व्यङ्ग्य : नोटमा राजा

~विमल भौकाजी~

राजा !
श्रीपेच पहिरेका राजा
नोटहरूमा छापिएका छन्,
यहीँनिर, बजारमा यत्रतत्र छन् श्रीपेच नलगाएका राजाहरू,

– कोही संसद् भवनमा उफ्रिरहेका,

– कोही सिंहदरबारका मेचमा मच्चिरहेका,

– कमसेकम, कोही भाषणका मञ्चहरूमा कुर्लिरहेका ।

तर चुपचाप छन् श्रीपेच लगाएका राजा, गभर्नरको हस्ताक्षरसहित राष्ट्रबैङ्कले निष्कासन गरेको नेपाली नोटमा ।

र, नोटहरू मसँग ‘पाकेट’ मा छन् । सदैव यसरी नै रहिरहन्छ सुरक्षित, एकपछि अर्को… फेरि अर्को… फेरि अर्को… । विभिन्न मूल्य अङ्कित… पाँच, दस, बीस, पचास, सय, पाँच सय, हजारका नोटहरू ।

केवल मसँग होइन, सरदर सबै नेपालीको खल्तीमा छन् श्रीपेचधारी राजाको फोटो अङ्कित नोटहरू ।

म सोच्ने गर्छु हरहमेसा, के सोच्दा होलान् नोटबाहिरका उनै राजाले ? अर्थात्, सिद्धान्तत: वा व्यवहारत: आफ्नो शिरको ताज गुमाएका राजाले ? के सोच्दा होलान्, आफू भूतपूर्व भइसकेर पनि श्रीपेच लगाएको आफ्नो पुरानो तस्बिर छापिएको नोटहरू बजारमा देखेर ?

– आफ्नो फोटो बिक्री भएकोमा खुसी हुँदा हुन् कि ?

– त्यसभन्दा पनि अघि बढेर, श्रीपेच नभएको स्थितिमा पनि आफ्नो अस्तित्व स्विकारिएको सोचेर दङ्ग हुँदा हुन् कि ?

– या कतै आफ्नै फोटोले जिस्क्याए जस्तो त लाग्दैन होला उनलाई ?

– अथवा आफ्नै श्रीपेचले चुनौती दिइरहेजस्तो पो लाग्छ कि ?

के भनिठान्दा हुन् उनी ? ?

कि त आफ्नो सम्मान गरिएको भन्ठान्दा हुन् ?

सम्भवत: तुलना गर्दा हुन् उनी अमेरिकी डलर वा भारतीय नोटसँग, श्रीपेच धारण गरेर आफ्नो फोटो छापिएको नेपाली नोटलाई ।

अत्यन्त सम्मानपूर्वक अब्राहम लिङ्कनको फोटो छापिएको अमेरिकी डलरले छोइनसक्नु भएर विश्व अर्थबजारमा आफ्नो साम्राज्य चलाइरहेको छ । ठीक यहीँनिर हाम्रै पर्तिरका छिमेकी मुलुक भारतमा महात्मा गान्धीको फोटो छापिएको नोटले पश्चिमा देशहरूमा समेत आफ्नो व्यापक प्रभुत्व कायम गर्दै गइरहेछ । र यसैबीच, आफ्नो शिरमा श्रीपेच पहिरेको तस्बिर छापिएको नेपाली नोट पनि कमसेकम नेपाली बजारमा छयाप्छयाप्ती छन् । म स्वयम्ले चिन्तन गर्ने गर्छु, के तिनले पनि अमेरिकी डलर वा भारतीय नोटहरूकै दाँजोमा उत्तिकै वा उस्तै अर्थ बोकेका होलान् ?

मलाई लाग्छ, नोटबाहिरका राजाले आफ्नो सम्मान गरिएको भने पक्कै सोचेका छैनन् । यो त केवल सम्मान गरिएको झैँ गरेर वास्तवमा अपमान पो गरिएको ठानेका हुन सक्छन् उनले ।… एक अर्थमा, अपमानजनक सम्मान ! किनकि उनी त राजाको पदबाट बहिष्कृत भइसकेका छन्; बर्खास्तगीमा परिसकेका छन् उनी ।

यस्तो अवस्थामा उनको तस्बिरमाथि सम्मान गरिएको हुनै सक्दैन । कदापि हुन सक्दैन ।
– राजा बहिष्कृत,
– उनको श्रीपेच बहिष्कृत,
– तर उनकै तस्बिर सर्वमान्य ?
यस्तो हुनै सक्दैन ।

वास्तमा, नोटबाहिरका राजाका लागि यो अवस्था अत्यन्त अन्योलग्रस्त छ । हो, उनका लागि सम्मान र अपमानको परिभाषा नै द्विविधामा परेको छ ।

यही द्वविधाबीच मैले भने बहिष्कार गरिएका श्रीपेचधारी राजाको फोटो भएको नोटलाई अत्यन्त माया गरेर बडो जतनका साथ राखेको छु, राख्ने गरेको छु ।

आफूलाई सुविधा हुने वस्तु/विषयमा के उचित के अनुचित ? त्यसतर्फ हेर्नु छैन मलाई । कति मतलबी छु म ? राजा नचाहिए पनि उनै राजा भएको नोट प्रिय छ मलाई । जो म केही अघिसम्मको उनको रैती, आज उनी नै मन नपराइएर फ्याँकिएको स्थितिमा पनि त्यही फ्याँकिएको व्यक्ति/वस्तुसँग सम्बन्धीलाई प्रयोग गर्नचाहिँ चुकेको छुइनँ म ।

नोटप्रतिको मेरो यो आसक्तिलाई के भन्ने खोई ? खुट्टयाउनै सकेको छुइनँ । के, केवल ‘बाध्यता’ भनेर मैले उम्किन पाउँछु र !

उता, राजा छापिएको नोटको यो प्रयोगलाई नोटबाहिरका राजा स्वयम्ले कतै आफ्नो दुरुपयोग भइरहेको त सोचेका छैनन् ? कदाचित् त्यसो हो भने यो विषय (प्रयोग) लाई उनले आफूमाथिको अन्याय भइरहेको ठानेको हुनुपर्छ । र, यस्तो अन्यायको क्षतिपूर्ति उनले पक्कै पनि खोजी गरिराखेको हुनुपर्छ ।

तर दिने कसले क्षतिपूर्ति ??

कुन अदालतमा उनले मुद्दा दायर गर्ने यसो भनेर कि मेरो देशका जनता र सरकार दुवैको मिलिभगतमा मेरो अपमान भएको छ । यिनीहरूद्वारा भएको ममाथिका अन्यायउपर न्यायोचित निर्णय गरिपाऊँ !

०००

म एक स्वतन्त्र नागरिक !

राजाकै वंशपरम्परामा शासित, एकदलीय व्यवस्थाभित्र २९ वर्षसम्म अनवरत विद्रोह गर्दा–गर्दा बहुदलीय व्यवस्थाभित्र समेटिएको प्रजातान्त्रिक नागरिक !

र, सोही बहुदलीयताभित्र पनि नअटाएर पूर्णत: लोकतान्त्रिक, अझ भन्ने नै हो भने गणतान्त्रिक नागरिक भएर हाल जीवनयापन गरिरहेछु । सम्भवत: यस्ता थरी–थरीका राजनीतिक परिवर्तनभित्रको जीवन मेरो पुस्ताले जस्तो यसअघि कसैले अनुभूत गर्नै पाएका थिएनन् । यस मानेमा, मैले आफूलाई महान् भाग्यमानी नेपाली ठानेको छु ।

चराजस्तो उन्मुक्त हुनुको उपभोग मज्जैले गरिरहेछु ।
– उता, श्रीपेच खोसिएका राजा
– यता, श्रीपेचधारी राजन छापिएको नोट र म ।
र, यही नोट लिएर मस्तसँग बजार–बजार घुमिरहेछु ।
– तरकारी बजार जान्छु,
– चियापसल जान्छु,
– चुरोट किन्छु, रक्सी किन्छु, पाउरोटी किन्छु, मासु किन्छु ।
– चामल, चिउरा, दाल, तेल… सब थोक खरिद गर्छु ।
– बिजुली, खानेपानी, टेलिफोन यावत्को मासिक शुल्क भुक्तान गर्छु ।
– मोबाइल रिचार्ज गर्छु ।

अहँ, मलाई अकिति पनि अप्ठेरो महसुस हुन्न, यही नोटसँग साट्न पाइरहेछु दैनिक जीवनका आवश्यकतालाई ।

०००

वास्तवमै, श्रीपेच लगाएका राजा देशबाट विस्थापित भएको भनिएको एक दशक भइसक्यो । तर यहीँ नै श्रीपेच नलगाएका धेरै राजाहरूको बीचमा श्रीपेचधारी राजाको अनुहार भएको नोट बोकेर यसरी बजार घुमिरहँदा मलाई प्रश्न सोध्न कसले सक्छ, ‘राजा छापिएको नोट चलाउने तिमी गणतान्त्रिक राष्ट्रकै नागरिक हौ त ??’

०००

प्रकाशित: माघ १६, २०७२

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

2 Responses to व्यङ्ग्य : नोटमा राजा

  1. Prollas Sindhuliya says:

    फोटो उत्तम भौकाजीको, रचना विमल भौकाजीको ????

    • Editor says:

      आदरणिय कवि प्रोल्लास सिन्धुलीय,

      तपाईं पनी साहित्य सङ्ग्रहालयमा विचरण व भोग गर्नुहुँदोरहेछ अनी टिप्पणीरुपी मार्ग निर्देशन गर्नुहुनेछ भन्ने सोँचेकै थिईन । बिमल भौकाजी र उत्तम भौकजीको तस्विर अदलबदल भएको कुरा सच्याएको छु । हजुरको दिशानिर्देशनले सदैव साहित्य सङ्ग्रहालयलाई सही बाटो तिर लाग्न सचेत गराईरहनेछ भन्ने आशा राख्छु ।

      – आविष्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.