संस्मरण : स्कुल हडताल अनि सांस्कृतिक क्रान्ति

~जीवन क्षेत्री~Jiwan Kshetry

पारिपट्टि बारीको डिलमा हेडसर र टुकनाथ सर देखा पर्नुभयो । मेरो मुटु काँप्यो । म ऊबेला त्यसै पनि काफर थिएँ तर यति सारो मुटुचाहिँ अरू बेला विरलै काँप्थ्यो । सरलाई देख्दा विद्यार्थी डराउनु अनौठो होइन । अझ हातमा लट्ठी नखाने विद्यार्थी विरलै हुने हाम्रो समयमा सरहरूको हप्कीदप्की र कुटाइ सामान्य कुरा थिए । तर, त्यस दिन मेरो मुटु काँप्ने कारण अर्कै थियो । केही दिनदेखि हामीविद्यार्थी हडतालमा उत्रिएका थियौँ । अघिल्लो दिन मात्र सबै शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई अफिस कोठामा दिनभर थुनेका थियौँ । पठनपाठन ठप्प थियो । आन्तरिक परीक्षामा बसेका सीमित विद्यार्थीको समेत कापी खोसेर च्यातिदिएपछि परीक्षा नै स्थगित भएको थियो ।

म ८ कक्षामा पढ्थेँ त्यो बेला । हाम्रो स्कुल निमावि मात्र भएकाले सबैभन्दा सिनियर हामी नै थियौँ र हडतालको नेतृत्व हाम्रै कक्षाका साथीले गर्दै थिए । मचाहिँ कक्षाको प्रथम विद्यार्थी, म सरिक नभए आन्दोलनको वैधता कम होला भनेर हो कि किन हो, मजस्तो निष्क्रिय विद्यार्थीलाई पनि साथीहरूले हडतालमा आउन बाध्य पारेका थिए । सरहरूले सबैलाई नमुना विद्यार्थी भनेर चिनाउने गरेको म धर्मसंकटमा परेको थिएँ ।

आन्दोलनको त्यस दिनको कार्यक्रम सरहरूलाई स्कुल प्रवेश गर्नबाट बन्देज लगाउने थियो । साथीहरूले बिहानै हामीमध्ये ‘वार्ता टोली’ र ‘गोष्ठी टोली’ भनेर दुई अलग–अलग समूह बनाएका थिए । सरहरू पारि देखा पर्नु के थियो गोष्ठी टोलीका साथीहरू ग्वारग्वार्ती भर्‍याङबाट झरे र स्कुलको गेटतिर लागे । गेट पनि के भन्नु, तीन अखेटा टेकेर चढ्नुपर्ने एउटा गौँडो थियो । यता मेरो मुटु घाँटीमै आएझैँ ढुकढुक गर्दै थियो, उता साथीहरू गौँडामाथि मानव पर्खाल बनाएर उभिएछन् । ‘यो के हो रु’ टुकनाथ सरले चर्को स्वरमा सोध्नुभएछ । ‘भित्र पस्न निषेध छ, यो हाम्रो आन्दोलनको कार्यक्रम हो,’ साथीहरूमध्ये गोष्ठी टोलीका नेताले भनेछन् । ‘हामी तेरो नोकर हो र तैँले अनुमति दिए भित्र पस्ने नत्र नपस्ने रु’ भन्दै सर जंगिनुभएछ तर साथीहरू टसको मस भएनछन् । त्यसपछि सरहरू हार मानेर आफ्नो बाटो लाग्नुभएछ ।

आन्दोलनका माग ठूला थिएनन् । भर्ना हुने बेला लिने शुल्क लिन बन्द गरियोस्, खेलकुदका सामग्री ल्याइयोस्, यी मेरा स्मरणमा अहिले भएका केही माग हुन् तर यीभन्दा धेरै महत्त्वपूर्ण त्यस्तो कुनै माग थिएन । तैपनि, बेलाबेलामा स्कुलमा हडतालहरू भइरहन्थे तर त्यसपटकचाहिँ त्यो सामान्यभन्दा धेरै चर्केर गएको थियो । यो हडताल पनि त्यसरी नै टुंगियो, जसरी अरू टुंगिन्थे ।

गाउँका ४०र५० मानिससहितको कचहरी बस्यो । खेलकुद सामग्री जुटाउन नसकेकामा हेडसरले आत्मालोचना गरेझैँ स्पष्टीकरण दिनुभयो । भर्ना शुल्क नलिई स्कुल धान्न कसरी गाह्रो छ भनेर व्याख्या गर्नुभयो । तर, जितचाहिँ आन्दोलनकारीकै भयो, जसका अनेक माग पूरा भए । अनि, स्कुल साम्य भयो ।

म त त्यस बेला पनि क्रान्तिकारीभन्दा बढी डरपोक थिएँ, साथीहरूलाई नाइँनास्ति गर्नकै डरले आन्दोलनमा पुगेको थिएँ तर केही साथीहरूको क्रान्तिकारिता मलाई बेजोड लाग्थ्यो । हडताल छ भन्दैमा आफूलाई पढाउने सर र हेडसरलाई स्कुलको कम्पाउन्डमा छिर्नबाट बलपूर्वक रोक्ने दुस्साहस उनीहरूलाई कहाँबाट आउँथ्यो, म छक्कै पर्थें । तर, अहिले फर्केर हेर्दा लाग्छ स् साथीहरूको क्रान्तिकारिता र विद्रोहभाव त्यसै आएको थिएन । भर्खरै आएको ०४६ सालको परिवर्तनले समाजको पुरानो थितिलाई उखेलिदिएको थियो, नयाँ थिति बसिसकेको थिएन ।

राजनीति कांग्रेसी र कम्युनिस्ट गरी दुई भागमा विभाजित थियो । हाम्रो गाउँ र गाविस कम्युनिस्ट पार्टीको आधारभूमिजस्तै थियो । स्खलित हुँदै गरेको बहुदलीय व्यवस्थामा फरक पार्टीका मानिसहरूबीच पानी बाराबार हुने त्यो समयमा जुन पक्ष बलियो हुन्थ्यो, त्यसले समाजलाई पूर्ण रूमिा आफ्नो पकडमा राख्थ्यो ।

मेरा आन्दोलनकारी साथीहरूको बल पनि त्यही थियो । उनीहरू पार्टीका सक्रिय सदस्य थिए । नियमित हुने सांस्कृतिक कार्यक्रममा खटेर लाग्थे । त्यसको बदला पार्टीचाहिँ उनीहरूको रक्षाकवचजस्तो बनेर रहन्थ्यो । त्यही कारण दिनभर सबै शिक्षकलाई अफिसमा थुन्नेजस्ता अमानवीय कार्य गर्दासमेत हामी दण्डित भएका थिएनौँ । फिस्टे केटाकेटीले आफूलाई स्कुल छिर्नबाट रोक्दा पनि सरहरू लाचार बनेर फर्कनुपरेको थियो । अनि, हडताल टुंग्याउने बेला सबैले ‘ओहो ! यिनीहरूले यत्रो परिवर्तन ल्याए’ भनेर सबैले प्रशंसा गरेका थिए, हाम्रो ज्यादतीका बारेमा कोही केही बोलेको थिएन ।

गाउँको स्कुल छाडेर पढ्नलाई सहर पुगेपछि भने ज्ञानको स्रोतका हिसाबले हामी अर्कै ग्रहमा पुगेसरह भएको थियो । सोभियत र चिनियाँ क्रान्तिबारेका पुस्तक अहिले पनि पसलमा पाइन्थे । तर, ढलिसकेको सोभियत संघ र ऊबेलाको चीनबारे पत्रपत्रिकालगायत समकालीन पठन सामग्रीमा जे आउँथे, ती त हामीले पचाउनै नसक्ने खालका थिए । मलाई अहिले पनि याद छ, दक्षिण भारतबाट निस्कने फ्रन्टलाइन पत्रिकामा हो वा केमा हो, चीनको माओ शासन खराब मात्र थिएन भन्ने सारको एउटा लेख थियो ।

कहाँ एक अर्ब चिनियाँ जनतालाई मुक्त गरेका मानव इतिहासकै महानतम् व्यक्ति माओ भन्ने आफ्नो बुझाइ अनि कहाँ ‘माओ खराब थिए’ भन्ने निष्कर्ष निकालेको लेख, त्यो पनि वामपन्थी झुकाव भएको भनिएको पत्रिकामा प्रकाशित । त्यसो भन्नु भनेकै सारभूत रूपमा माओ गलत र खराब थिए भनेर स्वीकार्नु थियो । हाम्रा लागि त्यसो भन्नु भनेको कट्टर आस्तिकका अगाडि ईश्वर–निन्दा गर्नुजस्तै थियो ।

सुरु सुरुमा त पुँजीवादीहरूको प्रोपगान्डा भनेर धेरै कुरा पत्याइएन । तर, किशोरकालको विद्रोहभाव पातलिँदै गएपछि बिस्तारै आफ्नो बुझाइमाथि प्रश्न गर्न थालियो । त्यसपछि सोभियत संघ र माओ शासित चीनबारे अनि दुवैको पतनबारे भेटिएजति सामग्री पढ्ने अभियान नै चलाइयो । बिस्तारै सुरुमा आफूले पालेको पूर्वाग्रह पनि पातलिँदै गयो । अन्ततस् खास गरी स्टालिन र माओबारे यस्तो धारणा बनाउन बाध्य भइयो, जुन बाल्यकालदेखि आफूले पालेको धारणाभन्दा १ सय ८० डिग्रीले फरक थियो । स्टालिनकी आफ्नै छोरी स्भेत्लाना अलिलुएभाको मर्मस्पर्शी संस्मरणात्मक पुस्तकमार्फत स्टालिनकालीन ज्यादतीको भित्री पाटोसमेत पढेपछि त सोभियत संघबारे बचेखुचेका भ्रम सबै तोडिए ।

गाउँतिर फर्केर हेर्दा के देखियो भने हाम्रो आन्दोलनका निर्विवाद कमान्डर साथी स्कुल पनि राम्ररी नभ्याउँदै भारतीय सेनामा भर्ती भएर गणतन्त्र भारतको सेवा गरिरहेका थिए, अझै पनि गरिरहेका छन् । गौँडाको माथि डटेर सरलाई स्कुल छिर्न नदिने गोष्ठी टोलीको नेता साथी लामो संघर्षपछि कोरिया पुगेर अहिले आर्थिक स्थिति मजबुत पार्न कस्सिइरहेका छन् । संसारै बदल्ने भावका क्रान्तिकारी गीत गाउने, नृत्य गर्ने र तीमार्फत जनतालाई जगाउने टोलीकी नाइके दिदी अहिले क्रिस्चियन बनेर प्रभुको सेवा गर्छिन् र हामीलाई पनि त्यही मार्गमा लाग्न आग्रह गर्छिन् । नेतृत्व गर्नेभन्दा पनि भीडमा छिरेर नाराबाजी गर्ने सबैजसो साथी अहिले खाडीतिर छन् । जो यतै टिक्न सके, ती कोही स्कुल पढाउँछन् त कोही सामान्य व्यवसाय गर्छन् ।

नबदलिएको एउटै कुरा हामीलाई पढाउने सरहरूमध्ये निवृत्त हुन बाँकी अहिले पनि ऊबेलाका हामीजस्तै बालबालिकालाई तिनै स्कुलमा शिक्षा दिँदै हुनुहुन्छ । हामीले पढेका पुराना ढुंगा–माटोका भवन भत्काएर अब सिमेन्ट लगाइएका राम्रा भवनमा पढाइ हुन्छ अनि पढ्न आउने बालबालिकाहरूको सपना पनि हाम्रोझैँ संसार बदल्ने छैन, सके युरोप, अमेरिका र नसके खाडी गएर भए पनि आफ्नो आर्थिक अवस्था बदल्ने छ । पूरा नभए पनि हाम्रो सपना विशाल र उदात्त थियो, उनीहरूको सपना खुम्चिएको छ ।

सुनिन्छ, केटाकेटीहरू बिहान–बेलुका टीभीमा झुम्मिन्छन् अनि स्मार्टफोनमा गीत सुन्दै स्कुल जान्छन् । डरलाग्दो कुराचाहिँ कच्ची सडकसँगै गाउँमा विकास पुग्दानपुग्दै लागू औषध दुव्र्यसनजस्ता खराबी सहरबाट गाउँमा पुगिसकेका छन् । कुनै बेला मदिरा र जुवातास निषेध हाम्रो गाविसमा अब त्यो कल्पना गर्न पनि सकिन्न । माओवादी जनयुद्धदेखि इसाई धर्मसम्मको शरणमा पुग्दा पनि सन्तुष्ट हुन नसकेका मानिसको भीड बढ्दो छ । वैदेशिक रोजगारले हाम्रो अर्थतन्त्र त धानेको छ तर मानिसको सामाजिक र सांस्कृतिक जीवनमा परेका भ्वाङलाई त्यसले अझ ठूलो बनाइदिएको छ ।

हाम्रो बाल्यकाल साम्यवादी आदर्श समाज निर्माण गर्ने सपना देखेर बित्यो । अहिलेका केटाकेटीको बाल्यकाल भौतिक वस्तुको उपभोगको वरिपरि घुमेर सिद्धिने देखिन्छ । तर, वास्तविक जीवनमा हामी आफैँले प्रयोग गर्नुपर्ने ती उपभोगका सामान, भौतिकदेखि बौद्धिकसम्म कसरी उत्पादन गर्ने भन्नेमा समाजबाट न हामी दीक्षित भयौँ न अहिलेको पुस्ता हुँदैछ ।

सायद नेपाली समाजको अभिशाप नै यही हो स् साम्यवादको अतिवादी सपनाबाट प्रस्थान गरी हामी एकैचोटि उपभोक्तावादको अतिवादमा पुग्यौँ, पुँजीवादी अर्थप्रणालीमा सामेल भएर उपभोग गर्नुपर्ने वस्तु कसरी बनाउने भन्ने बीचको चरणमा प्रवेशै नगरी । संसार बदल्ने सपना देखेर हुर्केका हामीले संसार बदल्न सकेनौँ तर त्यसलाई हेर्नसम्म सक्यौँ । आफैँलाई पुग्ने गरी कमाउन र धित मरुन्जेल उपभोग गर्ने सपना देखेर हुर्केको भएचाहिँ हामीले त्यति पनि गर्न सक्थ्यौँ भन्नेमा मलाई शंका लाग्छ ।

प्रकाशित: कार्तिक ८, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.