पत्र कथा : तिमीले चाहेका चार शब्दहरु !

~राजु लामिछाने~ Raju Lamichhane

स्मृती,

धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा तिमी खुशी हुन्छ्यौ। तिम्रो धेरै खर्च गर्ने बानी अझ पनि उस्तै छ। धन्न उमेशजीले पूर्‍याउनु भएको छ। फोटोहरु हेर्‍यौ? मेरो व्यक्तिगत ब्लग साइटमा? तिमीले पठाई दिएको उपहार लगाएर पूनम कस्ती राम्री देखिएकी हगी? मलाई पनि ठ्याक्कै मिलेको छ।

ल सुन, मेरो कोलेस्टेरोललाई यतिखेर बसमा राखेको छु मैले। अनि मेरो प्रोफाईल फोटोमा कपाल फूलेको देखेर तिमीलाई किन पिर? अव बुढो भईयो रंग लगाएर सधैं कहाँ ढाक्न सकिन्छ र। फेरी पूनमले तिमीले सोचेको भन्दा धेरै सेवा गर्छिन मेरो। म त भाग्यमानी हुँ पूनम जस्ती श्रीमती पाउने। हाम्रो पो के छ र यो बिरानो परदेशमा। उनले मेरो र मैले उनको ख्याल त राख्नै पर्‍यो नी।

हो, जेष्ठ ९ गते हामीले हाम्रो बिवाह दिवस आफ्नै तरिकाले रमाईलोसँग मनायौं।

हेरन समय बितेको पत्तै भएन। यो हाम्रो १२ औं बिवाह दिवस थियो। अस्ती जस्तो लाग्छ हाम्रो रमाईलो कलेजको जीवन। याद छ? तिम्रो जिद्धी गर्ने बानी, तिमीलाई जता जान मन लाग्छ म पनि तिमीसँगै हिँडिदिनु पर्दथ्यो। मलाई अति दुख दिन्थ्यौ। तिमीले पनि ख्याल गरेकी होउली, करीब २० वर्ष पहिला स्वयम्भू सरास्वती स्थानको पछाडी मैले तिमीलाई काँधमा राखेर तिमीले पर्खालको माथी फलामको किलाले कोरेर लेखेको चक R + S अझै प्रस्ट बुझँदो रहेछ। जुन गतवर्ष म नेपाल जाँदा फोटो खिचेर ल्याएको छु।

आजै जस्तो लाग्छ, १८ वर्ष अघिको कुरा हो। जव हामी दुबैले आ–आफ्नो घरमा हाम्रो बिवहाको प्रस्ताव राख्दा दुबैको घरबाट खरिएको तेलमा पानीको छिटा परेझैं जवाफ आएको। दोष न तिम्रो, न मेरो, नत हाम्रा अभिभावकहरुको नै थियो। तिमी कथित तल्लो जातकी सम्पन्न शहरीया केटी म उपल्लो जात भनाउँदो गरीब गाउँले केटो। यो सामाजिक दोष तिनताका त झन प्रकृती जस्तै अटल थियो जुन हाम्रो तागतले तोड्न सकिएन। फेरी केवल हामी २ को लागि हाम्रा सारा मान्य परिवारजन, छरछिमेक र इष्टमित्रहरुलाई दुःखी बनाउन हामीले पनि चाहेनौं। आखिर तिम्रो बिवाह उपत्यका कै चर्चित व्यापारीक परिवारका उमेशसंग तय भयो। तिम्रो हालत कस्तो थियो मलाई थाहा भएन म भने खुशी नैं थिएँ। किन कि तिम्रा बुवा मुमाको रोजाई जायज थियो। आज हामी बाबु आमा बनेका छौं हामी हाम्रा छोरा छोरीबाट तेही अपेक्क्ष्या गछौं जुन हामी चाहन्छौं। हैन र?

तिमीसंग प्रतक्ष भेट नभएको करिब १८ वर्ष भयो। तैपनि तिम्रो तस्वीर मेरो मानस पटलमा जस्ताको तस्तै छ। तिमीले जस्तै म पनि इन्टरनेटको सामाजिक सञ्जालहरुमा छिर्दै र कहिले गुगलका पानामा तिम्रो नाम लेखेर तिमी र तिम्रा परिवारका तस्विरहरु हेर्ने गर्छु। जव तिमीलाई उमेशजी र छोरा छोरीको साथ हँशिली पाउँछु मलाई आनन्द लाग्छ। कुनैकुनै तस्विरमा अगाडीको कपालले तिम्रो उज्यालो निदार छोपिएको, कुनैमा तिम्रो साडी भूईमा लत्रेको त कुनैमा कुर्ताको सलले भूई छोएको देखें भने अनायासै मेरा हातहरु कम्प्यूटरको पर्दामा ठोकिन पुग्छन। म झल्याँस्स हुन्छु।

तिमीलाई जस्तै मलाई पनि अचम्मको भ्रम हुने गर्छ। जव कहिले कहीं पूनम रिसाउछिन, म उनको चेहरामा तिम्रो प्रतिविम्ब देखी एकोहोरो हेरी टोलाउँदो रहेछु। फेरी पूनम भन्छिन – “छया् ……बुढो भएर पनि…..।” म फेरी झल्याँस्स हुन्छु। उनको रिस मरिसकेको हुन्छ।

तिमीसंग बाचा गरे जस्तै पूनमलाई सधै खुशी राख्ने छु। उनको सोचाई पनि तिम्रो जस्तै छ। सधै मेरो सेवा अनि केटा केटीको स्याहार गर्न मै खुशी छन। जसले ममा मिहेनत गर्ने जाँगर बढेको छ भने छोरा छोरीमा पढाई अनि अनुशासन। तिमीले नै भन्ने गर्थ्यौ नी लोग्नेका लागि श्रीमती भाग्य हो।

प्रेम गर्दैमा संगै जीउनु पर्छ भन्ने छैन। धेरैले यसलाई असफल प्रेम कहानी भन्लान। हामीले यसलाई सफल सम्झेका छौं। समाज अनि अभिभावकलाई कुल्चिएर हामीले सगै जीवन बिताउन त सकिन्थ्यो। आखिर समाज त त्यही थियो हरेक पल तिमी मेरो परिवारमा तल्लो जातकी भनेर हेपिनु पर्थ्यो भने म तिम्रो परिवारमा गाउँले पाखे र गरीव भएर हेपिनु पर्थ्यो। हामीले समाजलाई त्यो मौकै दिएनौं। यसमा पछुतो न तिमीलाई छ नत मलाई। हामीले एक अर्कोलाई चोट पुग्न सक्ने गल्ती पनि कहिल्यै गरेनौं। बरु प्रेममा त्याग गर्‍यौं। आज हाम्रो त्यही त्यागले हाम्रा अभिभावकको शिर ठाडो छ, तिमी पनि खुशी छौ र म पनि खुशी छु। यसैमा सबैको भलो भएको छ। हाम्रो प्रेम अझै जीवित छ र भैरहने छ।

कुनै त्रुटि भएमा ब्रुस समाउने हातको कलम समाउने रहर सम्झेर मलाई माफ गरि दिनु।

अन्त्यमा तिम्रो सुन्दर परिवारको शुख, शान्ति र उन्नतीको कामना गर्दै।

म बाट तिमीले चाहेका चार शब्दहरुः “म ज्यादै खुशी छु। ”

तिमीलाई मेरो यही उपहार।

धन्यवाद।

उही तिम्रो भलो चाहने
राजु

राजु लामिछाने
हप्किन्स, मिन्नेसोटा

(स्रोत : Sapsanasansar)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *