि के निलो के पहेँलो! आकास कालो बादलले नढाकोस्, अतिवृष्टि नहोस्, अर्डर र सप्लाई निरन्तर रहोस्, त्यति भए चलिहाल्छ जीवन। सरकारमा जो आए पनि चलिरहेको व्यवस्थामा असर नपरोस्। त्यत्ति भए पुग्छ।’

दाजुको भनाइ सोझो थियो। उसको यो भनाइ मप्रति नै लक्षित थियो। घरमा निलो झन्डा बोकेर हिँड्ने मबाहेक अरू कोही पनि थिएन। मैले बुझिहालेँ– दाजु चुनावको कुनै पनि अभियानमा मेरो रत्तिभर संलग्नता नरहोस् भन्ने चाहन्छ। अवसर र फाइदाका लागि मानवीय सम्मान र सामर्थ्यको आहुति दिन पनि पछि नपर्ने काठमाडौंको व्यापारिक मनोवृत्तिको नमुना थियो यो। बुवा र दाजु दुवै घुमाउरो ढंगले पहेँलो रंगको प्रचारमा लागिसकेका थिए। स्थापित सत्ताविरुद्ध हिँड्ने साहस थिएन दुवैमा। उनीहरूका अगाडि मैले निलो रंग मनपर्छ भन्नसम्म पनि पाइनँ।

मलाई निलो रंग किन मन परेको हो? म आफैंले अझै बुझ्न सकेकी छैन। मेरा छनोटका कपडा धेरैजसो निलो रंगका नै हुन्छन्। त्यति हो कि मलाई निलो रंग सधैं मनपर्छ। मनपर्‍यो भन्दैमा बाबु र दाजुको मतसँग मत बझाउन सक्ने ताकत थिएन मसँग। मैले उनीहरूका अगाडि आफ्नो धारणा राख्नुको कुनै अर्थ पनि थिएन। स्थापित मान्यताका विरुद्ध अग्रसर भएर करोडको अंकसम्म पुगिसकेको कारोबारलाई खतराको विन्दुमा अड्काउन ठूलै छाती चाहिन्छ। बुवा र दाजु दुवैको छाती सायद सानो पनि थिएन। तर, त्यतिबेला त्यो खुम्चिएको थियो।

[वरिष्ठ पत्रकार किशोर नेपालको प्रकाशित उपन्यास ‘पाताल’ बाट]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पुस्तक अंश | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *