व्यङ्ग्य निबन्ध : डि. भी., मेरी स्वास्नी र म

~भरत बागलुङे~Bharat Baglunge Paudel

कहिं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो हिजोआज काठमाण्डौमा अमेरिका जाने सपना देख्नेहरुको जात्रा नै लागेको छ । यता जाउँ डि. भी. उता जाउँ डि. भी. घरघर, टोल-टोल बाटो घाटो जहाँ तहिं डि. भी. भर्ने-भराउनेहरुको कुडुलो नै लागेको छ । घरघरमा डि. भी. भराउनेको मुहुनीदार होर्डिङ्ग बोर्ड झुण्डेका छन् । बाटामा हात हातमा आ-आफ्ना पक्षमा मपाइत्वले भरिएका कागजका आकर्षक लिखत बोकेका लड्काहरु छन् । बाटो हिंडी साध्यै छैन, घर गई साध्यै छैन, अफिस पुगी साध्यै छैन, होटल, रेष्तोराँ, सार्वजनिक स्थल सबका सब उहि काईते सपनाका खेती गर्नमा ब्यस्त छन् । चोर डाँका, फटाहा, हेपाहा, लुटाहा, कुटाहा, देखि ज्यानमारा, घरमारा, देशमारा, भेषमारा, सभ्यता र संस्कृतीमारा, सबका सब डि. भी. को वायुपंखी घोडा चडेर अमेरिका जाने धुनमा ब्यस्त छन् बा !

हुँदा हुँदा डि. भी.को टि. बी. ले मेरी सोझी बाहुनीलाई पनि छोएछ, आधा बिहानाँ उठेर सुची खोरतिर के पसेको थिएं एक्कासी मेरो सुची खोरको ढोका ढ्याक ककककक ढ्याक ककककक ढ्याक कककककक गर्न थाल्यो, पहिले त म झस्किएं एकोहोरो आवाजले, बोल्नु बास्नु छैन ढोकै हान्या छ हान्या छ, उठुँ उठी साध्यै छैन, मितव्यीको बिल्ला भिरेर महङ्गीको आतंकमुन्तिर जसो तसो बाँच्न खोजेको म नाथ – बुढी भैंसीको सिनो जस्तो (मो. मो.) सेतो पकौडी जनैलाई दाउमा राखेर लुकी लुकी खाएको पेटभित्रको खिर्लिप्पै झर्ला जस्तो गरी बुढी भैंसीले आतंक मच्चाई रहेको छ । भर्खर भर्खर हनुमाने कट्टु खोलेर कमट नाउँधारी चईना मट्टीको ओखल मास्थेर चढेर एक फाएर के गाथ्यो आमाशयै झर्ला जस्तो गरी ढोका बज्न थाल्छ बा ! यता बुढी भैंसीको आतंक उता ढोका बजाउनेको आतंक, अनी छोड्दैन त म मुलो सोझो बाहुन चरीको हंसले बस्नु पर्ने आफ्नो ठाउँ । जमाना अनुसारको कुरो पनि त हुन्छ ,बन्दुकेहरुको जमानामा बिहान बिहानै सुची घरमै सातो खाने गरी ढोका बज्नु चानचुने कुरो हैन । मृत्युका ठेकेदारहरुलाई आ(आफ्ना भागको कोटा पूरा गर्न‘ छ , कोटाको गोटामा तिन्का कुरुप चित्तमा म मुलो भातेको नाम लेखिन के बेर । कालले कुत्कुत्याएपछि मर्दिन भनेर धर पाईने हैन जे त होला यहि सोचेर म छेर्दा छेर्दै चिच्याएं को हो हँ ?

म , म पिङ्कीकी मम्मी क्या ।

ए मेरी बास्सै काल त कालै त रै छ नी ! टाउको खाने काल सम्झिदै झनक्क रिस उठेर आउँछ मलाई । हँुँदा हँुदा यो काउछोले मलाई अब सुची खोरमा चैनले सुची गर्न पनि नदिने भई । बोलुँ बोली साध्यै हुन्न त्यसको थुतुनो उहिलेका मुग्लानिया भाईले छे महिने छुट्टीमा घर आउँदा ल्याएको ट्रान्जिष्टर रेडियो जस्तो बोल्न थाले पछि बिसाउनै नजान्ने फेरी भएन यो बजिनी मया पिरेमको तीन महिने कोर्ष पुरा गरी ल्याएकी परी तो पनि ठाउँ कुठाउँ दिउँसै ए प्रिया तिम्रो लागि उ तो अक्कासको तारा जुन टिपी दिउँ भनेर ल्याएकी अब झगडा गरेर बंगरा झार्ने कुरो परे लाजको मर्र्नु शर्माको ट्याक ट्याक भने जस्तै हुने होला बाउले गाउँबाट पढ्न पठाएको पैसा उडाएर कहिले नगरकोट कहिले बालाकोट, कहिले धुली खेल कहिले जावालाखेल, कहिले सिनेमा घर कहिले डिस्को घर गरि लाको प्रेम । बाउले छोरो डाक्टर बनोस् भनी भैंसीको दुध पानीमा हाली शुद्ध घ्यूलाई वनस्पती घ्यूले झानी बेचेर पठाई दिएको पैसाले पिङ्कीकी आमालाई मिनीस्कर्ट र लिपिस्टिक किनियो संसारमा उ बाहेक कसैलाई देखिएन पढाई पनि छाडियो आई.ए. त बल्ल (बल्ल पास भईयो बि.ए.मा सिलटिमुर खाईयो । डाक्टर अगाडी “कन” थपियो त्यो पनि स्वास्नीको थुईक्क पाजी म इस् खा ला । बोल्नु पनि भएन नबोलेर पनि चलेन त्यसैले बडो तपस्वी परासर ऋषि जस्तो बनेर म लागें उस्लाई सोध्न ।

किन के भयो डार्लिङ ? मेरो प्रश्न थुतुनोबाट खस्न पाको छैन मेरी काउछा जस्ति डार्लिङको अर्डर शुरु भयो, एउटो जरुरी कुरो छ झट्टै बाहिर आउन । त्यसका जरुरी कुरोको आन्द्राभँुडी आमाशय र ती भित्रको बिष्टाको अन्तर कुन्तरको सातपुस्ते परिचय उहिल्यै पाईसकेर पनि म मुलो फिष्टाले के गर्न सक्थेंर राणा शासनाँ नजन्मेर यो बहुदला बेलाँ जन्मिएपछि तिन्का टाँगमुन्तिर नाक जोतेर बाँच्नै पर्दो रैछ , खाने बेलाँ सस्तो राम्रो भरपर्दो बुढी कचेरे भैंसीको एक चोक्टी मासुको दश गेडी पकौडी खाएको अहिले सिङ्गै एक दर्जन बजिनी बुढी भैंसीहरुको जुधाई चले जसरी पेटाँ चलेको तुफान र आँधी बेहेरीलाई नछेराई स्वास्नीका पाउमा त्वम शरणम् श्रीमती जी भन्नै परेको छ, खाने बेलामा आँखा चिम्लेर हसिया खाईयो हग्ने बेलामा दुःख पाईयो । थुक्क साला भाते जोवन । मलाई आफ्नै जोवनदेखि झनक्क रिस उठ्छ तर गर्नु के ? बाहिरबाट स्वास्नीले अर्डर गरेको ग¥यै छ, अर्डरको बोर्डर पार गरी भने कुट्न के बेर बहुदल काल जो छ आईमाईको बेला आएको छ फेरी मलाई मर्न पनि त डर लाग्छ मेरी आम्मै मर्न भन्दा पनि मरेपछि त्यत्रा विधि दाउराले पुरेर दन्दनी आगो लगाएर भकाभक भदौरे मकै पोल्दा झैं पोलेको सम्झदा मलाई साह्रै डर लागेर आउँछ यसैले त म मरुँ भन्दा(भन्दै मर्न नसकी स्वास्नीले जे भन्छे त्यहि मानेर बाँचीरहेकोछु साला जोवन बिनासित्तीमा यतिखेरसम्म पनि यत्ति सोच्दै म लागें ढोका खोल्न ।

ढोका खोल्न पाको हैन पिङ्कीकी सिन्की त्यान्द्रे मम्मी गम्लङ्ग अंगालो हाल्न आई , बोल्नु बास्नु छैन त्यस्ले यत्ति चुमि यत्ति चुमि यत्ति चुमि उफ् के भनुँ अत्तालिएर भएको एक मुठी प्राण पनि धन्नै खुस्केको ! प्राणको मायाले त्यसका जगल्टाँ समातेर म बल्ल बल्ल गरी फुत्केर पसें सुची घरभित्र र थुनें ढोकाभित्रबाट तर बजिनीले पिछा छाडेकी हैन प्राण जोगिएकोमा दंग परेको म आँखा चिम्लेर स्वाँ स्वाँ गर्दै ट्वाईलेट देउता रक्षा गर भनेर ध्यान गर्न के थालेको थिएं पछाडीबाट टाउकाँ कसैले प्याट्ट हान्छ बा पहिले त म नराम्रोसँग तर्सें अहो चर्पी देउता मसँग रिसाएछन् बुढा भनेर तै डराई डराई हेर्छु त बजिनी मुसु मुसु हाँस्दै उभिएकी छे बा ! पत्याउनै गाह्रो कतै भुतै हो की या चर्पी देउताले आफ्नी सखतै स्वास्नीलाई मेरी स्वास्नी बनाएर मेरो हुर्मत लिन पो पठाएका हुन की ! म विलखबन्दमा परेर ट्वापरेका आँखाले त्यसलाई हेरिरहें तर बजिनी मरी( मरी हाँस्न पो थाल्छे बा , शंका माथि शंका, मेरो मन डरले उडी उहिलेको लङ्का अहिलेको श्रीलङ्का पुग्छ हैन कतै यो……….। शंकाले मेरो श्रीलङ्का जलाउन नपाउँदै मोरीले हाँसो रोक्दै भन्न थाल्छे , मलाई पहिल्यै थाहा थियो तिमी डरपोक छेरुवा चर्पीमै पस्छौ भन्ने कुरो त्यसैले म तिमी भन्दा पहिल्यै पसेकी थिएं बजिनीको कुरोले मेरो लङ्का पुगेको मन त फक्र्यो तर मुटुको ढुकढुकी ज्यूँका त्यूँ अडेको थियो, त्यसले फेरी अंगालो हाल्न आई र फेरी चुमि मलाई म बबुरो बुख्याँचा जस्तो गर्न के सक्थें र चुपो लागेर बस्नु बाहेक यहि त थियो मेरो बाँच्ने आधार ।

म चुपो लागेर उभिएको उभ्यै छु बजिनीले मेरा सुकेका गालामा चुमेको चुमै छे , के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज तो पनि गोब्रयाउने ठाउँमा ,देउताको नाम जप्ने बेलाँ , बुझी नसक्नुको राश लीला छ्या के भनेको थिएं त्यस्ले मेरा गाला चुम्न छोडेर मेरो सँगा चुच्चे नाकमा दुई औंलाले ट्याप्प समातेर बोल्न थाली बुढा हामी पनि अम्रिका जाने हैन ?

हँ ? अम्रिका जाने रे ! त्यस्का सिङ् न पुच्छरको पुँङमाङ कुराले मेरो मनमा आजकल शहरमा कहिले काहिं त्रास पैmलाउन आई पुग्ने सकेट बमको आतंक फैलिन थाल्छ के को अम्रिका ? कहाँको अम्रिका ? हगनको बेला लगन , के भन्छे यो ?

हो बुढा तो के जाति लोटरी डि. भी. की सिभी भरेर अम्रिका जान पाईन्छ रे । हामी पनि तो भर्न जाउँ न है । ए मैले बल्ल बुझें त्यसका चुम्मनको असल्ली आशय लैजानेले लाने होकी हैन जाने चाहिंले जान्छु जान्छु भनेको यहि हो , हिजो आधारातसम्म रबरका चुईगम जस्ता सिमापारीका भैयाले बनाएका मुम्बैया सिरियल हेरेर सम्चार सुन्ने मेरो ईच्छामास्थेर निषेधाज्ञा लाउने बजिनीले बिहान(बिहानै कहाँबाट अनिकालको सम्चार ल्याई ! पेटभित्र सोच्दा जति सोच्यो उत्ति अनौठो लाग्छ बा । अनौठो लागेर सोच्नु के छ राँड फेरी लागि चिच्याउन ए बुढा हामी नी जाउंन अम्रिका ।

भन्न पाको छैन कसरी लगुँ अम्रिका , तेरो बाउको घराँ जाँदा जस्तो हो अम्रिका ? छोरीसँग रिस उठे पनि उहिं पुग्ने , पोईसँग रिस उठे पनि उहिं पुग्ने , यो नभए पनि उहिं उ नभए पनि उहिं जेतो होला होला भनेर त्यस्का थुतुनाँ बुझो लाग्ने गरि भन्दिएं मैले लौजा ।

मेरो अरर्रो भुकाईमा हाँडीमा मकै पट्के झैं पट्कीदै गई मेरी स्वास्नी, दुनियाँ साराले डि. भी. भरे रे, त्यस्का कुन्नी को हुन साथी र तिनका पोईले पनि भरे रे , सबैले तँ पनि भर्ने हैन भने रे । आफ्नो त कर्मै यस्तै कहिल्यै न मिठो खानु न लाउनु । सबै साथीको कस्तो हाई हाई छ आफ्नो भने सधैं यहि दुःख के गर्नु पोई नै उस्तो भएपछि कसलाई दोष दिनु । सत्ताका मालिक ओहोदाका सालिक हुँदै चोर, फटाहा, गुण्डा, लोफर, आवारा, भातमारा देशमारा भेषमारा, स्वास्नीमारा, सहेंलीमारा देखि डाक्टर(कण्डक्टर, नेता(अभिनेता, गुण्डा(मुसुण्डा, जोगी(भोगी, हिंजडादेखि पिंजडामा सुगा बेच्नेसम्मका साराका सारा वृत्तान्त सुनाउदै मेरी स्वास्नी आफ्नो पुर्पुरोको तहसम्म ओर्ली, म नाथे अन्धाले सुने जसरी चुपो लागेर सुन्दो छु श्रीमती पुराण । पुराणको अर्को अध्यायमा उ भनीरहेकी थिई त्यहि बोर्डिङ्गको माष्टरी गर यहिं कुहेर बाँच लुते कुकुर झैं । कहिले महिना मर्लार प्रिन्सिपलले तलब देला भनेर ढुकी बस्ने भाडाको टट्टु ।

हँ ???? भाडाको टट्टु ????? श्वास्नीको कुरोले एकफेर म चेतै छोडेर तर्सें हनुमाने कट्टु र ढेडु गन्जी भिरेर सुची खोर छिरेको म साँच्चै कति विचित्रको नमुना देखिएको रै छु आफैलाई हेर्दा कुरी कुरी लाग्ने विचित्रको नमुना । यसो सोच्छु मोरीले त्यसै भनेकी छैन भाडाको टट्टु जोवन खिर्लिप्पै विचित्रसँग बित्दैछ । ज्यान उस्तै । जागीर उस्तै । देश बिनाको भेष भने जस्तो । म नाथेको साराको सारा विचित्र । अनी त हेप्दिरैछ ससुराकी पुत्रीले । मलाई एक प्रकार इख लाग्छ सोच्छु हँ भाई थोत्रा थोते बुढाहरुले भन्थे इख नभएको मान्छे र विष नभएको सर्पको जुनी के जुनी । लौजा जे जे होला होला रामै्र होला नभए नराम्रै होला अर्थोक भुत्रै नी हुने छैन यहि सोचेर म पनि सिन्की त्यान्द्रे श्वास्नीलाई अघि लाएर त्यसका पछि लिखिर लिखिर अम्रिका जाने बन्दोबस्त मिलाउन जाने निर्णयमा पुगें ।

आगेका बात पिछे जय होस् ।

(स्रोत : Bforbangya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.