नियात्रा : यार्सा जिन्दगी

~भीष्म उप्रेती~Bhishma Upreti_1

नेपालगञ्जमा जेठको महिना । घाम हुर्हुरी बलेको आगोको डल्लो बनेको थियो । त्यसमाथि अव्यवस्थित शहरमा अव्यवस्थित यातायातका साधनले उडाएको धूलो, धूवाँ र हर्नको चर्को आवाज । दिउँसो बाहिरफेर निस्कन सकिने अवस्थै थिएन । चिसो वातावरण एउटा प्यास बनेको बेलामा अचानक हिमाली जिल्ला डोल्पातिर जाने अवसर मिल्यो ।

तारा एयरको सानो जहाज उड्यो नेपालगञ्जबाट र करिव ४० मिनेटमा डोल्पाको जुफाल एयरपोर्टमा ओर्लियो ।

जुफालदेखि सदरमुकाम दुनै बजारसम्म जान जीपमा चढ्यौँ । बाटो कति डरलाग्दो थियो भने ठाउँठाउँका घुम्तीमा गाडी घुमाउन पछि सार्नुपथ्र्यो । यसरी पछि सार्दा तल कहाँ हो कहाँ खसेर सिद्धिएला भन्ने डरले मुटु हल्लन्थ्यो । कति ठाउँमा भने मुश्किलले गाडी मात्र अटाउने बाटो थियो । हामी यस्तै बाटोमा कोक्रामाझैँ हल्लिँदै करिव ४० मिनेटमा दुनै पुग्यौँ । करिव दुई घन्टा समय दुनैलाई दिएपछि हामीले माथि फोक्सुन्डोतिर लाग्ने सोच्यौँ ।

सुलिगाडमा रहेको नेपाली सेनाको चेकपोष्टको झोलुङ्गे पुल तरेर खोलाको किनारैकिनार लाग्यौँ । हिमाली क्षेत्रको बाटो, उकालो ओरालो हुनु, ढुङ्गा हुनु वा ठाउँठाउँमा पहिरो खसेर ताछिएर जानु स्वाभाविक हो । पहिलो पटकको यात्रामा बाटामा देखेका रुख, विरुवा, भूबनोटजस्ता दृश्यचित्रहरू सबै नयाँ भएकाले तिनले आकर्षित गर्नु, तिनको रुपरङमा मन रमाउनु, माथि उडेका निक्खर सेता बादल जसरी नै भावना उडेर आनन्दित हुनु पनि स्वाभाविक हो । हामी यिनै स्वाभाविकतासँगै गफिँदै हिँड्यौँ ।

हामीसँग नेपाल बैंक दुनै शाखामा काम गर्ने सुरक्षा कर्मचारी लक्ष्मण शाही पनि थिए । उनी डोल्पाकै दक्षिणी भेगका वासिन्दा हुन् । स्थानीय लवजमा बोल्ने र यो बाटोमा निकै पटक हिँडिसकेका हुनाले उनीसँगको यात्रा धेरै किसिमले सहज थियो ।

‘यहाँका मान्छेको आम्दानीको स्रोत के हो ?’ शाहीजीलाई सोधेँ ।

‘यार्सागुम्बा ।’ डोल्पामा मैले कुरा गरेका सबै मान्छेले भनेको जवाफ नै उनले पनि दिए । मेरो ध्यान अब यार्सागुम्बातिर गयो ।

‘एक सिजनमा यार्साबाट कति कमाइ हुन्छ ?’ फेरि सोधेँ ।

‘बीस, पच्चीस हजारदेखि पाँच, साडे पाँच लाखसम्म पनि हुन्छ । भाग्यमानीले धेरै किरा भेट्छन् दिनको १९, २० वटासम्म पनि । कसैले त दिनमा एउटै पनि भेट्टाउँदैनन् ।’ उनले भने ।
डोल्पालीहरू यार्सालाई किरा भन्दा रहेछन् ।

‘तपाईं पनि जानुभाथ्यो यार्सा टिप्न ?’ फेरि सोधेँ ।

‘परार साल गा’को थिएँ ।’ भने

‘कति कमाउनुभयो त ?’

‘मैले त कमाउनै सकिनँ । खर्च कटाएर बीस हजार मात्र भयो । अनुभव चाहिँ भयो ।’ उनले भने । जीवनमा अनुभव पनि कहिलेकाहीँ पैसाभन्दा बहुमूल्य हुन्छ ।

छेप्कामा बस्यौँ त्यो रात । सरकारले सहुलियतमा सौर्य ऊर्जा वितरण गरेकाले घरहरू राति एकदमै उज्याला नभए पनि एकदमै अँध्यारा पनि थिएनन् । त्यसमाथि हामी बसेको याक होटलमा त जून थिइन् । होटेल घरको रौनक बढाएकी थिइन् उनले ।

हामीले होटेलमा बस्ने सङ्केत गरेपछि एउटी युवती आइन् कोठाहरू देखाउन । बैसाख १२ गते र बैसाख २९ गतेको भैँचालोले यस ठाउँलाई पनि छाडेको थिएन । हाटल घरका भित्ताहरू चर्किएका थिए मज्जैले । हामी सबैभन्दा कम चर्किएका कोठाहरूमा बस्यौँ ।

हामीले कोठाभित्र सुस्ताउँदै थियौँ, ढोका घ¥याक्क आवाज दिएर खुल्यो । मैले ढोकातिर हेरेँ । तिनै हामीलाई कोठा देखाउने पच्चीस, छब्बीस वर्षकी देखिने पाँच फिट अग्ली गोरो वर्णकी युवती उभिइन् । उनले लगाएको रातो कुर्ता र हरियो सुरुवाल पुरानो र अलिअलि मैलो भए तापनि उनलाई सुहाएको थियो । उनले भनिन् – ‘भरे के खान्छौ ?’

‘त्यो एकछिनमा भन्छौँ । बरू अहिले के खुवाउँछ्यौ ?’ बीएनले सोधे ।

‘के खाने हो भन न त ?’ उनले भनिन् र उज्यालो मुस्कुराइन् ।

उनको कुरा गर्ने शैली र हामीलाई साभैm तिमी सम्बोधन गरेको देखेर मलाई रमाइलो लाग्यो । मैले सोधेँ – ‘तिम्रो नाम के हो ?’

‘जून कुमारी ।’ उनले भनिन् र फेरि मुस्कुराइन् ।

‘तिमी यस होटलको साहूकी छोरी हो ?’ फेरि सोधेँ ।

‘होइन, बुहारी ।’ भनिन् ।

‘के पाक्दै छ चुल्होमा ?’ बीएनले फेरि सोधे ।

‘मकैको रोटी ।’ जूनले भनिन् ।

‘मैले जूनकुमारीसँग त्यही रोटी पठाइदेऊ ।’ भनेँ । आशिषले गिलास र पानी पठाइदिन भने ।

मकैको रोटी त अर्काको चुल्होमा पाक्दैछ, दिँदैन होला’ भन्दै जून हिँडिन् ।

दिनभरि हिँडेर थाकेपछि आँखा चिम्लिएर ओछ्यानमा ढल्कन पाउनु चर्को घाममा छहारी पाएजस्तै हो ।
घ¥याक्क ढोका खोलेर जूनकुमारी भित्र पसिन् । उनको हातमा मकैको रोटी थियो दुइटा । ‘लौ खाओ, तिमीहरू खुशी हुन्छौ भनेर ल्याइदिएको ।’ भन्दै सिस्नोको झोल सहितको २ वटा मकैको रोटी दिइन् ।
हामीले उनलाई धन्यवाद भन्यौँ । उनी बाहिर नगएर त्यहीँ बसिरहिन् । एकछिनपछि उनले भनिन् – ‘अब यार्साको बेला पनि भयो ।’

‘तिमी जान्छ्यौ टिप्न ?’ सोधेँ ।
‘जान्नँ । उता जानेलाई खानेबस्ने गराउँछु यहीँ ।’ भनिन् ।

‘जानू नि जानू । कति पैसा हुन्छ रे, मज्जा पनि हुन्छ होला मेला जस्तो ।’

‘हुन त हो, तर यो पालि जान्नँ ।’ उनले भनिन् ।

खाना तयार भएको खबर पाएपछि हामी भुइँ तल्ला ओर्लियौँ । सँगै रहेको अर्को घरमा रहेछ भान्छा । हामी भित्र गयौँ । हिमालीक्षेत्रमा जाडोबाट जोगिन कोठाको बीचमा आगो बालेर कोठालाई नै तातो गराउने व्यवस्था गरिएको हुन्छ । आगोको धुवाँ घरको छानामाथि चिम्नीबाट फाल्ने व्यवस्था गरेको हुन्छ । यसले गर्दा कोठा न्यानो हुने तर धुवाँले दुःख नदिने हुन्छ । यस भान्छाघरमा पनि यो व्यवस्था थियो । हामी आगोको वरिपरि बस्यौँ । त्यहाँ चार, पाँच जना मानिसहरू अघि नै जम्मा भइसकेका थिए । तीमध्ये एक जना बूढा मान्छे भने जूनकुमारीका ससुरा रहेछन् । उनी अघि नै रक्सी खाएर टिलपिल भइसकेका थिए ।

जूनकुमारी र उनकी सासूले मिलेर हामीलाई खाना दिने काम गरे । खाना खाइसकेपछि पनि हामी एकछिन त्यहीँ बस्यौँ ।

‘तिम्रो माइत कति टाढा छ ?’ सोधेँ ।

‘म त मोटरसाइकल चढेर माइत जान्छ । ४ घन्टामा पुग्छ ।’ उनले भनिन् ।

‘यहाँ मोटरसाइकल चल्छ र ?’ आशिषले सोधे ।

जून हाँसिन् मज्जाले र भनिन् – ‘पहाडमा घोडा भनेको तिमीहरूको मोटरसाइकल नै त हो नि, होइन र ?’

मैले ‘हो’ भनेँ ।

एउटा घोडालाई कति पर्छ ?’ बीएनले सोधे ।

‘एक, डेढ लाख, हेरिहेरी ।’ त्यहीँ बसेका अर्का पुरुषले भने ।

‘ए, मोटरसाइकल नै हो रहेछ ।’ बीएनले पनि स्वीकारे ।

हामी ख्यालठट्टा पनि गर्दै थियौँ र त्यहीँका पुरुषहरूसँग कुराकानी पनि गर्दै थियौँ । भान्छामा काम गर्दै सुनिरहेकी जूनकुमारी फेरि आगो नजिक आएर बसिन् । यस पटक मेरो बगलमै थिइन् उनी । नजिकै आगो आएर बसेजस्तो लाग्यो एक मन त । तर केही भनिनँ, हेरेँ मात्र उनलाई ।

‘तिमीहरूको कुरा त रमाइलो हुँदो रैछ ।’ जूनकुमारीले भनिन् ।

‘तिमी दिउँसो के गछर्यौ ?’ सोधेँ ।

‘जङ्गल जान्छु दाउरा गर्न ।’ भनिन् ।

एक्लै जान्छ्यौ ?’ बिस्तारै सोधेँ ।

‘मलाई लोग्ने सँगै भा’को कस्तो मन पर्छ ।’ उनले अलिकति खोलिन् मनको कुरा । उनका आँखा धपक्क बलेको देखेँ यसबेला ।

‘किन ?’ उनको मनलाई अझ कोट्याउन चाहेँ ।

‘दाउरा गर्न जाँदा लोग्नेसँगै जान्थेँ र हराउँथेँ एक, दुई घन्टा ।’ उनले उनको जीवनको उज्यालो चाह भनिन् ।
‘अहिले खोइ त तिम्रो लोग्ने ?’ सोधेँ ।

‘बाहिर गा’को छ, विदेश ।’ अलि मधुरो भयो जीवनको उज्यालो । उसको अनुहारमा हेरेँ एकछिन । यो केटीसँग कति धेरै तृष्णा र रहर छ । साथै, ती पूरा हुन नसकेको छटपटी पनि त्यत्तिकै छ । मलाई लाग्छ, यही अतृप्ति र चाहकै कारण उसलाई हाम्रा कुरा रमाइलो लागेको छ र त्यहीँ आगो छेउमा हाम्रा बगलमा बसिरहन मन पनि लागेको छ ।

मलाई लागेको थियो त्यही आगोको वरिपरि बसेका हामी बाहेकका तीन, चार युवाहरूमध्ये एउटा जून कुमारीको लोग्ने हो । होइन रहेछ ।

‘हामीसँग जान्छ्यौ त फोक्सुन्डो ?’ मलाई उनको मनोभाव जाँच्न मन लाग्यो ।

‘तिम्रो गाइड भएर जान त मन छ ।’ भनिन् ।

‘भोलि बिहानै जाऔँ न त, हिँड । कति पैसा लाग्छ गाइडको ?’ सोधेँ ।

‘नाइँ, तिमेरु धेरै जना छौ ।’ उनले भनिन् । उनी बलियो छातिभित्र एकान्तको खोजिमा थिइन् । यो उमेरमा त्यो खोजि स्वाभाविक हो । तर उनले खोजेको आड भरोसापूर्ण एकान्त दिनसक्ने बलियो छाति दिन सकिने थिएन । मैले यस प्रसङ्गलाई यहीँ बिट मारेँ ।

बिहान सबैरै चिया पिएपछि उकालो लाग्यौँ । चियाको पैसा लिने बेलामा जूनकुमारीले पचास प्रतिशत छुट गरेर प्रति कप चियाको पच्चीस रुपैयाँ मात्र लिइन् । दिउँसोको खाना रेन्ची भन्ने ठाउँमा खाने तय गरेको थियौँ । त्यसैले भोकले बेस्सरी लात्ती हान्नु अगाडि नै रेन्ची पुग्ने ध्याउन्नामा थियौँ । त्यसो त जङ्गलको बीचमा बाटामा आर्मीको हाइ इनर्जी बिस्कुट, चिउरा र वाइवाइ पनि फाँको हालेकै हौँ ।

४ घन्टा हिँडेपछि आइपुग्यो रेन्ची । रेन्चीमा हामीले जाने योजना गरेको होटेल पुग्नुभन्दा केही अघि नै केही घरहरू भेटिए । एक जना लोग्नेमान्छे तीनैमध्ये बाटोसँगै जोडिएको बायाँपट्टिको एउटा घरबाट फुत्त निस्किए ।

‘तपाईंको नाम के हो दाइ ?’ सोधेँ ।

‘भीमप्रसाद गुरूङ ।’ उनले भने । हामी जान लागेको होटल उनैको रहेछ । हामी गफ गर्दै हिँड्न थाल्यौँ ।

दुईतिर ठूलाठूला चट्टानहरू समेतले बनेका अग्ला काला पहाडहरू थिए । तिनमा धूपी र सल्लाका अग्लाअग्ला रूखहरूले बनेको बाक्लो जङ्गल थियो । तल सुलिगाड खोला एकोहोरो ओरालोतिर दगुरिरहेको थियो । अलिकति सम्मजस्तो परेको ठाउँमा ढुङ्गाले गारो हालेर बारीहरू बनाएको थियो । ती बारीहरूमा कतै आलु, कतै बन्दाकोपी र कतै अलिअलि साग र लसुनप्याज रोपेको देखिन्थ्यो । सिमीका ससाना लहराहरू पनि देखिन्थे । आठदस वटा कुखुराहरू च्याँच्याँ गर्दै बाटाका कुदेका थिए भने केही बाख्रा र च्याङ्ग्राहरू पनि थिए । दुई, तीनवटा घोडाहरू बेलगाम दगुरिरहेका थिए बारीमा भने केही गाईहरू चर्दै थिए । बाँकी सात, आठ वटा घरहरू र तीनवटा टेन्टहरूले बनेको थियो रेन्ची गाउँ । पहिलोपल्ट पुग्नेलाई एकछिन रमाइलो लागे पनि त्यहीँ जीवन बिताउनुपर्नेको लागि त उराठलाग्दो थियो, मन अड्याउनै गाह्रो थियो ।

‘यहाँ पनि गुरूङहरू बस्नुहुन्छ ?’ मैले शुरुमा उनलाई शेर्पा भन्ठानेको थिएँ ।

‘छौँ । जम्मा आठ घर छौँ ।’ उनले भने ।

‘तपाईंहरू के देखेर यस्तो ठाउँमा बस्नुभएको ? के को आशाले ?’ नसोधी बस्न सकिनँ, सोधेँ ।

‘के गर्ने सर, कहाँ जाने ? बाबुबाजे यहीँ आएर बसे । यहीँ घर बनाए । हामी यहीँ हुर्कियौँ । अन्त कहाँ जानु, थाहा पनि छैन ।’ उनले भने । मैले झट्ट आफुँ जन्मेको झापा सम्झेँ । वास्तवमा मान्छेलाई जति नै उजाड र कठोर भए पनि आफुँ जन्मे हुर्केको ठाउँ प्यारो नै हुन्छ । त्यस माटोमा एउटा अनौठो आकर्षणले भरिएको सुगन्ध हुन्छ, भावनाको सम्बन्ध हुन्छ । भीमप्रसादले अहिले यही भावना बोले ।

‘यहाँ के के फल्छ ?’ सोधेँ ।

‘आलु फल्छ, अलिअलि फापर फल्छ । मकै पनि फल्छ । अब सिमी फलाउन लागेका छौँ । बैसाखमा साग रोप्यो भने बल्लबल्ल असारमा खान हुन्छ । यहाँ केही छैन सर ।’ उनले भने ।

‘सिजनमा टुरिष्ट आउलान्, व्यापार होला ।’ भनेँ ।

‘त्यस्तो धेरै त हुन्न, बरू यहाँ त किराको ब्यापार हुन्छ ।’ उनले पनि यार्सातिर सङ्केत गरे ।

नेपालको पश्चिमी हिमाली जिल्लाहरूमा यार्सागुम्बा टिप्ने लहर चल्छ । यो बेला गाउँका गाउँ मान्छेहरू घरै बन्द गरेर उकालो लाग्छन् हिमाली पाटनतिर । बाटोका होटलहरू पनि उतै सर्छन् । विद्यालयहरू बन्द हुन्छन् महिना दिन ।

शिक्षकहरू र माथिल्ला कक्षाका विद्यार्थीहरू सबै किरा टिप्न उकालो लाग्छन् । सरकारी अफिसका कर्मचारीहरू समेत विदा मिलेसम्म बिदा लिएर हिमालतिरै लाग्छन् । सबै उकालो लाग्ने एउटा अनौठो लहर चल्छ यो बेलामा ।

यसरी किरा टिप्ने समय हिमाली क्षेत्रको उपल्लो भेगमा मेला लागे सरह हुन्छ, उत्सवजस्तो हुन्छ । अस्थायी होटेलहरू खुल्छन् त्यहाँ । नाचगान हुन्छ, जुवातास चल्छ, कतिको मन साँटिएर सँगै फर्किने र नयाँ घर जाने पनि हुन्छ ।

चोरी चकारी पनि हुन्छ । तासजुवा र अल्कोहलको सुरमा भैmझगडा भएर मारकाट पनि हुन्छ हरेक साल । पहिला पहिला किरा टिप्न गएकाहरू यसै भन्छन् । उनीहरू एक महिना किरा टिपेर सालभरिलाई जीवन निर्वाहको जोहो गर्दा रहेछन् ।

डोल्पा यार्सा टिप्ने उत्सव वा मेला लाग्ने एउटा प्रमुख जिल्ला हो ।

तर यार्साको सङ्कलन पनि पछिल्ला वर्षहरू घट्न थालेको रहेछ । हरेक वर्ष किरा टिप्न जानेको संख्या बढ्न थालेपछि उत्पादनभन्दा सङ्कलन बढी हुन जानु स्वभाविक हो । यसले गर्दा हरेक पछिल्लो वर्ष अघिल्लो वर्षभन्दा कम यार्सा संकलन हुन थालेको भने भीमबहादुरले ।

‘अब किरा टिप्नेहरूका खच्चडहरूले हामीले लगाएका मकै, आलु सबै खत्तम पार्छन् । किरा टिप्नेहरू माथि जाँड खाएर झगडा गर्छन् । कसैकसैले त अर्काले टिपेको किरा चोर्दा पनि झगडा हुन्छ । त्यसपछि सेनाले खेदाउन थालेपछि भाग्दै आउँछन् । उनीहरूका खच्चड बारीमा पसेर सबै खत्तम । हामी आपैmँ पनि यार्सा टिपेर फर्कंदा त रून मन लाग्छ आप्mनै खेतबारीको अवस्था देखेर ।’ उनले सुनाए ।

‘त्यति धेरै दुःख बोक्नुभएको छ है यो काँधमा ?’ सोधेँ ।

‘हो । अब यो गाउँको भविष्य छैन । यहाँ धेरै बस्न सकिँदैन होला । फेरि जान पनि कहाँ जानू । नेपालगञ्ज गर्मी छ बस्नै सकिँदैन । जुफाल पनि धेरै महङ्गो छ जग्गै किन्न सकिँदैन ।’ उनीे निराश देखिए ।

हामी ‘पाहुनाघर’ नाम राखिएको उनको होटल पुग्यौँ । सुलिगाड खोलाकै किनारमा तहतह परेको फराकिलो आँगन र सफासुग्घर वातावरण देख्दा एक पल त त्यहाँ आनन्दले पल्टेर न्यानो घामको स्नान लिन मन लाग्दोरहेछ ।

जीवनवृत्तिका लागि किरा टिपेर आम्दानी गर्ने कार्य डोल्पाको एक प्रमुख आर्थिक स्रोत रहेछ । एकदम गरिबहरूको लागि त बाँच्ने एक मात्र सपना रहेछ । सबैको सालभरिको आशा, सबैको सालभरिको भरोसा र सबैको बाँच्ने आधार पनि रहेछ । किरा टिपेर आएको पैसाले तिरौँला भनेर ऋण पनि लिँदा हुन् अथवा आफ्ना कति जरुरी आवश्यकताहरूलाई किरा टिपेर आएको कमाइले पूरा गरौँला भन्ने आशाको त्यान्द्रो पालेर बाँच्ने कोशिश गर्दा हुन् ।

त्यो दिन साँझ हामी थाकेर लोथ भएर शे फोक्सुन्डो पुग्यौँ । पुग्ने बेलाको ३ घन्टाको ठाडो उकालोले साँच्चिकै परीक्षा लिँदो रहेछ यात्रुको । कति त यहीँबाट फर्कन्छन् रे । हामी पनि अलिअलि अटेरी नै हौँ । मलाई त हिमालको मोहनी छ, उसको काखमा पल्टिन र त्यसका लागि उसैसँग पौँठेजोरी खेल्न मन पर्छ ।

शे फोक्सुन्डो हिमालको काखमा रहेको ज्यादै सुन्दर तालको नाम । चारैतिर शान्ताक्लजजस्तो सेतो टोपी लगाएका अग्ला हिमालहरूको काखमा गाढा नीलो फ्रक लगाएर पल्टिएकी किशोरीजस्तो शे फोक्सुन्डो । उनका आँखाको गम्भीरता शायद यस तालको गहिराइ हो । उनको मानसमा खेलिरहने आकांक्षाहरू शायद यस तालमा रमाइरहने रजहाँसहरू हुन् । उनको अनुहारमा फुलेको स्मित मुस्कान शायद बिहानै घामको कलिलो झुल्कोले छोएको तालको अवस्था हो । हामी साधारण मान्छेहरू तालको असाधारण सौन्दर्यसँग मोहित नहुने कुरै भएन ।

अर्को दिन त्यही बाटो फर्कनु थियो । फर्कदा जाँदाको जस्तो बाटो र दृश्यहरूप्रति खासै उत्सुकता भरिएको उत्तेजना थिएन । उत्सुकता र त्यसबाट उत्पन्न हुने उत्तेजनाले मानिसलाई सक्रिय बनाउँछ, जीवनमा ऊर्जा भर्दछ । हामीमा त्यसको तह ह्वात्तै घटेको भए तापनि घर फर्कने भन्ने भावना थियो । यो भावना पनि बलियो हुन्छ बाटोको सारोगारोको सामना गर्न । हामी त्यही बोकेर हिँड्यौँ ।

हामी खाना खान रेन्चीमै आइपुग्यौँ । यहाँको खाना मिठो थियो हिजो । होटेलकी साहुनी खाना बनाउँदै थिइन्, मैले हातमुख, कपाल र खुट्टा धोएँ । आँगनमा गलैँचामाथि पल्टेर चिसो हावा र काठमाडौँमा पुष, माघकोजस्तो न्यानो घाम तापिरहेको थिएँ तलबाट एउटा हुल आयो । लोग्नेमान्छे, आइमाई र केटाकेटीहरू थिए त्यो हुलमा । दुइटा घोडामा सामानहरू बोकाएका थिए । अलि नजिक आइपुगेपछि त्यस समूहका मान्छेहरू चिनेँ । त्यहाँ जूनकुमारी पनि थिइन् सफा कुर्तासुरुवाल लगाएकी, झोला बोकेकी, लामो कपाल चुल्ठो बाटेर कोरेकी । म उनलाई हेर्दै थिएँ, उनी मलाई हेरेर मुस्कुराइन् ।

‘किरा टिप्न हिँडेकी हो ?’ सोधेँ ।

‘हो ।’ उनले भनिन् ।

‘हिजो नजाने भनेको होइन ? म त आज पनि तिम्रो होटेलमा बस्ने भनेर आ’को ।’ भनेँ ।

‘घरमा आमा छिन्, खाना पकाइदिन्छिन् । मेरैमा बस है ।’ उसले आग्रह गरी ।

सोचेको थिएँ आज जूनकुमारीकै होटेलमा बस्छु । जूनकुमारीको मनभित्र कति धेरै उकसुसमुकुस हुनुपर्छ भन्ने लागेको छ । उनीसँग मज्जासँग कुरा गर्छु । राति मज्जाले निदाउँछु र भोलि बिहानै फेरि साथीहरूसँगै ओरालो झर्छु जुफाल एयरपोर्टतिर । तर अहिले बाटोमा उनलाई अचानक भेट्दा बाटोमा ठेस लागेजस्तो भयो । मेरो मन जिल्ल प¥यो । मैले उनलाई ‘हुन्छ’ त भनेँ तर छेप्कामा नबसेर त्योभन्दा अझ अगाडि गएर वास बसी भोलिलाई बाटो छोट्याउने सोचेँ ।

जूनकुमारी वास्तवमा यार्सा टिप्नभन्दा पनि यार्सा टिप्नेहरूका लागि होटल चलाउन गएकी थिइन् । केही बढी नै आम्दानी होला भन्ने आशाले घरकाहरू जाने भएपछि उनी पनि जानुपर्ने भएको थियो । मान्छेलाई कहीँ आकांक्षाले, कहीं रहरले त कहीँ बाध्यताले हिँडाउँछ । यी तिनमध्ये कुनै पनि नहुने हो भने मान्छेको जीवन यिनै दायाँबायाँका भीरजस्तै जड हुने थियो । जड भएपछि मान्छे नभएर मुर्दा हुन्छ । जूनकुमारी पनि जड थिइनन्, जे कारणले भए पनि हिँडिन् उकालो एक झोला रहर बोकेर ।

एउटा किशोर भाइ थिए होटलमा । हिजो थिएनन् उनी । ‘तिमी यही होटलको छोरा हो ?’ सोधेँ ।

‘हो ।’ उनले भने ।

‘तिमी माथि बोर्डिङमा पढ्छौ, होइन त ?’ फेरि सोधेँ । यहाँबाट से फोक्सुन्डो जाँदा एक, डेढ घन्टा हिँडेपछि बाटोमा थियो बोर्डिङ स्कुल । विदेशीहरूले समेत आर्थिक सहयोग गरेको यस स्कुलमा विध्यार्थीहरूलाई खान, बस्न र पढ्न झन्डै निःशुल्कजस्तै थियो । वर्षको दुई हजार रुपैयाँ तिरे पुग्ने । स्कुलको कारणले सबैले त्यस ठाउँलाई बोर्डिङ भन्ने गर्थे ।

‘हो । दसमा पढ्छु ।’ भने ।

‘तिमी आजै आ’को हो ?’ बीएनले सोधे ।

‘हो । आमाले आलु गोड्न बोलायो, अनि आएँ । भोलि बिहानै जान्छु ।’ भने । उनको नाम गणेशमान रहेछ ।

भर्खरै जूनकुमारीहरूको लर्को यार्सा टिप्न गएको देखेपछि मलाई गणेशसँग पनि यार्साकै कुरा गर्न मन लाग्यो । ‘अर्को सातादेखि त बाटाको होटलहरू पनि बन्द हुन्छन् रे । पर्यटकलाई बाटोमा वास बस्न र खान त मुश्किल पर्ने रहेछ है ।’

‘हो । अब हाम्रो स्कुल पनि २० दिन बन्द हुन्छ । म पनि यार्सा टिप्न जान्छु त्यसबेला ।’ उनले भने ।

‘पोहोर पनि गयौ ?’ सँगै उभिएका आशिषले सोधे ।

‘गएँ । एक यस बीसवटा टिपेको थिएँ ।’ उनले पूरा गर्वका साथ भने । भोलिपर्सि अंग्रेजी साहित्य पढ्ने सपना बोकेका उनको अनुहारमा उज्यालो परेको थियो यसोभन्दा । अङ्ग्रेजी पढेपछि पर्यटन व्यवसायमा काम पाइएला, त्यो पनि नभए विदेशीको गाइड भए पनि हुन पाइएला भन्ने सोचेका थिए गणेशले ।

मैले फूर्तिलो गणेशलाई हेरेँ गहिरिएर । यो केटोसँग डोल्पाभन्दा अलि परसम्मको सपना थियो ।

खाना खाएर हामी हिड्यौँ । हिँड्नु नै थियो काम । अब जूनकुमारीको याक होटलमा बस्ने कुरा रद्द भइसकेको थियो । अर्को होटल त्योभन्दा एक घन्टा अगाडिको सिङ्टामा मात्र थियो । छेप्काबाट हिँडेपछि सिङ्टा पुग्नैपथ्र्यो वास बस्न । हिजो आउँदा जस्तो सबै चिज नयाँ थिएन आज । त्यसैले यात्राको उत्सुकता तथा अनुभूति पनि सामान्य मात्र थियो । आजको ध्याउन्ना कसरी हुन्छ बाटो काट्ने थियो ।

हामीले छेप्काबाट जुफालतिर खच्चडमा जान लागेका दुई जना मान्छेलाई सिङ्टामा रहेको एक मात्र होटलमा हामी आउँदैछौँ भनेर खबर पठाएका थियौँ । झमक्कै साँझ पर्दा सिङ्टा पुगेपछि थाहा भयो हामीले खबर नपठाएको भए वास नपाइने रहेछ । आज जर्मन दम्पती दस जना नेपाली सहयोगीहरूका साथ आइपुगेका रहेछन् यहाँ वास बस्न ।

साँझ अझ बाक्लिएपछि जुफालतिरबाट एउटी युवती आइपुगिन् त्यहाँ वास माग्न । उनको साथमा एक जना युवक पनि थिए । ती युवतीले निकै अनुरोध गरेपछि त्यस होटलमा वास पाउने भइन् । त्यसो त अँध्यारो रातमा अफ्ठ्यारो बाटो हिँडेर एक घन्टा माथिको छेप्कामा पठाउनु मानवीय दृष्टिले पनि उपयुक्त थिएन । नेपाली सेनामा जागिर खाएर अवकाश लिएका त्यस होटलका साहुजीले त्यस मानवीय भावनाको कदर गरे ।

बीएनले उनीसँग कुरा गरे । काठमाडौँमा बौद्धमा बसेर क्याम्पस पढ्ने तिनको घर फोक्सुन्डोमा रहेछ । भूकम्पले स्कुल क्याम्पसहरू विदा भएको अवसर छोपेर उनी पनि यार्सा टिप्न आएकी रहिछिन् । यहाँ आउँदा घर पुगिने र आफन्तसँग भेट पनि हुने भए तापनि यही बेलामा आउनु घरभन्दा यार्साको लोभ बढी थियो भन्ने प्रष्ट छ । काठमाडौँदेखि त्यति धेरै हैरानी खेपेर धेरै रुपैयाँ खर्च गरेर धेरै माथि हिमालको पाटनमा गएर यार्सा टिप्न सानोतिनो उत्कण्ठाले हुने कुरा होइन । मेरो आफ्नो सन्दर्भमा म यसो गर्न सक्तिनँ । तर यहाँ त कहाँकहाँदेखि गाउँलेहरू दूधे बच्चा समेत च्यापेर उकालोतिर ताँती लागेको देख्छु । काठमाडौँदेखि किशोरकिशोरीहरू आएको देख्छु । हिजो फोक्सुन्डोमा हामी बसेको होटेलमा एउटा भाइ थियो जाजरकोटको । पछि आउन पाइँदैन भनेर दुई साता अघि नै आएर यस होटलमा बसेका रहेछन् । उनी होटलको काममा सहयोग गर्दा रहेछन् र त्यहीँ बस्दा रहेछन् ।

यात्रामा बाटोभरि मूल रूपमा यार्साकै मात्र चर्चा सुनियो । हिँडेका मान्छेहरू पनि मूलतः यार्साकै लागि हिँडिरहेका थिए । हिँड्न तयारी गरिरहेकाहरू पनि यार्साकै लागि तयारी गर्दै थिए । कसैमा चिन्ता थियो भने यार्सा धेरै नपाइएला कि वा फर्केर आउँदा घरखेतको अवस्था के होला भन्ने नै थियो ।
यार्सा टिप्नु भनेको यहाँका सबै उमेर समूहका मान्छेको लागि अतिरिक्त उत्साह वा जीउने उत्कृष्ट काम देखियो । लाग्दै थियो – हामी मात्र थियौँ जो उल्टो गतिमा हिँडेका थियौँ जसरी सुलिगाड यी सबै कुराको वास्ता नगरी आफ्नो धूनमा मस्त भएर हरेक पल अविचल ओरालो यात्रामा यात्रारत थियो ।

ईश्वरले मानिसलाई दुःख, आँसु, निराशा, गरिवी, तनाव जति पनि दिएका छन् । मानिसहरू यी सबैलाई बोकेर हिँड्न, यिनैसँग जुध्न र यिनैको अँगालोमा बाँधिन अभिसप्त छन् । यसबाट मानिसहरूले जीवनमा कठोर हुन र अझ कडा कठिनाइसँग सामना गर्न सिकेका पनि छन् । साथै, मान्छेले यी सबैसँग आशा पनि प्राप्त गरेको छ जसले जस्तै कठिन समयमा पनि जीवनप्रति निरन्तर प्रतिबद्ध गराउँछ । यो समय पनि बदलिएर जान्छ र अर्को उज्यालो भेटिन्छ भन्ने आशाको त्यान्द्रो नै हो यतिबेला बाटोभरि ताँती लागेर रातबिरात नभनी, बाधा व्यवधान नभनी हप्ता, दस दिनसम्म पनि अक्करे भीरहरूमा बाटोको नाममा खनिएका डोराहरूमा गुनासो नगरी हिँड्न प्रेरित गरिरहेको छ मानिसहरूलाई ।

(भीष्म उप्रेती झापाको शनिश्चरे ३, उप्रेती डाँडामा २०२४ माघमा जन्मेका हुन् । उनले अर्थशास्त्रमा एम. एस्सी. र नेपालीमा एम. ए. गरेका छन् । उनका कविताका ८ र निबन्ध एवं नियात्राका ७ वटा पुस्तकहरु प्रकाशित छन् । उनका रचनाहरु अंग्रेजी, जापानी, कोरियाली, हिन्दी, तामिल, सर्बियाली, स्लोभेनियाली भाषामा अनुदित भई प्रकाशित छन् । उप्रेतीले युवा वर्ष मोती पुरस्कार, शंकर लामिछाने युवा निबन्ध पुरस्कार, उत्तमशान्ति पुरस्कार, कुमार सरस्वती पुरस्कार र नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार पाएका छन् । उप्रेती परिवारका साथ काठमाडौँमा वसोवास गर्दछन् ।)

(स्रोत : Nepalpati)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *