पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

अनामिका,

देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा भन्नेहरु । लाग्छ समय बदलिएर मात्र केही हुन्न । नाम फेरिएर मात्र केही हुन्न । आखिर रक्सी उस्तै हो भने बोतल फेरेर मात्र नहुने रहेछ । साइज फेरेर मात्र नहुनेरहेछ । हाम्रा स्वभावहरु, स्वार्थहरु र उद्देश्यहरु फेरिएका रहेनछन् । सबै सम्झिएर ल्याउँदा भन्नै पर्छ यो देशलाई साँचो अर्थमा माया गर्ने कोही देखिएनन् ।

बजारमा कहिले काँही सुनिन्छ नेपालनै त्यस्तो एक देश हो जहाँ अरु मुलुक भन्दा धेरै नेता र थोरै जनता छन् । यो व्यंग्य मात्रै होइन लाग्छ । साँच्चै हामी नेपाली धेरै महत्वकांक्षाका साथ व्यक्तिगत स्वार्थ पूरा गर्न ज्यान अर्पण समेत गर्न पछि नपर्ने जात । बुद्धि र चेतनाले ज्ञान र सिपले भन्दा मनले अगाडि बढेका जात । मैले पहिला पहिलाका अंकहरुमा पनि लेखेथें हाम्रै समाज विकासको गतिशिलता । हाम्रै पूर्वीय दर्शन पढेर अरु युरोप भए । हाम्रै संस्कार र परम्परा देखेर पश्चिमाहरु लोभले भुतुक्कै भए । कस्तुरीले आफैसँग भएको विणा खोजे झै हामी पनि भौतारी रह्यौ जमानादेखि जब मान्छे आफ्नै आदेशदेखि पर भाग्न शुरु गर्छ त्यसै दिनदेखि क्षयीकरण शुरु हुन्छ मूल्य मान्यताहरुको । आज देश लथालिङ्ग हुनुका पछाडि धेरै कारण मध्ये मानवीय स्वार्थहरुको टकराव नै हो । मानवीय मूल्य मान्यताहरुको क्षयिकरण नै हो । साँचो अर्थमा नाटक खेल्ने वा खेलाउने शुत्रधारहरुको भूमिका नै सबैका लागि नाटक नभएर हो । हामी वर्षौदेखि नाटकका नौटंकीहरु हेर्न विवश दर्शकहरु ! जनतारुपी दर्शक ! विभाजनका रेखाहरु कोरेर टुक्रा टुक्रामा विभाजित गर्न माहिर शुत्रधारहरुकै कारण हामीले नयाँपनको महशुस गर्न नसेकाका हौ । यो ध्रुब सत्य हो !

अनामिका,

धेरै चित्त दुखाएर लेखेको छु यी माथिका प्रसंगहरु । अरु अरुले पनि विभिन्न ठाउँमा लेखेका छन् । बोलेका छन् । हामी लेख्ने र बोल्नेहरुको पिठो बिकेको छैन शायद एकदिन उथलपुथल आउनेछ फेरि एकपटक । हाम्रा विचारहरुको, चाहनाहरुको परिपूर्ति हुनेछ । त्यस बखत र सँगै मिसिएर उठ्नेछ मुक्तिको ज्वारभाटाहरुमा तिमीहरु जस्ताको आवाज !

केही साथीहरु भन्ने गर्छन् तेरो लेख वा सम्बोधनमा निरासा बढी देखिन थाल्यो । अर्का थरी केही साथीहरु भन्ने गर्छन आलोचना नगरिए हुन्थ्यो । अनामिका यी दुवै आग्रहहरु आफ्ना स्थानमा ठीकै होला । के त्यसो भए म आलोचना वा निरासा नलेखि उत्साह लेखाँै । व्यवहारा नदेखिएको परिवर्तन त कागजमा मैले पनि लेखेको छु । देखाउनका लागि वा सुनाउनका लागि गरिएका घोषणाहरु मैले पनि नजिकबाट हेरेको छु । नाम नयाँ दिदैमा कसरी हुन्छ नयाँ । शैली उही छ, व्यवहार उही छ । मान्छेहरु उनै छन् । चाहना र रहर पुरानै छ । फेरिएको छ त साइनबोर्ड, फेरिएको छ त एउटाको ठाउँमा अर्को । फेरिएको छ त मितीहरु । यो नै परिवर्तन हो कोही भन्छन् भने म चुप लागेर कसरी बसौं । हिजो सडकमा बाँडिएका सपनाहरु हिजो उराल्लिएका नाराहरुलाई कुन नाटकको श्रृंखला भनेर चित्त बुझाउ !

साँच्चै विषमता छ । देश भीरमा अडकिएको ढुङ्गा जस्तो अवस्थामा छ । संकेतहरु हामी र हाम्रा अनुकुल छैनन् । स्वार्थहरुको लडाईमा हाम्रा सुन्दर सपनाहरु किचिएर मृत्यु उन्मुख छन् । जाल झेल मौलाएको छ । साझा उद्देश्य बनाएर हिडन दलहरु आनाकानी गरिरहेछ आफनै डम्फु राम्रो बजेको र सबैले मनपराएको भ्रम पालेर एक्ला एक्लै दौडन खोजीरहेछन् । अलिकता सचेत र संयम भइएन भने इतिहासले खुँडा उठाउने छ त्यस बखत को बाँकी बस्ला ?

अनामिका,

दुँनिया जसरी पनि चलेकै छ । दिनरात गर्दै महिना वर्षहरु बितिरहेछन् । राम्रो, नराम्रो विकृति विसंगति कायमै भए पनि हाम्रा संस्कारहरु परम्पराहरु फेरि एकपटक हाम्रो दैलो टेक्न आइपुगेको छ। हाम्रा चाडपर्वहरु हाम्रा रीतिरिवाजहरुका विविध पक्षमा आज म छलफल गर्ने छैन । दुईदिन भोग गर्ने नाममा महिनौ भोकै बस्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पर्वहरु मनाउँदा राम्रो हुन्छ । ऋण बोकेर, दशाहरु बोलाएर दशै उत्सवहरु खर्चको बाढी लगाउने काम बन्द गर्न सके राम्रो हुने थियो । देखासिखीलाई संस्कार बनाउने हाम्रो सोच बदलौं । देशको अवस्था सुध्रिए पछि हाम्रो जीवन सुध्रिने छ । जीवन सुध्रिएपछि हाम्रा चिन्ता र विचारहरु सुध्रिनेछन सँगै परम्परा रीतिरिवाज पनि । यसपटक यतिनै लेखे । पछि पछि यी नै विषयमा लामै बहस छलफल गरौला । अन्तमाः आँगन टेकि सकेको बडा दशै र दीपावली २०६६ को उपलक्ष्यमा सबै पाठक र नेपाली मनहरुलाई लाखौं लाख शुभकामना । यो वर्षको दशैसगँै नेपालीहरुमात्रको सिङ्गो विजय होस् ।

उही तिम्रो

अस्तु ।

राम्पा, दोलखा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *