नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

~गणेश शर्मा~Ganesh Sharma

समर्पण : साहित्य प्रेमीहरुमा 

थुम्काबाट चियाउँदा | नेपाली उपन्यास | गणेश शर्मा


भाग-१

काभ्रेको खोरियालाई हुस्सेले ढाकेको थियो । त्यसकारण विजयछापका झुप्राहरु बादलभित्र हराएका थिए । थुम्काहरुले कालो बादलको टोपी लाएकाले वरिपरिका रुखहरु प्रष्ट देखिदैन थिए । भष्मे खपाँङ्गीको घरनेर तगारामा आकाश खसे झैं देखिन्थ्यो ।

पाखाभित्ताका खोल्साहरु छ्याङ छ्याङ गरेर बग्थे । ध्यान दिएर सुन्दा संंगीतको ध्वनि झैं सुनिन्थ्यो । गुराँस र भिमसेनपातीका रुखमा बादल बुई चढेको थियो । ती रुखतिर हेर्दा वर्षादी ओढेर ढोकामा पाले बसेका सिपाही झैं देखिन्थे ।

आज श्रावणको पच्चिस गते हो । त्यसकारण बारीमा कोदो रोप्ने खेतालाहरु घुम ओढेर कोदो रोप्तै थिए । बैंशले मात्तिएकी काँइली नेप्टेसित जिस्किन्थी । रामचन्द्र बाजे पनि कहिले मेला, कहिले घर पुग्थे । किनभने उता खेतालालाई हेर्नु पथ्र्यो । साथै आज घरमा पनि पद्मालाई व्यथाले चापेको थियो । तर उनका आँखा भने ताराध्वज आएको हेर्न दोबाटेको घरतिर उकालो लाग्ने बाटोतिर तानिएका थिए ।

राती देखि नै पदमालाई व्यथाले च्यापेको थियो । बालक पैदा हुने अझै सम्भावना थिएन । दोबाटे माइली, पँधेर्नी बुढी र खत्रीनी कान्छी यता उताउति दगुर्थे । तिनीहरुको फ-याकफुरुक र फुर्ति बढेको थियो । फुकफाक गर्न माइला बुढाथोकी खटेका थिए । उनले भनेजति जडिबुटी जम्मा पारेर कुट्ने काम खत्री कान्छाले गथ्र्यो । त्यसैले गर्दा सिलौटोमाथि लोहोराको आघात परेर निस्केको आवाज गल्लिबाटै सुनिन्थ्यो ।

लुङगेली जेठाले ताराध्वजलाई लिएर आयो । उनी आँगनमा नआउँदै रामचन्द बाजे । खातिरदारीपूर्वक गल्लिमै लिन पुगे । अनि पद्माको नाडि हेरेपछि ताराध्वजले भने “रामचन्द्र बाजे डराउनु पर्दैन । पद्मा नानीलाई चाँढै नै आङ हलुका हुन्छ । बरु एउटा अपमार्गको जरो उखेलेर ल्याउनु प¥यो । त्यो जराको बुटी बाँध्नुपर्छ । म पानी पनि मन्तरेर खान दिन्छु । नाडि हेर्दा राम्रो छ । आत्तिनु पर्ने केही देखिदैन । व्यथा अलि लामो लागेछ । हुँनत लामो व्यथा लागेपछि छोरै हुन्छ भन्छन् । के हुने हो ! गर्भको कुरा पनि भविश्यको कुरा जस्तै हो ।”

ताराध्वजका कुरा सुनेर सवैजनाले मुखामुख गरे । छली र गौंथली पनि बैंशले मात्तिन लागेका थिए । उनीहरु आपसमा हेराहेर गरेर मस्किए । नेप्टी र डल्लीले कानेखुसी गरे । तर खत्रिनी कान्छी चाँही “ आ..ऽऽ ताराध्वज बाजे त ठट्टामात्र गर्नुहुन्छ । कहिल्यै बुढो नहुने । जहिले पनि सोह« वर्षे तन्देरी जस्तो ……।” भन्दै कसिंगर फ्याँक्न जस्केलोबाट वाहिर निस्किईन, दोबाटे माइली र पँधेराकी बुढी वाहेक अरु वाहिर गए । एकछिनपछि “च्याँर्र च्याँर्र” को आवाज आयो । आँगनमा बसेका सवैले त्यो आवाज सुने । रामचन्द्र बाजेका नातेदारहरुले आपसमा मुखामुख गरे । सबै लोग्ने मान्छे आँगनमा नै उभिए । आईमाईहरु चाँही खुशी हुँदै भित्रतिर दगुरे ।

खत्रिनी कान्छी बाहिर आईन । उनको अनुहार हँसिलो थियो । त्यहाँ उभिएका मान्छे खत्रिनी कान्छीलाई चारैतिरबाट घेरे । अनि खत्रिनी कान्छीको मुखबाट रामचन्द्र बाजेको छोरो जन्मिएको सुनेपछि सवैजना खुशी भए । अब खत्रिनी कान्छी भित्र गईन ।

एघार दिन पुगेपछि न्वारन भयो । जोतिषीहरुले ग्रह हेरेर बालकको नाउँ “भानु” राखे । भानु शुक्लपक्षकाृ चन्द्रमाको प्रकाश बढेझैं बढ्न थाल्यो ।

पाँच वर्षपछि रामचन्द्र बाजेको आर्को छोरा जन्मियो, तर बालकहरु नहुर्किदै पद्माले संसारबाट विदा लिईन । अब सवै केटाकेटीहरु टुहुरा भए । त्यसकारण लालाबालाहरुको पालनपोषणको भार रामचन्द्र बाजेको काँधमा झुण्डियो ।

रामचन्द ्रबाजेका चार भाइ छोरा र चारववटी छोरी थिए । यी छोराछोरीहरु जेठी श्रीमतीपट्टिबाट दुईटा र कान्छीपट्टिबाट छ वटा गरेर आठ जना भएका हुन् । रामचन्द्र बाजेकी जेठी श्रीमतीको पहिल्यै मृत्यु भएको थियो । अब कान्छी पद्माले पनि उनलाई छाडेर गईन । साथै जेठीका सवै वालक मरिसकेका र कान्छीका पनि जेठो छोरो नोखप्रसाद र कान्छो छोरो भानु बाहेक अरुले संसार छोडेका थिए । तसर्थ अव रामचन्द्र बाजे दुई छोरा साथमा लिएर जीवनको गाडी घिस्याउन थाले ।

रामचन्द्र बाजेको आप्mनो पैत्रिक सम्पति थिएन । उनको पुरानो घर रामेछाप हो । त्यहाँबाट आउँदा उनले अंश लिएनन् । तसर्थ सम्पति लिएर आउने प्रश्न उठेन । उनी रित्तै आएर सिन्धुली जिल्लाको विजयछाप गाउँमा बसे ।

रामचन्द्र बाजेकी कान्छी श्रीमती पद्माको माइती बाहारा थियो । तसर्थ उनको माइतीले विजयछापमा एउटा पाखो बारी किनिदिए । त्यै पाखाको दम्साइलो भित्तामा एउटा सानो घर बनाए । अनि त्यो घरमा रामचन्द्र बाजेले गुजारा गर्थे ।

हुन त रामचन्द्र बाजेको खेत पनि नभएको होईन । ससुरालीले दिएको तीन मुरे विरौटो बाराहाको च्यानडाँडामाथि थियो । त्यो खेतमा छ,सात मुरी धान फल्थ्यो ।

त्यतिले खान पुग्दैन थियो । तर चाडपर्वको लागि र अक्षताको खाँचो भने टथ्र्यो । अब त्यसमा पनि मुद्दा परेको बाँझै बस्न थाल्यो । तसर्थ रामचन्द्र बाजेको घरमा धान चामलको सराप परेझैं भयो । आम्दानीको श्रोत भन्नु त्यै पाखोवारीमात्र थियो । त्यो बारीमा मलजल केही थिएन । त्यसकारण बालीविरुवा लाए पनि त्यसबाट आउनु पर्ने उब्जा शून्य झैं थियो ।

अब रामचन्द्र बाजेलाई दुई भाइ छोरा पालेर बस्न धौ धौ पर्न थाल्यो । तसर्थ उनले बेद मन्त्र सुनाएका उपल्लाबासीका चेलाहरुको घर घर घुम्न थाले । जुन चेलाले जे दिन्छ त्यै पोको पारेर घर ल्याउँथे । अनि त्यसैलाई खोलेफाँडो वनाएर दूई भाइ छोरा र आफ्नो पेट भर्थे ।

विजयछाप गाउँमा अ‍ैंचोपैंचो चल्दैनथ्यो । किनभने यो गाउँ खास गरेर प्रजा(हायु)हरुको प्रमुख बसोवास भएको गाउँ हो । तसर्थ यी प्रजाहरु सवै रित्ता थिए । दास मालिकहरुले मुक्त गरेपछि उनीहरु यो पाखोमा आएर बसेका हुन । पछि विजयछापको तल्लो भेगमा बेपार गर्न भनेर केही नेवारहरुले बसोवास गरे । नत्र भने दुःख पाएका दुईचार घर क्षेत्री र एक घर बाहुनमा रामचन्द्र बाजे । वाहेक अन्य सवै झुप्राहरु प्रजाहरुको मात्र थियो । तसर्थ यो गाउँलाई भोका मान्छेहरुको गाउँ भन्नु सुहाउँथ्थो ।

रामचन्द्र बाजे जता जान्थे भानु पनि पुच्छर लागेर उतै जान्थ्यो । कहिले चेलाहरुको घर घर घुमेर दही मोही बटुलेर ल्याउँथे । यसरी मागेर मात्र अब उनको घरको विहान बेलुकाको छाक टार्न थाल्यो ।

रामचन्द्र बाजे यजमानी पनि गर्थे । उनका दुई चार घर यजमान थिए । ती पनि गरीबहरुमात्र भएकाले आम्दानीको श्रोत बलियो थिएन । फेरी यजमानले दिने कुरा भरपर्दो पनि भएन । किनभने बर्ष दिनमा एकपटक श्राद्ध गर्थे । त्यसवाहेक रुद्री पुजा वाहेक अन्य कार्य गर्न सक्ने कुरै भएन ।

मृत्यु नै प¥यो भने पनि दान दक्षिणा गर्न सक्ने यजमान थिएनन् । खाली पानीबाट चोखिनु सिवाय आर्को विकल्प उनीहरुको थिएन । तसर्थ रामचन्द्र बाजेलाई यजमानले पनि मद्दत गर्न सकेनन् ।

रामचन्द्र बाजेको घरदेखि एक कोश पर ससुराली थियो । उनी ससुराली पनि जाँदैनथे । किन हो कुन्नी सालो र रामचन्द्र बाजेको वीचमा अलि खट्पट थियो । तसर्थ उनीहरुको मेल थिएन । हुन त रामचन्द्र बाजेलाई मद्दत गर्न सकेनन् । किनभने सासु ससुरालाई पनि उनको छोराको डर थियो ।

रामचन्द्र बाजेको अव यौटा सालो जीवित थियो । उसको स्वभाव दिदी बहिनीप्रति अलि रुखो भएकाले आमा बाबुबाट अलग बस्थ्यो । त्यसैले रामचन्द्र बाजेका सासु ससुरा बाराहाको मूल घरमा नबसेर खनियाखर्कको घरमा बस्थे ।

रामचन्द्र बाजेको जेठो छोरा नोखप्रसाद कहिले कहीं मावल जान्थ्यो । तर आमा मरेदेखि उ पनि जान छोड्यो । तसर्थ रामचन्द्र बाजेको ससुरालीसितको सम्वन्ध अव पूरै समाप्त भएको थियो ।

तीन वर्षसम्म दुई भाइ छोरा पालेर रामचन्द्र बाजेले गृहस्थी चलाए । त्यसपछि झन् झन् कठिन पर्न थाल्यो । किनभने उनको घरमा केही थिएन । बाह्रै महिना अनिकालमात्र थियो । तिथी, श्राद्ध आयो भने रामचन्द्र बाजे चेलाहरुका घर घरमा जान्थे । श्राद्धको लागि भनेर धान, घिउ जम्मा पार्थे । त्यसबाट श्राद्ध पनि हुन्थ्यो । बचेकोबाट दुईचार दिनको छाक पनि टथ्र्यो । त्यसपछि फेरी खाली पेट भौंतारिनु पथ्र्यो ।

रामचन्द्र बाजेको उमेर करिव साठी वर्षको थियो । खानपिनको अनियमितताले गर्दा उनी रोगी थिए । तसर्थ उनी दिनदिनै दुब्लाउँदै गएका थिए । अब उनलाई हिंडडुल गर्न पनि गाह्रो पर्न थाल्यो । अब खोजेर ल्याउँने मान्छे भएन । तसर्थका उनका छोराहरु पनि विहानदेखि बेलुकासम्म खत्रीको घरमा गएर भात ढुक्न थाले ।

बारीको पिंडालु छउन्जेल रामचन्द्र बाजेको पनि छाक टरेको थियो । तर अब पिंडालु पनि सकियो । तसर्थ अव उनी पनि कैयन दिनसम्म भोकै पर्न थाले ।

अब विहानदेखि बेलुकासम्म रामचन्द्र बाजेको खोराकी गाँजा तान्नुमात्र भयो । कम्तिमा पनि दिनमा पन्द्र चिलिम गाँजा भरेर धुवाँ उडाउँन थाले । यसरी गाँजाको लत बसेकाले पेटमा अल्सर भयो । तसर्थ अब रामचन्द्र बाजेको मनले हरेश खान थाल्यो । उनको अब शारीरिक बल पनि सकिदै गयो । अनि एकदिन रामचन्द्र बाजेले आफ्ना उपल्ला बेसीका चेलाहरुलाई बोलाउन नोखप्रसादलाई पठाए । नोखप्रसादबाट आफ्ना गुरुको अवस्था चिन्ताजनक सुनेकाले बहत्तरै जना चेलाहरु गुरुको दर्शनमा उपस्थित भए ।

भाग-२

रामचन्द्र बाजेको घरको दलान सानो थियो । सवै चेलाहरुको लागि बस्ने ठाउँ पुगेन । तसर्थ सवैजना एकैठाउँ बसेर कुरा गर्ने ठाउँको लागि घरमाथिको चहुरमा व्यवस्था मिलाए । यो छलफल गर्ने ठाउँ टाउके हायुको घरनिर थियो । छलफल गर्नको लागि नै मुखियाले छुट्याई दिएका थिए । त्यहाँ एउटा पिपलको रुख थियो । त्यो रुखको वरिपरि चौतारोको माझमा रामचन्द्र बाजे बसेपछि उनका सवै चेलाहरु चौताराको वरिपरि वसे ।

रामचन्द्र बाजेका बहत्तर जना चेलाहरु थिए । तीमध्ये बढि ज्ञानगुन जान्ने भाष्करलाई मानिन्थ्यो । तसर्थ भाष्करलाई लक्ष्य गर्दै रामचन्द्र बाजेले भने “ भाष्कर नानी अब मैले संसार छोड्ने बेला भयो । मेरो ब्रह्म(अन्तस्करण) ले यसै भन्छ । तसर्थ म तपाईंहरुदेखि टाढा पुगेर ओझेल पर्ने छु । हुन त, संसारमा जन्मिएजपछि सवै प्राणी नास हुुुन्छन्, यो शास्वत नियम हो । तर तपाईलाई छोडेर जानेवेला संम्झदा भने दुःख लाग्छ । अन्तस्करणमा धैर्य हराउँदो रछ । मनका आध्यात्मिक भावनाहरुलाई दरोपार्न खोज्यो तर काँतर हुँदै जान थाले । ज्ञानले पनि मस्तिष्कलाई विर्सिए जस्तो छ । भाष्कर नानी आज मैले यस्तै अनुभव गरेको छु ।”

“होइन गुरु त्यसरी हरेस खानु भएन । हजुर पनि आत्तिएपछि हामीले कसरी मन बुझाउने ? फेरी गुरुलाई झ्वाट्ट हेर्दा केही होला जस्तो पनि छैन । रोग लाग्दैमा मरिन्छ नै भन्ने पनि केही छैन । त्यसकारण………….।”

भाष्करले उनको मनका सवैकुरा भन्न भ्याएनन् । रामचन्द्र बाजे आफ्ना दुवै हातले पेट थिच्न थाले । अनि उनीनिरको लोहोटा लिएर उठे । पिपलको चौतारोनिर पोखरीमा पानी थियो । त्यहींवाट पानी उघाएर झाडीतिर लागे । एकछिनपछि रामचन्द्र बाजे झाडीबाट आए । अनि आफ्नो परममित्र भाष्करलाई लिएर दिसा गरेको थलो देखाउँन झाडी तर्फ लागे ।

त्यो ठाउँमा चारमाना जति रगतको पोखरी थियो । यसरी पेटबाट सोझै टाठो रगत गएको देखेर भाष्कर पनि डराए । अब गुरुको अन्त्य भएझैं उनको मनमा लाग्यो । तसर्थ अरु साथीहरुलाई पनि त्यो रगत देखाउन भाष्करले झाडीमा लगे । अब उनका सवै चेलाहरु मुखामुख गर्न थाले । त्यसकारण सवै चेलाहरुको मुखतिर हेर्दै रामचन्द्र बाजेले भने “नानी हो अब मलाई सुनकोशीको किनारामा जाने मन छ । जुन नदीको प्रवाहमा मेरा बावु, बाजे र जिजु प्रवाहित भएका थिए । मैले पनि त्यै नदीमा समाहित हुनुपर्छ । तसर्थ हिजो कान्छा जुवाँईलाई बोलाए रुद्री पाठ गराए । सापकोटा कान्छा पुरोहितले दसदान र बैतरणी पनि गराई दिनु भयो । त्यसपछि घाट जाने अन्तिम तयारीको लागि मात्र तपाईहरुलाई डाकी पठाएको हुँ । म बोकिएर घाट जान चहान्न । अहिलेसम्म त म आफै हिड्न सक्छु । त्यसकारण तपाईहरुमध्ये ज–जसलाई फुर्सद छ ती ब्यक्तिहरु मसित हिड्नुहोस । भानु र नोखप्रसाद पनि मसंगै जान्छन् । जब मेरो अन्त्येष्ठि सकिएला, तब तिनीहरुलाई घरसम्म ल्याएर पानीबाट चोख्याई दिने व्यवस्था गर्नुहुनेछ । यो कामको जिम्मा मैले तपाईहरुमा छोडेको छु ।”

बोल्दाबोल्दै रामचन्द्र बाजेको कण्ठ रोकियो । उनका दुवै आँखाबाट आँसुका बलिन्द्र धारा बगे । गुरुको त्यो अवस्था देखेर चेलाहरु बोल्न सकेनन् । उनीहरु पनि गुरुसितै शोकाकुल भए ।

आर्को कुरा हिंडेर घाट जाने कुराले पनि चेलाहरु छक्क परे । तसर्थ एकछिनको लागि त्यो पिपलको चौतारोमा शान्तिले साम्राज्य जमायो । त्यसपछि शान्त वातावरणलाई भंग गर्दै भाष्करले भने “के मर्जी भएको गुरु । विरामी हुँदैमा मरिन्छ भन्ने पक्का छ र ? मान्छेको चोला, अन्न पानीको शरीर, कहिले कहीं विरामी त परिन्छ नै त्यतिबाट नै धैर्य त्यागेर आत्तिनु भएन गुरु ।”

“हो, भाष्कर नानी विरामी नपर्ने चोला कसैले पाएको छैन । त्यसमा पनि अनियमित दैनिक काम, कृया, भड्किलो रहनसहन, असन्तुलित भोजन, संयमरहित व्यवहारतर्फ जो वढि अग्रसर छ, त्यो व्यक्ति त झन रोगको काखमा नै पालिन्छ । तर नानी ! यौटा यस्तो रोग छ, त्यो रोगलाई हामी कसैले टार्न सक्तैनौ । त्यो रोग हो, प्राणले शरीरलाई छोड्ने रोग । यो रोगको कुनै औषधि छैन । जो प्रकृतिको निकटमा रहन्छ, त्यो व्यक्ति चाँही अलि स्वस्थ र दीर्घजीवि हुन्छ । मैले वेदादिको अध्ययनबाट यस्ते बुझेको छु । मेरो शरीरका अवयवहरु शिथिल भएको अनुभव हुन थाल्यो । घरले जा जा बनले आईज आईज भनेझैं लाग्छ । तसर्थ एकपटक सुनकोशीको पाव किनारामा पुग्छु । अनि निर्मल जलमा स्नान गरिसकेपछि परमात्माले“ तेरो जानेबेला भएको छैन” भनेछन् भने फर्किउला, अन्यथा…।”

गुरुको कुरा सुनेपछि कसैले पनि नाइनास्ति गर्न सकेनन् । लौरो टेकेर रामचन्द्रबाजे अघि अगि हिडे । नोखप्रसाद र भानु ससाना पोका बोकेर बावुको पछि लागे । अनि बहत्तर जनाको ताँतीसंगै रामचन्द्रबाजे घाटातिर प्रस्थान गरे ।

सल्लेबासको ओरालो हिडिसके । अब झाँक्रीखोलाको दोभान पनि छोडियो । अँधेरी खोलाको जँगार तर्दै गएर गोली ढुंगाको चेप नाघे । अव घट्टेकुलाको बाँधमा रामचन्द्रबाजेको दल पुग्यो । त्यहाँ यौटा चौतारो थियो । सवैजना केही समय विश्राम लिने विचारले त्यै चौतारामा बसे ।

विरामी पनि पैदल नै हिडेकाले घाटजान लागे जस्तो लाग्दैन थियो । बरु आध्यात्मिक विचारसित मिल्ने रमाईला रमाईला गफ हुन्थे । त्यै चौतारोनिर कुलाको बाँध थियो । तसर्थ खेतमा पानी पटाउने किसानहरु पनि त्यौ चौतारामा थिए । ती किसानहरुले पनि रामचन्द्र बाजेलाई भेटे ।उनका सालाको खेत पनि त्यै चौतारोनिर थियो ।साला खेतमा पानी पटाउन आएका थिए । परैबाट उनले आफना भिनाजु हिंडेर घाट जान लागेको खबर सुने । तर भेट गर्न भने आएनन् । किनभने गँजडि भनेर उनले आफ्ना भिनाजुलाई विश्वास गर्दैनथे ।

भेट्न आउँने सवैसित रामचन्द्र बाजेले भलाकुसारी गरे । जीवनका खातिर लाग्दा कुराहरुको चर्चा भयो । संसारको व्यवहार र “मृत्युपछिको स्वर्ग जाने” दृष्टिकोणमाथि विवेचना भयो । अनि रामचन्द्र बाजे सहित त्यहाँबाट प्रस्थान गरे ।

पश्चिमतिरको डाँडामाथि सूर्य अस्ताउँन लागे । दिनभरि बन चहारेका बाख्राहरु घरतिर फर्किए । घाँसी, दाउरे र गोठाला पनि पाखाभित्ताबाट निस्किएर गाउँघरतिर लागे । साथै जिउदा रामचन्द्र बाजे पनि खुर्कोटको घाटनिरको समीको चौतारोमा पुगे ।

सदावर्तका चीरपरिचित बासिन्दाहरु रामचन्द्र बाजेको दर्शनमा आए । साथै सदावर्तकी कान्छी आमा पनि पाकेको म्याओ बोकेर आईन । अब यो चौताराको वरिपरि दर्शनार्थीको भिड लाग्यो । उपस्थित भएका सबैले रामचन्द्र बाजेको खातिर गरे । अनि भानु पनि आफुले बोकेको सानो पोको चौताराको डिलमा राखेर कोशीको बालुवामा खेल्न थाल्यो ।

सवैसितको भेटघाट सकियो । भेट्न आउँने मध्ये धेरै जना आ–आफ्ना घरतिर फर्के । अनि रामचन्द्र बाजेले आफ्ना चेलाहरुतिर फर्किएर भने “मेरा प्यारा चेलाहरु हो ! अव मलाई सुनकोशीको छिपछिपे पानीमा पु¥याई दिनुहोस । त्यहाँ पुगेर म एकछिन सुत्छु । मेरो सिरान उत्तरपट्टि पर्ने गरी यो दरी हालीदिनु । अनि एउटा तकिया राखिदिए अरु राम्रो हुन्छ । म केही समय त्यो ओछ्यानमा उत्तानु परेर आराम गर्छु । सूर्य अस्ताचलतिर भैसक्ता पनि अझै गर्मी छ । तसर्थ तपाईहरु सवैजना यै चौतारोको शितलमा बस्नु होस । मलाई आवश्यक परेछ भने बोलाउँला । अन्यथा म त्यो छिपछिपे चिसो पानीको शितलमा केही सुत्छु । मैले चोला बदलें भने यो नोखे र भानुले तपाईहरुको काख पोल्टोे पाउँने नै छन् । हुर्किएपछि सम्पूर्ण प्राणीले आफ्नो जीवन निर्वाह गरिहाल्छन् । हुर्किउन्जेल सहयोगको आवश्यकता हो । तसर्थ यीनिहरुलाई मावल चाँही नपठाई दिनु । किनभने मेरो र सालाको वीचमा खट्पट छ । त्यसकारण त्यसको प्रभाव यी टुहुरामाथि पर्नसक्छ । किनभने संसारका धनी र गरीबको वीचमा नजिकको नाता परे पनि वर्गीय स्वभाव भने मिल्न सक्तैन । आ–आफ्नो वर्गीय स्वभाव अनुसारका तनावले एक अर्कामा टक्कर पर्नसक्छ । तसर्थ मावलमा यीनिहरुले गुजारा गर्न सक्तैनन् । किनभने देव र दैंत्यको अलग अलग मार्ग भएझैं धनी र गरीबको पनि आ–आफ्नै वर्गीय स्वार्थ हुन्छ । तसर्थ यी टुहुराहरु दैत्यको पञ्जामा नपरुन । बरु तपाईहरुको गाई बाख्रा चराउन लगाएर हुर्काई दिनु भएपनि हुन्छ ।”

बोल्दाबोल्दै रामचन्द्र बाजेको कण्ठ रोकियो । उनका दुवै आँखामा आँसु भरिए । अनि हात जोडेर भाष्करले भने “गुरु” किन यस्तो मर्जि भएको ? हजुरलाई केही हुँदैन । दैवको इच्छा यदि यसतै रछ भने । नोखप्रसाद र भानुको लागि हामी छौं । यीनिहरुलाई हाम्रा छोराछोरी सरह पालन पोषण गर्नेछौं । यसको लागि गुरुले धन्दा मान्नु पर्दैन । हजुरको कृपाले गुरु पुत्रलाई पाल्न पुग्ने दौलत हामीसित छ ।”

“मरेनी” भानुले चिच्याएर रोएको सुनेर गुरु चेलाको सम्वाद रोकियो । “के भयो हँ” भन्दै भानु रोएतिर भाष्कर दौडिए । भानुले खेलेको ठाउँमा भाष्कर पुगे । अनि हेर्छन् त, भानुले म्याओ काट्न खोज्दा छुराले देव्रे हातको चोर औंलाका फेदमा अलिकति छिन्न बाँकी राखेर काटेछ । त्यो छुरा एकजना चेलाले “के पर्छ” भनेर लगेका रहेछन् । त्यै छुरा झिकेर कान्छी आमाले ल्याएको म्याओको भेट्नु काटेको, औंला पनि काटिएछ । काटिएको औंलाबाट रगतको सिर्को जाँदैथ्यो । त्यो देखेर भाष्कर छक्क परे । अनि भानुको पटुका च्यातेर औलामा बाँधि दिए । त्यसपछि भानुलाई बोकेर भाष्कर समीको चौतारामा ल्याए । नोखप्रसादले भानुलाई फुल्याउन थाल्यो । म्याओ ताछेर खान दियो । रुढीग्रस्त विचार भएका चेलाहरुले कानेखुशी गर्दै “अलक्षण लगायो” भन्न थाले ।

भाग-३

भानुलाई शान्त पारेपछि सवै चेलाहरु मिलेर कोशीको किनारामा एउटा दरी ओछ्याए । अनि आफ्ना गुरुलाई लगेर त्यै छिपछिपे पानीमाथि ओछ्याएको दरीमा सुताए ।

अव रामचन्द्र बाजे उत्तर सिरान गरेर उत्तानो परेर सुते । उनले सुत्ता उपरखुट्टी लगाएका थिए अथवा दाहिने गोडा देव्रे गोडामाथि चढाएका थिए । अब अरु सबै चेलाहरु फर्किएर समीको चौतारामा गए । तर भाष्कर भने गुरुको नजिकै वसे । एकछिनपछि भाष्करले भने “गुरु ! कस्तो छ ? घाम नअस्ताउँदै घर फर्किने होईन ? अब त अलि शितल पनि भयो ।”

“हो, भाष्कर नानी ! अब केही समयपछि म आफ्नै घरमा फर्किन्छु । तर म फर्किएर जाने घर कस्तो छ ? त्यो मलाई पनि थाहा छैन । फेरी मलाई वेदमा बढी…विश्वास भएकाले….पुनर्जन्ममा विश्वास छैन । तर जीवन भने शरीरलाई छोडेर अनन्त ब्रम्हाण्डमा एकाकार हुनेछ । । त्यसकारण भाष्कर नानी हामीले बाँचुन्जेल संसारभरिका मानव मात्रको सेवा गर्न भने पछि पर्नु हुँदैन । अब मेरो जीवनले शरीरलाई छोड्ला जस्तो छ । सबै भन्दा जीवनको लागि नाता शरीर नै हो । तर त्यै जीवले पनि शरीरलाई छोड्ला जस्तो छ । तैपनि रामेछापमा मेरा भतिजाहरु छन् । मेरो दाहसंस्कार पछि उनीहरुलाई खबर गरिदिनु होला ।”

“ गुरु यस्तो आज्ञा नहोस । ऐले नै मरिन्छ जस्तो लाग्छ ? मरिन्दैन । केही पनि हुँदैन । यदि केही भएमा जे गर्नुपर्छ, हामी छँदैछौं । जतिवेला मनलाग्यो त्यतिवेला मर्न त घाँटीमा सुर्कने नै लगाउँनु पर्छ । अन्यथा इच्छा मृत्यु हुन गाह्रो छ ।”

यसरी भाष्कारले गुरुलाई संझाए र साथीहरु बसेको चौतारोमा गए ।

भदौरेमाथि केरावारीको डाँडामा घाम अस्ताए । कोशीको किनारामा ओझेल प¥यो । भलुवाजोरको थुम्कामा भने अलिअलि रातो आभा देखिन्थ्यो । चारैतिरको वातावरणले रात पर्न लागेको संकेत दियो । समीको चौतारामा बसेका जिउँदा रामचन्द्र बाजेका मलामी चेलाहरु बाघचाल खेल्नमा व्यस्त थिए । उता नोखप्रसाद पनि भानुसित खेल्थ्यो । भानुचाँही काटेको औंलामा काम्रो बाँधेर कोशीको बालुवमा साँचो लुकाउँथ्यो । यो बालुवमा साँचो लुकाई खेल्ने खेल रमाईलो हुन्छ ।

चौताराबाट एकछिनपछि भाष्कर गुरुनिर गए । उनी पुग्दा उनका गुरु चीरनिन्द्रामा सुतिसकेका थिए । तसर्थ रामचन्द्र बाजेले उपर्खुट्टी लाएको गोडा पानीतिर लगिएको थियो । यसतो अवस्था देखेपछि भाष्कारले गुरु ! गुरु !! भनेर बोलाए । तर उनका गुरु बोलेनन् । अनि भाष्करले नाडि छामे । नाडिको गति बन्द थियो । शरीरलाई चुम्बकीय विद्युत तरंगले छोडेको हुँदा तातो थिएन । भाष्करले गुरुको देव्रेपटि छातीमा छामे, तर मुटुको ढुकढुके आवाज भेटिएन । अनि आत्तिएर भाष्करले आफ्ना चौतारामा वसेका सवै साथीहरुलाई बोलाए । ती सवै साथीहरु रामचन्द्र वाजेनिर कोशीको किनारामा पुगे । नोखप्रसाद र भानु पनि रुँदै कराउँदै बाबुनिर गए । अनि अन्जुलीले कोशीको पानी उघाएर सवैले रामचन्द्र बाजेको मुखमा हालिदिए । तर रामचन्द्र बाजेले त्यो पानी निल्न सकेनन् । किनभने उनी अघि नै चिसा भैसकेका थिए । यसरी एकजना त्रीकाली बाजे रामचन्द्रको अन्त्य भयो ।

रामचन्द्र बाजेको इच्छानुसार नै उनको पार्थिव शरीरलाई कोशीको जल प्रवाहित गरियो । अब उनका सबै चेलाहरु घर घर तिर हिंडे । तर भाष्कर भने कृयापुत्रीका साथमा छन् । आज कृयापुत्री घर पुग्न सक्तैनन् किनभने रात निकै गयो । अतः नोखप्रसाद र भानुलाई लिएर भाष्कर सदावर्तकी कान्छी आमाको घरमा गए ।

बोक्ने उचाल्ने मान्छे कोही थिएन । नोखप्रसाद र भानुले पोको पारेर लगेका लुगा पनि घाटमा फ्याँकिदिएछन, अब ओढ्नको लागि केही थिएन । सबै नै रामचन्द्र बाजेसितै बगेका थिए । त्यसकारण नोखप्रसाद र भानुले सेतो लुगाको लगौंटी र कन्दनी लगाएका थिए । झ्वाट्ट हेर्दा ती दुई भाइ कान्छी आमाको आँगनमा बकुला बसे जस्ता देखिन्थे ।

भाष्कर दलानमा बसे तर कृयापुत्रीले भने आफ्नो घर वाहेक अरुको घरको दलानमा समेत बस्न निषेध थियो । उनीहरुले खुल्ला आकाशमुनि बसेर रात काट्नुपथ्र्यो । किनभने पुरोहितले यस्तै नियम बताएका थिए । उनीहरुको आदेश पालना गर्नु पर्ने हुँदा नोखप्रसाद र भानु कान्छी आमाको आँगनमा टाक्राकटुक्रुक बसे । रात छिपिदै गयो उनीहरुको शरीर नांगो थियो । बैशाख महिना भएपनि चिसो अनुभव वढ्दै गयो । ती टुहुराहरुले विहान घरमा भात खाएका थिए । अब त्यो भातले पनि छाड्यो । त्यसकारण पेट खाली भएकाले हावामात्र भरियो । त्यो पेटको हावा दाहिने र देव्रेतिर कुईंकुईं गर्दै दौडिएकाले सुत्न मुस्किल हुन थाल्यो ।

नोखप्रसाद १४ वर्षको थियो त्यसकारण उसले संसारका धेरै कुरा बुभ्mन सक्थ्यो । तर विचरो भानु भने खाली पाँच वर्षको मात्र थियो । उसलाई संसारका नियम सम्वन्धी कुनै कुराको ज्ञान थिएन । उसले आफ्नो चहानाको कुरामात्र जान्दथ्यो । त्यो वाहेक अन्य कुरामा उ अनभिज्ञ थियो । अब भानुलाई भोक र तिर्खाले ब्याकुल पार्न थाल्यो । उसले धेरै बेरसम्म खाली सुँक्क सुँक्क ग-यो । त्यसपछि डाँको छोडेर रुन थाल्यो ।

नोखप्रसादले भानुलाई धेरै संझायो । नानाथरि उपदेश सुनायो तर भानुको रुवाई चाहीँ रोकिएन । झन् झन् बढ्दै गयो । अब उ भोक लाग्यो, तिर्खा लाग्यो भनि चिच्याउन थाल्यो । अब कान्छी आमाको आँगनमा क्रन्दन र कोलाहल भरिदै गयो । यसतो वातावरणको प्रवाहले गर्दा भाष्करको निद्रा पनि भाँचियो । ब्युँझेर भाष्करले भानुको अलाप विलाप सुने । उनको मनमा पनि खिन्न लाग्यो । त्यसपछि परालको कुन्युमा भाष्कर गए र एक अंगालो पराल लिएर आए । अनि त्यो पराल दुबै कृयापुत्रीलाई ओढाउँदै उनले भने “भानु, यसरी रुनु हुँदैन । बुबाको कोरामा बस्ता झगडा ग-यो भने हानी हुन्छ । लौ पराल ओढाई दिएँ । अव न्यानो हुन्छ । आजको रात काटेपछि भोली त घरमा पुगिहाल्छौ । घर पुगेपछि त राडी कम्मल ओढे भैहाल्छ । भोकै बस्नु पर्ने दिन पनि भोलीमात्र त हो । पर्सि त पँधेरामा गएर पिण्ड दिएपछि घिउ र भात खानु भैहाल्छ । भानु नरो बा, सुत ल ।”

मध्येरातको समय थियो, चारै तिर शून्यको साम्राज्य झैं लाग्थ्यो । सान्त वातावरणले गर्दा टाढाबाट आएका कुनै शब्द पनि टड्कालै सुनिन्थ्यो । अँधेरी खोलाका दोभानमा सुनकोशी सुसाउँथ्यो । त्यो शब्द सुन्दा मृतात्माले बोलाएझै लाग्थो । भिमसेन स्थाननिर कुकुर हुँ हुँ गरेर रुन्थे । लाटोको सेरा र चमेराका वथान भुर्र भुर्र उडेकाले मस्त निद्रा पर्न वाधा हुन्थ्यो । तैपनि नांगो शरीरलाई परालले छोपे्को हुंदा कृयापुत्रीलाई न्यानो भयो । दुवै दाजसभाई घ्वार्र घ्वार्र घुर्न थाले । नोखप्रसाद र भानु उठ्नु अगावै भाष्कर उठे । यी दुवै केटाहरुलाई घरसम्म पु-याउने एक जना साथीको आवश्यक थियो । त्यसकालागि भाष्करले घट्टमाथिको जिरे नेवारको छोरो चाउरेलाई बोलाएर ल्याए । त्यति वेलासम्म पनि नोखप्रसाद र भानु उठेका थिएनन् । भाष्करले ती दुवैलाई परैवाट बोलाएर ब्युँझाए । दुवै दाजभाइ ब्यँुझिएर उठे ।

छुरा लगाएर खौरेकाले आलु ताछे जस्तो मुडुलो टाउको थियो । परालको सिरानी माथि सुतेकाले चारैतिर डामै डाम देखिन्थ्यो । आँखी भौं पनि सवै खौरिदिएका थिए । यसो हेर्दा नोखप्रसाद र भानु हुन भन्न मुस्किल पथ्र्यो । अझ ऐनामा अनुहार हेर्ने हो भने आफुले आफुलाई चिन्न पनि गाह्रो थियो ।

अब भाष्करले चाउरेतिर लक्ष्य गर्दै भने “हेर चाउरे, तँ यी नानीहरुलाई लिएर विजयछाप जानु प-यो । यो पोकामा यीनिहरुको लुगा छन् । यो पोको पनि बोकेर लैजा । चाँडो गर, घाम चर्किन्छ । हेर, बिजयछाप पुग्नासाथ फरक्क फर्किनु । यीनिहरुसित तैंले बोल्नु हुँदैन । तसर्थ भात खान घरमै आइपुग्नुपर्छ । आर्को कुरा, यीनिहरुसित तैंले ज्याला नमाग्नु । म तेरो बाबुलाई मुंसिरमा एक पाथी धान दिउँला ….. लौ अघि अघि हिंड …….।”

चाउरेलाई अराई सकेपछि नोखप्रसाद र भानुतिर हेरेर भाष्करले भने “लौ नानी हो, चाउरेसित तिमीहरु घर जाओ । यो सानो जातको मान्छे हो । त्यसकारण योसित दोहोरो कुरो नगर्नु । तिमीहरु खुरु खुरु हिड्नु । जब तिमीहरु घर पुग्छौ, अनि यसलाई ईशारा गरेर फर्काई दिनु । सवैगरी योसित बोल्यौ भने फेरी आर्को एक दिन छेत्रोबास (भोको) बस्नु पर्छ । हेर, बुबाको कामकाज सकेपछि फुर्सद भयो भने यसो कहिले कहीं हाम्रो घरतिर आए पनि हुन्छ । नत्र भने बाबु हो आप्mनो कुटो कोदालो गरेर खानुपर्छ । बरालिएर हिंडिरहनु पनि हुँदैन ।”

भाग-४

नोखप्रसाद र भानु घर पुगे । ढोकामा ठूलो भोटे ताल्चा लागेको थियो र आँगनको छेउमा मालीगाई र तीखे गोरु बाँधेको थियो । उनीहरु आमुन्ने सामुन्ने परेकाले आपसमा सिङ ठोकाठोक गर्थे । पद्माको मृत्युदेखि नै ती पशुहरु पनि टुहुरा झैं देखिन्थे । फुर्सदको समय पाएमा पँधेराकी बुढीले घाँस पानी दिन्थिन् । अन्यथा कोदाको नल चपाएर आँगनमा बसिरहन्थे ।

वीचैमा उछिनेर नोखप्रसादले भन्यो “भाष्कर दाइ, तपाई पनि हामीसित घरसम्म जाउँन ? नबोलिकन यो चाउरेसितमात्र कसरी जानु ? फेरी हाम्रो घरमा ताल्चा लागेको छ । त्यो ताल्चा हामीले उघार्नु भएन । अब हाम्रो भन्नु तपाई वाहेक कोही छैन ।

कोरा बार्ने मान्छे पनि कोही छैन । हाम्रो घरको वरिपरि सबै मगर र हायुका घरहरुमात्र छन् । तागाधारी भनेको एकजना खत्री कान्छा मामा मात्र छन् । उनी पनि आज घरमा छन कि छैनन् । त्यसकारण जाउँन, भाष्कर दाइ ! आमा खस्ता पनि तपाई हाम्रो घरसम्म म र बालाई पु¥याउन जानु भो, फेरी तेह« दिनसम्म उहीं बसेर सवैथोक गरिदिनु भएथ्यो । ऐले पनि जाउन ।”

“आर्को कुरा भाष्कर दाइ, हाम्रो घरमा धान चामल छैन । सख्खर र घिउ भन्ने त झन् कसको घरमा छ । मगर र हायुसित दोहोरो कुरा गर्नु भएन । अनि कसले घिउ चामल खोजीदिन्छ । भोली चामल भेटिएन भने भानुले मलाई दिक्क पार्छ । त्यसैले पनि जाउँन दाइ ।”

यसरी नोखप्रसादले आफ्नो काहानी सुनायो । तर भाष्करको मन फर्किएन । उनीले आफ्नै विचारमा अडिदै भने “नानी, म तिमीसित जान सक्तिन । मेरो घरमा दाजुसित झगडा भैसकेको छ । गुरु छउन्जेल त मैले चोरेरै भएपनि धान धनको मद्दत गरें । त्यतिवेला गुरुको डरले मलाई दाजुले केही भन्न सक्तैन थे । तर अब त मेरो घरमा विरोध हुन्छ । अब म तिमीहरुलाई कुनै मद्दत गर्न सक्तिन । किनभने मलाई पनि घरबाट निकाल्ने डर छ । यदि घरबाट दाजुले निकाली दिए भने मैले आफ्ना बालबच्चा पनि पाल्नु प-यो । हेर, बरु तिमीहरु घर पुग्नासाथ मावलमा खबर पठाउनु, अनि जसरी भएपनि पानीबाट चोखिने काम गर्नै प-यो ।”

“भाष्कर दाइ बुबाले हामीलाई मावल नजानु भन्नु भएको छ, अनि कसरी हामीले मावलमा खबर पठाउँनु ? बुबा हामीसित रिसाउनु हुन्न ?”

यसरी अन्जान किसिमले भानुले गरेको प्रश्न सुनेर भाष्कर एक छिन छक्क परे । अनि “यीनिहरुलाई दैत्यको हातमा जिम्मा नदिनु होला” भनेर गुरुले भनेको संझिए । त्यसपछि दुवै टुहुरातिर भाष्करले टिठलाग्दो गरी हेरे । अनि विस्मयसाथ भाष्करले भने “दुःख पाएपछि मावल जान हुन्छ । त्यसकारण नानी हो, तिमीहरु घर पुग्नासाथ मावलमा खवर पठाउनु । लौ त म हिंडे । तिमीहरु पनि अब फटाफटी जाओ ।”
भाष्कर विदा भएर अँधेरीखोलो तरे । नोखप्रसाद र भानुले पर पुगुन्जेल भाष्करलाई हेरे । जब भाष्कर कान्ले खेतमाथिको ओझेलमा हराए । अनि नोखप्रसाद र भानु चाउरेको पछि पछि लागेर घरतिर उकालो लागे ।
रामचन्द्र बाजेका बहत्तरजना चेलाहरु थिए । तर आज तीमध्ये एकजना पनि उनका टुहुरा छोराहरुसित छैनन् । हिजोसम्म चेलाहरुले रामचन्द्र बाजेप्रति तेत्रो भक्ति देखाउँथे । तर आज उनका छोराहरुप्रति सहानुभूतिसम्म देखाउन सकेनन् । स्वर्गेजान लाईनमा उभिएका भक्तहरुले अध्यात्मवादको “अ” सम्म पनि विर्सिएझैं गरे । अन्धविश्वासको जालभित्र लुकेर आफ्नो साम्राज्य फैलाउने साइँदुवाहरुको समूहभित्र यस्तै प्रकृतिले प्रश्रय पाएको हुन्छ । आज टुहुराहरुले यीनिहरुबाट साथ नपाउँनु कुनै नौलो कुरा भने होइन । किनभने “डमरु बजाएर धन संचय गर्नेले जस्तै” यीनिहरुले स्वार्थपूर्तिका लागि गुरु थापेका हुन्छन् । जब गुरुको स्थान यीनिहरुलाई प्राप्त हुन्छ । अनि आफ्नै बाटो लागिहाल्छन् । त्यस्तै हिजोसम्म गरिव, दरिद्र रामचन्द्र बाजेलाई कानेटोपी लगाएर नचाउँन पाएकाले आफ्नो स्वार्थ प्राप्तिका लागि वरिपरि घेरा लागेका थिए । तर आज बाँदर हिड्यो । डमरु पनि बज्न छोड्यो ।

नोखप्रसाद र भानु घर पुगे । ढोकामा ठूलो भोटे ताल्चा लागेको थियो र आँगनको छेउमा मालीगाई र तीखे गोरु बाँधेको थियो । उनीहरु आमुन्ने सामुन्ने परेकाले आपसमा सिङ ठोकाठोक गर्थे । पद्माको मृत्युदेखि नै ती पशुहरु पनि टुहुरा झैं देखिन्थे । फुर्सदको समय पाएमा पँधेराकी बुढीले घाँस पानी दिन्थिन् । अन्यथा कोदाको नल चपाएर आँगनमा बसिरहन्थे ।

ढोकाको ताल्चा उघार्ने साँचो पोकाभित्र थियो । पोकाबाट साँचो नझिकी ताल्चा उघ्रिदैनथ्यो । त्यसैले चाउरेलाई भनेझैं गरेर भानुतिर लक्ष्य गर्दै नोखप्रसादले भन्यो “भानु ढोका उघार्नु पर्ने साँचो लुगाको पोकोमा छ । खत्री मामालाई बोलाउन पाए हुन्थ्यो । उनको घर उ त्यहिं तल्लो हो ।

नोखप्रसादले आफ्नो कुरा भनि नसक्तै चाउरे उठेर गयो । अनि एकछिनपछि खत्रीकान्छालाई लिएर आयो । खत्रीकान्छाले ती दुवै टुहुराहरुलाई एकछिनसम्म ट्वाल्ल परेर हेरे । अनि आँखाबाट बर्बरी आँसु झार्दै उनले भने “अबचाँही यी केटाहरु साँच्चि नै टुहुरा भए ।”

नोखप्रसाद र भानुले खत्रीकान्छालाई देखेपछि मन थाम्न सकेनन् । दुवै भाइ ठूलो श्वर गरेर रुँन थाले ।

वरिपरिका छरछिमेकीहरुले सहयोग गरे । कुनै उपायले रामचन्द्र बाजेको तेह« दिनको काम सकियो । छिमेकीहरुमध्ये कसैले दुई पाथी धान दिए । कसैले एकमानो घ्यु दिएर मद्दत गरे । छिपी कान्छाले चाँही पाँच हात खादीकपडा दिएर मद्दत ग-यो ।

रामचन्द्र बाजेभन्दा अघि पनि यो घरमा मरौटो परेथ्यो । त्यो बेला पुरोहितले प्रशस्त दान पाएथे । तर आज रामचन्द्र बाजे छैनन् । उनको काजकृयामा दान गरिदिने मान्छे छैन । किनभने अब उनको आफ्नो सम्पति बाँकी थिएन । साथै खोजमेल गरिदिने मान्छेको पनि अभाव थियो ।

अव रामचन्द्र बाजेको चेलाहरुले पनि आवत जावत छोडे । किनभने उनीहरुका गुरु यो संसारमा थिएनन् । अब गुरुको मन्त्र वा उपदेश सुन्नु पर्ने पनि थिएन । आवत जावत वढाएर टुहुरा वा भोका गुरु पुत्रहरुको विजोक उनीहरुलाई सैह्य हुदैन थियो । टुहुराहरुको पालनपोषण गर्ने गुरुलाई दिएको वचन विर्सदै गएका थिए । बलेको आगोमात्र सवैले ताप्छन् भने अगेनामा आगो निभेपछि त्यो त्यता फर्किन्छ भन्ने उक्ति चरितार्थ भएको देखिन्थ्यो ।

पुरोहितको सल्लाह अनुसार मालीगाईलाई मोक्ष धेनु र तिखे गोरुलाई धर्मराज भनेर दान गरे ।

महिना दिनमा गर्नुपर्ने मासिक पनि आजै खिचियो । पैंतालिस र ६ महिनामा गर्नुपर्ने विधि पनि पुरोहितले आजै सक्ने सल्लाह दिए । त्यसकारण बर्खान्त बार्ने सेता लुगा नभएकाले लुगा बार्नु नपर्ने निश्चय पनि आजै भयो । गुरु, चेला र गुरुका पुत्रहरुको जीवन यसरी नया घुम्तिलाई चिर्दै अँधेरी खोलाको जंघार तर्दै विजयछापलाई मुटुभित्र सजाउँदै अघि बढिरह्यो ।

समाप्त

उपन्यासकार शर्माको यो उपन्यासलाई पूर्णआकार दिन नपाउँदै असामयिक निधन भएकोले यो सत्यघटनामा आधारित उपन्यासले पूर्णता पाउन नसकेको पाठकहरु समक्ष राख्न चहान्छु । —सम्पादक

(स्रोत :  Majdooronline)

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *