स्रष्टा परिचय : मेक्सीम गोर्की को थिए?

~विमल पोखरेल~

मेक्सीम गोर्की रुसी साहित्यकार हुन्। उनको नाम विश्व सर्वहारा साहित्यमा अग्रस्थानमा आउँछ। उनी साहित्यकार मात्रै नभएर एक कम्युनिस्ट कार्यकर्ता पनि थिए। उनको साहित्यले विश्व साहित्यमात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई पनि अतुलनीय योगदान पुर्‍याएको छ। आज पनि मेक्सीमका साहित्यहरु विश्वभरि सर्वाधिक पढिन्छन्। उनको साहित्यले गरिब र सर्वहाराको मुक्तिबाहेक अर्थाेकलाई तिरस्कार गरिदियो। त्यसकारण उनी गरिब, मजदुर, निमुखा, दुःखी, दीनहीन, सर्वहारावर्गका लागि महान् सावित भए।

सन् १८६८ मार्च १६ का दिन एउटा गरिब परिवारमा मेक्सीम गोर्कीको जन्म भयो। उनको जन्मको नाम चाहिं अलेक्सेयी मेक्सीमोभिच पेशकोभ थियो। उनका बुबाको नाम मेक्सीम सब्यात्यभीच पेशकोभ थियो भने आमाको नाम बार्बरा भासिल्युभ्ना थियो। उनी सानै छँदा टुहुरो भए। १८७२ मा उनका बुबाको मृत्यु भयो। त्यसपछि उनले मावली हजुरआमाको काखमा आफ्नो बाल्यकाल विताए। उनकी हजुरआमा दयालु र मिजासिली थिइन्। उनले कैयौं दन्तेकथाहरु मेक्सीम गोर्कीलाई सुनाउने गर्थिन्। गोर्कीले ध्यानपूर्वक ती कथाहरु सुन्ने गर्दथे। उनका हजुरबा कठोर थिए, गोर्कीले केही विराइहाले भने छडिले पिट्थे। तर उनै हजुरबाले गोर्कीलाई सानै उमेरमा भजन सिकाए। उनले पढाइप्रति गहिरो रुची राखेको देखेर कठोर हजुरबाले कहिलेकाहीं उनलाई खेल्न पठाउँथे।

गोर्की ८ वर्षको हुँदा उनकी आमाले पाठशालामा भर्ना गरिदिइन्। तर उनले त्यहाँ करिब १ महिना मात्रै विताए। उनकी आमाले दोस्रो विवाह गरेका कारण गोर्की आफ्नी आमासँग धेरै बस्न पाएनन्। धेरै समय हजुरआमासँगै वित्यो। उनी दश वर्षको हुँदा आमाको पनि रोग लागेर मृत्यु भयो। हजुरबाले उनलाई अब “आफै काम गरेर खा” भन्दै घरबाट निस्कने आदेश दिए। बाआमा नभएको टुहुरो मावलीघरबाट सडकमा पुग्यो। Maxim Gorki

त्यसपछि उनले शहरको जुत्ता सिलाउने सार्कीको पसलमा सिकारु कामदारको रुपमा काम गर्न थाले। उनले पसल तथा कोठा बढार्ने, कपडा मिलाउने, तरकारी काट्ने, दाउरा चिर्नेजस्ता काम गरे। त्यहाँ उनले राम्रो कुरा कहिल्यै सिक्न पाएनन्। उनी त्यहाँबाट उम्कन प्रयासरत रहे। केही समयपछि उनका हजुरबाले आफ्ना नातेदारकहाँ काममा लगाइदिए। त्यहाँ पनि उनले घरायसी काम नै गर्नुपर्थ्यो। त्यसको केही समयपछि उनी गिर्जाघरमा गए। त्यहाँ उनले केही रमाइलो अनुभव गरे। त्यहाँ भजनहरु क48ठ गर्थे। एक दिन उनलाई २० कोपेकको रोटी किनेर ल्याउन भनियो। उनी त्यही पैसा बोकेर टाप कसे।

गिर्जाघरबाट निस्केपछि उनी मालसामान ढुवानी गर्ने जहाजमा आनन्दसँग डुल्न थाले। राती बन्दरगाहमा सुत्न थाले। उनले जहाजमा भाँडा सफा गर्ने काम पाए। जहाजको मालिक, जसको नाम स्मरी थियो, ले केही किताबहरु (दार्शनिक, धार्मिक किताब, पत्रिका आदि) राखेको थियो। मालिक आराम गर्न बसेका बेला गोर्कीले ती किताबहरु पढेर सुनाउनुपर्थ्याे। स्मरीले गतिलो मान्छे बन्नका लागि गतिला किताब पढ्नुपर्छ भन्ने गर्दथे। स्मरीले गोकर्ींलाई खुब पढ्न लगाए। नबुझने भएमा दश चोटी पढ्नुपर्छ भन्थे। वास्तवमा उनले पढ्ने उपदेश मात्रै दिएनन, गोर्कीलाई पढ्ने बानीको लत लगाइदिए। केही समयपछि चोरीको आरोपमा गोर्कीलाई त्यहाँबाट निकालियो। गोर्की निर्दाेष हुँदाहुँदै पनि स्मरीले उनलाई रोक्न सकेनन्। स्मेरीले गोर्कीलाई विदा गर्दा गर्दै सधैं पढिरहनु भने। त्यसपछि उनी हजुरआमाकहाँ फर्किए। उनले स्वतन्त्रतापूर्वक जीवन विताउन थाले। जीविकोपार्जनका लागि उनी जंगलमा गएर चरा समात्न थाले।

गोर्की वास्तवमा किताबको कीरो बन्न थाले। उनले जीवनी, साहित्य तथा ऐतिहासिक किताबहरु पढ्न थाले। उनले आफ्नो पढाइको विषयमा यसरी लेखेका छन् “पुस्तकहरुसित मेरो सम्बन्ध घनिष्ट भयो। म पुस्तक विना एकछिन पनि बस्न नकस्ने भएँ। एउटा जँड्याहाले रक्सीको विषयमा जसरी सोच्छ, त्यसैगरी मैले किताबको विषयमा सोच्न थालें। मेरो वरिपरिको यो वातावरणभन्दा भिन्दै खाले, राम्रो, राम्रा काम गर्ने असल मानिसहरु भएको संसार पनि हुँदोरहेछ भन्ने कुरो मलाई किताबहरुले बताए।”

१९८१ तिर उनले एउटा पसलमा काम गर्न थाले। उनले त्यहाँ चियानास्ता पकाउने र सरसफाइ गर्ने काम गर्नुपर्थ्याे। त्यहीक्रममा उनको निकोलाई यभ्रेइनोभ भन्ने साथीसँग भेट भयो। उनीहरुबीच किताबको बारेमा कुराकानी हुन्थ्यो। निकोलाई गोर्की भन्दा केही वर्ष जेठा थिए। उनले गोर्कीलाई आफ्नी आमासित गएर बस्ने र विश्वविद्यालयमा जानको लागि पूर्व तयारी गर्न सुझाव दिए। विश्वविद्यालय भर्ना हुनको लागि उनले केही परीक्षाहरु पास गर्नुपर्थ्याे। निकोलाईले गोर्कीलाई धेरै ठूलो सहयोग गरे। १८८४ मा उनी निकोलाइकी आमाको घर जान हिंडे। उनी हजुरआमासित विदाइ भएर विश्वविद्यालय जाने ढोका उघार्नको लागि कजानतिर हिंडे। त्यहाँ उनको बसाई लामो भएन। वास्तवमा साथीकी आमाकहाँको नराम्रो वातावरणले गोर्की बस्नै नसक्ने भए। उनी त्यहाँबाट भोल्गातिर हिंडे। उनको विश्वविद्यालयको सपना हावाको महलजस्तै ढल्यो। १८८७ मा उनले नाचघरमा गायक हुनको लागि गीत गाए, तर उनी अयोग्य घोषित भए। त्यति नै बेला कजानको विश्वविद्यालयमा विद्रोह भयो। त्यो विद्रोहमा गोर्कीका चिनेका साथीहरु पनि गिरफ्तार भए। ती विद्यार्थीहरुका नेता भ्लादिमिर उल्यानोभ लेनिन थिए।

त्यसताका उनी धेरै निरास थिए। हतोत्साही उनले त्यही समयमा एउटा पिस्तोल किनेर आफ्नै छातीमा गोली हाने। तर मरेनन्। अस्पतालमा अपरेशनपछि उनलाई निको भयो। उनले त्यो घटनाबाट आफू अत्यन्तै लज्जित भएको बताएका छन्। १८८८ मा मिखाइल रोमास, जुन समाजवादी राजनीतिक कार्यकर्ता थिए, ले आफ्नो गाउँ भोल्गाको क्रास्नोभिडोभोमा लगे र आफ्नो किराना पसलमा काम लगाए। रोमास एउटा क्रान्तिकारी थिए। उनले धेरै राम्रा किताबहरु राखेका थिए। गोर्कीले त्यहाँ भएका किताबहरु पढे र उत्साहित भएको महसुस गरे। पसल रोमासको देखाउने दाँत थियो। उनको मुख्य काम त किसानहरुलाई संगठित गर्ने र उनीहरुलाई ऋणबाट मुक्त गराउने थियो। त्यति नै बेला क्रान्तिकारी रोमास २ वर्ष जेलमा थुनिए। रोमाससँगको भेट गोर्कीलाई फलदायी लाग्यो।

१८८९ मा गोर्की पनि गुप्तचरको गिरफ्तारीमा परे। गिरफ्तारीसँगै उनले लेखका लेखहरु एकजना हाकिमले पढ्यो र “लेख्दै गर्न” भन्यो। उनले केही कथा, कविताहरु लेख्न थाले। १८९२ मा “कावकासम” भन्ने पत्रिकामा “मकर छुद्र” भन्ने कथा गोर्कीको नाममा छापियो। यो उनको छापिएको पहिलो कथा थियो। उनले त्यसपछि केही कथाहरु लेखे। तर छापिएनन्। नछापिए पनि उनले लेखिरहे। गोर्की १९९५ मा “समसिकया गजेटा” भन्ने पत्रिकाको सम्पादक बने।

गोर्कीले १८९६ मा यकाटेरिना पायभोभ्ना भोल्सीनासित विवाह गरे। उनी एउटा पत्रिकामा प्रुफ रिडरको काम गर्थिन्। उनी क्रान्तिकारी थिइन्, जो देश र जनताप्रति समर्पित थिइन्। उनीहरुका १ छोरा र १ छोरी जन्मिए। गोर्कीले कति छिटो लेख्थे भन्ने कुरा १८९६ मा उनले लेखेका रचनाहरुबाट पुष्टि हुन्छ। उनले त्यो वर्षभरिमा २ सय भन्दा बढी लेख, ४१ कथा तथा अन्य समीक्षात्मक लेख, निबन्धहरु समेत लेख्न भ्याए। त्यसपछि उनी अत्यन्तै चर्चित भइसकेका थिए। उनले केही मार्क्सवादी पत्रिकाहरुमा पनि लेख्थे। सुरुसुरुमा त उनले निराशाजनक रचनाहरु लेख्ने गर्थे। उनको जीवन उदास थियो। उनी पनि उदासी देखिन्थे। कतैबाट पनि सन्तुष्टि पाउने ठाउँ थिएन। रुसमा जारशाहीको शासन भएको हुनाले राजनीतिक घटनाक्रमहरु घटिरहन्थे।

