कथा : एसएमएस मोह

~होम सुवेदी~Hom Subedi

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरु र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरु आउने गर्दछन् ।

तर यिनै छोटा सन्देशकै कारणबाट उनी पछिल्ला केही दिनदेखि निकै नै व्याकुल छन् । उनी अर्थात् समाजका एक सामान्य प्रतिष्ठित व्यक्ति रुपकमान । उनलाई लब्धप्रतिष्ठितै चाहिं ता नभने पनि हुन्छ । सामाजिक सेवा गर्छन्, साहित्य, कला र राजनीतिमा पनि अलिकति चासो राख्छन् । यसै कारण उनले निकै व्यस्त हुनु परेको छ । यस व्यस्तताको कारणले नै उनलाई मोबायल चाहियो । पहिले ता उनलाई मोबायलको आवश्यकता नै नपर्ने अठोट थियो तर केही पछि भने उनलाई यो नभई नहुने अवस्था आइपुग्यो । अनि उनले पनि जोडे एउटा मोबायल परिवारका अरु सदस्यहरुका साथ । मोबायल के जोडे तनाब पनि जोडिएको अनुभूति भएको छ केही दिनदेखि उनलाई ।

मोबायल मात्र होइन उनले अहिले आफ्नै बुद्धिको कारणले मनभरिको पीडा पनि जोडेका छन्, छटपटी र तनाव पनि आपूmभित्र हुलेका छन्, दोधारको भुँवरी पनि जोडेका छन्, एउटा तुफान पनि पालेका छन् ।

कहिलेकाहीं उनको मोबालयमा पनि अरुकै जस्तो गरी कुनै अज्ञात नम्बरबाट फोन आउँछ । उनी उठाउँछन् । उताबाट कसैकसैको आवाज पनि आउँछ, उनका साथ केही नबुझेझैं गरी सोध्छ पनि, उनी केही उत्तर पनि दिन्छन् । अपरिचितका हुन्छन्, केही कलहरु झुक्किएर आएका होलान् भन्ने लाग्छ उनलाई । उनी पनि ता झुक्किन्छन् । धेरैजसो आफन्तहरुबाट र उनका सामाजिक कार्यकर्ताहरुबाट नै उनलाई फोन आउँछ । यस अर्थमा उनलाई यसबाट फाइदै पनि भएको छ । तर कति कलहरु उनका अपरिचितहरुबाट पनि आएका छन् ।

यसै क्रममा उनको मोबायलमा एक दिन एउटा अज्ञात नम्बरबाट फोन आयो । आवाज महिलाको थियो । अलिक छिचरो थियो । उनले विनयपूर्वक ‘तपाईंले गल्ती नम्बरमा फोन गर्नुभो, सही नम्बरमा फोन गर्नुहोस् न है’ भनेर फोन काटिदिए । फेरि एकै छिनमा त्यही नम्बरबाट अर्काेपटक फोन आयो । त्यसपटक पनि उनले अघिकै कुरामा थपेर भने– ‘तपाईंले अघि पनि यसै नम्बरमा फोन गर्नुभो, गल्ती नम्बरमा फोन गर्नुभो क्यारे, सही नम्बरमा फोन गर्नुहोस् न है बैनी’ ।

‘मैले खोजेको सही नम्बर नै यही हो । मैले खोजेको मान्छे नै तपाईं हो ।’ उताबाट महिलाको आवाज आयो । रुपकमानलाई यस भनाइले अलिकति झट्का लाग्यो, अलिकति धक्का पनि लाग्यो । उनले तैपनि संयमित हुँदै भने— ‘‘के तपार्इं मलाई जिस्क्याउन खोज्दै हुनुहुन्छ ?’

‘आमा हो, कति मिठो बोली, गाली पनि यस्ता मिठा शब्द र बोलीबाट हुने भए ता जीवन सफल हुने थियो । आफ्नो ता कर्मै खोटो !” उताबाट महिलाको आवाज अझै अघि पुगेर कुरा गर्न हतारिएको बुझिन्थ्यो । अनि रुपकमानले यो फोनलाई धन्यवाद भन्दै काटे । यो फोन आउने घटना यति नै भएको थियो त्यति बेला । तत्कालका लागि यस भन्दा बढी कुनै घटना भएको थिएन । यसबाट उनलाई ठुलो तनाव केही पनि भएन । आ आइरहन्छन् नि नकच्चरीहरुका फोनहरु । उनले सोचेका थिए । तर भोलिपल्ट यसै नम्बरबाट निकै पटक मिसड कल आयो । उनले वास्तै गरेनन् । फोनलाई साइलेन्ट मोडमा राखे । साँझ पख नेपालीमै लेखिएको सन्देश उही नम्बरबाट उनको मोबायलमा आयो, सन्देश निकै लामो थियो— ‘मेरो प्रिय साथी, मिठो पप्पी । यो मेरो पहिलो पप्पी हो मेरो प्रियका लागि । दिउसो किन फोन नउठाएको ? मैले के त्यस्तो पाप गरेकी छु र फोन नउठाएको ? फोन उठाउँदैमा म तपाईंको सर्वस्व लुटेर लान्न के रे । आफूलाई भने कति माया लाग्छ उसलाई भने कुनै वास्तै छैन । कस्तो निष्ठुरी !’

रुपकमानले हतार हतार मोबायलको सन्देश पढे अनि कसैले देख्यो कि भन्दै यताउता हेर्दै उक्त सन्देश मेटिदिए । उनको मनमा त्रास र अज्ञात भयको बादल एकाएक उठ्यो । कतै उनका छोराले थाहा पाएन ? कतै उनकी पत्नीले ता थाहा पाइनन् ? कतै उनकी छोरीले ता थाहा पाइन ? उनको मनमा बडो गहिरो सन्देह भयो । छोराछोरी र पत्नीले उनका मोबायलमा आएको यो एसएमएस पढे भने के भन्लान् ? आफ्नो प्रौढ बाबुको चरित्रलाई लिएर छोराछोरीले के सोच्लान् ? हे भगवान ! पत्नीको प्रतिक्रिया के होला ? उनको निश्चल मनमा निकै चर्काै तरङ्ग पैदा भयो ।

राति कुन बेला हो फेरि एउटा सन्देश आएको थाहा भयो उनलाई । एउटा बहाना पारी उनले सन्देश पढे ‘गुडनाइट राजा !’ लेखिएको रहेछ । यसपछि ता उनलाई अलिक छटपटी पनि भयो । तिर्खा सिर्खा नलागे पनि अलिकति पानी खाए, थाहा नपाउने गरी सन्देश मेटाए अनि मोबायलको स्वीच अफ पनि गरेर सुत्ने उपक्रममा लागे । निद्रा आएन निकै बेर । मनभरि सोचाइका लहर चलिरहे । कतिबेला हो निधाएछन् ।

यस्तो सन्देशको आगमनको क्रम दुई हप्ता जति लगातार हुँदै गयो । सुरुका दिनहरुमा यस्ता कल र सन्देशबाट उनी अलिक आतङ्कित हुने गरेका थिए । तर आज भोलि उनले यसलाई पचाइसकेका छन् अनि केही मात्रामा ता आकर्षित पनि भएका छन् । नयाँ नयाँ प्रविधिबाट मानिस आकर्षित हुन्छ नै । हो, वास्तवमा रुपकमानको मोबायलमा आउन थालेका यस्ता सन्देशहरुसँगै जोडिएर आउने मायाका लवजहरुबाट रुपकमान पनि केही आकर्षित भइसकेका छन् । अझ भन्नुपर्छ उनी यस्ता कलहरु र सन्देशहरुबाट मोहित पनि भएका छन् । अनि सोच्छन् यस्तो फाइदा रैछ यसमा अनि केटाकेटीहरु के छोडून् त मोबायल ? एक दिन उनैले पनि सधैं सन्देश पठाउने महिलालाई लेखे ।

‘तिमी मलाई बढी दुःख नदेऊ न ।” उनले पठाएको सन्देश यही थियो जो अनुरोधात्मक र अनुनयात्मक थियो । त्यसपछि उनी पनि लुकीछिपी सन्देश पठाउन र मिसड कल गर्नेको यात्रामा प्रवेश गरेका छन् । त्यसबाट बाहिर निस्कने इच्छा भएर पनि उनले निस्कन सकेका छैनन् । उनी आफू गलत काम गरिरहेको कुराको बोध गर्दागर्दै पनि यस बाटाबाट सफा बाटामा आउने बाटो पाइरहेका छैनन् । उनी सोच्छन् यसबाट पार पाउने उपायबारे । कसैलाई भनुँ त आफ्नै इज्जत जाने डर । झन् उनी पनि कल गर्न थालिसके । नभनुन् त मनमा त्यस्तो पिर कति बोक्ने तिनले ! उनी आफैं सोच्छन्—मैले आफैं पनि अलिकति बाटो बिराएकै हुँ । यो कुरा सार्वजनिक भयो भने मैले नै बाटो बिराएर यस्तो भएको कुरा बुझ्छ समाजले पनि । कसैलाई नभनुँ त मनभरि पीडाको भुँवरी चलेको छ । के गर्छस् त ए रुपकमान ?

हुँदाहुँदा उनी पनि मिसड कल र सन्देश नआउँदा खल्लो खल्लो अनुभव गर्न थालेका रहेछन् । अलिकति व्यग्र पनि हुन थालेका छन् । अलिकति प्रतीक्षा गर्न पनि थालेका छन् । हो न हो मोबायलमा केही आयो कि भनेर समयसमयमा हेरिरहन्छन् ।
एक दिन बिहानदेखि बेलुकैसम्म सन्देश आएन । मिसडकल पनि आएन । सधैं आउने गथ्र्याे मिसड कल, सधैं आउँथ्यो सन्देश, सधैं आउँथे मिठामिठा कुराहरु, मायाका मिठा मिठा कथनहरु, अनि साना साना मुक्तक जस्ता मिठा मिठा कविता वा गजलका टुक्राहरु । के भयो हँ आज ? बिरामी पो परी कि ? वा कुनै घटना दुर्घटनामा पो परी कि ? के भयो हँ त्यसलाई ? उनको मनमा बडो गहिरो शङ्का प¥यो । कति बेला आउने हो कल, कति बेला आउने हो सन्देश ? उनी अधिर भएर पर्खन थाले । प्रतीक्षाको घडीलाई थाम्न नसकेर उल्टै उनैले कल गरे । उताको फोन स्वीच अफ थियो । एक मन ता बल्ल बल्ल त्यसबाट मुक्त हुन लागिएछ भनेर खुसी पनि भए तर उनको अर्को मनले के मानोस् ! उनको अर्काे मन अझ अधीर भयो । उनलाई भित्र भित्र चौ चौ भइरहेको थियो । किन होला आज एक पटक पनि सन्देश प्रवाहित भएन, के परेछ कुन्नि ? किन फोन पनि अफ गरेको होला ? उनको मन यही सोचेर उनैलाई समेत चञ्चल पारिरहेको थियो । उनका मनभरि यो बाहेकका अरु कुराहरु पनि खेलिरहेका थिए । मन तरङ्गित थियो । छाती केही भारी पनि भएको थियो । केही एेंठन भएको जस्तो भान उनलाई भइरहेको थियो ।

केही पछि उनले तर्कसहित निर्णय गरे— फोनै बन्द गरेपछिलाई अब के कुरा रह्यो र ? के परेर फोन बन्द भएको होला ? बरु सोध्न पाए पनि हुन्थ्यो । केही कुरा गर्नै पाए पनि हुन्थ्यो । आखिरी कुरै ता हुन्, के लछार्पाटो लाग्ला केही कुराहरु गर्दैमा । बिहे गरेका मान्छेले चैं कुनै आइमाईसँग कुरै गर्न नहुने भन्ने के छ हँ ? उनको मन अलिकति कडो भएभैंm भएर फोनै गर्न तम्सियो । तर कडो भएको त्यो मनको कठिनता पानीको फोको झैं तत्काल फुटेर बिलायो उनको व्यावहारिक स्थितिबोधका अघि । परिवारले यो सबै कुरा थाहा पायो भने उनको के हविगत होला ? यही कुरा सोचेर उनको त्यो मन तरलित भयो । फोन नआए पनि हुने, सन्देशहरु नआए पनि हुने भन्ने भाव मनमा कताकता लुकेर हराएको बेला र अधैर्यताका साथ प्रतीक्षा पनि गरिरहेको बेला जे त पर्ला भन्ने कडो निर्णय गरेर एक पटक फोनै गरे । फेरि पनि फोन बन्द छ । हँ के भयो त्यसलाई आज ? ए बाबा हो ? फोनै बन्द गर्नु पर्ने कारण के परेछ हँ ? उनले सोचे । अझै सोचे— मजस्तै लुकी लुकी फोन गर्थी क्यारे । परिवारबाट पक्डाउ परी होला ! कति गाली खाई होला बिचरीले ? हो कुरा यो चैं पक्का हुनु पर्छ, कुन नाठालाई फोन गर्छेस् ए…. भनेर उसले झपार खाएको हुनु पर्छ ।

सोचाइ यस्तै भए पनि यसै सोचाइका साथ उनले निकै पटक फोन गरे । तर पनि उनले चाहे जसरी फोन गएन । अनि सोचे बढार्नै परेन, हावाले आफैं उडाएर लगेछ । एक किसिम राम्रै पो भयो । कता कता सन्तोकको सास फेरे र आफ्नो काममा लागे ।
राति फोन नबज्ने पारेर सुत्ने बानी भएकाले उनले फोनलाई साइलेन्ट मोडमा राखे । अनि आरामका साथ सुत्ने चेष्टा गरे । तर कता कता आशाको त्यान्द्रो चुँडिएको थिएन । एक प्रकार प्रतीक्षारत पनि थिए । त्यसरी प्रतीक्षा गरिरहेकै बेला बल्ल एउटा म्यासेज र एउटा मिसड कल आयो उनका मोबायलमा । बल्ल बल्ल उनको प्रतीक्षाको महाभारत सकियो । अनि उनले कुनै बहाना पारेर सन्देश पढे । सन्देशले दिउसो भरि नेटवर्क नभएर एक कल गर्न पनि नसकेकोमा क्षमा मागिएको रहेछ । उनलाई अहिले बल्ल ढुक्क भएको छ ।

बल्ल उनलाई निद्रा लागेको छ । अनि उनका मनमा के गरौं र कसो गरांंैको दोधारको जो ओइरो लागेको थियो त्यो क्रमशः हराएर गएको छ । मनभरि द्वन्द्वको चक्रवात नै आएको थियो त्यो पनि हटेर गएको छ । हेरौं रुपकमानका मोबायलको मिसड कल र सन्देश यात्राको लाइभ टेलिकास्टको अन्त कसरी हुने हो । उनीहरुको यो क्रम चालु भएकोले अन्त कसरी हुने हो हामीले पनि उनैले जस्तो गरी प्रतीक्षा गर्नै पर्छ ।

(स्रोत : Janaboli )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.