कथा : कलाकार प्रेमिका

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

कुकुरहरू भुकिरहेको बाहिरको आवाजलाई उछिन्दै मोबाइल बज्यो। नचिनेको नम्बर स्त्रि्कनमा देखियो।

“हेलो”, छिप्पिएको रातमा आफ्नै आवाज ठूलो लाग्यो।

“सन्चै छौ?”

“भन्नु पर्‍यो”, स्वर चिनेर मैले बेवास्ता गर्न खोजें।

“म प्रीति… बिहान पत्रिकामा अन्तर्वार्ता पढेकी थिएँ।”

“थ्यांक्यू।”

“नयाँ पुस्तकको सफलताको लागि धेरै–धेरै बधाई।”

“ओके।”

“टाइम भए म भेट्छु, है?”

“म जानकारी गराउँला।”

म यति रुखो थिइनँ, तर आज भएँ। कुनै दिन प्रीति मेरो लागि प्रिय मान्छे थिई, तर पाँच वर्षबाट हामी नदीको दुई भँगालोको वेगमा छौं।

मेरो नयाँ उपन्यासले बिक्रीको रेकर्ड बनायो। धनुषजस्तो बाङ्गिएर मलाई नमस्ते गर्ने मान्छे बढेका छन्। पाठकको मात्र होइन, गन्यमान्य साहित्यकारहरूको पनि मन र मुखमा छु म। तर, प्रीति आफ्ना रहरहरूसँगै गुमनाम थिई।

“यो देशको हरेकले चिन्नेछ मलाई एकदिन”, कलाकार प्रीति भन्थी।

“पहिले काम त राम्ररी गर”, म भन्थें।

उसको अभिनयलाई नराम्रो भन्न सकिन्नथ्यो। नवरसको राम्रै ज्ञान थियो उसलाई। पढेकी थिई। मान्छेहरूले खुलेरै उसको तारिफ गरेको मैले सुनेको थिएँ। खासमा, मैले लेखक हुने सपना पाल्न थाल्दा ऊ अभिनयको मैदानमा एक किसिमले जमिसकेकी थिई।

एक दुई पटक केही नायकहरूसँग उसलाई रेस्टुरेन्टहरूमा भेटेपछि हाम्रो खटपट शुरू भयो। तर, उसको लक्ष्यको अगाडि त्यो खटपटले काम गरेन। मैले पनि बाधक नहुने निर्णय गरें। यसरी ऊ स्वतन्त्र भई। सम्बन्ध तोडेर हामी दुवै खुशी भएका थियौं।

प्रीतिको फोन आएदेखि नै म वास्तवमा फुरुङ्ग थिएँ। उसको अगाडि एउटा सफल मान्छेको रूपमा उभिन लालायित थियो, मेरो मन। म उसलाई भन्न चाहन्थें, “तिम्ले मेरा कुरा मानेको भए…!”

त्यसैले, मैले प्रीतिलाई फोन गरें– भेटौं।

प्रीतिको चन्चलता सकिएछ। ऊ शालीन देखिन्थी, र राम्री पनि। कफीको कपसँगै एकअर्कालाई नियालौं, हामीले।

“तिमी फेरि मेरो जीवनमा आऊ भन्न भेटेकी हैन, मैले”, प्रीतिले नै कुरा शुरू गरी।

“त्यो सम्भव पनि छैन।”

“अन्तर्वार्ता सारै राम्रो थियो, मन छुने। म जहाँ भए पनि तिम्रो प्रगति देखेर आफूलाई रोक्न सकिनँ। तिमीलाई जुन ठाउँमा पुगोस् भनेर सोच्थें, आज त्यतै लम्किंदैछौ। तिम्ले आफूलाई मन पर्ने व्यक्तित्वहरूको नाम पनि भनेका रहेछौ, मलाई मन पर्‍यो।”

“हो, मलाई फिल्म निर्देशक सुवास चन्द्र र फिल्म लेखक भागवत कुमार एकदम मन पर्छन्। साहित्यकारमा जगतजंग नेपाली, सम्पादक विष्णु दाइ र कला सम्पादक रणवीर पहाडीसँग मेरो राम्रो दोस्ती छ। चाहन्छौ भने तिमीलाई सिफारिश गर्न सक्छु।”

प्रीतिले मलाई खुशीले हेरी। उसका आँखाहरू रसाएका थिए। “बिहे गर्‍यौ?”, सोधी।

“गरेको भए थाहा पाउँथ्यौ।”

“हो, सेलिब्रेटी जो पर्‍यौ।”

“तिम्ले नि?”

“छैन, तर सोच्दैछु। एउटा स्कूलमा म नेपाली पढाउँछु।”

“फिल्म किन छाड्यौ?”

“वाक्क लागेर।”

“किन, तिम्रा हिरोहरू कता गए?”

“तिम्ले सोचे जस्तो भएको भए आज म यहाँ तिम्रो अघि यो हालतमा हुन्नथें।”

प्रीतिका आँखा पूरै भरिए। उसले झोलाबाट सानो ल्यापटप झ्िकेर वेटरलाई वाईफाईको पासवार्ड सोधी। केही क्षण किबोर्डमा औंलाहरू चलाएर ल्यापटप मलाई दिंदै भनी, “हेर।”

“के?”

“फेसबुकको इनबक्समा मान्छेहरूका म्यासेज।”

मैले पहिला उसलाई र त्यसपछि इनबक्स हेरें अनि अप्ठ्यारो लाग्दालाग्दै पनि क्लिक गरें।

शुरूमै रणवीर पहाडीको म्यासेज थियो– ‘प्रीति, तिमी भन मात्र म तिम्रो लागि जे पनि गर्न सक्छु। मेरो लागि तिमी केही गर, बदलामा आकाशमा पुर्‍याइदिन्छु।’

मेरो दिमागमा हलचल शुरू भयो। मैले पुलुक्क प्रीतिलाई हेरें, उसले इनबक्सतिरै संकेत गरी।

फिल्म निर्देशक सुवास चन्द्रको म्यासेज थियो– ‘तिमीले रोल नपाउने कुरै आउँदैन, तर पहिले भेट्नु, बस्नु त पर्‍यो नि! तिमी अस्ति पार्टीमा बोलाउँदा पनि आइनौ।’

सम्पादक विष्णु दाइले लेखेको थियो– ‘तिम्रो सुन्दरताको बयान के गरुँ? प्लिज, यो फिल्डमा तिम्रो भाग्य चम्काइदिने जिम्मा मलाई देऊ।’

त्यसपछि व्यापारी, नायक, लेखक सबका म्यासेजहरू थिए। तीमध्ये धेरैजसो मैले चिनेका थिए।

“मैले चाहेको भए…”, प्रीतिले वाक्य पूरा गरिनँ।

म एकछिन सुनसान बगर बनें अनि सोधें, “हरेक महिलाले तिमीले जस्तै भोग्नुपर्छ?”

“केही भाग्यमानीले नपर्ला, तर धेरैले भोग्छन्। कतिले परिस्थितिसँग सम्झ्ौता गर्छन्, कतिले सपनाहरूलाई मारिदिन्छन्।”

“सरी, प्रीति”, अनायासै मेरो मुखबाट निस्कियो।

(स्रोत : हिमालखबर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.