समालोचना : सांस्कृतिक साम्राज्यवाद र जनसांस्कृतिककर्मीहरुको दायित्व

~अमर गिरी~amar-giri

१. प्राक्कथन :

सांस्कृतिक साम्राज्यवाद र जनसंस्कृतिकर्मीहरूको दायित्व जस्तो गम्भीर विषयमा नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा एक साझा संस्थाका माध्यबाट समान धारणा र निष्कर्षहरूमा पुग्नाका निम्ति छलफल चलाउन खोजिएको सम्भवतः यो पहिलो अवसर हो। यस विषयमा हाम्रो मुलुकको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा बेलाबखत सामान्य चर्चाहरू भए पनि विहगम्रूपमा विचारविमर्श गर्ने र यस विरूद्धका संघर्षका रूपहरू निश्चित गर्दै साझा भूमिका, दायित्व र आन्दोलनको रूपखेरा तयार गर्ने दिशामा अहिलेसम्म ठोस कामहरू हुन सकेका छैनन्। अहिले पनि यो काम त्यति सहज र सरल छ जस्तो यस कार्यपत्र प्रस्तोतालाई लाग्दैन। सांस्कृतिक आन्दोलनमा रहेको वैचारिक विमति र प्रवृत्तिगत भिन्नताहरू नै स्थिति सहज र सरल नहुनुका प्रमुख कारणहरू हुन्। तर सांस्कृतिक साम्राज्यवादको बढ्दो आक्रमणलाई दृष्टिगत गर्दा यस विषयमा गम्भीर हुनु र यस विरूद्धको संघर्षमा साझा सहमति र निष्कर्षहरूमा पुग्नु अत्यावश्यक भइसकेको अनुभव हुन्छ।

निःसन्देह सांस्कृतिक आन्दोलनको सवाल विचारधारात्मक विषय भएकोले यस क्षेत्रमा रहेका र रहने कतिपय मत भिन्नताहरूलाई तुरून्तै समाधान गरिहाल्न सम्भव पनि छै र त्यस्तो हतार गरिहाल्नु उचित पनि हुँदैन। हतरामा बनेका धारणा र निश्कर्षहरू व्यवहारमा लागु नभएका धेरै उदाहरणहरू हाम्रा माझ छन् तर पनि सत्य के हो भने सांस्कृतिक साम्राज्यवादको आम जनता र क्रान्तिकारी आन्दोलनमाथि भइरहेको भीषण आक्रमणलाई एक्लै परास्त गर्न सम्भव छैन। ढिलो होस् वा चाँडो प्रगतिवादी सांस्कृति आन्दोलनभित्रका सम्पूर्ण जनसंस्कृतिकर्मीहरूले सांस्कृतिक साम्राज्यवाद विरूद्ध सामूहिक र एकताबद्ध संघर्षको बाटो निर्माण गर्नै पर्नेछ र अगाडि बढ्नै पर्नेछ। त्यसैले अनेकामा एकता र असहमतिहरूकै बीचबाट सहमति खोज्ने कुरालाई हामीले हाम्रो कार्यको प्राथमिकता सूचीभित्र राख्नैपर्छ र त्यसअनुरूप डोरिन कोशिस गर्नैपर्छ। यस कार्यपत्रमा मैले मूलतः यही कुरालाई केन्द्रविन्दुमा राखेर छलफललाई अघि बढाउन कोशिस गरेको छु। भिन्नता र असहमतिहरूका माझबाट पनि सामूहिक र एकताबद्ध सांस्कृतिक आन्दोलनको शुरूवात गर्न सकिन्छ र सांस्कृतिक साम्राज्यवाद विरूद्धको संघर्षलाई धारिलो र प्रभावशाली बनाउन सकिन्छ भन्ने मेरो दृढ धारणा रहेको छ।

२. के हो सांस्कृतिक साम्राज्यवाद भनेको?

सांस्कृतिक साम्राज्यवादलाई बुझ्ने परिभाषित गर्ने विषयमा पनि समस्याहरू रहने गरेका छन्। कतिपयले सांस्कृतिक साम्राज्यवादलाई पूंजीवादको आर्थिक, राजनैतिक, उद्देश्यहरूबाट पृथक राखेर व्याख्या विश्लेषण गर्दछन् भने कतिपयले सांस्कृतिक साम्राज्यवाद, सूचना साम्राज्यवाद र साम्राज्यवादी संस्कृतिलाई एउटै ठान्ने धारणा राख्दै विषयवस्तुलाई गञ्जागोल पार्दछन्। सांस्कृतिक साम्राज्यवादलाई पूंजीवादका आर्थिक, राजनैतिक उद्देश्यहरूबाट पृथक राखेर व्याख्या विश्लेषण गर्ने प्रवृत्ति जति त्रुटिपूर्ण छ, सांस्कृतिक साम्राज्यवाद, सूचना साम्राज्यवाद र साम्राज्यवादी संस्कृतिलाई एउटै भनेर अर्थ्याउने दृष्टिकोण पनि त्यत्तिकै खोटपूर्ण छ। सांस्कृतिक साम्राज्यवादलाई साम्राज्यवादीहरूको आर्थिक, राजनैतिक उद्देश्यहरूबाट पृथक राखेर व्याख्या विश्लेषण गर्न सकिंदैन र त्यसप्रकारको व्याख्याविश्लेषणबाट सही निश्कर्षमा पुग्न पनि सकिंदैन। यसैगरी सांस्कृतिक साम्राज्यवाद, सूचना साम्राज्यवाद र साम्राज्यवादी संस्कृतिका बीचमा भिन्नताहरू भए पनि यी बीचको अन्तर्सम्बन्धलाई नजरअन्दाज गर्न पनि मिल्दैन। खासगरी सूचना साम्राज्यले सांस्कृतिक साम्राज्यवादको संवहनमा निभाइरहेको भूमिका अत्यन्त महत्वपूर्ण छ। साम्राज्यवादी आर्थिक, राजनैतिक र सांस्कृतिक उद्देश्यहरूको प्राप्तिका निम्ति विकसित र विस्तारित सांस्कृतिक साम्राज्यवादलाई भूमन्डलीकृत सूचना र संचार प्रविधिले आम जनताका घरघरमा बोकेर हिंडिरहेको छ। सूचना र संचार माध्यमहरूको महाजालो सांस्कृतिक साम्राज्यवादको त्यो आधार हो, जसका माध्यमबाट सांस्कृतिक साम्राज्यवादले विश्व पूंजीवादका निम्ति बजार निर्माण मात्र भूमिका निर्वाह गरिरहेको छ। वस्तुतः सांस्कृतिक साम्राज्यवाद भूमन्डलीकृत उच्चतम सूचना र संचार प्रविधिहरूमा माध्यमबाट तेस्रो विश्वका मुलुकहरूमा पस्किएको पश्चिमा पूंजीवादी कुरूप संस्कृतिको समुच्य हो। सांस्कृतिक साम्राज्यवादलाई तेस्रो विश्वका मुलुकहरूमा गरिएको गैरसैनिक आक्रमणका रूपमा पनि अर्थ्याउन सकिन्छ, जसले सूचना र संचारका आधुनिकतम र प्रविधिहरूका माध्यबाट मानिसहरूका घरघरमा प्रवेश गर्दै पूँजीवादका निम्ति वित्तीय आधार तथा बजार निर्माणका निम्ति सक्रिय र प्रभावशाली भूमिका निर्वाह गरिरहेको छ। तर सांस्कृतिक साम्राज्यवादलाई विशुद्ध मुनाफासँग मात्र जोड्नु पनि गल्ती हुनेछ। यसका उद्देश्यहरू व्यापक छन्। विश्वपूंजीवादलाई सुरक्ष्ँित राखिराख्ने रणनीतिबाट ती निर्मित तथा परिचालित छन्।

सांस्कृतिक साम्राज्यवादको मुख्य उद्देश्य साम्राज्यवादी स्वार्थहरूको संरक्षण र पोषण नै हो, जो पूंजीवादी विकृत र कुरूप संस्कृतिको प्रचार र प्रसारका माध्यमबाट गरिन्छ। आज पूंजीको भूमन्डलीकरण र आर्थिक नवउपनिवेशवादका नयाँ अध्याय चलिरहेछ, जसका निम्ति विविधप्रकारका विशाल वित्तीय संगठनहरूको निर्माण मात्र भएको छेन, नयाँ प्राद्योगिकीमा आधारित सूचना, संचार र मनोरञ्जनको अभूतपूर्व र विशाल नेटवर्कहरूको निर्माण पनि भएको छ। यसका माधयमबाट पूंजीवादी सांस्कृतिक वर्चश्वका नयाँ रूपहरू अगाडि आएका छन् र सांस्कृतिक हमला विगतको तुलनामा कैयौं गुणा तीब्र भएको छ। सांस्कृतिक साम्राज्यवादका माध्यमबाट भइरहेको वैचारिक सांस्कृतिक हमला मूलतः जनवादी, प्रगतिशील मूल्य, मान्यता र आदर्शका विरूद्ध केन्द्रित रहेको छ। तेस्रो विशवका मुलुकमा चलिरहेका राष्ट्रिय स्वाधीनता र जातीय मुक्ति आन्दोलनहरू, जनवादी क्रान्तिका निम्ति भइरहेका संघर्षहरू, जनवादी प्रगतिशील वैचारिक–सांस्कृतिक आन्दोलनहरूलाई जरैदेखि समाप्त पार्न सांस्कृतिक साम्राज्यवादले वैचारिक विभ्रमहरू उत्पन्न गर्ने र आत्मिक भ्रष्टिकरणको प्रक्रियालाई तीब्र पार्ने काम गरिरहेको छ। भूमन्डलीकरणको यस प्रक्रियामा बुर्जुवा संस्कृति आफ्नो इतिहासमा सबैभन्दा बढी जनद्रोही, विज्ञानविरोधी र निरंकुश बन्दै गएको छ, बुर्जुवा जीवनमूल्य र फाशिष्ट मूल्यहरू बीचको अन्तर करिब–करिब समाप्त भएको छ। संगठित पूंजीवादको भूमन्डलीय तन्त्रले आज तेस्रो विश्वका मुलुकहरूमा इलेक्ट्रोनिक वा मास मिडियाका माध्यमबाट त्यहाँको जनमानसलाई प्रभावित र अनुकूलित गर्ने प्रक्रिया अभूतपूर्व र आश्चर्यजनक छ। पूंजीवादी सिद्धान्तकारहरूद्वारा निर्मित दर्शन र विचारका लोकप्रिय संस्करणहरूलाई टी.भी., सिनेमा, विज्ञापन आदिका माध्यमबाट जनतामाझ पस्कने काम आश्चर्यजनक ढंगले भइरहेको छ। रूग्ण व्यक्तिवाद, उन्माद, सनक, निराशा र अलगाव आदि जस्ता जीवनविरोधी, जनद्रोही र अवैज्ञानिक संस्कृतिले अआमा जनताको घरेलु जीवन मूल्य र व्यक्तिगत क्रियाकलापहरूलाई समेत प्रभावित गरिरहेको छ। पूंजीवादको उच्च प्रविधि आधारित यस सांस्कृतिक वितन्डाले नवरहस्यवाद र पूंजीप्रतिको अन्धभक्ति र आरधानाको शिक्षा दिइरहेको छ र यस सांस्कृतिक साम्राज्यवादको नेतृत्व गर्ने काम मुख्यतः विश्व पूंजीवादको नाइके अमेरिकी साम्राज्यवादले गरिरहेको छ।

सांस्कृतिक साम्राज्यवादले तेस्रो विश्वका मुलुकहरूमा आज जुन स्थिति सिर्जना गर्दैछ, त्यो अत्यन्त भयावह छ। राष्ट्रिय संस्कृति र चिनारीलाई ध्वस्त पार्नु र त्यस ठाउँमा विकृत कृत्रिम र परजीवी संस्कृतिका निर्माण गर्नु, सहिष्णुता, संयम, समझ्दारी र विवेकका ठाउँमा असहिष्णुता, असंयम, असमझ्दारी र आवेगलाई जन्मदिनु, सामूहिकताका ठाउँमा व्यक्तिवाद, अनुशासनका ठाउँमा अराजकता, यथार्थका ठाउँमा फेन्टेसीलाई मलजल प्रदानगर्नु, विविध भाषाभाषी र जाति जनजाति, धर्म र संस्कृतिका बीचमा फुट र विभाजन पैदा गर्नु, मानिसहरूलाई वर्गीय आन्दोलन र एकताबाट विमुख गराउनु र त्यसप्रकारका आन्दोलनहरूलाई ध्वस्त पार्नु सांस्कृतिक साम्राज्यवादका उद्देश्य रहेका छन्। वास्तवमा सांस्कृतिक साम्राज्यवाद पूंजीवादहरूका निम्ति आज यस्तो हतियार सिद्ध भएको छ, जसले साम्राज्यवादी स्वार्थहरूको संरक्षण र पोषण अन्य सबै तरिकाहरूले भन्दा प्रभावशालीरूपमा गरिरहेको छ।

सांस्कृतिक वर्चश्वको विस्तारका निम्ति मूलतः सूचना र संचारका आधुनिकतम प्रविधिहरू मुख्य भूमिका निभाईरहेको भए पनि ठूलाठूला प्रकाशन गृहहरूले पनि सांस्कृतिक साम्राज्यवादलाई मलजल प्रदानगर्ने काम गरिरहेका छन्। त्यस्ता प्रकाशन गृहहरूबाट प्रकाशित हुने छाडा, बाजाहरू अश्लील पत्रपत्रिकाहरूदेखि इतिहास, विचारधारा, कविता, उपन्यास अािदको “अंत” को सारत्व बोकेर प्रकाशित हुने पश्चिमा “थिङ्कटैङक” हरूका उच्च भनिने पुस्तकहरूको विचारमा चाङ नै लागेको छ। यस्ता पुस्तकहरूले मासिनलाई नियतिवाद, रहस्यवाद, अनिश्चयवाद र बस्तु लिप्सा र त्यसप्रतिको अन्धभक्तिको शिक्षा प्रदान गर्दछन् र त्यसैअनुरूप डोर्‍याउन प्रयत्न गर्दछिन्। सस्ता, बाजारू पत्रपत्रिकाहरूले यौन, हिंसा, उत्तेजना र आक्रोशलाई मानवीय सारतत्वका रूपमा प्रस्तुत गर्दछन् र व्यक्तिलाई खोक्रो र मूल्यहीन बनाउँछन्। व्यक्तिलाई जीवनको गतिशीलता र क्रान्तिकारी सारतत्वबाट विमुख गराउनु यी सबैको अन्तिम उद्देश्य हो।

३. नेपालमा सांस्कृतिक साम्राज्यवाद

तेस्रो विश्वका अन्य मुलुकहरूमा झैं नेपालमा पनि सांस्कृतिक साम्राज्यवादको विस्तार र प्रभाव दिनानुदिन बढ्दै गएको छ। सांस्कृतिक साम्राज्यवादलाई संवहन गर्ने सूचना र संचारका माध्यमहरूको विकास सँगसँगै यसले पनि तीब्रता ग्रहण गरेको छ। आज नेपालमा भूमन्डलीकृत संचारमाध्यमहरूले पस्किरहेका दर्जनौं टी.भी. च्यानल र इन्टरनेट वेभसाइटहरू हेर्न सकिन्छ, जसले सांस्कृतिक साम्राज्यवादलाई मानिसका घरघरमा हुलिरहेका छन्। सयकडौं सिनेमागृहमा चल्ने स्वदेशी विदेशी बाजाहरू चलचित्रहरूले पनि यही भूमिका निर्वाह गरिरहेका छन् भने एफ.एम. रेडियोहरूले सांस्कृतिक साम्राज्यवादलाई अर्को ढंगले टेवा पुर्‍याइरहेका छन्। आन्तरिक र बाह्य प्रकाशन संस्थाहरूबाट प्रकाशित हुने कुरूप पत्रपत्रिकाहरूको नेपाली बजारमा बाढी नै आएको छ। सस्ता र कुरूप नेपाली चलचित्र निर्माताहरू, स्वदेशी तथा विदेशी वित्तीय घरानाहरूको सहयोग र लगानीमा प्रकाशित हुने बुर्जुवा पत्रपत्रिकाहरू आदिले पनि सांस्कृतिक साम्राज्यवादलाई नेपाली घरदैलोमा पस्किरहेका छन्। यस सन्दर्भमा उल्लेख कुरा के छ भने भारत स्वयं नेपाललाई आफ्नो वित्तीय बजार मात्र बनाउन चाहँदैन, सांस्कृतिक आक्रमणका माध्यमबाट नेपालको संप्रभुतालाई नै समाप्त पार्न चाहन्छ। नेपाली “स्व” लाई भारतीयकरण गर्दै जानु यसको मुख्य उद्देश्य रहँदै आएको छ। नेपालमाथि भइरहेको भारतीय आर्थिक, राजनैतिक हस्तक्षेपलाई भारत सांस्कृतिक आक्रमणका माध्यमबाट त्यो स्थितिमा पुर्‍याउन चाहन्छ, जुन स्थितिमा पुर्‍याउँदा नेपाल भन्ने देश नै रहँदैन।

नेपालमा भइरहेको आर्थिक उदारीकरण र बजार अर्थतन्त्रको विकासले सांस्कृतिक साम्राज्यवादका लागि ढोका खुला गरिदिएका छन् र आजको सत्तारूढवर्ग साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरूको नीति, विचार र कार्यक्रमलाई बोकेर हिंड्ने तथा उनीहरूको संरक्षण र पोषण गर्ने शक्तिका रूपमा देखिएको छ। सामन्तवादी संस्कृतिको पक्षपोषण गर्ने शक्ति पनि आज सांस्कृतिक साम्राज्यवादका सामु घुँडा टेक्दै गएको मात्र छैन, उनीहरूका बीचमा एकता पनि बढ्दै गएको छ। सामन्तवादी साम्राज्यवादी शक्तिहरू, भारतीय प्रभुत्ववाद र आफूलाई प्रजातान्त्रिक समाजवादको हिमायती बताउने वर्तमान सत्तारूढ पार्टी राजनैतिकरपमा जसरी एक ठाउँमा उभिएका छन्, उनीहरूको सांस्कृतिक मिसन पनि एउटै बनेको छ–य मुलुकमा चलिरहेको परिवर्तनकारी आन्दोलनलाई समाप्त पार्नु। यसका निम्ति उनीहरूले सूचना विभ्रम पैदा गर्ने अभियान मात्र चलाएका छैनन् प्रदूषित र कुरूप संस्कृतिको खेतीमा पनि कम्मर कसेर लागेका छन्।

तेस्रो विश्वका अन्य मुलुकहरूभन्दा नेपालको स्थिति के मानेमा भिन्न र विशिष्ट छ भने यस मुलुकमा कम्युनिस्टहरू अन्य सबैभन्दा शक्तिशाली छन् र मुलुकको एउटा कम्युनिस्ट पार्टीले सरकारसमेत चलाइसकेको छ र वर्तमान संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत राख्दछ। त्यसैले साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू तथा तिनका स्वदेशी चाकेर राजनैतिक शक्तिहरूको अहिलेको मुख्य रणनीति यस मुलुकका परिवर्तनकामी शक्तिहरूलाई जसरी पनि उच्छेद गर्ने रहेको छ र उनीहरूले सांस्कृतिक रणनीति पनि त्यसै अनुरूप तय गरेका छन्। जातीय र साम्प्रदायिक सद्भाव भड्काउने, युवा समुदायलाई एकांकी, परायथार्थवादी बनाउने र असामाजिकीकरण गर्ने उपभोक्तावादी र बजारू चिन्तनको विकास गर्ने, व्यक्तिको समाजसँगको सम्बन्धलाई विच्छेद गर्ने, नियत्ववादी र रहस्यवादी दिशातर्फ डोर्‍याउने, सूचना विभ्रमका माध्यमबाट अस्थिरता खडा गर्ने, मुलुकमा चलिरहेको कम्युनिस्ट आन्दोलन एवं जनवादी सांस्कृतिक आन्दोलनलाई बदनाम गर्ने, कम्युनिस्ट नेता,स्थापित प्रगतिवादी साहित्यकार, जनसंस्कृतिकर्मीहरूको आचरण र क्रियाकलापहरूलाई लिएर गलत समाचारहरू सम्प्रेषण गर्ने, प्रगतिवादी सिर्जनाहरूको अवमूल्यन गर्ने र तिनलाई विकृत र भद्दारूपमा जनमानसमा प्रेषित गर्ने आदि जसता कामहरू सुनियोजित र सुविचारित रूपमा भइरहेका छन्। वास्तवमा आज नेपाली सत्ता फासिष्टीकरणको दिशातिर उन्मूख छ र यसले तदनुकूलको संस्कृतिलाई प्रश्रय दिइरहेको छ। सांस्कृतिक साम्राज्यवादले आज यस मुलुकमा जुन स्थिति पैदा गर्दै छ, यसलाई समयमै चिर्न नसक्ने हो भने यसले यस मुलुकमा चलिरहेको परिवर्तनकारी आन्दोलनलाई मात्र समाप्त गर्ने छैन, नेपालको अस्तित्व समेतलाई समाप्त पार्नेछ।

