पत्र साहित्य : हामी लेखक र कविहरुको मूल्य खोजिरहेछौं ।

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

अनामिका,

यस पटकको सम्बोधनमा अलि फरक विषयलाई उठान गरे । हाम्रै गुनासो र पीडालाई तिमी सामु राख्ने मन गरेँ । आजसम्म राष्ट्र, समाज र तिम्रो सवाल उठान गर्दै आए । हामी लेख्नेहरुले अरुको पीडा, दुःखका कथा त देख्यौ र लेख्यौ पनि लुकेका, छिपेका, छिपाइएका धेरै विषयहरु उठान गर्ने तेश्रो आँखाको माध्यमबाट समाज काल र परिस्थिति विश्लेषण गर्दै दुँनियाले स्वीकार गरेको सामाजिक आँखा, अगुवा, चेतनशिल, परिवर्तनको संवाहक भनेर नामाकरण गरिएको एउटा सानो जमात लेखक वा कविहरुको जमात । कवि तथा लेखक जहिल्यै अर्काको अभाव लेख्छ, अर्काकै आँशु, दुःख, पीडा र प्रेम लेख्छ, परिवर्तन र सुन्दर सपना लेख्छ सुन्दर देश लेख्छ आफ्नो अभाव समस्या पीडा र गुनासो थाति राखेर जहिल्यै सामुहिक आवाज लेख्छ तर त्यही जमात, त्यही समूह, त्यही वर्ग सामाजिक प्रतिष्ठामा, मर्यादामा, सम्मानमा पछि परेको छ । यसो भनौँ पारिएको छ जानाजान बुझ पचाउँदै ।

हो, समाजको विकास यतिसम्म हुनुका पछाडी लेखक, कवि साहित्यकारहरुको भूमिका महत्वपूर्ण छ । यो ओठे बोली सबैले भनेकै कुरा हो । कुनैपनि राष्ट्रको विकास, सभ्यता र संस्कृति हेर्न वा बौद्धिक तह जाँच्न त्यो देशको कला, साहित्य र सँस्कृतिलाई हेर्ने गरिन्छ । साहित्य र कला बिना भएको विकास विकास मानिदैन । तिमीलाई थाहै होला साहित्य, कला र संगितमा चासो नभएको मान्छे पशु सरह हो भन्ने उखानै छ । शायद यसैले होला उमेरमा वा आवश्यकता बोध भएको वखत सबै लेखि टोपल्छन् । गाइ टोपल्छन् । तर सबै टिक्दैनन् । थोरैले लेख्छन् । सबै देख्छन, जे देख्छन त्यही लेख्छन् चाहे जति सुकै बिझोस कसैलाई । तिमीलाई थाहा छ संसारमा धेरै धनीहरु छन धेरै नेताहरु छन् । तिमीलाई त्यो पनि थाहा छ कि ति धेरै मध्ये कति अमर भए कतिले देशको माटोलाई साँच्चै माया गरे । को टिक्यो जीवनको भयानक दलदलमा ?

लेखक र कवि, साहित्यकार नै हो सपनालाई विपनाको रंग दलेर अभाव र पीडामा समाज नेता र देशलाई दिशानिर्देश गर्ने । समाजमा रहेर समाजकै विकृति, विसंगति बोल्ने । जोखिम मोलेर पनि सहि मार्गमा लगाउन उत्प्रेरित गरिरहने एउटा निष्टा र इमान्दारहरुको बिम्ब । ब्यास, कालिदास, शेक्सपियर, सुकरात, कुन जमानाका अनुहार थिए । आफ्नो भन्दा बढी देश, समाज र माटाको माया गर्ने को छ होला यो प्रश्न तिम्रा लागि । हामीसँग पनि गुनासाहरु छन, पीडाहरु छन, भोकहरु छन, अभाव, दुःख, पीडा र आँशु छन् तर हामी यी सबैलाई बदलेर सुन्दर सपनाले सजाउँछौ । सुन्दर कल्पनाको बुइ चढेर देश जोडछौ । जनजीवन जोडछांै । देवकोटा वा भूपीलाई यो देश विगारेको भनेर सार्वजनिक स्थलमा गाली गर्नुस् त कुनै ईमान्दार मान्छेका अगाडी उसले तपाईलाई के भन्छ ? त्यही मान्छेका अगाडीका कुनै नेताले देश बिगा¥यो भन्नुस त के भन्छ त्यस मान्छेले ? यो प्रश्न पनि छलफलका लागि तिमीलाई ।

अनामिका,

दुःख लाग्छ र भनेको छु बेलावखत शायद तिमीले पनि मेरा अन्र्तवार्ता र विचारहरु पढेकी छौ । सुनेकी छौ । कि हामी जस्ताले लेखेको कुरा पढेर कक्षा पास गर्ने । हाकिम हुने र बौद्धिक व्यक्तित्व कहलाउने नै कवि, लेखक, साहित्कारको उपेक्षा गर्छन । अपमान गर्छन् । मलाई सोध्न मन छ तिमी मार्फत तिनीहरु के पढेर जान्ने बुझ्ने हुन्छन् । के गाउँछन तिनीहरु । के लेख्छन तिनीहरु । जीवन देखि थाकेर वाक्क हुँदा के पढ्छन तिनीहरु । यो प्रश्न सबैका लागि छलफलको विषय हुन सक्छ । के लेख्छन् पत्रिकामा अक्षरहरु कसका अक्षरहरुले पत्रिकाका पानाहरु भरिन्छन । के बोल्छन रेडियो कार्यक्रमका प्रस्तोताहरु । कसले लेखेको गहकिला र भावपूर्ण लेख, कथा, कविता आदि लय हालेर सुनाउँछन श्रोताहरुलाई ? निर्धक्क भन्न सकिन्छ धेरै मान्छे कविका कविता, लेखकका लेख, कथाकारका कथा, गजलकारका गजलहरु पढेर जान्ने भएका हुन्छन । ठ्याक्कै मेरै कथा मेरै व्यथा भन्न समेत पछि पर्दैनन् तिनीहरु । सबैको मन केले हुन्छ केले दिन्छ अशान्त मनलाई शान्त ?

समाजमा रहेका अन्य मान्छेहरु सरहका लेखक, कवि, साहित्यकारहरुको पनि मान मर्यादा र इज्जत हुन्छ बिना मूल्य आफ्ना विचारहरु राखिरहने, लेखिरहने ती निरही जीवहरु धेरैलाई कार्यक्रमहरुमा बोलाउछन्, जान्छन पनि खुरुखुरु आफ्नै भात खाएर, आफ्नै भाडा तिरेर । आफ्नै महत्वपूर्ण समय बरवाद पारेर । मञ्चमा आसिन भैरहेका हुन्छ विविध क्षेत्रका अगुवाहरु । सम्बोधन गरिन्छ अरु क्षेत्रका पण्डितहरुलाई तर एउटा लेखक, कवि वा साहित्यकार पछाडि बसेर ताली पिटिरहेको हुन्छ । विचार सुनिरहेको हुन्छ न बोल्ने अवसर पाइन्छ न प्रतिनिधित्व गराईन्छ । हुन त ढाकाको टोपी बुन्नेलाई भन्दा लेख्ने एउटा कविलाई दिइने सम्मानको फरक म आफैले भोगेको हुँ । लाज लागेन उनीहरुलाई जसले पुरस्कारका नाममा विभेद गरे ।

अनामिका,

यो गुनासोको अन्तिम कडी भर्खरै सम्पन्न दुईवटा कार्यक्रममा पनि भोग्यौं । हामीहरुले । बिहान नवतरङ्ग साप्ताहिक र दिउँसो कालिञ्चोक एफएमको वार्षिक उत्सवका अवसरमा । दोलखाली साहित्यिक समूहको ठूलै समूह उपस्थित थियो ति कार्यक्रमहरुमा । कम्तीमा अरु क्षेत्रले नपत्याए पनि सञ्चार क्षेत्रले त पत्याउला लागेको थियो । कोही प्रतिनिधि आमन्त्रण गरेर । तर गरेनन् । मञ्चमा आसिन गराउने देखि बोल्नेहरु अरु नै थिए लगभग हलको एउटा भाग हामीले नै ओगटेका थियांै । फगत ताली पड्काएर फर्कियौ । हाम्रो काम विचार दिनु हैन रहेछ । ताली पड्काउनु रहेछ । रेडियोका हरेक जसो कार्यक्रमहरुमा साहित्यिक रचना वाचन वा उद्घोषणबाट शुरु गरिने भएपनि सम्झेन कसैले । विचार, दर्शन र आर्दशको प्रतिनिधित्व नभएकोमा दुःख लागिरहेको छ । सार्वजनिक कार्यक्रमहरुमा लेखकहरुका विचार राख्ने र स–सम्मान साहित्यिक क्षेत्रको प्रतिनिधित्व गराउने दिन कहिले आउँला ? फर्किरहेको बखत हामी उदास कवि र लेखकहरुको मूल्य खोजिरहेका थियौं ।

अनामिका,

यो अंकमा मैले हाम्रो तर्फका गुनासा, पीडा र विभेदलाई अलिकता छोए मात्रै । तिमीहरुको प्रतिक्रियाको आधारमा यसै सन्र्दभलाई अझ बढी सम्बोधन गरौला लागेको छ । अहिलेलाई यति छ ! छलफल चलाउनु र प्रतिक्रिया पठाउनु । आगामी अंकहरुमा झन जमेर बहस गर्नुपर्छ किन कि यो विषय गम्भीर भएर पनि मैले संकेत मात्र बोलेको छु । लेखेको छु, बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई ……।

उही तिम्रो,
दोलखे

अस्तु ।

राम्पा, दोलखा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *