बाल कथा : टेलिभिजनमा छिमेकी चन्द्रमाका मान्छे

~बिजय चालिसे~Vijay Chalise

“ओहो, त्यो त सिनेमा नभएर साँच्चिकैको घटना पो रहेछ !” बिहान सबेरै बाबासँग बसेर दूध खान लाग्दा अखबारमा देखिएको एउटा चित्र र समाचार देखेर इशान छक्कै प¥यो । समाचारमा एउटा अनौठो जीवले हिजो राति पृथ्वीका सबै टेलिभिजनमा देखिएर आफ्नो कुरा सुनाएको विवरण थियो ।

“होइन, कुन सिनेमा भनेको तिमीले ?” अर्के अखबार हेरिरहनु भएको बाबाले सोध्नु भयो ।

“हिजो तपाइँले हेर्नु भन्नु भएको सिनेमा हेर्दाहेर्दे टेलिभिजनमा अचानक अर्कै दृश्य आएर अनौठो जीव देखिएको थियो । टेलिभिजनमा देखिएको त्यो अनौठो जीव आफूलाई युरोपाको मान्छे भन्थ्यो । आफू र आफ्नो ग्रहका जीवहरू पृथ्वी ग्रहका मानिससँग मित्रतागाँस्न चाहन्छन् भनेर पनि सुनाउँदै थियो । त्यो अर्कै कुनै सिनेमा रहेछ भन्ने ठानेको त, साँच्चिकै युरोपाकै जीव पो देखिएको रहेछ टेलिभिजनमा ! यी यो अखबारमा हेर्नोस् त पृथ्वीका सबै टेलिभिजनमा देखिएको पो रहेछ त्यो जीव त !” इशानको कुरा सुनेर बाबा त्यही समाचार पढ्न लाग्नु भयो ।

“टिभीको लाइन गएको होला, केही बेर पछि त आइहाल्ला नि !” हिजो राती टेलिजिन हेर्दाहेर्दै अकस्मात झ्यार, झ्यार आए पछि उसले सोचेको थियो । त्यो सिनेमा पृथ्वीमा जीवको विकास कसरी भयो भन्ने विषयमा थियो । बडो चाख मानेर टेलिजिन हेरिरहेको बेला एक्कासी रोकिँदा पहिले त ऊ झसंङ्गै हुन पुगेको थियो । ऊ एक एक गरेर हिजो टेलिभिजन हेर्दाको घटना सम्झन थाल्यो । अहिले पनि उसको आँखा अगाडि हिजोको घटना झल्झली आएरहेका थिए ।

केही बेर पर्खे टेलिभिजनमा चित्र र आवाज त आयो, तर त्यो अगाडिको सिनेमाकोजस्तो लागेन । त्यसमा देखिएको अनौठो दृश्यले इशान छक्कै प¥यो । टेलिभिजनमा एउटा अनौठो जीव देखियो । त्यो जीव झट्ट हेर्दा कुनै बेला उसले केहीबेर अघि हेरेको अर्कै ग्रहको मान्छेको कल्पना गरेर बनाएको सिनेमाको मानिस जस्तै देखिन्थ्यो । त्यो देखेर उसलाई लागेको थियो– त्यति राम्रो कार्यक्रम बीचैमा रोकेर अर्कै सिनेमा पो देखाउन लागेछ !

इशान टेलिभिजनमा कार्टुन र विज्ञान सम्बन्धी कुराहरू हेर्न असाध्यै मन पराउँथ्यो । त्यसैले बाबाले टेलिभिजन हेर्ने समय तोेकिदिनुभएको थियो । धेरै बेर टेलिभिजन हेर्दा आँखा र स्वास्थ्य बिग्रन्छ भन्ने थाहा पाएदेखि ऊ आफैं पनि मन पर्ने एक दुई कार्यक्रम हेरेर चित्त बुझाउँथ्यो । उसको बाँकी समय पढ्न र खेल्नमा बित्थ्यो । राती पनि चाँडै नै सुत्थ्यो । हिजो भने पृथ्वीमा जीवको कसरी विकास भयोे भन्ने विषयमा ज्ञान बढाउने कार्यक्रम आएकोले अबेरसम्म टेलिभिजन हेर्न दिनु भएको थियो । उसलाई एक्लै टिभी हेर्न छाडेर बाबा आफू भने पढ्ने कोठातिर लाग्नु भएको थियो ।

ात्यो कार्यक्रममा हेरेर उसले आजको हाम्रो पृथ्वी र हामी मानिस सुरुमा आजकाजस्ता थिएनौं भन्ने राम्ररी बुझ्यो । पृथ्वीको आयु साढे चार अर्ब वर्ष भएछ । शुरुमा एकदमै तातो आगोको गोलोजस्तो हाम्रो पृथ्वीमा विस्तारै अनेकौं परिवर्तन आएको रहेछ । पृथ्वी जन्मेको एक अर्ब वर्ष पछि मात्रै यसको वातावरणमा जीवन वायु अर्थात अक्सिजनको मात्रा बढ्न थालेको रहेछ । विषालु हावा र वातावरण शुद्ध हुँदै गएपछि बल्ल ससाना जीव र रुखपात हुर्कन थालेछन् । ५५ करोड वर्ष अगाडि मात्रै पानी र जमिन दुबै ठाउँमा घिस्रिएर हिँड्न सक्ने जीवको विकास भएको रहेछ । त्यस पछिको २० करोड वर्षमा बाक्ला बनजंगल बढेपछि बल्ल डाइनासोरजस्ता ठूला जीव देखिएका हरेछन् । साढे पाँच करोड वर्ष अगाडितिर ती डायनोसोर पनि लोप भए । त्यसपछि बल्ल बिस्तारै मानिसको विकास भएको रहेछ । यी कुरा बताउँदा बताउँदै त्यो सिनेमा रोकिएको थियो ।

झ्यार्…झ्यार्…गर्दागर्दै टेलिभिजनको पर्दामा एउटा अनौठो जीव देखियो । हरियो दूबो रङ्गकोे सानो मान्छेजस्तै त्यो अनौठो जीवको नाक हात्तीको सुँढजस्तै केही लामो थियो । आँखा बाहिरै निस्किेका जस्ता देखिन्थे । ती ठूला ठूला आँखा आगोको फिलुँगोजस्तै चम्किला थिए । छोटा छोटा खुट्टामा हम्रोजस्तो औंला थिएनन् । मुखको ठाउँमा एउटा दुलोजस्तो मात्र देन्थ्यिो ! दुई खुट्टा टेकेर उभिएको सानो बच्चो जस्तो लाग्ने त्यो अनौठो मान्छेलाई उसको वरिपरि उज्यालो घेराले ढाकेको थियो ।

“पृथ्वीवासीहरूमा युरोपाको तर्फबाट नमस्कार !” टेलिजिनको पर्दामा देखिए लगत्तै उसको मुखबाट आवाज निस्क्यो । त्यतिन्जेलसम्म पनि इशानले त्यसलाई नयाँ कार्टुन सिनेमा नै ठानेको थियो– पहिलेको विगे्रर अर्को देखाएको होला !

“पृथ्वीका साथीहरू ! नडराउनुहोस, म बृहस्पति ग्रहको चन्द्रमा युरोपामा बस्ने सबैका तर्फबाट तपाइँ पृथ्वीवासीहरूसँग मित्रताको प्रस्ताव लिएर आएको हुँ । हामी पनि तपाइँहरूजस्तैै शान्ति चाहन्छौं !” हिजो त्यो हेर्दा उसलाई रमाइलै लागेको थियो , अरू ग्रहमा पनि जीव छ भन्ने कल्पना गरेर बनाएको होला यो सिनेमा, उसले त्यतिबेला सोचेको थियो ।

अहिले पो उसले थाहा पायो त्यो त कल्पना गरेर बनाएको सिनेमा नभएर सत्य घटना पो रहेछ ! उसलाई थाहा थियो, हाम्रा बैज्ञानिकहरू विभिन्न भूउपग्रह पठाएर अरु ग्रहमा यस्तै खोजी गरिरहेका थिए । पृथ्वी बाहेक अरू कनै ग्रहमा पनि जीव हुनसक्छ भन्ने उनीहरूका अनुमान थियो । युरोपा हाम्रै सौर्यमण्डलमा रहेको बृहस्पति ग्रहका चारमध्ये एउटा उपग्रह हो । यो कुरा विज्ञानको खगोल सम्बन्धी पाठमा पनि थियो । १० वर्ष अघि सन् १९९५ मा मानिसले बनाएको ग्यालिलियो अन्तरिक्ष यान युरोपाको निकै नजिकै तस्बिर खिचेको थियो । तिनै तस्बिर हेरर वैज्ञानिकहरूले युरोपा उपग्रह पनि हाम्रै चन्द्रमा जत्रो अनुमान गरेका थिए । हिउँले ढाकिएकोले युरोपामा पृथ्वीको जस्तै जीव हुनसक्ने उनीहरूको अनुमन थियो । तर टिभीमा देखिजस्तै यति विकसित जीव पनि होलान् भन्ने उनीहरूले पनि सोचेका थिएनन् । मङ्गल ग्रहमा पनि उनीहरूले यस्तै संभावना देखेका थिए । सन् १९७१ मा पृथ्वीबाट छाडिएको मेरिनर–९ अन्तरिक्ष यानले मङ्गल ग्रहको सबैभन्दा नजिक पुगेर खिचेको चित्र हेरेर पनि त्यहाँ पानी हुन सक्ने अनुमान गरिएको थियो ।

पृथ्वीका मानिसलाई त्यो सन्देश सुनाएर त्यो जीवले आपूm अर्को पल्ट पृथ्विका साथीहरूसँग फेरि भेट्न आउने वाचा गरेको थियो । त्यसपछि इशान पनि टेलिभिजन बन्द गरेर सुत्न गएको थियो हिजो राती । यो सिनेमाको अर्को भाग कहिले देखाउने हो, न छुटाइ हेर्नु पर्छ भन्ने सोच्दै कति बेला निदायो, उसलाई थाहै भएन ।

अहिले समाचारमा त्यो त सिनेमा नभएर साँच्चि नै युरोपाको मान्छे नै रहेछ भन्ने जान्दा लाग्यो– आहा, त्यो अर्को चन्द्रमाको मान्छेलाई साथी बनाउन पाए कति रमाइलो हुन्छ होला !

(स्रोत : चिचिला, २०६४ अशोज, वर्ष २० क्रमाङ्क २११ ।)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.