अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~O Henry

पिचर, ब्रोकर हार्भी म्यक्सवेलको निजी कारिन्दा हो। उसले अन्नदाता म्याक्सवेल साढे नौमा जवान सेक्रेटेरी लिस्लीसँगै कार्यालयभित्र छिर्‍यो र यस्सो आँखा उठाएर हेर्‍यो। मुखबाट निस्केको ‘गुड मर्निङ् पिचर’ अभिवादन सँगसँगै म्यक्सवेल आफ्नो टेबलतिर हुर्रियो। यस्तो लग्थ्यो उसले टेबललाई नै एक फड्को मार्दैछ। अनि ऊ टेबलमाथिका चिट्ठी र टेल्रि्रामको थुप्रोतिर बढ्यो जुन उसकै प्रतीक्षामा थिए।

विगत एक वर्षेखि मिस लिस्ली म्यक्सवेलकी सेक्रेटेरी थिई। ऊ यस अर्थमा सुन्दर थिई जुन उसको पद र प्रतिष्ठाभन्दा बढ्ता नै थियो। पहिरेका लुगा सामान्य थिए। उसले चेन, ब्रेसलेट र लकेट केही पनि लगाएकी थिइन। कुनै भव्य लन्चको निमन्त्रणा सहजै स्वीकारीहाल्ली झैं लाग्थेन। उसले खैरो र सादा रंगको कपडा पहिरेकी थिई जुन उसको शरीरमा खुब जमेको थियो। टाउकोमा लगाएको चम्किलो कालो टोपमा सुँगाको सुनौलो प्वाँख सिउरिएकी थिई। अनुहारमा एउटा नरम र लजालु चमक थियो।

स्वप्निल चम्किला आँखा, गुलाबी गाला, मृदु र प्रष्ट शैलीको अभिव्यक्ति एउटा मीठो सम्झनाको छना दिन पर्याप्त थिए।

पिचरको उत्सुक नजरमा ऊ आज विल्कुलै फरक थिई। सरासर आफ्नो कोठातिर नगई ऊ केहीबेर कार्यालय बाहिरै आल्टाल् गरिरही। एकपटक ऊ म्यक्सवेलको छेवैबाट अर्को कोठातिर लागी ताकि म्यक्सवेलको दिमागमा उसको उपस्थितिको चित्र कोरियोस्।

टेबलअगाडि मेसिनमय बसिरहेको म्यक्सवेल वास्तवमा मानिसभन्दा बढी न्यूयोर्क सहरको व्यस्त ब्रोकर थियो जो पाङ्ग्रा र स्प्रिङ्को सहायताले चलायमान हुन सकोस्।

“हँ ……… के भयो ? क्यै काम छ ?” म्यक्सवेलले सेक्रेटेरी लिस्लीलाई ठाडै सोध्यो।

एउटा खुला चिठी टेबलभरी थुपारिएका खामहरूमाथि त्यसै रहेको थियो। अनि उसका खैरा र उत्सुक आँखा अधैर्यपूर्वक लिस्लीतिर उचालिए।

“त्यस्तो खासै केही छैन,” सेक्रेटेरीले जवाफ फर्काई र आधार मुस्कान ऊतर्फफ्याँस्दै त्यहाँबाट पिचरको कोठातिर लागी।

“श्रीमान् पिचर ! म्यक्सवेलले सेक्रेटेरी फेर्ने सम्बन्धमा हिजो क्यै कुरा गर्दै थियो हैन त ?”

“हो, गर्दैथियो,” पिचरले भन्यो। “उसले मलाई अर्को सेक्रेटेरी खोज्नु भनी अरायो र मैले पनि हिजै एजेन्सीलाई आज बिहानसम्म केटीहरू पठाइदिनु भनी खबर गरिदिएँ। अहिले त पौने दश बजिसक्यो, खै एउटै पनि देखिएका छैनन्।”

“ठीकै छ, त्यसो हो भने,” ऊ बोली, “जबसम्म मेरो ठाउँमा अरु कोही आउँदैन तबसम्म म आफ्नो काम सम्हालुँला।” अनि ऊ सरासर आफ्नै कोठामा गई र सुनौलो प्वाँस उनिएको कालो टोपी सधैं झैं पहिलेकौ ठाउँमा झुण्ड्याई।
न्यूयोर्कमा दलालभन्दा व्यस्त मानिस यस संसारमा बिरलै भेटिएलान्। झन् हार्भी म्याक्सवेलको त कुरै नगरौं। त्यहीमाथि पनि आजको दिन त ऊ झनै व्यवस्त थियो। टेबलमाथिको टेलिफोन घण्टी लगातार बज्न थाल्यो टिङ्रिङ- टिङ्रिङ। कार्यालयमा मानिसहरूको भीड लाग्न थाल्यो। सन्देशवाहकहरू सूचना लिएर भित्रबाहिर दगुर्न थाले। कारिन्दाहरू यताउता हाम फाल्न थाले जसरी समुद्री तुफान आएको बखत नाविकहरूले गर्ने गर्छन्।

यस्तैमा एउटी भर्खरकी केटीलाई लिएर पिचर भित्र छिर्‍यो।

“यिनी ! सेक्रेटेरी एजेन्सीबाट जागिरको लागि आएकी,” पिचरले भन्यो।

हातभरि टेलिप्रिन्टर टेप र कागजहरू लिँदै म्याक्सवेलले अलिकति टाउको घुमायो। “कस्तो जागिर -” उसले आँखा तर्दै सोध्यो।

“सेक्रेटेरीको जागिर नि,” पिचरले जवाफ दियो। “तपाईँले हिजै मसँग जागिरको लागि आहृवान गर्न र बिहानसम्म एकजनालाई लिई भित्र आउन भन्नु भएको के त।”

“तिम्रो होस् हराएजस्तो छ पिचर,” म्याक्सवेल कड्कियो। मैले तिमीलाई यस्तो आदेश किन दिन्थेँ – मिस लिस्ली यहाँ आएदेखि नै पूर्ण सन्तुष्टी दिँदै आएकी छ। यो ठाउँमा रहन चाहेसम्म केवल उसकै लागि मात्र हो। कुनै ठाउँ खाली छैन, म्याडम यहाँ। पिचर ! एजेन्सीलाई गरेको आदेश रद्द गरिदेउ। अनि। यता सुन त, आइन्दा कसैलाई पनि लिएर भित्र नछिर्नु।”

त्यो भर्खरकी केटी फन्किदै बाहिर निस्की। पिचरले खुसुक्क लेखापालसँथ सिकायत गर्‍यो कि यो बूढो दिनदिनै हुस्सु हुँदै गइरहेको छ।

कामदारहरूको व्यस्तता डरलाग्दोसँग बढ्दैथियो। दु्रतगतिमा उडिरहेका चरा झैं लेनदेनका आदेशहरू फटाफट आदानप्रदान भइरहेका थिए। त्यो मानिस एउटा शक्तिशाली मेशिनले झैं विना हिच्किचाहट लगातार काममा खटिइरहेको थियो। स्टक्, बोन्डस्, लोन् र सुरक्षाका व्यवस्थाहरू। वास्तवमा त्यहाँ अर्थतन्त्रको एउटा सिङ्गै संसार थियो जहाँ मानवप्रकृतिको कुनै अवशेष नै भेट्न सकिन्थेन।

जव लञ्चको समय आउँथ्यो, कामदारहरूमा हलुका खालको गञ्जागोल फैलन्थ्यो।

हातभरि टेल्रि्राम र चिठ्ठीहरू लिँदै म्याक्सवेल जुरुक्क उठ्या जसले दाहिने कानमाथि डट्पेन सिउरिएको थियो र नजानिँदो गरी उसको कपाल निधारसम्म झरेको थियो। नजीकैको झ्याल खुला थियो जहाँबाट आएको वसन्तको बतासले कोठाभित्रको वातावरणमा मादकता थपिदियो।

एउटा हल्का गुलावी वास्ना झ्यालतिरबाट ह्वास्स आयो जसले ब्रोकरलाई पलभरका लागि यतास्थानमै अचल बनाइदियो। यो वास्ना मिस लिस्लीको थियो,उनको आफ्नै थियो। हो, उनकै थियो।

त्यो सुगन्ध म्याक्सवेलको दिमागमा पुग्यो र मिस लिस्लीको आकृतिमा रूपान्तरित भयो जस्तो कि उसले चाहेको बखतमा उक्त आकृतिलाई छुन र खेलाउन सक्छ। पैसैपैसाको संसारलाई केहीबेरका लागि उसले चटक्कै बिर्सन पुग्यो र सम्झियो – यसवखत् उनी पल्लो कोठामा छिन्, यहाँबाट बीस गजमात्र पर। “इश्वरको नाममा, म यो काम अहिल्यै फत्ते गर्छु” म्याक्सवेल एक्लै बर्बरायो। “म अहिल्यै गएर सोधिहाल्छु, तर कस्तो अचम्म, मैले यो काम पहिल्यै किन नगरे हुँला।”

ऊ कार्यालयको अर्को कोठाभित्र छिर्‍यो अनि आफ्नी निजी सेक्रेटेरीको टेबल छेउमै पुगेर रोक्कियो।

लिस्लीले मुस्कान भरिएको अनुहार ऊतिर फर्काई। म्याक्सवेलले उनको मुलायम गुलावी गाला, उक्सुकता र उन्मादपूर्ण आँखाहरूको अनुभूति गर्‍यो। एउटा कुहिनोले लिस्लीको टेबलमाथि टेकेको थियो। अझै उसको हातमा चिठ्ठीपत्र र कानमाथि कलम थिए।

“मिस लिस्ली,” ऊ हडबडाउँदै बोल्यो। “एक्कैछिनलाई है। म तिमीलाई केही भन्न खोज्दै थिएँ। के तिमी मेरो श्रीमती हुन मञ्जुर छ्यौं ? हेर न तिमीलाई मैले आफ्नो प्रेम व्यक्त गर्ने उपयुक्त समय नै पाइन। वास्तवमा म तिमीलाई औधी मनपराउँछु। प्लिज् लिस्ली, छिट्टो जवाफ देऊ न, म एकदमै व्यस्त छु क्या अहिले।”
“के कुरा गर्दै छौ, तिमी -” युवती अचम्म मान्दै कर्राई। ऊ जुरुक्क आफ्नो ठाउँबाट उठी र ठूल्ठूला गोला आँखाहरूले उसलाई एकटकले हेर्न थाली।

“कुरा बुझिनौ -” म्याक्सवेल अलि आत्तिदै करायो। “म चाहन्छु तिमी मसँगै विवाह गर। हो, लिस्ली साँच्चै म तिमीलाई अत्यन्तै माया गर्छु मैले यो कुरा तिमीलाई पहिल्यैदेखि भन्न खोजिरहेको थिएँ र अहिले यस्सो एक मिनेट फुर्सद मिल्नासाथ यहाँ आइहालेँ। ऊ हेर त, तिनीहरूले मलाइ फोनमा डाकिरहेका छन्। पिचर ! तिनीहरूलाई एक मिनेट पर्खन भनिदेऊ। भन लिस्ली के तिमीले मलाई माया गर्दिनौ त ?”

सेक्रेटेरी युवतीले अनौठो व्यवहार प्रदर्शन गर्न थाली। पहिला त ऊ एकदमै आश्चार्यचकित् देखिई, त्यसपछि उत्सुकताले भरिएका उसका आँखाहरू आँसुले छोपिए अनि अचानक हर्षवभोर हुँदै मुस्कुराउँदा उसका दुवै आँखाबाट आँशुका भल छुटे र दुवै पाखुराहरूले स्नेहपूर्वक ब्रोकरको गलामा बेरी।

“अहिले पो बुझेँ,” ऊ नरम बन्दै बोली। “त्यो यही थोत्रो बिज्नेस हो जसले तिम्रो दिमागबाट हरेक कुराहरू निकालिदियो। पहिला त म झसङ्गै भएकी। मेरो प्यारो हार्भी ! तिमीले बिर्सियौ हेन हिजो साँझ आठ बजे हामीले पल्ला छेउको लिटल चर्चमा गएर विवाह गरेको ?”

(स्रोत : Nepalikalasahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *