स्रष्टा परिचय : हट्ने हैन डटी लड्ने गणेश रसिक

~टीका भण्डारी~Tika Bhandari

हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ, गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, हे वीर हिँड अघि सरी, आमा भएर बोकी हेर सन्तानका पिरहरू, सुन नेपाली हो नेपालमा जन्मदै नेपाली हुनेहरू, जय जय काली जय जय गोरख, बाँच्न जन्मेको नेपाली म, तराई हेर कति राम्रो हरियो वन हुनाले, यो नेपाली ठिटो मागी मिठो खादैन, न खेल्नु जुवा र तास धनको नाश जीवनको वनबास, कहाँको दर्जी भनौला विष्ट, रातो भाले क्वायँ क्वायँ सुत्केरीलाई ख्वाएँ, मलाई प्यारो लाग्छ, लहरा पहरा छहराको देश, घर बेटी नानी आँगनीमा देउन मलाई बास, ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै, चुइँ चुइँ चुइँकिने जुत्ता, सहरै जाउँला नि धन कमाई ल्याऊँला, काफल पाक्यो काफल पाक्यो भन्छ चरीले, ओ याङ्जी नाना, तिमीले बिर्से नि लाखै छ, म त हजुर गाइने, सही दिन्छु कुट बरु वचनले नकुट, हामी धेरै साना छौं हाम्रो मुटु सानो छ, ए है है आज भेडा बाख्रा कता लाने, खरबारी डाँडा यता लेऊ न, मेरो बर्कतले भ्याएसम्म आदि गायक संगीतकार गणेश रसिकलाई सुप्रसिद्ध बनाउने सिर्जना हुन्। संगीतकार गायक गणेश रसिकले जीवनमा ३ सयभन्दा बढी यस्ता मन छुने आधुनिक, लोक, स्वदेश गान तथा अन्य गीतको संगीत, संकलन, गायन तथा लेखन कार्य सफलताका साथ् सम्पन्न गरेका छन्।

बाल्यकाल र परिवार

धूपी, सल्ला, चियाका बुट्यानहरू, सिमखर्क, छिनामखु, यसकै सुन्दर परिवेशमा भोजपुरको नौला गाउँ। यही गाउँमा गायक, संगीतकार एवं कवि गणेश रसिकको जन्म भयो जहाँ चौबिसै घन्टा भुइँकुहिरोहरू हरिया नागिहरूलाई चुम्बन गर्दै दौडिरहेका नाचिरहेका हुन्छन। जहाँ उनका बाल्य उमेरका साथी सहेलीहरू कालेGanesh Rasik जैसी, बन्से, भक्त भाइ, जीवा साने, टंक, गोरे, मसिनीसँगका बाल्यपन लुकेका छन्। कृष्ण, दिपी, फुर्तुनी, काली, मौलाधन, बाँखुरी माइली आदिका सम्झनाहरू गहिरो सानिध्यमा उनिएका छन्। सिमखर्क र रानीवनको जंगलमा चराका बच्चाहरू खोज्नु, जुरी र साध खोलाहरूमा पसेर मन पाहाहरू समाउनु, भकारे चौरमा निस्केर डन्डीबियो खेल्नु, भेडीगाँठो र छेलो हान्ने खेल्नु उनका बाल्य दिनचर्या नै थिए। चप्लेटी ढुंगा र जुरीको थाप्लोमा पुगेर खोपी, गट्टी र बाघचाल खेल्नु अनि बगर र भोक्सिमा भोटेपाती पोलेर ढुंगामा बजारेर पड्काउँदै इन्द्रेणीको फलमा प्वाल पारेर बजाउनु, अंगेरिको पातमा कनीकनी गीत सुसेल्नु, ए है है आज भेडाबाख्रा कता लाने भन्दै गीत गाउँदै भेडाबाख्रा चराउनु, तिनका बारेमा गोठाले साथीभाइसँग रमाइला रमाइला संवाद गर्नु उनका बाल्य जीवनका कहिले भुल्नै नसकिने सम्झनाका तरेलीहरू हुन्।

गायक तथा संगीतकार गणेश रसिक नरोत्तम राई तथा आमा रत्नमाया राईका सन्तान हुन्। उनको जन्म २००४ साल असोज ४ गते भोजपुर जिल्लाको छिनामखु–५ नौला गाउँमा भएको हो। उनले रेडियो नेपालबाट २०३२ सालमा उत्कृष्ट गीतकार तथा संगीतकारको पुरस्कार पाएका छन्। गणेश रसिक नेपाली संगीतको क्षेत्रमा लोकप्रिय संगीत समूह राल्फा, लेकाली हुँदै रेडियो नेपालका गायक संगीतकार एवं गीतकार बनेका हुन्।

राल्फा र रसिक

भोजपुर जिल्लाबाट साहित्यिक फाँटमा चर्चित बनेका मञ्जुल, निनु, नोरेम, ओखलढुंगाबाट सांगीतिक फाँटमा उदाएका संगीतकार रामेश, रायन, अरिम राल्फासँग पनि एकताका गहिरो नातामा जोडिएका व्यक्तित्व हुन्, रसिक। गणेश रसिक यही समूहका एक सदस्य थिए, त्यो बेला। राल्फा एक किसिमको जन विद्रोह थ्यो, तत्कालीन सामाजिक सांस्कृतिक विकृति विसंगति प्रतिको तीव्र आक्रोशसँग जोडिएको साहित्यिक सांस्कृतिक आन्दोलनसमेत थियो। २०२२–०२३ सालतिर रामेश मञ्जुलहरू रेडियो नेपालबाट आफ्नो कला संगीत र परिश्रमको उचित मूल्यांकन नभएको भन्दै असन्तुष्टि जनाउँदै बाहिरिएपछि रामेश मञ्जुलहरूकै सक्रियतामा राल्फा संस्थाको स्थापना भएको थियो। यसको एक अदृश्य सल्लाहकार साहित्यकार पारिजातसमेत थिइन्। भारतमा हंग्रो जेनेरेसन, युरोपमा विल्प्स र बिट्निक, मार्क्युजिय नवबाम विचारले युवाहरूमा प्रभाव विस्तार गरिरहेको परिप्रेक्षमा नेपालमा पनि त्यसको प्रभावको रूपमा राल्फा पनि थियो भनिन्छ। त्यसबेला राल्फालीहरूले तत्कालीन समाजले भोगिरहेका अन्याय, अत्याचार, शोषण, उत्पीडन, अराजकता, दमनपूर्ण सांस्कृतिक विचलनका विरुद्ध सामाजिक चेतना भर्ने गीत संगीत गाउँदै गाउँ, बस्ती र तिनका कुना कन्दरामा अत्यन्तै लोकप्रिय सांगीतिक समूहका रूपमा स्थान जमाएका थिए। यो समूहबाट पनि रसिकले गीत गाउँदै केही महŒवपूर्ण कार्यक्रम गरे तर रसिक केही वर्षको अन्तरालमै समूहबाट बाहिरिए र आफ्नै तजबिजमा लेकाली समूह गठन गरे। त्यसबेला राल्फासँग एक किसिमको प्रतिस्पर्धा जस्तो अवस्थासमेत रह्यो उनीहरूको। तर, रशिक रामेश मञ्जुलसँग सल्लाह गरेरै लेकाली समूह खोलेको बताउँछन्।

लेकाली समूह र रसिक

२०२४ साल श्रीपञ्चमीको दिन स्थापना भएको लेकाली समूहका सूत्रधारमध्येका एक हस्ती हुन्, गणेश रसिक र अर्का स्रष्टा हिरण्य भोजपुरे हुन्। यो समूहमा अन्य कलाकारहरूमा उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, तीर्थ शेरचन, इन्द्रनारायण, शशी भण्डारी, कमला श्रेष्ठ, नवीनकिशोर राई थिए। यस समूहको उद्देश्य एक किसिमले पिँजडामा थुनिएको नेपाली समाजलाई गीति सन्देशको माध्यमबाट मुक्त गर्ने, जागरण र चेतना फैल्याउने नै थियो। उनीहरूले पनि सुरुआतमा राल्फालीहरूले झैं प्रगतिशील धार नै समातेका थिए। गणेश रसिक, हिरण्य भोजपुरे लगायतका कलाकारले २०२६ सालमा राष्ट्रिय नाचघरमा प्रस्तुत गरेको कार्यक्रममा देशको गीत, हुस्सुले छोपेको सहर, एउटा बुढो माग्ने, एउटा बालिकाको जिज्ञासा, माथि माथि सुन्तले, नबस झ्यालैमा, साहिँला साहिँला, मुरली बज्यो, मैनाचरी मैदानमा, मुरली बज्यो, दुःखीहरूप्रतिको दयामाया, बसुन्धरा बहिनी, एवा खोला १२ ओटा प्रगतिशील धारका गीत गाएका थिए। उनीहरूले लडेर नहार्ने नेपाली छाती, त्यो कुहिरो जताततै हिँड्छ छोरी, एउटा बुढो रुख, कति दिन बाँच्नुजस्ता गीत पनि गाएर नेपाली समाजमा बेग्लै छाप र प्रभाव छोडेका थिए।

त्यसबेलाको चर्चित गीत ‘लहर पहरा छहराको देश’ गीतलाई आधार मानेर ‘छहराको गीत’ नामक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए, उनीहरूले। २०२५ सालमै प्रहरी क्लबको रंगमञ्चमा लेकालीहरूले पहिलो कार्यक्रम प्रस्तुत गरेका थिए। जब रेडियो नेपालबाट ए है है आज भेडा बाख्रा कता लाने, काफल पाक्यो, लहरा पहरा, टेम्के डाँडा, खोलाको तीर नाचेर हिँड्छ आदि गीत उनीहरूका घन्किन थाले, त्यसपछिका दिनमा कहिलै पछि फर्केर हेर्नुपरेन। लोक भाखा, लोक थेगो, लोक शैली, झर्रा शब्दावली, उखान तुक्का, गाउँबेसीका चलन चल्तीका शब्दहरू लेकालीका गीति हरफहरूमा उनिएका हुन्थे। त्यही कारण नेपाली संगीतमा स्थापित हुन पुग्यो, लेकाली। त्यसबेलाको काठमाडौंको गरिबी, अभाव, दुःखका क्षणहरूले नै रसिकलाई नेपाली छाती, हुस्सुले छोपेको सहर, एक्लो छु म बजार बीच, पहाड उक्लेर जाऊँ म, यहाँ त मेरो कोही छैनजस्ता धेरै गीत लेख्ने संगीत गर्ने प्रेरणा मिलेको हो।

रेडियो नेपाल र रसिक

त्यसबेलाको राज्यको एक मात्र प्रसारण सञ्चार माध्यम रेडियो नेपाल, देशभरिबाट कलाकारहरू कुम्लो कुटुरो बोकेर रेडियो नेपालको आँगनमा बरालिरहेका हुन्थे। जाडोको बेला हुस्सुले छोपेको काठमाडौं, एकाबिहानै थरथर काँप्दै रसिक रेडियो नेपाल पुग्थे, मीनभवन होस्टेलबाट। रेडियो नेपाल पुग्दा संगीतकार नातिकाजी शिवशंकर, तारादेवी, अंग्रेजी समाचार वाचिका विणा राणा र त्यस बेलाका चर्चित गायक उद्घोषक ध्रुव केसीबिचमा हिटर राखेर वरिपरि कुर्सीमा आसन जमाएर गफ चुटिरहेका भेट्थे। तर, कसैसँग बोल्ने आँट हुन्थेन, रसिकसँग। उनीहरू क्यान्टिनबाट चिया मगाएर खान्थे, रसिक रित्तो खल्ती उनीहरूलाई हेरिरहेका हुन्थे। एक किसिमको भय, संकोच अनि केही अपेक्षा, आशा, जीवन लक्षप्रतिको निरन्तर आस्था उनको। ती व्यक्ति रसिकका दृष्टिकोणमा अत्यन्तै सम्मानित, पुजनीय र अत्यन्तै आदरणीय थिए, उनका लागि। तिनको सामीप्यतामा रहन पाउनु, सक्नुमै पनि उनीमा गर्वानुबोध थियो, मनभित्र एक खालको खुसीको तरंग थियो। केही महिनापछि मात्र उनलाई बल्ल संगीतकार नातिकाजीसँग बोल्ने हिम्मत जाग्यो। स्वर परीक्षामा उत्तीर्ण भइसके पछि उनीमा एक किसिमको आत्मविश्वास जागेर आयो। निडर भएझैं गरेर हिम्मतका साथ कुरा राखे, गीत गाउँने डेट मागे तर तत्काल डेट मिलेन। तर, केही समयपछि नै उनले आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेर रेडियो नेपालमा गीत गाउने अवसर प्राप्त गर्न थाले। त्यसपछि उनको दिन घामजत्तिकै खुल्न गयो।

२०२५ सालमा सहिद दिवसको अवसरमा तत्कालीन नगरपञ्चायतले आयोजना गरेको प्रतियोगितात्मक कवि सम्मेलनमा कविता वाचन गरेर यिनी प्रथम मात्र भएनन्, १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरे। त्यही पैसाले उनले न्युरोड हार्मोनियम माइलाको पसलमा गएर १ सय ७५ मा हार्मोनियम किने। आफ्नै पौरखले एक दिन उनी हार्मोनियम किन्न चाहन्थे त्यो दिन सफलता प्राप्त गरेरै छोडे। अझै पनि त्यही हार्मोनियम बजाइरहेछन्, उनी।

एक कालजयी स्रष्टा

रसिकका गीतहरू कालजयी प्रकृतिका छन्, रसिक गीतमै कथा लेख्ने गीतकार पनि हुन्, गीतमा जीवन्त संगीत भर्ने सर्जक पनि हुन्। लोकको भाव प्रस्तुत गर्ने मिठो बोलिका गायक पनि हुन। संघर्षका सुरुआती चरणमा उनले चरीको कहाँ छ र भर, कहाँको दर्जी भनौला विष्ट, घरबेटी नानी, रिङ्दै आयो घुम्दै आयो, न खेल्नु जुवा र तास, दूध तताइराख, कहाँ मा काट्यो वेतकोजस्ता गाउँबेसीका सुमधुर लोकभाखासमेत रेडियो नेपालमार्फत गुन्जाए जुन गीतहरूले रसिकलाई लोक गायनको क्षेत्रमा लोकप्रिय बनाएका छन्। यस्तै, रसिकले गाएका अन्य चर्चित लोक गीतहरूमा रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वाएँ, ए है है आज भेडा–बाख्रा कता लाने आदि गीतहरू पनि उत्तिकै चर्चित बनेका छन्। रेडियो नेपालको रेकर्डमा उनले गाएका र उनले अन्य कलाकारलाई साथ दिएका यस्ता उत्कृष्ट लोकगीतको संख्या ३ दर्जन रहेको छ।

यसैगरी, आधुनिक संगीतमा पनि गणेश रसिकको योगदान उत्तिकै छ। रसिकको संगीतमा धेरै सम्झे धेरै हुन्छ रचना–रसिक, गायक– इन्द्रनारायण, मसँग एउटा तारा छ रचना–वासु शशी, स्वर–कमला श्रेष्ठ र गणेश रसिक, काफल पाक्यो रचना–गणेश रसिक, स्वर–कमला श्रेष्ठ, उर्मिला श्रेष्ठ, माया नगर रचना–गणेश रसिक, स्वर राजेन्द्र गुरुङ, आज कुन पहाड रचना–गणेश रसिक, स्वर–निर्मला श्रेष्ठ, के छ तिम्रो रचना–प्रेमा शाह, गायक हिरण्य भोजपुरे, जाँदा–जाँदा बाटो रचना–भगवती नकर्मी, स्वर–कमल श्रेष्ठ, बोल्न पाएँ रचना–गणेश रसिक, स्वर–सूर्य थुलुङ, लैजाऊ बैगुनी रचना–गणेश रसिक, स्वर–उर्मिला श्रेष्ठ, सपनामा तिमीलाई रचना–विश्व बल्लभ, स्वर–सुद्धि एस राई, आज कुन पहाड रचना–गणेश रसिक, स्वर–निर्मला श्रेष्ठ, तिम्रो परेली रचना÷स्वर–गणेश रसिक, ओ यांग्जी नाना आफ्नै स्वर–संगीत आदि रसिकका लोकप्रिय संगीत हुन् । यस प्रकारका उनीद्वारा संगीतबद्ध दुई दर्जन आधुनिक गीत रेडियो नेपालबाट नियमित रूपमा आज पनि प्रसारण भइरहेका छन्। कतिपय गीत र एल्बम फुटकर रूपमा समेत प्रकाशन गरेका छन्। उनले अन्य गायक–गायिकाहरूका लागिसमेत गीत पनि लेखेका छन्। जस्तै, सूर्य थुलुले रसिककै संगीतमा गाएको बोल्न पाए, उनकै संगीतमा शम्भु राईले गाएको तिम्रो मनभित्र, मोहनकृष्ण कार्की ढलीको संगीतमा कमला श्रेष्ठले गाएको दुःख सहने बानी, हिरण्य भोजपुरेको संगीतमा रसिकले गाएको लैजाऊ बैगुनी लैजाऊ, इन्द्रनारायण गाएको धेरै सम्झे धेरै हुन्छ, संगीत गणेश रसिक, राजेन्द्र गुरुङले गाएको माया नगर, संगीत गणेश रसिक आदि गीत सबै गणेश रसिकले नै लेखेका गीत हुन्।

रसिकले सांगीतिक जीवनको सुरुआती चरणतिर आफ्नै शब्द–संगीतमा तिम्रो परेली, वासु शशीको रचना आफ्नै संगीतमा मसँग एउटा तारा, पम्फा केसीको रचना आफ्नै संगीतमा हुनु थियो कसैको, इन्द्रनारायणसँग युगल मेरो सोच्नुपरे आदि गीत पनि गाएका छन्।

कृति, पुरस्कार र सम्मान

रसिक सधैं सिर्जनामै रमाउँछन्। सांगीतिक जीवनका प्रारम्भिक चरणमा नवीनतम फुटकर सिर्जनामा रमाएका रसिकले २०२५ सालमा क्षितिज खोज्दा कथा संग्रह, २०२७ सालमा आएर एउटा सारंगीभित्र कथा संग्रह प्रकाशन गरे, २०४५ सालमा रसिकका गीतहरू गीत संग्रह प्रकाशन भयो । २०४८ सालमा आकाश गंगाको ओतमुनि उपन्यास, २०५५ सालमा जब सिस्नुहरू टेक्दै हिँडें संस्मरण, २०५७ सालमा कथा संग्रह बिलाउँदै गएको गीत, २०६२ सालमा दसगजामा उभिएर संस्मरण, २०६७ मा स्वाधीनताको पीडा गीत संग्रह, मेरो अतीत गीति एल्बम (२०४८, अन्तराल गीति क्यासेट भाग–१ प्रकाशन भए। त्यस्तै, केही कृति सम्पादन तथा अनुवादसमेत गरेका छन्, रसिकले ।

राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार (२०२४), एकेडेमीद्वारा आयोजित कविता महोत्सवमा प्रथम ( २०२८), शुभराज्यभिषेक पदक (२०३१) गो.द.वा. चौथो (२०३५), रेडियो नेपाल उत्कृष्ट गीतकार (२०३८), रत्नश्री स्वर्ण पदक (२०४५), छिन्नलता गीत पुरस्कार (२०५६), गद्दी आरोहण रजत पदक (२०५६), बासु–शशी स्मृति पुरस्कार (२०६०), कला संगीत सम्मान (२०५७), शशांक प्रतिष्ठान तथा धुलाबारी जेसिजद्वारा सम्मान २०५९ आदि थुप्रै सम्मान र अभिनन्दन प्राप्त गरेका छन् ।

गणेश रसिक राजनीतिमा पनि होमिएका व्यक्तित्व हुन् । २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इलामको क्षेत्र नम्बर–१ बाट संसद्को उम्मेदवार भएर चुनाव लडे तर अकल्पनीय पराजय भोगे। यिनलाई राजनीति पटक्कै फापेन।

मेरो अध्ययनमा रसिक

गणेश रसिकलाई अत्यन्तै नजिकबाट अनुभूत गर्ने अवसर पाएको छु। उनी इलाम म झापाको भए पनि हाम्रो बासस्थानको दूरी डेढ घन्टाको मात्रै छ। झापामा सम्पन्न हुने कतिपय मेरा कार्यक्रममा प्रमुख अतिथि बन्न उनी इलामबाट झापा झरेका पनि छन्, म पनि इलामको उकालो धेरै पटक चढेको छु। रेडियो नेपालको कार्यक्रम साँझ आवाजमा उनले आफ्ना जीवनका कालजयी सिर्जनाहरू सगौरव प्रस्तुत गर्दाका सम्झनाहरू पनि उत्तिकै छन्। उनका काव्यिक रचनाहरू उत्तिकै पठनीय पनि छन्, पाठकहरूमाझ। रसिक नेपाली साहित्य लेखनका एक अब्बल स्रष्टा, गीति लेखनका एक उत्कृष्ट सर्जक अनि गायन आकाशका उज्ज्वल तारा हुन् भनेर जो कोहीलाई ठम्याउन गाह्रो पर्दैन। जसरी निरन्तर साधना र संघर्षको परिणामका रूपमा संस्थागत रूपमा लेकालीको जन्म भयो र श्रोतामाझ लोकप्रिय बन्यो व्यक्तिगत रूपमा त्यसरी नै उनी पनि संघर्ष र साधनाकै सुखद परिणाम हुन्। उनको वास्तविक धरातल लोक संगीत नै हो। हुन पनि लोक संगीत नै सबै खाले नेपाली संगीतको जननी पनि हो। तर, रसिकहरूले सिर्जना गरेका कतिपय धुनहरू अत्याधुनिक पनि उत्तिकै छन्। नेपाली संगीतमा नवीन रूप र शैली उनका नवीनताहरू हुन्, त्यसभित्रै सिर्जनशील बान्की छटाहरू पनि छन्। त्यति ठुलो भारतमा भन्दा नेपालमा गायक गायिका र गीतकारहरू धेरै छन् भन्ने रसिक वास्तविक रूपमा नेपाली संगीतमा संख्यात्मकभन्दा गुणात्मक विकासलाई नै राष्ट्रले प्रोत्साहन गर्नुपर्ने मान्यतासमेत राख्दछन्। उनी संगीतमा पनि समाजका अँध्यारो पक्षलाई निरुत्साहन गर्नुपर्ने र चम्किला र उज्याला पक्षहरूलाई प्रोत्साहन गर्नुपर्ने सोच राख्ने स्रष्टा पनि हुन्। उनीद्वारा गाइएका, लेखिएका, संगीतबद्ध गरिएका राष्ट्रिय भावका गीतहरूले उनको राष्ट्रप्रतिको उच्च सम्मान र गौरवानुभूति अभिव्यक्त गर्दछ। उनी राजनीतिमा पनि झुकाव राख्ने कलाकार हुन् तर राजनीतिका उनी असफल खेलाडी हुन्। जीवन विभिन्न कालखण्डमा विभिन्न महŒवपूर्ण सांस्कृतिक पदमा रहेर कार्य गरिसकेका उनी यसबेला संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य–सचिवजस्तो गरिमामय पदमा रहेर संगीत तथा नाट्य क्षेत्रको विकासमा क्रियाशील छन्।

रेडियो नेपाल पुग्दा संगीतकार नातिकाजी, शिवशंकर, तारादेवी, अंग्रेजी समाचार वाचिका विणा राणा र त्यस बेलाका चर्चित गायक उद्घोषक ध्रुव केसीबिचमा हिटर राखेर वरिपरि कुर्सीमा आसन जमाएर गफ चुटिरहेका भेट्थेतर कसैसँग बोल्ने आँट हुन्थेन, रसिकसँग।

प्रकाशित मिति: २०१६-०१-०२

(स्रोत : Rajdhani)

This entry was posted in स्रष्टा परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.