१९०१ को मार्चमा सेन्ट पिटर्सवर्गमा विद्यार्थीहरुको ठूलो प्रदर्शन भयो। उक्त प्रदर्शनलाई निर्ममतापूर्वक दमन गरियो। विद्यार्थीहरुलाई काटेर ढालियो। त्यसपछि गोर्कीले दमनको विरोधमा लेखक संघले प्रकाशन गरेको विज्ञप्तिमा सही गरे। अप्रिलमा गोर्कीसहित अन्य थुप्रै लेखकहरुलाई जेलमा हालियो। गोर्कीलाई पक्रेको विरोधमा लियो टाल्सटायले रुसभरि एउटा अभियान चलाए। व्यापक विरोधपछि गोर्कीलाई मे महिनामा घरमै नजरबन्द हुनेगरि जेलबाट निकालियो। त्यसपछि उनी “इस्क्रा” क्रान्तिकारीहरुलाई सहयोग गरे। १९०१ नोभेम्बरमा निस्नीमा उनको समर्थनमा विद्यार्थी र मजदुरहरुले भव्य प्रदर्शन गर्दै गोर्की जिन्दावाद, स्वतन्त्रता जिन्दावादको नारा लगाए। उनी निस्नीबाट क्रिमियामा जाँदै थिए। वास्तवमा मेक्सीम एक स्वतन्त्रता सेनानी भइसकेका थिए। १९०२ को फेब्रुअरीमा गोर्कीलाई विज्ञापन प्रतिष्ठानको रुसी भाषा र साहित्यको अध्यक्षले गोर्कीलाई सम्मानार्थ सदस्यता प्रदान गरे। त्यसको व्यापक विरोध भयो। विरोधीहरुले गोर्कीलाई “दुई हप्ते विद्वान, “बौद्धिक स्तरविहीन”, भन्न पनि बाँकी राखेनन्। उनीहरुले “दुई सय वर्ष पुरानो प्रतिष्ठानको बेइज्जती” भएकोसम्म भने। यसबाट गोर्कीको लोकप्रियतामाथि कुनै फरक परेन। त्यसपछि गोर्कीले केही नाटकहरु लेखे। जुन प्रदर्शन भए। “निम्न मध्यम वर्ग”, “निकृष्ट खाडल” लगायतका नाटकहरु लेखे। उनले लेखेका नाटकको प्रदर्शन हुनेबेला सरकारलाई ठूलै डर हुन्थ्यो। निकृष्ट खाडलमा गोर्कीले गरिबहरु र रुसी जारशाहीको दमनको चित्रण गरेका थिए। सन् १९०५ र १९०७ को रुसी क्रान्तिमा यसले साहित्यिक भूमिकामा काम गर्‍यो। १९०४ र १९०५ नोभेम्बर ११ मा गोर्कीको तेस्रो नाटक “गृष्मका पाहुनाहरु” सेन्ट पिटर्सवर्गमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा रुसका प्राय सबै साहित्यिक व्यक्तिहरु र पत्रकारहरु उपस्थित भएका थिए। रुसी जनता जारशाहीको विरोधमा थिए। मजदुरहरुको विरोध बढ्दै गएको थियो। १९०५ जनवरी ५ मा जारशाहीलाई एउटा निवेदन दिन हजारौं सर्वसाधारणको जुलुस जारशाहीको दरबारतिर गइरहेको थियो। त्यो जुलुसलाई ठूलो दमन गरियो। गोर्कीले त्यसको विरोधमा एउटा वक्तव्य लेखे। जनवरी ११ मा प्रहरीले पक्रेर थुन्यो। उक्त गिरफ्तारीको देशभरि विरोध भयो। थुप्रै पत्रिकाहरुले उनको पक्षमा लेखे। केहीले “गोर्कीलाई बचाउ” भने। राजनीतिज्ञ, कलाकार, साहित्यकारहरुले उनको रिहाइ माग गरे। उनी फेब्रुअरीमा रिहा भए। उनी रिहाभएलगत्तै रुसको समाजवादी जनतान्त्रिक पार्टीका सदस्य भए। उनले समाजवादी क्रान्तिकोबारेमा लेख्न थाले। उनले जेलमा रहँदासमेत केही नाटकहरु लेखेका थिए। उनको लेख्नेक्रम रोकिएन। त्यही वर्षको अक्टोबरमा लेनिनको सम्पादकत्वमा एउटा पत्रिका प्रकाशित भयो। उक्त पत्रिका जफत भयो। त्यसलाई “समाजवादी प्रजातान्त्रिक अखवारमाथि आक्रमण” भन्दै त्यसको विरोध गरियो। त्यसमा लेनिन, गोर्कीलगायतका लेखहरु छापिन्थे।

१९०६ पछि उनी फिनल्यान्ड, बर्लिन, स्वीटजरल्यान्ड, पेरिस हुँदै अमेरिका पुगे। न्युयोर्कमा उनलाई भव्य स्वागत गरियो। त्यहाँका पत्रपत्रिकाहरुले उनलाई ठूलो स्थान दिए। गुप्तचर विभागले उनलाई त्यहाँ निकै बद्नाम गर्न खोज्यो। होटलहरुले बस्नसमेत नदिने अवस्था सिर्जना भयो। उनी एकजना लेखकको घरमा बसे। उनले रुसी जारशाहीको विरोधमा त्यहाँको एउटा पत्रिकामा लेखहरु लेखे। उनले अमेरिकाको काला पाटाहरु बारेमा पनि लेख्न थाले। अमेरिकामा बसेर रुसका विरुद्ध लगातार लेखिरहेकाले रुसमा त्यसको ठूलो असर पर्न थाल्यो।

गोर्कीले सन् १९०६ मा आमा उपन्यास प्रकाशन गरे। अमेरिका र लन्डनमा उक्त उपन्यास अंग्रेजी भाषामा प्रकाशित भएको थियो। आमा उपन्यासमा उनले रुसको जारशाहीको दमन, मजदुर आन्दोलन, समाजवादी पार्टी र क्रान्तिको बारेमा गहिरो र सु73म ढंगले वर्णन गरे। मजदुरवर्गीय उपन्यास आमा संसारभर चर्चित मात्रै भएन, धेरै भाषाहरुमा छापियो। रुसका प्रतिक्रियावादीहरुले “आमा” उपन्यासको कडा विरोध गरे। एकजना लेखक “फिलोसिफोभ”ले “गोर्कीको अन्त्य” भनेर लेखे। तर आमा उपन्यास आज पनि संसारभरका दुःखी, गरिब र मजदुरहरुका बीचमा प्रिय “ग्रन्थ” बनेको छ। संसारभरका भाषाहरुमा करोडौं प्रति छापिइसकेको छ। अझै पनि छापिइरहेको छ। आजभन्दा एक सय वर्ष अगाडि लेखिएको उक्त उपन्यास कहिल्यै पुरानो भएन।

१९०७ मा रुसी समाजवादी पार्टीको पाँचौं महाधिवेशन सम्पन्न भयो। त्यो महाधिवेशनपछि गोर्कीको रुसी बोल्सेभिक पार्टीका नेता लेनिनसँगको मित्रता घनिष्ट भयो। तर १९०९ तिर पार्टीमा मतभेद बढेपछि गोर्की निकालिए। त्यसपछि उनले रुसी साहित्यकार टाल्सटायबारे अध्ययनलाई अगाडि बढाए। १९१० मा पार्टीसितको विवाद केही साम्य हुँदै गएपछि उनले बोल्सेभिकहरुको पत्रिका “स्भेज्दा”लाई कथाहरु लेखे। गोर्कीले १९१३ मा आफ्नो आत्मकथामा आधारित “बालककाल” भन्ने उपन्यास लेखेका छन्। उनले आफ्ना रचनाहरुलाई सर्वहारावर्गीय दृष्टिकोणले नै प्रस्तुत गर्दथे।

मेक्सीम गोर्की सधै भन्ने गर्थे कि तिम्रो जीवन र तिम्रो आफ्नो बारेमा वा आफ्नो विचारमात्रै नलेख। लाखौं मानिसहरु छन् भन्ने सोच। गरिब र श्रमिकहरुको विचार, भावना र उत्साहलाई समेट। लेखक सधै जनताको आवाज बन्नुपर्छ। गोर्की १९१४ देखि सुरु भएको दोस्रो विश्वयुद्धका विरुद्ध थिए। उनले विभिन्न लेखहरुमार्फत् युद्धको विरोध गरे। १९१५ मा उनले आफै सम्पादक भएर करिब एक वर्षसम्म एउटा पत्रिका निकाले “लिपोटिज”। जसमा युरोपभरि शान्तिको आह्वान गरिएको थियो। त्यसमा कैयौं समाजवादी लेख तथा युद्धका विरुद्ध विचार छापिन्थे। समाजवादी विचार बोकेका गोर्कीलाई विरोधीहरुले “गोर्की सदमासहरुको सर्दार भएको” आरोप लगाए।

गोर्कीको विचार सधै एकनासको भने देखिंदैन। उनले अक्टोबर क्रान्तिको विरोध पनि गरेका थिए। उनले लेनिनको घोर विरोधसमेत गरे। उनले अक्टोबर क्रान्ति सम्पन्न भएपछि मात्रै लेनिनको प्रशंसा गरेका छन्। उनले कहिले समाजवादी पार्टीमा बसेर काम गरेका छन् भने कहिले विरोध गर्दै पनि हिंडेका छन्। उनले आफूलाई “राजनीतिप्रति वास्ता नभएको” समेत बताएका छन्। तर उनले रुसी क्रान्तिको समयमा सांस्कृतिक कृतिहरुको खोज र संरक्षण गर्न भने प्रयत्न गरेका छन्।

उनी विरामी थिए। क्षयरोगले चाप्दै लगेका थियो। उनको उपचार स्वीटजरल्यान्डमा भयो। उपचारपछि बर्लिनको नजिक तार्मब्जेलमा बस्न थाले। त्यहाँ उनले आत्मसंस्मरणमा आधारित उपन्यास “मेरा विश्वविद्यालय” लेखे।

सन् १९२४ मा लेनिनको मृत्यु भयो। जसको नेतृत्वमा १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भएको थियो। लेनिनको मृत्युपछि “लेनिनका सम्झनाहरु” लेखे। त्यसो त उनको लेख्ने क्रम कहिल्यै रोकिएको पाईदैन। उपन्यास, कथा, संस्मरण, निबन्ध लेखिरहे। उनले १९२८ मा “मैले कसरी लेख्न सिकें?” भन्ने निबन्ध लेखे। जसमा उनले आफ्नो पढ्ने र लेख्ने सोच, तरिका, अध्ययनबारे प्रष्ट्याएका छन्। गोर्की १९२८ मै रुस फर्के। रुसमा उनको भव्य स्वागत गरियो। रुस फर्किसकेपछि उनी सोभियत रुसको साहित्यिक संसारका अगुवा भए। त्यसपछि उनले धेरै पत्रिकाहरुको सम्पादन गरे भने रुसी युवाहरुलाई उर्जा दिनेखालका साहित्यिक रचनाहरु लेखे। १९३२ मा रुसी राष्ट्रपति स्टालिनले गोर्कीलाई “अडर अफ लेनिन” को सम्मान दिए। गोर्की फासीवादी हिटलरको विरुद्धमा उत्रिए। जर्मन सरकारले गोर्कीका जर्मन भाषामा उल्था गरिएका सम्पूर्ण कृतिहरु जफत् गर्‍यो। १९३४ मा रुसी लेखकहरुको पहिलो सम्मेलन सम्पन्न भयो। त्यसबाट गोर्की अध्यक्षमा चुनिए। त्यही वर्ष नै उनले छोरा गुमाए, जसले गोर्कीलाई ठूलो चोट पुर्‍यायो। त्यतिबेला गोर्की पनि जीवनको अन्तिम घडीमा हिंड्दै थिए। रोगले समातेका कारण स्वास्थ्य दिनप्रतिदिन विग्रँदै गएको थियो। गोर्की सन् १९३६ जुन १८ मा यस संसारबाट सधैको लागि विदा भए। मास्को रेडियोले उनको मृत्यु भएको घोषणा गर्‍यो। स्टालिन, मोलोतोभ, आइसोनिकिड्ेलगायत रुसी नेता र धेरै रुसी जनताले श्रद्धाञ्जली अर्पण गरे। रुस, रुसी मजदुर र विश्व सर्वहारा साहित्य शोकाकुल बन्यो।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ९ – २०६७ पौष २८ गते, बुधबार)

This entry was posted in स्रष्टा परिचय and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *