अनूदित निबन्ध : स्वास्नीमान्छेहरुको मुक्तिका विषयमा

~लु सुन~Lu Xun

कन्फूसियसको भनाइअनुसार “स्वास्नीमान्छेहरू र तल्लो वर्गका मानिसहरूसित व्यवहार गर्नु अत्यन्तै गाह्रो हुन्छ। उनीहरूलाई नजिक आउन दियौं भने उनीहरू सम्मान राख्दैनन् र पर राख्यौं भने इवी गर्छन्।” यहाँ स्वास्नीमान्छेहरू र तल्लावर्गहरू एकै ठाउँमा थुप्य्राइएका छन् तर मलाई यसो भन्दा आश्चर्य लाग्छ। त्यो के भने यसमा उसले आफ्नी आमालाई पनि गाभेको थियो कि थिएन? पछिका कट्टरपन्थी कन्फूसियसवादीहरू कमसेकम देखाउनाका लागि मात्र भए पनि सधै आफ्ना आमाहरूसित सम्मानपूर्वक व्यवहार गर्दथे। तर त्यसो भएर पनि चीनमा आमा भइसकेका स्वास्नीमान्छेहरू पनि आफ्ना छोरा नभएका सबै मानिसहरूबाट हेला गरिएकै छन्।

१९११ को क्रान्तिपछि राजनैतिक अधिकारको भाग पाउनाका लागि ख्याती प्राप्त सुश्री सेन पाइ–चेनले संसदको ढोकामा रहेको पालेलाई लात्तीले हानी र यो स्वास्नीमान्छे हुनुको एउटा फाइदा नै हो। मेरो व्यक्तिगत विचारमा त्यो मान्छे आफै ढलेको होला भन्ने विषयमा मलाई साह्रो शंका छ र हामीहरूमध्ये कुनै लोग्नेमान्छेले त्यसलाई लात्ती हानेको भए त्यसले पनि कैयौं पटक लात्ती फर्काउँथ्यो होला। अचेल थुप्रै विवाहिता महिलाहरू विशिष्ट व्यक्तिहरूसित काँधमा काँध मिलाएर उभिन सक्छन् र उनीहरूसित जहाजमा वा सम्भावनाहरूमा सँगै बसेर तस्वीर खिच्न लाउन सक्छन् वा हवाइजहाज वा सिस्टबोटका अगाडि आफ्नो पहिलो यात्राअघि उभिन र त्यहाँ रक्सीका सीसी फोर्न सक्छन्। (यो अविवाहित स्वास्नीमान्छेहरूको अधिकार हुन सक्छ तर यसबारे मलाई विस्तृत रूपमा थाहा छैन) स्वास्नीमान्छे हुनुमा यो अर्को फाइदा हो। यसबाहेक अरू थुप्रै नयाँ व्यवसायहरू छन्। मैले कारखानामा काम गरिरहनेहरूका विषयमा कुरा गरिरहेको छैन, जसलाई मालिकहरूले रूचाउँछन् किनभने उनीहरको ज्याला थोरै छ र उनीहरू अह्राए जस्तै खुरूखुरू काम गर्छन्। अन्य ठाउँहरूमा उनीहरू स्वास्नीमान्छे भएकाले उनीहरूलाई “फूलका गमलाहरू” भने तापनि “सबै किसिमका सेवा स्वास्नीमान्छेहरूबाट हुनेछ” भन्ने खालका सम्मानित घोषणाहरू भने उनका विषयमा बरोबर देख्छौं। लोग्नेमान्छेहरू भाउन्ने हुने खालको उच्च ओहदामा उठ्न चाहन्छन् भने उनीहरूले खाली पुरूषत्वको मात्र भर परेर पुग्दैन, उनीहरू कमसेकम कुकुरमा पनि फेरिनु पर्नेछ।

मई चौथोको समयदेखि र स्वास्नीमान्छेको मुक्ति आन्दोलनदेखि यताका सफलताहरू यी हुन्। तर व्यवसायी स्वास्नीमान्छेहरूबाट हामीहरू चर्को रूवाई बरोबर सुन्छौ र उता आलोचकहरू नौला स्वास्नीमान्छेहरूलाई हाँसेर उडाइदिन्छन्। आफ्ना सीमाभन्दा बाहिर नाघेर ती आलोचकहरूले समाजभित्र ठट्टा र तर्कहरूका नीति नौलानौला सामग्रीहरू जुटाएका छन्।

यसको कारण के भने उनीहरू समाजमा रहे तापनि अरूहरूद्वारा “पालिएर राखिएकै” छन्। तपाई अरूहरूबाट “पालिएर राखिएका” छन् भने तपाईले ती व्यक्तिहरूलाई आफूमाथि जथाभावी गर्न वा आफूलाई अपमानित गर्न दिनै पर्नेछ। कन्फूसियसले कसरी उजुर गर्‍यो भन्ने कुरो हामीले देखेकाछौं र स्वास्नीमान्छेहरू “पालिराख्न परेकोले” उसलाई “गाह्रो भएको” कुरा पनि हामीलाई थाहा छ। “नजिकै” राख्नु र “पर” राख्नु दुव पटक्कै नमिल्ने भएको कारण यही नै हो। अचेलका धेरैजसो मानिसहरूको भनौं लोग्नेहरूको उजुर यही नै हो, धेरैजसो स्वास्नी मान्छेहरूको उजुर पनि यही नै हो। “राख्ने” र “राखिने” को भिन्नतालाई नबढारेसम्म यी उजुरहरू र घुर्कीहरूलाई बढार्न सकिन्न।

नसुधारिएको यस समाजमा जुनसुकै नयाँ ढाँचा पनि झ्याल सिंगार्नु जस्तै हो। तथ्य कुरा के भने कुनै कुरा पनि वास्तवमा फेरिएको हुँदैन। तपाईले पिंजडामा राखिएको सुगालाई पिंजडाबाट झकेर अरू दन्डीमा उभिन दिनुभयो भने यसको अवस्था त फेरिएको जस्तो देखिन्छ तर वास्तवमा ऊ अझै पनि मान्छेहरूको खेलौना नै हुनेछ किनभने यसको हरेक टोकाई र खाना अरूद्वारा नियन्त्रित छ। यस उखानको अथ पनि यही नै हो “अरूको खाएपछि उसका सबै हुकुमलाई स्वीकार्नुपर्छ।” यसकारण लोग्नेमान्छेहरू सरह स्वास्नीमान्छेहरूले पनि आथिक अधिकार नपाउन्जेल मलाई त तिनका विषयमा सुनाइने मीठा विशेषणहरू सबै खोक्रा हुन् भन्ने लाग्छ। वास्तवमा लोग्नेमान्छे र स्वास्नीमान्छे जातका बीच शारीरिक तथा मनोवैज्ञानिक भिन्नताहरू हुन्छन् जसरी एकै जातका सदस्यहरूका बीचछ पनि भिन्नता हुन्छन्। तर समाजमा उनीहरको स्थान समान हुनुपर्छ। उनीहरूको स्थान समान भएपछि मात्र हामीहरूले सच्चा स्वास्नीमान्छेहरू र सच्चा लोग्नेमान्छेहरू पाउने छौं र उजुर र घुर्कीको अन्त गर्न सक्नेछौं।

वास्तविक मुक्ति पाउनुअघि संघर्ष हुन्छ, हुन्छ। तर स्वास्नीमान्छेहरूले पनि लोग्नेमान्छेहरूले झैं हतियार बोक्नेपर्छ वा बच्चालाई आफूले एकापट्टीको मात्र मुन्टो चुसाएर आधा जिम्मेवारी लोग्नेमान्छेहरूलाई छोड्नुपर्छ भनी मैले भनिरहेको छैन। मैले भन्न खोजेको मुख्य कुरा के भने हामीहरूले हालको अवस्थासित सन्तुष्ट भई चुप लाएर बस्नु हुँदैन, बरू विचारधारा र आर्थिक अवस्था–यी दुवै कुराहरूमा मुक्ति पाउनका लागि संघर्ष चलाउनु पर्छ। एक चोटी समाज मुक्त भएपछि व्यक्तिहरू पनि आपसेआफ मुक्त हुनेछन्। वास्तवमा आज स्वास्नीमान्छेहरूलाई कस्सिरहने साङ्लाहरूको विरोधमा मात्र भए पनि संघर्ष गर्नु आवश्यक भएको छ।

मैले स्वास्नीमान्छेहरूको समस्याहरूको विषयमा कहिल्यै अध्ययन नगरेको हुनाले, यसरी मेरो विचार दिंदा, योभन्दा बढी भन्ने आँट मसित छैन।

(स्रोत : लुसुनका केही निबन्धहरुबाट)

This entry was posted in अनूदित निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *