कथा : सम्बन्धका दूरी

~सन्जु बजगाईं~Sanju Bajgain

उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको प्रुेमभित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।

उसको झण्डै चार बर्ष अगाडि दिवशसँग बिवाह भएको थियो । दिवशको खान्दानी संस्कारमा घरका महिला वर्गले जागिर खाने चलन थिएन । पढेलेखेको परिवार भएर पनि घरका महिलाहरुले बाहिर काम गर्न सरकारी जागिर खान नपाउने परम्परावादी नियमलाई उल्लङ्गघन गर्ने हिम्मत कसैले गरेका थिएनन् । उसको घरमा बिवाहको प्रस्ताव लिएर आउँदा नै केटाकी माईजुले भनेकी थिईन -“घरमा आएका पाहुनालाई पानी पिउन िदंदा पनि सर्वत जस्तो मिठो हुने गरी दिने सुन्दर केटी चाहिएको छ । बेस्सरी सम्पत्ति छदैछ । आईमाईले कमाउने चलनै छैन । जेठी र माईली बुहारीले पनि बी।ए। एम।ए। पढेका छन् तर घरै सिगांरेर बसेका छन् । आफूहरुले जीवन जिउन बेस्सरी गर्नु परेको दःुखको झझल्को शायद मेटिनसकेकोले होला थुप्रो सम्पत्ति छ भन्ने कुराले आमा-बाबु लोभिएर उसलाई बिवाह गरि दिएका थिए त्यस घरमा ।

उसले झण्डै एक बर्ष त पानीलाई सर्वत जस्तै मिठो हुने गरी बाँडि । बिहानै उठ्नु नुहाई -धुवाई सकेर सासुलाई पूजाको तयारी गरिदिनु आफ्नो सिङ्गारपटार गरेर बिहानदेखि रातिको खाना-पिना नसकिन्जेल भान्साभित्रको काममा तल्लिन रहनु उसको दिनचर्या थियो । प्रत्येक दिन बुढा ससुरालाई हेर्न आउने सासु-ससुराका पुराना ईष्टमित्र खेतीबाट आएका हरुवा-चरुवा आफन्त आदिको लस्करै हुन्थ्यो । यति भएपछि घरका बुहारीहरु जति नै पढेका भएपनि भान्साभन्दा बाहिरी कामका लागि निस्कन नै कहाँ सक्थे र यस्तो समय धेरै रहिरहन पाएन । दाजु-भाइबीच व्यवहारमा हानाथाप स-साना कुरामा बढ्दै गएको असमझदारीले दिक्क भएर ससुराले तीनै भाईलाई अलग गरिदिनु भयो । सासु-ससुराले पनि घरको जेठो छोरो नै असल छ भनेर उनैसँग बस्ने निधो गरे । जग्गा निकै थियो तर सबै जग्गामा मोहियानी लागेर आफ्नो भागमा धेरै रहन पाएन । फेरी बुढा ससुराको काजकि्रयामा पनि तेह् जना ब्राम्हणहरुलाई जग्गा नै दान गरिएको थियो । काठमाडौमा पनि आठ रोपनी जग्गा नभएको होईन तर दुईटी छोरीहरुको बिवाहमा धितो राखेर लिएको ऋण समयमा नतिरेकाले लिलामीमा परेको थियो । त्यो ऋण सबै छोराहरुले मिलेर समयमा तिरेका भए राजधानीको त्यत्रो सम्पत्ति लिलामीमा परेर गुमाउनु पर्ने थिएन भन्ने गुनासो ससुराको अझै बाँकी छ ।

दिवश पेशाले अधिवक्ता थिए । मूलघरबाट छुट्टिएको केही महिना पछि नै त्यहाँको बसाई उनलाई असजिलो हुन थाल्यो । वकालतको चर्को आवश्यकता मोफसललाई भन्दा राजधानीलाई छ भन्ने बहानामा आफूलाई राजधानीतिरै सारे । यथार्थत त्यत्ति सजिलो कहाँ थियो र आफूलाई स्थापित गराउन त्यहाँ । निकै समय बितिसक्दा पनि दिवशको वकालत पेशाले गति लिन सकिरहेको थिएन । फलतः व्यवहारमा आर्थिक संकट हावी भएको आभास दुवैमा हुन थालिसकेको थियो । यद्यपी सन्तानको लागि भने खर्च गर्नु परेको थिएन । बिवाह पछि पटक-पटक गर्भ रहेको थियो उसको तर अडिन सकेको थिएन । डाक्टरलाई देखाउँदा औषधि खाएर अझैकेही समय धैर्य गर्न सल्लाह दिएका थिए ।

खान्दनी ढाँचा अनुसार चल्न मधेशको खेतीबाट बर्षमा एकपटक हात लाग्ने सिमित आयले कत्ति नै पो पुग्थयो र दिवशको आम्दानीको स्रोत पनि खासै निश्चित नहुदा संङ्गोलको बसाईको रमझम संझनामा कहिलेकाही आउन थालेको थियो ।

बुबाले घर चलाउनुहुन्थ्यो । तीनै छोराहरुले आम्दानीको केही भाग घरखर्चमा छुट्याउँथे । घर पनि बडेमानकै थियो । अनि सम्पत्तिको भागभण्डा नभएको हुदा आर्थिक अभाव कुन चराको नाम हो कसैलाई थाहा थिएन । त्यसमा पनि सधै कान्छो छोरो भएर खाएको दिवशलाई सपना जस्तो लाग्न थालेको थियो । समय एकैनाशको कहाँ रहन्छ र भाग भण्डासगै पुस्तैनि सम्पन्नता पनि बाँडिन गयो ।

घरको आर्थिक समस्या देखेर धेरै दिनदेखि आफूलाई काम गर्न मन लागेको बारेमा दिवशसँग कुरा राख्न खोजिरहेकी थिई ऊ तर हिम्मत जुटेको थिएन । खान्दानी चलनको हरबखत गर्व गर्ने आफ्नो लोग्ने हुनसक्छ उसको प्रस्तावलाई तुरुन्तै नकार्ने छ । ऊ भित्र डर थियो । “यदि हजुरले अन्यथा नमान्ने हो भने मलाई क्याम्पसमा पढाउने अफर आएको छ के मलाई अनुमति दिनसक्नुहुन्छ “श्रीमानको बोझ घटाउने उदेश्यले एक दिन हिम्मत जुटाएर सोधी उसले । प्रतिउत्तरमा मौनता मात्र छायो ।

आफ्नो क्षमतालाई घरको ढोकाभित्र बन्द गरेर नगर्नु पर्ने दुःख गरेर बस्नु लाचारीको दोस्रो रुप ठान्थी ऊ । तर उसले दिवशकेा अनुमतिलाई धेरै दिन पर्खिई अहँ उसले सहमति जनाएन । परम्परागत मान्यताको खिया लागेको लोग्नेको मानसिकतालाई धिक्कार्न बाहेक अरु के नै गर्न सक्थी र !

पन्ध्र दिन भित्रमा निर्णय नसुनाए अरुलाई नेै स्थान दिईने कुरा क्याम्पस प्रमुखले बताएका थिए । बिचरीले त्यो मौका पनि क्याम्पस प्रमुख आफ्नै नाता पर्ने भएकाले पाएकी थिई । दिवशको अनुमतिको पर्खाइमा तोकिएको दिन बितिसक्न लाग्दासम्म पनि उसले कुनै जवाफ पाईन । ूभोलि बिहानदेखि म पढाउन सुरु गर्दे छु । यो निर्णय मैले घरको आर्थिक बोझ घटाउने बिचारले गरेकी हुँ । हाम्रो भविष्य पनि त छ । मेरो क्षमताले केही गर्न सक्छु भने किन उपयोग नगर्ने उसले आफ्नो निर्णय सुनाई । “जुन घरकी बुहारी भएर आएकी छौ त्यो घरको संस्कार चालचलनको मर्यादा भित्र रहनु तिम्रो कर्तव्य हो । खान लाउन मैले दिन नसकेका दिन सोचौला ।” दिवश गम्भिर भएर बोल्यो । उसलाई असैह्य भयो । ऊ आफ्नो लोग्नेको तर्कसँग पटक्कै सहमत हुन सकिरहेकी थिईन ।

“स्वावलम्बि हुनुले कुनै पनि घरको मर्यादालाई नकारात्मक आँच पुर् याउँदैन । यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो मात्र भ्रम हो । दिनभर घरमा निकम्मा भएर बस्न म पटक्कै चाहन्न । बच्चा पनि छैनन् । सकारात्मक भएर सोच्ने हो भने दुवै दम्पत्तिले नोकरी गर्नु सामाजिक प्रतिष्ठाको कुरा पनि हो ।” ऊ आफ्नो अडानमा दृढ रहि । दिवश मात्र सुनिरहेको थियो । दुबैले आफ्नो अडान नछाड्दा समझदारी आखिरमा केही गरी हुन सकेन । दिवशको खान्दानी संस्कार उसका लागि घरको आर्थिक अभावभन्दा महत्वपूर्ण हुन सकेन । अन्तत ः उसले नोकरी शुरु गरी । नोकरी शुरु गरेकै दिनदेखि दिवशले उसका घरपरिवारबाट कडा प्रतिकि्रया खप्नु परेको कुरा उसलाई सुनायो । त्यसैका कारण दुईबीच चिसोपन बढ्न थाल्यो । हरेक रात नानाथरीका कुराले आफ्नी श्रीमतीलाई सताउनु उसको दैनिकी भयो । घर ढिलो फर्किने कहिले खबरै नगरी दुई-चार दिन बाहिरै बिताउन थालेको दिवशले धेरै भैसकेको थियो । जसलाई उसले सामान्य मान्न थालेकी थिई ।

