पत्र कथा : सपना !!‏

~चकेन्द्र राई ‘कैदी’~Chakendra Rai 'Kaidi'

सपना,

यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! !

आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाईपनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो सगरमाथाको चुचुरोमा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदिमा नै राख्नु पर्छ भनेर । तर मलाई आज यो पत्र कसरी शुरु र अन्त्य गर्ने भन्ने अस्पष्ट भएकोले होला यति अफ्ठ्यारो लागिरहेको छ । आज तिमी प्यारी सपना, प्राण प्यारी सपना, अर्धाङ्गिनी सपना जस्ता सबै आफनत्वको शव्दहरुबाट पर तिमी संवोधान विहिन भएकी छौ ।

जिन्दगी दुई दिनकै भए पनि अनेकौं समस्याहरुसँग लड्दै मुकाविला गर्दै जीउनु पर्दो रहेछ । थुप्रै थुप्रै दुख: सुखका अनुभवहरु संगाल्नु पर्दोरहेछ । सायद त्यसैले भन्ने गर्छन् – जीन्दगी अनुभव हो , भोगाइहरुको सम्पूर्णता हो ……।

तर विछोडको पिडाहरु भने जीवनको अनौठो व्यथा भएर सधै वल्झिदिंदो रहेछ । हरपल चिमट्दो रहेछ, रातदिन आँशुको सागरमा डुव्दै वेदनाको ज्वालामा जल्नु पर्दो रहेछ । अनि मिठो मिठो कल्पनामा हराउदै सपना भित्रको विपनामा आफ्नो भविष्यलाई चियाउनु पर्दो रहेछ । म अलिकति साहस वटुलेर तिनै भोगाइहरुलाई गम्भिर भएर सोंच्छु……… ? जताततै अन्धकार नै अन्धकारले छाउन थाल्छ । आफू बाँचिरहन पनि घृणा लाग्छ । यस्तो लाग्छ यो मतलवी संसारबाट सधै सधैको लागि विदा लिऊ , तर मर्न झनै ठूलो साहस चाहिंदो रहेछ । सायद आफूमात्र भएको भए …. ! आजपनि मेरो मनमा ताजै छ, म सानै छदा ममीले भन्नुभएको कुरा, उहाँले भन्नु भएको थियो “ छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दुख:को उकालोमा टेक्न सकिने ” निश्चय नै मेरो वुढा आमा, वावाहरुले आशाका पहाडहरु विश्वासका हिमालहरु चुलाएर प्रतिक्षा गरिरहनुभएको छ । अर्कोतिर निर्दोष कलकलाउदी प्यारी नावालिका छोरी “श्रृजना” यति बेला मैले मेरो भावनालाई भन्दा कर्तव्यलाई नै अगाल्नु परेको छ ।

सपना ! आज तिमीसँगैको स्वर्णिम बर्षहरुको अविस्मरणिय अतितको सारांश लेख्ने प्रयास गर्ने छु । तिमिले दिएको अनुपम उपहारहरु सकेसम्म सम्झेर सम्ट्ने प्रयास गर्ने छु । तिमी मेरो जीवनमा विपना भएर आयौ, सपना भएर विलायौ । साँच्चिनै भनौ भने विश्वको सबैभन्दा वियोगान्त मानिने “इडिपस” भन्दापनि वियोगान्त छ तिमीले दिएका उपहारहरु ….। इडपसले त आफ्नो वियोग खप्न नसकेर आत्महत्या गर्छ । म त कांतर छु, त्यसैले आत्महत्या गर्ने दुस्साहस पनि गरिन । तिमी त चाहन्छौ इडपस जस्तै आत्महत्या गरोस भनेर । म तिम्रोलागि यो दुनियाँमा बाँच्नु हुँदैन यहि चाहना तिम्रो होइन त ? जसरी विरेन श्रेष्ठले क्रुरताको सबै सिमा काटेर ख्याति श्रेष्ठको विभत्स हत्या ग-यो । त्यसरी नै तिमीलेपनि मेरो निर्मम हत्या गर्न चाहन्थ्यौ । भनिन्छ – दुश्मन लागेर केही हुँदैन भगवान नलागुन । यस्तै भयो मेरो साथमा पनि, तिम्रो लाख लाख प्रयास अन्तत: असफल नै रह्यो । म आज तिम्रो वहिनी र ज्वाइलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । जसले मलाई बचाएर रातारात काठमाण्डौ फर्काएका थिए ।

सपना ! एक दशक वितेछ हामी श्रीमान,श्रीमती भएकोपनि । आज त्यो हाम्रोबीचमा केवल याद मात्रै बाँकी छ । हामी नदिका दुई किनार भयौ जो समानान्तर छन् । तर आपसमा कहिल्यै भेटिने छैनन् ……… ! भनिन्छ – सुखका समयहरु छोटो हुन्छन् । थाहै नपाई १० बर्ष बितेछ, हाम्रो त्यो १० बर्ष यति रमाइलोसँग बित्यो कि – कहिल्यै हाम्रो नमिटो बचनसम्म भएन । प्रेम विवाह असफल हुन्छ भन्नेहरुकोलागि हामी गतिलो जवाफ जिउँदो उदाहरण थियौ । हाम्रो मेलमिलाप देखेर सबै छक्क पर्थे । हाम्रो “परेवा प्रिती” रे । हुन पनि यो लामो समयसम्म एक रात दुई खाटमा सुतेनौ हामी , हामी आफै आफै दंग थियौं । मायाको , विश्वासको कुनै सिमा थिएन । मलाई यस्तो लाग्थ्यो – कलियुगकी सत्यवती सावित्रा मेरी प्राणप्यारी सपना नै हुन । तपाँइहरुले कुनै न कुनै दिन देख्नुभएको होला कसैले कसैको लास जलाउदै गरेको ………… । तर म आफ्नै लास जलाउदै छु । आफू जल्दै गरेको मुकदर्शक भएर हेरिरहेको छु । नचाहेर पनि तिमीसँग टाढा भएर बस्न वाध्य भएको छु । मेरो दुनियाँ अन्टार्कटिका महादेश जस्तै अन्धकार भएको छ । त्यहाँ त ६ महिनापछि उज्यालोको आशा गर्न सकिन्छ तर म ……. !

मैले जीन्दगी दुखमा जिउन तिमीसँगै सिकें । कुनै दिन एकरोटी आधा आधा खाएर एकले अर्काको मुख हेर्दै आन्नद र सन्तोषले पनि निदाएका थियौं । जाडो याममा माकुरीको जाल जस्तै पछ्यौरा ओढेर पनि रात काटेका थियौ । आजपनि सपनीहरुमा तिमी मेरो अंगालोमा नै हुन्छौ………….!! तर यथार्थमा तिमी त मेरो सिंगो आकाशगंगा भन्दापनि पर छौ । यस्तै असजिलो जीन्दगीको गोरेटोहरुमा हिंड्दै गर्दा हाम्रो सन्तानको रुपमा छोरीले जन्म लिइन् । उनको नाम “श्रृजना” जो तिम्रो र मेरो मायाको अमूल्य श्रृजना थियो । फेरि हाम्रो खुशीको अर्को सगरमाथा थपियो । छोरी वढ्दै गइन र स्कुलमा पनि भर्ना गर्यौ । एक दुई हुदै श्रृजनापनि क्लास चारमा पुगिन । काठमाण्डौको महंगाई खर्च बढ्दै गएपछि घर चलाउन गाह्रो हुन थाल्यो र तिम्रै सल्लाह अनुसार म २०५८ मंसिर २ गते मलेशिया तर्फ प्रस्थान गर्दछु । तिमीलाई सुखसँग राख्ने मेरोपनि चाहना थियो । त्यसैले म तिमी र छोरी श्रृजनालाई छाडी प्रदेशिय । त्यो समयमा मेरो मनभित्रको वेदना यी शव्दहरुमा व्यक्त गर्न सक्दिन सफल कथाकारले एउटा गतिलो वियोगान्त कथा लेख्ने थियो तर म महशुस मात्र गर्न सक्छु व्यक्त गर्न सक्दिन ।

एकजना सज्जनलाई मैले सोधेको थिएँ । प्रेम असफलका कारणहरु के के हुन सक्छन ? उत्तरमा ती सज्जनले भनेका थिए जव दुईजना बीचमा प्रेम भन्दा वढी महत्वमा अरु कुराहरु पर्न थाल्छन् । त्यतिवेला दुनियाँको कुनैपनि प्रेम असफल हुन्छ । यो भनाईसँग मेरो पनि सहमति नै छ । भन्छन् – हरेक मान्छे एउटा सुनौलो अवसरको खोजीमा हुन्छ जव त्यो अवसर प्राप्त हुन्छ तव उसले जे त्याग्नु परेपनि जे अपनाउनु परेपनि अपनाउछ । त्यस्तै ग-यौ तिमीलेपनि एउटा सुनौलो जीन्दगीको कल्पना गर्दै एउटा धनी केटासँग विवाह गर्ने तिम्रो निर्णयले मेरो मायालाई वेवास्ता मात्र गरेन छोरी श्रृजना आमा वावा हुँदाहुँदै टुहुरी भइन । श्रृजनालाई सकेसम्म आमाको अभाव महसुस नहोस् भन्ने चाहेर उनलाई सवभन्दै धेरै ख्याल गरिरहन्छु । तर मान्छे आफ्नो जन्म दिने आमालाई कुनै मूल्यमा भूल्न चाहदैनन् र भुल्न सक्दैन पनि तर पनि म उनलाई हर सम्भव यही प्रयास गर्नेछु । छोरी मात्र होइन असल छोरी, राम्री छोरी र आदर्श छोरी वनाउने प्रयास गर्नेछु । मेरो छोरी देखेर दुनियाँ छोरीप्रति विश्वास गर्नेछन् आमा वावा हुँदाहँदै टुहुरी वनेकी छोरी यो दुनियाँको नमुना छोरी वनाउने छु । त्यतिबेला सबै आमावावाहरु गर्वका साथ भन्नेछन् वाह ! यस्तो पो हुनु पर्छ छोरी…….!

सपना ! तिम्रो बारेमा सुनेर मलाई दुख लाग्दैछ । हुन त म तिमीलाई यस्तो हुँदा ताली बजाउनु पर्ने हो । तर म तिम्रो उज्जल भविष्यको कामना गर्दछु । तिमीलाई यस्तो मान्छेले विहे गरेछ जसले तिमीलाई श्रीमती भनेर आफ्नो घरमा लैजाने आँट सम्म गर्न सकेन । कतिदिनसम्म तिमीलाई लुकाएर राख्छ……….? हुनत यो मेरो मन दुखाइको होइन तरपनि म तिम्रो कुभलो कहिल्यै चिताउदिन जतिबेला तिमी कुवेर अनि म सुदामा हुनेछौं त्यतिबेलापनि तिमीलाई म यही कामना गर्ने छुँ । सपना, म चाहन्छु अर्को जन्म लिने मौका मिल्यो भने म तिम्रो जीवनसाथी भएर बाँच्न चाहन्छु । त्यतिबेला म तिमीलाई यो जीवन र जगतको साँचो दर्शन गराउने थिएँ । पैसा जीवन र मायासँग तुलना हुदैन भनेर त्यस्ता धेरै दाहरण देखाउने थिएँ, सुख र आनन्दको अर्थ बताउने थिएँ, ठुलो मान्छे र राम्रो मान्छे हुनुको फरक बताउने थिएँ । तिमी सुखमा बाँच्न चाह्यौ ठिकै छ म त तिमीलाई सुख दिन सकिन यही मेरो गल्ती हो र ? अनि मलाई यो सजाय दियौ ?? यो तिम्रो प्रेरणाले म राम्रो मान्छे बन्न चाहन्छु !! सुखमा होइन आनन्दमा बाँच्न चाहन्छु । किनकी सुख वाहिय हो भने आनन्द आन्तरिक हो । साँचो जीवनको दर्शन आन्नदबाट मात्र पाउन सकिन्छ नकी सुखबाट, अनि सबै ठूलो मान्छे राम्रो हुँदैनन् तर सबै राम्रो मान्छे महान पक्कै हुन्छऩ् । म महान हुन चाहन्छु जहाँ तिमी जस्तो मान्छेपनि अट्नेछन् ।

अन्तमा, तिम्रो म र मेरो साथमा पुरा नभएका सम्पूर्ण सम्पूर्ण अधुरो सपनाहरु पुरा होउन् । यसरी भोलि अलपत्र परेको मैले सुन्न नपरोस् सपना ।

भन्छन – पाप धुरीबाट कराउछ, तिमीलाई समयले त्यही दिइरहेको त छैन ?? तर म अझपनि तिम्रो जीन्दगिको सफलताको कामना गर्दे हार्दिक हार्दिक सुभकामना दिन चाहन्छु । सकभर तिमीलाई देख्नु नपरोस् यदि देख्नु परेमा यो हालतमा सुन्नु र देख्नु नपरोस् ।

उही तिम्रो भुपु
प्रकास घले

चकेन्द्र राई”कैदी”
धनकुटा, हाल :- दोहा, कतार

(स्रोत : Sapanasansar)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *