अनूदित निबन्ध : सुश्री लिउ हो–छनको सम्झनामा

~लु सुन~Lu Xun

गणतन्त्रको स्थापनापछिको पन्ध्रौं वर्षको मार्च २५ का दिन (अर्थात् १९२६ मार्च २५ का दिन) राष्ट्रिय पेकिङ महिला नर्मल महाविद्यालयले त्वान चि–चिउको सरकारी भवन अघिल्तिर (मार्चको) १८ औं दिनमा, मारिएका लिउ हो–छन् र याङ तेह–चनुको सम्झना दिवस मनायो। म हल बाहिर एक्लै टहलिरहेको बेला सुश्री छङ म कहाँ आइन।

“लिउ हो–छनको विषयमा गुरूले केही लेख्नुभएको छ कि?” उनले सोधिन।

मैले जवाफ दिएँ–“अहँ, छैन।”

“हैन, गुरूले केही त लेख्नैपर्छ, लि हो–छन् जहिले पनि तपाईका निबन्धहरू पढ्न मन पराउँथिन “उनले भनिन्।

(क)

मलाई यो कुरा थाहा थियो। मैले निकालने गरेका सबैजसो पत्रिकाहरू एक्कासी बन्द हुन जाने भउकाले तिनको प्रचार ज्यादै कम हुन्थ्यो। तर आर्थिक कठिनाई हुँदाहुँदै पनि “काँढेदार मैदान” को उनी पूरा एक वर्षका लागि ग्राहक बनिदिएकी थिइन र केही दिनदेखि मलाई केही त लेख्नैपर्छ भन्ने लागिरहेको थियो। हुन त यसबाट बितिसकेकाहरूका लागि केही हुने त होइन, यो फेरि सबैले गर्न सक्ने काम हो। वास्तवमा “मृत्युपछि पनि आत्मा रहिरहन्छ” भन्ने कुरामा मैले विश्वास गर्न सके मलाई बर्ता आनन्द आउँथ्यो होला। तर वास्तवमा, मैले गर्न सक्ने काम यति मात्रै हो। तैपनि मेरो भन्ने कुरो साँच्चै केही छैन। मलाई खाली के लाग्छ भने हामीहरू मानवहरूको संसारमा रहिरहेका छैनौं। चालिस जनाभन्दा बढी तन्नेरीहरूको रगतको दहमा म केही देख्न, सुन्न वा सास फेर्न सक्तिनँ त्यसैले म के भन्नसक्छु र? हाम्रो घाउ लाटो भई नसकुञ्जेल मात्र हामी लामो रोइ कराई गर्न सक्छौं। यस घटनापछि केही विद्वान् भनाउँदाहरूले गरेको कपटपूर्ण कुराकानील मभित्र शुन्यताको भावना थपिदिएको छ। म अति अति नै क्षुब्ध छु। मानवहरूको संसार नभएको यस अन्धकारमय शुन्यतालाई म घुटुक्क निर्लुला र मानवहरू नरहेको यो संसारलाई मेरो दुःखमा आनन्द लिन लगाएर मेरो अत्यन्त गहिरो शोक टक्राउँ्कला। यो मरिसकेकाहरूको बलिबेदी अगाडि अझै बाँचिरहेका मान्छेले दिएको एउटा चुत्थो भेट हुनेछ।

(ख)

सच्चा जोधाहाहरू मानवहरूले खप्नुपरेका दुःख कष्टहरूको सामना गर्न र अविचलित भई रक्तपात भएको हेर्न आँट गर्छन्। उनीहरूका दुःख र सुख कस्ता खालका रहेछन्। तर सर्वसाधारणहरूका लागि श्रष्टाको सामान्य चाल खाली काला नीला रगतका टाटाहरू र अस्पष्ट खाले पीडा बाहेक अरू पुराना घाउहरूलाई समय बित्नुका साथै मेटेर पठाउनु हो : र उसले (श्रष्टाले) यस तथाकथित मानव संसारको क्रमलाई यथावत राख्न मानिसहरूलाई नीचतापूर्वक यही स्थितिबीच हिंड्न लगाउँछन्। यस्तो खाले दयनीय स्थितिको अन्त्य कहिले आउने होला?

हामीहरू अझै यस्तो संसारमा रहिरहेका छौं र केही दिनु अघि मलाई केही लेख्नुपर्छ भन्ने लागेथ्यो। मार्च १८ पछि झन्डै एक पक्ष नै बितिसकेको छ। विस्तृत मुक्तिदाता ओल्हँदै होला, अब मैले केही त लेख्नैपर्छ।

(ग)

मारिएका चालिसजना भन्दा बढी तन्नेरीहरूमध्ये एक जना सुश्री लिउ हो–छन् मेरो शिष्या थिइन। मैले उनलाई यसरी नै बोलाउने गर्थैं र यसरी नै उनलाई लिएको थिएँ। तर अहिले म उनलाई मेरी शिष्या भन्न अनकनाउँछु किनभने अहिले मैले उनप्रति मेरो दुःख र सम्मान व्यक्त गर्नुपर्छ। उनी अब म जस्तो तुच्छ जीवन बिताउँदै रहेको मान्छेका शिष्या रहिनन्। उनी चीनका लागि ज्यान अर्पेकी चिनियाँ महिला हुन्।

महिला नर्मल महाविद्यालयको अध्यक्ष सुश्री याङयिनयुले छात्र संघबाट ६ जनालाई खारेजी गर्दा पोहोर गर्मीको शुरूतिर मैले सबभन्दा पहिलोपल्ट उनको नाउँ पढेथे। उनी ६ जनामध्ये एक जना थिइन। पछि मात्र, यो चाहिं लिउ पाइचाओले आफ्ना मानिसहरू र आइमाइ लेफि्टनेटहरूलाई कलेज छात्राहरूलाई घिसार्न लाउँदा, हुन सक्छ कसैले मलाई उ त्यो –चाहिं लिउ हो छन् हुन्” भनी देखाएका थिए। उनलाई त्यसरी देखेपछि म भित्रभित्रै चकित भएँ। अधिकृतहरूको अघिल्तिर डट्न सक्ने, शक्तिशाली अध्यक्ष र तिनका भरौटेहरूको विरोध गर्न सक्ने कुनै पनि विद्यार्थी सुरो र जिराहा हुनैपर्छ भनी कल्पना गरेको थिएँ तर उनी सधैजसो मुसुमुसु हाँसीरहेकै हन्थिन् र उनको व्यवहार ज्यादै सुशिल थियो। हामीहरूले थुङमाव हुटुङमा अस्थायी ठाउँहरू पाएपछि फेरि कक्षाहरू चालु गर्‍यौं, उनी मेरा प्रवचनहरूमा आउन थालिन यसरी मैले पनि उनलाई धेरैपल्ट देखें। उनको अनुहार जहिले पनि हाँसेकै हुन्थ्यो र स्वभाव सुशील थियो। कलेज स्टाफका पुराना सदस्यहरूले जसले आफूले गर्न परेको काम जति गरी सिध्याएँ भन्ठानी राजीनामा गर्न तयारी गरे। त्यसबेला कलेजको भविष्यबारे चिन्ता लिएर सबभन्दा पहिले आँसु बगाउने उनलाई नै मैले देखें। त्यसपछि मलाई विश्वास छ मैले उनलाई पछि फेरि देखिनँ। जति मलाई सम्झना छ त्यो नै हाम्रो अन्तिम भेटघाट थियो।

मार्च १८ को बिहान सरकारी भवन अघिल्तिर बिन्तिपत्र दिन जाने जुलुस चलेको थियो र त्यो दिन बेलुकी सुरक्षाकर्मीहरूले साँच्चै नै गोली हाने र सयौं मारिए र मर्नेहरूमा लिउ हो छन् पनि थिइन भन्ने डरलाग्दो खबर मैले सुनें तर यी रिपोर्टहरू साँचा हैनन् होला भन्ने मेरो शंका थियो। मेरा देश बन्धुहरूमाथि सबभन्ा कष्टमय आपद्हरू खनिन सक्छन् भन्ने कुरा म सोच्न सक्छु तर तिनीहरू (शासकहरू) यति नीचताम, घृणित पाशविकतासम्म ओर्लन सक्छन् भन्ने कुरा न मैले सोच्न सकें न विश्वास नै गर्न सकें। त्यसमा पनि हाँसिरहने र सुशील स्वभावकी लिउ हो छन् सरकारी भवनको अघिल्तिर बिना कारण कसरी मारिन सक्थिन् होला?

तर त्यही दिन यो सत्य सावित भयो–यसको प्रमाण उनको लास नै थियो। त्यहाँ अर्को लास पनि छ, याङतेह–चुनको। फेरि यो हत्या मात्र थिएन, पाशविक हत्या नै थियो भन्ने कुरा पनि प्रष्ट छ किनभने उनीहरूको जिउमा लाठीका डामहरू पनि थिए।
जे भए पनि त्वान सरकारले उनीहरूलाई “उपद्रवीहरू” भनी घोषणा गरेर अध्यादेश निकाल्यो।

तर त्यसपछि उनीहरू अरूहरूद्वारा उक्साइएका तत्वहरू थिए भन्ने हला निकाल्यो।

मैले त्यस निर्ममतापूर्ण हत्यालाई हेर्न सकिन। मैले भन्न सक्ने कुरा त्यसमा छ नै के र? मरणशील जाति किन मौन रहन्छ म बुझ्दछु। मौनता घ् मौनता घ् जताततै मौनता घ् हामी चिच्याउँदैनौं भने हामी यस मौनतामै सकिनै छैं ।
तर मेरो अरू केही भन्नु छ

मैले नै देखेको त हैन, मैले सुनेको, उनी लिउ हो छन् खुशीसाथ अघि लम्किइन्।वास्तवमा यो त विन्तिपत्र मात्र थियो, अलिकति मात्र भएकोले पनि त्यहाँ धराप थापिएको होला भनी चिताउन सक्दैनथ्यो। तर त्यसपछि उनलाई सरकारी भवन अगाडि गोली हानियो, पछाडिबाट गोली हानियो र गोलीले उनको फोक्सो र मुटु छेड्यो। घाउ मर्णान्तक थियो तर उनी तत्कालै मरिनन्। उनीसँगै रहेकी सुश्री चाङचिङ शुु ले उनलाई उठाउन खोजिन, चारवटा गोली उनका शरीरमा लागे, एक गोली पिस्तोलको थियो र उनी ढलिन्। उनी बस्न भने सकेकी थिइन् तर एउटा सिपाहीको लाठी उनको टाउको र छातीमा बजारियो र यसरी उनी मरिन्।

यसरी सधैभरी हाँसिरहने सुशील लिउ हो –छन् साँच्चै नै मरिसकेकी छिन्। यो साँचो हो, यसको दसी उनको आफ्नै लास छ। वीरांगना र सच्चा मित्र याङ तेह चुन पनि मरिसकेकी छिन्, उनको लास पनि साक्षी छ। त्यत्तिकै वीरांगना र सच्चा मित्र याङ चिङ शु मात्र अझै अस्पतालमा पीडाले छटपटाइरहेकी छिन्। सभ्य मानिसहरूद्वारा आविष्कार गरिएका गोलीहरूबाट छेडिएर यी तीन केटीहरूले अविचलित भई ज्यान दिनु कस्तो भव्यतापूर्ण कुरो, आइमाईहरू र केटाकेटीहरूलाई निठूरतापूर्वक मार्ने चिनियाँ सिपाहीहरूले प्रदर्शन गरेका पराक्रम र विद्यार्थीहरूलाई पाठ सिकाउन मित्र सेनाहरूद्वारा देखाइएको सैनिक वीरता दुर्भाग्यवश रगतका यी केही धर्साहरूद्वारा फिक्का सावित भएका छन्।

तर चिनियाँ र विदेशी ज्यानमाराहरूलाई आफ्ना अनुहारमा लागेका रगतका दागहरूको कुनै पत्तो छैन र अझै टाउको ठड्याई उठिरहेका छन्।

समय अनन्त रूपले बित्दै छः सडकहरू फेरि शान्तिपूर्ण छन् किनभने चीनमा केही अर्थ हुँदैन। यसले अधिकतम रूपमा असल स्वभावका बेकारी मान्छेहरूलाई कुरा गर्न केही विषय दिएको छ र द्वेषी बेकारीहरूलाई “हल्ला” फिँजाउनका लागि सर्जाम जुटाइदिएको छ। कुनै गहन महत्वको कुराको हकमा मलाई लाग्छ यसमा त्यस्तो केही छैन किनभने यो त खाली शान्तिपूर्ण विन्तिपत्र मात्र थियो। रक्तपातको बाटोबाट अघिलम्कने मानव जातिको संग्रामको इतिहास गोल बनाउने जस्तै छ, थोरै गोल बनाउन थुप्रो दाउराको खाँचो पर्छ। तर बिन्तिपत्रले कुनै प्रयोजन पूरा गर्दैन, विशेषगरी निरस्त्र बिन्तिपत्र

तर रगत बगाइएकोले त्यस घटनाले स्वभावत बर्ता चस्काउने गर्छ। कमसेकम यी घटनाहरू मरेकाहरूका नातेदारहरू, गुरूहरू, साथीहरू र प्रेमीहरूको हृदयभरी छरिएर रहनेछन। समय बित्दै जाँदा रगतका टाटाहरू मेटिंदै जानेछन्। तापनि सधै हाँसिरहने सुशिल केटीको आकृति अस्पष्ट पीडा र दुःखबीच सधैभरी रहिरहने छ। कवि ताव–चियनले लेखेका छन्–

“मेरा नातेदारहरू अझै हुन सक्छन् शोकाकूल
जब अरूहरू भने थालिसके गाउन
म त मरें, बितिसकें, अब भन्नु के छ र?
मेरो लास पहाडमा गाडिसकेको छ।
र यति नै पर्याप्त छ।”

जस्तो कि मैले पहिले नै भनिसकेको छ, मेरा देशबन्धुहरूमाथि निकृष्टतम् आपद्विपद् खनिन सक्छ भन्ने कुरा सोच्नेतर्फ म सधै तयार भइबसेको छु। तैपनि यसपालि केही कुराहरूले मलाई छक्क पारेका छन्। पहिलो कुरो हो– अधिकारीहरू त्यस्तो विधिसम्म पाशविक रूपबाट चल्न सक्दा रहेछन्, दोस्रोचाहिं हल्लाबाजहरू त्यति निम्न तहसम्म गिर्न सक्दा रहेछन् र अझै अर्को कुरो चिनियाँ केटीहरूले त्यस्तो विधि बहादुरीका साथ मृत्युको सामना गर्न सक्दा रहेछन्।

पोहोर मात्र चिनियाँ आइमाईहरूले सार्वजनिक कार्यहरूको प्रबन्ध कसरी गर्छन् भन्ने मैले देख्न थाले। उनीहरू थोरै नै भए पनि, म उनीहरूको सामर्थ्य, बृढ निश्चय र दह्रो भावना देखेर चकित भएँ। गोली वर्षा भइरहेको ठाउँमा आफ्नो सुरक्षाको रत्ति ध्यान नलिई एकले अर्कोलाई जोगाउन खोज्ने यी केटीहरूको प्रयत्न स्वास्नीमान्छेहरूको विरूद्ध र उनीहरूको दमन गर्न गरिएका हजारौं वर्षदेखिका षडयन्त्र विरूद्ध दृढतापूर्वक लागि पर्ने चिनियाँ आइमाईहरूको साहसको यो अझै स्पष्ट संकेत हो। भविष्यका लागि यस दुर्घटनाको अर्थ खोज्छौं भने यसको महत्वपूर्ण अर्थ यसैमा छ।

तुच्छ जीवन लिई जिनतिन बाँचिरहेकाहरूले ती कालानीला टाटाहरूका बीच आशाको अस्पष्ट झलक देख्नेछन् तर उता सच्चा जोधाहाहरू अझ बढ्ता दृढताका साथ अघि लम्कने छन्।

अपशोच म बढी कुरा भन्न सक्दिन। तर मैले यति कुरा सुश्री लिउ हो– छनको सम्झनामा लेखेको हुँ।

१ अप्रिल, १९२६

(स्रोत : “लुसुनका केही निबन्धहरू” बाट)

This entry was posted in अनूदित निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *