कविता : पेटीकोटका झण्डाहरु

~अनिल श्रेष्ठ~Anil Shrestha

एउटी बादी आइमाईका पेटीकोटका
टुक्राहरु च्यातिएर
जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ
र सिंहदरबारका पर्खालहरु
पेटीकोटका झण्डाहरु फर्फराउँछन्

जब भर्खरै सङ्गीतबद्ध गरिएका
नयाँ राष्ट्रिय धुनहरु
सिंहदरबारको ग्यालरीभित्र बज्छ
र यो मुलुकका केही उत्साहित सांसदहरु
कुर्सीबाट उठेर
नयाँ धुनलाई सलामी गर्छन्

जब सिंहदरबारको गेटअघि
बाहिर पहरा दिइरहेका सिपाहीका आँखाहरु
पर्खालहरुमाथि झुण्डिरहेका झण्डाहरुलाई हेर्दै
कामुकता प्रदर्शनी गर्छन्
र त्यसका ईजारहरु खुस्किएर
सिंहदरबार स्खलित हुन्छ

जब सर्वोच्च न्यायालयका पर्खालहरु चढेर
संविधानका अराजक धाराहरु
आपसमा मैथुन खेल्छन्
र सिंहदरबारका जगहरुबाट
पेटीकोटका भ्रुणहरु पैदा गर्छन्

जब साँझ परेपछि
निर्मल निवासहरुमा सिंहदरबार फुल्छ
र पारस शाहहरु
लोकतन्त्रको प्रशंसाहरु गाउँछन्

जब अति सम्मानित पोसाकहरुको यौटा कुनाबाट
अँध्यारो विस्तारै खस्छ
र सडकका किनाराहरुमा अँध्यारो झुल्न थाल्छ

जब स्ट्रिटल्याम्पका खम्बाहरुमा ठोक्किएर
बत्तीको उज्यालो मर्छ
र मुलुक पक्षाघातले
संविधानसभा भवनको छेवैमा लड्छ

म भयप्रद भएर
सडकको एक छेउमा उभिएको छु
र त्यो व्यस्त भीडबाट
सघन कक्षको एउटा दुर्गन्धित बेडमा
उपचार गराइरहेको म
मेरो मुलुक हेरिरहेको छु
त्यहीँबाट कहिले म सिंहदरबारका पर्खालहरुमाथि
फर्फराइरहेका झण्डाहरु हेर्छु
कहिले नारायणहिटी हेर्छु
र त्यसको सिरानमा देखिइरहेको घडीसुईहरु हेर्छु

यतिखेर फेरि एक हुल बादी आइमाईका अर्धनग्न स्तनहरु
मेरा आँखाहरु अघि आएर उभिएका छन् र
यो मुलुकका लागि आफूले गर्भाधान गर्न पाउनुपर्ने मागहरु गरिरहेका छन् ।

(स्रोत :Jagaranmediacenter)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.