मंगलबारको दिन थियो त्यो । दिउँसोको एक बजे ऊ क्याम्पसबाट घर फर्किसकेकी थिई । त्यही समय पारेर दिवश घर आयो । हाउभाउले ऊ एकदमै हतारिए झै देखिन्थ्यो । उसले अचम्म मानेर आफ्नो लोग्नेलाई हेरी । ऊ आज बिल्कुलै भिन्न लागिरहेको थियो । आँखामा चमक थियो ओठमा मुस्कान भरिएको थियो । उसले आफ्नो लोग्नेको ओठमा मुस्कान नदेखेको महिनौ बितिसकेको थियो । सायद काम सुरु गरेकै दिनदेखि दिवशको मुस्कान हराएको थियो कि उसलाई हेक्का भने छैन । “एउटा कम्पनी दर्ता गराउनु छ तिम्रो नाममा खै छिट्टै साईन गरिदेउ त ।”हातमा पानीको गिलास लिदै उसले भन्यो । “कस्तो कम्पनी अनि किन यति हतारमा पहिले त केही कुरा गर्नु भएको थिएन ” एक्कासि सधैभन्दा पृथक मुद्रामा देखिएको लोग्नेलाई उसले विश्वाश गर्न सकिरहेकी थिईन । “हत्तेरीका एक घण्टाभित्रमा दर्ता गराएन भने यो मौका अर्कैले लिनेछ । यत्तिका दिन भैसक्यो मेरो टाउको यसले खाएको । कत्ति पीर थियो मलाई यसको । छिटो गर न ! म भरे सबै प्रतिलिपी लिएर आँउछु अनि सबै बेलिबिस्तार लगाउँला ।”जोशिएर बोल्यो ऊ । मानौ ठूलै कम्पनिको मालिक भैसक्यो ।

उसले केही बुझिन । तैपनि लोग्नेमा देखिएको उत्साहलाई कदर गर्नु आफ्नो कर्तव्य ठानेर हतारमै सम्पूर्ण कागजमाथि हस्ताक्षर गरीदिई । अनायशै ऊ पनि आज फुरुङ्ग थिई लोग्नेको स्फूर्ति देखेर । बेलुकी लोग्ने कतिबेला घर फर्केला र सबैकुरा थाहा पाउँला भनेर दिनभरी उसले आँखा बाटोतिरै बिच्छ्याई । साँझ पर् यो घर फर्किने मान्छेहरुको लस्करले बाटो ढाकिएको थियो । मधुरो उज्यालोमा आँखाले भ्याईन्जेल लस्करभित्र उसले दिवशलाई नियाली तर ऊ भेटिएन । कहिलेकाही त रातको एक बजे पनि घर फर्किन्थ्यो । त्यसैले मध्यरातसम्म उसले पर्खिरही । यसरी नै कैयांैं दिन र रात पर्खाईमा बिते तर दिवश आएन ।

यसरी अचानक हराएको लोग्ने बीस दिन पछि घर फर्कियो । उसलाई देखेर उसका आँखा रसाएनन् उसलाई खुशीको झट्का पनि लागेन उसले मात्र हेरिरही । त्यसै पनि दुईबीचको सम्बन्ध चिसिदै गएको थियो । त्यसैले लोग्नेको अनुपस्थितिले उसलाई खासै फरक परेको थिएन । तर एका-एक कम्पनी दर्ता गराउन भनेर सहीछाप लिएर हिडेको लोग्नेको लामो अनुपस्थितिले भने उसलाई सताईरहेको थियो । यसपटकको दिवशको आगमन कुनै एक अपरिचितको झै थियो । मानौ उसले पहिलो पटक कसैसँग चिनाजानी गर्दैछ । उसले हातमा बोकेको सानो ब्यागबाट एउटा खाम झिकेर श्रीमती तिर तेस्र्यायो । कौतुहलतापूर्वक हतारिदै खाम खोलि । उसका आँखाले पृष्ठको मध्यतिर दृष्टि नपुर् याउँदै ऊ अवगत भैसकेकी थिई । दिवशले कम्पनी दर्ता गराउन तेस्र्याएका कागजातहरु त सम्बन्ध बिच्छेदका पो रहेछन् । परपुरुषसँगको सम्बन्धका कारण दुईबीचको सम्बन्धलाई अन्त्य गर्न राजी भएको व्यहोरा लेखिएको थियो ।

दिवशले पटक -पटक उसकै सहकर्मी शुरेशको बारेमा प्रसङ्ग उठाएर घरमा तनाव उत्पन्न गराउनाको कारण उसले बल्ल मात्र बुझी । यहाँ उसका ओठहरुले दिवशप्रति आक्रोश व्यक्त गर्ने उत्साह देखाएनन् । तर उसका हर धड्कनले घृणा गरिरहेको थिए । लोग्नेको तुच्छ मानसिकता र दम्भि चरित्रसँग उसलाई प्रतिवाद गर्न मन लागेन । आखिर स्वास्नीको वफादारीतालाई क्षण-क्षणमा लत्याउने एक पुरुषपात्रको आडमा जीवन बिताउन पक्कै सजिलो छैन भन्ने बुझ्न उसलाई अन्ततः धेरैबेर लागेन । त्यसैले सम्बन्ध बिच्छेदको प्रतिवाद गर्नुभन्दा स्वीकार्नु नै उचित ठानी उसले । सम्बन्ध बिच्छेदको निर्णयले क्षतबिक्षत भई पश्चातापको ज्वालामा लपेटिएर ऐया-आत्था गर्दै उसले चिच्याएको हेर्ने प्रवल ईच्छा बोकेर आएको दिवश प्रतिउत्तरमा श्रीमतीको मौनता र आत्मविश्वास देखेर अर्काे एकपटक अपमानित हुनपुग्यो । उसले मौनतामै सहजसाथ स्वीकारेको देखेर घरबाट बाहिर निस्कियो । तर उसको मनमा लोग्ने बिनाको भोलि कसरी सामु आईदिने हो भन्ने अज्ञात छटपटीले हलचल मच्चाई रह्यो ।

सम्बन्धबिच्छेदको पहिलो प्रभात । दिनचर्याको शुरुवातमा सधै झै छेवैमा राखेको घडीले किरिरिर्र किरिरिर्र आवाज दियो । हतारिदै उसका आँखा खुले । ऊ मन नलागि-नलागि उठी । हिजो रात बिगतले निकैबेरसम्म मानसपटललाई नमिठो स्पर्श गरेकोले झण्डै आधा रात कटेपछि मात्र उसका नयन जोडिएका थिए । मनमा अनौठो अनुभूति लहरिरहेथ्यो । फरक्क् फर्किएर रात बिताएको ओछ्यानलाई हेरी त्यो साम्रा्रज्यवादीहरुबाट मुक्ति पाएको कुनै राज्यभन्दा कम थिएन ।

बिवाहमा बुबाले मेचीबाट मगाएर दिनु भएको चाँपको पलङ्ग थियो त्यो । सिरानी र डसना पनि सिमलको नरम भुवाका थिए । तैपनि पलङ्गमाथिका ती सिरानी र डसनाले बिगतका रातहरुमा धेरै बिझाए उसलाई । कहिले नरम सिरानी पनि ढुगां जस्तो भएर बिहान उठ्दा गर्धन र शीर असाध्यै दुखेको हुन्थ्यो । कहिले मुलायम डसनामाथि अनायसै पैदा हुने गाँठागुठी बिझाएर रातभर सुत्नै अफ्ठ्यारो हुन्थ्यो । आखिर माईतीको माया न हो विवाहमा पाएको त्यो चिनोलाई फ्याँक्न सकिरहेकी थिईन ।

लोग्नेसँग छुट्टिएको पहिलो प्रभातमा सम्पूर्ण फरकहरुलाई नियाल्न मन लाग्यो उसलाई । उसले झ्यालको पर्दा उघारी । सुन्दर बिहानी पहिले जस्तै कलिलो घामसँगै झुल्किएको थियो । सडकका पेटीहरु त्यसरी नै लमतन्न भई बटुवाको स्वागत गरिरहेका थिए । मन्दिर परिसरमा घण्टीहरु उसरी नै बजिरहेका थिए अनन्तसम्म ध्वनि गुाजाएर । चराहरु खुला आकाशमा उडिरहेका थिए स्वतन्त्रताको उपभोग गर्दै ।

आखिर फरक केहीमा भेटिन उसले । शायद फरक आफूमा पो आयो कि भन्ने डर थियो उसलाई । त्यसैले पलङ्ग छेउ राखेको ठूलो ऐना अगाडि उभिई ऊ । मनले निर्दोष ऐनासँग केही वैमनश्यता नभएको निक्र्योल गरेपनि त्रसित उसका आँखाहरु भने बन्द थिए । उसले बिस्तारै आँखाहरु खोली । त्यो ऐनाले उसलाई यसरी बिम्वित गर् यो कि ऊ मुक्त थिई ।

(स्रोत : अभिव्यक्ति द्धैमासिक , काठमाण्डौं)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.