४. जनसंस्कृतिकर्मीहरूको दायित्व

नेपालमा सांस्कृतिक साम्राज्यवादको वर्तमान अवस्था र भूमिकालाई दृष्टिगत गरेर नै जनसंस्कृतिकर्मीहरूले आफ्नो साझा दायित्व र भूमिकाको निर्धारण गर्नुपर्दछ। सामन्तवादी संस्कृति लगायत पश्चिमा पूंजीवादी कुरूप संस्कृति विरूद्धको संघर्षको हामीसँग लामो अनुभव छ र यसका सकारात्मक–नकारात्मक दुवै पक्षहरू छन्। कम्युनिस्ट आन्दोलन अविभाजित अवस्थामा रहँदासम्म आन्तरिक रूपमा चल्ने वैचारिक संघर्ष बाहेक आन्दोलनको बाह्यमोर्चामा त्यस्तो ठूलो समस्या रहेको पाइँदैन। सांस्कृतिक आन्दोलन पनि अविभाजित र एकीकृत ढंगले नै अगाडि बढेको पाइन्छ। मुलुकको कम्युनिस्ट आन्दोलनमा विभाजन आएपश्चात् त्यसको स्वाभाविक असर सांस्कृतिक आन्दोलनमा पनि पर्दछ। फलतः अनेक सांस्कृतिक संगठनहरू देखा पर्दछन्। आज मुलुकमा विद्यमान कम्युनिस्ट समूहहरूका आ–आफ्ना सांस्कृतिक संगठनहरू छन् र ती आ–आफ्नो ढंगले जनसंस्कृतिको विकास र सांस्कृतिक साम्राज्यवाद, सामन्तवादी संस्कृति आदिका विरूद्धमा संघर्षरत छन्। तर सांस्कृतिक साम्राज्यवादको आक्रमण तीब्र र त्यो मुख्यतः जनवादी सांस्कृतिक तथा वर्गीय मुक्ति आन्दोलनका विरूद्ध केन्द्रित भइरहेको बेला जनसंस्कृतिकर्मीहरूको साझा र सामूहिक संघर्षका निम्ति पहल गर्न आवश्यक छ। हाम्रो सांस्कृतिक आन्दोलनलाई फर्केर हेर्दा साझा र सामूहिक संघर्षका पक्षहरू नरहेका होइनन्। प्रगतिशील लेखक संघ स्वयं यसको जीवन्त उदाहरण हो। विश्व पूंजीवाद कतिपय आन्तरिक मतभेदका बाबजुद आफ्ना वर्गीय स्वार्थका निम्ति एकीकृत ढंगले अगाडि बढ्न सक्छ भने सुन्दर मानव समाज निर्माणको आकांक्षा बोकेर संघर्षरत जनसंस्कृतिकर्मीहरू संघर्षका साझा विषयहरूमा एकताबद्ध भइकन अगाडि बढ्न नसक्ने भन्ने प्रश्नै उठ्दैन।

नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा निश्चय नै केही समस्याहरू विद्यमान छन्, जसलाई निश्चित जनसांस्कृतिक संगठनमा आबद्ध तथा स्वतन्त्र बसिरहेका जनसंस्कृतिकर्मीहरूले गम्भीरतापूर्वक मनन गर्न आवश्यक छ। नेपालमा चलिरहेको जनसांस्कृतिक आन्दोलनमा रहेको सबैभन्दा गम्भीर समस्या गुटगत संर्कीणता र अहंकार हो,ज सले आफूभन्दा आफूलाई ठीक देख्नै सक्दैन र अनेकताका बीचबाट एकता र असहमतिका बीचबाट सहमतिका बुंदाहरू खोज्नै सक्दैन। वैचारिक आवरणमा प्रकट हुने गुटगत संकीर्णता र अहंकारले सांस्कृतिक आन्दोलनमा पुर्‍याइरहेको क्षति कतिसम्म गम्भीर छ भने यसले आफ्नो गुट वा त्यस वरिपरिका साहित्यकार र जनसंस्कृतिकर्मीहरूलाई भन्दा अरूलाई प्रगतिवादी ठान्दै ठान्दैन। प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाउने अरूका प्रयासहरूलाई उसले परिवर्तनकारी देख्दै देख्दैन। प्रगतिशील साहित्यकार र जनसांस्कृतिक आन्दोलनलाई अघि बढाउने अरूका प्रयासहरूलाई उसले परिवर्तनकारी देख्दै देख्दैन। प्रगतिशील साहित्यकार र जनसंस्कृतिकर्मी उसका निम्ति निकम्मा र वर्तमान सत्ताका पृष्ठपोषक जस्ता सावित हुन्छन्। एकले अर्कालाई रचनाहरू नछाप्नु, प्रचारप्रसार नगर्नु, टुपीदेखि पाइतालासम्म अरूलाई खुइल्याउनु र आफू मात्र क्रान्तिकारी हुनुको विचित्रको आत्मरतिमा चुर्लुम्म डुब्नु यस प्रवृत्तिको विशेषता हो। द्वन्द्ववादका नाममा प्रकट हुने यो प्रवृत्ति हदैसम्म अद्वन्द्ववादी छ र अरूको निषेधमै यसले आफ्नो भविष्यको सुनिश्चितता देख्दछ।

सांस्कृतिक आन्दोलन वैचारिक आन्दोलन पनि भएकाले विचारधारात्मक आन्दोलनबाट यसलाई अलग गरेर हेर्न सकिन्न, तर विचारधारात्मक आन्दोलनसँग गुटगत संकीर्णता र अहंकारको कुनै सम्बन्ध छैन। कम्युनिस्ट आन्दोलनमा रहेका दाहिने र देबें गल्तीका प्रभावहरू सांस्कृतिक आन्दोलनमा पनि परेका छन् र इमान्दारितापूर्वक चलाइने निरन्तरको वैचारिक संघर्षबाट ती गल्तीहरूलाई सच्याउन सकिन्छ। दाहिने र देब्रे अतिको सारतत्व वस्तुतः एउटै हो। देख्नलाई ती भिन्न भए पनि ती एउटै सिक्काका दुई पाटा छन्। चिन्तनमा रहेका यसप्रकारका खोटहरूले सांस्कृतिक आन्दोलनकै प्रक्रियामा हो। समकालीन जनसांस्कृतिक आन्दोलनमा जुन समस्याहरू पैदा गरेका छन्, यिनलाई हल गर्न सकिने भनेको आन्दोलनकै प्रक्रियामा हो। समकालीन जनसांस्कृतिक आन्दोलनको वैचारिक परिदृश्यमाथि विचारविमर्श चलाउनु भनेको गुटगत संर्कीणता र अहंकारलाई प्रश्रय दिनु भनेको होइन। आजको सांस्कृतिक साम्राज्यवाद, यसको खडा गरेको समस्या र प्रश्नहरूका बारेमा ठोस ढंगले विचरण गर्नु र जनसंस्कृतिकर्मीहरूको दायित्व र भूमिकाका सम्बन्धमा सही निष्कर्षमा पुग्नु हो। सांस्कृतिक आन्दोलनहरूभित्र कमजोरीहरूलाई चिन्हित गर्दै र त्यसलाई हटाउने सचेतन प्रयासलाई अघि बढाउन सकिन्छ। यस गोष्ठीले त्यस दिशातिर सार्थक पहल गर्नेछ भन्ने विश्वास मैले लिएको छु के कुरा सुस्पष्ट छ भने जनसांस्कृतिककर्मीहरूले आफू माझमा समस्यालाई समाधान नगरी सांस्कृतिक साम्राज्यवाद विरूद्धको लडाई प्रभावशाली रूपले लड्न सक्न्े छैनन र संघर्षको मोर्चामा त्यसलाई पराजीत गर्न पनि सक्ने छैनन्। बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि पनि मुलुकको साम्राज्यवादका निम्ति अत्यन्त अनुकूल र उर्वर रहेको छ। फासिवादतिर अगाडि बढिरहेको वर्तमान सत्ताले निर्लज्जतापूर्वक सांस्कृतिक साम्राज्यवादलाई ढोेका खुला गरिदिएको छ र त्यसलाई आफ्नो वर्चश्व स्थ्ापना गर्नका निम्ति ठाउँ छाडिदिएको छ। यसलाई नेपाली जनसंस्कृतिकर्मीहरूले गम्भीरतापूर्वक लिनै पर्दछ। आजको संगीन अवस्थामा जनसंस्कृतिकर्मीहरूको दायित्वलाई निम्न बुंदाहरूमा सुत्रबद्ध गर्न सकिन्छः–

१. आजको सांस्कृतिक आन्दोलनमा सैद्धान्तिक, वैचारिक विमतिहरू विद्यमान छन् र प्रवृत्तिगत समसयाहरू पनि रहेका छन्। सांस्कृतिक आन्दोलनको आम कार्यदिशा र कार्यक्रमहरू के हुने भन्ने सवालमै समान धरणा र निश्कर्षहरू बन्न सकेका छैनन्। यस्तो स्थितिमा सांस्कृतिक आन्दोलनभित्र व्यापक विचारविमर्शको आवश्यकता रहन्छ। यसका निम्ति वादविवाद र संवादहरूले एउटा सिलसिला नै शुरू छलफल गराउने इमान्दारितापूर्वक सचेतन प्रयास हुनपर्दछ। सांस्कृतिक आन्दोलनलाई अघि बढाउनका निम्ति प्रकाशित पत्रिकाहरू लगायत जनवादी आन्दोलनका निकट रहेका अन्य पत्रिकाहरूका माध्यमबाट पनि छलफल र विचारविमर्शलाई अगाडि बढाउनुपर्दछ। वस्तुस्थितिको गम्भीरता र जनसंस्कृतिकर्मीहरूको दायित्व सम्बन्धमा छेडिने यसप्रकारको इमान्दारितापूर्ण बहसले जनसंस्कृतिकर्मीहरूलाई सामूहिकरूपमा अघि बढ्न मद्दत मात्र गर्ने छैन, आन्दोलनको आम दिशा र कार्यक्रम निर्धारित गर्न पनि मद्दत पुग्ने, जो आन्दोलनका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा हो।

२. सांस्कृतिक आन्दोलनलाई साझा रूपमा अघि बढाउन र प्रभावकारी बनाउन विविध सांस्कृतिक संगठन, मञ्च, व्यक्ति आदिहरूले सामूहिक वा अलग–अलग रूपमा सांस्कृतिक कार्यशाला गोष्ठी र अध्ययन शिविरहरूको आयोजना गर्न आवश्यक छ। त्यस्ता कार्यक्रमहरूले सामूहिक र एकताबद्ध सांस्कृतिक आन्दोलनका निम्ति मार्ग प्रशस्त गर्न सक्ने छन्।

३. साझा सांस्कृतिक मोर्चाको निर्माणका निम्ति जनसांस्कृतिकर्मीहरूले आवश्यक पहल गर्न आवश्यक छ। तर यसका निम्ति सांस्कृतिक मोर्चाको मर्म, विगतका हाम्रा अनुभवहरू, हामीमा विद्यमान कमजोरीहरू र दृष्टिकोणजन्य समस्याहरूलाई गहिरिएर केलाउन आवश्यक छ। साझा सांस्कृतिक मोर्चा आजको आवश्यकता हो तर हाम्रा अनुभवहरू यस सम्बन्धमा त्यति सुखद् रहेका छैनन्। त्यसैले यसका निम्ति हाललाई बहस, कुराकानी, विचारविमर्शलाई अघि बढाउनु पर्दछ, जसले सांस्कृतिक मोर्चाको निर्माणमा सहयोग पुर्‍याओस् र चाँडोभन्दा चाँडो सांस्कृतिक मोर्चाको निर्माणको दिशामा अघि बढ्न सकियोस्। यसका निम्ति प्रलेस जस्तो संस्थाबाट बहसका निम्ति पत्रिका नै प्रकाशित गर्न सकिन्छ।

४. वैकल्पिक मिडियाको अवधारणालाई अघि बढाउन आवश्यक छ र यसका निम्ति बहसको थालनी हुनुपर्दछ। हामीले प्रयत्न गरेको खन्डमा प्रगतिशील पत्रपत्रिकाहरू, प्रकाशनहरू, छापाखानाहरू लगायत इलेक्ट्रोनिक मिडियाको नेटवर्क खडा गर्न सकिने सम्भावनाहरू नरहेका होइनन्।

५. जनसांस्कृतिककर्मीहरूले आफ्नो–आफ्नो आन्दोलनलाई खास गरेर उद्योगिक र ग्रामीण क्षेत्रका शोषित–उत्पीडित जनसमुदायका बीचमा लैजानुपर्दछ। अहिलेसम्म हाम्रँे आन्दोलन त्यस्ता क्षेत्रहरूमा अपेक्षितरूपमा पुग्न सकेको छैन। त्यही क्षेत्रबाट हामीले सांस्कृतिककर्मीहरू निर्माण गर्ने दिशामा जोड दिनुपर्दछ। उनीहरूको संस्कृति र कलालाई परिष्कार गरी प्रगतिशील दिशा प्रदान गर्नुपर्दछ।

६. विभिन्न सांस्कृतिक संगठन, मञ्चमा आबद्ध वा स्वतन्त्र रहेका जनसांस्कृतिकर्मीहरूले एकअर्कालाई सघाउने, एकअर्काका प्रगतिशील प्रकाशन, गीत, नाटक, अपेरा आदिको प्रचारप्रसार गर्ने, पढ्ने र पढ्ने लगाउने अभियानलाई अगाडि बढाउन आवश्यक छ। यसले साझा र एकीकृत रूपमा आन्दोलनलाई अघि बढाउनका निम्ति ठोस आधार तयार पार्न मद्दत मिल्ने छ।

७. राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति पत्रपत्रिकामा लेखिरहेका तर सांस्कृतिक आन्दोलनमा समाहित नभएका प्रगतिशील जनसांस्कृतिककर्मीहरूलाई सांस्कृतिक आन्दोलनमा समावेश गर्ने उपयुक्त नीति र कार्यक्रमहरू बनाई अगाडि बढ्नु आन्दोलनमा प्रतिबद्ध जनसांस्कृतिककर्मीहरूको आजको अर्को महत्वपूर्ण दाइित्व हो। यसबाट दुश्मनहरूलाई एक्ल्याउने प्रहार मजबुत बनाउने सांस्कृतिक आन्दोलनको दायरालाई व्यापक बनाउने दिशामा महत्वपूर्ण उपलब्धिहरू प्राप्त गर्न सकिनेछ।

८. सम्भव भएसम्म र उपयोग गर्न सकिने बुर्जुवा प्रकाशन र मिडियाहरूलाई जनसांस्कृतिकर्मीहरूले उपयोग गर्ने आवश्यक छ। बुर्जुवा प्रकाशन र मिडियाहरूले व्यापकता र पहुँचलाइ दृष्टिगत गर्दा यसबाट जनताका बीच पुर्‍याउन सकिने रचनाहरूले थोरै भए पनि प्रगतिशील सांस्कृतिक आन्दोलनला अघि बढाउन मद्दत पुर्‍याउने छन्। यद्यपि यस्ता सम्भावनाहरू न्यून छन् र यसका नकारात्मक पक्षहरू पनि छन्, जसबारे सांस्कृतिकर्मीहरू सचेत हुन आवश्यक छ।

९. प्रगतिवादी साहित्यकार जनसंस्कृतिकर्मी, चिन्तक र विचारकहरूलाई सबैले महत्व दिने स्थापित गर्ने प्रक्रियालाई अघि बढाउनुपर्दछ।

१०.सांस्कृतिककर्मीहरू र सांस्कृतिक संगठनहरूका विरूद्ध राज्यसत्ताबाट भइरहेको व्यापक दमन र उत्पीडनका विरूद्ध सामूहिक विरोध र प्रतिरोध अभियानलाई अघि बढाउनुपर्दछ। यो वर्तमान आवश्यकता हो र सांस्कृतिक आन्दोलनमा एकजुटता र सामूहिकताको विकास गर्ने एक महत्वपूर्ण आधार पनि।

११. सांस्कृतिक–कर्मीहरूको,सामूहिकरूपमा सांस्कृतिक साम्राज्यवादको कुरूप तस्वीरलाइ आम जनताका मझ राख्ने र त्यस विरूद्ध जनसंघर्ष बढाउने कार्यलाई महत्वका साथ उठाउनुपर्छ। सांस्कृतिक साम्राज्यवाद विरूद्धको संघर्षलाई जनआधारित बनाएर नै सफलताको मञ्जिलसम्म पुर्‍याउन सकिन्छ।

१२. सांस्कृतिक साम्राज्यवाद विरूद्धको वैचारिक संघर्षलाइ धारिलो बनाउनुपर्छ र यसप्रकारको संघर्षलाइ पनि सामूहिकरूपमा अघि बढाउने प्रयास थालनी हुनुपर्छ।

१३. अलगअलग र सामूहिकरूपमा सम्पादन गर्न सकिने कार्यहरूको सूचि वर्गीकृत हुनुपर्छ र अंशबाट पूर्ण र मात्राबाट गुणतर्फ विकसित हुने द्वन्द्ववादी नियमलाई गम्भीरतापूर्वक पक्रनुपर्छ।
माथि उल्लिखित कुराहरू नै जनसांस्कृतिककर्मीहरूले आज सम्पादन गर्नुपर्ने विषय हुन्। यिनै कुराहरूलाई व्यवहारमा अवलम्बन गर्दै जाँदा सांस्कृतिक साम्राज्यवाद, त्यसलाई संवहन गर्ने शक्तिहरू विरूद्धको संघर्षलाइ धारिलो बनाउन सकिन्छ र एकताबद्ध तथा सामूहिक आन्दोलनको आधार पनि तयार गर्न सकिन्छ।

५. निश्कर्ष :

साझा सांस्कृतिक आन्दोलन आजको प्रथम आवश्यकता हो। आ–आफ्ना सांस्कृतिक संगठनमार्फत र व्यक्तिगत रूपमा चलाइने आन्दोलनहरूको पनि आफ्नै महत्व र गरिमा छ तर सांस्कृतिक साम्राज्यवादको बढ्दो आक्रमण र गम्भीर बन्दै जाँदो वर्तमान अवस्थामा सामूहिक संघर्षका माध्यमबाट त्यस विरूद्धको संघर्षलाई धारिलो र चोटिलो बनाउन सकिन्छ। सांस्कृतिक साम्राज्यवाद र जनसांस्कृतिककर्मीहरूको दायित्व सम्बन्धमा विचार गर्दा केन्द्रीय कुरा नै साझा संघर्ष हो। अतः हाम्रा बहस र छलफलहरू त्यसै अनुरूप अगाडि बढ्नुपर्दछ र मैले यही कुरालाई, कार्यपत्रको शुरूमा उल्लेख गरे झैं अघि बढाउने कोशिस गरेको हुँ। सांस्कृतिक साम्राज्यवाद विरूद्धको हाम्रो संघर्ष कति प्रच्छन्न हुनेछ भन्ने करा मूलतः हाम्रो साझा भूमिकामा नै भर पर्ने छ। सांस्कृतिक आन्दोलनमा समस्याहरू भए पनि ती सामूहिक आन्दोलनमा व्यवधान नै खडा गरिहाल्ने खालका छैनन्। आन्दोलनका निश्चित विषयहरूमा सहकार्य गर्द व्यापक संयुक्त मर्ोाको निर्माणका निम्ति पूर्वाधारहरू तयार गर्न सकिन्छ। हाम्रा सामु उपस्थित सांस्कृतिक कार्यभारहरू ज्यादै गम्भीर छन् र हामीले त्यत्तिकै गम्भीरतापूर्वक तीनलाई सम्पादन गर्न पनि सक्नुपर्दछ। सांस्कृतिक साम्राज्यवादलाई व्याख्या विश्लेषण गर्ने र निश्कर्षमा पुग्ने कुरा मै पनि मतभिन्नताहरू हुन सक्छन् र दायित्वको प्राथमिकता सूची पनितलमाथि पर्न वा फरक हुन सक्छ तर यी सबैले साझा संघर्षको बाटो अवरूद्ध गर्न हुन्न र न्यूनतम कुराहरूका माझबाटै सकारात्मक उठान गर्ने हाम्रो चेष्टा हुनुपर्दछ। फासीवादी दिशातिर अघि बढिरहेको वर्तमान सत्ता र त्यसैलाई मलजल गरिरहेको सांस्कृतिक साम्राज्यवाद जनताका ठूला वैरी हुन् र तिनलाई एक्लै पछार्न सम्भव छैन।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २३ – २०६८ बैशाख १४ गते, बुधबार )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *