संस्मरण : बर्खान्तको बेला डेरिडाको सम्झना

~डा. गोविन्दराज भट्टराई~Dr Govind Raj Bhattarai

आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । यसबेला हामीलाई उनको सम्झनाले सताउनु स्वाभाविक लाग्दछ किनभने तिनै मूल्यहरूको अभावले जगत जर्जर हुँदैछ ।

डेरिडाले देखे- वर्तमान विश्वइतिहास रक्तपातमय अभिघातले भरिएको छ । यसका सामुन्नेमा देखिएको प्रवल कारण शस्त्रास्त्रको निरन्तर उत्पादन र सर्वत्र सहज उपलब्धता हो तर यसको सञ्चालक तत्वचाहिँ मानिसको हातमा परेको अन्धशक्ति नै हो । त्यो शक्तिको शासक वा राज्यसत्ता हुन्छ अथवा त्यो आसनमा पुग्न चाहने प्रतिरोधी हुन्छ । उनीहरू आफ्ना अहङ्कार र अभिमानको उन्मादलाई बाजी थापेर एकअर्कालाई निमिट्यान्न पार्न उद्यत हुन्छन्, परिणामस्वरुप उनीहरू सर्वनाशक ध्वंसतर्फ आकृष्ट हुन्छन् । यसकारण वर्तमान विश्वमा जाति विनाश, आत्महत्या, नरसंहार, देशनिकाला, थुना, नजरबन्दी र प्रतिबन्धका अनेक उदाहरण पाइन्छन् । यी मानव सभ्यताका अँध्यारा पाटा हुन् । दुस्खको कुरा के छ भने हाम्रो देशले पनि यस्ता कुराको अभ्यास गरिरहेको छ । यस्ता घटना र तिनीहरूका परिणामको प्रत्यक्षदर्शी भएको छ । भोगिरहेको छ । भोगाइरहेको छ । देशवासी नै यसमा लागेका छौं ।

यस्ता प्रकारका दुखकष्टहरू सङ्कीर्णतावादको अभ्यासले उत्पन्न गराएका कुरा हुन् । यो देखेर डेरिडाले भने- हाम्रा चिन्तन, दर्शन, परिकल्पना र प्रयोग सारा कुरा मानवजातिका लागि हुन् । उसको शरीर र मनको संरक्षणका लागि हुन् । उसको अस्तित्व नै सधैं संकटमा परिरहन्छ भने हाम्रा चिन्तनको वा दर्शनको कुनै अर्थ छैन । संसारलाई यही कु्रा बुझाउन लेखिएको कृति उनी मर्नुभन्दा तीनचार वर्ष पहिलेविश्वबन्धुत्व र क्षमाशीलताका विषयमा (On Cosmopolitatism and Forgiveness) शीर्षकमा प्रकाशित भयो । यस कृतिमा केवल दुईवटा लामालामा निबन्ध प्रकाशित छन् – विश्वबन्धुत्व विषयमा एउटा, क्षमाशीलता विषयमा अर्को । यस कृतिमा उनका अन्तिम दर्शनको प्रस्तावना छ ।

डेरिडाले देखे- अन्तर्कलह र विद्वेषले गर्दा मानिसमानिस बीचमा कहिल्यै नजोडिनेजस्ता धाँजा फाटिरहेका छन् । के मानवसभ्यता चलिन्जेल हामी यसैगरी फुक्लिएर बाँच्न चाहन्छौं त रु अवश्य होइन । हामी प्रेमले, सहिष्णुताले, मानवीय बन्धनले र कानुनले बाँधिन चाहन्छौं । हामी अराजकता र बर्बरताबाट मुक्त हुन चाहन्छौं । यसरी मानवहरूलाई जोड्नका निमित्त डेरिडाले मेलमिलाप, आममाफी अर्थात् सर्वक्षमाको प्रस्ताव राखेका थिए ।

डेरिडाका निबन्धका विषयवस्तु हेर्दा हाम्रो देशको परिस्थितिलाई हेरेरै लेखिएका हुन् कि जस्तो पनि लाग्दछ । तर त्यसो होइनस महासमरदेखि यता संसारले भोगेका कष्ट देखेर उनले यी चिन्ता लेखेका हुन् । उनका चिन्ताको एउटा विषय हो विश्वमा देखिएको शरणार्थी समस्या । वर्तमान विश्वमा झन्डै एक चौथाइ नागरिक आफ्नो देशबाट उखेलिने, खेदिने, मारिने, बेपत्ता पारिनेमा पर्दछन् । नागरिक अधिकार वञ्चित गराइएका, देशनिकाला गरिएका, निर्वासित, विस्थापित र अरु अनेक कोटिमा पर्दछन् । यसैबाट उत्पन्न हुन्छ शरणार्थी समस्या । त्यसमाथि स्वभावैले उत्पन्न हुने परदेशी, विदेशी, आप्रवासी, विद्यार्थी, यात्री, पर्यटक आदि थपिन्छन् । यो दोस्रो वर्गमा पर्नेहरू संसारको नियमित चालाभित्र पर्दछन् तर पहिलो वर्गकाहरू शरणार्थीको रुपमा परिणत भएपछि त्यसले जहाँ पनि समस्याको रुप लिएको छ । अतीतमा कहिल्यै नसोचेको यो विषयले आज आफ्नै मुलुक आक्रान्त बनेको छ । डेढ दशक पुग्यो । हजारौं मानिस अस्थायी शिबिरमा छन् । आफ्नो अतीतबाट उखेलिएका तिनीहरु भविष्यरहित आँखाले पानी चुहिने कटेराबाट हामीतिर हेरिरहेका छन्, अनागरिक नानीहरू नाङ्गा खुट्टाले धुलामा वरपर गर्दछन् । बाबुआमाले पाउने बेसार, खुर्सानी, तरकारी कटौती भएको छ, झुप्रा छाउने खरबाँस कटौती भएको छ, ती बाहिर गएर काम गर्न सक्दैनन् । अपूरो खाना खाएर भत्केको अतीत र अनिश्चित भविष्य कल्पेर शिबिरमा झोक्राइरहन्छन् । यी शरणार्थी शिबिर होइनन्, यातना शिविर हुन् । कुनै अपराधमा संलग्न नभए पनि यी नागरिकहरू ठूलो सजाय काटिरहेका छन्- घरको सम्झनामा मेचीपुल पुग्दै फर्किंदै यी महाशक्तिले खेलौना बनाइएका झुम्राका भकुन्डासरह भएका छन् (यस्ता चिन्ताहरू कृष्णचन्द्रसिंह प्रधानका निबन्धमा खासगरी उनको प्रकाशोन्मुख समय सुनामीमा देख्न पाइनेछ) ।

विश्वभरि शरणार्थीको बढ्दो समस्या देखेर डेरिडाले प्रस्तावित गरेका थिए- संसारभरि राजनैतिक शरण माग्नेहरुका लागि, अन्य प्रकारका शरणार्थी, निर्बासित, विस्थापित र आप्रवासीका लागि विश्वव्यापी अधिकार र कर्तव्यहरू तय गर्नुपर्दछ । तिनीहरूका निमित्त खुला नगरु वा शरणार्थी नगरु को स्थापना गर्नु पर्दछ । उनले भने- त्यसलाई अन्तर्राष्ट्रिय समुदायले शरणार्थी नगरको बडापत्रमा पास गरोस् । त्यस्तो नगरमा पुगेर नागरिकहरूले यातना, भय र कष्टबाट मुक्तिको सुनिश्चिति प्राप्त गरून् । त्यहाँ भयमुक्त भएर केवल रात र दिन काट्ने प्रबन्ध उपलब्ध गराउने मात्र होइन, त्यसका अतिरिक्त ती शरणार्थीलाई भोजन, बस्त्र, आवासजस्तै जीवनका पूर्वाधारबारे कुनै चिन्ता नहोस्स स्वास्थ्य, शिक्षा, सम्मान र अन्य नागरिक अधिकारको सुनिश्चित होओस् । त्यस्ता नगरको स्थापनालाई उनले विश्वबन्धुनगर ठानेका थिए । त्यस्ता नगर स्वयं शासित र स्वतन्त्र भए पनि राज्य संयन्त्रका नियमको अधीनमा हुनेछन् । यसभित्र शरणार्थी मात्र नभएर निर्वासित, फिर्ता बोलाइएका, निकाला गरिएका, उठिबास भएका, विस्थापित, आप्रवासी अनेक वर्गका हुनसक्छन् । त्यस्ता नयाँ शरणार्थी नगरमा आतिथ्यको एउटा न्यूनतम आधार हुन्छ र आचरणको न्यूनतम रेखा । विश्वस्तरमा उत्पन्न हुने हिँसालाई सम्झेर उनले यस्तो परिकल्पना गरेका थिए । त्यस्तो हिंसा उत्पन्न गर्न कहिले राज्य संयन्त्र नै लागि पर्दछ -जस्तो भुटान देखिएको छ । यस्तो कष्ट उत्पन्न गर्न मानसिक यातना, शारीरिक यातना, सेन्सरसिप, अन्य प्रकारका दासता र आतंङ्कको पनि भूमिका हुन्छ । राज्य वा राज्येतर दुबैखाले शक्तिले यस्तो उत्पन्न गर्न सक्छन् । अनेकौं व्यक्ति यस्ता कर्मका शिकार भएका हुन्छन् तर ती बेनामी समूह हुन्छन् । त्यसभित्र मानसिक सन्त्रास खेपिरहेका बौद्धिक, चिन्तक, विद्वान्, सञ्चारकर्मी, लेखक, मनको पीडा र अन्यायबिरुद्ध खुलेर बोल्न चाहने वर्ग सधैं तारो हुन्छ । हाम्रो देशमा पनि त्यस्तो भइरहेकै छ ।

वि श्वभरि चलिरहेको हत्या, हिंसा र विविध प्रकारको यातनालाई कम गराउन डेरिडाले क्षमादानको पनि प्रस्ताव गरेका छन् । हामीले प्रथम विश्वयुद्धकालदेखि अहिलेको कोसोभोसम्म आइपुग्दा सर्वनाशका डरलाग्दा दृश्यहरु देख्नुपर्यो । ती सबै दृश्यहरू यही ग्रहका मानिसका कर्म हुन् । हामीले अरु कसलाई दोष दिनू रु हामी आफ्नो जातिका आफैं बैरी भएका छौं । डेरिडाले देखे – मानिसका हृदयमा दयाभाव समाप्त भएर, करुणा, प्रेम र क्षमाशीलता समाप्त भएर पनि यी पाशविक र क्रूर कर्म भएका हुनसक्छन् । त्यसैले उनले दयाभावको प्रस्ताव राखेका हुन् ।

क्षमाको प्रस्तावनाले अहिलेको विश्वग्रामीकरणको धारणालाई पनि सहयोग पुर्याउँछ । विश्वभ्रातृत्व बढाउँछ । कुनै जाति, वर्ग, दल वा समूहप्रति उत्पन्न भएको द्वेष, ईर्ष्या, बदलाभाव मेटिएर जान्छ । इतिहासले यसका केही पाठ पनि सिकाएको छ । अतीतमा आफ्नो देशबाट भएको हिंसाप्रति जापानी प्रधानमन्त्रीले कोरियाली जनतासमक्ष क्षमायाचना गरे, दक्षिण अफ्रिकामा कालाप्रति भएको अन्याय सम्झेर गोराले क्षमायाचना गरे । आज अतीतको साम्राज्यवादले, सामन्तवादले जताततै क्षमायाचना गर्नुपर्ने देखिन्छ । पुराना घाउहरू यसैगरी बिस्तारै निको पार्न सकिन्छ । हाम्रो आँगनमा पनि प्रजातन्त्र मास्ने, त्यसको प्रवेश रोक्ने अनेक सत्ताहरू छन् । एकदिन तिनीहरूले जनतासमक्ष आफ्ना सारा अत्याचार र अन्यायका निमित्त क्षमायाचना गर्नुपर्ने छ । हामी देखिरहेछौँ आफ्ना नागरिकहरूमाथि अकल्पनीय अत्याचार गर्ने भुटानी राजाले एक दिन यी दुखी जनतासमक्ष क्षमायाचना गर्नुपर्ने छ ।

डेरिडाको मत छ- वास्तविक क्षमा भन्नुको तात्पर्य अक्षम्यलाई क्षमादान दिनु हो । यदि क्षम्यलाईमात्र क्षमा दिने हो भने त्यसकार्यभित्र क्षमाको अवधारणा नै रहँदैन । यसभित्र रङ्गभेदका हिँसामा भएका नरसंहारक हत्याहरू पनि पर्नुपर्दछ। त्यसो भए कानुन समाप्त भए हुन्छ रु प्रश्न आउँछ । तर त्यसो होइन। क्षमा सधैं विरोधाभाषपूर्ण निर्णय हो । भुलले, आवेगले, अन्धवेगले, अहङ्कारले कुनै प्रकारले उत्पन्न भएका यस्ता दुखद परिणामलाई एक ठाउँमा अन्त्य गरी फेरि मेलमिलापको स्थापना गर्न र विश्ववन्धुत्वको भाव जगाउन सकिएला कि भनी डेरिडाले त्यो प्रस्ताव गरेका हुन् । मित्रता, प्रेम, कानुन, विश्ववन्धुत्व, क्षमा र मृत्युदण्ड अन्तर्सम्बन्धित धारणा हुन् । ती मध्ये सबैभन्दा ठूलो मूल्य हो स्वतन्त्रता । अहिले अक्षम्यलाई क्षमा दिने र मिल्न नसक्नेहरूबीच मित्रता कायम गर्नुपर्ने समय छ । अरूको अस्तित्वको सम्मान गर्दै व्यक्तिगत र सामाजिक स्वतन्त्रताको निम्ति लड्ने समय आएको छ । आजको कला, साहित्यले पनि यिनै मूल्यलाई प्रोत्साहित गर्नुपर्दछ ।

(स्रोत : Nepalikalasahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.