कथा : धुवाँ

~मातृका पोखरेल~matrika pokhrel

‘फ्रष्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो । निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो ।

‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरुको सालिक यहाँ बनाउन पाइँदैन ।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा करायो ।

यो चोक बजारमा त्यो बौलाहा जहाँ पनि जतिबेला पनि उपस्थिति हुन्छ । समय–समयमा वस्तीतिर पनि गइरहन्छ । ऊ अरु बौलाहाजस्तो बौलाहा भने होइन । मानिसहरुसँग सभ्य र शिष्ट व्यवहार गर्छ । दुःख र अन्यायमा परेका मानिसहरुलाई सल्लाहमात्र होइन, प्रतिबद्ध भएर सहयोग पनि गर्छ । ऊ यो भेकमा ‘फ्रष्टेड बोलाहा’का रुपमा प्रख्यात छ । तर उसको वास्तविक नाम शशीराज थापा हो । एउटा बोरा ओडेर हिंड्छ ऊ । एउटा लौरो पनि बोक्छ । कसैको घरमा गएर ऊ त्यसै खाँदैन । त्यहाँका केही काम गरिदिन्छ । उसले जीवनको लामो खण्ड राजनीतिमा वितायो । त्यसबेला पनि ऊ इमान्दार व्यक्तिको रुपमा परिचित भयो । उसले आफ्ना क्रियाकलापहरुमा परिवर्तन गर्दै जान थाल्यो । त्यसपछि ऊ शशीराज थापाबाट ‘फ्रष्टेड बौलाहा’ बन्यो । अविवाहित थियो र अहिलेसम्म पनि अविवाहित नै छ । यो बजार वरिपरि मात्र होइन, टाढा–टाढाका गाउँ–वस्तीहरुमा समेत ऊ परिचित छ ।

हिजोआज यो बौलाहा स्थानीय पार्टी नेताहरुको आँखामा कसिंगर बनिरहेको थियो । तर ऊ नयाँ पुस्ताका युवाहरुको मन जित्न पनि उत्तिकै सफल भएको थियो । ऊ सत्ता नजिकका मानिसहरुको कसिंगर बन्नेक्रम निकै लामो छ । निरंकुश पंचायतकै समयमा प्रधानपञ्चमा चुनाव उठ्ने निहुँ गरेर उसले पंचायती व्यवस्थाको खिल्ली उडायो । पंचायती सरकारको आँखामा ऊ खतरनाक शत्रु बनेको थियो त्यसबेला । संसदीय राजनीतिको बाह्र वर्षमा पनि ऊ एमाले, कांग्रेस र राप्रपाजस्ता पार्टीहरुको आँखामा बिझाइरह्यो । शाही शासनकालको समय उसका लागि धेरै कष्टपूर्ण रह्यो । जनस्तरबाट ठूलो आवाज नउठेको हो भने माओवादीको आरोपमा ऊ मारिने अवस्थामा पुगेको थियो । तर ऊ बौलाहा भनिएर मात्र बाँच्न सफल भयो ।

बजारको बीचमा एउटा सानो चोक छ । चोकको बीचमा वरिपरि पर्खाल लगाएर घेरिएको एउटा सानो पार्क पनि छ । तर त्यो पार्क केही महिनादेखि अलपत्र र लथालिङ्ग अवस्थामा छ । निर्माण गर्दागर्दै स्थानीय युवा विद्यार्थीहरुले पार्कको बीचमा पंचायतकालमा मारिएका एकजना सहिदको सालिक राख्ने प्रस्ताव राखे । त्यो प्रस्तावका कारण त्यहाँ निकै ठूलो राजनीतिक हल्लीखल्ली मच्चियो । विद्यार्थीहरुको प्रस्तावमा फ्रष्टेड बौलाहाले समर्थन मात्र जनाएन, अरुको सहयोग जुटाउने अभियान नै पनि थाल्यो । अचेल यो महत्वपूर्ण विवादलाई लिएर फ्रष्टेड बौलाहाले नयाँ पुस्ताको चेतना र चिन्तनलाई बोकेर नेतृत्व नै लिएको छ ।

“सहिदको नाममा यहाँ कम्युनिष्टको सालिक राख्न दिनुहुन्न । बरु सालिक राख्ने नै हो भने हाम्रा पार्टीका नेताको राख्नुपर्छ ।” पंचायतकालका यही गाउँ पंचायतका प्रधानपञ्च र बहुदलकालका गा.वि.स. अध्यक्ष भइसकेको जनता पार्टीका नेता रंगध्वजले युवा विद्यार्थीहरुको प्रस्तावको बिरुद्धमा एउटा मोर्चा नै खडा ग¥यो । युवा विद्यार्थीहरुको प्रस्तावमा दिनहुँ जनसमर्थन बढ्दै गयो । “एउटा सभा गरेर हामीले जनसमर्थन बटुल्नुपर्छ ।” एक दिनको कोठे भेलामा रंगध्वजले आफ्ना सहयोगीहरुसँग यस्तो प्रस्ताव राख्यो । रंगध्वज र उसका सहयोगीहरुले सभा गर्ने दिन त तोके, तर युवा र विद्यार्थीहरुको पक्षमा दिन दुईगुना रात चौगुनाको दरले समर्थन बढिरहेको थियो । पार्कभित्र राख्ने सालिकका बारेमा विवाद बढ्दै गएपछि अलिकति आकार लिन थालेको पार्क पनि क्रमशः भत्कदै र विद्रुप बन्दै गइरहेको थियो ।

“हाम्रो पार्टीको आदरणीय नेताको सालिक नराख्ने हो भने यहाँ हामी कसैको पनि सालिक राख्न दिँदैनौं ।” रंगध्वजले सभामा चुनौति र धम्कीका शब्दहरु वर्षाए । सभामा मानिसहरुको उपस्थिति अत्यन्तै कम थियो । उसले सभाको यो हालतको कल्पनासम्म पनि गरेको थिएन । सभामा रंगध्वजले औंला सोझ्याएर मान्छेहरुको गिन्ती ग¥यो । एक.. दुई…, चौध…. पन्ध्र । फेरि ग¥यो । उही पन्ध्रजना ।

“पन्ध्र जनाको सभा त साह्रै लाजलाग्दो भयो ।” एकजना सहयोगीले रंगध्वजकै अघिल्तिर निरास सुस्केरा छाड्यो ।
यो कुरालाई रंगध्वजले नसुनेझैं गरेर एकपटक आफ्नो अतीततिर फर्कियो । ऊसँग त्यस्ता दिनहरु पनि थिए, जुन दिन यी सभामा जम्मा भएका मानिसहरु सदादिन उसकै अघिपछि भइरहन्थे । सभामा मानिसहरुको उपस्थिति देखेर ऊ ज्वालामुखी फुट्न लागेको पहाडझैं क्रोधित भइरहेको थियो ।

रंगध्वजको सभा कोणसभाझैं क्षणभरमैं सकियो । सभालाई अन्त गरेर उसले पाइला मात्र के अघि बढाएको थियो, बजारको तल्लो चोकतिरबाट एउटा ठूलो जुलुस आफैं भएतिर आउँदै गरेको आवाज सुन्यो । उसले जुलुसका मान्छेहरुको आवाजलाई ठम्याउने कोशिस ग¥यो । आवाजले बुझिन्थ्यो– जुलुस निकै ठूलो थियो ।

‘ओहो जुलुस त ठूलो रहेछ !’ उसकै सहयोगी रघुवीरले ठूलो स्वरले प्रतिक्रिया दियो । रंगध्वजलाई रघुवीरसँग भित्रभित्रै रिस उठ्यो ।

जुलुस आएको बाटोबाट अलिकति पछि फर्किएर रंगध्वज एउटा गल्लीतिर पस्यो । केही सहयोगीहरुलाई लिएर रंगध्वज भाग्दै पूर्वतिरको मूलबाटो निस्कियो । मुलबाटोमा निस्किएपछि उसलाई झन् डर लाग्यो । ऊ फेरि अर्को गल्लीतिर पर वेग बढिरहेको श्वासलाई रोकेर ऊ एकपटक पछिल्तिर फर्कियो । जुलुसबाट चर्को नारा गुन्जिरहेको थियो । नारामा आफ्नो नाम मिसिएको पनि सुन्यो उसले । उनी आफ्ना भयग्रस्त जीवनका अतीततिर फर्कियो । पंचायत ढलेर बहुदल आउँदा पनि उसको जीवन कम त्रासपूर्ण थिएन । तर विस्तारै उनले एउटा पार्टी समातेर गा.वि.स. अध्यक्षसम्म भयो । उनको आँखामा यस ठाउँमा शासन गरेका आफ्ना स्वर्गीय दिनहरु नाच्न थाले ।

“तर समय अब मेरो मुठ्ठीबाट टाढा पुगिसक्यो !” उसले फेरि वर्तमानतिर फर्केर सोच्यो ।

“सहिदहरुलाई बिर्सेर यहाँ भ्रष्टहरुको सालिक राखिन्छ भने अब यस ठाउँमा मानिसहरु नबसेर मुर्दामात्र बसे हुन्छ ।” माइकबाट ठूलो स्वरले फ्रस्टेड बौलाहा कराइरहेको थियो ।

“केटाहरु अब हामीले ठण्डा भएर सोच्नुपर्छ ।” रंगध्वजको अनुहार पानी पर्नुभन्दा अघिको वातावरण शान्त भएझैं देखियो ।

“यो सबै भाँड्ने काम त्यही बौलाहाको हो । त्यसले यो सबै गाउँ टोललाई नै उचालेको छ ।” हुल्लड–बाजको रुपमा कुख्याती कमाएको उसको सहयोगी नरेन्द्रले परिस्थितिको विश्लेषण गर्न खोज्यो ।

“अब यहाँ त्यो एउटा बौलाहा मात्र छैन । सयौं बौलाहाहरु जन्मिसकेका छन् । ती सबै बौलाहाहरु सदाचार, नैतिकता र जीवन मूल्यको कुरा गर्छन् ।” रंगध्वजले परिस्थितिको गम्भीर आंकलन ग¥यो ।

“अब हामीले नयाँ ढंगले चल्न सक्नुपर्छ ।” अर्को सहयोगीले रंगध्वजलाई आफ्नो रणनीति परिवर्तन गर्ने सल्लाह दियो ।
उसले रंगध्वजको कानमा सुटुक्क केही कुरा फुस्फुसायो । एकछिन अघिल्तिर अँध्यारो पोतिएको रंगध्वजको अनुहारमा फेरि उज्यालोको किरण पोखियो ।

रंगध्वज टाउको हल्लाउँदै विस्तारै उठ्यो । र सहयोगीहरुलाई लिएर फेरि गल्लीको अर्को दिशातिर अलप भयो ।

“आज राति फ्रस्टेड बौलाहा मरेछ !” रेडियोले प्रसारण गरेको समाचारझैं यो खबर छिनभरमैं चारैतिर फैलियो । विहानै नुहाउन नदी किनारतिर जाने कोही मान्छेले उसको मृत्युको खबर एकांकानु मैदान हुँदै सारा बजार र वस्तीभरि फैलियो ।
विहान उज्यालो हुनेबित्तिकै फ्रस्टेड बौलाहाको मृत्यु बजारवासीहरुका लागि असामान्य समाचार बन्यो । धेरैले ‘होइन होला’ भनेर शंका व्यक्त गरे । बजारका प्रायः सबै मानिसहरुको अनुहारमा चिन्ताका धर्साहरु देखिए । रंगध्वज र उसका केही सहयोगीहरु भने केही हतास भएजस्ता देखिन्थे । बौलाहाको मृत्युको जनचासोले झन् उनीहरुको हतासपन बढ्दै गयो । यी दुवै प्रतिक्रियाहरु त्यहाँ प्रष्टै देखिन्थे र बुझिन्थे । फ्रस्टेड बौलाहाले आफूलाई फ्रष्टेड राजनीतिक कार्यकर्ता भनेर परिचय दिन्थ्यो । त्यसैले उसको नाम नै फ्रष्टेड बौलाहा भनेर परिचित बन्यो ।

“मलाई फ्रस्टेड बौलाहा भने केही फरक पर्दैन !” सबैसँग ऊ हाँसेरै यसो भन्थ्यो ।

सबैले बौलाहा भनिदिएर मात्र ऊ बौलाहा भयो । ऊ एक्लो थियो । राजनीति ग¥यो, अविवाहित बस्यो । छयालीस सालको आन्दोलनपछि उसले आफ्नो बाटो भत्कियो भन्न थाल्यो । आफ्ना साथीहरुको सत्तामोहपछि उसले पार्टी छाडिदियो । केही समयपछि आफ्नो सम्पत्ति आफ्नै परिश्रमले खोलेको गाउँको विद्यालयलाई दियो र त्यही विद्यालयमा निःशुल्क पढाउन थाल्यो । त्यसपछि सबैले उसलाई बौलाहा भनिदिए । उसले मानिसहरुको भनाइलाई अस्वीकार गर्दै हिँडेन । वास्तवमा ऊ बौलाहा थियो कि थिएन, उसको मृत्युपश्चात्सम्म पनि रहस्यकै विषय बन्यो ।

उसको तर्क गर्ने शैली बडो अचम्मको थियो । सत्य र न्यायको पक्षमा डटेर लाग्थ्यो । अन्यायी र शोषकहरुको ऊ हुर्मत लिन्थ्यो । बजारका जाली–फटाहाहरु ऊसँग त्राहीमाम हुन्थे । उनीहरु ऊसँग छलिएर हिँड्थे र अघि पर्ने साहसै गर्दैनथे । विहान सबेरै बजार र टोलका मानिसहरु बौलाहाको लास हेर्न सुनकोशी बगरतिर दौडिए ।

“यो मृत्यु स्वभाविक होइन !” उसको लासलाई हेर्नेबित्तिकै एकजनाले अर्कोको कानमा फुसफुसायो ।

“स्वभाविक नभएको भनेको के ?” अर्कोले सोध्यो ।

“हत्या !” अर्कोले थप्यो ।

“पक्कै हो !” त्यो मान्छे कन्भिन्स भयो ।

“घाँटीमा डोरीले कसिएको निलडाम छ ।” भीड अघिल्तिरबाट एउटा आवाज आयो ।

त्यसपछि भीडमा फेरि मानिसको ठेलमठेल शुरु भयो ।

“हत्या नै हो !” सबैको यही ठहर भयो ।

“कसले, किन मा¥यो ?” भीडमा कसैले अर्को प्रश्न उठायो ।

“यो पनि बुझ्न अप्ठ्यारो छ र !” एकजना विद्यार्थीको आक्रोश सुनियो ।

“यहाँ ठूलो षडयन्त्र छ !” अर्को विद्यार्थीको स्वर चर्को भयो ।

“यी बौलाहा हाम्रो समाजका मणि हुन् । सम्मानका साथ यिनको अन्त्येष्टि गर्नुपर्छ ।” शिक्षक रामानन्दले विद्यार्थीहरुतिर फर्केर समर्थनको आग्रह गरे ।

“पहिले पोष्टमार्टम गर्नुपर्छ ।” फेरि अर्को मत सुनियो ।

मानिसहरुको एउटा ठूलो समूह लास लिएर अस्पतालतिर गयो । अस्पताल वरिपरि मानिसहरुको ठूलो भीड लाग्यो । पोष्टमार्टममा षडयन्त्र हुनसक्ने त्रासले मानिसहरु खबरदारी गरिरहेका थिए ।

अस्पतालमा भीड बढ्दै गएपछि केही मान्छेहरु बजार चोकको चियापसलमा झुम्मिए ।

“त्यो मान्छे बौलाहा थिएन ।” शिक्षक दिनानाथले चिन्तित मुद्रामा आफ्नो भनाइ राखे ।

“बौलाहा थिएन भने उसको जीवन किन अस्वाभाविक थियो ?” चियापसले एकाएक जिज्ञासु भयो ।

“उसले आफ्नो आस्था र विचारलाई क्रियान्वयन गर्न सजिलो बनाउन त्यसो गरेको हुनसक्छ ।” शिक्षक दिनानाथ फेरि गम्भीर देखिए ।

“मलाई पनि यस्तै लागेको हो ।” अघिसम्म शंका व्यक्त गर्ने पसले पनि आफ्नो विचारलाई परिवर्तन गर्दै थियो ।

“बौलाएजस्तो नगरेको भए के हुुन्थ्यो ?” अर्का कर्मचारी फेरि जिज्ञासु देखिए ।

“बौलाहाजस्तो अभिनय नगरेको भए उनी यति लामो समयसम्म बाँच्न पाउँदैनथे । माओवादीको आरोपमा उनलाई गिरफ्तार गर्दा उनलाई त्यतिबेला हत्या गर्न लागेको चर्चा चलेको थियो । बौलाहा भनिएर मात्र उनी त्यतिबेला बाँच्न सफल भए ।” दिनानाथले स्पष्टीकरण दिए ।

“आखिर बौलाएर पनि त बाँच्न पाएन नि !” कर्मचारीले नि आफ्नो जिज्ञासालाई खोतल्दै गयो ।

“ऊ केका लागि बौलायो ?” अर्को जिज्ञासा भीडमा फेरि कतैबाट आयो ।

“सत्य र न्यायको कार्यान्वयन गर्न !” अर्को जवाफ भीडबाटै आयो ।

“ऊ सत्य र न्यायको बिरुद्धमा कतै लाग्यो त ?” चिया पसल्नी रुँलाजस्तो गरी ।

“बौलाहा मरेकोमा यसलाई ठूलो चिन्ता परेजस्तो छ ।” चियापसलेले आफ्नी स्वास्नीतिर फर्केर खिसिट्यूरी ग¥यो ।

“त्यो बौलाहा नभएको भए तिमी मलाई यसरी बस्न दिन्थ्यौं र ? सम्झ त पुराना कुराहरु !” स्वास्नीले उसलाई वाल्ल पारी ।

“त्यो बौलाहाले तँलाई के न्याय ग¥यो ?” पसलेले अँध्यारो मुख पार्दै प्रतिवाद गर्न खोज्यो ।

“दाइजो नल्याएको निहुँमा तिमीले मलाई घरबाट निकाल्न खोजेको कुरो बिस्र्यौ ?” पसलेलाई स्वास्नीले अतीतको घाउ देखाई ।

“त्यसो भए त्यो बौलाहा तेरो भाग्य विधाता थियो होइन त ?” पसले निधार खुम्च्याएर फेरि हाँस्यो ।

“मलाई मात्र होइन, धेरै मानिसहरुलाई त्यसले न्याय दिलायो ।” पसलेकी स्वास्नी फेरि संवेदित देखिई ।

“मलाई न्याय चाहियो । म बौलाहा खोज्दै हिँडेकी !” एउटी वृद्ध महिला चोकमा आएर सबैको मुखतिर हेर्दै चिच्याइन् ।
सबैले एकपटक मुखामुख गरे ।

अस्पतालबाट शवयात्रा गर्दै विशाल जुलुस यही चोकतिर आयो । सबैका आँखा जुलुसतिर टाँसिएका थिए ।

घरमा आगो लागे छ । आगोको मुस्लो र धुँवाले आकासै छुन लाग्यो !” पसल्नीले सबैको ध्यान अर्कोतिर आकर्षित गरी ।

“रंगध्वजको घरमा जुलुसले आगो लगाएजस्तो छ ।” शिक्षक दिनानाथले परिस्थितिको अनुमान लगाए ।

“त्यसको घरमा त आगो झोस्नै पथ्र्यो ।” पसल्नीको प्रतिक्रिया झरिहाल्यो ।

जुलुस त्यही चोकमा आएर रोकियो ।

“यस ठाउँमा यतिका मान्छे मैले अहिलेसम्मै देखेकी थिइन् ।” पसलेले अचम्म मानेर मानिसहरुको भीडतिर आँखा दौडायो ।

“अब यस ठाउँमा फ्रस्टेड बौलाहा र शहीदको शालिक स्थापना गरिने छ ।” चोकमा बनाइएको मंचमा चढेर उद्घोषक बोलिरहेको थियो ।

“शवयात्रा अब फेरि शुरु हुन्छ ।” मंचबाट कसैले अर्को जानकारी गरायो ।

रंगध्वजको घर सल्किएर धुँवाको लप्का आकाशमा थेग्ला–थेग्लामा विभाजित भएर विलाइरहेको थियो ।

“घर बलेको धुँवा त अरु धुँवाभन्दा बेग्लै हुँदो रहेछ ।” मलामीहरु आकाशतिर फर्केर प्रतिक्रिया जनाइरहेका थिए ।

(स्रोत : Musickhabar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.